निर्णय नं. ४८८ – गुठी बाली
निर्णय नं. ४८८ ने.का.प. २०२६ स्पेशलबेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री लोकराज जोशी सम्वत् ०२६ सालको निवेदन नं. ११६१...
निर्णय नं. ४८८ ने.का.प. २०२६
स्पेशलबेञ्च
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री लोकराज जोशी
सम्वत् ०२६ सालको निवेदन नं. ११६१
निवेदक : ना.सु. बैकुण्ठ विलास
विरुद्ध
विपक्षी : व्रह्मसिंह राठोर समेत
मुद्दा : गुठी बाली
(१) संशोधित मुलुकी ऐन अदालती बन्दोबस्त ५९ नं. तत्काल प्रचलित अ.बं.५९ नं.–तत्काल प्रचलित अ.बं. ५९ नं. अन्तर्गत गुज्रेको तारिख दोश्रोपटकसमेत थामिसके तापनि संशोधित अ.बं. ५९ नं. ले व्यवस्था गरेको ३० दिनमा उक्त भोगिसकेको दिनहरूको गणना गर्न तथा तारिख थमाउन बाँकी रहेको पटक समाप्त भएको भन्न नहुने तेश्रोपटक तारिख थमाउन पाउने ।
ने.का.व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ (ग) मा यसरी खारेज भएका कुनै ऐनबमोजिम पाएको हासिल गरेको वा भोगेको कुनै हक सुविधा कर्तव्य दायित्वमा असर पार्ने छैन भन्ने लेखेकोबाट निवेदकले पहिला, दोश्रापटक थमाएका दिन तत्काल प्रचलित ऐनबमोजिम भोगिसकेको भन्ने कुरा हुँदा उक्त भोगिसकेको दिनको गणना संशोधित ५९ नं.को ३० दिनमा गर्न हुँदेन र त्यसबाट बाँकी रहेको पटकको समाप्त भयो भन्न मिल्दैन । तसर्थ निवेदकले संशोधित ५९ नं.अनुसार ३० दिन भित्र तेश्रापटकको तारिख थमाउन पाउने नै देखिएको र म्याद भित्र निवेदन परिसकेको देखिएकोले व्यहोरा साँचो भए तेश्रापटकको तारिख थामी कानूनबमोजिम गर्नु ।
(प्रकरण नं. १)
आदेश
१. यसमा रजिष्ट्रार अफिसरबाट तत्कालिन अ.बं.५९ नं. बमोजिम पहिला दोश्रापटकको समेत थामिसकेको कानून ब्याख्या ऐन, २०१० को दफा ४ अनुसार संशोधित अ.बं.५९ बमोजिम थामी दिन नमिल्ने हुँदा भनी निवेदकको जिकिर बमोजिम तारिख थामिएको देखिएन, सो निवेदकको ०२६।१।२।२ मा गज्रेको तारिख मुलुकी ऐन अ.बं.को संशोधित ५९ नं. बमोजिम थामिन सक्छ सक्दैन भन्ने तर्फ हेर्दा संशोधित ५९ नं. मा कुनै मुद्दामा आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा म्याद तारिख गुज्रेकोमा एकैपटक वा ३ पटकसम्म गरी बडीमा ३० दिनसम्मको गुज्रको म्याद तारिख थामिनसक्छ भन्ने उल्लेख भएबाट ३ पटकसम्म गुज्रको तारिख थमाउन पाउने र सो तीनपटकको दिन गणना गर्दा ३० दिन भन्दा बढी थमाउन पाउने देखिँदैन । प्रस्तुत मुद्दामा निवेदकले तत्काल प्रचलित ऐनबमोजिम पहिला र दोश्रापटक थमाइसकेको देखिएकोले अब यो तेश्रोपटकको देखिन आउँछ । निवेदकले संशोधित अ.बं.५९ नं.लागू भइसकेपछि तारिख गुजारेको देखिएकोले मिसिलबाट यो तेश्रोपटक हुन आउँछ पहिला दोश्रापटक अघि नै ३० दिन भन्दा बढी थमाइसकेको भन्ने तर्क उठ्नसक्छ तर ने.का. व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४(ग) मा यसरी खारेज भएको कुनै ऐनबमोजिम पाएको हासिल गरेका वा भोगको कुनै हक सुविधा कर्तव्य वा दाईत्वमा असर पार्ने छैन भन्ने लेखेकोबाट निवेदकले पहिला दोश्रापटक थमाएका दिन तत्काल प्रचलित ऐनबमोजिम भोगी सकेको भन्ने कुरा हुँदा उक्त भोगी सकेको दिनको गणना संशोधित ५९ नं. को ३० दिनमा गर्न हुदैन र त्यस्बाट बाँकी रहेका पटकको समाप्त भयो भन्न मिल्दैन । तसर्थ निवेदकले सम्शोधित ५९ नं.अनुसार ३० दिन भित्र तेस्श्रा पटको तारेख थमाउन पाउने नै देखिएको र म्याद भित्र निवेदन परी सकेको देखिएकोले व्यहोरा साँचो भए तेश्रापटकको तारिख थामी कानूनबमोजिम गर्नू ।
इति सम्वत् २०२६ साल आषाढ १० गते रोज ३ शुभम् ।