निर्णय नं. ४८७ – उखडा जग्गा
निर्णय नं. ४८७ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी...
निर्णय नं. ४८७ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री लोकराज जोशी
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
सम्वत् २०२५ सालको दे.फु.नं. ७८
पुनरावेदक : जि.रुपन्देही मौजे हरनामपुरबस्ने महमदहनिफ मुसलमानको वा.अंशमान मुसलमान्नी
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने मजिर भाट
मुद्दा : उखडा जग्गा
(१) कुनैएक डिभिजन बेञ्चले कुनै प्रश्नउठाई त्यसको निर्णय दिएमा–अर्कोकुनै डिभिजन बेञ्चले त्यहीप्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुनेगरी निर्णय नगरेमा–रुलिङ्ग नमिलेको भन्न नहुने ।
प्रस्तुत मुद्दामा भएको ०२५।१२।१८।५ को डिभिजन बेञ्चको फैसलामा पुनरावेदन लाग्ने नलाग्ने कुराको जुन प्रश्न उठाई पुनरावेदन नलाग्ने भनी निर्णय गरिएको छ, त्यस कुरामा वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुजको उखडा जग्गा मुद्दामा भएको ०२५।१२।३ को डिभिजन बेञ्चको फैसलामा प्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय भएको नहुनाले रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नदेखिंदा यस बेञ्चबाट अरु कुरा विचार गरिरहनु परेन ।
(प्रकरण नं. ६)
उल्लेखित मुद्दा : १. रामवर्ण कुर्मी विरुद्ध भिखि अहिर समेत, मुद्दा : बाली, फु.बे. २. जङ्गध्वज कार्की विरुध्द बखतबहादुर कार्की समेत मुद्दा : चोरी विजनदर्ता, फु.बे.
फैसला
मा.न्या. श्री रत्नबहादुर
१. प्र.मजिरभाटले उखडामा कमाएको भनी विवरण फाराम दिएकोजग्गा मञ्जुरीमा खान दिएको भन्ने जग्गा धनी महमद हनिफको बिरोध परेकोमा तामेल भएको म्यादमा वादीको अभिभावक हाजीर नभई बसेको यस्तोमा ट्रिवुनलबाट हक बेहकमा कुनै निर्णय दिइरहनु पर्ने नहुँदा दायरीबाट लगत काटी दिई यस्मा ऐन नियमबमोजिम गर्न यो मिसिल सम्बन्धित मालमा पठाई दिने भन्नेसमेत रु.उ.ट्रा.नं. २ बाट मिति ०२२ साल माघ २९ गते आदेश भएको उक्त आदेशउपर चित्त बुझेन भन्ने महमद हनिफको ०२४।१०।२५ को पुनरावेदन ।
२. उखडा ट्राईबुनलबाट केही सजाय नगरी गरेको आदेशउपर चित्त बुझेन भनी ०२४।७।६ मा प्रकाशित भएको उखडा सम्बन्धी (दोश्रो संशोधन) ऐनको आधार लिई पुनरावेदन गर्न आएको देखियो । उखडा सम्बन्धी ऐनको दफा ६(१) नलगाई ट्राइबुनलबाट छिनेको मुद्दामा पुनरावेदन लाग्ने नलाग्ने के हो र दुईजना सदस्यमात्र रही छिनेको मुद्दा स्वतः बदर हुने नहुने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएकोछ । उखडासम्बन्धी (दो.संशोधन) ऐन, ०२४ को दफा ८ को (३) मा उपदफा ३ अन्तर्गत र दफा ६ को उपदफा (१) अन्तर्गत तोकिएको अदालतले गरेको सजाय उपर स.अ.