निर्णय नं. ४७२ – मानाचामल
निर्णय नं. ४७२ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा...
निर्णय नं. ४७२ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री वाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री हेरम्बराज
न्यायाधीश श्री लोकराज जोशी
न्यायाधीश श्री बब्बरप्रसाद सिंह
न्यायाधीश श्री रङ्गनाथ उप्रेती
२०२५ सालको दे.फु.नं. ४३
निवेदक : का.इ.बत्तिसपुतली बस्ने खिलकुमारी बाहुनी
विरुद्ध
विपक्षी : ऐ ऐ.बस्ने शंकरप्रसाद उपाध्याय समेत
मुद्दा : मानाचामल
(१) ससुरा नै घरको मुख्यको नाताले परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएमा–निज उपर बुहारी (छोराको स्वास्नी) ले मानाचामलको दावी गरेमा–अर्घेलो नदेखिने ।
यसमुद्दामा खिलकुमारीले लोग्ने माधवप्रसाद र ससुरा शंकरप्रसाद समेतलाई प्रतिवादी बनाए पनि ससुराले नै घरको मुख्यको नाताले आफ्नो परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएकोले निजउपर मानाचामलमा दावी गरेको अर्घेलो देखिएन ।
(प्रकरण नं. १७)
निवेदकतर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री सुधानाथ पन्त
प्रतिवादीतर्फबाट : अधिवक्ता श्री प्रेमकृष्ण पाठक
फैसला
१. विपक्षीसँग ठगी १, लुटपिट १, जवरजस्ती करणी १, समेतका मुद्दाहरू १७।१८ सालदेखि चल्दै आएकोमा फुल बेञ्चबाट ठगीको पैसाको हकमा लोग्ने स्वास्नीको ६ नं.ऐन लगाई खारेज गर्ने, जबरजस्ती करणी मुद्दातर्फ नालेस दिन जानु भनी सुनाई दिने फैसला भयो । स्वास्नी बनाइसकेपछि जवरजस्ती भन्ने शब्द कहाँबाट उठ्छ ? त्यसकारण मेरो अन्तिम निर्णय भइसकेकोले विपक्षीमध्ये मेरो लोग्ने हुने अदालतले बनाई दिएको माधवप्रसाद र निजको बाबु शंकरप्रसादसमेत सगोलमै बसेको भन्ने अपीलको म्याद बुझेकोबाट देखिएको हुँदा २०१६ सालदेखि महिनाको रु.१००। का दरले बर्ष १ को रु.१२००। ले २०१६ सालदेखि आजसम्मको मलाई मानाचामल विपक्षीहरूबाट भराइपाउँ । कोर्टफी राखी नालेस गर्नसक्ने मेरो सावगाससमेत नहुनाले हाल पक्राउ नगरी स.अ.बाटै मानाचामल भराई दिनु भन्ने आदेश पाउँ भन्नेसमेत खिलकुमारीको निवेदनमा व्यहोरा सँचो भए लाग्ने कोर्टफीमा मुद्दा ऐनबमोजिम किनारा हुँदा पछि लिने गरी हालपक्राउ नगरी ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चबाट २०२२।५।१८।६ मा आदेश भएको ।
२. अन्यायको शंकरप्रसाद बाबु र माधवप्रसाद छोरा हुन । तिनीहरूको सगोलको सम्पत्तिबाट मेरो निवेदन बमोजिम २०१६ साल जेष्ठ १ गते देखि आजसम्म र अब उप्रान्त पनि महिना महिनामा महिनाको रु.१२०। का दरले २०१६।२।१ देखि आजसम्मको एकमुष्ट दिलाई भराइपाउँ र अब उप्रान्तलाई महिनाको रु.१००। का दरले दिने दिलाउने निर्णय गरिपाउँ । महिना भरीलाई चामल, दाल, नून, घ्यू, तेल, जिरामरिजसमेत चाहिने सामान र डेरा बाहाल लुगा कपडासमेतलाई रु.१००। दावा गरेको हुँ । अब समयले बढी लाग्ने भयो भने अब उप्रान्तको खर्चमा लाग्ने जति दावा गर्ने छु । यस अघि ऋण कर्जा गरी खाइरहेको हुँदा सो बमोजिम ऋण खान लाउन वापत लागेको हुनाले सो ऋण तिर्न महिनाको रु.१०० का दरले दावा गरेको हुँ भन्नेसमेत खिलकुमारीको बयान ।
