निर्णय नं. ४७४ – डाँका
निर्णय नं. ४७४ ने.का.प. २०२६ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फौ.फु.नं. २१...
निर्णय नं. ४७४ ने.का.प. २०२६
फुल बेञ्च
का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री लोकराज जोशी
सम्वत् २०२५ सालको फौ.फु.नं. २१
निवेदक : जि.रौतहट प्र.पं.मौजेबरिया घरभई हाल रौ.कारागारमाबस्ने शेषबसि महमदसमेत
विरुद्ध
विपक्षी : श्री ५ को सरकार
मुद्दा : डाँका
(१) कसैबाट (सर्जमिनहरूको समेत) झुठ्ठा कुरा बक्नु पर्ने कारणको अभावमा–मौकैमा वारदात नभएको भन्न नसकेमा र पुलिस केशवाट वारदात भएको भन्ने देखिएमा–वारदात भएको ठहरिने।
ती सर्जमिनहरूले झुठ्ठा बयान गर्नुपर्ने कुनै कारण नदेखिएको, टिकुलिया गाउँमा हल्ला गरेको सुन्नासाथ ह.कृष्णबहादुर लिम्बु साथ खटाउँदा भोली सहनीको घरमा डाँका परेको रहेछ । भोलीको छोरा सीताराम भन्नेले उत्साहपूर्वक डाँकाको हातमा भएको हतियार खोस्न संघर्ष हुँदा हुँदै जवानहरू पुग्नासाथ डाँकाहरू भागी गएको भन्ने गौर व्यारेकबाट गौर ठानालाई लेखेको पत्रमा उल्लेख भएको, व्यारेकका जवानहरूले झुठ्ठा कुरा गर्नुपर्ने कुनै कारण नदेखिएकोमा पनि निवेदक प्रतिवादीहरू समेतले मौकैमा अदालतमा बयान गर्दा पनि वारदात भएको छैन भनी भन्न नसकेका, जाहेरवाला भोली सहनी निजको छोरा सीताराम सहनी वारदातमै भएको भनेको भोली सहनी दुलारचन्द सहनीसमेतका आङ्ग जीउमा घा खत भएको पुलिसकेश फारामबाट देखिनाले समेत वारदात भएकै देखिंदा वारदातै भएको हैन भन्ने विद्वान वरिष्ठ अधिवक्ताको तर्कमा सहमत हुन मिलेन ।
(प्रकरण नं. १४)
(२) पोलिएको व्यक्तिलाई कसैले पक्रन मद्दत गरे वा पक्री सम्बन्धित कार्यालयमा दाखिल गरेमा–उक्त सहयोग अनधिकृत नहुने ।
डाँका भएको थाहा पाई सो ठाउँमा गई पक्राउ भएकोलाई सुरक्षासाथ राखी पोलिएकोलाई पक्राउ गर्न मद्दत गरी पक्राउसमेत गरी प्रहरी कार्यालयमा बुझाएको व्यारेकका मिलेटरीहरूको सहयोगलाई अनधिकृत भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
(३) कसैलाई कसैबाट अपराधमा फसाउन पर्ने कारण नभएमा–वारदात गर्ने एक व्यक्ति (एक भन्दा बढी व्यक्तिहरू भएमा) को घरमा कुनै (डकैतीको) माल बरामद नभएमा पनि निजको साविती कागज, सरजमितसमेतको प्रमाणबाट आरोपित कसूर गरेको कुरा समर्थित भएमा–उक्त कसूर गरेकै देखिने ।
त्यसरी निवेदकहरूलाई झुठ्ठा वारदात खडा गरी डाँका जस्तो भयानक अपराधमा फसाउनै पर्ने सम्मको रिस इवि कारण पनि केहि नदेखिएको, निवेदकहरूको घरमा डकैतीको माल फेला नपरेको भन्ने हकमा वारदात गर्ने यिनीहरूमात्र नभई अरु पनि हुँदा डकैती गरेको माल अरुका साथमा पर्न गई वरामद हुन नसकेको पनि हुनसक्ने, मदिसले प्रहरीमा गरेको साविती कागज उल्लेखित सर्जमिन समेतका स्वतन्त्र प्रमाणबाट समर्थन हुनआएको हुनाले समेत निवेदक प्रतिवादीहरूलाई समेत कसूरदार ठहराई फैसला गरेको जिल्ला अदालत रौतहट र नारायणी अञ्चल अदालतको समर्थन गरेको डिभिजन बेञ्चको २०२४।१।१०।१ को इन्साफ मुनासिव ठहर्छ ।
(प्रकरण नं. १५)
निवेदक प्रतिवादी तर्फबाट : वरिष्ठअधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री कुसुम श्रेष्ठ