मा पुनरावेदन लाग्ने छ भन्ने र त्यस्को प्रतिबन्धात्मक वाक्यांशमा तर यो ऐन लागू हुनुभन्दा अघि किनारा भएको मुद्दा मामिलामा यो ऐन जारी भएको ६० दिन भित्र स.अ.मा पुनरावेदन दिए लाग्छ भन्ने उल्लेख भएको देखिन्छ । निवेदक दशरथ वडही विपक्षी कपिलबस्तु उ.ट्रा.भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने केशमा दफा ३ मा उल्लेख भएको दफा ६ को उपदफा १ लगाई सजाय गरेको मुद्दा मामिला भए मात्र पहिले छिनिएको भए पनि ६० दिन भित्र पुनरावेदन दिए लाग्ने छ भनी उक्त प्र्रतिबन्धात्मक वाक्यांशले व्यवस्था गरेको प्रष्टछ । अन्य ऐन लगाई सजाय गरेकोमा पनि उक्त प्रतिबन्धात्मक वाक्यांश अनुसार ६० दिन भित्र पुनरावेदन लाग्छ भन्न नमिल्ने हुन आउँछ भन्नेसमेत उल्लेख भई ०२४।११।२३ को फु.बे.बाट निर्णय गरेको र प्रस्तुत मुद्दामा ट्राइबुनलले सजाय नगरेकोले उक्त प्रतिबन्धात्मक वाक्यांशले दिएको सुविधा पुनरावेदकलाई प्राप्त हुन नसक्ने भएकोले उक्त ऐनको म्याद भित्र भनी यो पुनरावेदन पर्न आएको कानूनबमोजिम छ भन्न मिल्नआएन । पुनरावेदन खारेज हुनेठहर्छ । मिति ०२५।७।३०।६ मा पुनरावेदक श्यामविहारी पाण्डे विपक्षी शुकु चमार भएको जग्गा मुद्दामा दुईजना सदस्यमात्रको उपस्थितिमा फैसला भएको अनधिकृत फैसलाहुँदा कानूनी मान्यता दिन नहुने भएकोबाट बदर हने ठहरेकोले त्यसउपर पुनरावेदन हेरी कारवाई गर्न नमिल्ने हुँदा खारेज हुने भन्ने मा.न्या.श्री हेरम्बराजको र पक्ष श्यामबिहारीले दिएको पुनरावेदन हेरी सो फैसलाको निर्णय गर्नुपर्ने ठहर्छ भन्नेसमेत मा.न्या.श्री इश्वरी जंगबहादुर सिंहको रायबाझी भई फु.बे.मा पेश हुँदा २ जना सदस्यमात्र रहिगरेको निर्णय कायम हुने नहुने कुरा पुनरावेदन तहबाट निर्णय हुनसक्ने भन्नेसमेत ठहरभई ०२५।७। ३०।६ मा फुल बेञ्चबाट निर्णय भएको देखिन्छ । उक्त फैसलाले २ जना सदस्य मात्र रही ट्रिवुनलबाट भएको फैसला स्वतः बदर हुने नभई पुनरावेदनको तहबाट मात्र बदर गर्न मिल्ने भन्ने सिद्धान्त कायम गरेको देखिएकोले उपरोक्त उल्लेख भएबमोजिम पुनरावेदन खारेज भएकोले पुनरावेदन नै कायम नभएपछि २ जना सदस्य भई फैसला गरेकोलाई बदर गर्न माध्यम नै नरहेबाट त्यसलाई स्वतः बदर हुन्छ भन्न नमिल्ने हुन आउँछ । यस्तै २ जना सदस्य रही ट्रिवुनलबाट निर्णय भएको वादी देवकली पठकाईनी विपक्षी प्र.दुखिभर भएको उखडा मुद्दामा उखडासम्बन्धी ऐनको दफा ६(१) नलगाई जग्गा मिच्ने ऐन लगाई सजाय गरेबाट खारेज हुन्छ भनी डि.बे.बाट ०२५।११।१५ मा र वादी राप्रसाद अहिर विपक्षी प्र.भगिरथ अहिर भएको यस्तै उखडा जग्गा मुद्दामा डि.बे.बाट ०२५।१२।१० मा पुनरावेदन खारेज गरेको र वादी मुकुट तेवारी विपक्षी प्र.बलीमर भएको उखडा मुद्दामा पनि डि.बे.बाट ०२५।१०।