July 15, 1969
Created by nepalarchives

निर्णय नं. ४९३ – बहाल

निर्णय नं.  ४९३     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फुल बेञ्च...

निर्णय नं.  ४९३     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२५ सालको देवानी फुल बेञ्च नं. ६२

निवेदक  : भ.पु.इ. तुलाछें बस्ने लालबहादुर भौ

विरुद्ध

विपक्षी : ऐ.तचपाल टोल हाल ल.पु.मंगलबजार बस्ने हरिशंकर मानन्धर

मुद्दा : बहाल

(१)   तत्काल प्रचलित अ.बं.१०६ नं.मिलापत्र मुताविक जस्को जुन कुराको उपभोग गर्न पाउने हो, सो उपभोग गर्न नपाएमाउपभोगको लागि उसैबाट दावी गर्नुपर्ने ।

            मुख्यतः ९३।५।१६।२ को मिलापत्रमा आयस्ता बाहाल साविकै बमोजिम पुजाहारी भजनियाले लिई चलाउने भन्ने शर्त रहेको यदि प्रतिवादीले उक्त सालको आयस्ता बाहाल नबुझाई बाँकी राखेको भए मिलापत्र बमोजिम सो आयस्ता बाहाल लिन पाउने हक भएका पुजाहारी भजनियाहरूले नै कानूनबमोजिम उजूर गरी भराई लिनुपर्ने कुरा हुनाले त्यसमा वादी लालबहादुरको तत्काल प्रचलित अ.बं.१०६ नं. ले उजूर पुग्न नसक्ने प्रष्टै हुँदा पाटीको आयस्ता बाहाल तर्फ ०२३।४।२३ को डिभिजन बेञ्चले खारेज गरेको नमिलेको भन्न भएन ।

(प्रकरण नं. २२)

(२)   पाटी आदी (गुठी राखेको) र गुठी राख्नेको सन्तानको निजी दलान पसल आदि दुवै बहालमा बस्न पर्नें एक छाडी बाँकी एकलाई मात्र बहालमा लिन्छु भन्न नपाईने सर्त मिलापत्रमा उल्लेख भएमा उक्त मिलापत्र बमोजिम बाहाल नदिएमा पाटीबाट समेत उठाउन निम्ति दावा गर्ने अधिकार गुठी राख्ने दाताको सन्तान निज (दलान पसल मालिक) लाई हुने ।

            पाटीको आयस्ता बाहालमा वादीको दावी पुग्न नसक्ने भए पनि सो पाटी गुठी राख्ने दाताको सन्तान र पछि सो पाटी बनाउने समेत वादी लालबहादुर नै देखिएको, पुर्खाको धर्म किर्ति थाम्ने हक दायित्व निजकै हुन आउने समेत हुनाले वादीले सो गुुठीको पाटीबाट उठाई पाउँ भनी दावी गर्न पाउने २ तरहबाट हुन आउँछ । एक त बाहाल आयस्ता नतिरी बाँकी राखेमा दोश्रो दलान पसल छोेडेमा, प्र.हरीशंकरले पाटीको आयस्ता बाली बुझाए नबुझाएको जे होस वादीको दलान पसलको बाहाल नतिरी बाँकी राखेको छ भने दलान पसलको साथै गुठीको पाटी समेतबाट उठाई पाउँ भनी मिलापत्र अनुसार वादीले दावी गर्न पाउने नै हुँदा पाटीबाट उठाई पाउँ भन्ने तर्फ उजूर खारेज हुन्छ भन्न मिल्ने देखिएन । 

 (प्रकरण नं. २३)

निवेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षीतर्फबाट       : x

उल्लेखित मुद्दा : x

फैसला

            मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह

            १.     मेरो स्वबासी घरको दक्षिण गारो जोडिएको भक्तपुर तुलाछें टोलको आफ्नै पुर्खाले राखेको किर्ति पाटीमा धन्वन्तरी नारायण स्थापना गरी राखेको पाँच कवल १ नाले पाटीमा अन्याय हरिशंकरले पसल थापी आएको भजनिया म समेतलाई बर्ष १ को बाहाल ने.रु.८ रोज १ को तेल तमाखुको पैसा २ नित्य नै नित्य पूजा गर्ने पुजाहारी रुद्रगोपाल झालाई स.चा. पाथी ।५ खांगी बाली दिने गरिआएकोमा उक्त पाटीबारे परेको मुद्दा भारदारी दोश्रोमा पुगेपछि पाटी भित्रको दलान टाल्दा म लालबहादुरको दलान घर सेपिलो हुने भई दलान खुला हुने गरी दलान अगाडि दक्षिण पट्टि पाटी तर्फ ५ कवलको पाटी म लालबहादुरले बनाई दिने सो पाटीमा स्थापना भएको धन्वन्तरी नारायणके पूजा गर्न समेत गरी हरिशंकरले बाहाल बाली बुझाउने र लेखिए बाहेक मेरो निजी दलानको बर्ष १ को ने.रु.३४। बाहाल बुझाउने शर्त राखी काम चलाई दुवै बाहाल बुझाउने गरी विपक्षीसँग ९३।५।१६ गते भारदारी दोश्रामा मिलापत्र गरिएको मिलापत्र बमोजिम हाल बाली १५ साल भाद्र महिना तक बुझाएको ०१६ सालदेखि बाहाल बाली अड्काउ गरी पसल समेत नथापी मेरो दलानको दलिन निदाल गाह्रो समेत कुहाई दिने अभिप्राय गरेको र भजन पूजा खण्डित गर्न नभई आफ्नो किर्ति थाम्नै परेकोले पूजाहारीलाई दिने खांगी बाली र भजन खर्च समेत मेरो घर घरानाबाट राखी काम चलाई आएको पसल पाटी दलान छाडी देऊ भन्दा नछाडी मिलापत्र बमोजिम दलान खुला नराखी बन्द गरेकाले मिलापत्रको उल्लंघन भई चित्त नबुझी नालेस गरेको छु । भजन खर्च पूजाहारी खांगी मेरो निजी दलान पसल तर्फ समेत ०१५ साल भाद्र १७ गतेदेखि ०१८ साल भाद्र १९ गते तकको रु.१९५।६० भराई दलान पाटी पसलबाट उठाई पाउँ भन्नेसमेत ०१९।३।३०।१ को फिरादपत्र ।

            २.    भजनियाहरू र पुजाहारी गोपाल हरी समेतले ०१८ सालसम्मको बाहाल बाली बुझी लिएका बिपक्षले चाहीं ०१८ सालको नबुझेकोले रु.३४। बुझाई पाउँ भनी मैले दिएको दायरी मिसिल ल.पु.अ.मा छ । भजनिया समेतलाई विपक्षीले बाहाल बाली बुझाएको र पुजाहारी रत्नगोपाल भन्नेसमेत होइन । भजनिया पुजाहारी समेतलाई ०१८ सालसम्मको बाहाल बाली बुझाएको प्रमाण मसँग महजुदै छ । मैले नबुझाएको भए भजनिया र पुजाहारीले दावी गर्नुपर्ने कुरा हो पुजाहारी गोपाल हरी हुन, हालसम्म तेल तमाखुको पसल राखेकै छु । बाहाल नबुझेमा मैले फिराद गरेपछि रुद्रगोपाल समेतलाई हात लिई नक्कली पुजाहारी खडा गरी आफूले बुझाउन र लिन समेत अधिकार नभएको भजनिया पुजाहारीलाई बुझाएको सो समेत पाउँ भनी भुठ्ठा नालेस गरेको हो भन्नेसमेत हरिशंकर मानन्धरको ०१९।४।१८।५ को प्रतिउत्तर ।

