निर्णय नं. ४८६ – अंश लिखत बदर
निर्णय नं. ४८६ ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२४ सालको देवानी फु.नं. ७२ निबेदक...
निर्णय नं. ४८६ ने.का.प. २०२६
फुल बेञ्च
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
सम्वत् २०२४ सालको देवानी फु.नं. ७२
निबेदक : प.४ नं. सतैला मागे कुमाला खोला बस्ने हरिमाधव पाध्या
विरुद्ध
विपक्षी : ऐ ऐ बेरा खोला बस्ने भद्री पाध्यानी समेत
मुद्दा : अंश लिखत बदर
(१) राजीनामा मिलापत्र मगज बिग्रेको अवस्थामा भएको भनी बदर गर्न उजूर नगरेमा उक्त मिलापत्र अदालतमा नै भएमा–सदर हुने, तत्काल प्रचलित अ.बं.को ६५ नं. को सहुलियत दिन नमिल्ने ।
उक्त राजीनामा मिलापत्र वादीको मगज बिग्रेको अवस्थामा भएकोले सदर मान्न नमिल्ने हो कि भन्ने शंका उपस्थित भएतर्फ हेर्दा वादीले दिएको निवेदन तथा निजको बयानमा मगज बिग्रेको बखत गरे भएको राजीनामा र मिलापत्र बदर गराई पाउँ भनी उजूर गरेको नदेखिएकोमा पनि उक्त मिलापत्र अदालतमा नै भएको मुद्दामा उही वादीले उजूर गरेको देखियो । यसरी मिलापत्र गरी उजूर गर्ने वादीको मगज बिग्रेको थियो भनी तत्काल प्रचलित अ.बं.६५ नं.को सहुलियत दिन मिल्दैन ।
(प्रकरण नं. १८)
वादी निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट
उल्लेखित मुद्दा :
फैसला
मा.न्या.श्री वाशुदेव शर्मा
१. बाबुको नाउँ दर्ता भएको सालको धान मुरी ३०। मकै मुरी २२। आउने खेत पाखो जग्गा र एकतल्ले घर र धनमाल समेत भएको बाबु आमा परलोक हुनु भए पछि विपक्षी मध्येका भाउजू जानिफकार भएकोले तिर्थ जाने मन भई भिच्छाटनको सामान गरी २००७ सालदेखि घुमफिर गरिरहेको थिएँ । २०१६ सालमा घर आउँदा भाउजू नभएको घरबारी जग्गा विपक्षीहरूले कब्जा गरेको रहेछन् । किन कब्जा गर्यौ भाउजू कहाँ गईन भनेमा घर जग्गा नन्दलाल मार्फत हामीले चलन गरेको छौं भनेकाले भाउजू कहाँ गई मेरो जग्गा घर के गर्यौ भनेमा बाबु नन्दलालले जे भने मैले उसै गरें तिम्रो अंश भए उजूर गर भन्नेसमेत जवाफ दिएकोले उजूर गर्न समेत नसकी मागी जिबिका गरी आएको थिएँ । अहिले गाउँलेहरूले तिमीलाई अन्याय गरे सरकारमा जाहेर गर्न जाउ भनेकाले जाहेर गर्न आएको छु । कोर्टफी समेत नलिई ठाडै बुझी घर जग्गासमेतको भाउजूबाट तायदाती लिई खरिद विक्री गरेको भए पनि बदर गरी मेरो आधी अंश दिलाई दिनु भन्ने हुकुमको प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको विन्तीपत्रमा व्यहोरा साँचो भए हाल कोर्टफी नलिई मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भन्ने ०२२।१।८।३ मा विशेष जाहेरीविभागबाट स्याङ्गजा जिल्ला अदालतका नाउँमा प्रमांगी भएको ।
