May 30, 1969
Created by nepalarchives

निर्णय नं. ४८३ – हकसफा

निर्णय नं.  ४८३     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फुल नम्वर...

निर्णय नं.  ४८३     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०२५ सालको देवानी फुल नम्वर ५६

निवेदक : का.ई. वटुटोल बस्ने गोविन्दप्रसाद मुडभरी

विरुद्ध

विपक्ष : ऐ प्युखा टोल बस्ने कालुमान शाक्य

मुद्दा : हकसफा

(१)   फिरादपत्र दर्ता हुनुभन्दा अधि नै को मुद्दामा म्याद भित्र थैली धरौटी राखेमाथैली धरौट राख्न म्याद नाघेको भन्न नहुने ।

            त्यस्तो सुविधा पाएको म्याद भन्दा पनि पहिले नै धरौट राखेकोले म्याद नघाई धरौट राखेको भनी प्रश्न उठ्नुपर्नेनै थिएन । यस मुद्दामा किनारा गर्नुपर्ने फिरादपत्रनै ०१८।३।१३ गते परेको र माथि लेखिएबमोजिम सोभन्दा अघिनै मुद्दामा म्यादभित्र धरौट रहिसकेको कुरामा थैली धरौटराख्ने बिषयमा म्याद नाघेको भनी ठहर गर्नमिल्दैन ।

 (प्रकरण नं. १४)

निवेदक वादीतर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट      : अधिवक्ता श्री कुलराज

फैसला

     मा.न्या. हेरम्बराज

      १.     वारेसनामामा सानुमान शाक्य भन्ने बोली परेकोमा कुनै वारेसनामा खडा गरेको भनी कालुमान वादी भई दायर भएको मुद्दा सर्वोच्च अदालत लगायतबाट आजका ३५ दिन भित्र इलाका अदालतमा नालेस गर्न जानु भनी वा.कृष्णप्रसादलाई सुनाई दिने ठहराई फैसला भएकोले अघि कालुमानका नाउँमा ०१०।८।१८।५ मा नालेस दायर गर्दा दाखिल भएको वारेसनामामा सानुमान भन्ने लेखी बेरीत हुन गएको वारिसनामा नालेस साथ दाखिल गरेको छु । अघिल्ला नालेस बमोजिम हकसफा गरिपाउँ भन्नेसमेत ०१८।३।१३।३ को गोविन्दप्रसादको वादी ।

      २.    बेहिसाव नालेस खारेज गरिपाउँ भन्ने मुद्दामा मेरो अपील परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१५।१।२२।१मा खारेज हुने ठहरी फैसला भएको उपर वादीले रिभ्यूको निवेदन दिन नसकेका वा.कृष्णप्रसादले रिभ्यूको निवेदन दिए तर्फ मुद्दा दोहर्‍याई दिएकोमा डिभिजन बेञ्चबाट उजुर नलाग्ने ठहराई फैसला भइसकेकोमा ०१८।२।१३ को फुल बेञ्चबाट वारेसलाई नालेस दिने भनी सुनाएको आधारमा फिराद गर्न आएको आफुले थामी पाएको म्यादभित्र नालेस गर्न भएन । म्याद नाघिसकेको हुनाले दण्डसजायका ५३ नं. बमोजिम वादी फिराद खारेज गरिपाउँ भन्ने समेत ०१८।८।१३।३ को कालुमान शाक्यको प्रतिवादी ।

