निर्णय नं. ४५५१ – लेनदेन
निर्णय नं. ४५५१ ने.का.प. २०४९ (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ २०४५ सालको दे.पु.नं.८२८ फैसला...
निर्णय नं. ४५५१ ने.का.प. २०४९ (ख) अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
२०४५ सालको दे.पु.नं.८२८
फैसला भएको मिति: २०४९।१।२२।२
पुनरावेदक/वादी: का.न.पं. वा.नं.३० कमलादी बस्ने नानी महर्जन
विरुद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ.वा.नं.१२ बस्ने बेखानारायण प्रज्ञापतिसमेत
मुद्दा : लेनदेन
(१) कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्त राम भण्डारी
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) (ग) बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. काठमाडौं जिल्ला का.न.प. १२ वडा ध्याचलखु कुमाननी टोलको पूर्व ध्रुव महर्जनको घर पश्चिम गोपाल श्रेष्ठको घर उत्तर गोपाल श्रेष्ठको घर दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको १० हात लम्बाई चौडाई पाताल जग्गा १ पूर्व ध्याचलखु कुमाननी चोक पश्चिम गोपाल श्रेष्ठको घर उत्तर बेखानारायणको भागमा परेको घर, दक्षिण ध्रुव प्रजापतिको घर यति ४ किल्लाभित्रको ३ कवले ४ तल्ले पक्की झिंगटी घर समेत १ मध्ये दक्षिण पट्टिको २ कबल २ नाले ४ तले पक्की झिंगटी घर समेत विपक्षका पिता नारायण प्रजापतिले म बाट रु. २५,०००।– कर्जा लिए बापत २०३४।४।१ गते राजीनामा तमसूक लेखी दिनु भएको, रजिष्ट्रेशन पारीत हुन नपाउँदै नारायण प्रजापति ०३५।७।२३।५ मा परलोक हुनुभएकोले अपुताली खाने विपक्षहरुले उक्त तमसूक लिखत अनुसार सावाँ व्याज नबुझाई बखेडा खडा गरेकोले लेनदेन व्यवहारको २ र २२ का आधारमा लिखत कपाली भएका मितिदेखि ०३५।१०।७ गतेसम्मको व्याज रु. ३७७०।७२ र साँवा रु. २५,०००।– समेत जम्मा रु. २८,७७०।७२, लेनदेन व्यहारको ४ नं.अनुसार अन्तिम फैसला भएको मितिसम्मको व्याज समेत विपक्षीहरुबाट बराबरका दरले दिलाई भराई पाउँ भन्ने समेत फिरादपत्र ।
३. म प्रतिवादी बेखानारायण वादी नानी माया, प्र.नाती समेत एकै बाबु आमाबाट जन्मेका दाजु बैनी दिदी भाइ हो, बाबुले कर्जा लिई घर राजीनामा गरी दिनु भएको छैन । भए सो तमसूकमा मलाई साक्षी राख्नु पर्ने राखेको छैन, घर जग्गा राजीनामा लिएको भए रजिष्ट्रेशनका ४ नं.को म्याद ६ महीनाभित्र साहू आसामी दुवै थर अड्डामा गई लिखत पास गराई लिन सक्नु पर्ने गरी नदिए सो म्याद नाघेका ३५ दिनभित्र रजिष्ट्रेशनको ५ नं.बमोजिम नालेश गरी लिखत पारित गराई लिन सक्नु पर्ने पारीत गराई लिन नसकेकोबाट पनि वादी दावी झुठ्ठा देखिन्छ । विपक्षीले पेश गरेको सक्कल कागज अ.बं. ७८ नं.बमोजिम देख्न सुन्न पाएका बखत सद्दे कीर्ते जालसाजी जे देखिन्छ नामाकरण गर्नेछु भन्ने समेत बेखानारायण प्रजापतिको प्रतिउत्तरपत्र ।
४. प्रतिवादी नाती प्रजापतिको प्रतिउत्तरपत्र नपरेको ।
५. प्रतिवादी मध्येका नाती प्रजापति बाबुलाई कुरी बसेका, निजहरु दिदी भाइ मिली मलाई अंश मार्नको निमित्त जालसाज गरी रु. २५,०००।– को लिखत खडा गरी मरी सकेका मेरा बाबुको ल्याप्चे सहीछाप लगाई लिखत तयार गरेको हुनुपर्छ । २०१५।८।२६।५ को भोगबन्धकी सक्कल तमसूकमा लागेको मेरा बाबुको ल्याप्चे सहीछापसंग उक्त सहिछाप विशेषज्ञद्वारा जाँच गरी जालसाजी लिखत खडा गर्ने वादी र प्रतिवादी नाती प्रजापतिलाई सजायँ गरिपाउँ भन्ने समेत प्रतिवादी बेखनारायण प्रजापतिको बयान ।
