निर्णय नं. ४७६ – ज्यान
निर्णय नं. ४७६ ने.का.प. २०२६ डिभिजन बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत २०२२ सालको फैजदारी अपील नम्बर ९२७ प्रतिवादी : प्र.माल...
निर्णय नं. ४७६ ने.का.प. २०२६
डिभिजन बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
सम्वत २०२२ सालको फैजदारी अपील नम्बर ९२७
प्रतिवादी : प्र.माल झुमुना मोजै कडमाहा बस्ने कन्तलाल माझी थारु
विरुद्ध
विपक्षी : प्र.घछवार मौसलोखरी बस्ने नानीलाल माझी थारु
मुद्दा : ज्यान
(१) सर्जमिनहरू मध्ये धेरैले शंका नलाग्ने र थोरैले शंका लाग्ने भनेमा र किटान बक्नेको कमि भएमा–घटनाक्रमको दरखास्त धेरै पछि परेमा–अघिल्लो र पछिल्लो दरखास्त परस्पर बाझिएमा–यथार्थ ज्ञान (थाहा नभएको) लुकाई घटनाको रिपोर्ट गरेमा–प्रत्यक्ष प्रमाणको अभावमा आरोपित (कसै माथि) कसूर (ज्यान मारेको) गरेको नठहरिने ।
सर्जमिनका भनाई हेरेमा पनि धेरैजसोले शंका लाग्दैन भनी लेखाएका र थोरैले शंका लाग्छ भनी लेखाएका, किटानी बक्ने एक पनि नभएकोले र माथि लेखिएबमोजिम घटनाक्रमको दरखास्त धेरै समय पछि मात्र परेकोले र पहिलो दरखास्त र पछिल्लो दरखास्तमा देखाएका कुराहरू परस्परमा बाझिएको मात्र नभई वादीले बस्तुस्थितिको आफुलाई भएको यथार्थ ज्ञान लोप गरी घटनाबारे रिपोर्ट गरेको देखिएको र अपीलाटहरूले कसूर गरेकै हुन्न भन्ने कुनै प्रत्यक्ष प्रमाण पुराउ नसकेको नदेखिएबाट खाली शंकाकै भरले मात्र अपीलाटहरू लाई दोषी ठहराउन मिल्दैन ।
(प्रकरण नं. १७)
अपीलाट तर्फबाट : अधिवक्ता श्री राम राजाप्रसाद
फैसला
१. २०१६ साल मार्ग ३० गतेका दिनको अन्दाजी २ बजे गाँउ देखि पूर्व चौरीमा बर्ष १७ को छोरा रतिलाल घाँस काट्न गएको अं. ५ बजे घरतर्फ आउन लाग्दा जातभातको कुरामा इबि परेको प्र.अछबा थारु पुरन थारुसमेतले पक्री भारततर्फ लगे वा ज्यान बेपता गरे भन्नेसमेत सिराहा पुलिस थानामा दरखास्त परेको पक्राउमा परेका प्र.अछवा थारुले रतिलालको सासु असिथाले मेरो जुवाँई बोलाई देउ भनेकीले रतिलालको घरमा गई भेटी सासुले बोलाएको कुरा सुनाई दिनको ३ बजे रतिलाललाई साथ लिई साँझमा असियाको घरमा घुरन रतिलाल म अछवासमेतले खानपिन गरी घुरनको घर सुतेको भोलिपल्ट राजबिराज जान्छु भनी घुरनले भने पछि म पनि सिनेमा हेर्न जान्छु भनी रतिलालले भने, म समेत ३ जना सो ठाउँबाट हिंडि रात जितपुर सतबेदा बस्ने बनरुको घरमा बास बसेको मलाई ज्वरो आएकोले थाहा पाईन । रात नमालुम कुन टायम्मा रतिलाल र घुरन समेत दुबैजना कता गए मलाई थाहा छैन भन्नेसमेत सिराहा इ.अ.मा बयान गरेपछि कुसाहा बस्ने मंगल माझी, घुरन माझी, जोखन माझी मखन माझी, कदमाहा बस्ने नाथुमाझी, कन्तलाल माझी, सन्तलाल निजको नोकर मुनरा धानुक अछवा थारुसमेत ९ जनाले मेरो पति रतिलालको ज्यान बेपत्ता गरेको भए ज्यानै हाजीर गराई पाउँ मारेको भए ज्यान सम्बन्धीको ऐनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बुहारी छोटनीले सि.हु.द्वारा जि.अ.मा निवेदन गरेकोले केही निकाशा नआएको र २०१६ साल फाल्गुण १७।१८ गतेमा हो सुराक पत्ता लगाउन कुसाहामा जवहीको पश्चिम चौरीबाट ऐ पौष ३ गते घरतर्फ आउन लागेको छोरा रतिलाललाई घुरनको पत्नी सिलिया थरुनीले फकाई आफ्नो घर कुसाहामा लगेको थाहा पाएको छोरा रतिलालको ज्यान पत्ता लगाई नदिएको प्र.