      ३.    हकसफा मुद्दा पर्दा सानुमान उपर फिराद नालेस गर्न वारेस अख्तियारबाट कालुमानका नाउँमा गरेको फिराद नालेस वेहिसाब भए खारेज गरिपाउँ भनी यी प्रतिवादी लालुमानले यिनै वादी गोविन्दप्रसाद उपर अपील तेश्रामा उजूर दिंदा तहतह हुदैं जानुपर्ने आखिर सर्वोच्च अदालत फुल बेञ्चबाट बेरीतको अख्तियारनामा लिई फिरादपत्र दिन आएको मौकामा अ.बं.९० नं. बमोजिम दरपीठ गरिदिएको भए उसै बखत ऐनको रीत पर्‍याई अख्त्यरनामा लिई फिराद नालेस म्यादै भित्र गर्न पाउने हुन जाने थियो । उस बखत त्यसो नगरी कारवाई हुदै आएकोमा कर्मचारीका गल्तीले ऐनबाट पाएको हक सुविधामा आघात पर्ने हुँदा हकसफा मुद्दा दिई इन्साफ माग्ना निमित्त ऐनको रीत पुर्‍याई आजका ३५ दिनभित्र सम्बन्धित सुरु ई.अ.मा नालिस गर्न जानु भनी वादीवालालाई सुनाई दिनु पर्छ भनी ०१८।२।१३।६ मा फैसला भएकोले पुनः वादीले यी प्रतिवादी उपर उही हकसफा मुद्दा दिएको देखिएको यिनै वादीको यिनै प्रतिवादी उपर दुईटा हकसफा मुद्दा पेश हुन आएको दुवै मिसिल हेर्दा निखन्न पाउँ भनी वादी वा.ले दावी लिएको घर अघि यिनै वादीले मेघराजबाट २०००।७।२२ गतेमा खरीद गरी लिई सो घर विश्वेश्रप्रसादलाई वादीले र ०९।५।१८ मा विश्वेश्वरप्रसादले यी प्रतिवादीलाई ०१०।१।४मा बिक्री गरेको देखिएको त्यसमा यी वादी साक्षी बसेको नदेखिएको यी वादी गोविन्दप्रसाद घर बिक्री गर्न विश्वेश्वरप्रसादका हकदार भतीजा होइन भन्ने कुरा कतैबाट देखिन नआएको वादीका बाबु शिवलाल यही सरदमै थिए भन्ने कुराको प्रतिवादीले सबूद दिन नसकेको वादी बिदेश भएमा प्रतिवादी साबितै भएको बाबु जिबित छँदा छदै छोराले निखन्न पाउँदैन भन्ने सा.अ. का नं.९ मा उल्लेख नभएको हकवालाले लिएसम्म अरुले पाउदैन भन्ने बेचेका किनेका मितिले हकवाला यसै सरदमा भई ६ महिना र बिदेश गएको भए १ बर्षसम्ममा थाहा पाएको ३५ दिन भित्र हकवालाले लिन्छ भने पाउछ भन्ने लेखिएको बाबु शिवलालले ननिखने पछि निखन्न पाउने हक वादीमा नआउने भन्ने ऐनले नमिलेको र यस्ता निखन्न पाउने व्यक्ति बिदेशमा भएकोले १ बर्ष भित्र परेको नालेसलाई म्याद नाघेको भन्न नमिलेको भन्नेसमेतबाट वादीले लिखतबमोजिमको थैली प्रतिवादीलाई तिरी निखन्न पाउने र सो थैली सि.न. १०३४ मा धरौट रहेकोले उसै मिसिलबाट थैली तिराई दिने सो खरिद लिएको घर रु.८६७२।४२ खर्च गरी बनाएको भन्ने प्रतिवादी जिकिर तर्फ अर्को नालेस गरेकोबखत ठहरेबमोजिम ठहर्छ भन्नेसमेत ०२०।५।२५।४ को का.दे.अ.को फैसला ।

      ४.    शुरु का.दे.इ.अ.ले गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत दुवै थरीको पुनरावेदन।

      ५.    यी वादीले नै दावीको घर खरिद गरी विश्वश्रप्रसादलाई बिक्री गरेको विश्वेश्वरप्रसादले यी प्रतिवादीलाई विक्री गरेको देखिएको, वादी गोविन्दप्रसाद विश्वेश्वरप्रसादको भतिजा नाता होइन र निज वादी विदेश बसेको होइन भन्ने कुरामा प्रतिवादीले सबूद दिन गुर्जान नसकेको र सा.अ. को ९ नं. मा बाबुले ननिखने पछि छोराले निखन्न नपाउने भन्ने कुरा उल्लेख भएको नदेखिंदा निखन्न पाउने र घर मर्मत गरेको भन्ने तर्फ अर्को नालेस परेका बखत ठहरे बमोजिम हुने भन्नेसमेत सुरु इन्साफ मनासिव ठहर्छ । बेरीत ठहराएको वारेसनामाबाट अघि दायर भएको मुद्दा र यो प्रस्तुत मुद्दासमेत एकैसाथ समावेश गरी इन्साफ गर्नपरेमा सोबमोजिम नगरी दुवै मुद्दामा इन्साफ गरी दुवै पक्षतर्फबाट निखन्न पाउने ठहरने गरेकोसम्म सुरुको गल्ती ठहर्छ भन्नेसमेत ०२१।८।४।५ को का.जि.अ.को फैसला ।