३. मेरा छोरा माधवप्रसाद, केशवप्रसाद, अचुतप्रसाद बाबु कृष्ण समेत ४ मा जेठो माधवप्रसाद २०१६ साल आषाढमा साईलो अचुतप्रसाद २०१७ साल आषाढमा बण्डापत्रमा कागज नगरी ४ छोरा र मेरी श्रीमति ठाकुरकुमारीसमेत ६ अंशियारको ६ बण्डा गरी चल अचल बण्डा लिई भिन्न भई जेठो छोरा र साईलो छोरा भिन्न बसेका छन् । वादीलाई मैले मानाचामल दिनुपर्ने होइन भन्नेसमेत शंकरप्रसाद उपाध्यायको २०२२।६।२७।४ को बयान ।
४. प्रतिवादी माधवप्रसादले म्याद गुजारी बसेको ।
५. शंकरप्रसाद माधवप्रसादहरू भिन्न भएको रीत पुगेको बण्डापत्र छ भन्न प्रमाण दिन शंकरप्रसादले नसकेको कागज पत्र केही नगरी २०१७ सालमा भिन्न भएको भन्ने लेखाई रजिष्ट्रेसनको १ नं. ले प्रमाण मानी अंशबण्डा भएको मान्न नमिल्ने खिलकुमारी, माधवप्रसादको मुद्दा पर्दै आखिर २०२२।३।१५ मा फैसला भई लोग्ने स्वास्नीको ६ नं. बमोजिम १ बर्ष भित्र २०२२ साल भाद्रमा यो उजूरी दायर गरेको देखिएको, वादीलाई हामीले खान लाउन दिएकै हो भन्ने र अब पनि दिन्छु भनी प्र.शंकरप्रसादको लेखाई नदेखिएकोले यी वादी र माधवप्रसाद समेतको अघिदेखि मुद्दा परिरहेको देखिएको ससुराले खाना लाउन दिए दिनामा स्वीकार गरेको नदेखिंदा २०१६।१।२ देखि २०२२।५।२३ तकको महिनाको रु.१००। ले मानाचामल वापत प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने का.जि.अ. को २०२३।४।१९।४ को फैसला ।
६. २०१७ सालमा कुट पिट समेत गरी निकाला गरे भने पछि सोही मितिले १ बर्ष भित्र नालेस गर्न सक्नुपर्ने र म अलग बसेको बाबुले मानाचामल दिनु नपर्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत प्रतिवादी शंकरप्रसादको पुनरावेदन ।
७. माधवप्रसाद र निजको आमा स्वास्नी भाइ समेत मिली बराबर कुट पिट सास्ती सासना गरेको कुटपिट मुद्दाहरूका छिनुवा मिसिलबाट देखिएकोले वादीलाई खान लाउन बन्दोबस्त आजसम्म केही गरेको नदेखिएको प्रतिवादी माधवप्रसाद वादी दावीमा सावित भई बसेको रीतपूर्वक बण्डापत्र छ भन्न शंकरप्रसादले नसकेकोले अशंबण्डा भएको मान्न नमिल्ने जवरजस्ती करणी मुद्दामा प्र.माधवप्रसादका नाममा जारी भएको अपीलको म्याद २०१९।११।२० मा तामेल भएको म्यादको पिठमा निज माधवप्रसादको एकघर संगको बाबु शंकरप्रसादले आफ्नै हस्ताक्षरले सही गरी अपीलको म्याद बुझेबाट सगोल भइरहेको बसेको प्रमाणित हुन आएको, २०१६ देखि स्वास्नी राखी खान लाउनको बन्दोबस्त नगरी मुद्दा गर्न लगाई दुःख दिएको भएपछि त्यस्तोमा मानाचामलमा दावी गरी लिन पाउदैन भन्न नमिल्ने हुँदा सुरुबाट वादी दावी अनुसार वादीले मानाचामल प्रतिवादीहरूबाट पाउने ठहराएको इन्साफ सुरुको मनासिवछ भन्ने बाग्मती अञ्चल अदालतको २०२३।१०।१८।३ को फैसला ।
८. लोग्ने स्वास्नीको ५ नं. ले १ बर्ष भित्र नालेस गर्नुपर्ने २०१६ सालदेखिको मानाचामलमा १ बर्ष पछि २०२२ सालमा उजूर लाग्न नसक्ने र माधवप्रसादले स्वास्नी राखेकै रहेछ भने पनि बाबुहरूको साथमा एउटै घरमा नबसी अलग भई छुट्टै रही बसेका अवस्था ल्याएका स्वास्नीले जुन लोग्ने हो उ बसेकै ठाँउमा बसी उसबाट खान लाउन पर्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्नेसमेत शंकरप्रसादको पुनरावेदन ।
९. आफ्ना आमद आयस्ताको फाँट लिई हाजिर हुन आउनु भनी पुनरावेदकलाई ७ दिने तारिख तोक्ने र पुनरावेदकको आमद आयस्ता के कति छ ? बाटाका म्याद बाहेक ७ दिन भित्र फाँटवारी लिई हाजिर हुनु भनी वादी खिलकुमारीको नाउँमा ७ दिने म्याद जारी गरी काम तामेल भएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको २०२४।२।११।५ को आदेश ।