जम्मै जना मिली आफ्ना गाउँ घर वा जंगल खोला कुन ठाँउमा ज्यानै मारी लास दवाई दिएको छ, कुसाहासमेतका मानिसहरूबाट सुने बुझेको हुँदा लेखिएबमोजिमका मानिसहरूले छोरा रतिलालको ज्यान मारेको मेरो चित्तमा लाग्छ । प्र.हरूलाई पक्री खुलाई लास पत्ता लगाई सरजमिन बुझी ज्यान मारेमा सजाय गरिपाउँ भन्नेसमेत जाहेरी दरखास्त र बरामद भइआएको छाता छोरा रतिलालको हो । २०१६।८।२० गते बुहारीलाई ल्याउन ससुराली गएको त्यही भात खाने बखत भएको हो । भात खाइसकेपछि पूर्णिमाको बाद तपाई लिन आए पनि नआए पनि छोरी बहिनीलाई पठाइदिन्छु भनी सासु जेठानहरूले भनेछन् र फर्की घर आउन आएको थिएँ । मार्ग ३० गते दिन देखि दरखास्तमा लेखिएको किसिमसँग छोरा रतिलाललाई लगी बेपत्ता गरी त्यसपछि मारेछन भन्नेसमेत वादी नानीलाल थारुको अदालतमा बयान ।
२. रतिलालको उमेर १७।१८ को थियो । कुसाहामा ससुरा फनिलालको घरमा आउँदा चिनेको थिएँ । मंशिरको पूर्णिमा ३ दिन बितेको थियो घुरनदास बिहानको ७–८ बजेका बखत मेरा घरमा आई तिमी एक दिन मेरो घरमा हिंड भन्दा हुन्छ भनी निजका साथ लागी घुरनका घरतर्फ जान लागेको बाटामा मलाई घुरनले भने तिमी सलोखरी बस्ने ननिलालको घर गई निजको छोरा रतिलाल भेटी तिम्रो स्वास्नी छोटनी कन्तलालका साथ फसी सक्न लागी, यहाँ राख्न भएन, लिन आउ भनी सासु असियाले भनेको छ भनी भन्नु तुरुन्त आउँछन्, आएमा निजको सासुकहाँ पुर्याई दिनु र हामीलाई खवर गर्नु भनी कुरा अराउँदै कन्तलालको घर दुवै पुग्यौं । कन्तलाल पनि आई घुरनकै घरमा बसेको रहेछन । घुरन कन्तलाल भई मलाई फेरि त्यही कुरा अराए । घुरनको घरबाट करिब १०।१० बजे ननिलालको घर तर्फ हिंडे । घुरनको घरबाट ननिलालको घर करिव २ कोशको दुरीमा पर्छ । १२–१२।। बजे दिउँसो निज ननिलालको घर पुगे, ननिलाल सीतापुर तिर गएका रहेछन् । रतिलालसँग भेटी सवै कुरा गरे । मेरो कुरा सुनेर रतिलाललाई ससुराली आउन इच्छा भयो । म सँगै जान राजी भए । घरबाट यो अहिले देखाएको छाता लिई करिव २ बजे तिर रतिलाल र म हिंडी साँझमा निजको सासु असियाको घरमा निजलाई पुर्याई दिई म घुरनको घरमा गइ रतियालाई ल्याई ससुरालीमा राखी आएको कुरा भनी दिएपछि म आफ्नु घर गएँ । सो दिन मंगलबार थियो । त्यस्को चौथो दिन शुक्रबारको दिन करिव १० बजेको बखत घुरन मेरो घरमा आई एकान्त ठाउँमा बसी मलाई भने रतिलालको स्वास्नी राम्री छ । त्यसलाई कन्तलालले स्वास्नी बनाउने भएका छन् । रतिलाल जबतक जिउँदो रहन्छन् जबतक खतरा छ, निजलाई खतम गरिदिएमात्र बाटो साफ हुने हुनाले आज खोरीया हेर्न जानुपर्छ । डुल्न जाउँ भनी निज रतियालाई लिई म १ कन्तलाल १ मुनरा धानुक १ समेत भई रतियालाई लान्छांै तिमी पनि जानुपर्छ भन्ने कुरा गरे । लौ हुन्छ म पनि जान्छु भनी दिएँ । घुरन पनि आफ्नो घरतर्फ गए । झटपट भात खाई कन्तलालको घरतर्फ गए । घुरन म कहाँ आई भनेको निज रतियालाई खोरीयामा लगी मार्ने कुरा सवै सुनाउदै म पनि त्यही काममा जान आएको हुँ भनी एकछिनबाद कन्तलालले आफ्नो नोकर मुनरा धानुकसमेतलाई बोलाई हामी तिनैजना खोरीया तर्फ जान्छौ भनी कन्तलालले मसँग कुरा गर्दै जाँदा रतिलाललाई मारेपछि उस्की स्वास्नी छोटनीलाई कन्तलालले स्वास्नी बनाउने कुरा गरे । रतिलाललाई मालिक खोरीयामा म गई राख्छु भनी घुरनले मलाई भनेका थिए । कन्तलाललाई पनि त्यसै भनेको रहेछ । हामी सिधै खोरिया तर्फ गयौ । खोरीयामा पुग्दा करिव १ बास दिन थियो । घुरन र रतिलाल त्यहीं चिलिम पिउँदै थियो । हामी ३ जना पनि पुगी चिलिम पिई सकेपछि कन्तलालले आफ्नो नोकरलाई इसारा गरिदिएपछि बसी रहेका