निर्णय नं. ४५७ – बाली भराई मोही पजनी गरिपाउँ
निर्णय नं. ४५७ ने.का.प. २०२६ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी ०२४ सालको दे.फु.नं. ८० पुनरावेदक :...
निर्णय नं. ४५७ ने.का.प. २०२६
फुल बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री लोकराज जोशी
०२४ सालको दे.फु.नं. ८०
पुनरावेदक : पूर्व ४ नं. थुमसिकतेल लाकुरे बस्ने शम्शेरबहादुर मगर समेत
विरुद्ध
विपक्षी : पूर्व ४ नं. खिकामाछा दलगाँउ बस्ने धर्मप्रसाद पाध्या
मुद्दा : बाली भराई मोही पजनी गरिपाउँ
(१) विशेष अदालत ऐन अनुसार सदस्यता सम्म तोकेकोमा–पुनरावेदन नलाग्ने प्रश्न नउठ्ने–भूमिसम्बन्धी ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने ।
विशेष अदालतको अञ्चलाधीशमा सहायक अञ्चलाधीश वा सहायक अञ्चलाधीश नरहेको ठाउँमा अञ्चलाधीश भएको एक सदस्यीय वि.अ.तोकिएको छ भन्ने भई वि.अ.ऐनबमोजिम विशेष अदालतको सदस्यतामा केही हेरफेर गरिएको छ । भू.सं.ऐनबमोजिम तोकिएको देखिंदैन, तोकिएको भन्ने शब्द प्रयोग भएकोले पुनरावेदन नलाग्ने हो कि भन्ने शंका गर्नालाई विशेष अदालत ऐनबमोजिम सदस्यतासम्म तोकेकोमा पुनरावेदन नलाग्ने भन्ने प्रश्न उठ्न नसक्ने, भू.स.ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट : अभिवक्ता श्री रामगोपाल श्रेष्ठ
फैसला
१. ज्यामिरे पुछार बगर समेत ४ ठाउँको खेत कं.रु.१६१२ मा बाबुले बन्धकी लिई भोगी आउनु भएको वहाँ परलोक भएपछि कं.रु. ५८८। थप गरी जम्मा रु.२२०० मा नैनमान मगरबाट २०१०।१।१०।४ मा राजीनामा पास गरी लिई भोगी आएको ज्यामिरे बगर जग्गामा भिमबहादुरले अधिया बाली नदिएमा झगडा पर्दा बर्ष १ को अधिया बाली मुरी १२ मलाई दिने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट फैसला भएको छ । सो ज्यामिरे बगर भिमबहादुरले छोडे पछि २०१८ सालको बर्षे हिउँदे बाली अधियामा विपक्षी शम्शेरबहादुरलाई कमाउन दिएको सुफत अधिया दिएको २०१९ सालको बाली पाके पछि माग्दा मंसिरमा यो अधिया र मंसिरको एकैबाजी भरुंला भनी भनेकाले गाउँको मानिस अरु जग्गा पनि धेरै रोपनी गरेको छैन भनी धान भर्दा मुरी १६ भएकोले मेरा भागमा आउने मुरी ८ समेत ०१९ साल मंसिरमा लिने गरी ०१९।४।१५ गते दिएको माटो मुरी ।५ को खेत जग्गा नैनमान मगरलाई अधियामा कमाउन दिएकोमा २०१९।८।१४ गते धान दाँइ गराउन गएको मौका ऐ १५ गते शम्शेरबहादुर, तोषबहादुर, इन्द्रमायासमेत नचिनेका १५।१६जना खेताला लिई दाँइ गरी धान मुरी २० भएमा पनि मेरो भागमा मुरी १० र पराल भारी ५० मा मेरा भागको भारी २५ शम्शेर र इन्द्रमायाले लगेछन । जम्मा हिउँद बर्षा नैनमानले रोपनी गरेको अधिया समेत मुरी २३ धान खाएँ, जे गर्नुपर्छ गर दिन्न भन्ने जवाफ दिएको शम्शेरबहादुर, तोषबहादुरले रोपनी गरेको ज्यामिरे मगरबाट बर्षे मेरो भाग श्रावणमा लेगेको मुरी ८ र मंसिरको अधिया मुरी ५ समेत १३ र पराल भारी १२ नैनमानले रोपनी गरेको मेरो भाग धान मुरी १० पराल भारी २५ समेत जम्मा धान मुरी २३ को पराल भारी ३७ समेत दिए धान परालै नदिए रु.१ को पाथी ।१ का दरले रु.३७ समेत जम्मा बिगो ४९७ शम्शेरबहादुर इन्द्रमाया तोषबहादुर समेत पट्टिको समुच्चै हुनाले उक्त मेरा दावी बमोजिमको बाली बिगो पाउने हालको मोल रु.४०००। मोलिने जग्गा हुँदा बिगो विपक्षी समेतबाट दिलाई भराई मोहीयाबाट समेत हटाईपाउँ भन्नेसमेत धर्मप्रसादको फिरादपत्र ।