दरखास्तवाला तर्फबाट : अधिवक्ता श्री गणेशराज शर्मा
श्री ५ को सरकार तर्फबाट : का.मु.सरकारी अधिवक्ता श्री षडानन्दप्रसाद
फैसला
१. २०२० साल आश्विन ४ गतेको रात २१।२२ जना डाँका कसैले लाठी कसैले फराटा गडासा दुइनाले टोटावाल बन्दुक लिई आई मसमेतलाई कुटपिट गरी बिगो रु.४३०७।६० को धनमाल डाँका गरी लगेका, डाँकाहरूले बालेको टर्च बत्तिको उज्यालो समेतबाट डाँका मध्ये शेषबसि महमद १ सेख सैनुल १, मदिस मिया समेतलाई चिन्हें, डाँकाहरूले र मेरो छोरा सीताराम सीयाराम र मद्दतमा आएका गाउँलेसमेतको भिडन्त हुँदा डाँका मध्ये मदिस मिया मौकामा पक्राउ भएका र डाँकाहरूले लिई आएको टोटावाला बन्दुक दुइसमेत डाँकाहरूबाट मेरो छोराहरूले छिनेको हुनाले सो बन्दुक पक्राउ भएको मदिस मिया र शेष सैतुल सेखबसिलाई खार खेर गरी साक्षी सँधियारा खुलाई बिगो रु.४३०७।६० दिलाई प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत भोली सहनीको दरखास्त ।
२. २०।६।४ गतेको रातभर इद्रिस सेखर जाक, रयाजत घुनिया शेषबसि महमद शेष सैतुल सेष धोघर शेष सैतुलसमेत भई मौजे लक्ष्मीपुर टिकलियाका नाँउ नजानेको मल्हाको घरमा डाँका गर्यो । साथी मध्ये शेष सैतुलको हातमा एक नाल टोटावाल बन्दुक संखइद्रिसको हातमा दुईनाले टोटावाला बन्दुक र मसमेतले लाठी समेत लिएको थियौं । हामीहरूको घरवाला गाँउलेसँग भिडमै हुँदा म पक्राउ परें । लेखिएबमोजिम डाँका गरेको जो ठहर्छ भन्ने प्र.मदिस मियाले पुलिसमा गरेको साविती कागज । खसि किन्न गौर जान टिकुहियाको बाटो आएकोमा डाँका गरेको भनी पक्राउ गरेको हो । भोली सहनीको घरमा डाँका गरेकोसमेत कौनै कुरो होइन कुटाईको पीरले बेहोसमा पुलिसले के के कागजमा सहि गरायो थाहा छैन भन्ने मदिस मियाको अदालतमा गरेको बयान ।
३. २०२०।६।४ गते राती मेरै गाउँको सदिक मियालाई साँपले टोकेकोले झारफुक गरेको हेर्न म पनि गएको, रातको अन्दाजी १२।१ बजे आफ्नो घर गएँ । भोली सहनीको घरमा डाँका गरेको छैन । भोली सहनीको छोरा सीतारामले मेरो केरा चोरी लगेको मैले दण्ड गराएको अदालतबाट घरवाला भोली सहनी र छोरा सीतारामले चिनें भनी लेखाएको हो । चुलाइका घरको डाँकामा मदिस मिया पोलिएकोमा सर्जमिन हुँदा मदिसलाई गढाउ हुने गरी बकी दिएबाट निजले पोलेको हो भन्ने शेष सैतुलको पुलिसमा गरेको कागज र सोही मिलान अदालतमा गरेको बयान ।
४. २०।६।४ गते मेरो नाउँको सदिक मियालाई सापले टोकेकोबाट झारफुक भइरहेकोले पनि त्यहाँ हेर्न गएको रात १२ बजे घर गएकोले भोली सहनीको डाँका गरेको छैन । २०।२२ दिन भयो होला मेरो खेतमा भोली सहनीको छोरा सीतारामले माछा मारेकामा झगडा भएकोबाट भोली सहनीले झुट्टा भनेको चुलाईको घरमा परेको डाँकामा प्र.मदिस मिया पोलिएको सो मुद्दामा सर्जमिन हुँदा निजलाई गढाउ हुने गरी मैले बकेकोबाट अदावत लिई झुठ्ठा पोलेको हो भन्ने प्र.शेषबसी महमदको पुलिसमा गरेको कागज र सोहि मिलानको अदालतमा गरेको बयान ।
५. मौकामा पक्राउ भएको प्रतिवादी मदिस मिया आफु सावित भई अरु प्रतिवादी शेषबसी महमद, शेष सैतुल, सेष इन्द्रस, सेष घोघर, सेष वोनै, सेष जाकरिया जन धुनिया सेष मैनुल समेतलाई पोलेको समेत हुनाले निजहरू उपर चोरीको ७ नं. बमोजिम कसूरमा सजाय गरिपाउँ भन्ने पुलिस रिपोर्ट ।