रतिलाललाई मुनराले एकदम भुईमा पल्टाई दिएर निजै मुनराले रतिलालको छातीका घुँडाले टेकी रतिलालको गर्दन दवाउन लाग्दा रतिलाल कराउन थालेका थिए । मुनराले गर्दन दवाई दिएपछि कराउन सकेनन । हात खुट्टा फाली छटपटाउन लागेकाले मैले दुबै खुट्टा समातें । कन्तलाल र घुरनले एउटा हातमा समाते मुनराले एकछिनसम्म घाँटी दवाइराख्दा निज रतिलाल थारु मरिसकेछन् । हामी बसी राखेको ठाँउनेर भलुवाई भन्ने नदिको किनारमा पानीले खोली राखेबाट खाडल भएको रहेछ । त्यसैमा निज रतिलालको लास लगी राखी माथिबाट सवैजना मिली नदिको बालुवाले छोपी घरतर्फ हिंडी आफ्नु आफ्नो घर गयांै । पछि ननिलालले सिराहा अमिनीमा ज्यान बेपता मुद्दा चलाएपछि घुरनको बाबु मंगलको कन्तलालको दाज्यू सन्तलालसमेत भई सो ठाँउबाट रतिलालको लास झिकी जंगल नमालुम कहाँ जलाई दिएको कुरा निज मंगल र सन्तलालले मलाई भने भन्नेसमेत अछवा थारुको साविती बयान ।
३. २०१६ साल मार्ग ३० गते हनुमान नगर अमिनीमा मेरो तारिख छ । तिमीले अर्जी लगी दिनु पर्यो भनी गाउँकै किसानले भनेकोले हुन्छ भनी घरमा भात खाई २०१७।८।२९।२ का दिन अर्जि लिई राजविराजतर्फ हिंडे । साँझमा कल्याणपुर तोले चकवाको मोेहनको घर बास बसी भोलिपल्ट मार्ग ३० गते दिनको ४ बजे अमिनीमा आई वादी गोसाइ प्र. किसनसमेत भएको करकाप कुटपीट मुद्दामा छुट्टाछुट्टै अर्जि दाखिल गरेको छु । साँझ राजविराज बस्ने इन्द्रकुमारको घर बास बसी भोलि र पर्सिपल्ट पनि निजैको घर बसी भोलिपल्ट शुक्रबार २ बजे हिंडी बजहत बस्ने जनकलालको घर बास बसी भोलिपल्ट बिहान भात खाई घरतर्फ गएको हुँ । वादी ननिलालको म उपरको उजूरी दरखास्त र अछवाको म उपरको पोल र मेरा बाबुले पछि लास उखाडी अन्त लगी जलाए भनेको समेत सारा कुरा झुठ्ठा हो । रीस इबिले उजूर र पोल गरेका हुन् भन्नेसमेत घुरन थारुको इन्कारी बयान ।
जाहेरवाला ननिलालको दरखास्त र अछवाको बयान समेत सुन्ने, दरखास्त र बयानबमोजिम म समेत भई रतिलाललाई मारेको छैन । २०१६ साल मार्ग २९ गतेको राती छोरा कन्तलाल घरैमा थिए । भोलिपल्ट मार्ग ३० गते बिहान निज छोरासँग भेट नगरी ३०।४० गोटा गाई लिई म र नोकर अजवमंडर १ समेत २ जना उदयपुर इलाका त्रिजुगामा गोठ राख्न हिंडे । साँझ पर्ने बखत त्रिजुगा पुगी विष्णुपुर बस्ने पलट माझीको बारीमा बथान राखी बस्यौं । त्यसो हुँदा उक्त टायममा त्रियुगामा छु । यस मुद्दाको बिषय केही थाहा छैन । बुढो मानिस हुनाले म केही जान्दिन । छोरा कन्तलालको गलामा एउटा बाटुलो टुटुल्को भई फुलेको थियो । भित्रपट्टी घाउ भएको हुँदा दुख्छ भनेको थियो । त्यस्तो बखत कुनै खराब कुरामा गयो लाग्यो होला भन्ने मलाई लाग्दैन । अरु अरुले के गरे म जान्दिन भन्नेसमेत नाथुको इन्कारी बयान ।
४. जाहेरवाला ननिलालको दरखास्त र अछवाको बयानसमेत सुनें । म र मेरो छोरा ३ उपरको आरोप झुठ्ठा हो । २०१६ साल मार्ग ३० गते विहानै हामी चारै बाबु छोरा उठी कुरा हुँदा माहिलो छोराले दुरागमन गरी दुल्है ल्याउने कान्छो छोरा मखनले छोरी लगनवतिको घर गई भगवानको पूजाको निम्तो मान्न जाने जेठो छोराले किसुनको अर्जि हनुमान नगर अमिनीमा पुर्याई दिने आफू घरदेखि १० कोस उत्तर पूर्व त्रियुगाको हतिया बकैतियामा वनिया धान काट्न जान्छु भनी अराई विहानै घुरन राजविराजतर्फ र म त्रियुगातर्फ लागें धान काटी सकी २०१९ साल पौष ५ गते बेलुका घर आई पुगें । पुस ७ गते माहिलो छोरा दुलही लिई आई पुगे । घुरन पुस ४ गते आई पुगेछ । हामी बाबु छोरा कसैले पनि रतिलाललाई मारेको र लास गाडेको पछि उखाडी म समेत भई जलाएको समेत हैन अरुले के गरे थाहा छैन । ननीलाल अछवासँग घुरनको इवि परेको कुरा छोरा घुरनले भनेको थियो । सो इवि लिई पोले पोलाएको होला भन्नेसमेत प्र.मंगलको बयान ।