१०. ससुरा शंकरप्रसाद समेतबाट मानाचामल भराइपाउँ भन्ने वादीको मुख्य दावी देखिएको सासु ससुरा र लोग्ने समेतसँग सगोल बसी आइरहेकोमा सासु ससुराले घरबाट निकाला गरेको भन्ने कुरा प्रमाणमा आइरहेको मिसीलहरूमा समेत कतै देखिन नआएको, लोेग्ने स्वास्नीको ४ नं. ऐनमा सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ भन्ने लेखिएको प्रस्तुत उजूरीमा सासु ससुराले निकाला गरे भन्ने कुरा लेखी दिनसमेत नसकेकोले ससुरा शंकरप्रसाद समेतबाट वादी दावीबमोजिम महिनाको रु.१००। भराई दिने गरेको सुरु र बाग्मती अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । यिनै वादीको र माधवप्रसाद समेतको जवरजस्ती करणी ठगी, कुटपिट मुद्दामा फुल बेञ्च लगायतबाट फैसला भइरहेको समेत प्रमाणको मिसिलबाट प्रतिवादी माधवप्रसादसँग २०१६ सालदेखि राजीखुसीले करणी लेनदेन गरी लोग्ने स्वास्नी भइरहेको भन्ने र निज माधवप्रसाद र निजका आमा स्वास्नी भाइ समेत मिली बराबर कुटपिट सास्ती सासना गरेको भन्नेसमेत देखिन आइरहेको र यो वादी खिलकुमारीलाई प्र.माधवप्रसादतर्फबाट खान पिनाको केही बन्दोवस्त गरिदिएको छ भनी भन्न नसकी माधवप्रसादले प्रतिउत्तरै नफिराई बसेको देखिनाले लोग्ने स्वास्नी भएपछि निज माधवप्रसादले आफ्नो आमद अनुसार खानलाउन दिन पर्ने हुँदा वादी दावी अनुसार महिनाको रु.१००। को दरले प्रतिवादी माधवप्रसादको अंश जेथाबाट र सो नभए तलबबाट समेत वादीले भरी पाउने हुँदा इन्साफ सुरु र बाग्मती अं. अदालतको समेत केही उल्टी ठहर्छ भन्ने डिभिजन बेञ्चको २०२४।७।२६।१ को फैसला ।
११. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने वादी खिलकुमारीको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा लोग्ने स्वास्नीको ५ नं. मा सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ भन्ने वाक्यांश परेको, तर अंशबण्डाको १० नं. ले छोरा स्वास्नीलार्ई खान लाउन नदिई राख्नु हुदैन, इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ, नदिए अंश दिनु पर्छ भन्ने व्यवस्था गरेको प्रस्तुत केशमा सासु ससुराले निकाला गरे भन्ने नभै खान लाउन नदिएको भन्ने वादी र खान लाउन दिएको छ वा दिनेछु भन्न नसकेको प्रतिवादी हुँदा यस प्रकृतिको मामिलामा अंशबण्डाको १० नं.को व्यवस्था ठिक मिल्न आउने, तर मागिएको आमद र घर परिवारको हिसाव नगरी औ ऐनले कहिले देखि मानाचामल पाउने हो सो पनि प्रष्ट नखुलाई लोग्ने स्वास्नीको ४ नं.को आधारमा मासिक ने.रु.१००। दिलाउने गरेको स.अ.को निर्णय मिलेको नखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहार्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको २०२४।१२।६।६ को हुकुम प्रमांगी ।
१२. निवेदक वादी खिलकुमारी र प्रतिवादी माधवप्रसाद २०१६ सालदेखि लोग्ने स्वास्नी भएको भन्ने कुरा निजहरूको अघि परी छिनिएको जवरजस्ती करणी, ठगी कुटपिट समेत मुद्दाको प्रमाण मिसिलबाट प्रष्ट भएकै छ । निज वादी खिलकुमारीलाई इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्नेसमेत प्रतिवादी ससुरा शंकरप्रसादले नसकेको र लोग्ने माधवप्रसादका हकमा प्रतिवादी बयान गर्न हाजिरै नभई म्याद गुजारी बसेकासमेत हुँदा यस स्थितिमा वादी खिलकुमारीले