January 12, 1993
Created by nepalarchives

निर्णय नं. ४६०७ – इन्साफ जाँच

निर्णय नं. ४६०७    ने.का.प. २०४९ (ग)  अङ्क ९   संयुक्त इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला २०४७ सालको नि.नं....

निर्णय नं. ४६०७    ने.का.प. २०४९ ()  अङ्क ९

 

संयुक्त इजलास

का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला

२०४७ सालको नि.नं. ४८४

आदेश भएको मिति: २०४९।९।२८।३ मा

निवेदक/प्रतिवादी: ज्योती क्लियरिंग एण्ड फर्वाडिड्ड एजेन्सीका प्रो.अमृत ज्योती कंसाकार

विरुद्ध

विपक्षी/वादी: दुग्ध विकास संस्थानका कार्यकारी अध्यक्ष पलजंग राणा

विषय : इन्साफ जाँच

मुद्दा : रकम दिलाई भराई पाउँ

(१)    संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति नदेखिने ।

(प्रकरण नं. २)

(२)   प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिने ।

(प्रकरण नं. २)

आदेश

१.     यस संस्थानबाट प्रतिवादीले लिनु पर्ने भन्दा बढी पेश्की रु. १,०२,७०१।३१ लिएकोमा सो र बीमा बापत असूल उपर गरी लिनु पर्ने रकम यस संस्थानलाई बुझाउनु पर्ने रु. ४,५१,७२२।०६ समेत जम्मा रु. ५,५४,४२३।३७ समेत नबुझाएकोले प्रतिवादीबाट दिलाई भराई पाउँ भन्ने फिराद दावी र वादीले दावी गरेको बीमाको रकम विभागबाट हामीलाई प्राप्त भएको छैन, तथा फिराद दावी अनुसार हिसाब मिलान मिलेको समेत छैन । तसर्थः दावी अनुसारको रकम बुझाउनु पर्ने होइन । साथै अ.बं. ७२ नं. ले फिर्ता पाउँ भन्ने र बुझाउनु पर्ने रकम दिलाई पाउँ भन्ने मुद्दा एकै फिरादपत्रबाट हेर्न नमिल्नुको साथै शुरु अञ्चल अदालतमा मुद्दा पर्नु पर्नेमा नपरेकोले अधिकार क्षेत्र विपरीत छ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वागमती अञ्चल अदालतको क्षेत्राधिकार भित्र पर्ने भनी आदेश गरे अनुरुप वा.अं.अ. मा पठाएको रहेछ । वागमती अञ्चल अदालतले बढी पेश्की लिएको रु. १,०२,७०१।०१ प्रतिवादीले वादीबाट भराई लिन पाउने र बीमा बापतको रकम प्रतिवादीले बुझाउनु पर्ने भन्ने कुनै करार भएको नदेखिँदा त्यसतर्फ वादी दावी नपुग्ने ठहर्छ भनी फैसला भएको । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट बढी पेश्की रु. १,०२,७०१।०१ को साथै बीमा बापत रु. २५,५९१।६४ समेत वादीले प्रतिवादीबाट भराई लिन पाउने गरी केही उल्टी फैसला भएको र सो मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई मनासिब ठहर्‍याई सर्वोच्च अदालतबाट भएको मिति ०४६।२।२९।१ को फैसला दोहोर्‍याई जाँची पाउँ भनी प्रतिवादीको विन्तिपत्र परेको पाइन्छ ।

२.    यस सम्बन्धमा भई आएको निर्देशन अनुरुप निवेदकको माग बमोजिम हुन पर्ने हो वा होइन भनी हेर्दा यसमा संस्थानका अधिकार प्राप्त व्यक्तिबाट फिराद दायर भएकोले हकदैया नभएको भन्न पर्ने स्थिति देखिँदैन । प्रतिवादीले हिसाब मिलानको लागि २ महीनाको म्याद मागेकोमा सो म्यादबाट हदम्याद भित्र नालेश परेबाट हदम्याद भित्र नै फिराद परेको देखिन्छ । जि.अ. बाट कानुन बमोजिम नै वागमती अञ्चल अदालतमा मुद्दा सरुवा गरेको हुँदा अधिकार क्षेत्र सम्बन्धी कुनै त्रुटि भएको भन्न मिलेन । वादीबाट प्रतिवादीले बढी पेश्की रु. १,०२,७०१।०१ लिएको पेश भएका कागजातबाट देखिन्छ । यसरी बढी पेश्की लिएको रकम वादीलाई प्रतिवादीले फिर्ता गर्नु नपर्ने भन्न मिल्ने देखिँदैन । प्रतिवादीले उठाएको नोक्सानी बिगोमा उठाए बापत १० प्रतिशत कमिशन पाउने हुँदा बीमासंग उठाएको भनेको रु. २,८४,३४७।३४ मध्ये १० प्रतिशत कमिशन बापतको कटाई बाँकी रु. २,५५,९१२।६४ प्रतिवादीबाट वादीले भराई लिन पाउने नै हुँदा निवेदन जिकिर तर्कसंगत देखिन आएन ।

३.    अतः फिर्ता गर्नु पर्ने रकम रु. १,०२,७०१।०१ तथा बीमासंग उठाएको रकम मध्ये १० प्रतिशत कमिसन बापत कटाई बाँकी रु. २,५५,९१२।६४ समेत प्रतिवादीबाट वादीले भराई लिन पाउने गरी गरेको सर्वोच्च अदालतको मिति २०४६।२।२९।१ को फैसलामा कुनै कानुनी त्रुटि विद्यमान रहे भएको नदेखिँदा प्रस्तुत निवेदनमा केही कारवाही गरी रहन परेन । कानुन बमोजिम गरी फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

न्यायाधीश          न्यायाधीश

 

इति सम्वत् २०४९ साल पौष २८ गते रोज ३ शुभम् ।