६. भारत मौजे बलैयामा मेरो मामा सेखर जाक भएको, निजको जग्गा कठ्ठा ।।२ कमाई खाउ मेरो रेख देख गरी देउ भनेकोले ४ बर्ष अघिदेखि मामा घरमा छु । १० महिना भयो आएको ।२०।६।४ गते भोली सहनीका घरमा डाँका गरेको छैन । मेरो खसि किन्न मदिसलाई मोल गरी रुपैंयाँ केही बिक्री राखी खसी लान लाग्दा नदिएको रीसले मदिसले झुठ्ठा पोलेको हो भन्नेसमेत सेब धोघरको बयान ।
. यस्मा बुझिएको सर्जमिनले बसी महमद शेष सैतुल समेतलाई सो वारदातको मौकामा पहिचान गरेको भनी लेखाई दिएका आफ्ना घरमा डाँका पर्दा कुस्ता कुस्ती पिटा पिट भई पूर्व परिचित मानिसलाई पहिचान नभएको भन्ने बेमुनासिव देखिन्छ । मदिस मियाको हकमा पनि डाँकामा परेको भनी यिनै प्रतिवादीले भनेको घटनास्थलमा पक्राउ पर्ने मदिस मियामा हकमा पनि सर्जमिनले किटानी गरी लेखिदिएको र पुलिसमा सावित भई बयान गरेको समेतबाट भोली सहनीको घरमा बिगो रु.४३०७।६० को धनमाल प्रतिवादीमध्ये बसी महमद सेष प्रतत मदिस मियासमेतले डाँका गरेको ठहर्छ । प्र.धोघरको हकमा सावितीको पोल बाहेक अरु सबूद प्रमाण नभएबाट डाँका गरेको ठहर्दैन । फरार रहेको प्रतिवादीको हकमा अ.बं.१९० नं. बमोजिम मुल्तवी राख्ने ठहराई रौतहट जिल्ला अदालतबाट गरेको फैसला ।
८. सो फैसलामा चित्त बुझेन भन्नेसमेत शेषबसी महमद शेष सैतुलको पुनरावेदन ।
९. सेष धोघरलाई सावितिले पोलेको सर्जमिनले शंका गरेकाले ठहर्न पर्ने भन्नेसमेत श्री ५ को सरकारतर्फको पुनरावेदन ।
१०. बुझिएका सर्जमिनले पुनरावेदक बसी महमद सेख सैतुल निर्दोष हुन भन्ने बकेको देखिएन । सावितिले सरकारी गबाहाले पोल्नु पर्ने रीस ईवी मामुली देखाएको प्रतिवादीहरू डाँका चोरीमा सरिक भएको यकिन गरी कारवाई चलाएको र पक्राउ भइआएको समेत देखिन आएको हुँदा शेषबसी महमद शेष सैतुलको पुनरावेदन जिकिर मुनासिव देखिएन । प्र.धोधरको हकमा सावितिले पोले बाहेक अर्को कुनै सबूद प्रमाण पुग्ने सबूद गुज्रन नआएको हुनाले श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिर पनि मुनासिव नदेखिनाले इन्साफ सुरुको मुनासिव ठहराई नारायणी अञ्चल अदालतबाट २०२३।२।१६।१ मा गरेको फैसला भएकोमा चित्त बुझेन भन्ने सेष सैतुलसमेतको पुनरावेदन ।
११. बुझिएका सर्जमिनले भोली सहनीको घरमा डाँका भएको र पुनरावेदकहरूलाई पहिचान समेत गरेको भनी लेखाई दिएका पक्राउमा परी सावित हुने मदिस मियाले पनि पोलेको प्रतिवादी पुनरावेदकहरूले वारदातमा नगएको भए त्यसरी घरवालाका परिवारहरूले सर्जमिनका मानिस समेतले मौकैमा देखेको चिनेको कतै पोल गर्नु नभई नै पोलेको र निजहरूले झुठ्ठा पोल गर्नु भन्ने मुनासिव कारण पनि केही देखाउन नसकेको, डाँका परेको रात उसै मौका हल्ला सुनी शाहीसेना गौर व्यारेकबाट हवलदारसमेतको जबान ११ खटी गई मौकैमा बुझाएको पक्रिएको मदिसले पोलेको मानिसको नाउँ खुलाई पुनरावेदकहरू २ जनालाई पक्री ल्याएको हुनाले पुनरावेदकहरूको पुनरावेदन जिकिर मुनासिव देखिएन । प्रतिवादी शेष धोघरलाई पनि डाँका गरेको ठहराउनु पर्ने भन्ने श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिरको हकमा पनि सावितिले पोले पनि सर्जमिनका मानिसहरू र घरवालासमेतले पैचान गर्नु र डाँका गर्न गएको भन्ने पक्का सबूद दिनसमेत नसकेको हुनाले समेत श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिर पनि पुग्न नसक्ने हुनाले समेत सुरुको सदर गरी छिनेको नारायणी अञ्चल अदालतकै इन्साफ मुनासिव छ भन्नेसमेत २०२४।