मानाचामल भरी पाउनै पर्ने देखिन आयो । छोरा माधवप्रसाद २०१६ साल आषाढमै आफ्नो अंशबण्डा लिई भिन्न भइसकेकाले मैले मानाचामल दिनु नपर्ने भन्ने प्रतिवादी शंकरप्रसादको मुख्य जिकिर भएको हकमा छुट्टी भिन्न भएको कानूनबमोजिम रीतपूर्वक बण्डापत्र लिखत प्रमाण दिन नसकेकाले सो अभावमा निज शंकरप्रसादको उक्त जिकिर कायम मान्न मिलेन । निज प्रतिवादी शंकरप्रसादले बुहारी वादी खिलकुमारीलाई खान लाउन समेत दिनु नपरोस भन्ने नियम गरी एकाघरको छोरा माधवप्रसादलाई छुट्टी भिन्न भएको भन्नेसमेत जिकिर लिई पन्छाउन खोजिराखेको र माधवप्रसाद निजकी आमा स्वास्नीसमेत भई २०१८ साल आषाढ १७ गते कुटपिट गरेको भन्नेसमेत कुरामा पहिले परेको मुद्दामा वादीलाई कुटपीट गरेकै ठहरी फैसला भैसकेको समेत हुँदा सासु ससुराले निकाला नगरेको भन्न मिल्ने अवस्था नदेखिएकाले लोग्ने स्वास्नीको ४ नं. बमोजिम प्रतिवादी ससुरा शंकरप्रसाद र लोग्ने माधवप्रसादसमेत एकाघरको बाबु छोरा दुवैजनाबाट वादीले मानाचामल भरी पाउने प्रष्ट हुन्छ । सो मानाचामल महिनाको के कतिका दरले भरी पाउने हो भन्ने तर्फ वादीले महिना १ को रु.१००। का दरले दावा गरेकीमा प्रतिवादी शंकरप्रसादले मैले मानाचामल दिनै नपर्ने भन्नेसम्म जिकिर लिएको, मेरो आमद आयस्ता यति छ, त्यसको हिसावले रु.१००। भन्दा घटी यो यति मात्र पर्न आउँछ । महिना १ को रु.१००। का दरले दावी गरेको बढी भयो भन्नेसमेत मैले आफ्नो प्रतिवादी बायानमा कुनै जिकिर लिन नसकेको र प्रतिवादी माधवप्र्रसादको हकमा म्यादमा हाजिरै नभई वादी दावीमा चित्त बुझाई बसेको समेत हुनाले अब त्यसतर्फ अरु विचार गरी रहनु परेन । अब वादीले कहिलेदेखिको भरी पाउने हो भन्ने तर्फ २०१६ साल जेष्ठ १ गतेदेखिकै भराइपाउँ भन्ने दावीको प्रस्तुत उजूर २०२२।५।२३ मा मात्र दायर भएको देखिएको र लोग्ने स्वास्नीको ६ नं. मा भएको गरेको मितिले १ बर्ष भित्र नालेस दिनुपर्ने व्यवस्था भएकोले २०१६ साल जेष्ठ १ गतेदेखि २१ साल भाद्र २३ गते तकको हकमा उक्त ऐनको हदम्याद १ बर्ष भित्रको वादीको उजूर देखिन आएन । पहिले जबरजस्ती करणी मुद्दा चलेको भए पनि त्यस्तो मुद्दा चलेकोमा अन्तिम फैसला भएको मितिले हदम्यादको गणना हुने व्यवस्था नभएकोले ऐनको हदम्याद नाघिसकेको २०१६ साल जेष्ठ १ गतेदेखि २०२१ साल भाद्र २३ गते तकको हकमा भराउन नमिल्ने हुँदा २१ साल भाद्र २४ गतेदेखि २०२२ साल भाद्र २२ गते तक बर्ष १ को सम्म वादीले भरी पाउने देखिन्छ । तसर्थ उपरोक्त उल्लेखित कारणहरू समेतबाट २०१६ साल जेठ १ गतेदेखि ०२१ साल भाद्र २३ गते तकको हकमा भराइपाउँ भन्ने वादीको दावी र मैले मानाचामल दिनै नपर्ने भन्ने प्रतिवादी शंकरप्रसादको जिकिर समेत पुग्न सक्तैन । उक्त २०१६ साल जेठ १ गतेदेखि ०२१ साल भाद्र २३ गतेतकको हकमा ऐनको हदम्याद नाघेको वादीको दावी खारेज हुने र २०२१ साल भाद्र २४ गतेदेखि २०२३ साल भाद्र २३ गतेतक बर्ष १को सम्म महिना १ को रु.१००। ले जम्मा रु.१२००। बाह्सय प्रतिवादी शंकरप्रसाद माधवप्रसाद दुबैबाट वादीले भरी पाउनेसमेत ठहर्छ भन्ने २०२५।२।२५। को फुल बेञ्चको फैसला ।
१३. सो उपर चित्त बुझेन भन्ने वादी खिलकुमारीले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा व्यहोरा साँचो भए मुद्दा पेशीलाई तोकिएको दिनमा हाजिर भएसम्मका न्यायाधीशहरुको फुल बेञ्चबाट एकपटक हेरी रुल नियमबमोजिम निर्णय गरी दिन निवेदकहरूलाई जनाउ पनि दिनु भन्ने २०२५।११।५ मा बक्स भइआएको हुकुम प्रमांगी ।
