निर्णय नं. ४५९ – अंश
निर्णय नं. ४५९ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री हेरम्बराज सम्वत् २०२५ सालको देवानी फु.नम्बर ८२...
निर्णय नं. ४५९ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०२५ सालको देवानी फु.नम्बर ८२
निवेदक : पूर्व ४ नं. खिकामाछा बितलव बस्ने मीनबहादुर कार्की क्षेत्री
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने डिल्लीध्वज कार्की क्षेत्री
मुद्दा : अंश
(१) बण्डा भइसकेको–पछि अंश जोडिएको भन्ने दावी भएमा र प्रतिवादीले “यती मात्रै जोडिएको” भन्ने जिकिर लिएकोमा सो को सबूद प्रमाण गुजार्न नसके–अंश जोडिएकै मान्नु पर्ने ।
केही लर लगानी र मधेश बौका चापको जग्गासम्म एकैठाउँमा राखी व्यवहार गर्ने गरेको हो । फेरि अंश जोडिएको सगोलमा बसी आएको होइन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यतीमात्र एकैठाँउमा राखी व्यवहार गर्ने कुराको लिखत सबूद कुनै दिनसकेको देखिन आएन । निज प्रतिवादी मीनबहादुरले कुमारजित जमिसंगको नासो धरौट अन्न भराइपाउँ भन्ने मुद्दामा वादीलाई वारेस राख्दा २०१५।७।१७।१ को वारेसनामामा एकाघरको भाइ भन्ने लेखिएकोमा निज प्रतिवादीले कुनै बिरोध गर्न नसकेको र २०१८।३।१७।७ जो बण्डापत्रमा १२ सालको बण्डापत्रबाट प्रतिवादीको भागमा परेको सित्रिबोटे खेत खोलो लागी नोक्सानी पर्दा त्यसको सट्टा वादीको बण्डाबाट पाउने उल्लेख भएको सवै अंश मिसाई सगोलमा बसेको नभए त्यस किसिमसँग सट्टा भर्ना दिन पाउने कुरा उठन नसक्नेसमेत हुँदा १२ सालमा बण्डा भएपछि पनि वादी प्रतिवादी २ भाइ अंश मिसाई मानु जोडिएका घर सगोलमा बसी आएको प्रमाणित हुन्छ ।
(प्रकरण नं. ११)
(२) मानु छुट्टिएको रीतपूर्वक लिखत सबूद नभएमा नालेस परेको अघिल्लो दिन कायम हुने ।
अब अंशबण्डा गरी दिनलाई मानु छुट्टिएको मिति कुन कायम हुने हो भन्नेतर्फ मानु छुट्टिएको ऐनबमोजिम रीतपूर्वक लिखत सबूद नभएकोले प्रस्तुत नालेस परेको २०१८।६।१६।२ को अघिल्लो दिन ऐ.१५ गते कायमहुने ।
(प्रकरण नं. ११)
वादी तर्फबाट : अभिवक्ता श्री ठाकुरप्रसाद खरेल
फैसला
१. रविध्वज कार्कीका हामी ५ भाइ छोराहरू २०१२ सालमा भिन्न हुँदा काहिंला बर्णबहादुर कान्छा शेरबहादुरको भाग माहिला चन्द्रबहादुरको जिम्मा भई दाजु मीनबहादुर र म साहिंलो डिल्लीध्वजले हामीले जिम्मा लिई हामी २ भाइ सगोलमा बसी दाजु मुख्य भई घरको दामकाम गरी आएको हाल हाम्रो जो भएको खति उपति बराबर गरी बण्डा गरौं भनी २०१८।३।१७ मा बाँडफाँड गर्दा मधेश पहाडका सवै जग्गा बराबर गरी बाँफाँड गर्नु पर्नेमा सो बमोजिम नगरी अंशमा सोह्रैआना ठगी जालसाज गरी दिन पर्ने अंश नदिई दवाई छपाई अंशमा मार्का पारी बण्डापत्र गरेकाले नालेस गर्न आएको छु । तायादाती फाँट लिई बराबर अंश गरिपाउँ भन्नेसमेत वादी ।
