June 28, 1993
Created by nepalarchives

निर्णय नं. ४७२४ – नामसारी दाखिल खारेज गरी पाउँ

निर्णय नं. ४७२४    ने.का.प. २०५० (क)        अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०४६ सालको दे.पु.नं....

निर्णय नं. ४७२४    ने.का.प. २०५० (क)        अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ

२०४६ सालको दे.पु.नं. ४९२

फैसला मिति: २०५०।३।१४।१

निवेदक      : का.जि. कोटेश्वर गा.पं. वडानं. २ बस्ने गौरा पराजुली ।

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने फुल प्रसाद पराजुली ।

मुद्दा : नामसारी दाखिल खारेज गरी पाउँ

(१)    अन्तिम रुपबाट अदालतबाट ठहर भई सकेको विषयमा पुनः कसैले आफनु भनी हक वेहक सम्बन्धी विवाद उठाउँदैमा त्यसमा पुनः हक बेहक छुट्याउन पर्ने अवस्था नहुने ।

(प्र.नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडे

फैसला

न्या. गजेन्द्रकेशरी बास्तोला

१.     मेरो सहोदर कान्छी बुढी सासु उजेली पराजुलीको अंश भागको कोटेश्वर पञ्चायत वडा नं. ६(ख) कि.नं. ३७ को क्षेत्रफल ०० ऐ कि.नं. ४९ को ०० र ऐ वडा नं. २ (ख) कि.नं. ७५ को क्षेत्रफल ०११० समेत शेषपछि मैले पाउने गरी निजले मलाई मिति २०३४।११।१८ गते शेषपछिको वक्सपत्र गरी दिनु भएको सो बक्स पत्र बदर गरी पाउँ भनी मेरो भिन्न भएका कान्छा सुसरा फुल प्रसाद पराजुलीले दिएको फिरादमा का.जि.अ. र बा.अ.अ. बाट समेत बक्सपत्र बदर नहुने भनी निर्णय भएकोले सो जग्गा मेरो नाममा मोहियानी र जग्गा धनी समेत नामसारी दर्ता गरी पाउँ भनी गौरा पराजुली मालपोत कार्यालय, काठमाडौंमा दिएको निवेदनपत्र ।

२.    फुल प्रसादका नाममा मालपोत कार्यालयबाट दिन ७ को म्याद जारी गर्दा दाजु विष्णु प्रसाद पराजुली घरको मुख्य भएको हुँदा र आफ्नी सौतनी आमा उजेली पराजुलीका नाममा दर्ता गरी मलाई पैतृक सम्पत्तिबाट बञ्चीत गराउने कुनियत गरी यी विपक्षीले दर्ता माग गरेको जग्गा दर्ता हुने होइन मेरो समेत हक लाग्ने जग्गामा मेरो मन्जुरी नभई सौतेनी आमा उजेली पराजुलीले गौरा पराजुलीलाई बक्स दिन पाउने होइन मेरो कानुन बमोजिम हक लाग्ने जग्गा दिलाई पाउँ भनी श्री ५ महाराजधिराज सरकारमा विन्तिपत्र चढाई रहेको हुनाले उक्त जग्गा निजको नाममा दर्ता नहोस भन्ने समेत फुल प्रसाद पराजुलीले मालपोत कार्यालयमा मिति २०४२।५।२ मा दिएको निवेदन ।

३.    बागमती अञ्चल अदालतको मिति २०४०।५।३१ को फैसला र मिति २०३४।११।१२ गतेको भू.प्र. कार्यालय, भक्तपुरबाट र नं. ६९९ बाट उजेली पराजुली ले गौरा पराजुलीलाई दिएको शेषपछिको बक्सपत्र अनुसार उक्त जग्गाहरु गौरा पराजुलीको नाममा नामसारी दाखिल खारेज गरी दिने भन्ने समेत मालपोत कार्यालय बाट मिति २०४२।८।१० गतेमा भएको निर्णय ।

४.    मेरो समेत हक लाग्ने जग्गा मेरो मन्जुरी वेगर दर्ता गर्ने गरी मालपोत कार्यालय, काठमाडौंबाट मिति २०४२।८।१० गतेमा भएको निर्णय बदर गरी पाउँ भन्ने समेत फुल प्रसाद पराजुलीले जिल्ला कार्यालय, काठमाडौं मा गरेको पुनरावेदन पत्र ।