६ मा पुनरावेदन खारेज गर्ने गरी निर्णय भएको समेत देखियो । तर वादी रामलखन कुर्मी विपक्षी प्र.तिलक भुज भएको उखडा जग्गामुद्दामा दुईजना सदस्य मात्र रही उखडासम्बन्धी ऐनको दफा ६(१) लगाई सजाय नगरी जग्गा मिच्नेको ऐन लगाई सजाय गरेकोमा ट्राईबुनलको फैसला बदर गरी कानूनबमोजिम गर्न जि.अ.मा पठाइदिनु भन्नेसमेत डि.बे.बाट ०२५।१२।३मा निर्णय भएको देखियो । अतः उखडासम्बन्धी ऐन, ०२१ को दफा ६ को १ नलगाई सजाय गरेकोमा उखडासम्बन्धी (दो.सं.) ऐन, २०२४ को दफा ८ को उपदफा ३ को प्रतिबन्धात्मक वाक्यांश अन्तर्गत पुनरावेदन लाग्न नसक्नेमा दफा ६ को १ अन्तर्गत सजाय नगरेको र जग्गा मिच्नेको ऐन लगाई सजाय गरेकोमा प्रतिबन्धात्मक वाक्यांश अन्तर्गत भनी पुनरावेदन परेकोलाई मान्यता दिई २ जना सदस्य रही ट्रिवुनलबाट भएको फैसला बदर गरेको उक्त डि.बे.को रुलिङ्गगसँग सहमत नभएकोले नियमबमोजिम फुल बेञ्चमा पेश गर्नु भन्ने ०२५।१२।२८।५ को डिभिजन बेञ्चको फैसला ।
३. यसमा तारिखमा उपस्थित पुनरावेदकको वा. आशमा मुसलमान्नी रोहवरमा रही ०२६।३।३।३ मा पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा ०२५।१२।२८।५ को डिभिजन बेञ्चबाट भएको फैसलामा निवेदक दशरथ वडही विपक्षी कपिलबस्तु उखडा ट्राईबुनलको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने केशमा उखडा सम्बन्धी (दोश्रो संशोधन) ऐन, ०२४ को दफा ८ को उपदफा ३ को प्रतिबन्धात्मक वाक्यांशमा तर यो ऐन लागू हुन भन्दा अघि किनारा भएको मुद्दा मामिलामा यो ऐन जारी भएको ६० दिन भित्र सर्वोच्च अदालतमा पुनरावेदन दिए लाग्छ भन्ने उल्लेख भएको व्यवस्था उक्त ऐनको दफा ६ को उपदफा (१) लगाई सजाय गरेको मुद्दा मामिला भएमात्र लाग्न सक्ने उल्लेख भई ०२४।११।२३ को फुल बेञ्चबाट निर्णय भएको र प्रस्तुत मुद्दामा उक्त दफा ६ को उपदफा (१) लगाई सजाय गरेको नदेखिएकोले उक्त प्रतिबन्धात्मक वाक्यांश अनुसार पुनरावेदन लाग्न नसक्ने हुँदा पुनरावेदन खारेज हुने ठहर्छ । वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुज समेतको उखडा जग्गा मुद्दामा २ जना सदस्य मात्र रही उखडा सम्बन्धी ऐनको दफा ६(१) लगाई सजाय नगरी जग्गा मिच्नेको ऐन लगाई सजाय गरेकोमा उक्त प्रतिबन्धात्क वाक्यांश अन्तर्गत भनी पुनरावेदन परेकोलाई मान्यता दिई २ जना सदस्य रही ट्रिबुनलबाट भएको फैसला बदर गरेको ०२५।१२।३ को डिभिजन बेञ्चको रुलिङ्गसँग सहमत नभएकोले फुल बेन्चमा पेश गर्नु भन्ने ठहर भई नियमबमोजिम निर्णयको लागि यसै बेन्चमा पेश हुन आएको रहेछ । उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भए मात्र सो कुरामा यस बेञ्चबाट निर्णय दिनुपर्ने हुनआउने हुनाले सर्वप्रथम रुलिङ्ग नमिलेको छ छैन भन्ने कुरा नै हेर्नु पर्ने हुन आयो ।