            ३.    १९९३।५।६ को मिलापत्रमा वादी लालबहादुरलाई दलान कवल ५ को बाहाल ने.रु.३४। बुझाउने र अरु साविक बमोजिम लागेको बाहाल पुजाहारी भजनियाहरूलाई दिने भन्ने उल्लेख भएको सो अनुसार दलानको बहालमा मात्र वादीको हक पुग्ने देखिन्छ । ३ बर्षको रु.१०२। पाउने वादीले अ.बं.१०६ नं. ले हक नलाग्ने बढी रु.९३।६० गरेको देखिन्छ । दलान पसल तर्फको ०१८ सालको रु.३४। बुझाइ पाउँ भनी धरौटी साथ ल.पु.इ.मा फिराद दायर भई सरी आएको मुद्दामा बुझी लिनु पर्ने ठहरी आजै फैसला भएको छ । ०१६।१७ सालको भरपाई लिएको भन्न लेख्न नसकेबाट बुझाएको प्रतित मान्न नभएकोले वादीले भरी पाउने देखिन्छ । ०१६।१७ सालमा आफूले तिर्नु पर्ने बाहाल नबुझाई बस्नलाई उक्त पसलमा बस्न आउँछ भन्न ईन्साफ नपर्ने हुँदा पुजाहारी भजनियाको हुने रु.९३।६० को हकमा खारेज हुने र बाहाल तर्फ ने रु.६८। भरी पाउँन घरबाट समेत उठाउन पाउने ठहर्छ भन्ने इ.अ. भक्तपुरको ०२०।४।४।६ को फैसला ।

            ४.    प्रतिवादीमा उल्लेख भएको प्रमाण साक्षी सर्जमिन बुझी मात्र किनारा हुनुपर्नेमा १९९३।५।१६ को मिलापत्रलाई मान्यता नदिई फैसला गरेको समेत हुँदा ईन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी ०२०।७।२०।४ को पुनरावेदन । पाटीको बाहाल आयस्ता तर्फ खारेज गरेमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।

            ५.    बहालमा बस्नेले बाहाल नदिएमा आफैले वापस लिने व्यहोराको वादीले कुनै लिखत प्रमाण दिन नसकेको भजन खंडित गरी धर्मलोप गर्‍यो भन्न पनि वादीले नसकी साविक बमोजिम भजन चली आएकै छ भन्ने वादीबाट देखिएको दानपत्र गरी गुठी राखेकोमा पाउने हकदार ठहर्छ, सो पाउनेले धर्मलोप गरे गुठी राख्ने वा उसका सन्तानले धर्मलोप गर्नेलाई खारेज गरी उसको सन्तानलाई दिनु भन्ने गुठीको ऐनमा उल्लेख भएको यसमा पनि वादीको पुर्खाले श्री नारायणको पुजा गर्ने पाटी राखी नित्य पुजा गर्ने ब्राम्हणलाई चामल पाथी ।५ दिने आरतीलाई सालको रु.८। र भजनमा तेल तमाखुलाई रोजको रु.।२ बाहाल लिने गरी हरिशंकरलाई पाटीमा पसल थाप्न लगाउन दिइआएकाले यो पनि गुठी सरहकै हुँदा हरिशंकरले धर्मलोप गरेकै खण्डमा पनि सो गुठीको ऐनले निजको सन्तानलाई दिनुपर्ने हुँदा वादीले पाटी वापस लिन पाउने हक कतैबाट देखिँदैन । चामल बाहाल नदिएको भए पुजाहारीले भजनियाहरूले नै उजूर गर्नुपर्ने म समेतले भजन गरी आएको भन्ने वादीले लेखेकोले वादी पनि भजनिया मध्येका हकदार रहेछ कि भन्न सो भजनिया पाटी भत्कँदा वादीले नबनाएकोमा यिनै प्र.हरीशंकरले र भजनियातर्फबाट मानबहादुरले पाटी बनाई पाउँ कि हामीले बनाउन पाउँ भनी यो वादीको नाममा उजूर गरेकोमा देवानी र अपीलबाट भजनियाहरूले नै बनाउन पाउने ठहरी फैसला भएको आखिर वादीले आफ्नो घरलाई सुविधा हुने किसिमबाट बनाउने गरी मिली बनाएको त्यसबाट भजनीया वादी नदेखिई भजनियाको बिरोधी मात्र देखिएको त्यस अघि वादीको दाजु जगतबहादुरको र प्र.हरीशंकर भजनिया मानबहादुर कान्छाको ८० सालमा पनि यही पाटी बिषयमा झगडा हुँदा प्र.हरीशंकरले बाहाल बुझाई पाटीमा बस्ने र भजनको बाहाल मानबहादुर कान्छाले बुझी लिने गरी यी वादीवालाहरू भजनियाको विपक्षीसँग ठहरी पटकपटक मिलापत्र भएको देखिएकोले भजनिया र पुजाहारीको उजूर बेगर त्यसतर्फ हक नपुग्ने वादीको उजूर खारेज गर्ने गरेको इन्साफ मुनासीव छ । अहिलेसम्म पाटी प्र.हरीशंकरले पाउने भएकाले वादीको निजी दलान पनि मिलापत्र बमोजिम वादीले दिए पाउने हुँदा त्यसमा विचार गर्नु नपर्ने भन्ने काठमाडौं जिल्ला अदालतको ०२१।१।१४।१ को फैसला।