५.    वा अ.अं. बाट समेत बक्स पत्र बदर नहुने भनी निर्णय भई रहेकोले विना सबुद प्रमाण पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने हुँदा शुरु मालपोत कार्यालयले गरेको २०४२।८।१० को निर्णय मनासिव ठहर्छ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय, काठमाडौंको मिति २०४५।३।७ गतेको फैसला ।

६.    उपरोक्त फैसला त्रुटीपूर्ण हुँदा सो उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन म.क्षे.अ. मा दर्ता भई पेश हुँदा यसै लगाउको मि.नं. ४०१ को ज.ध.प्र.पु. पाउँ भनी मुद्दामा आजै यसै इजलासबाट पुनरावेदनका लागि अनुमति भएकाले सोही मुद्दाको बुँदा प्रमाण समेतबाट यस मुद्दामा पनि पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ, भन्ने समेत म.क्षे.अ. को मिति २०४५।११।१० मा भएको आदेश रहेछ ।

७.    यसमा यिनै मुद्दाका पक्ष विपक्षी भएको ज.ध.प्र.पु. पाउँ भनी मुद्दामा आज यसै इजलासबाट शुरु मालापोत कार्यालय काठमाडौं र प्रमुख जिल्ला अधिकारी काठमाडौंले अधिकार क्षेत्रको अभावमा गर्ने गरेको निर्णय बदर हुने ठहरी फैसला भई सकेको र प्रस्तुत मुद्दा पनि सोही मुद्दासँग सम्बन्ध देखिन आएकोले उक्त मुद्दामा लगाएको बुँदा प्रमाणबाट शुरु मालपोत कार्यालयले विवादित जग्गा विष्णुप्रसाद पराजुलीको नाममा एकलौटी दर्ता गर्ने गरी गरेको निर्णयलाई जिल्ला कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सदर गर्ने गरेको निर्णय त्रुटीपूर्ण भई अधिकार क्षेत्र समेतको अभावमा बदर हुने ठहर्छ भनी म.क्षे.अ. को मिति २०४६।३।१ को फैसला ।

८.    उपरोक्त म.क्षे.अ. को फैसलामा कानुनी त्रुटी विद्यमान भएकोले यस सम्मानित अदालतमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको गौरा पराजुलीको निवेदन मिति २०४६।७।१७ मा दर्ता भई बेञ्च समक्ष पेश हुँदा यसमा जिल्ला कार्यालय, काठमाडौंको निर्णयलाई बदर गरी दिएको म.क्षे.अ. को निर्णयमा अ.वं. ३५ नं. को त्रुटी देखिंदा पुनरावेदनको अनुमति दिइएको भन्ने समेत व्यहोराको मिति २०४६।५।१३ गतेको संयुक्त इजलासको आदेश ।

९.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी बेञ्च समक्ष पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदक निवेदक) तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडेले विपक्षी फुल प्रसादको अघि नै अंश भई सकेको ठहर म.क्षे.अ. बाट मिति २०३९।१।८ मा अन्तिम भएको हुँदा मेरो दाता उजेली समेत अंश लिई भिन्न भई ०२२ सालको नापीमा निज दाता उजेलीको नाममा दर्ता भएको जग्गा निजबाट बक्स पाउने र गौराको हुने प्रष्ट छँदाछँदै मालपोत कार्यालय र प्रमुख जिल्ला अधिकारीको फैसला बदर गर्ने गरेको म.क्षे.अ. को फैसला कानून अनुरुप नभएकोले बदर गराई पाउँ भन्ने बहस गर्नुभयो ।

१०.    यसमा म.क्षे.अ.बाट भएको इन्साफ मिले नमिलेको सन्दर्भमा हेरी निर्णय तर्फ विचार गर्दा मेरो कान्छी सासू उजेली पराजुलीले आफ्नो अंश भागको सम्पत्ति मेरो नाममा शेष पछिको वक्सपत्र मिति २०३४।११।१८ मा पारित गरी दिनु भएकोमा कान्छी सासु उजेली परलोक हुनु भएपछि भिन्न भएको कान्छो ससुरा फुल प्रसाद पराजुलीले उक्त वक्स पत्र बदरको दावी लिई फिराद गर्नु भएकोमा का.जि.अ. र वा.अं.अ.बाट शेषपछिको वक्सपत्र बदर नहुने ठहरी फैसला भई अन्तिम भई बसेकोले स्वर्गीय कान्छी सासु उजेली पराजुलीको नामको कोटश्वर पञ्चायत वडा नं. ६(ख) कि.नं. ३७ को क्षेत्रफल ०२ र ऐ. कि.नं. ४९ को ०१ र ऐ. वडानं. २ (ख) कि.नं. ७५ को क्षेत्रफल ०११३ समेत ३ कित्ता जग्गाहरु मेरो नाममा नामसारी गरी पाउँ भन्ने फिराद दावी देखिन्छ ।