२. म घर छोडी हिंडेको ०७ साल फाल्गुण महिनामा हो गते बार सम्झन सकिदैन सोही फाल्गुण महिनामा मानो छुट्टिएको कायम गरी अंश दिलाई पाउँ र अन्यायवालाहरूले यो व्यहोरा यस्तो लिखत गरे गराएका छन् भन्ने मलाई कौनै कुरा थाहा नभएकोले भाउजूबाट खुलाई बदर गराई पाउँ भन्नेसमेत निज वादी हरिमाधवको बयान ।
३. वादीको एकाघरको दाजु लोकनाथले घरको काम गरी आएको रहेछ निजले एकनारायण पाध्याालाई ७ कित्ता जग्गा भोगबन्धकी दिएको रहेछ सो तिर्न समेत गरी ३०००। मा गोठु पाध्यालाई राजीनामा गरिदिएकोमा पास हुन नपाउँदै निज लोकनाथ मरेकोले म्याद भित्र हकदार इन्द्रमणी सनाखत साक्षी भई लोकनाथकी व्राम्हणी भद्रीले पास गरिदिएको रहिछन् । गोठुले टिकाराम समेतलाई बिक्री गर्नुभएको रहेछ । सहेले भन्ने पाखो जग्गा निजै गोठुले राजीनामा गरी लिए पछि उजूरवालाले यसै बिषयमा उजूर गर्दा ०१४।११।२६।१ मा मिलापत्र गरेको छन् वादी दावी झुठ्ठा हो तिर्थ गर्न गएको समेत कौनै कुरा होईन भन्नेसमेत डि. जंगवीरको बयान।
४. वादीको उजूरमा लेखिएबमोजिम मैले खरिद गरी लिएको र हटक गरेको समेत छैन, यो उजूरवाला म जान्ने भएको अवस्था देखि नै मगज बिग्रे जस्तो कुरा गरी हिड्ने अंश जग्गा मुद्दा परी ०१४ सालमा हो की के हो मिलापत्र गरेको हो अरु कुरा म जान्दिन भन्नेसमेत मु. थानेश्वरको बयान ।
५. म रुद्रपाणीको बाजे भुवानी शंकरका छोरा ५ भाइमा माहिलोको छोरा साहिंलो लोकनाथका कान्छा हरिमाधव साईलाको छोरा म इन्द्रमणी भएको बाबुहरू अघिनै छुट्टिएको दाजु लोकनाथले गोठु पाध्यालाई जग्गा राजीनामाको कागज गरिदिएका रहेछन् । पास हुन नपाउँदै लोकनाथ मरेका भद्री बर्ष १२ की नावालख हुँदा वादी घरमा नहुँदाका अवस्था सनाखतमा साक्षी बसी पास भए गरेको हो । रुपैंया कति लिएखाए मलाई र भद्री समेतलाई थाहाछैन । घरवास नहुँदा भद्री नन्दलालको घरमा छन् । भद्रीका बाहुन लोकनाथ वादी हरिमाधवको अंशबण्डा भएको छैन । ००७ साल फाल्गुणदेखि म मानुछुट्टी मागी खाई हिडेकोछु भन्नेसमेत नन्दलालको र भद्रीको वा.भई आफना हकमासमेत इन्द्रमणीकोबयान ।
६. १९८७ सालमा एकनारायणलाई वादीको जेठो दाजु मिनेश्वरले केही जग्गा बन्धकी लेखी ८७।१०।१५ मा पास गरिदिएकोमा सोही समेत गाभी ९७।६।१ मा निजलाई रु.८०० मा ७ कित्ता जग्गा भोगबन्धकी गरिदिएको रहेछ । २००३ साल माघ १८ गते निज लोकनाथले मसँग रु.३०० लिई राजीनामा गरिदिएकाले मैले भोग चलन तिरो गरी आएको राजीनामा गरी दिंदाको अवस्था मिनेश्वर मरी सकेको र पास हुन नपाउँदै लोकनाथ पनि मरी गएकोले निजकी स्वास्नी भद्री नावालख हुँदा लोकनाथको माहिला छोरा रुद्रमणी बाबु हकदारको मञ्जुरीबाट ४।२।२० मा पास भएकोबाट पाइआएको लोकनाथले बिक्री गर्दाको अवस्था यो वादी केही मगज बिग्रे जस्तो भई हिंंिडरहेकोले साक्षी नबसेको २००७ साल देखि तिर्थ घुम्न गएको होईन वादीले अघि नै हक छाडी मिलापत्र गरिसकेकोले उक्त जग्गाहरूमा वादीको हक दावी नलाग्ने भन्नेसमेत गोठु पाध्याको बयान ।