२. २०१२ सालमा अंशबण्डा गरी छुट्टिएपछि वादी र म एकाघर सगोलमा बसी व्यवहार गरेको होइन केही लर लगानी र मधेश बौकाचापको जग्गासम्म एकै ठाँउमा राखी व्यवहार गर्ने गरेको सो पनि हिसाब मिलाई २०१८।३।१७ मा लिखत खडा गरी १।१ प्रति लिने गरेको प्रष्टैछ । अंश लिई भिन्न भइसकेपछि मैले आर्जेको धनमाल वादीको दावा नपुग्ने हुँदा वादी दावा झुठ्ठा हो भन्नेसमेत प्रतिवादी ।
३. बुझिएसम्मका प्रमाणबाट २०१८ सालको बण्डामा ४ बिगाहा प्रतिवादीले बढी लिएको एकाघर बसेको अवस्थाको खति सगोलकै हुनाले सो प्रतिवादीले ४ बिगाहा बढी लिने भनेकोमा पनि वादी र प्रतिवादीले २।२ विगाहाका दरले बण्डा हुनुपर्ने, २०१२ सालको बण्डा र हाल प्रतिवादीले दिएको तायदाती भिडाउँदा २०१८।३।१७ सम्ममा बढेको भा.रु.१२०० को बन्धक रु.२४५०। मोलिने घर तायदातीको ६ नं.को रु.१५०। मोलिने ।।२ को बारी यति पछिको सगोलको आर्जन हुँदा वादीले आधा पाउने भई उक्त लेखिएको २ विगाहातर्फको रु.३७२५। बन्धक तर्फको रु.९६०। जग्गातर्फको रु.७५। घरको रु.१२२५। समेत जम्मा रु.६०१२। वादीले पाउँने ठहर्छ भन्नेसमेत इलाका अदालत भोजपुरको २०२०।५।१० को फैसला ।
४. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी प्रतिवादीको पुनरावेदन ।
५. २०१८।३।१७ का मितिसम्मको तायदाती लिई वादीले प्रतिवादीबाट के कति अंश पाउने हुन आउँछ अनिमात्र यति यति अंश पाउने भनी दिलाई दिनुपर्ने सो बमोजिम नगरी रु.६०१२। वादीले पाउने नै ठहराएको सुरुको इन्साफ बदर गरिदिएको छ । २०१८।३।१७ को मिति कायम गरी तायदाती लिई बण्डा गरिदिनु भनी मिसिल सुरुमा पठाई दिने ठहर्छ भन्नेसमेत सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको २०२३।२।१६ को फैसला ।
६. २०१२ सालको बण्डाबाटै सगोल ठहर्न नसक्ने २०१२ सालको बण्डा बदर गरिपाउँ भन्ने वादीको दावा नै नभएको अंश मानो मिसाई सगोल रहेको लिखत सबूद बेगर वादीले अंश पाउने ठहराएको इन्साफमा चित्त बुझेन भन्नेसमेत मीनबहादुरको पुनरावेदन ।
७. २०१८।३।१७।७ को मिति कायम गरी पूरै सम्पत्तिको तायदाती लिई बण्डा गरी दिनेसमेत गरी स.अं.अ.भोजपुर बेञ्चले गरेको ईन्साफ मिलेको नदेखिंदा अ.बं.२०२ नं. बमोजिम वादीलाई छलफलमा झिकाई पेशगर्नु भन्नेसमेत डि.बे.को २०२४।१।१५।६ को आदेश ।
८. वादी प्रतिवादीहरूले १२ साल फागुन ३ गते अंशबण्डाको कागज गरेको भए पनि काहिंला कान्छाको भाग माहिला चन्द्रबहादुर जिम्मा राखी जेठा भिमबहादुर साहिंला म डिल्लीध्वज एकाघर सगोलमा बसी निज दाजु घरको मुख्य भई दामकाम व्यवहार गरी आएको भन्ने वादीको फिरादमा लेखिएकोलाई मेरो केही लगानी र मधेश बौकाचापको जग्गासमेत एकै ठाँउमा राखी मैले व्यवहार गरी आएको भन्ने उल्लेख गरी २०१८।३।१७।