१।१०।१ को डिभिजन बेञ्चको फैुसला ।
१२. मदिस मियाले प्रहरी कार्यालयमा राजिखुसिबाट आफू सावित भई म समेतलाई पोल गरेको भए सो कुरा अड्डा अदालतमा बयान गर्न सक्नुपर्ने नसकेकोबाट झुठ्ठा वारदात बनाई मुद्दा चलाएको सिद्धछ । मेरै गाउँमा चुलाई ठाकुरको घरमा २०१७ सालमा डकैती हुँदा निजलाई म समेतले देखी सर्जमिन हुँदा मदिस मिया डाँका हो भनी पोलेको व्यक्तिसँग कसरी डाँका गर्न गएँ हुँला ? भोली सहनी सीतारामसमेतको बयान बाझिएको बाटै हामीउपरको पोल झुठ्ठा देखिन्छ । सर्जमिनहरूको बकाई पनि परस्पर मेल नखाई पत्यार गर्न नहुने समेत हुँदा उक्त इन्साफमा चित्त बुझेन दोर्याई पाउँ समेत भनी शेषबसी महमदको हकमा कृष्णकुमारले र शेषसैतुलको हकमा रामबहादुर क्षेत्रीले न्यायिक समिति राजदरवार मार्फत श्री ५ महाराजाधिराजका हजुरमा बिन्तिपत्र चढाएकोमा यस्मा अदालतमा सावित हुने कुनै प्रतिवादी छैनन । दाखिल भएको टोटा बन्दुक यस्को भन्ने छाप निसाना पनि नभएकोले निर्विवाद प्रमाण यस मुद्दामा देखिएन । ठानामा आफु कसूरमा सावित भई र डाँका गर्दाको साथी मतियार भनी ठाडो कागज गर्ने, जुन मदिस मियाँ हो, त्यहि मदिस र निजको भाइ समेतलाई अघि डाँका मुद्दामा सर्जमिन बकेको रीसइवी छ भन्ने कुरा यी निवेदक प्रतिवादीहरूले मौकै देखि उल्लेख गरेका छन । देख्यौं चिन्यौं भन्ने घरवाला र सर्जमिन भएकोमा रीसइवीले हामी बैरिएका वासिन्दालाई झुठ्ठै गौबध मुद्दा लगाउने गरेका हुन भन्ने पनि निवेदकहरूको जिकिर भएकोले पोल बयानको कुरा स्वतन्त्र प्रमाणबाट कतिसम्म समर्थन हुन आउँछ ? मुख्य त्यसकुराको विचार गर्नपर्ने देखियो । प्रस्तुत मुद्दामा दरखास्तवालाकी स्वास्नी लखियाको सर्जमिन बकाइअनुसार घरको धनमाल र गहना लुट्ने डाँकामा निस्केपछि मात्र यी लखिया बाहिर आएकीले त्यसबखत अघि निस्केका डाँकाहरू देख्नै नसक्ने अवस्था छ । डाँका भन्दा हामी लोग्ने स्वास्नी पहिले आएका हौ भन्ने दरखास्तवालाको जुन भनाई हो, सो कुरा उनकै स्वास्नीबाट समर्थन नभई प्रत्यक्षहरू पहिलै वाफ भनुको स्थिति उपर विचार गर्दा सो डाँका भन्दा पहिले निस्केको र त्यसपछि चुरा खोस्ने वादविवाद र संघर्षका कुराहरू केवल यी प्रतिवादीहरूलाई फसाउने नियतले नै कल्पित गरेको झल्कन्छ । अन्याय सो कुरा खोस्ने मौका डाँकालाई अघि घरभित्रै प्राप्त भएकोमा उसबखत निजको गलाबाट सुनको दसुलीमात्र खोस्नु छोडेको चाँदीको चुरा निम्ति पछि सवैले देख्ने चिन्ने ठाउँमा समाउनु सोखिन हाल्नु र सवैले सुन्ने गरी हात काट्छु भन्नु तर काटें भनी भन्न नसक्नु, त्यसपछि उनकै छोराबाट सो चुरा झिक्न डाँका दलले मञ्जुर गर्नु र आखिरमा सोही छोराबाट आक्रमण भई सारा डाँका परास्त हुनु । यो