७. १९९६ सालमा छुट्टिएको भन्ने अंश जालसाजी मुद्दाबाट दखिएको छ । हाल दिनु भएको यो वादीमा ०७ सालमा मानो छुट्टिएको भन्ने लेख्नु भएकोले अंश हुन बाँकी रहेछ भन्ने पत्यार लायक देखिएन । १९९६ सालमा अंश लिइसकेको छु भनी दावी लिई भद्री समेतका प्रतिवादीसँग मुद्दा गरी दावी छाडी मिलापत्र भएको हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्नेसमेत ०२३।५।९ को स्याङ्गजा जिल्ला अदालतको फैसला ।
८. बन्धकी लखबन्धकी जानी खानु भनी मुख्य मिलापत्रको शर्त भई मिलापत्र भएपछि सो मिलापत्रलार्ई नै कायम गरी इन्साफ गर्ने हो भने पनि बन्धकी लखबन्धकी जग्गा मैले निखनी खान पाउने कुन कुन के कति हुँ सो पनि छुट्याई फैसला गर्नुपर्ने खारेज गरेको फैसलामा चित्त बुझेन भन्नेसमेत व्यहोराको वादी हरिमाधव पाध्याको पुनरावेदन ।
९. फिरादीले चढाएको निवेदनमा व्यहोरा साँचो भए हाल कोर्टफी नलिई ठाडै बुझी ऐन सवाल बमोजिम गर्नु भन्ने हु.प्र. बक्स भएको अघि झगडा परेको र दावी छाडी मिलापत्र गरेको कुरा छिपाइ तिर्थ गर्न ००७ सालदेखि घुमफिर गरिरहेको ०१६ सालमा घरमा आई थाहा पाएँ भन्ने व्यहोरा साँचो देखिन नआएको हुँदा वादी दावी खारेज गरेको इन्साफ जि.अ.स्याङ्गजाको मुनासिव ठहर्छ भन्नेसमेत गण्डकी अं.अ.को ०२३।९।१०।१ को फैसला ।
१०. अन्यायवालाहरूको जालसाज मिलेमतोले खरिद विक्री गरे तापनि मेरो मञ्जुरी बेगर विक्री गरेमा मेरो आधा अंश बदर वातिल गरिपाउँ भन्नेसमेत वादीको दोश्रो पुनरावेदन ।
११. वादीले हाल दावा गरेको जग्गामा यस मुद्दाका प्र.भद्री उपाध्यानीसमेतका उपर अंश भागमा परेको जग्गामा खिचोला गरे दिलाइपाउँ भनी यिनै पुनरावेदकले ०१४।१।१६ मा नालेश गरेकोमा राजीनामा बन्धकीसमेतका कागजबदर राखी वादीदावा छाडी ०१४।११।२६ मा स्या.अ.मा मिलापत्र गरेको प्रमाण निमित्त आएको मिसिलबाट देखियो । एकपटक मुद्दा गरी मिलापत्र गरिसकेपछि उसै झगडीयाको नाउँमा पुनःनालेसउजूर लाग्न नसक्ने र ०१४ सालमा दिएको उक्त मुद्दाको फिरादपत्रमा ९६ साल आश्विनमा छुट्टिएको भन्ने र प्रस्तुत मुद्दाको निवेदन र बयानमा ०७ सालमा मानोछुट्टिएको मानी कुरै फरकपारी लेखेको र अघि ०१४ सालमा मिलपत्र भएको कुरासमेत प्रस्तुतमुद्दाको निवेदन र बयानमा उल्लेख नगरेबाट व्यहोरा साँचो नदेखिएकोलेसमेत वादीदावी साँचो भन्न मनासिव नपर्ने हुँदा वादीको पुनरावेदन जिकिर पुग्नसक्दैन वादी दावी खारेज गर्ने गरेको इन्साफ सुरुको सदर गरेको ग.अं.अ.को मुनासिवठहर्छ भन्नेसमेत २०२४।४।२२।१ को स.अ.डिभिजन बेञ्चको फैसला ।