५. ननीलालको म समेत उपर दिएको दरखास्त बयान सुनें । म समेत भई निजको छोरा रतिलाललाई मारेको छैन । २०१६ साल मार्ग ३० गते बिहान उठी हामी ३ छोरालाई बोलाई म त्रिजुगा धान काट्न जान्छु दाज्यु राजविराज जान्छन् । ससुराल गई बुहारी ल्याउनु भनी अहएको हुँदा गई पौष ७ गते पत्नीसमेत लिई घर आएको हुँ । हामी बाबु छोरा ४ उपरको उजूरी झुठ्ठा हो भन्ने प्र.जोखनको बयान ।
६. जाहेरवालाले देखाएको निजको छोरा रतीलाललाई बोलाई लगेको भनेको २०१६।८।३० को दिन बाबु मंगल त्रिजुगातर्फ धान काट्न दाज्यु घुरन राजविराज तर्फ जानु भयो । भात खाई दाजु जोखु दुरागमन गर्न ससुराली तर्फ र म दिदी कहाँ भगवानको पूजाको निम्तामा गएँ । पौष ९ गते घर आएँ । हामीले राती रतिलाललाई चिनेको र मारेको पनि छैन उजूरी झुठ्ठा हो अरुले के गरे थाहा छैन भन्नेसमेत प्र.मखनको बयान ।
७. ननीलाल मेरो सम्बन्धी नाताको र रतिलाल छोरी छोटनीलाई दिएको जुवाँई हुन । यही गए मंसिर महिना हो गते,बार याद छैन, मंगलबार थियो । साँझको टायम सुर्य अस्त भएपछि जुवाई रतिलाल मेरो घरमा आइपुगे । कसरी आउनु भयो आउने कुराको खवर पनि दिनु भएन भनी जुवाईलाई भन्दा छोरीलाई लिन आउनु भनी तपाँइले खवर गरेकोले लिन आएको हुँ । कदमाबने अछवा थारुले बोलाउन आएकोले निजैकोसाथ आएको हुँ भन्नुभयो । मैले बोलाएको हैन किन गएछ, मलाई थाहा छैन । अब आइहाल्नु भयो, ४।५ दिन बसी छोरीलाई पनि लानुहोस भन्ने कुरा ज्वाईसँग गरें, त्यसको तेसरा दिन हो, म खेतको धान उठाउन गएकी थिएँ, जुवाई के ठानेर हो, घरतिर जान भनी हिंडेछन् र कुसा चौरीको कठकुद तिर पुगेपछि मेरै गाँउको घुरनको स्वास्नी सिलियाले फर्काई ल्याइछन् । सो रात पनि जुवाई मेरो घरमा बस्नुभयो, भोलिपल्ट छोरीलाई बिदा गर्न घर देखी १।। कोश टाढा लाहान हटियाबाट लत्ता कपडा खरीद गर्नालाई छोरा सोरीलाललाई लिई आमा छोरा बजार गयौं । हामी जाँदा जुवाई घरैमा हुनुहुन्थ्यो । बेलुका फर्की आउँदा देखिंन र कता जानुभयो भनी छोरी छोटनी र बुहारीहरूलाई सोध्दा कडमाको अछवा थारु पुनरा धानुक कुसाजवडिको घुरन थारु कडमाको कन्तलाल समेत ४ जना आएका थिए । कुराकानी गर्दै थिए, कता गए थाहा छैन भन्ने मेरी नाबालिका ८।९ बर्षकी नातीनीले पिसार अछवा कन्तलाल घुरन मुनराहरू सूर्ये अस्ताउने बेला उत्तरतर्फ गएका थिए भनी भनिन् । कन्तलालको घरतिर गए होलान् भन्ने ठानें । रात भात खाइसक्यौं जुवाई आउनु भएन । भोलि बिहान अछवा थारु मेरो घरमा आई तिम्रो जुवाई रिसाइ घर तर्फ गयो, छोरी आजै पठाई दिनु भन्यो र होलान् भनी उसै दिन छोरीलाई पठाई दिएँ । त्यसको भोलिपल्ट शनिवारको दिन मेरो घरमा आई १ बोझ लार राखेको ठाँउनेर गई लार मुनी हात हाली जुवाईको छाता लठ्ठी र अली अली कालो रंगको ओढ्ने निकाली लगेका थिए । छोरी घर पुगेपछि सम्धीले जुवाईको कुरा सोध्नु भएछन । हिजै आउनु भयो भनिछ । त्यसपछि अछवाले मेरो छोरालाई लगी निजको ज्यान बेपत्ता गरे पत्तालगाई पाउँ भनी सि.ई.अ.