            ६.    दलान घर उठाई पाउँ भन्ने कुरामा चलन चलाइदिने बारे समेत निर्णय गर्नुपर्ने त्यसतर्फ फैसला अधुरो हुन गएको छ, विपक्षीले दलान छोडी केवल पाटीमा मात्र बस्छु भन्न नपाउने मिलापत्रमा प्रत्यक्ष उल्लेख छ । विपक्षीलाई सरकारी बाँकी लागी कैद सजायबाट छल्न कैले कतै कैले कतै बस्ने गरेका छ, भक्तपुरमा नबस्ने गरेको निजकै प्रतिवादी देखिन्छ । आफू नबसी घर छाडे पछि स्वतः सो पाटी दलानको हक टुटीसकेको समेत हुँदा का.जि.अ.को फैसला उपर चित्त बुझेन भन्नेसमेत वादीको पुनरावेदन ।

            ७.    जिल्ला अदालतको फैसलामा दलानबाट उठाउन पाउने तर्फ कुरा प्रष्ट उल्लेख भएको नदेखिएकाले प्रतिवादीलाई छलफलमा झिकाई पेश गर्नु भन्ने ०२२।३।४।६ को डिभिजन बेञ्चको आदेश ।

            ८.    पाटीमा पसल राखेवापत भजनिया र पुजाहारीलाई दिनुपर्ने रकम मैले दिएको बिगो दिलाई पाउँ भन्ने उजूर दावीतर्फ निर्णय दिनाको लागि पुजाहारी र भजनिया भनेका को को हुन् तिनीहरूको नम नामेसी वादी प्रतिवादीबाट खुलाई निजहरूलाई अ.बं.१३९ नं. बमोजिम ७ दिनको म्याद पठाई आएपछि बयान गराउन पेश गर्नु भन्ने ०२२।७।१९।५ को डिभिजन बेञ्चको आदेश ।

            ९.    बहाल रु.८। हरिशंकरबाट लिई मेरा बाबु मानबहादुर छउन्जेल निजले निज मरेपछि मैले लिई कामकाज गरी आएको र भर्पाई पनि हरिशंकरलाई दिइआएको छु । वादीले दिने हक पनि छैन । निजले काम चलाई आएको पनि हैन भन्ने तेजबहादुर, गणेशबहादुर, काजीबहादुर, लालबहादुर समेतको वा.स.मानकाजीको ०२३।२।१०।२ को बयान ।

            १०.    नाइके मानबहादुर छउन्जेल निजले निज मरेपछि निजको छोरा मानकाजी नाइके जस्तो भई भजन गराई बाहाल समेत हरिशंकरबाट लिई हामी भजनियालाई दिई काम चलाई आएको छ भन्नेसमेत गणेशमान बिजुक्छे, गणेशमान कर्माचार्य, बद्रिनारायण, चन्द्रप्रसाद, भक्तलाल, रामभक्त, मीनबहादुरहरूको वा.स. कान्छा पालुबन्जारको ०२३।२।१०।२ को बयान ।