१२. वादी निवेदक हरिमाधवले न्यायीक समिति मार्फत जाहेर हुने गरी श्री ५ महाराजाधिराज सरकारका हजूरमा विन्तिपत्र ।
१३. प्रस्तुत मुद्दामा गोठु पाध्याले जग्गा लोकनाथले बिक्री गर्दाको अवस्था यो वादी केही मगज बिग्रेको जस्तो भई हिंडीरहेकोले उसबखत साक्षी नबसेको र मु.थानेश्वरले म जान्ने भएको अवस्था देखि नै कहिले काँही देख्दा मगज बिग्रे जस्तो कुरा गर्ने भनी लेखिदिएको समेतबाट निज वादीको अघिदेखि हालसम्म मगज ठिक थिएन बिग्रेको थियो भन्ने प्रष्ट हुुन आएको छ । त्यस्ता मानिससँग मिलापत्र गरेको देखिन्छ, जुन मिलापत्रमा जे भए तापनि तपाईं वादीले जालसाजी भनी उजूर गरेको राजीनामा बन्धकी समेतका कागज सदर राखी जग्गा छाडी दिई प्रतिवादी र बयान जिकिरबमोजिम राजीनामा बन्धकी जानी खान हामी प्रतिवादीहरूलाई दिनु मिली जाउँ भनी प्रतिवादीहरूले म वादीसँग भन्न नआएकोले दावी पैरवी छाडी मिल्नामा म वादीको र हामी प्रतिवादीहरूको मञ्जुर थियो भन्ने लेखिएको सो मिलपत्रको बोलीमा उक्त उल्लेखित जे भए तापनि तपार्इं वादीले कागज सदर राखी खान दिनु हवस् भनी प्रतिवादीहरूले मागी वादीले दिएको भन्ने देखिंदा त्यसबाट वादी दावीबमोजिम वादीको हकमा जग्गा भएको भन्ने देखियो । प्रतिवादी मध्येकै टिकारामको छोरो ढेबुनारायणले बयान गर्दा पनि सोधिएको जग्गा अघि वादीको हकको भए पनि दाजु भाउजूले राजीनामा गरिदिएको भन्ने लेखेको त्यसबाट पनि वादीको हक भन्ने जान्दा जान्दै बेगर क्षतिपूर्तिले हक छुटाई मिलापत्र गरेको देखिएको, जुन मिलापत्र उक्त उल्लेखित मगज ठिक नभएको वादीसँग गैरकानूनी तरिकासँग गरेको भन्ने प्रष्ट हुनआएको छ । एकपटक मिलापत्र गरिसके पछि उसै झगडियाको नाउँमा पुनः नालेश उजूर लाग्न नसक्ने ०१४ सालको फिरादपत्रमा ०९६ सालमा छुट्टिएको भन्ने र प्रस्तुत मुद्दाको निवेदन र बयानमा ०७ सालमा मानो छुट्टिएको भनी लेखेको मिलापत्रको कुरा उल्लेख नगरेको भन्न सर्वोच्च अदालतको फैसलामा उल्लेख भएको हकमा जुन कारणी मिलापत्र गर्ने भनेका व्यक्ति नै मगज विग्रेको देखिन्छ भने त्यस्तो अवस्थामा त्यस्ता मगज विग्रेको व्यक्तिले मिलापत्र उपर उजूर नगरेको कुरा फरक पारी लेखेको मिलापत्र गरेको कुरा उल्लेख नगरेको भन्न र त्यसका आधारमा अदालतले केही बोल्न र निर्णय दिन हुँदैन भन्न कानूनी तथा सिद्धान्तबाट समेत उचित देखिँदैन सो ऐन मगज नबिग्रेका साधारण मानिसहरूमा परस्पर मिलापत्र भएको अवस्थाको मिलापत्रको हकमा सम्म प्रयोग हुनसक्ने मगज विग्रेको अवस्थाको मानिसलाई गराएको मिलापत्रमा प्रयोग हुन सक्छ भन्न नमिल्ने । त्यसका अतिरिक्त पछिका व्यवहारमा घर समेत अरुलाई विक्री गरी भद्रीकला माईत गई बसेकी र घरमा अरु नै बसेको देखिएको र मगज बिग्रेको मानिसले होस ठेगाना भएपछि आफ्ना हकमा उजूर गर्न पाउने तत्कालिन अ.