मा सम्धीले मुद्दा चलाउनु भएको थियो । छोरीले पनि लोग्ने रतिलालको ज्यान मारी दिएको शंका गरी बिन्तीपत्र दिएको छ । गाँउ घरका मानिसले तिम्रो जुवाईलाई अछवासमेतले जंगलगर्फ लगी ज्यान मारी दवाएको जस्तो शंका लाग्छ भन्ने घुरना अछवा कन्तलाल मुनरा समेत चारैजना मिली मेरो जुवाई रतिलाललाई मारी दिए भन्ने मलाई पनि पुरा शंका लागेको छ । अलि अघिको कुरा हो । एकदिन अछवाले चाँदीको हसुली र सुनको नकधली मेरो घरमा आई छोटनीलाई दिन लागेको थियो । अछवाले छोरी छोटनीको गर्भ पतन गरे भनी छोरी समेत ७ जनाका नाँउमा रा.वि.पु.ई.अ.मा दरखास्त दिएछन् । पुलिसबाट त्यसबारे सरजमिन हुन जाँदा पुलिसले मेरो पनि कागज गराएका थिए । अछवाले जुवाईलाई मारेको कुरामा साविति भई कन्तलाल घुरन मुनरालाई समेत साथी मतियार बनाई चारैजना भई मारेमा सावित भयो भन्ने सो चारैजना भई मारेकोमा पूरा शंका लाग्छ भन्नेसमेत असिया थारुनीको बयान ।
८. ननीलाल सगोलका ससुरा र रतिलाल मेरो पति हुन । २०१६ साल माघ ३० गते मंगलवारको दिन कदमहा बस्ने अछवा थारुले सलोखरि गई बोलाई ल्याए छ । सोहि दिनको बेलुका बत्ति बाल्ने बेलामा पति रतिलाल आइपुग्नु भयो । हामी थारु जातको भरखर विवाह भएका लडकीले माइतिमा पतिसँग बोलचाल गर्न नहुने हुँदा कुरा हुने खण्डै रहेन । आमासँग कुरा हुँदा मलाई लिन आउनु भएको भन्ने कुरा अनुमान गरें । त्यसको ४ दिनमा मलाई विदा गर्न चिज बिज लिन भात खाई आमा र दाज्यु लाहान बजार जानुभयो । सुर्य अस्ताउने बखत अछवा बास घरमा गई मेरो पतिसँग के कुरा गरे त्यतीकैमा मेरो पति पनि उठी अछवा साथ साथ जानु भयो । मेरै नजिकबाट भाउजू मंगलीले पनि देख्नु भएको थियो । बस घरबाट अलिक पर पुगेपछि कडमाको कन्तलाल निजको नोकर मुनरा कुसाजबडीको घुरन थारु ३ जना पनि मेरो पति र अछवाको साथ गए । निजहरूले के के कुरा गरे बोली सुनेनौ । पति र उनिहरू ४ समेतले जंगलतर्फ जाने बाटो लागे कहीं घुमफिर गर्न जानु भएको होला भन्ने लाग्यो । हटियाबाट साँझ परे पछि आमा र दाज्यू आउनु भयो । जुवाई खोई भनी सोद्धा माथि लेखिएको कुरा बताई दिएँ । रातमा पनि पति आउनु भएनन् । भोलिपल्ट बिहान निज अछवा आई मेरी आमासँग भेट गरी तिम्रो ज्वाई आफ्नो घर गयो भनेकाले रिसाई छोरी नलिई गएका होलान भन्ने आमाको र मेरो मनमा लाग्यो । सोहि दिन आमाले विदा गरी दिई भाउजू सानु भण्डार माईति नजिकको भगति थरुनीसमेत साथ गई पतिको घर पुर्याइ दिए । सासुले मसँग सोध्नु भयो छोरा खोई नि । मैले भने वहाँ हिजै जानु भयो भन्ने कुरा सुनी आएको हुँ । आएको छैन भनी सासुले भन्नु भयो । कतै गाउँतर्फ डुल्न गए होलान भन्ने सवैको मनमा परेको हुँदा आउलान भन्ने आशा थियो । आउनु भएन । १० दिन पछि ससुराले खोज तलास गर्दा पनि पत्ता नलागेकोले ससुरा ननीलालले सिरहा थानामा मेरो पतिको ज्यान बेपत्ता मुद्दा दिनुभयो कारवाई हुदै थियो । म माईतिमा छँदा अछवा कन्तलाल मुनरा घुरनाहरूले उत्तर तर्फ लगेको कुरा पनि ससुरालाई भनी दिए । मेरो माईती गाउँमा गई ससुराले पत्ता लगाउँदा त्यहाँका मानिसले निजै चारैजनाले लगी तिम्रो छोरालाई मारेका हुन भन्ने कुरा बताई दिएछन् । मैले पनि सो कुराको विन्तीपत्र दिएको थिएँ । त्यसपछि ससुराले पनि पुलिसमा दरखास्त दिनुभएछ र अछवा भन्नेले आफु १ कन्तलाल १ मुनरा १ घुरना १ समेतका ४ जना भई उत्तरतर्फ जंगलमा लगी सोहि सुक्रबारका दिन मेरो पतिलाई मारी गाडी आएको कुरा सावित भै जेलमा छ भन्ने कुरा सुनेको छु । त्यसो हुनाले उक्त ४ जना भई मेरो पतिलाई मारेको शंका छ । अछवाले आमा र मेरो समेत उपर गर्भ तुहायो भन्ने झुठ्ठा मुद्दा दिएछ । कन्तलालले मलाई स्वास्नी बनाउन पाए हुने थियो भन्ने उनिको हामीसंगको व्यवहारबाट थाहा भएको थियो । म माईतिमा छँदै मलाई दिन भनी अछवाको हातमा चाँदीको हसुली र सुनको नथली कन्तलालले पठाएको आमा र मैले हकारी फिर्ता पठाएको छु । कन्तलालको म प्रति हस्त खराव भइरहेकोबाट निजसमेत भई मेरो पतिलाई मारेका हुन भन्ने लागेको छ भन्नेसमेत छोटनी थरुनीको बयान ।