            १२.   गोपाल हरी पुजाहारी भई काम गरी आएको हुँदा पुजा गरे वापत पाउने स.चा. पाथि ।५ मैले ०२२ सालसम्म हरिशंकरबाट लिई पाइआएको निजलाई भरपाई समेत गरिदिएको हुँदा ०१६।१७।१८ सालमा पनि हरशंकरबाटै लिए पाएको हो भन्ने गोपाल हरीको वा. इश्वरीप्रसादको ०२३।२।१०।२ को बयान ।

            १३.   भजनिया म पनि हुँ । ०१५ भाद्रदेखि हरिशंकर सरकारी बाँकीले बेपता हुँदा निजले नदिएकोले वादी लालबहादुर लिई काम चलाई आएको छ । ०१६।१७।१८ सालमा पनि वादीले नै दिएको हो भन्नेसमेत सुर्जेबहादुरको ०२३।२।१०।३ को बयान ।

            १४.   पुजाहारी रुद्रगोपाल झा हुन, पुजाहारी काम गरे वापत साल १ को सचा पाथी ।५ तेल माना ।। १ पाउनुपर्ने ०१५ साल भाद्र तक हरिशंकरले दिएका, सो पछि नदिएकाले वादी लालबहादुरले दिई निजलाई भरपाई समेत गरिदिएको छ भन्नेसमेत रुद्रगोपालको वा.छत्रबहादुरको ०२३।२।१०।२को बयान ।

            १५.   भजनिया हामीहरू पनि हौ, हरिशंकर गौरी शंकर दाजु भाइबाट ०१५ साल भाद्रसम्म पाएको निजहरू सरकारी ठेक बाँकी लागी बेपत्ता भएकोले लालबहादुरले दिई भजन गर्न काम समेत चलेको छ भन्ने मधुकुमार सुर्जेलालको वा.स.जनकमान सिंको ०२३।२।१०।२ को बयान ।

            १६.    ९३।५।१६।२ को मिलापत्र नक्कल हेर्दा सो नगदी जिन्सी पुजाहारी भजनियालाई हरिशंकरले दिने पुजाहारी भजनियाले लिने भन्ने उल्लेख भएको देखियो । पुजाहारी र भजनिया यो यो हुन भन्ने कुरामा दुबै थरीको मुख नमिली भिन्ना भिन्नै भएकोले वादी दावी बाहेकको यो कुरा यस मुद्दाबाट निर्णय गर्न नमिलेकोले पुजाहारी भजनियालाई दिएको भन्ने वादीको जिकिर नै अधुरो देखिन आयो । मिलापत्रमा लेखिएको शर्तबमोजिम दिने लिने पाउने हक भएका पुजाहारी र भजनियाले सो बुझाउने कर्तव्य भएको हरिशंकर उपर दावी गरी लिनुपर्ने थियो । त्यस किसिमबाट परेको यो उजूरी पनि देखिएको र अर्काको दायित्वको काम मैले गरेकोले पसलबाट उठाई बिगो भराइपाउँ भन्ने दावी खारेज हुने ठहराएको मिलेकै देखियो । वादीको निजी तर्फ ०१६१७ सालको बाहाल प्रतिवादीले नबुझाई बाँकी देखिएको बाहाल भराई घरबाट उठाउन समेत पाउनेमा चलन चलाई पाउँ भन्नेसमेत पुनरावेदन जिकिर देखिएको र यसरी बाहाल बाँकी राखेमा उठाउन पाउने भएको घर चलन चलाई पाउँ भनी जिकिर लिएमा यसैबाट चलन चलाई दिन नहुने कानूनको बन्देज नदेखिएकोले सो निजी दलान प्रस्तुत मुद्दाबाटै चलन चलाई दिन मिल्ने देखिएको छ । पाटी पसल तर्फको दावी खारेज गरेको र निजी दलान घरतर्फ बाहाल बाँकी भराई सो दलान घरबाट उठाउन पाउने ठहराएको समेत इन्साफ सुरुको मुनासिव छ । लेखिए बाहेक बढी बुँदा लेखी केही गल्ती गरेमा का.जि.अ.का न्या.हरीबहादुरको रिकर्ड राख्ने चलन चलाई दिने भन्नेसमेत ०२३।४।२३।१ को डिभिजन बेञ्चको फैसला ।