बं.६५ नं. मा व्यवस्था भएको त्यस्तो अवस्थामा मगज विग्रेको व्यक्तिको हक मेटाई समान हकदारमा घरको मुख्यले बेचबिखन गर्नसक्ने भन्ने कुरा कानूनी हो भन्न पनि मनासिव नदेखिएको समेत प्रमाण परिवन्दबाट सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहोर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्धा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्नेसमेत ०२४।९।१८।३ को श्री प्रमुख सचिव राजदरवारको हुकुम प्रमांगी ।
१४. बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भए पछि त्यस्तो निर्णयको दुई प्रतिलिपि नं. ७ न्या.स.०२१।४।१३।३ का हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्नेसमेत ०२४।९।२३।१ मा माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।
१५. वादीको उजूरी निवेदन र बयान समेतमा विपक्षी भाउजू भद्रा पाध्यानी जानिफकार भएकी म तिर्थ गर्न भनी ०७ सालदेखि घुमफिर गरिरहेको ०१६ सालमा घर आउँदा घर बारी जग्गा इन्द्रमणी, थानेशवर, जंगवीर, गोठु पाध्याले नन्दलाल मार्फत कब्जा गरेका रहेछन्, भाउजू कहाँ गई भनेमा तिम्रो अंश भए उजूर गर भनेकीले निजहरूले खाएको घर जग्गासमेत चल अचल श्रीसम्पत्तिको निज भाउजूबाट तायदाती लिई विक्री गरेको भए पनि बदर गरी मेरो अंश दिलाई पाउँ भन्ने उल्लेख गरी भाउजूसँग तायदाती लिई अंश दिलाई पाउँ भन्ने र अरु प्रतिवादीहरूले खरिद गरी लिएको लिखत बदर गरिपाउँ भन्ने २ कुराको वादी दावी भएको देखिन्छ । यिनै वादीले भद्री समेत उपर मेरो अंश भागमा परेको जग्गामा खिचोला गरे दिलाई पाउँ भनी ०१४।१।१६ मा नालेस गरेकोमा राजीनामा बन्धकी समेतका कागज सदर राखी वादी दावी छाडी ०१४।११।२६ स्याङ्गजा अ.मा मिलापत्र गरेको भन्ने आधारमा सुरु र अञ्चल अ.डि.बे.समेतबाट प्रस्तुत वादी दावी खारेज गरिएकोरहेछ । सो अघि परेको मुद्दाको मिसिल समेत अध्ययन गरी हेरेमा उसबखत अंश दिलाइपाउँ भन्ने वादीको दावी परी अंशमा दावी छाडी मिलापत्र गरेकोसमेत नदेखिएकोले भाउजू भद्रीसँग चलअचल श्रीसम्पतीको तायदाती लिई अंश दिलाइपाउँ भन्ने वादीतर्फ वादीले अंश पाउने नपाउने के हो कानूनबमोजिम इन्साफ ठहर नै नगरी लिनुपर्ने सो भएगरेको देखिनआएन । तसर्थ उक्त अंश दिलाइपाउँ भन्ने दावीतर्फ जो बुझ्नुपर्ने तहकिकात गरी अंश नपाउने देखिएमा सोहीमाफिक र अंश पाउने देखिएमा ऐनबमोजिम तायदातीसमेत लिई मिसिल दाखिल भएको ३ महिनाभित्र कानूनबमोजिम ईन्साफ ठहर गरी सोउपर पुनरावेदन परे पुनरावेदन तह टुंगो लागेपछि र पुनरावेदन नपरे सो अवधि नाघेपछि मिसिल यहाँ पठाई दिनु भनी न्यायप्रशासन बिबिध व्यवस्था ऐन, २०१८को दफा ११ को उपदफा (ख) अनुसार फु.