९. अछवा मुनरा र घुरनालाई चिनेको छु । मेरो दाँतमा दर्द भएकोबाट इलाज गराउन दरभंगा जान भनी २०१६।८।२९ का दिन म र मेरो दाज्यू सन्तलालसमेत गएको दरभंगा नपुग्दै लढनीयामा औषधी गराई बनिगामा बहरे मामा बन्ठु माझीलाई हरिनन्दनसंगको मुद्दामा २ रुपैंया दण्ड लागेको तिरी देउ भनी मलाई दिएको हुनाले २ गते राती राजविराजमा आई ३ गते बुझाई दुई दाज्यू भाइ फर्की आई ६ गते मात्र घर पुगेको हुँ । सोधिएको मार्ग ३० गते र त्यसको ४ दिनपछि हामी गाउँ घरमा छैन । छोटनीलाई दिन भनी अछवाको हातमा सोधिएको माल पठाएको छैन । मेरो विवाह भैसकेकोछ । पत्नीबाट २।२।। बर्षको छोरी छ । पत्नी घरैमा छन् । ननीलालको दरखास्त अछवाको बयान असिया छोटनीको बयानसमेत सुनें । मेरो व्यहोरा लेखाई दिएको छु । निजहरूको उजूरी बयान बमोजिम मैले कुनै गरे गराएको छैन । किन त्यस्तो उजूर गरे निजहरू जान्लान भन्नेसमेत कन्तलालको बयान ।
१०. २०१६ साल मार्ग २९ गते विहान भाइको दाँत दुःखेको औषधी गराउन दरभंगा जाने भनी भाइ साथ लिई आएको लदनीयामा अस्पताल खोलेको छ भनेकाले त्यही गई १०।११ बजे पुगी औषधी गराउँदा भोलिपल्ट त्यही बसी २ गते राजविराज गई कपडा किनी मामा वंथुलाई लागेको दण्ड बुझाई भाइले दाँत फेरि दुख्दै आयो भनेकाले फर्की सो दिन र भोलिपल्ट दिन पनि त्यही बसी आईतवार हिंडी पौष ७ गते घर पुगेको हुँदा सोधिएको दिन गाउँ घरमा नहुँदा अरुसँग भेटघाट छैन । वादीको दरखास्त बयान र अछवाको बयान समेत सुनें । मैले कुनै कुरा नगरेको हुँदा निजहरूको उजूरी बयान झुठ्ठा हो भन्नेसमेतको सन्तलालको बयान ।
११. नाथुको घर नोकरी गरी बसेको आश्विनमा नोकरी छोडी विदेश फरविशगंज नोकरी गर्न गएको गाँउ तथा नाउँ नजानेको लोग्ने मानिस नभएको स्वास्नी मानिस ५ र २।४ बर्षको २ बच्चा भएको निजको १।। जग्गा थियो । रोजको रु.१।५० ज्यालामा आश्विन कार्तिकमा भदैया बाली काटी मंसिर पुरै र पुस आधासम्म धान काटी ताहाँबाट फर्की वीरपुर बजारमा सडकमा माटो पुर्ने काममा २।३ महिना बसी २०१७ साल जेठ १५।२० गते तिर घर आएको हुँ । वादीको दरखास्त बयान र असिया छोटनी अछबाको बयान सुनें । मैले कुनै कुरा गरेको हैन । मौका वारदातमा म नभएकोले झुठ्ठा पोल गरेको हो भन्नेसमेत मुनराको बयान ।
१२. रतिलाललाई कन्तलाल घुरन अछवा मुनरासमेतले कर्तव्य गरी मारेको ठहर्छ । जोखन मखननाथु सन्तलाल मंगलसमेत निर्दोषी ठहर्छ भन्नेसमेत ह.नगर इ.अ.को जाहेरी फैसला ।
१३. इलाका अदालत हनुमान नगरले गरेको इन्साफ चित्त बुझेन भन्नेसमेत मुनरा धानुक कन्तलालसमेतको संयुक्त एउटै अपील ।
१४. इन्साफ सुरु इलाका अदालत हनुमान नगरको मुनासिव छ भनी सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको २०२१।११।२७।४ को जाहेरी फैसला ।
१५. सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चले गरेको इन्साफ चित बुझेन भन्ने कन्तलाल चौधरी थारु १ मुनर मंडर धानुक १ समेतको संयुक्त एउटै अपील ।
