निर्णय नं. ४७८ – जग्गा खिचोला
निर्णय नं. ४७८ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी ०२५ सालको दे.फु.नं. ४५...
निर्णय नं. ४७८ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री लोकराज जोशी
०२५ सालको दे.फु.नं. ४५
निवेदक : मो.प्रमाणगढ मौजे छौहरगछ बस्ने मोतिलाल सरदारको मु.स.गर्ने टिरराई बातर्नि
विरुद्ध
विपक्षी : ऐ किर्तिपुरको मरचौल बस्ने मोतीलाल गछवार थारु
मुद्दा : जग्गा खिचोला
(१) प्रस्तुत फिरादपत्र दर्ता पूर्व ऐन कानूनबमोजिम गर्न भएको तोक लुकाउनका साथै अदालतबाट भएको लिलाम बदर गर्न फिरादपत्रमा दावी नगरेमा–उक्त लिलाम बारेको कारवाई रीत बेरीत अथवा सो लिलाम सदर बदरतर्फ विचार गर्न नमिल्ने ।
प्रस्तुत फिरादपत्र दर्ता गर्नु भन्दा पहिल नै थाहा भई निवेदन दिई ऐनसवाल बमोजिम गर्नु भन्ने तोक लागेको समेत कुरै फिरादपत्रमा गुम राखी लिलाम बदर गरिपाउँ भन्ने तर्फ कुनै दावी लिन नसकेको यस स्थितिमा प्रतिवादी लेखाईबाट प्रमाणमा पेश हुन आएको कानूनबमोजिम अधिकार प्राप्त अदालतबाटै भए गरेको उक्त लिलाम बिषय कारवाई भित्र पसी सो कारवाई रीत बेरित र सो लिलाम सदर बदर के हुने हो भन्ने कुरा छुट्याई निर्णय दिन वादी दावी बेगर यस मुद्दाबाट नमिल्ने समेत हुनाले त्यसतर्फ विचार गर्न मिल्ने देखिएन ।
(प्रकरण नं. १५)
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री लवदेव भट्ट
फैसला
मा.प्र.न्या. श्री भगवतीप्रसाद
१. प्र.मध्येको सजिलालले मसँग भा.रु.१२४० कर्जा लिई निजका नाउँमा दर्ता भएको जम्मा जग्गा बिगाहा ११।।।३।।३ मध्ये विगाहा ३।।।४ साल ०१५।३।२५ गते भोगबन्धकी पास दिएकोबाट ०१७ सालसम्म मैले भोगचलन गरी खाई आएको जग्गा यही ०१८ साल आषाढ १ गतेका दिन जोत्न लागेको टायम जोत्न नदिई हक हटक गरेकाले खिचोला मेटाई पाउँ भन्ने मोतिलाल सरदारको ०१८।६।१३।६ को फिरादपत्र ।
२. छविलालको र साजिलालको बिगो भरी भराउ मुद्दामा छविलालको बिगो र सरकारी दण्ड दसौंद बिसौंदवापतमा प्र.साजीलालको नाउँ दर्ताको प्रमाणगढ मौजे किर्तिपुरको जग्गा मो.बि.ई.अ.तथा जि.अ.धरानको रोहवरमा ०१८।५।८। गते डाक बढाबढी हुँदा सवैभन्दा मेरो बढी डाक भा.रु.१८४७।७७ मा सो जग्गा मध्ये कि.नं.१२ को विगाह ४।४द्र२ मो.वि.ई.अ.ले चलनपुर्जी गरिदिएअनुसार उक्त मितिदेखि मेरो हकचलनमा रहेको वादीले भोगबन्धक लिई भोगिआएकोसमेत होइन भन्नेसमेत मोतिलालको ०१८।९।१।६को प्रतिउत्तर ।
३. वादीले मबाट भा.रु.१२४० मा भोगबन्धकमा लिई भोग चलन गरेको मेरा नाउँमा दर्ता भएको मौजे किर्तिपुरको जग्गा बिगाहा ११।।३।।३ मध्ये बिगाहा ३।।४ जग्गा ०१५।३।१५ मा भोगबन्धकी पास गरी वादीले नै भोग चलन गरी आएकोमा धनिलालसंगको लेनदेन मुद्दामा मो.वि.इ.अ.का. फैसलाबाट भरी पाउँ भन्ने निज धनिलालको दरखासत परी तायदाती गरी लिंदा यो वादीको जग्गासमेत तायदाती गरी लगेको रहेछ । लिलाम भएछ भन्नेसमेत साविलाल खवासको ०१८।९।२१।५ को प्रतिउत्तर ।