११.    वादी फुल प्रसाद पराजुली प्रतिवादी गौरा पराजुली भएको दे.पु.नं. ६५६ को बक्स पत्र बदर मुद्दामा वादी अघि नै छुट्टी भिन्न भएको देखिन आएकोले वादीले अंगालेको स्त्री अंशधनको २ नं. मा छोराहरुको मन्जुरी लिई भन्ने वाक्याँश रहेको छोरा भन्ने शब्दले सौतेनी छोरा समेत समावेश व्याख्या गर्न मिल्दैन । वादी दावी पुग्न सक्दैन भन्ने शुरु जिल्ला अदालतले गरेको फैसला सदर हुने ठहर्छ भनी मिति २०४०।४।३ को वा. अं.अ. को अन्तिम भएर बसेको फैसला देखिन्छ । उक्त फैसला अनुसार उजेली पराजुलीले गौरा पराजुलीलाई गरी दिएको मिति २०३४।११।१८ गतेको शेषपछिको वक्सपत्र सदर कायम रहेको देखिन आयो ।

१२.   वादी फुल प्रसाद पराजुली प्रतिवादी विष्णु प्रसाद भएको नि.नं. १६८८ को निवेदनमा यस अदालत संयुक्त इजलासबाट मिति २०३९।१२।१६ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।१।८ मा फैसला उपर भएको अनुमति नहुने आदेश भएबाट फुल प्रसाद छुट्टी भिन्न भई सकेको भन्ने देखियो । निवेदिका गौरा पराजुलीले दर्ता गराई माग गरेको ३ कित्ता जग्गाहरु फिल्डबुक उतारबाट उजेली पराजुलीको हकमा जोताहा जग्गा धनी भन्ने उल्लेख भई रहेको समेत पाइयो । अतः वादी फुल प्रसाद पराजुली प्रतिवादी विष्णु प्रसाद पराजुली भएको दे.पु.नं. ३२४ को अंश मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।१।८ मा फैसला भई उक्त फैसला उपर यस सर्वोच्च अदालत संयुक्र इजलास समेतबाट अनुमति नहुने आदेश भई उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको अन्तिम भएर बसेको फैसलाबाट उक्त जग्गाहरु उजेली पराजुलीकै मान्नुपर्ने हुँदा उजेलीबाट गौरा पराजुलीले पाएको बक्सपत्र गौरा पराजुलीको नाममा कायम हुने ठहराएको शुरु मालपोत कार्यालय र जिल्ला कार्यालयको निर्णय मनासिव ठहर्छ । अन्तिम रुपबाट अदालतबाट ठहर भई सकेको विषयमा पुनः कसैले आफ्नु भनी हक बेहक सम्बन्धी विवाद उठाउँदैमा त्यसमा पुनः हक बेहक छुट्याउन पर्ने अवस्था नहुँदा हक छुट्टयाउन ल्याउन मालपोत कार्यालयले सुनाउनु पर्ने भनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय त्रुटीपूर्ण हुँदा बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसिल

यसमा पुनरावेदक वादी गौरा पराजुलीको माथि ईन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. को मिति २०४६।३।१ को फैसला उल्टी हुने ठहरी जिल्ला कार्यालय, काठमाडौंको निर्णय सदर हुने हुँदा उक्त म.क्षे.अ.को फैसलाले राख्ने गरेको लगत कट्टा गरी जिल्ला कार्यालय काठमाडौंको मिति २०४५।३।७ को फैसला अनुसारको लगत कायम गर्नु भनी शुरु काठमाडौं जिल्ला अदालत तहसिलमा लगत दिनु ––––––     

पुनरावेदक गौरा पराजुलीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु. १।५० विपक्षी फुल प्रसाद पराजुलीबाट भराई पाउँ भनी कानुन बमोजिम दरखास्त दिए भराई दिन भनी शुरु का.जि.अ.त. मा लगत दिनु –––––––– 

मिसिल नियम बमोजिम गरी बुझाईदिनु ––––––––––         

उक्त रायमा म सहमत छु ।

न्या. गोविन्द बहादुर श्रेष्ठ

 

इति सम्व्त २०५० साल असार १४ गते रोज १ शुभम् ।