२. ढोकल राणाको पध्येरे २ ठाउँ गरी माटो मुरी ।१ जम्मै र माटो मुरी ।२ मा आधा ।१ मुरी र बाबु अर्जुन र माहिला बाबु पहलसिं दर्ता ।४ मुरीमा ।१ मुरी जम्मा ।३ मुरी माटाको जग्गा मेरा साहिंला बाबुका छोरा नैनमानबाट राजीनामामा लिई हक भएको भन्ने वादीले दावी लिएको छन् तापनि बाजेबाटै छुट्टी गएको हुनाले माहिला बाबुको अपुतालीमा पनि दावी नपुग्ने हुनाले माहिला बाबु र मेरा बाबुको दर्ता तर्फमा दर्तावालको हक छुटेका लिखत नभई बेहकदार नैनमानले विक्री गर्न र लिन नपाउनेमा लगतमा र ।१।२ मुरी तर्फ एक्लौटी बाबुका नाउँमा र ।४ मुरी तर्फ बाबु र माहिला बाबुका नाउँमा दर्ता छ, लगत हेरी पाउँ । वादीबाट हामीले अधियामा लिने कारण नहुनाले लिएको छैन । दर्ताको हक छुटेको लिखत भोग तिरो गरेको रसिद समेत नहुनाले बीचका मानिसबाट गराएको लिखतबाट वादीको जग्गामा दावी नपुग्ने हुँदा जालसाज खडा गरेको लिखतहरू बदर गराई जग्गा सदर गराई पाउँ भन्नेसमेत शम्शेरबहादुर १ इन्द्रमाया १ तोषबहादुर १ समेतको एउटै प्रतिवादी ।
३. वादी लेख दर्ताको मेरा बाबुका अंश दर्ताको जग्गा बाबु मरी मेरो हक हुन आउँदा वादी लेख बमोजिम रुपैंया खाई राजीनामा गरी दिई वादीले अधिया म समेतलाई लगाई भोग गरेको हो । शमशेर समेतले धान बाली लुटी लगेकाले माकैमा भनेकोमा शम्शेरलाई मात्र फिराद दिनुपर्ने भन्नेसमेत नैनमान थापा मगरको प्रतिउत्तरपत्र ।
४. २००३ सालको भिमबहादुरसंगको मिलापत्र र २०१६ साल चैत ५ गते पुर्वाञ्चल उच्च अदालतको फैसलासमेतबाट वादीको हक भई रैकर जग्गाको २ बर्षसम्मको म्याद भएकोले प्र.को हकको जग्गा भए उसैबखत उजूर गरी बदर गरी लिन सक्नुपर्नेमा आखिर बालीका झगडामा मेरो हकको जग्गा भनी प्र.ले खिचोला उठाई मिलापत्रको आड लिएको देखिएको, सो मिलापत्रलाई मान्यता दिन नमिल्ने । लाकुरे पध्येरे माटो मुरी १ र पध्येरे माटो मुरी १ समेत २ कित्ता मालबासे मुरी ।३ को कित्ता १ समेतको हकमा प्र.शम्शेरबहादुरले कुनै प्रमाण जिकिर नलिएको वादी दावीको जग्गा ७२ सालमा वादीको बाबुले बन्धकमा र १० सालमा राजीनामा पाई भोग गरी आएको देखिएको वादीकै भोग तिरो हकको जग्गाको बाली प्रतिवादी शम्शेरबहादुर, तोषबहादुर, इन्द्रमाया समेतले खिचोला गरी बिगो रु.४९७। जबरजस्ती गरी नदिएकै ठहर्छ भन्नेसमेत विशेष अदालत सगरमाथा अञ्चल शा.खा.नं.३ भोजपुरको २०२३।५।१३।२ को फैसला ।
५. अर्जुनको छोरा म शमशेरबहादुर भएको र झगडा परेको जग्गा अर्जुन दर्ताको भन्ने कुरामा सावितै हुँदा उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत शम्शेरबहादुर, इन्द्रमाया, तोषबहादुर समेतको पुनरावेदन ।
६. पूर्व ४ नं. भोजपुरका सहायक अञ्चलाधीशले विशेष अदालतबाट २०२३।५।१३।२ मा फैसला गर्नुभएको रहेछ । भु.स.ऐन, २०२१ को दफा ५४ को प्रयोजनको निमित्त विशेष अदालत भनी भु.स.नियम ४० मा तोकिएको र सोही अधिकार सौंम्पिएको २०२१।१०।२६ को अतिरिक्तांङ्क २९ (क) को नेपाल राजपत्रबाट देखियो । सुम्पिएको भनी लेखिएकोले शंका गर्न २०२३।१०।२४ को संख्या ४६ मा विशेष अदालत तोकिएको र भु.स.ऐनको दफा ५५ अन्तर्गतको देखिएकोले यो पुनरावेदन दायर हुन सक्तैन । यो रायसँग मा.न्या.राजा इश्वरी जंगबहादुरज्युसँग राय सहमत नहुँदा स.अ.नियमावली, २०२१ को नियम ३३ अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या. हेरम्बराजको, र