बे.को दर्ता लगत कायमराखी तारिखमा रहेका दुबैपक्षलाई स्याङ्गजा जि.अ.मा हाजिर हुन जानु भनी तारिख तोकी मिसिल उक्त जि.अ.मा पठाई सोबमोजिम भइआएपछि नियम बमोजिम पेश गर्नु भन्नेसमेत ०२५।२।१८।६ को सर्वोच्च अदालत फुल बेञ्चको आदेश ।
१६. मानु छुट्टिएको अघिल्लो दिन अर्थात २००७ साल माघ मसान्तसम्मको यसको तायदाती दुवै थरबाट लिने भएको आदेशबमोजिम म जिम्मा केही छैन भनी वादीले दरखास्त दिएको वादी जिम्मा बिगो रु.१५७।५० समेत जम्मा बिगो रु.३३१५। को तायदाती प्रतिवादीबाट दाखिल भएको वादीले मेरो जिम्मा छैन भनी दरखास्त दिए पनि प्रतिवादीबाट पेश भएका तायदातीबाट वादी जिम्मा रु.१५७।५० को बिगो भन्ने कुरा देखिएकाले सो वादी जिम्मा रहेको बिगो रु.१५७।५० को सम्पत्ति समेत मिसाई बण्डा गरिदिनुपर्ने देखियो । मानु छुट्टिएपछि साहूलाई भोगबन्धकी दिएको प्रतिवादीबाट दाखिल भएको तायदातीबाट देखिंदा सो ऋण वादीले व्यहोर्न नपर्ने हुँदा वादी र प्र.भद्री २ अंशियार मात्र देखिंदा प्रतिवादीबाट पेश भएको तायदातीको बिगो रु.३३१५। को आधी बिगो रु.१६५७।५० को सम्पत्ति वादीले प्रतिवादी भद्रीबाट अंश पाउने ठहर्छ । यो इन्साफउपर पुनरावेदन परे ग.अं.अ.मा र नपरे सो अवधि नाघेपछि मिसिलसमेत ०२५।२।१८को स.अ.फुल बेञ्चको आदेशानुसार उक्त सर्वोच्च अदालतमा पठाई दिनु भन्नेसमेत २०२५।१०।६।१ को स्याङ्गजा जि.अ.को फैसला ।
१७. वादी निवेदक हरिमाधव पाध्यालाई रोहवरमा राखी निजतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टको बहस सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दा बुझ्दा बाबुका नाउँमा दर्ता भएको सालको धानमुरी ३०। मकै मुरी २२ आउने खेतपाखो जग्गा र एकतले घर धनमालसमेत भएको घरजग्गासमेतको भाउजूबाट तायदाती लिई खरिदविक्री गरेको भए पनि सदर गरी मेरो आधा अंश दिलाइदिनुभन्ने हु.प्र.पाउँ भन्नेसमेत को वादीनिवेदक हरिमाधव पाध्याको माग भई कारवाइचलेको प्रस्तुतमुद्दामा ०२५।२।१८ का आदेशबमोजिम अंशतर्फ कारवाई किनारा हुन स्या.जि.अ.मा गएकोमा वादी र प्र.भद्री २ अंशियारमात्र देखिंदा प्र.बाट पेश भएको तायदातीको बिगो रु.३३१५। को आधा बिगो रु.१६५७।५० को सम्पत्ति वादीले प्रतिवादी भद्रीबाट अंश पाउने ठहर्छ भनी ०२५।१०।६।१ मा फैसला भएकोमा कसैको पुनरावेदन नपरेबाट अन्तिम निर्णय भएको रहेछ ।