६. मेरा बाबुले खुशीराजी मन्जूरी साथ जीउँदै भएको बखत ०३४।४।१।४ मा भिन्न भएका भाइ नातीलाई अन्तरसाक्षी राखी मलाई रु. २५,०००।– को राजीनामा लिखत गरी दिएको हो जालसाजी होइन भन्ने समेत वादी नानीमाया महर्जनको बयान ।
७. मिति ०३४।४।१ को लिखत सद्दे साँचो व्यहोराबाट खडा भएको हो ऋणी मरीसकेपछी ल्याप्चे सहिछाप गराएको हैन, तमसूक लेखी सकेपछि कारणीले ल्याप्चे सहिछाप गरेको हामी अन्तरसाक्षी बसेका हौं भन्ने समेत अन्तरसाक्षी कान्छा महर्जनको बयान ।
८. नानीमायाको घरको चोटामा बसी कागज लेखेको कुरा थाहा छ र प्र.का बाबु नारायण प्रजापतिलाई वादी नानीमायाले रु. २५,०००।– दिई तमसूक गरी दिएको हो भन्ने समेत वादीको साक्षी कान्छा महर्जन, धर्मबहादुर शाहीको बकपत्र ।
९. वादी नानीमायाले रुपैयाँ दिई नारायणबाट तमसूक गरी रुपैयाँ लिनु दिनु गरेको थाहा छैन भन्ने समेत प्रतिवादीका साक्षी शंकर प्रजापति, कान्छा भाइ, दशनारायण महर्जनको बकपत्र ।
१०. विशेषज्ञले छापको जात एकै देखिएको भनी राय दिएको, वादी दावी बमोजिम ०३४।४।१ को लिखतमा प्रतिवादी मध्येका नाती साक्षी बसी भएको लिखत बमोजिम पास हुन नसकी कपाली हुन गएको लिखत बमोजिमको रकम रु. २५,०००।– र त्यसको व्याज समेत प्रतिवादी मध्येका नाती महर्जनले वादी दावी स्वीकार गरी प्रतिउत्तर पेश नगरी बसेको समेतबाट प्रतिवादीहरुबाट भराई दिने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति २०३८।१।१२।६ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत बेखानारायणको वागमती अंचल अदालतमा परेको पुनरावेदनपत्र ।
१२. यसमा २०३४।४।१ को लिखत जालसाजी हो होइन भन्ने तर्फ पनि फैसला हुनु पर्नेमा नभएकोले शुरु जिल्ला अदालतले गरेको फैसला बदर हुन्छ, मुद्दासंग सम्बन्धित सम्पूर्ण विवादका विषयहरुमा फैसला गर्नु भनी काठमाडौं जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत वागमती अंचल अदालतको मिति २०३८।९।८ को फैसला ।
१३. विशेषज्ञको राय बमोजिम कारणीको छाप भोगबन्धकी लिखतसंग भिड्न मिल्न आएको भन्ने एकातर्फ छैन भने अर्को तर्फ वादीले सो भोगबन्धकीको २०१५ सालको लिखतलाई भिडाउन नहुने वा प्रतिवादीका बाबुको हैन भन्न सकेका छैनन् । कागज जाँचको ५, ६, ७, ८ बमोजिम कागज गर्दा कारणीको सहिछाप स्पष्ट आउने गरी गराउन पर्नेमा सो बमोजिम लिखत भएको नदेखिने, लिखतमा दोहरो छाप लागेको कुरामा पनि विशेषज्ञले राय दिएका, कागजको प्रकृति र विशेषज्ञको रायबाट कागज शंकास्पद देखिन आएको हुँदा उक्त लिखत जालसाजी ठहर्छ । जालसाजी लिखतबाट वादीले भरी पाउने ठहर्दैन भन्ने समेत काठमाडौं जिल्ला अदालतको मिति २०४१।२।२२।२ को फैसला ।
१४. का.जि.अ.बाट जालसाजी ठहर गरी भएको फैसलाबाट अन्याय पर्न गएको हुँदा उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत नानीमाया महर्जनको म.क्षे.अ मा परेको पुनरावेदनपत्र ।
१५. शंकास्पद लिखतलाई शुरु का.जि.अ.ले जालसाजी ठहराई लिखतबाट वादी दावी बमोजिम साँवा व्याज भरी पाउने ठहर्दैन भनी गरेको फैसला मिलेकै देखिँदा मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को मिति २०४५।९।१२।२ को फैसला ।
