April 5, 1968
Created by nepalarchives

निर्णय नं. ४५६ – रोक्का धनमाल हिनामिना

निर्णय नं.  ४५६    ने.का.प. २०२६ फुजलबेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह २०२३ सालको फुल बेञ्च...

निर्णय नं.  ४५६    ने.का.प. २०२६

फुजलबेञ्च

न्यायाधीश श्री नयनबहादुर खत्री क्षेत्री

न्यायाधीश श्री वाशुदेव शर्मा

न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह

२०२३ सालको फुल बेञ्च नं. १४

निवेदक      : तप्पे धनौरा मौजे तौलिहवा बजार बस्ने अयोध्याप्रसाद पाण्डे

विरुद्ध

विपक्षी : ऐ.बस्ने दलबहादुर सिंह क्षेत्री समेत

मुद्दा : रोक्का धनमाल हिनामिना

(१)   कुनै जग्गा प्रमाणहरूले वादीको ठहरिएमा र उक्त जग्गालाई आफ्नो हकभोग दर्ता तिरोको जग्गा भनी प्रतिवादीले भन्न नसकेमासो जग्गा वादीकै ठहरिने ।

            हालको नक्साबाट भने सो न.नं.४ को बाटो बनेको बाहेक वादीको घरको पिछवार बारी समेतको अरु जग्गा नदेखिएको र आफ्नो हक भोग दर्ता तिरोको जग्गामा बाटो बनाएको हुँ भन्न प्रतिवादीले नसकेकोले समेत सो न.नं.४ को बाटो बनाएको जग्गा उक्त २००३ साल आश्विनको तायदाती मुचुल्कामा लेखिएको वादीको घरको पिछवार बारी नै रहेछ भन्ने प्रष्ट भएको छ ।

(प्रकरण नं. १३)

निवेदक वादीतर्फबाट : अभिवक्ता श्री इच्छाहर्ष

प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा

फैसला

      १.     म अयोध्याप्रसादलाई खुन मुद्दा लागी घरमा नभएको बखत पारी प्रतिवादी दलबहादुरले मेरो नं.२९५ को घरको निकाश पैठारको जग्गामा बाटो बनाई कब्जा गरेछ । सो घरको चौकिल्ल छुट्याउन पुरानो श्रेस्ताहरु र खुन मुद्दाको मिसिलसमेत झिकी बुझी नक्शा सरजमिनसमेत गरी दलबहादुरले कब्जा गरेको जग्गा मलाई चलन चलाई सजाय गरिपाउँ भन्ने समेत वादी अयोध्याप्रसादको दावी रहेछ ।

      २.    बजारबाट कोपवा जाने मुल सडकको घरको उत्तर पुगेपछि मुलसडकबाट अमिनीमा जाने एक सडक र वादीको नं.२९५ को घर पूवतर्फबाट मेरो घरमा जाने आउने बैलगाडा ल्याउने र नियामतको घरमा आउने जाने हामीहरुको जाहान बच्चा मूलसडकमा जाने आउने वादीको दर्ता बाहेकको जग्गा एक सडक बाटो मेरो र वादीको घर बने देखि सो बाटो हालसम्म कायम छ । वादी झुठ्ठा हो भन्ने दलबहादुरको प्रतिवादी ।

      ३.    दलबहादुरले कुन साल मितिदेखि जग्गा कब्जा गरेको हो । चलन गर्न नदिए नालिस गरेका बखत ठहरे बमोजिम हुनेछ भनी वादीलाई सुनाई दिने भन्नेसमेत बुटवल जिल्ला अदालतको २०१७।३।२।४ को फैसला ।

      ४.    सोउपर चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा खारेज गरेको जिल्ला अदालतको मिलेको देखिएन । दुबै थरलाई झिकाइ ऐनसवाल बमोजिम निर्णय गरी दिन मिसिल तौलिहवा जिल्ला अदालतमा पठाई दिने भन्ने प.उ.अ. को ०१८१।६।३ को फैसला ।

      ५.    दलबहादुरले मेरो २९५ नं. को घरले चर्चेको निकाश पैठार जग्गा मिची बाटो बनाए भन्ने हकमा वादीको २९५ नं. को घर साविकमा द्र।१ मा हाल नापी हुँदा १द्र। हुन आई साविक भन्दा जग्गा बढी हुन आएकोले वादीको जग्गा मिची बाटो बनाएको नदेखिएकोले अघि देखी प्र.दलबहादुरले त्यही बाटो हिंडिआएको देखिनाले घरको पूर्वतर्फ घर पालीको सुरक्षा निमित्त आफ्नो घर जतिमा वादीले १ हात पेटि लम्बाई बाटो समेत हिड्न चलन गर्न पाउने हुँदा वादीको जग्गा मिची प्र.दलबहादुरले बाटो बनाएको नठहर्ने भन्नेसमेत तौलिहवा जिल्ला अदालतको २०२०।११।२५।१ को फैसला ।