१८. निवेदक वादीले प्र.हरूले खरिद विक्री गरेका बदर गरिपाउँ भन्ने जिकिर गरेतर्फ विचार गर्दा यी मध्येको गोठु पाध्याले बयान गर्दा १९८७ सालमा एकनारायणलाई वादीको जेठो दाजु मिनेश्वरले केही जग्गा बन्धकी लेखी ८७।१०।१५ मा पास गरिदिएकोमा सोही समेत गाभी ९७।६।१ मा निजलाई रु.८००। मा ७ कित्ता जग्गा भोगबन्धकी गरिदिएको रहेछ । २००३ साल माघ १८ गते निज मिनेश्वरको भाइ भद्रीको खसम लोकनाथले मसँग रु.३०००। तिनहजार लिई राजीनामा गरिदिएको पास गर्न नपाउँदै परलोक भएकोले हकदार इन्द्रमणी साक्षी बसी भद्रीले २००४।२।२०।३ मा पास गरिदिए बमोजिम मैले भोग तिरो समेत गरी आएको र केही जग्गा अरु प्रतिवादीलाई राजीनामा समेत गरी दिइसकेको भनी बयान गरेको देखियो । २००४ सालमा राजीनामा गरी हक छाडी सकेको कुरामा वादीले तत्काल प्रचलित साहू आसामीको ऐन ८ नं.को म्याद भित्र उजूर गर्नसकेको देखिएन । वादीले निवेदन तथा बयानमा २००७ सालदेखि घुमफिर गरिरहेको थिए । २०१६ सालमा मात्र घर आएँ भनी जिकिर लिएको देखिएको लोकनाथले प्र.गोठुलाई ७ कित्ता जग्गा राजीनामा गर्दाको अवस्था २००४ सालमा वादी घरैमा रहेको भन्ने निजको लेखाईबाट देखिन्छ । वादीले यही ७ कित्ता जग्गामा पहिले उजूर गर्दा राजीनामा बन्धकी समेत सदर राखी हक छाडी ०१४।११।२६।१ मा स्याङ्गजा अदालतमा मिलापत्र गरेकोरहेछ । उक्त राजीनामा मिलापत्र वादीको मगज बिग्रेको अवस्थामा भएकोले सदर मान्न नमिल्ने हो की भन्ने शंका उपस्थित भए तर्फ हेर्दा वादीले दिएको निबेदन तथा निजको बयानमा मगज बिग्रेको बखत गरेभएको राजीनामा र मिलापत्र बदर गराई पाउँ भनी उजूर गरेको नदेखिएकोमा पनि उक्त मिलापत्र अदालतमा नै भएको मुद्दामा उही वादीले उजूर गरेको देखियो । यसरी मिलापत्र गरी उजूरी गर्ने वादीको मगज बिग्रेको थियो भनी तत्काल प्रचलित अ.बं.६५ नं.को सहुलियत दिन मिल्दैन । तसर्थ लिखत बदर तर्फ खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मिलेको देखिन्छ । तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक वादी हरिमाधव उपाध्यायके मुद्दा दोहर्याएमा सुरु कोर्टफी रु. ३५। को सयकडा १० ले रु.३।५० कोर्टफी लाग्छ रुजु हुँदा असूल उपर गर्नालाई निजलाई डिभिजन बेञ्चका फैसलाले फिर्ता पाउने भएको रु.१८।५० पैसा मध्ये कटाई बाँकी रु.१५। ऐनका म्याद भित्र माग्न आएमा फिर्ता दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु ……….१
माननीय प्रधान न्यायाधीशको ०२४।९।२३ मा आदेशबमोजिम यो निर्णयको २ प्रतिलिपि हु.प्र.बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा सर्वोच्च अदालत जनरल विभाग मार्फत पठाई दिनु…..२
मिसिल नियम बमोजि गरी बुझाई दिनु …………………….३
मा.न्या. श्री लोकराज र मा.न्या.श्री हेरम्बराजको समर्थन ।
उक्त रायमा सहमत छौं ।
इति सम्वत् २०२६ साल जेष्ठ ३१ गते रोज ६ शुभम् ।