७. तोकिएको अदालतमा परेको र त्यस्तो अदालतबाट हेरी कारवाई किनारा गरेको देखिन नआई विशेष अदालत ऐन, २०१३ को दफा २–३ अन्तर्गत खडा भएको स.अञ्चलाधीश कार्यालयबाट विशेष अदालतलाई सुम्पिएको नाताबाट कारबाई किनारा भएको देखिन आएकोले यस्तोमा भू.स.ऐन, २०२१ को दफा ५५ प्रयोग गर्न नसकिने बिषेश अदालत ऐन, २०१३ को दफा ३ अन्तर्गत सुम्पिएको मुद्दामा विशेष अदालतले गरेको निर्णय उपर सोही ऐनको दफा ८ अन्तर्गत स.अ.मा पुनरावेदन लाग्न सक्ने कानूनी व्यवस्था प्रष्ट छ । यसै पुनरावेदनबाट इन्साफ गर्न पर्ने देखिएकोले पुनरावेदन खारेज गर्ने गर्नुभएको मा.न्या. श्री हेरम्बराजज्यूको रायसँग सहमत नहुँदा स.अ. नियमावली, २०२१ को नियम ३३ अनुसार फुल बेञ्चमा पेशगर्नु भन्ने मा.न्या.राजा श्री इश्वरी जंगबहादुर सिंहको २०२५।१।२०।५को राय ।
८. यसमा तारिखमा रहेका पुनरावेदकको वा.चन्द्रिकाप्रसाद मिश्र रोहवरमा रही गत २०२५ साल जेष्ठ २९ गते पेश भएकोमा निजतर्फबाट रहनुभएका विद्वान अभिवक्ता श्री रामगोपाल श्रेष्ठले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिइ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन लाग्ने नलाग्ने के रहेछ भनी निर्णयतर्फ विचार गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५४ मा यो दफा प्रारम्भ हुँदाको मितिसम्म देहायको बिषयमा सर्वोच्च अदालत बाहेक अरु कुनै अदालतमा दायर भई छिन्न बाँकी रहेका जति मुद्दा यो दफा प्रारम्भ भएपछि तोकिएको अदालतमा सर्ने छ र सो अदालतबाट कारवाही र किनारा हुने छ भन्ने लेखिएको र उक्त दफाको तात्पर्यको निमित्त भु.सं.नियम ४० मा विशेष अदालतलाई तोकिएको भु.सं.ऐनको विभिन्न दफामा तोकिएको अदालत भन्ने लेखिएको जतिको हकमा नियम वा सूचनाबाट तोकिएकोमा सोही ऐनको दफा ५५ बमोजिम पुनरावेदन नलाग्ने हुन जाने तर २०२१।१०।२६ मा प्रकाशित राजपत्रमा विशेष अदालत ऐनको अधिकार प्रयोग गरी भू.स.ऐनको दफा ३२,५४, ५८(२) र दफा ५९(२)का मुद्दाहरू सुम्पिएको र पछि २०२२।११।२४ मा प्रकाशित राजपत्रमा नेपाल वि.अ.ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले खण्ड २४ मिति २०२१।१०।२६ मा अतिरिक्ताड्ढ २९ (क) को नेपाल गजेटमा प्रकाशित भू.सु.मन्त्रालयको सूचनाबमोजिम स्थानीय बडाहाकिम वा सो पदको काम गर्ने अञ्चलाधीश एकसदस्य भएको विशेष अदालत गठन भइरहेकोमा सो को सट्टा सहायक अञ्चलाधीश र निज नभएको जिल्लामा सो अञ्चलको अञ्चलाधीश एक सदस्य भएको विशेष अदालत तोकिएको छ भन्ने लेखिएबाट भूमिसम्बन्धी ऐनबमोजिम तोकिएको नभई २०२२।१०।२६ मा गठित विशेष अदालतको अञ्चलाधीशमा सहायक वा सहायक अञ्चलाधीश नरहेको ठाउँमा अञ्चलाधीश भएको एकसदस्यीय वि.अ. तोकिएको छ भन्ने भई वि.अ.ऐनबमोजिम विशेष अदालतको सदस्यतामा केही हेरफेर गरिएको छ । भु.स.ऐनबमोजिम तोकिएको देखिंदैन । तोकिएको भन्ने शब्द प्रयोग भएकोले पुनरावेदन नलाग्ने हो कि भन्ने शंका गर्नलाई विशेष अदालत ऐनबमोजिम सदस्यतासम्म तोकेकोमा पुनरावेदन नलाग्ने भन्ने प्रश्न उठ्न नसक्ने । भु.सं. ऐनबमोजिम तोकिएकोमा मात्र पुनरावेदन नलाग्ने हुनाले पुनरावेदन लाग्ने सुनुवाई हुनुपर्छ भन्ने श्री मा.न्या.इश्वरी जंगबहादुर सिंहजीको रायसँग योबेञ्च सहमत हुन्छ । नियमबमोजिम गरी डिभिजन बेञ्चमा पेशगर्नु । मिसिल बुझाइदिनु ।
इति सम्वत् २०२५ साल आषाढ ८ गते रोज ६ शुभम् ।