      ६.    का.जि.अ.ले गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेतको दुबै थरीको पुनरावेदन ।

      ७.    थैली तिरी निखनी लिन पाउने गैह्र कुरामा निखनाई पाउँ भनी अड्डा मालमा नालेस उजूर गर्न आउँदा थैली थाहा भएकोमा नालेससाथ थैलीसमेत ल्याई धरौट राख्नुपर्छ । थैली थाहा नभएमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिवादी परेको ३५ दिन भित्र र मुख नमिलेकोमा बुझाउन पाउने ठहरी फैसला भई अपीलको तहसम्मबाट फैसला भएपछि वा ऐनले अपील नलाग्ने अवस्था पुगेको ३५ दिन भित्र सो तिर्नु पर्ने थैली अङ्गमा ल्याई धरौट राख्नु पर्छ सो म्याद भित्र थैलैली धरौट राख्न ल्याएन भने बन्धकी र दृष्टि निखनी लिने बाहेक अरु निखनी लिने कुरामा निखनी लिन पाउँदैन, लिए दिएको पक्का हुन्छ भनी तत्काल प्रचलित साहू आसामीको ऐन १३ नं. मा लेखिएको र प्रस्तुत मुद्दामा वादीले हकसफा गर्न पार्न पाउने भन्नेको घर मो.रु.२३००१। मा खरिद गरेको हुँ भनी १०।१०।७।४ मा कालुमानले प्रतिउत्तरपत्र दिएको र वादीको वारेस कृष्णप्रसादलाई १० साल पौष २५ गतेबाट १०।१०।१० को तारिख तोकिएकोमा सो तारिख गुज्रियो भनी बिन्तिपत्र दिई थमाई १०।१२।५।५ मा हाजिर भई १०।१२।१५ को तारिख तोकिएको सो मितिमा रजिष्ट्रेशन अड्डा बुझ्नु पर्ने भनी कारण जनाई सोही चैत्र १७ गतेको तारिख तोकी सो दिन रजिष्ट्रेशन अड्डाबाट प्राप्त भएको राजीनामा नक्कल वादीको वारेसलाई सुनाई ०११ साल वैशाख ७ गतेको तारिख तोकी सो मितिमा वैशाख २४ गतेको तारिख तोकी सो मितिमा वैशाख ३० गते थैली दाखिलगर्नु भनी तारिख नतोकिएको त्यसपछि अर्जि र गुजार्न समेत गरी हाजिर भएको मिति ०११।४।२० मा थैली धरौट दाखिल गरेको समेत देखियो ।

      ८.    थैली भर्न थाहा भएन तर ४ हजार वढाई लिखत गरे रे भनी वादीले फिरादपत्रमा लेखेको यस्तो लिखतमा समयको कुरामा रजिष्ट्रेशन अड्डा गई नक्कल लिई थैली यकिन गरी रजिष्ट्रेशन पास गर्ने अड्डामा नै थैली धरौट राखी हकसफा गर्न सुविधा पनि कानूनले प्राप्त छंदै थियो । त्यसतर्फ नलाग्नेको र प्रतिउत्तर परेको कुरा अड्डामा नसुनाए सम्म पक्षलाई थाहा कसरी हुने भन्ने वादीतर्फका विद्वान वकिलको तर्क तर्फ हेर्दा १०।११।१७ मा राजीनामा नै सुनाई दिई थैली थाहा भएपछि सो थैली उपर मुख नमिलेको भन्ने अवस्था सृजना हुने किसिमको उजूर नगरेकोले थैलीमा मुख मिलेको समेत भई थैली थाहा हुन र मुख मिल्न पर्ने ऐनको व्यवस्थानुसार थैली थाहा र मुख पनि मिलेकै देखिनाले सो चैत्र १७ गतेका मितिले ३५ दिन भित्रै थैली धरौट राख्न लानु पर्ने कर्तव्य वादीकै हो भन्ने कुरा ऐनले प्रष्ट गरेकैछ । तत्काल साहू आसामीको १३ नं. अनुसार कागज सुने पछि ३५ दिन भित्र धरौट राख्नु वा थैली बढीमा नालेस गर्नु वादीको कर्तव्य भएकोमा पनि माथि लेखिएबमोजिम र मुख मिलेको अवस्था पुगी थैली समेत थाहा भइसकेपछि पनि ३५ दिन समेत नघाई नाघिसकेपछि ऐनमा नतोकिएको तरीका अपनाई थैली धरौट ल्याउ भनी वैशाख २४ गते अदालतले तारिख ताकी ०११।४।२० मा मात्र धरौट दाखिल गर्नु गराउनु कानूनमा मिल्दो नदेखिएकोले उक्त ऐनले तोकिएको म्यादभित्र धरौट नराखेको यस्तो हकसफा गर्न पाउँ भन्ने दावी पुग्न नसक्ने प्रष्ट देखिन आएकै छ ।