१४. बक्स भइआएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको २०२५।६।२८।१ को आदेश ।
१५. यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही २०२६।१।१०।३ मा पेश भै निवेदक वादीतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री सुधानाथ पन्थले र प्रतिवादी शंकरप्रसादतर्फबाट विद्वान अधिवक्ता श्री प्रेमकृष्ण पाठकले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा मानाचामल भराउदा थोरै भई मर्का पर्यो भनी खिलकुमारीको निवेदन परी हुकुम बक्से बमोजिम मुद्दा दोहरिएको रहेछ ।
१६. प्रतिवादीहरूले खान लाउन दिएन, मानाचामल पाउँ भनी वादीले दावा गरेको देखिन्छ । ०१६ सालदेखि मानाचामल पाउँ भनी वादीले दावा गरेको समयमा तत्काल प्रचलित अंशबण्डाको २८ नं. मा बाबुसँग नभई संगबसेका लाग्नेले सौता भएकी स्वास्नीलार्ई खानलाउन नदिई निकाला गरेको भए अंशमा हक नपुगेसम्म ससुरा लाग्नेले समेत इज्जत अनुसार खान लाउन दिनुपर्ने व्यवस्था भएकोमा हाल प्रचलित अंशबण्डाको १० नं. तथा लोग्ने स्वास्नीको ४ नं. लोग्नेले खान लाउन नदिए घरबाट निकाला गरेकोमासमेत अंश छुट्याई लिन पाउने र सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने व्यवस्था भएको पाइन्छ ।
१७. यस मुद्दामा खिलकुमारीले लोग्ने माधवप्रसाद र ससुरा, शंकरप्रसाद समेतलाई प्रतिवादी बनाए पनि ससुरा नै घरको मुख्यको नाताले आफ्नो परिवारको भरण पोषण गर्ने कर्तव्यवाला व्यक्ति भएकोले निजउपर मानाचामलमा दावी गरेको अर्घेलो देखिएन ।
१८. लोग्ने उपर निजले अंशमा दावी गर्न वा माथि उल्लेख गरिएका ऐनका आधारमा मानाचामलमा लोग्ने उपर निजको उजूरी लाग्दैन भन्नु भएन ।
१९. मानाचामल भराउनलाई वादीले पाउने अंश मध्येबाट भराउने होइन, भराएको मानाचामल निजले पाउने अंशबाट कट्टि पनि हुदैन । प्र.हरूले उपार्जन गरेको तथा अरु कुनै संचित सम्पत्ति भए त्यसबाट भराउने कुरो हो । वादी खिलकुमारीले दायर गरेको जवरजस्ती करणी मुद्दा २०२२।३।१५ गतेमा फुल बेञ्चबाट फैसला भएको उक्त मुद्दाको फैसला भएपछि २०२५।५।२३ मा प्रस्तुत मुद्दाको नालेस भएको देखियो ।
२०. तसर्थ माथि लेखिएका कारणहरूबाट निवेदक खिलकुमारीलाई बर्ष १ को मानाचामल भराई दिने गरेको २०२५।२।२५।६ को फुल बेञ्चको रायसँग सहमत छु ।
२१. कोर्टफी रहेको हुँदा दोहर्याएमा अरु सजाय गर्नु पर्दैन ।
मा. न्या. श्री धनेन्द्रबहादुर, मा.न्या.श्री बब्बरप्रसाद सिंह र मा.न्या.श्री लोकराज जोशीको राय
प्रस्तुत मुद्दामा वादीले मानाचामल पाउने नपाउँने के हो पाउने भए कहिलेसम्मको पाउने हो भन्ने कुरामा निर्णय दिनुपर्ने हुन आएको छ ।
सर्वोच्च अदालतमा मानाचामल भराइपाउँ भन्ने बिषयमा निवेदन परी उक्त निवेदनमा ठाडै बुझी कानूनबमोजिम गर्नु भन्नेसमेत आदेश भै यो मुद्दा चलेको देखिन आउँछ । उक्त निबेदनमा खान लाउन नदिएकोले माधवप्रसाद र निजको बाबु शंकरप्रसाद सगोल भई बसेकोले २०१६ सालदेखि महिनाको रु.१००। का दरले विपक्षीहरूबाट भराइपाउँ भन्ने निवेदनमा जिकिर लिएको अदालतमा बयान हुँदा पनि सोही निवेदनमा लेखिएबमोजिम दावा गरेको देखियो । वादीको लेखाईमा मुद्दा गर्नुपर्ने कारण अरु कुनै नदेखाई खानलाउन नदिएको कारणबाट शड्ढरप्रसाद माधवप्रसाद एकासगोलमा भएकोले निजहरूबाट मानाचामल भराईपाउँ भन्ने दावीलिएको प्रष्ट छ ।