असम्भव कुरा देखिन्छ । उता सो वादविवाद नहुदैको अवस्थामा बेग्लै घरमा सुत्ने सीताराम र सीयारामले डाँका आई हामीलाई उठाई चन्दा मागे र नदिंंदा डाँका गर्छौ भनी हामीलाई अरु गाँउले सुतेका घरमा लगे थुने भनी लेखेको छ । जुन कुरा स्पष्टरुपमा दरखास्तमै पनि उल्लेख छैन । थुनामा परेका मानिसबाट संघर्ष दिनु पनि सक्दैन र उनीहरूलाई अरु गाउँले सुतेका ठाउँमा लग्नु तर बाबु आमालाई डाँका गर्दा गर्दै छाड्नु मिल्दो कुरा हैनन । कुनै पनि चोर डाँकाले वारदात गर्दा भरसक आफुलाई कसैले नदेखुन र नचिनुन भन्ने अभिप्रायले नै वारदातको तैयारी गरेको पाइन्छ । तर आफैं मस्त निद्रामा परेको जान पहिचानका घरवालालाई डाँका गई जगाउने व्यँुझाउने र चन्दा माग्ने कुरा गर्नु विलकुल असम्भव छ । त्यसबखत डाँकाले धनमाल नै नपाएको, घरवालाले दबाएको वा ठुला सेप सन्दुक तोडफोड गर्नलाई घरवालाकै सहारा लिनुपर्ने जस्तो पत्यार पर्ने कुनै कारण नभएकोले आफ्ना बाधक खडा गर्न डाँकाले घरवालाको छोराहरूलाई जगाएको र अघि छाडेको चुरा निम्ति त्यत्रो संघर्ष गरे होलान भन्न सकिदैन । दरखास्त अनुसार १०।१५ जवान गाँउले सुतेको कुरा सर्जमिन मुचुल्काबाट देखिंदैन र बन्दुक गडासा ल्याई २१।२२ जनाको सशस्त्र डाँका दलले वारदात गरेको साँचो भए उसको विरुद्धमा २।४ जना घरवालाको शक्ति विलकूल नगन्य हुनआउँछ । ठूलो साहस झिकी बन्दुक खोस्ने र बन्दुकै भाँचिने गरी कुटेपिटे पछि डाँकादलले त्यस संघर्षमा गडासा प्रहार गर्नसक्ने अवस्था छ, तर गडासाको जस्तो ठुलो घाउचोट घरवालामा र यी निवेदक प्रतिवादीहरूका आङ्ग जिउमा सामान्य निलडाम परेको प्रमाण पनि मिसिलबाटै केही देखिन आउँदैन । हल्ला भई तत्काल पुग्ने व्यारेकका जवानबाट भेरीलाईट प्रयोग गर्दा सो कुनै कुरा नदेखिएको छँदा छँदै लाडी पोकासमेत एक एक देख्यौं, चिन्यौं भन्ने सर्जमिनका रामप्रसाद समेतको बयान झुठ्ठा देखिएको छ । फेरि त्यत्रो लडभिड र संघर्ष परी चिने जानेको डाँका भए आफ्नो गाउँ बैरियातर्फ जान सम्भव छैन । उता यी निवेदक प्रतिवादीहरू अन्यत्र लुके भागेको पनि देखिंदैन र रातको १२।१ बजे वारदात परेकोमा उसै रात ४।५ बजे पुगी पक्री खानतलासी हुँदा मेरो धनमाल कुनै छैन भन्ने घरवालाको भनाई छ र त्यो कुरा यस मुद्दाको सुरु दरखास्तमै प्रष्ट उल्लेख भएकोले पनि निज रामप्रसादहरू झुठ्ठा र यी निवेदक प्रतिवादीहरू सच्चा निर्दोष रहेछन् भन्ने सिद्ध हुनआउँछ । अदालतको मुख्य दृष्टिकोण मौकैमा पक्रिएको व्यारेकका जवान पुगेको र कसूर वारदातको यकिन गरी कारवाई चलाएको भन्ने तर्क रहेकोछ । तर अधिकृत पुलिस कर्मचारीलाई वारदातको कुनै खवर सुराक छैन । अनधिकृत व्यारेकका जवानबाट साँचो कुरा यही हो भन्ने खुल्देवर हल्ला भई गएको भन्ने चलानी र खबर भई गरेको भन्ने खानतलासी मुचुल्का भई उन्कै कुरा बाझिएको छ । मदिसलाई कसले पक्रेको हो ? त्यस्मा पनि ब्यारेकका जवानको लेखाई र सर्जमिनको बकाई भरिमा बिरोधाभाष पर्न गएको छ । पहिल्यै पुलिस कारवाई पट्टि नगई घरवालाले व्यारेकसँग सम्पर्क राख्नु व्यारेकको जवानबाट खानतलासी हुनु र निस्केको सामानलाई खास डाँका गरी ल्याएको प्रष्ट देखिन्छ भन्ने जोड दिई व्यारकका जवानबाट खानतलासीको मुचुल्का बनेको छ । सो माल सामान सनाखत गराउँदा मेरो होइन, कस्को हो मलाई थाहा छैन भनी स्वयम् दरखास्तवाला भोलि मलाहाले नै २०२०।