१६. कन्तलालले छोटनीलाई पाईल लैजाने बिषयमा छोटनीसँग सल्लाह भई स्वीकृति पाएको भन्नेसमेत नदेखिएको सो नभई अर्काकी पत्नीलाई आफुले ल्याउन पहिले नै विवाहिताको हत्या गर्ने योजना बनाई त्यसै योजनाद्वारा हत्या गरे भएको भन्ने कुरा अस्वभाविक देखिएको, उस्मा पनि अंशियार छोटनीको भनाई बमोजिम कन्तलाल मुनरासमेत भई रतिलाललाई जंगलतर्फ लगेको अछवाले घर गयो भनी रतिलालको छातासमेतको सामान लगेकोसमेत साँचो भए बुहारी र सम्धिनीद्वारा वादीलाई मौकैमा अवस्य थाहा हुनु र त्यसकै आधारमा मौकैमा खोजी गरी मारेको कुरा पत्ता लगाई वा सो नलागे त्यसै कुराको आधारमा अपीलाटहरू समेत उपर ननीलालको उजूर परेको हुनुपर्ने त्यस्तो नभई जात भातको कुराको रिस ईवि जतियाबाट रतिलाललाई २०१६।८।३०।३ का दिन अछवा १ घुरन १ यी २ जनाले चौरीबाट पक्री कुटपिट गर्दै लगेको कुरा छोराको खोजतलास गर्दा मजु दास हरिनाथबाट थाहा पाएकोले ज्यान बेपत्तामा कारवाई गरिपाउँ भनी २०१६।९।२१ मा मात्र दरखास्त गरी कारवाई चल्दै गएपछि प्रस्तुत मुद्दा २०१६।१२।८।२ मा दरखास्त दिंदा मात्र अपीलाटहरूलाई पोल गरेकोबाट छोटनीलाई स्वास्नी तुल्याउन लैजाने विचारले अपीलाटहरूद्वारा हत्या भएको भन्ने कुरा स्वीकार गर्न मनासिव नदेखिएकोले वादी ननीलाल माझी थारुलाई अ.बं.२०२ नं. र स.अ. नियमावलीबमोजिम छलफलको नोटिस पठाई तामेल भई आएपछि नियमबमोजिम पेशगर्नु भन्ने डि.बे.को २०२३।४।५।४ को आदेश ।
१७. यस्मा पर्नआएको अपील र मिसिल समेत अध्ययन गरी अपीलाट मुनुवा कन्तलाललाई राखी कन्तलालतर्फको विद्वान वकिल एडभोकेट श्री राम राजाप्रसादको बहस सुनी निर्णयतर्फ विचार गर्दा मेरो छोरा रतिलाललाई घाँस काट्न चौरीमा जाँदा अन्दाजी ५ बजे घरतर्फ फर्की आउन लागेको मौका अछवा थारु १ घुरन माझी थारु समेत २ जनाले पक्री लगी ज्यान बेपत्ता पारे भनी २०१६।९।२१।२ मा ज्यानवेपत्ता गर्यो भन्ने सिराह अमिनीमा दरखास्त दिई पछि अछवाले छोटनी उपर गर्भ पतन गराए भन्ने बारे उजूर दिएपछि सो बारे सरजमिन हुँदा बखत जि.प्र.इ.आ.रि.दि.का इन्स्पेक्टरका सरजमिन तहकिकात मुकाम कुसहा जवडीमा कन्तलाल समेतका ९ जवान समेतका प्रतिवादीहरूले मेरो छोरा रतिलाललाई गाउँ घर वा जंगल खोला कुन ठाउँमा लगी ज्यानै मारी लास दवाई दिएको मलाई चित्तमा लागेको छ भनी ननीलाल थारुले दरखास्त दिएकोबाट प्रस्तुत मुद्दाको सृजना भएको देखिएको छ । २०१६।१२।८।२ को जाहेरी दरखास्तमा रतिलाललाई उसको गाउँबाट ल्याई ससुराली पुर्याई अनि ४ दिन पछि हत्या भएको भनिएको छ । तर घटना भएको धैरै दिन पछि मात्र अर्थात २०१६।९।२१।३ मा मात्र ज्यान बेपत्ता बारे परेको दरखास्तमा यी कुनै कुराको उल्लेख छैन । निजको छोरा हराएकोले छोराको खोजिमा निज ननीलाल छोराको ससुरालीमा गएको देखिने मात्र होइन । २०१६।९।४ मा छोटनी आफ्नो घरमा आई यावत बृतान्त ननीलाललाई बताएको छोटनीको बयानबाट देखिन्छ । यसरी ननीलाललाई सवै कुरा थाहा भएपछि पनि ज्यानबेपत्ता गरे भनी २०१६।९।२१ मा परेको दरखास्तमा घटनाक्रमको जुन वर्णन दिएको छ, त्यो ननीलालको वास्तविकताको ज्ञानसँग मेल खाँदैन । पहिलो दरखास्त पनि ढिलो गरेर नै दिएको छ तापनि छोराको खोज खवर गरी माथि लेखिएबमोजिम सवै कुरा बुझी दिएको दरखास्तमा र पछिको दरखास्तमा भिन्न भिन्न कुराहरू परेकोबाट घटनाको बस्तुस्थिति प्रष्टरुपबाट देखाएको देखिन्न । वारदातको रुपरेखाबारे वारदात हुनासाथ यथासक्य चाँडो रिपोर्ट भएमा मात्र घटनाको वस्तुस्थिति पत्तालगाउन मद्दत हुने हो । यदि धेरै समयवाद रिपोर्ट