पहिले परेको जबरजस्ती करणी ठगी मुद्दामा फुल बेञ्चबाट भएको २०२२।३।१५।३को फैसलासमेतबाट वादी खिलकुमारी प्र.माधवप्रसादको स्वास्नी कायम भइराखेकी देखियो । प्रतिवादी लोग्ने माधवप्रसादले इज्जत आमद अनुसार खान लाउन दिइराखेको भन्ने प्रति इन्कार गर्नसमेत नसकी प्रतिवादी नै नदिई म्याद गुजारी बसेको समेतबाट २०१६ सालदेखि स्वास्नी बनाई खान लाउनको बन्दोबस्त नगरी दुःख दिएकोमा मानाचामलमा वादीले दावी गर्नसक्ने नै देखिन्छ ।
२०१६ सालदेखिको मानाचामल भराइपाउँ भन्ने वादी दावी भए तापनि २०२२ सालमा मात्र अदालत समक्ष उजूरी गरेको देखिएबाट प्रचलित मुलुकी ऐनबमोजिम वादी दावीमा निर्णय दिनुपर्ने हुन आएको छ । मुलुकी ऐनमा अंशबण्डाको महल र लोग्ने स्वास्नीको महलमा मानाचामल भराई दिने व्यवस्था गरेको पाइन्छ अंशबण्डाको १० नं. मा छोरा स्वास्नीलार्ई खान लाउन दिनुपर्छ भन्ने उल्लेख भएको छ । लोग्ने स्वास्नीको ४नं. यस प्रकार छ : “सासु ससुराले समेत भई वा लोग्नेले मात्र खान लाउन नदिइ घरबाट निकाला गरेको वा बराबर कुटपीट गरी दुःख दिने गरेको वा लाग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्ती स्वास्नीले लोग्नेका अंशबाट आफ्नो अंश छुट्याई लिन पाउँछे, त्यो स्वास्नी मरी वा पोइल गई भने उसले खाईलाई बाँकी रहे जति हकबालाको हुन्छ । सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ ।” उक्त ऐन अनुसार दावी गर्नलाई सासु ससुरासमेत भई वा लाग्नेले खान लाउन नदिई घरबाट निकाला गरेको वा बराबर कुटपिट गरी दुःख दिएको अवस्था देखाउन पर्ने हुन आउँछ । त्यस्तोमा लाग्नेसमेतले निकालेको भए अरु स्वास्नी ल्याएकोमा लोग्नेको अंशबाट अंश छुट्याइ लिन पाउने व्यवस्था गरेको र सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने व्यवस्था गरेको देखिन्छ । उक्त ऐनले इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने बाध्यता सासु ससुरालाई मात्र गरेको लोग्नेको समेत कसूर देखाएकोबाट अंशमात्र पाउने व्यवस्था गरेको प्रष्ट छ । उपरोक्त उल्लेख भएबमोजिम सासु ससुराले खान लाउन नदिई घरबाट निकाला गरेको वा कुटपिट गरी दुःख दिने गरेको भन्ने यो उजूर दावी नभई लोग्नेले खान लाउन नदिएको हुँदा बाबु छोरा सगोलमा भएकोले विपक्षीहरूबाट मानाचामल भराइपाउँ भन्ने दावी छ, जुन अवस्थालाई दर्शाई वादी आएकोछ सो अवस्था लोग्ने स्वास्नीको महलको ४नं. मा उल्लेख भएको अवस्थासँग मिल्न आएको नदेखिएको र लोग्ने समेतबाट मानाचामल पाउँ भन्ने दावी भएकोले लोग्ने स्वास्नीको ४ नं.अन्तर्गतको दावी हो भनी सोही महलको ६नं.को हदम्याद लाग्ने यो मुद्दा देखिंदैन ।
अंशबण्डाको १० नं. मा मात्र लाग्नेले स्वास्नीलार्ई इज्जत आमद अनुसार खान लाउन दिनु पर्छ भन्ने बाध्यता गरेको पाइन्छ । वादीको दावी पनि मुख्यतया लाग्नेले नै खान लाउन नदिएकोले मानाचामल भराइपाउँ भन्ने देखिएको र सगोलमा रहेको नातालेमात्र बाबु शंकरप्रसाद समेतबाट भराईपाउँ भन्ने दावी लिएको देखिएकाले वादीको दावी अंशबण्डाको १० नं. अन्तर्गतमै पर्न आउने देखिन्छ । अंशबण्डाको १० नं. बमोजिम मानाचामलको दावी गर्नको लागि उक्त ऐनमा हदम्याद उल्लेख भएको देखिंदैन । अ.