      ९.    यसरी ऐनको म्याद भित्र थैली धरौट नराखेकोले वादीले हकसफा गर्न नपाउनेमा हकसफा गर्न पाउने गरी सुरु र जिल्ला अदालतले गरेको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत ०२२।११।१३ को डिभिजन बेञ्चको फैसला ।

      १०.    वादीको दावीबमोजिम खास लिए दिएको थैलीको मुख नमिलेकोमा अदालतले निर्णय फैसला दिनुपर्ने ऐनमा प्रष्ट लेखिएको राजीनामा सुनाएको मिति कायम गर्ने कुनै ऐनमा उल्लेख नभएको हुँदा अदालतले निर्णय दिनु कर्तव्य भई अदालतको अधिकार क्षेत्र भित्रको कुरा भई राजीनामा सुनाएको मितिबाट ०११ साल वैशाख ७ गतेको तारिख दिन त्यसबाट ०११।१।२४ गतेको तारिख पर्चामा रु.२३००१। ऐ. वैशाख ३० गते थैली दाखिल गर्न ल्याउनु भनी निर्णय पर्चा सुनाई दुबै पक्षलाई सहीछाप गराएको हुँदा गैरकानूनी तरिका अदालतले गरेको थियो भने विपक्षीले पनि निर्णय सुनी सहिछाप गरेपछि चित्त नबुझे ऐनको म्यादभित्र हाकिमका नाउँमा कराउनेको १८ दफा (क) बमोजिम उजूर गर्नुपर्ने सो नगरी चित्त बुझाएको हुँदा अदालतले गरेको निर्णय अकाट्य भएको ऐनबमोजिम निर्णय दिने अदालतलाई दोषरोपण गरी म्याद भित्र दाखिल भएको थैलीलाई म्याद गुजारे पछि धरौट दाखिल गरेको भनी निर्णयमा उल्लेख गर्नु भएकोले सारै अन्यायमा परें न्यायिक समिति मार्फत म्याद भित्र सर्वोच्च अदालत फुल बेञ्चबाट मुद्दा दोहर्‍याई दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको विशेष जाहेरी मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा गोविन्दप्रसादको छोरा शम्भुप्रसाद मुडभरीको निवेदन ।

      ११.    श्री ५ महाराजाधिराज सरकारका हजुरमा तपसीलका मानिसले चढाएको निवेदनपत्रको व्यहोरा मौसुफ सरकारको हजुरमा जाहेर हुँदा व्यहोरा साँचो हो र एकपटक पनि फुल बेञ्चबाट नदोहरीएको मुद्दाहरू रहेछन् भने फुल बेञ्चबाट दोहर्‍याई हेरी रुल नियमबमोजिम गरी निर्णय गरिदिनु भन्नेसमेत बक्स भइआएको हकूम प्रमांगी ।

      १२.   गोविन्दप्रसाद मुडभरीले चढाएको निवेदनपत्र समेतको व्यहोरा पेश भयो । यस्मा बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न फाँटमा बुझाई दिनु । उल्लेखित हुकुम प्रमांगीको प्रतिलिपि उल्लेखित निवेदन समेत यसै साथ छ । आदेश भएको जनाउ निवेदकलाई दिनु भन्नेसमेत व्यहोराको माननीय प्रधान न्यायाधीश ज्यूको ०२४ साल आश्विन २८ गते रोज १ को आदेश ।