७ मा प्रतिवादीले वादीलाई अंशबण्डा गरी दिई बण्डापत्रको कागज खडा गरेमा प्रतिवादी साबित रहनु भएको र सो बण्डापत्रमा अघिको मुल बण्डा कायम राखी प्रतिवादीका बण्डाको जग्गा खोलो लागी नोक्सानी पर्दा त्यसको सट्टा भर्ना वादीका बण्डाबाट पाउने समेत लेखिएकोले खति उपति जोरि एकाघरमा सगोलमा रहे बसेको होइन भन्न नभएको, उसमा पनि पछि मुद्दा पर्दा वारेसनामाहरूमा एकाघरको भनी लेखिएको कुरा प्रतिवादीले पनि मञ्जुर गरेको एकाघरमा बसे पनि आफ्ना आफ्ना हिस्सा बमोजिम लिने खाने गरेको भन्ने सबूद केही नभएकोले वादी प्रतिवादीहरू खति उपति जोरि एकाघर सगोलमा रहेको भन्ने कुरा प्रष्ट देखिएको छ । त्यसरी रहे बसेकोमा पुनः छुट्टिदा हर हिसाव मिलाई बण्डा गर्नुपर्नेमा ०१२ सालको बण्डापत्र बदर गरिपाउँ भन्ने वादीको दावी नभएको र २०१८ सालको बण्डा पत्रमा पनि अघिको मुलबण्डापत्र कायमराखी भन्ने उल्लेख भएकोले वादीको दावी नभएको २०१२ सालको बण्डापत्र बदर हुने गर्नेतर्फ विचारगर्न नमिल्ने, सो बण्डापत्रमा लेखिएजति सोही बमोजिम चलन गर्नुपर्ने त्यसपछि अर्जेको धन लाएको ऋण अंशबण्डाको १८ नं ले सवै अंशियारलाई भाग लाग्ने र २०१८ सालको बण्डापत्र रजिष्ट्रेशन पास नभएको सदर गर्न नमिल्नेसमेत हुँदा सो ०१२ सालको बण्डापत्रका मिति पछि २०१८ साल आषाढ १७।७ सम्मको ऋण धन जग्गा जमीन घर खेत गैह् वादी प्रतिवादीलाई २ अंश गरी आधा आधा अंश छुट्याइ दिनपर्नेमा केही चीजको मात्र बण्डा पाउने गरी सुरुले २०१८।३।१७।७ तकको सम्पूर्ण जेथा बण्डा गरिदिने गरी अं.अदालतलेसमेत केही गल्ती इन्साफ गरेको ठहर्छ । उक्त २०१२ सालको बण्डापत्रको मितिपछि १८।३।१७।७ सम्मको ऋण धन जग्गा जमीन घर खेत जेथा गैह् २ भाग लगाई बण्डापत्र खडा गरी एक भाग वादीलाई बुझाई वादीबाट दशौंद प्रतिवादीबाट बिशौंद लिनु भनी मिसिल नियमबमोजिम गरी सुरु जि.अ.भोजपुरमा पठाइदिनु भन्ने २०२४।१।१५।६ को डि.बे.को फैसला ।
९. सो उपर चित्त बुझेन दोहर्याई पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा सवै अंशियार छुट्टिएको मानेको २०१२ सालको बण्डापछिको यी वादी प्रतिवादी २ भाइको सगोलको कारोवार देखिंदा सगोलको कारोवारमा दुबै पक्षसँग नखुलेको कुरा खुलाई फाँट लिई हिसाव किताव जाँची ठहरे बमोजिम निर्णय गरिदिनुपर्ने देखियो । २०१२ सालको बण्डाको मिति पछि २०१८।३।१७।७ सम्मको ऋण धनको तायदाती लिई बण्डा गरी दिने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखीआएको २०२४।११।१७।५ को हुकुम प्रमांगी ।
१०. बक्स भइआएका हु.प्र. बमोजिम गर्न निमित्त नियमबमोजिम लगतमा दर्ता गरी मिसिल झिकाइ दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुइ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने माननीय श्री प्र.न्या.ज्युको २०२४।११।१७।५ को आदेश ।