बं.को ३६ नं. ले हदम्याद नलेखिएको कुरामा जैलेसुकै नालेस दिए पनि लाग्ने भएकोले २०१६ सालदेखिको मानाचामल पाउँ भन्ने दावी लाग्न सक्ने देखिन्छ । वादीले आफ्नो २०२२।५।२३ को बयानमा २०१६ साल जेष्ठ १ गतेदेखि आजसम्म र अब उपरान्तलाई पनि महिनाको रु.१००। का दरले दिलाउने निर्णय गरिपाउँ भन्ने जिकिर लिएमा लेनदेन व्यवहारको ऐन अनुसार फैसला हुँदाको मितिसम्मको मानाचामल पनि भराउने ऐनमा व्यवस्था नभएकोले नालिस दायर भएको मितिसम्म मात्र भराउन पर्ने भएबाट पछिको लागि पनि दिलाउने निर्णय गर्न मिल्दैन ।
अब वादी दावीबमोजिम ससुरा लोग्ने दुवैबाट या लोग्नेबाट मात्र भरी पाउने के हो भन्ने तर्फ हेर्दा उपरोक्त उल्लेख भएबमोजिम सासु ससुराले घरबाट निकालेको भन्ने वादी दावी नभएको घरमा गई सासु ससुराको साथमा बसेकी भन्ने उल्लेख गर्न पनि नसकेकाले लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको यो उजूरी देखिएन । अब शंकरप्रसाद माधवप्रसाद छुट्टी रीतपूर्वक अंशबण्डा नभएको र लोग्ने माधवप्रसादको हक भागसमेत सगोल जेथामै रहेको देखिएकोले सगोल जेथाबाट कानूनबमोजिम गरी वादी दावीबमोजिम २०१६।२।१ देखि उजूरी दायर भएको २०२२।२३ तकको रु.७५७३।३१ वादीले भरी पाउने देखिन्छ ।
अतः लोग्ने स्वास्नीको महलको ४ नं. अनुसारको दावी कायम गरी सोही महलको ६ नं. बमोजिम १ बर्ष हद लगाई १ बर्ष मात्रको भरी पाउने गरेको २०२५।१२।२५।६ को फुल बेञ्चको राय र उक्त रायसँग सहमत हुनु भएको सहयोगी माननीय न्यायाधीशहरूको रायसँग सहमत नभएकोले छुट्टै आफ्नो राय ठहर व्यक्त गरेको छु ।
मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह र मा.न्या. श्री रत्नबहादुर बिष्टको मा.न्या. श्री वासुदेव शर्मासमेतको ठहरसँग सहमत राय
यस्मा विष्णु केशरी, श्याम भक्तहरूको मानाचामल मुद्दामा २०१०।१।१८ देखि २०१४।९।१४ तक बर्ष ४।८।५ को भराउनेसमेत गरी फुल बेञ्चबाट फैसला भएको छ । मेरो मुद्दामा मात्र १ बर्षको हक लगाई खारेज गरियो भन्ने हाल निवेदक वादीको मुख्य जिकिर भएको हकमा निज विष्णुकेशरी श्यामभक्तहरूको मानाचामल मुद्दा नयाँ मुलुकी ऐन जारी हुनुभन्दा पहिले नै पुरानो मुलुकी ऐन प्रचलनमा रहेको अवस्थामा र प्रस्तुत मुद्दा नयाँ मुलुकी ऐन जारी भइसकेपछि २०२२ सालमा मात्र परेको देखिन्छ । नयाँ मुलुकी ऐन लोग्ने स्वास्नीको ४ नं. मा सासु ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने व्यवस्था भए जस्तै पुरानो मुलुकी ऐन लोग्ने स्वास्नीको महलमा त्यो व्यवस्था नभई अंशबण्डाको २८ नं.मै बाबुसँग अंश नभईसँग बसेका लोग्नेले सौता भएकी स्वास्नीलार्ई खान लाउन नदिइ निकाला गरेको भए अंशमा हक नपुगेसम्म ससुरा लोग्नेलेसमेत इज्जत आमद अनुसार खान लाउन दिन पर्ने व्यवस्था भएकोले मानाचामलको दावीमा उस बखत लोग्ने स्वास्नीको ऐनको हदम्याद लाग्न सक्ने प्रश्न थिएन । उक्त विष्णुकेशरी शयामभक्तहरूको मुद्दामा तत्काल प्रचलित अंशबण्डाको २८ नं. नै प्रयोगमा ल्याई छिनेको देखिन्छ । तसर्थ उक्त मुद्दाको नजीर यस मुद्दामा लाग्छ भन्न भएन । हाल प्रचलित मुलुकी ऐन अंश बण्डाको १० नं. मा परिवारको इकाई लोग्ने स्वास्नी छोराहरूलाई मात्र संकेत गरेको र लोग्ने स्वास्नीको ४ नं. मा उपरोक्त परिवारिक इकाइको साथ साथै लोग्नेको बाबुहरूसमेत भएको संयुक्त परिवारको पनि कल्पना गरेकोले प्रस्तुत मुद्दामा वादीको लोग्ने आफ्नो बाबु आमा सँग संगै सगोलको रुपमा बसेको देखिन आएकोले लोग्ने स्वास्नीको ४ नं. अन्तर्गत पर्न आउने प्रष्ट हुँदा उक्त २०२५।