४. मोतिलाल थारुले भा.रु.१८४७।७७ मा बढाबढ कवोल गरी निजले पाएका प्रमाण निमित आएको सो बिगो भरी भराउ छिनुवा मिसिलबाट देखिएकोले त्यस्तो जग्गामा खिचोल गरे भन्ने वादी दावा झुठ्ठा ठहर्छ भन्ने विराटनगर इलाका अदालतको ०१९।६।२ को फैसला
५. बढाबढी भएको कुरा मैले मौकामा थाहा पाउन नसकी उजूर गर्न नसके पनि उजूर पर्न आएको अवस्था प्रमाणबाट देखिन आएमा बदर हुन सक्तैन भन्न न्यायोचित नहुने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन ।
६. प्रमाणलाई आएको लिलाम मुद्दाको मिसिलबाट साजिलालसँग भरी पाउने बिगो वापत छविलालको दरखास्तबमोजिम टाँस हुँदा वादीको घर भएको मौजामा टाँसिएको देखिंदैन । आफुले ०१५ सालदेखि बन्धकी लिई भोगेको जग्गा लिलाम हुन र अर्कै साहूलाई भरिभराउ गरिदिन लागेको थाहा भएको भए उसै बखत उजूर नगरी चुप लाग्ने अवस्थै नपर्ने हुनाले र लेखिएबमोजिम २१ दिने म्याद टाँस भएकै थियो भन्ने कुनै पनि पक्का सबूद नपाइएकोले २१ दिनको टाँस म्यादमा उजूर नगरेकोले जग्गा जान्छ भन्ने सुरुको बुँदा र इन्साफ गल्ति ठहर्छ । भोगबन्धकी लिखतबमोजिम १२ नं. को जग्गा विघाह ३।।।०४ वादीले पाउने र त्यति कलम लिलाम बदर हुने ठहर्छभन्ने धरान जि.अ.को ०२१।१०।२८।४ को फैसला ।
७. बिगो मुद्दाको मिसिलमा बन्धकी लिएको भन्ने कतैबाट नदेखिनाले म्याद सूचना पाउने भन्ने प्रश्नै नरहने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
८. मलाई थाहा नदिई लिलाम गरेको भए बदर गरी मेरो थैली नतिरेसम्म जग्गा चलन गर्न पाउने हुँदा कायम राखी सजाय समेत गरिपाउँ भन्नेसमेत व्यहोराको यसै वादीको जिल्ला अदालत धरान मुकाम बिराटनगरमा ०१८।३।६ मा निवेदनपत्र परी सो जिल्ला अदालत धरानबाट कैफियत रिपोर्ट तलब भई त्यस कैफियत रिपोर्टमा ऐनसवाल बमोजिम गर्नु भनी ०१८।५।१३।३ मा तोक भई गएपछि हाल प्रस्तुत जग्गा खिचोला मुद्दाको फिराद २०१।६।१३।६ मा दर्ता भएको देखिएकोले एकपटक रिपोर्टद्वारा लिलाम रीतपूर्वककै ठहराई निकासा भए गएको फेरि पनि मुद्दाको तहबाट सोही जिल्ला अदालतको हाल अञ्चल अदालत धरानले भोगबन्धक लिखतबमोजिम १२ नं. को जग्गा बिगाहा ३।।।०४ वादीले पाउने र त्यति कलम लिलाम बदर हुने ठहर्छ भनी गरेको इन्साफ मनासिव भन्न नहुने र लिलाम बदर गरिपाउँ भन्ने वादी दावी नै नभई ०१८।३।१ गतेको दिन मैले भोग चलन गरी खाई आएको जग्गामा खिचोला गर्यो भन्ने सम्म वादी भएकोमा उक्त वादी दावी बाहिर गई गरेको इन्साफ अञ्चल अदालतको गल्ती देखिने हुँदा रीतपूर्वकको लिलामद्वारा ईलाकाबाटै चलन पाई प्रतिवादीले भोग गरेको हुँदा वादीको जग्गामा नालेस परेको बखत भोगै नभएको हुँदा प्रतिवादीले खिचोला गरेको ठहर्दैन भन्ने सुरुको इन्साफ सदर भनी ०२३।४।२५।३ को डिभिजन बेञ्चबाट भएको फैसला ।