११. यसमा तारिखमा रहेका निवेदक प्रतिवादीको वा. दानबहादुर र वादी डिल्लीध्वज कार्की रोहवरमा रही ०२५ साल भाद्र १ गतेमा पेश भई वादी डिल्लीध्वजतर्फबाट विद्वान अभिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी प्रतिवादीको मुख नमिलेको बिषय वादी प्रतिवादीहरू एकाघर सगोलमा बसी आए नआएको के हो भन्ने कुरा मुख्य विचार गर्नुपर्ने । त्यसतर्फ हेर्दा केही लर लगानी र मधेश बौका चापको जग्गासम्म एकैठाउँमा राखी व्यवहार गर्ने गरेको हो । फेरि अंश जोडिएको सगोलमा बसी आएको होइन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यतिमात्र एकैठाउँमा राखी व्यवहार गर्ने कुराको लिखत सबूद कुनै दिनसकेको देखिन आएन । निज प्रतिवादी मीनबहादुरले कुमारजित जमिसंगको नासो धरौट अन्न भराइपाउँ भन्ने मुद्दामा वादीलाई वारेस राख्दा २०१५।७।१७।१ को वारेसनामामा एकाघरको भाइ भन्ने लेखिएकोमा निज प्रतिवादीले कुनै बिरोध गर्न नसकेको र २०१८।३।१७।७ को बण्डापत्रमा ०१२ सालको बण्डापत्रबाट प्रतिवादीको भागमा परेको सित्रिबोटे खेत खोलो लागी नोक्सानी पर्दा त्यसको सट्टा वादीको बण्डाबाट पाउने उल्लेख भएको सवै अंश मिसाई सगोलमा बसेको नभए त्यस किसिमसँग सट्टाभर्ना दिनपाउने कुरा उठ्न नसक्नेसमेत हुँदा ०१२ सालमा भएपछि पनि वादी प्रतिवादी २ भाइ अंश मिसाई मानु जोडी एकाघर सगोलमा बसी आएको प्रमाणित हुन्छ । यस्तो अंश मिसाई मानु जोडी सँग बसेकोमा अंशबण्डाको १८ नं. बमोजिम पहिले बण्डाबाट आएको समेत जो भएको श्रीसम्पत्ति ऋण धन सवैको बण्डा गरिदिनु पर्ने देखिन आयो २०१८।३।१७।७ को बण्डापत्र ऐनबमोजिम रजिष्ट्रेशन पास नभएको र त्यसमा चित्त बुझेन भन्ने वादीको म्यादभित्रको उजूर दावी भएकोसमेत हुँदा सो बण्डापत्र बदर गर्ने गरेकोसम्म २०२४।१।१५।६ को डिभिजन बेञ्चको मुनासिव छ । अब अंशबण्डा गरी दिनालाई मानु छुट्टिएको मिति कुन कायम हुने हो ? भन्नेतर्फ मानु छुट्टिएको ऐनबमोजिम रितपुर्वक लिखत सबूद नभएकोले प्रस्तुत नालेस परेको २०१८।६।१६।२ को अघिल्लो दिन ऐ.१५ गते कायम हुने र जो भएको चल अचल श्रीसंपत्ति ऋणधन गैह्को ऐनबमोजिम दुवैपक्षबाट तायदाती फाँट लिई २ बण्डा गरी १ बण्डा वादीलाई छुट्याइ दिनुपर्ने समेत ठहर्छ । २०१२ सालको बण्डापत्रको मिति पछि २०१८।३।१७।७ सम्मको मात्र बण्डा गरिदिने गरेको २०२४।१।१५।६ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । उपरोक्त ठहर भएबमोजिम दुवैपक्षबाट तायदाती फाँट लिई कानूनबमोजिम गरी बण्डा छुट्टयाइ दिनु भनी सुरु मिसिल सुरु भोजपुर जिल्ला अदालतमा पठाइदिनु । पुनरावेदक प्रतिवादी मीनबहादुर कार्कीले मुद्दा दोहर्याएमा लाग्ने कोर्टफी राखेको देखिंदा अरु केही गर्नु परेन । नियमबमोजिम रेकर्ड मिसिल बुझाईदिनु ।
इति सम्वत् २०२५ साल भाद्र १२ गते रोज ..शुभम् ।