            १७.   सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा वादीको पुर्खाले देव प्रिति गरेको भन्ने कुरामा बिरोध नभएको भत्केको पाटी बनाउने दायित्व वादीकै भई वादीले बनाएको देखिएको र मिलापत्रबाट हक छोडी दिएको हामीहरूलाई दिएको भन्ने भजनियाहरूको भनाई नभएको ८०।१२।१६ र ९३।५।१६ को मिलापत्रबाट भजनिया पुजारी समेत कसैलाई हक छाडी दिएको नदेखिएको वादीकै हक कायम भएको र भजनियाले भजन गर्ने पुजाहारीले पुजा गर्ने कामको निमित्त माात्र पाटीको बाहाल बाली लिने हक दिए पाएकासम्म देखिएको त्यस्तो हकबाट गुठीको समुचा हक भजनिया र पुजहारीमा रहेछ भनी भन्न नमिल्ने र मुलुकी ऐन गुठीको ४५ नं. ले हक छाडी दिएको गुठी भन्न नभई आफ्नो हकको घर गुठी भन्नुपर्ने ऐन र मिलापत्र समेतबाट पसलबाट बाहाल बाली नआएमा वा पसल छाडेमा पसलको बन्दोवस्त गर्ने र पुजा भजन चलाउने तथा पाटी बनाउने मरमत गर्ने दाइत्व वादीकै भएको प्रष्ट हुन आएको छ । यस स्थितिमा वादी दावीबमोजिम प्र.हरीशंकरले पसल नथापेकोबाट बाहाल बाली नआएको वादीले पुजा भजन चलाउन आफ्नो घरबाट चलाए नचलाएको निर्णय दिनै पर्ने हुँदा पाटीको बाहाल बालीमा उजूर गर्ने हक वादीमा नभएको भनी खारेज गरेको मिलेको देखिएन । १९९३ सालको मिलापत्र शर्त बोलीबाट घर दलान र पाटी छुटाउन नहुने देखिएको र वादीले प्रतिवादी हरिशंकर सरकारी बाँकीमा फरार छन त्यस्तोले पुजा गराएको भन्न पनि मिल्दैन भनी निवेदनमा जिकिर लिएको प्रतिवादीमा वतन लेख्दा पनि हरिशंकरले मंगलबजार भनी लेखेको देखिएकोले प्र.हरीशंकरले पसल नथापी त्यसै राख्दा वादीले आफ्नो दाइत्व अनुसार गुठी चलएको देखिने समेतबाट मिलापत्रको शर्त काटी पाटीदेखि दलान अलग र बन्द रहने गरी घर दलान पाटी पसल छुट्टिने गरी घर दलानको रु.३४। मात्र भराई दलान घरबाट मात्र उठाई चलन चलाई दिने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसूफका सचिवालयबाट ०२५।७।१५।५ मा लेखी आएको हुकुम प्रमांगी ।

            १८.   बक्स भइआएक हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु, अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजको प्रमुख सचिवालय राजदरबारमा जनरल बिभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।७।१९।२ को आदेश ।

            १९.    यसमा निवेदक वादी लालबहादुर रोहवरमा रही ०२६।३।२७।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले गर्नु भएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा ९३।५।१६।२ को मिलापत्र बमोजिम बुझाउनु पर्ने पाटीको बाहाल आयस्ता मेरो दलान पसलको बाहाल समेत नबुझाई बाँकी राखेकाले ०१६।१७।१८ साल बर्ष ३ को रु.१९५।६० भराई दलान पाटी पसल समेतबाट उठाई पाउँ भन्ने वादीको दावी भएकोमा ०१८ सालको दलानको बाहाल ने.रु.३४। बुझाई पाउँ भनी धरौट राखी प्रतिवादी हरिशंकरले यो मुद्दा पर्ने भन्दा पहिले नै ०१९।३।८ मा दायर गरेको मुद्दामा सो बाहाल रु.३४। वादीले बुझ्नु पर्ने ठहरी इ.अ.भक्तपुरबाट फैसला भई अन्तिम रुपमा रहेको देखिएकाले सो बाहेक अरु कलममा सम्म यस मुद्दाबाट निर्णय दिनुपर्ने हुन आएको छ ।