९. सो इन्साफमा चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट इन्साफको रोहवरमा लिलाम सदर बदर बोल्न नहुने भन्न नमिल्ने हुँदा जिल्ला अदालतको निर्णयलाई दावी बाहिरको ठहराई र गैरकानूनी टाँस डाक र चलनपुर्जिको आधारले जग्गा प्र.मोतिलालको भनी खिचोला गरेको नठराएकोले सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन, दोहर्याई बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२५।४।२३।४ को हुकुम प्रमांगी ।
१०. बक्स भइआएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई पक्ष राखी फुल बेञ्चमा पेश गर्नुृ र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न प्रमुख सचिवालाई राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२५।४।२५।६ को आदेश ।
११. यस्मा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२५।१२।२९।६ मा पेश भई प्रतिवादी मोतिलालतर्फबाट विद्वान अभिवक्ता श्री लवदेव भट्टले गर्नुभएको बहस र निवेदक वादीपक्षको जिकिर समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा प्रतिवादी साजिलालबाट ०१५।३।२५ मा भोगबन्धकी लिएको भन्ने वादी दावी कि.नं. १२ को जग्गा बिगाहा ४।४द्र२ मध्ये ३।।द्र४ वादी दावीबमोजिम निजको भोगबन्धकी कायम हुने नहुने के हो भन्ने प्रश्नको निर्णय दिनुपर्ने भएको छ ।
१२. सो कि.नं. १२ को पुरै जग्गा बिगाहा ४।४द्र२ वादी छविलाल प्रतिवादी साजिलालको लेनदेन मुद्दामा भएको फैसला बमोजिम भरी पाउने ठहरेको बिगो समेत वापत मो.बि.ई.अ.बाट ०१८।१।८ मा लिलाम हुँदा भा.रु.१८४७।७७ मा मैले सकार गरी ०१८।१।११।१ मा चलन पुर्जी समेत पाई मेरो हक भएको भन्ने प्र.मोतिलाल थारुको जिकिर भएको सो कुरा उक्त लेनदेन मुद्दाको प्रमाण मिसिलबाट समर्थित भइराखेको देखियो ।
१३. सो लिलाममा लिएको कुरा पहिले वादीलाई थाहा भए नभएको के रहेछ भनी हेर्दा १८।६।१३।६ मा प्रस्तुत मुद्दाको नालेस दर्ता हुनुभन्दा पहिले नै निज वादीलाई सो लिालाम बिषय कुरालाई लिई मलाई थाहै नदिई मेरो थैली भुस्याउने षडयन्त्र गरी लिलाम गरेको बुझिएकोले भएको व्यहोरा दौडाहामा निवेदन चढाएकोमा ऐन सवाल बमोजिम गर्नु भन्ने ईलाका अदालतका नाँउमा आदेश भएछ । मलाई थाहा नदिई लिलाम गरेको भए बदर गरी मेरो थैली नतिरेसम्म जग्गा चलन गर्न पाउँ भनी ०१८।३।६।३ मा तत्कालिन जिल्ला अदालत धरानमा निवेदन दिएकोमा उक्त जि.अ.बाट कैफियत प्रतिवेदन समेत झिकाई हेरी ऐन सवाल बमोजिम गर्नु भन्ने ०१८।५।१३।३ मा तोक लागेको देखिएको समेतबाट वादीलाई पहिले नै थाहा भइसकेको पुष्टी हुन्छ ।
१४. सो लिलाम बेरीतसँग भएको हुँदा बदर हुनुपर्ने भन्ने हाल निवेदक वादी पक्षको मुख्य जिकिर भएको यस प्रसंगमा सो लिलाम बदर गरिपाउँ भन्ने तर्फ वादीले पहिले फिरादपत्रमा दावी लिए नलिएको के रहेछ भनी हेर्दा वादीले सुरुउपर दिएको पुनरावेदनमा विपक्षीले लिलाम बढाबढमा लिएको भन्ने फिरादपत्रमा उल्लेख भएको भनी लेखेको समेत रहेछ । फिरादपत्रमा भने प्र.मोतिलालले लिलाममा सकार गरी लिएको र सो उपर आफूले निवेदनपत्र दिएकोमा ऐन सवाल बमोजिम गर्नु भन्ने तोक लागेको समेत यी सवै कुराहरू गुम राखी लिलाम भएको आफूलाई थाहा नभएजस्तो गरी जग्गा खिचोला सम्ममा दावी लिएको देखियो । लिलाम बदर गरिपाउँ भन्ने तर्फ कुनै दावी लिनसकेको पाईएन ।