      १३.   तारिखमा रहनु भएका निवेदकको वारेस शम्भुप्रसादलाई र विपक्षी कालुमानलाई रोहवरमा राखी निवेदक वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्रीकृष्णप्रसाद घिमिरे र विपक्षीतर्फ रहनु भएका विद्वान अधिवक्ता श्री कुलराजले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादीले हकसफा गरी लिन पाउँछ पाउँदैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । त्यस निमित्त फार्छे गरेको मिति विश्वेश्वरप्रसादको गोविन्दप्रसाद हकवाला हो भन्ने कुरा र २०१० साल वैशाख ४ गतेबाट एकबर्ष भित्रै ०१०।८।१८।५ मा हदम्याद भित्रको नालिस परेकोमा होईन भन्ने प्रतिवादीको जिकिर नभएकोले त्यसतर्फ केही शंका गर्नु नपरी म्याद थैली धरौट नराखेको भनी ०२२साल फाल्गुण १३ गतेको डिभिजन बेञ्चको फैसलाका हकमा थैली कुन मितिमा धरौट राख्नु पर्ने हो र कहिले धरौट राखेको हो भनी मुख्यतया विचार गर्नु परेको छ । तत्काल प्रचलित साहू आसामीको १३ नं. मा र लेनदेन व्यवहार को १६ मा यस बिषयमा लेखेको पाईन्छ, धरौट राख्नु पर्नेमा (१) थैली थाहा भएकोमा उजूर साथै (२) थैली थाहा नभएकोमा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिन भित्र (३) मुख नमिलेकोमा अन्तिम फैसला भएको ३५ दिन भित्र म्याद तोकिएको छ ।

१४.   ०१० साल मार्ग १८ गते प्र.कालुमानको नाउँमा फिराद परेको भए पनि गोविन्दप्रसादले कृष्णप्रसादलाई गरिदिएको अख्तियारनामामा सानुमानका नाउँमा फिराद गर्ने भनी लेखिएकोले अख्तियारनामा र फिरादपत्रमा लेखिएको प्रतिवादीको नाम भिन्नै हुँदा अड्डाले तत्कालिन अ.बं.९० बमोजिम वारेसनामा दरपिठ नगरे फिरादपत्र दर्ता गरेको खारेज हुने भए पनि आजका ३५ दिनभित्र सुरु अदालतमा नालिस गर्न जानु भनी फुल बेञ्चको ०१८ साल जेष्ठ १३ गतेको फैसलाको आधार लिई यो ०१८ साल आषाढ १३ गते फिराद दर्ता भएको छ । यो फिराद दर्ता भएको मिति भन्दा अघिनै १०।८।१८।५ मा फिराद परेको मुद्दाको कारबाहीको सिलसिलामा ०११ साल श्रावण २० गते लिखतबमोजिमको थैली रु.२३००१। अ.त.बिगो फाँटमा धरौट रहेछ, सो धरौटी लिनलाई वादीले रु.४०००। बढिको लिखत गर्‍यो, खुद लिए दिएको थैली कति हो ? थैली थाहा नभएकोले ठेकाना लगाई अंकको थाहा भएमा धरौट राख्ने छु भन्नेसमेत फिराद परी नालेससाथ धरौट राख्न नपरेकोमा प्रतिवादीले लिखत पेश गरेपछि अङ्गबाट यति धरौट राख्नु पर्छ भनी ठहर गरी अन्तरिम आदेश गरेको पनि रहेनछ । थैली थाहा नभएको समेत भनी माथि लेखिएबमोजिम फिराद परेकोमा प्रतिउत्तर परेपछि वादी प्रतिवादीको मूख कसरी मिलेको हो ? सो पनि देखाएका छैन । ०१० साल चैत्र २४ गतेको तारिखमा धरौटी ल्याउनु भनी तारिख पर्चामा लेखिदिएको भरमा देवानी दोश्राबाट वादीले धरौट राख्न ल्याएको थैली बुझी अ.त.बिगो फाँटमा धरौट रहेको देखिन्छ । त्यस्तो धरौट राखेको भएपछि यति थैलीमा निखन्न पाउने भनी अन्तिम फैसला भएको ३५ दिन भित्र वादीले थैली धरौट राख्न पाउने सुविधा थियो । त्यस्तो सुविधा पाएको म्याद भन्दा पनि पहिले नै धरौट राखेकोले म्याद नघाई धरौट राखेको भनी प्रश्न उठ्नु पर्ने नै थिएन । यस मुद्दामा किनारा गर्नुपर्ने फिरादपत्र नै ०१८।३।१३ गते परेको र माथि लेखिएबमोजिम सो भन्दा अघिनै मुद्दामा म्याद भित्र धरौट रहिसकेको कुरामा थैली धरौट राख्ने बिषयमा म्याद नाघेको भनी ठहर गर्न मिल्दैन । लेखिएका कारणले वादीले हकसफा गरी लिन पाउँछ भनी ठहराएको बागमती अञ्चल अदालत (तत्कालिन का.जि.अ.)को फैसला मनासिवछ । सो ठहर्नाले तपसीलबमोजिम गर्नु ।