२।२५।६ को फुल बेञ्चमा हामीहरूको राय कायम भएकै हालको निवेदन जिकिर मिसिल प्रमाण समेतबाट त्यसलाई अदलबदल गर्नुपर्ने ठोस आधार कुनै देखिन नआएको समेत हुँदा उक्त २०२५।२।२५।६ को फुल बेञ्चको फैसला कायम राख्ने गरी मा.न्या.श्री वाशुदेव शर्मा समेतले व्यक्त गर्नुभएको उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
मा.न्या.श्री नयनबहादुरको राय
२०२४।७।२६।१ मा म समेत भई डिभिजन बेञ्चबाट निर्णय भएकोमा खिलकुमारीको निवेदन परी न्यायिक समितिको सिफारिसमा श्री ५ महाराजाधिराजका हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा दोहरी मानाचामल पाउँ भन्ने मुद्दामा मुलुकी ऐन लोग्ने स्वास्नीका महलको ६ नं. बमोजिम १ बर्षको मानाचामल मात्र भराउने गरी निर्णय भए उपर निजै खिलकुमारीको निवेदन परी विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यो मुद्दा पुनः दोहोरी हाल उपस्थित सवै न्यायाधीशहरूको फुल बेञ्च समक्ष पेश भएको छ ।
२०२५।२।२५।६ को फुल बेञ्चका फैसला र दुवै पक्षको विद्वान अधिवक्ताहरूको बहसबाट प्रस्तुत मुद्दामा मुख्यतः हदम्यादकै प्रश्न उपस्थित हुन आयो । मुलुकी ऐन लोग्ने स्वास्नीको महलको ६ नं. मा भए गरेको मितिले १ बर्ष भित्र नालेस नदिए लाग्न सक्दैन भन्ने व्यवस्था गरिएको भनी १ बर्षको म्याद कायम गरेको हुनाले १ बर्षको हदम्याद २०२५।२।२५।६ को फुल बेञ्चबाट कायम भएको देखिन्छ । उक्त लोग्ने स्वास्नीको ४ नं. मा सासु ससुरा समेत भई वा लोग्नेले मात्र खान लाउन नदिइ घरबाट निकाला गरेको वा बराबर कुटपिट गरी दुःख दिने गरेको वा लोग्नेले अरु स्वास्नी ल्याए वा राखेकोमा त्यस्तो स्वास्नीले लोग्नेको अंशबाट आफ्नो अंश छुट्याई लिन पाउने व्यवस्था भएको हुनाले यस्तो अवस्था परी अंश लिनु परेमा १ बर्ष भित्र नालिस दिनुपर्ने हुन आउला । उता अंशबण्डाको महलमा भने अंश लिनलाई कुनै हदम्याद कायम गरेको देखिंदैन । अंशबण्डाको १० नं. ले लोग्नेले स्वास्नीलार्ई खानलाउन नदिएमा अंशपाउने हकबारे बोल्दछ । यसरी अंशबण्डा को १० नं. र लोग्ने स्वास्नीको ४ नं. ले अलग अलग अवस्थाको उल्लेख गर्दछ र माथि लेखिएबमोजिम लोग्ने स्वास्नीको ४ नं. को स्थिति र अंशबण्डाको १० नं.को स्थितिबाट स्वास्नीले पाउनुपर्ने हकमा भिन्नता देखिएकै छ । माथि सहयोगी न्यायाधीश माननीय श्री धनेन्द्रबहादुर सिंहबाट गरिएको ठहरमा उल्लेखित तर्कहरूमा धेरै हदसम्म मेरो सहमत छ । तर ससुरासमेत सगोलबाट भराउने गरेको हकमा लोग्नेस्वास्नी को ४ नं. ले नमिल्ने हुँदा सहमत छैन ।प्रस्तुतकेशमा वादी निवेदिकाले मानाचामलको दावी गरेको र मानाचामल कसबाट भराउने भन्ने बारे जो डिभिजन बेञ्चबाट निर्णय भएकोछ, त्यसमा परिवर्तन गर्नुपर्ने मैले कुनै आधार भेटाईन । उक्त २०२४।७।२६।१को डि.बे.को निर्णयमा सो नभएमा तलवबाट भएपनि भराउनेभन्ने वाक्यांश सम्म उक्त फैसलाबाट झिकी अरु सोही फैसला सदर गर्नुपर्ने ठहर्छ । तर बहुमतले अघिको फुल बेञ्चको फैसला सदर राखी १ बर्ष हदनै कायम गरेकोले आफ्नो छुट्टै ठहर लेखिदिएको छु ।
इति सम्वत् २०२६ साल वैशाख १३ गते रोज ६ शुभम्