१५. वादीले पहिले दिएको निवेदनमा धरान जिल्ला अदालतले ऐनसवाल बमोजिम गर्नु भनी सवालमा नै टेकेको हुनाले बेरीतसँग लिलाम भएको भन्ने कुरा जिल्ला अदालतले समर्थन नगरेकै भन्नु पर्ने भन्ने तर्क उठेको हकमा लिलाम बेरीत देखिएको हुँदा बदर हुन्छ भन्ने नभई ऐनसवाल बमोजिम गर्नु भन्ने सम्म तोक लागेको कुरालाई अन्यथा अर्थ गर्न मिल्ने देखिँदैन । तत्कालिन धरान जिल्ला अदालबाट ऐनसवाल बमोजिम गर्नु भन्ने तोक लागी मो.बि.ई.अ.मा गएको त्यसमा कुनै किसिमको कारवाई नउठाई तामेलीमा राखी दिएपछि निवेदक वादीले त्यसै कारवाईलाई जारी राख्ने वा जनाउने किसिमको कुनै कारवाई गराई माग्नेतर्फ केही प्रयास नगरी बादमा छुट्टै स्वतन्त्ररुपमा खिचोला गर्यो भन्ने मात्र माथि लेखिएबमोजिम प्रस्तुत नालेस दर्ता गरेको देखिन आयो । यसै मुद्दाबाट इन्साफको रोहवरमा सो लिलाम सदर बदर बोल्न नहुने भन्न नमिल्ने भन्ने अर्को तर्कका हकमा मुद्दाबाट इन्साफ दिनुपर्ने प्रश्न वादी दावीबाटै खडा हुने र जे जति कुरामा वादीको दावी छ त्यतिसम्म कुरामा अदालतबाट कारवाई अनुसन्धान गरी इन्साफ ठहर गर्नुपर्ने हो । प्र.मोतिलालले लिलाममा सकार गरी लिएको समेत कुरा वादीलाई प्रस्तुत फिरादपत्र दर्ता गर्नु भन्दा पहिले नै थाहा भई निवेदन दिई ऐनसवाल बमोजिम गर्नु भन्ने तोक लागेको समेत कुरै फिरादपत्रमा गुम राखी लिलाम बदर गरिपाउँ भन्ने तर्फ कुनै दावी लिन नसकेको यस स्थितिमा प्रतिवादी लेखाइबाट प्रमाणमा पेश हुन आएको कानूनबमोजिम अधिकार प्राप्त अदालतबाट भए गरेको उक्त लिलाम बिषय कारवाई भित्र पसी सो कारवाई रीत बेरीत र सो लिलाम सदर बदर के हुने हो भन्ने कुरा छुट्याई निर्णय दिन वादी दावी बेगर यस मुद्दाबाट नमिल्ने समेत हुनाले त्यसतर्फ विचार गर्न मिल्ने देखिएन ।
१६. तसर्थ उपरोक्त उल्लेख भएबमोजिमका कारणहरूबाट प्र.मोतिलालले लिलाममा सकार गरी लिएको वादी दावीका जग्गा विगाहा ३।।४ मा वादीको भोगबन्धकी कायम हुन नसक्ने देखिएको समेत हुँदा खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ठहराई ०२३।४।२५।३ को डिभिजन बेञ्चले छिनेको ईन्साफ मुनासिवै ठहर्छ । निवेदक वादीले मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी राखेको देखिंदा अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
मा.न्या.लोकराज जोशी र मा.न्या.नयनबहादुरको समर्थित राय
खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने समेत उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
इति सम्वत् २०२६ साल वैशाख १० गते रोज ३ शुभम् ।