            २०.   सर्वप्रथम ९३।५।१६।२ को मिलापत्र के कस्तो रहेछ भनी हेर्दा सो मिलापत्रमा आयस्ता बाहाल साबिकै बमोजिम पुजाहारी भजनियाहरूले लिई चलाउने मेरो घरको दलान खुल्ला राखी सो दलानको सालको मो.रु.३४। मलाई बाहाल तिरी हरिशंकरले पसल थाप्ने पाटीमा मात्र बस्छु दलान बहालमा लिन्न भनी हरिशंकरले भन्न नपाउने निज हरिशंकरले बाहाल तिरुन्ज्यालसम्म आफै बस्छु भनी वा अरुलाई पजनी गर्नु भनी हरिशंकरलाई म लालबहादुरले नउठाउने पुर्खाको धर्म किर्तिको पाटी मैले नेै बनाइ दिने भन्नेसमेत शर्त रही यिनै वादी प्रतिवादीहरूको परस्परमा उक्त मिलापत्र भएको देखिन आयो ।

            २१.   दलान पसलको बाहाल भराई सो दलान पसलबाट उठाई पाउँ भन्ने दावी तर्फ १६।१७ सालको बाहाल बुझाएको प्रमाण पुर्‍याउन प्रतिवादीले नसकेको र बाहाल भराई सो दलानबाट उठाई चलन चलाई दिने समेत गरी ०२३।४।२३ को डिभिजन बेञ्चबाट भएको फैसलामा प्र.हरीशंकरले दोहर्‍याई पाउँ भन्ने निवेदन समेत नदिइ चित्त बुझाई बसेकाले त्यसतर्फ अरु विचार गरी रहनु परेन ।

            २२.   पाटीको आयस्ता बाहाल भराई सो पाटीबाट उठाई पाउँ भन्ने दावीको हकमा वादीको उजूर गर्ने दायित्व नभएको भनी ०२३।४।२३ को डिभिजन बेञ्चबाट वादी दावी खारेज गरेको रहेछ, सो पाटीको आयस्ता बाहाल तर्फ प्रतिवादीले नबुझाई अड्काउ गरेकाले भजन पुजा खण्डित गर्न नभई मेरो घैघरानाबाट दिई काम चालएको हुँदा भराइपाउँ भन्ने वादीको दावी भएकोमा पुजाहारी र भजनियाको नाम खुलाउँदा दुवैथरले फरक फरक देखाएका भए पनि वादीको दाजु जगतबहादुर र हरिशंकर समेतको यसै गुठीको सम्बन्धमा मुद्दा परी ८०।१२।१६ मा गरेको मिलापत्रमा भजनिया भनी उल्लेख भएको मानबहादुर पियाको छोरा मानकाजीले ०१६।१७।१८ सालको बाहाल आयस्ता प्र.हरिशंकरबाटै लिई काम चलाई आएको भनी बयान गरेको समेत देखिन्छ । मुख्यतः ९३।५।१६।२ को मिलापत्रमा आयस्ता बाहाल साबिकै बमोजिम पुजाहारी भजनीयाले लिई चलाउने भन्ने शर्त रहेको यदी प्रतिवादीले उक्त सालको आयस्ता बाहाल नबुझाई बाँकी राखेको भए मिलापत्र बमोजिम सो आयस्ता बाहाल लिन पाउने हक भएका पुजाहारी भजनियाहरूले नै कानूनबमोजिम उजूर गरी भराई लिनुपर्ने कुरा हुनाले त्यसमा वादी लालबहादुरको तत्काल प्रचलित अ.बं.१०६ नं. ले उजूर पुग्न नसक्ने प्रष्टै हुँदा पाटीको आयस्ता बाहाल तर्फ ०२३।४।२३ को डिभिजन बेञ्चले खारेज गरेको नमिलेको भन्न भएन ।