६।१०।५ मा गरिदिएको कागज मिसिल सामेल भएकोले र मदिसले सामुन्ने नै सनाखत गरेको रामवरन सहितका ३ जवानलाई पनि अघि पुलिसले नै निर्दोष ठहराई मुद्दै नचलाएको देखिन्छ । र अदालतले पनि पहिल्यै छाडिसकेकोले व्यारेकका जवानबाट साँचो कुरा उल्लेख भएको देखिंदैन । निवेदक प्रतिवादीहरूलाई पुलिसमा गई मदिसले पोलेको भन्ने हकमा निजले मौकैमा पोलेको थियो भन्न स्वयम् दरखास्तवालाले पनि नसकेको, २१।२२ जवान डाँका खोली दरखास्त मिलान बयान गर्न निज मदिसले पनि नसकेको शिर्फ ९ जनाबाट थुन्ने छेक्ने र लडन्त गर्ने कुराहरू सम्भव नभएको, वारदात गर्दा आफुले लाडी र शेषसैतुलले १ नाले बन्दुक लिएका हुन भनी ठाडो कागज गरेकोमा पनि अदालतमा बयान गर्दा सो कुरा होईन बन्दुक भोलीले आफ्ना छोराहरूद्वारा मगाएर मेरो हातमा राखेका हुन भन्ने देखिन्छ । सीताराम र सीयारामले पनि सो बन्दुक लिने मानिस यही मदिस मिया हो भनी किटान गरेकोले शेष सैतुललाई बन्दुक लिएको भनी ठानामा पोल गरेका कुराहरू प्रमाणबाट समर्थन भएको देखिएन । सो कागज ऐन, नियमको रीत पुगी सरकारी वकिलको उपस्थितिमा भएको पनि छैन र दाखिल भएको टोटाको हकमा कसैले ताक्यो सम्म भनेको, कसैले बन्दुक नचली मिसफायर भयो भन्ने जस्ता प्रत्यक्ष नमिल्दो कुरा लेखेको र सो फायरको आवाज सुन्यौं भन्ने मुख्य मिलिटरीले पनि नसकेकोले समेत सारा प्रमाण र परिबन्दबाट समर्थन हुन नआएको, उक्त टोटा बन्दुक र बयानलाई साँचो देखी प्रमाण हो भनी यी निवेदक प्रतिवादीहरूलाई डाँका ठहर गर्न नमिल्ने, कुनै पञ्चायतमा उपप्रधानपञ्चसम्म चुनिएका र बुझिएका साक्षीले सफाई दिएको सबूद समेत भएकोले खराब नियत भन्ने पनि नमिल्नेमा कसूर वारदात गरेकै ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको पेश हुँदा बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई पेसीको सूचना महान्यायाधीवक्ताको कार्यालयमा दिई फुल बेञ्चमा पेश गर्नु भन्ने २०२५।१।४।३ को प्रधान न्यायाधीशज्यूको आदेश ।
१३. तारिखमा रहेको दरखास्तवाला भोली सहनीको वा.झलकबहादुर रोहवरमा रही ०२५ साल पौष २४ गते पेश भएकोमा गौर कारागारमा रहेका निवेदक प्रतिवादी शेषबसी महमदतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी निवेदक प्रतिवादी शेष सैतुलतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ठ दरखास्तवाला भोली सहनीतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र वादी श्री ५ को सरकारतर्फबाट उपस्थित हुनुभएका का.मु.सरकारी अधिवक्ता श्री खडानन्दप्रसाद उपाध्यायले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिई पेश हुन आएको प्रस्तुत मुद्दामा निम्न प्रश्नको निर्णय गर्नुपर्ने देखियो ।
(१) दरखास्तवाला भोली सहनीको घरमा जाहेरी दरखास्त बमोजिम डाँका वारदात भएको हो होइन ?
(२) वारदात भएको भए निवेदक प्रतिवादी शेषबसी महमद, शेष सैतुलसमेत भई डाँका गरेका हुन हैनन् ?