      ६.    सो उपर चित्त बुझेन भन्नेसमेत वादी अयोध्याप्रसादको पुनरावेदन ।

      ७.    नियामत मुसलमान वादी र अयोध्याप्रसाद प्रतिवादी भएको ज्यान खुन मुद्दाको मिसिल सामेल ०३।२।८।३ को लासजाँच मुचुल्कामा निज अयोध्याको तौलिहवा बजार बाटोदेखि पूर्व नियामतको घर उत्तर गडाहादेखि पश्चिम गडाहा बाटोदेखि दक्षिण यति ४ किल्ला भित्रको उत्तर देखि २५ हात पूर्व पश्चिम १८ हातको घर भन्ने लेखिएको ०३।६। बेगतेको तायदाती मुचुल्कामा घर र ऐ.को अगवार पिछवार आगन बारी समेत लेखिएको र नापी खेश्रामा नै ८ हात सडक सो पश्चिम वादीको घरको हद लेखिएको नापी गर्ने ३ अड्डाका हाकिम तहरिर असिष्टेन्ट उपरको उजूर नभएको भन्नेसमेत दलबहादुरले आफ्नो प्र्रतिवादी व्यहोरामा जिकिर लिएको नक्सा नाप समेतबाट उक्त चौहद्धी भित्रै झगडा जनिएको बाटो र वादीको घरको बीचमा अरु जग्गासमेत पर्ने देखिन आएकोले समेत घरको पुर्वतर्फ घर र पालीको सुरक्षा निमित्त आफ्नो घर जतिमा वादीले एक हात पेटी सम्म लगाउन पाउने गरी बाटो कायमै राख्ने तौ.जि.अ. को २०२०।११।२५।१ को फैसलामा ठहर उल्लेख गरेको मुनासिव नदेखिएको समेत हुँदा अ.बं.२०२ नं. बमोजिम छलफलमा प्रतिवादीहरूलाई झिकाइ पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।

      ८.    २९५ नं. को घरको पूर्वपट्टिको मेरो दर्ताको जग्गामा प्र.दलबहादुरले बाटो बनाए मेरो कायम गरिपाउँ भन्ने वादी दावीको हकमा वादीको २९५ नं.को घर साविक द्र।१ धुरमा हाल नापी हुँदा झगडा परेको जग्गासमेत गरी द्र१।। हुन आएको तौ.छोटी भंसारबाट लिएको दर्ता उतारबाट २९५ नं. को नाप अर्द २।२ तुल २।८ देखिएको सो झगडा परेको २९५ नं. को नक्साबाट पूर्व पश्चिम २१ हात उत्तर दक्षिण ३६ हात भनी जनिएकोले दर्ता बमोजिमको जग्गा बाटो बाहेक कायम भइरहेको देखिएकोले सडक बनाइ खिचोला गर्‍यो भन्ने दावी पुग्न सक्दैन भन्नेसमेत डिभिजन बेञ्चको ०२१।९।२।४ को फैसला ।