४. प्रस्तुत मुद्दामा भएको ०२५।१२।२८।५ को डिभिजन बेञ्चको फैसलामा उखडा सम्बन्धी ऐनको दफा ६(१) नलगाई ट्रिबुनलबाट छिनेकोमा पुनरावेदन लाग्ने नलाग्ने के हो भन्नेसमेत प्रश्न उठाई ०२४।११।२३ को फुल बेञ्चको फैसलाबाट प्रतिपादित सिद्धान्तलाई आधार लिई पुनरावेदन नलाग्ने भनी उपरोक्त ठहर गरेको पाईन्छ । वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुजको उखडा जग्गा मुद्दामा ०२५।१२।३ को डिभिजन बेञ्चबाट भएको फैसलामा ३ जना सदस्य भएको ट्राईबुनलमा २ जना सदस्यमात्र रही फैसला गरेको भन्नेसम्म कुरालाई लिई त्यस्तो २ जना सदस्यमात्र रही गरेको फैसलालाई कानूनबमोजिम अधिकारप्राप्त ट्राईबुनलबाट गरेको मान्न नमिल्ने हुनाले बदर हुने ठहर्छ भनी निर्णय गरेको देखियो । प्रस्तुत मुद्दाको ०२५।१२।२८।५ को फैसलामा जस्तै पुनरावेदन लाग्ने नलाग्ने कुराको प्रश्न उठाई त्यस्को विवेचनामा गरी कुनै सिद्धान्त प्रतिपादित हुने किसिमले लेखबद्ध गरी उक्त प्रश्नमा ठहर निर्णय गरेको पाउन सकिएन।
५. के कस्तो अवस्थालाई रुलिङ्ग बाझिएको मानिने हो भन्ने तर्फ हेर्दा वादी रामवर्ण कुर्मी प्रतिवादी भिखी अहिर समेतको बाली मुद्दामा कुनै एक बेञ्चबाट भएको फैसलामा स्थापित सिद्धान्तसँग यदि अर्को कुनै बेन्च सहमत नभई अर्कै सिद्धान्त स्थापित हुने फैसला गर्छ भने त्यस अवस्थामा रुलिङ्ग बाझिएको भन्नु पर्ने ठहर गरी ०२१।५।१३।६ को फुल बेञ्चबाट र वादी जंगध्वज कार्की प्रतिवादी बखतबहादुर कार्की समेतको चोरी विजन दर्ता बदर मुद्दामा कुनै एक डिभिजन बेञ्चबाट भएको अन्तिम निर्णयबाट एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित भएको छ र त्यस्तै मुद्दामा कुनै अर्कै डिभिजन बेञ्चको अर्को सिद्धान्त प्रतिपादित हुने गरी निर्णय हुन्छ भने यस्तो अवस्थामा मात्र रुलिङ्ग नमिली बाझिएको मान्नु पर्ने हुन्छ भन्ने ठहर गरी ०२२।६।१ को फुल बेञ्चबाट निर्णय भइराखेको देखिन्छ ।
६. अतः उपरोक्त उल्लेख भएबमोजिम प्रस्तुत मुद्दामा भएको ०२५।१२।२८।५ को डिभिजन बेञ्चको फैसलामा पुनरावेदन लाग्ने नलाग्ने कुराको जुन प्रश्न उठाई पुनरावेदन नलाग्ने भनी निर्णय गरिएकोछ, त्यस कुरामा वादी रामलखन कुर्मी प्रतिवादी तिलक भुजको उखडा जग्गा मुद्दामा भएको ०२५।१२।३ को डिभिजन बेञ्चको फैसलामा प्रश्न उठाई कुनै सिद्धान्त प्रतिपादित हुने गरी निर्णय भएको नहुनाले रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नदेखिंदा यसबेञ्चबाट अरुकुरा विचार गरिरहनु परेन । नियमबमोजिम मिसिल बुझाइदिनु ।
मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह, मा.न्या.श्री रङ्गनाथ, मा.न्या.श्री लोकराज र मा.न्या.श्री नयनबहादुरको समर्थन ।
उक्त ठहरमा हामीहरूको समर्थन छ ।
इति सम्वत् २०२६ साल आषाढ ६ गते रोज ६ शुभम् ।