हुन्छ भने त्यो रिपोर्ट अतिरञ्जित हुने संभावना हुन्छ । घटनाको तत्काल रिपोर्ट जो हुन्छ, त्यसैले वारदातको वास्तविकता प्रतिविम्वित गर्दछ । अपीलाटहरूले कर्तव्य गरेको र निजहरू कसूरदार हुन होइनन् भन्ने मुख्य हेर्नुपर्ने कुरा छ । अछवा ज्यान बेपता मुद्दामा इन्कारी भए पनि पछि ज्यान मुद्दाको बयानमा सावित भएको छ र अपीलाटहरू लाई पनि पोलेको छ । निजले पोलेका अपीलाटहरू लाई अछवाको पोल बाहेक अरु स्वतन्त्र प्रमाणले गढाउ गर्छ गर्दैन भन्नेतर्फ हेर्दा ननीलाल थारुले कुसाहा समेतका मानिसहरूबाट प्रतिवादीहरूले छोराको ज्यान मारी लास दवाई दिएकोछ भन्ने सुने बुझेको भनी लेखेको ती भन्ने व्यक्ति को हुन ? तर त्यो खुलाउन नसकेको र घटनाक्रमको बयानबाट निजले पहिलो दरखास्तमा रिस इविको कुरा लेखाएको पछिल्लो दरखास्तमा रिस ईविको कुरा छाडी प्रेम कलापको कुरा समावेश गरेकोछ । प्रेमका हकमा सुनको नथली र चाँदीको हसुली कन्तलालले पठाएको थियो भन्ने कुरा र केही सरजमिनहरूले कन्तलाल र छोटनीको हाँसख्याल देखेका हौं भनी लेखाएको बाट साँचो नै यी अपीलाटहरू समेत मिली रतिलालको ज्यान मारेकै हो की भन्ने केही शंका उत्पन्न हुन्छ । तर छोटनीकै बयानबाट पनि कन्तलालको छोटनीसँग सम्बन्ध स्थापित भइनसकेको र निज कारणी भनिएको छोटनीको राय मञ्जुरी नभई छोटनीको कारणले लोग्नेलाई नै खतम गर्ने भन्ने षडयन्त्र हुन स्वाभाविक नहुने । सरजमिनका भनाई हेरेमा पनि धेरेजसोले शंका लाग्दैन भनी लेखाएका र थोरैले शंका लाग्छ भनी लेखाएका किटानी बक्ने एक पनि नभएकोले र माथि लेखिएबमोजिम घटनाक्रमको दरखास्त धेरै समय पछि मात्र परेकोले र पहिलो दरखास्त र पछिल्लो दरखास्तमा देखाएका कुराहरू परस्परमा बाझिएको मात्र नभई वादीले बस्तुस्थितिको आफुलाई भएको यथार्थ ज्ञान लोप गरी घटनाबारे रिपोर्ट गरेको देखिएको र अपीलाटहरूले कसूर गरेकै हुन भन्ने कुनै प्रत्यक्ष प्रमाण पुराउन सकेको नदेखिएबाट खाली शंकाकै भरले मात्र अपीलाटहरूलाई दोषी ठहराउन मिल्दैन । शंकाको फाईदा यी अपीलाटहरूले पाउन योग्य देखिंदा निज अपीलाटहरूलाई रिहाई गरिदिनुपर्ने ठहर्छ । तपसीलका मानिसलाई तपसील बमोजिम हुन्छ । का.श्रे.अ.त.मा लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।
तपसील
प्र. माल झमुनामौजे जनकपुर घरभई शिरगंजजेलमा थुनामारहेका मुनरामंडल धानुकके ई.अ.ह.नगरका २०२० ।६।४।६का जाहेरीफैसलाले गर्नेगरेको सर्वस्वसहित जन्मकैद माथि इन्साफखण्डमा लेखिएबमोजिम भई सफाई पाएकोले ऐनसवालको रीतपुर्याई लगतकट्टा गरिदिनु भनी जि.अ.सप्तरीलाई लेखीपठाउन का.श्रे.अ.त.मा लगतदिनु ……………..१
ऐ मोजे कडमाहा घर भई सदर जेलमा थुनिएका कन्तलाल माझी थारु के ऐ.का ऐ.ऐ. मितिका जाहेरी फैसलाले गर्ने गरेको जन्म कैद ऐ.ऐ. भई सफाई पाएको हुँदा ऐ.ऐ. भनी ऐ.ऐ…………………..२
ऐ. मौजे जनकपुर बस्ने भुला ठाकुर हजाम के ऐ.ऐ. मितिका ऐनले झुठ्ठा बकेमा भनी लिने गरेको ज.रु.४०। नलाग्ने हुँदा असूल भए फिर्ता नभए ऐन सवालको रीत पुर्याई लगत काटी दिनु भनी ऐ.ऐ. …………………..३
इन्साफ केही उल्टीमा तत्कालिन जि.अ.र इ.अ.को हाल देहायको अञ्चल तथा जि.अ.मा बहाल रहेका देहायका न्यायाधीशहरूको रिकर्ड राख्न स.अ. जनरल विभागमा सूचना दिनु………………………४
हाल जनकपुर अञ्चल अदालतका न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १ हाल महोत्तरी जि.अ.का न्या.अष्टमान श्रेष्ठ १
इति सम्वत् २०२३ साल माघ ५ गते रोज ४ शुभम् ।