      ९.    सो उपर चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायिक समितिबाट यस्मा दर्ता उतारको सिर व्यहोरामा २०१५ साल अघिको दर्ता उतार भन्ने लेखिएको प्रतिवादीको प्रमाण खण्डमा ८८ सालको ११ सालको दर्ताको प्रमाण दिएकोले सो २०१५ साल अघिको भन्ने बोलीबाट ११ सालको दर्ता रहेछ भन्ने सिद्ध हुन आएको । वादी अयोध्याप्रसाद फरार र थुनामा रहेको अवस्थाको दर्ता देखिएको वादी अयोध्याप्रसादबाट बिटौली असूल गर्ने सम्बन्धमा भंसारबाट लेखेको पत्रमा साविक कुन्जल तेवारीको नाँउमा अर्द २।७ तुुुुुुुुल २।८ के तिरो रु.। को जग्गा बिगाहा द्र।१ दर्ता भई कुन्जल तेवारी मरेपछि सोहि घर अर्द २/२ तुल २/८ के तिरो रु.। को जग्गा विगाहा १ निज अयोध्याप्रसादको नाउँमा दर्ता भएको छ भन्ने लेखिएकोबाट वादीको घर जग्गा अर्द २/७ र २/८ भएकोलाई घटी गरी दर्ता गरेको रहेछ भन्नेसम्म देखिने अर्द २/२ तुल २/८ को र अर्द २/७ तुल २/८ को पनि तिरो रु.। विगाहा द्र।१ भन्ने लेखिएकोले तिरो माटो यतिकै हो भनी प्रमाणमा लिन नमिल्ने । वादीको घरदेखी पूर्व तर्फ झगडा परेको बाटो त्यसदेखि पूर्व गडाहा भन्ने जनिएको सो बाटो मेरो दर्ता तिरो भित्रको मेरो जग्गा भन्न प्र.ले नसकेको वादीले प्रतिवादीहरूको बाटो काठको गेट लागेको बन्द ढोका भनी लेखेको पश्चिमपट्टि घरमै जोडिएको साविक मुल बाटो देखिएकोले निकाश बन्द हुने अवस्था पनि नदेखिएको । खुन मुद्दामा लासजाँच मुचुल्कामा गडाहादेखि पश्चिम नियामतको घरदेखि उत्तर गडाहार बाटोदेखि पश्चिम बाटोदेखि पूर्व यति ४ किल्ला भित्रको घरमा रहेको लास भन्ने लेखिएको प्र.दलबहादुरले सरजमिनमा सही गरेको तायदती मुचुल्कामा उत्तर दक्षिण ३१।। हात पूर्व पश्चिम १८।। हातको घर त्यसको मुनी ऐ को अगवार पिछवार आगन बारी समेतको जग्गा १ भन्ने लेखिएकोबाट आगन र बारी हुनै पर्ने भन्ने देखिने समेत प्रमाणबाट वादीको जग्गामा प्र.ले बाटो बनाएको देखिन आएकोले वादीलाई हराई गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिंदा दोहर्‍याउन आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको २०२३।३।१०।६ को हुकुम प्रमांगी ।

      १०.    बक्स भइआएका हु.प्र.बमोजिम गर्ना निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय प्र.न्या.ज्यूबाट भएको ०२३।३।१३।२ को आदेश ।

      ११.    यस्मा तारिखमा रहेका दुवै पक्ष रोहवरमा रही २०२४।१२।१६।६ मा पेश भई निवेदक वादीतर्फबाट विद्वान अधिवक्ता श्री इच्छाहर्षले र प्रतिवादी दलबहादुरतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा मेरो २९५ नं. घरको पछाडि निकाश पैठारको जग्गामा प्रतिवादी दलबहादुरले बाटो बनाई कब्जा गर्‍यो भन्ने दावीको कलममा २०१११९२ को नक्साबाट झगडा परेको देखिने न.नं. १ वादीको घर पूर्वपट्टि पिछवार तर्फको प्रतिवादी दलबहादुरको नं. न. ३ को घरनेरबाट उठान भई तौलिहवा बजारबाट कोपवा जाने मुल बाटोमा मिल्न गएको न.नं.४ को बाटो वादीको जग्गामा प्रतिवादीले पछि बनाएको हो, होइन भन्ने कुराको यस बेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।

      १२.   उक्त निर्णयको लागि हेरेमा सो नं.नं.४ को बाटो मेरो र वादीको घर बनेदेखिको मेरो न.नं.३ को घरहरूबाट मानिस आवत जावत गर्ने र गाडाहरू ल्याउने लैजाने गरी आएको मुदती सडक बाटो हो भन्ने प्रतिवादीले जिकिर लिएको, वादी अयोध्याप्रसाद उपर परेको खुन मुद्दामा यो मुद्दाको प्रतिवादी दलबहादुर समेत उस बखत सरजमिनमा रही बसी ०३।२।८।३ मा खडा भएको लासजाँच मुचुल्कामा लास रहेको वादीको घरको ४ किल्ला लेखींदा बाटो देखि पश्चिम भन्ने नलेखीई हालको नक्साबाट सो बाटोदेखि पूर्वपट्टि भएको देखिने, गडहा देखि पश्चिम लेखिएको देखिएको र प्रतिवादी दलबहादुरको न.नं.३ को घर ३ मध्ये एउटा चाहीं तौलिहवा बजारबाट कोपवा जाने मुल बाटो तर्फ नै भएको, घरको पछाडि पट्टिका अरु २ घरबाट सो मुल बाटोमा निक्लने निकाश बाटोको हकमा निज दलबहादुरको मुलबाटो तर्फको घरदेखि उत्तर पट्टि र नियामतको घरदेखि दक्षिण पट्टि बीचमा अर्कै बाटो भइराखेकोलाई झ्याल ढोका हाली बन्द गरी राखेको पनि नक्साबाट देखिन आएको समेत हुँदा सो न.नं.४ को बाटो वादी अयोध्याप्रसादलाई खुन मुद्दा लागी सके पछि मात्र बनाएको रहेछ भन्ने सिद्ध हुन्छ ।