१४. प्रथम प्रश्नको विचार गर्दा २०२० साल आश्विन ४ गतेका राती जाहेरवाला भोली सहनीका घरमा डाँका गर्न गएमा आफु सावित भई डाँका गर्न जाने साथी भनी निवेदक प्रतिवादी शेषबसी शेष सैतुललाई समेत पोल गरी वारदात गरिरहेको अवस्था पक्राउ भएको भनेको मदिस मियाँ धुनियाले प्रहरी कार्यालयमा साविती कागज गरेको देखिन्छ । मदिस मियाँले प्रहरी कार्यालयमा सावित भए पनि अदालतमा इन्कार गरेको छ । जाहेरवाला भोलीको दरखास्तमा पेटीबाट गहना लुटेको भनी लेखेको, निजकी श्रीमतीले सुतकै ठाउँमा मेरा गलाबाट सुनको हसुली खोसेको भनेकी र फेरि घरबाट बाहिर निस्कि ढोकामा आइपुग्दा चाँदीको चुरा खोस्न लागेको भनेकीले लोग्ने स्वास्नीको कुरा फरक फरक छ । गलाको गहना लिएको भए हातको चुरा पनि सोही बखत लिनपर्ने, सरजमिनका मानिसको कुरा पनि आपसमा मिल्दैन । जाहेरवालाको छोराहरूसमेतले निवेदक प्रतिवादी शेषबसी महमदको जग्गामा माछा मारेकोमा माछा मार्न पाउदैनौ भनेकोसमेत इवीबाट अनधिकृत व्यारेकलाई मिलाई झुठ्ठा वारदात खडा गरी निवेदक प्रतिवादी समेतलाई फसाउने षडयन्त्र गरेको हो भनी विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले बहसमा जिकिर गर्नुभएकोमा निज मदिस अदालतमा इन्कार रहे तापनि निजलाई फसाउनु पर्ने सम्मको इवि अदावत केही देखाउन नसकेको र अदालतले कसूरदार ठहराई फैसला गरेकोमा पुनरावेदन नै नगरी चित्त बुझाई बसेको जाहेरवालाकी स्वास्नी लखियाले हातको चुरा सुनको हसुली लिने डाँकाले नै खोस्न लागेको नभनी हसुली लिने डाँकाले पेटीको गहना लिन लागेको मौका पाई निस्कन लाग्दा द्वारमा बसेका अरु ४ जना डाँकाले हातको चुरा खोस्न लागेको भनी कागज गरेकी, वारदात भएको घरमै थियो भनी पुनप्रसाद चनौ समेत जना ५ ले र भोली सहनीको घरमा डाँका भएको थाहा पाई हामीहरू सोही मौका निजको दरवाजामा आइपुग्दा पक्राउ भएको, मदिस मियाँलाई बाँधी राखेको देख्यौं समेत भनी तपेसर सहनी समेत जना २७ ले र सो आश्विन ४ गतेका रात हामीहरूको भदैया धान रखबारी गरी खेतमा बसेको अं.१२।१ बजे गाउँमा डाँका डाँका भनी हल्ला भएको सुनेकोले गाउँमा जान लाग्दा १८।२० जना मानिस कसैले हातमा टर्च बत्ति कसैले पोका समेत लिई बैरिया गाउँतर्फ जानलागेको देखेका समेत भनी रामप्रसाद राय यादव ३ जनाले मौकैमा प्रहरी र प्रोसिक्युटर समेत भई बुझिएका सर्जमिनहरूले बयान गरेका, ती सर्जमिनहरूले झुठ्ठा बयान गर्नुपर्ने कुनै कारण नदेखिएको, टिकुलिया गाउँमा हल्ला गरेको सुन्नासाथ ह.कृष्णबहादुर लिम्बु साथ खटाउँदा भोली सहनीको घरमा डाँका परेको रहेछ । भोलीको छोरा सीताराम भन्नेले उत्साहपूर्वक डाँकाको हातमा भएको हतियार खोस्न संघर्ष हुँदाहुँदै जवानहरू पुग्नासाथ डाँकाहरू भागी गएको भन्ने गौर व्यारेकबाट गौर थानालाई लेखेको पत्रमा उल्लेख भएको व्यारेकका जवानहरूले झुठ्ठा कुरा गर्नुपर्ने कुनै कारण नदेखिएकोमा पनि निवेदक प्रतिवादीहरू समेतले मौकैमा अदालतमा बयान गर्दा पनि वारदात भएको छैन भनी भन्न नसकेका जाहेरवाला भोली सहनी निजको छोरा सीताराम सहनी वारदातमै भएको भनेको भोली सहनी दुलार चैंसहनी समेतका आङ्ग जीउमा घा खत भएको पुलिसकेश फारामबाट देखिनाले समेत वारदात भएकै देखिंदा वारदातै भएको होईन भन्ने विद्वान वरिष्ठ अधिवक्ताको तर्कमा सहमत हुन मिलेन ।