 

तपसील

डिभिजन बेञ्चका मिति ०२२।११।१३ गतेको फैसला र मिति ०२३।२।२।१ का आदेशबमोजिम कसिएको लगतमा सो लगत बमोजिम गर्नु नपर्ने हुँदा देहाय बमोजिम गर्नु भनी का.श्रे.अ.त.मा लगत दिनु………………….१

काठमाडौं जिल्ला अदालतका ०२१।८।४।५ का फैसलाले राखेको धरौटी बमोजिम प्र.कालुमान शाक्य वादी गोविन्दप्रसादलाई भराई दिने गरेको कोर्टफी रु.५७५।३ र अरु दस्तुर ।६२ समेत जम्मा ५७५।६५ कालुमानलाई फिर्ता गर्नु भन्ने र गोविन्दप्रसादलाई भरी भराउ गर्नु पर्दैन भनी दिएको लगत कट्टा गर्नु ऐ.

प्र.कालुमान शाक्यले का.जि.अ.मा पुनरावेदन गर्दा लागेको कोर्टफी रु.५७।५१ र त्यसउपर यस अदालतमा पुनरावेदन गर्दा लागेको कोर्टफी रु.२८।८१ समेत जम्मा रु.८६।३२ फिर्ता दिनु भनी दिएको लगत कट्टा गर्नु ऐ

वादी गोविन्दप्रसादले ०११।४।२०।४ मा अ.त.बिगो फाँटमा राखेको धरौटको रु.२३००१। दण्डसजायका ४५ नं. बमोजिम म्याद भित्र प्र.कालुमानको दरखास्त परेमा वा निखनाई पाउँ भनी ऐ को दफा ४ बमोजिम गोवन्दप्रसाद को दरखास्त परेमा उक्त ऐनको समेत रीत पुर्‍याई निखनाइ दिनु । उक्त डिभिजन बेञ्चका फैसला र आदेशबमोजिम धरौट राखेको २३००१। वादीलाई फिर्ता दिनु पर्दैन भनी का.श्रे.अ.त.मा लगत दिनु

गोविन्दप्रसादले मुद्दा दोहर्‍याउदा यस सर्वोच्च अदालतमा राखेको कोर्टफी धरौटी ९४।०१ मिति ०२५।७।३० मा स.अ.ल.न. विभागमा दाखिल गरेकोले सो भराइपाउँ भनी प्र.कालुमानको जायजात देखाई कोर्ट फि ऐनका म्यादभित्र वादी गोविन्दप्रसादले दरखास्त दिएमा दस्तुर केही नलिई भराई दिनु ………………………२

गोविन्दप्रसादले काठमाडौं ईलाका अदालत र जिल्ला अदालत उपर घर बनाउने खर्चमा छुट्टै नालेस गर्नु भनेको कुरामा चित्त बुझेन भनी पुनरावेदन गर्दा राखेको कोर्ट फि फिर्ता गर्नु पर्दैन………………………..३

नियमबमोजिम मिसिल बुझाई दिनु …………………….. ४

मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह र मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको समर्थन

 

उक्त रायमा सहमत छ ।

 

 

इति सम्वत् २०२६ साल जेष्ठ १७ गते रोज ६ शुभम् ।