      १३.   अब सो बाटो बनाएको जग्गा वादीको हो होइन भन्नेतर्फ हेरेमा मिसिल सामेल रहेको ८८ सालको दर्ता उतारबाट वादीको नं.२९५ मा अर्द २।२ तुल २।८ को धुर द्र।१ मात्र दर्ता देखिने र सो दर्ताबमोजिमको जग्गा हालको नापीबाट झगडा परेको न.नं.४ को बाटो बाहेक वादीको घर भएको ठाउँमै पुग्न आएको समेत भए पनि पूर्वउत्तरपट्टि गडाहा भइराखेको समेत जग्गाको प्रकृतिबाट पहिलेको नापी दर्ता भन्दा पछि नरबढी पनि हुनसक्ने र, मुख्यतः निज वादी उपर परेको खुन मुद्दामा निज वादीको अंशसर्वस्व रोक्का हुनगै ०३ साल आश्विनमा तायदाती हुँदा माटाको देवाल खपडाको छाना भएको उत्तर दक्षिण ३१।। हात पूर्वपश्चिम १८।। हातको घर ऐ.को अगवार पिछावार आँगन वादी समेतको जग्गा भन्ने लेखिएको र ०३।२।८।३ को लासजाँच मुचुल्कामा पनि लास रहेको वादीको घरको ४ किल्ला लेखिंदा गडाहादेखी पश्चिम भन्ने लेखी राखेको समेतबाट उसबखत पूर्वपट्टि गडाहासम्म वादीको घरको पिछवार बारी समेत भएको देखिन आउँछ । हालको नक्साबाट भने सो न.नं.४ को बाटो बनेको बाहेक वादीको घरको पिछवार बारी समेतको अरु जग्गा नदेखिएको र आफ्नो हक भोग दर्ता तिरोको जग्गामा बाटो बनाएको हुँ भन्ने प्रतिवादीले नसकेकाले समेत सो न.नं.४ को बाटो बनाएको जग्गा उक्त ०३ साल आश्विनको तायदाती मुचुल्कामा लेखिएको वादीको घरको पिछवार बारी नै रहेछ भन्ने प्रष्ट भएकोछ ।

      १४.   तसर्थ उपरोक्त उल्लेख भएबमोजिम प्रमाणहरूबाट सो न.नं.४ को बाटो पहिले देखिकै हो भन्नेसमेत प्रतिवादीको जिकिर पुग्नसक्दैन । वादीको घरको पिछवार बारी समेत निकाश पैठारको जग्गामा निज वादीलाई खुन मुद्दा लागी फरार रहेको बखत मौका पारी प्रतिवादी दलबहादुरले पछि बनाएको ठहर्छ । सो कलममा वादी दावी नपुग्ने ठहराएको ०२१।९।२।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । वादीको दर्ता भन्दा बढी हुन आएको जग्गाको हकमा दर्ता गराउन भंसारमा उजूर दिई कारवाई चली हाल पञ्चायतमा गइरहेको भन्ने वादीको प्रस्तुत मुद्दा दोहर्‍याई पाउँ भन्ने निवेदनपत्रमा उल्लेख भएकोले उसैबाट कानूनबमोजिम हुने नै हुँदा त्यसतर्फ अहिले यसबेञ्चबाट विचार गरिरहनु परेन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी दलबहादुर सिं क्षेत्रीके वादीको जग्गामा बाटो बनाई कब्जा गरे वापत तत्काल प्रचलित जग्गा मिच्नेको २७ नं. ले रु.५। जरीवाना हुन्छ । हाजीर हुँदा असूल गरी का.श्रे.अ.त. मा लगत दिनु…………………..१

निवेदक वादी अयोध्याप्रसाद पाण्डेके निजतर्फबाट रहेका विद्वान अधिवक्ताको सर्वोच्च अदालत नियमावली, २०२१ को नियम २४ बमोजिम पाउने वकिल फि रु.१५ भराइपाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ बर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराईदिनु भनी ऐ………………………२

नियमबमोजिम मिसिल बुझाइ दिनु ऐ……………………….३

 

इति सम्वत् २०२४ साल चैत्र २३ गते रोज ६ शुभम् ।