            २३.   अब पाटीबाट उठाई पाउँ भन्ने दावीतर्फ पाटीमा मात्र बस्छु, दलान बाहालमा लिन्न, भनी हरिशंकरले भन्न पाउने समेत ९३।५।१६।२ को मिलापत्रमा बोली परेको र दलान र पाटी अलग गरी छुटाउँदा मिलापत्रको शर्त भंग हुन जाने हुनाले दलान र पाटी एकअर्काबाट अलग हुन नसक्ने देखिन्छ । पाटीको आयस्ता बहालमा वादीको दावी पुग्न नसक्ने भए पनि सो पाटी गुठी राख्ने दाताको सन्तान र पछि सो पाटी बनाउने समेत वादी लालबहादुर नै देखिएको पुर्खाको धर्मकिर्ति थाम्ने हक दायित्व निजकै हुन आउने हुनाले वादीले सो गुठीको पाटीबाट उठाई पाउँ भनी दावी गर्न पाउने २ तरहबाट हुन आउँछ, एक त आयस्ता बाहाल आयस्ता नतिरी बाँकी राखेमा दोश्रो दलान पसल छोडेमा, प्रतिवादी हरिशंकरले पाटीको आयस्तामा बाली बुझाए नबुझाएको जे होस वादीको दलान पसलको बाहाल नतिरी बाँकी राखेको छ भने दलान पसलको साथै गुठीको पाटी समेतबाट उठाई पाउँ भनी मिलापत्र अनुसार वादीले दावी गर्न पाउने नै हुँदा पाटीबाट उठाई पाउँ भन्ने तर्फ उजूर खारेज हुन्छ भन्न मिल्ने देखिएन ।

            २४.   तसर्थ प्रतिवादी हरिशंकरले ०१६।१७ सालको दलान पसलको बाहाल नबुझाई बाँकी राखेकै देखिन ठहर्न आएकोले उपरोक्त उल्लेख भएबमोजिम दलान पसलको साथै गुठीको पाटी समेतबाट उठाउनु पर्ने ठहर्छ । उक्त पाटीबाट उठाई पाउँ भन्ने तर्फ उजूर खारेज हुने ठहराएकोमा सम्म ०२३।४।२३ को डिभिजन बेञ्चसँग यो बेञ्च सहमत भएन । अरु इन्साफ उक्त डिभिजन बेञ्चको मुनासिवै छ । दलानको हकमा यसै मुद्दाबाट चलन चलाई दिने उक्त डिभिजन बेञ्चको फैसलामा ठहर भए अनुसार दलानको साथै पाटी पनि चलन पाउने हुँदा अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

निवेदक वादी लालबहादुर के मुद्दा दोहर्‍याउँदा कोर्टफी राखेकाले पाटीको बाहाल आयस्ता तर्फ डिभिजन बेञ्चले खारेज गरेको मुनासिवै ठहरेकोमा अरु सजाय गर्नु परेन …………………१

वादी लालबहादुर भौ के वादी दावी को निजका पुर्खाले राखेको धनवन्तरी नारायण स्थापना गरिएको भ.पु.इ.तुलाछे टोलको पाटी प्रतिवादी हरिशंकरबाट चलान चलाई पाउँ भनी डण्ड सजायको ४३ नं. को म्याद २ बर्षभित्र दरखास्त दिएमा उक्त पाटीको मोल बिगो खुलाई कोर्ट फि (दोश्रो संशोधन) ऐन, भन्नाले संशोधित दफा १३ बमोजिम सयकडा २।।ले लाग्ने दस्तुर लिई अड्डैबाट चलन चलाई दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु …२

देहायका मानिसको इन्साफ केही उल्टीको रिकर्ड राख्न सर्वोच्च अदालत जनरल बिभागमा सूचना दिनु ……….३

तत्कालिन भ.पु.इ.अ.का न्या समृद्धिराज पांडे १ तत्कालिन का.जि.अ.का न्या.हरीबहादुर श्रेष्ठ १

नियमबमोजिम मिसिल बुझाई दिनु …………………….४

 

मा.न्या. श्री हेरम्बराज र मा.न्या.श्री नयनबहादुर

 

उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२६ साल आषाढ ३१ गते रोज ३ शुभम् ।