१५. अब दोस्रो प्रश्नतर्फ के रहेछ भनी विचार गर्दा जाहेरवालाकी श्रीमती लखियाले ढोकामा आइपुग्दा ४ जना डाँका द्वारमा उभिइराखेका थिए । १ जनाले टर्च बत्ति चारैतर्फ घुमाई राखेको थियो । सोही उज्यालोबाट शेषबसी महमद १ शेषसैतुल महमद १ समेत २ जनालाई चिनेकी हुँ भनी कागज गरेकी, निजको छोरा सीताराम सीयारामले पनि निवेदक प्रतिवादीहरूलाई वारदातमै देखे चिनेको भनेका, बसी महमदले सानो काठको लठ्ठी लिएको र शेषसैतुलले हातमा लठ्ठी लिएको उक्त जना २ लाई हामीले चिनेका हौं भनी वारदातमै रहेभनेका रामप्रसाद चनौ समेत जना ५ ले र जाहेरवालाको घरमा डाँका परेको थाहापाई हामीहरू सवै जाँदा १ जना डाँका २ नाले १ बन्दुक १ र एकनाले बन्दुक १ टोटा ४ समेत पक्रिएको देख्यौं, सोही मौका गौर व्यारेकबाट मिलेटरीहरूलाई पक्राउ भएको, मदिस मियालाई सोधपुछ गर्दा शेषबोसी महमद १ सैनुल महमद १ समेतलाई मौकैमा हामीहरूको रोहवरमा पोलेको भनी तपेश्वर सहनी समेत जना २७ ले र सो आश्वीन ४ गते राती १२।१ बजेतिर गाउँमा डाँका डाँका भन्ने हल्ला भई हामीहरू गाउँतर्फ जानलाग्दा गाउँतर्फबाट १८।२० जना मानिस लाठी फरासा टर्च बत्ति कसैले पोको समेत लिएका वैरिया गाउँतर्फ जानलागेको देख्यौं । टर्च बत्ति बाली हेर्दा शेषबोसी महमद १ शेषसैतुल १ समेतलाइै चिन्यौं भनी रामप्रसाद यादव समेत जना ३ ले सर्जमिनमा बके लेखाएका, व्यारेकका जवानहरूले निवेदक प्रतिवादीहरूलाई पक्राउ गरेपछि अधिकारयुक्त प्रहरीका कार्यालयमा नै बुझाई दिएका सर्जमिन बुझ्नेसमेतको कारबाई कानूनबमोजिम प्रहरी र प्रसिक्युटरसमेत भई भए गरेको देखिएको, ती सर्जमिनहरूले झुठ्ठा बक्नुपर्ने कारण केही नदेखिएको, डाँका भएको थाहा पाई सो ठाउँमा गई पक्राउ भएकोलाई सुरक्षासाथ राखी पोलिएकोलाई पक्राउ गर्न मद्दत गरी पक्राउसमेत गरी प्रहरी कार्यालयमा बुझाएको व्यारेकका मिलेटरीहरूको सहयोगलाई अनधिकृत भन्न नमिल्ने । डाँका गर्नेहरूले भरसक आफुलाई नचिन्ने अवस्था पारी वारदात गर्ने सम्भव नै हो तापनि घेरा दिई नजिकैबाट हातको चुरा खोस्न लाग्दा मुख्य गवाह र निजका जहान समेतले केही फरकबाट टर्चको उज्यालोसमेतबाट अरु सर्जमिनले देख्ने चिन्ने सम्भव भएको मुख्य गवाह समेतले मौकैमा भनी उसै रात पक्राउ गरेको देखिएकोले त्यति चाँडै कसूर नगर्नेलाई फसाउने योजना बनाई भन्ने र पक्राउ गराउनेसमेत गरेहुन भन्न मनासिव नदेखिने । त्यसरी निवेदकहरूलाई झुठ्ठा वारदात खडा गरी डाँका जस्तो भयानक अपराधमा फसाउनै पर्ने सम्मको रीस इवी कारण पनि केही नदेखिएकोले निवेदकहरूको घरमा डकैतीको माल फेला नपरेको भन्ने हकमा वारदात गर्ने यिनीहरूमात्र नभई अरु पनि हुँदा डकैती गरेको माल अरुका साथमा पर्न गई वरामद हुन नसकेको पनि हुनसक्ने । मदिसले प्रहरीमा गरेको साविती कागज उल्लेखित सर्जमिनसमेतका स्वतन्त्र प्रमाणबाट समर्थन हुनआएको हुनालेसमेत निवेदक प्रतिवादीहरूलाई समेत कसूरदार ठहराई फैसला गरेको जिल्ला अदालत रौतहट र नारायणी अञ्चल अदालतको समर्थन गरेको डिभिजन बेञ्चको २०२४।१।१०।१ को इन्साफ मुनासिव ठहर्छ । तपसीलबमोजिम गर्नु र नियमबमोजिम मिसिल बुझाई दिनु ।
तपसील
निवेदक प्रतिवादी देहायका व्यक्तिके मुनासिव इन्साफ दोहर्याएवापत अ.बं.२०४नं. ले डिभिजन बेञ्चबाटभएको सजायको दसौंद देहाय रु.बमोजिम दण्डकैद हुन्छ । असूलउपर गर्न जि.अ.रौतहतमा लेखीपठाउन का.श्रे.अ.त.मा लगतदिनु ……१
जि.रौ.प.परोहा मौजे बैरीया घर भई गौर जेलमा रहेको शेषवसी महमद के डिभिजन बेञ्चबाट भएको सजायको दशौंद कैद दिन ।।१० दण्ड रु.३२।३१ ऐ.ऐ. बस्ने शेष सैतुल महमद के ऐ.।।१० ऐ.३२।३१
इति सम्वत् २०२५ साल माघ ४ गते रोज ६ शुभम् ।