१६. म.क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) (ग) को अवस्था विद्यमान भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत यस अदालतमा परेको नानीमाया महर्जनको निवेदनपत्र ।
१७. म.क्षे.अ.को फैसलामा कीर्ते कागजको तत्कालीन ३ नं.को व्याख्या सम्बन्धी त्रुटि भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०४५।११।१३।६ को आदेश ।
१८. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले २०३४।४।१ मा भएको विवादग्रस्त लिखतमा भएको ल्याप्चे प्रतिवादीले नै पिताजीको भनी स्वीकारी पिताजी मरे पछि लगाएको भन्ने जिकिर छ, लिखतमा साक्षीहरु अलग अलग ठाउँको हुँदा दाता मर्दा एकै ठाउँमा जम्मा हुने प्रश्न नै नउठ्ने, एकासगोलका छोरा साक्षी बसी तयार भएको लिखतलाई जालसाजी भन्न नमिल्ने, साथै २ पक्षको अभावमा जालसाजी हुन नसक्ने समेत हुँदा लिखत जालसाज ठहर्याएको म.क्षे.अ.को फैसला बदर हुनुपर्दछ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादी बेखानारायण प्रजापतिका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले विवादास्पद लिखतमा लागेको ल्याप्चे अस्पष्ट भएको भनी विशेषज्ञको राय भइरहेको, नबुझिने ल्याप्चेबाट भरी भराउ गर्न नमिल्ने, ल्याप्चे प्रष्ट नभएपछि त्यसबाट हक हस्तान्तरण हुन नसक्ने, त्यस्तो लिखतको प्रमाणिकता नहुने हुनाले प्रस्तुत लिखतबाट भरी भराउ हुन सक्ने होइन । नाती महर्जन र बहिनीले मिलेर यो लिखत खडा गरेको हो भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१९. यसमा म.क्षे.अ.बाट भएको निर्णय मिलेको छ छैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
२०. निर्णयतर्फ हेर्दा २०३४।४।१ गते नारायण प्रजापतिले रु. २५,०००।– लिई घर राजीनामा लेखी दिएको लिखत पास नहुँदै ०३५।७।२३ मा नारायण प्रजापति परलोक भई लिखत कपाली हुन गएकोले अपूताली खाने प्रतिवादीहरुबाट साँवा व्याज भराई पाउँ भन्ने फिराद परेकोमा प्रतिवादी बेखानारायण प्रजापतिले उक्त लिखत नै जालसाजीबाट खडा भएकोले कर्जा तिर्नु पर्ने होइन भनी बयान समेत गरेकोबाट लिखत जालसाजी हो वा सद्दे हो भन्ने विवाद उत्पन्न भई उक्त लिखत जालसाज ठहर्ने गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको निर्णयलाई म.क्षे.अ.बाट मनासिब ठहराएको देखिन्छ । मिसिल संलग्न कागजात हेर्दा मिति ०३४।४।१ को विवादास्पद लिखतमा लागेको ल्याप्चे चारजना विशेषज्ञबाट जाँच गराइएको र विवादग्रस्त ल्याप्चे सहीछापहरु दोहोरो लागेको कारणले स्वरुपसम्म पनि छुट्टिन सक्तैन, ल्याप्चे अस्पष्ट भएको भन्ने विशेषज्ञहरुको राय रहेको पाइन्छ । उक्त मिति ०३४।४।१ को विवादित लिखत अस्पष्ट भई कानुन बमोजिमको देखिन आएन । कानुन बमोजिम तयार नभएको लिखतको औचित्य भित्र प्रवेश गरी रहनु न्यायिक दृष्टिबाट मिल्ने नहुँदा वादी दावी नै खारेज हुने ठहर्छ । सो बमोजिम गर्न पर्नेमा नगरी निर्णय गरेको शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको म.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
पू.वे. वादी नानीमाया महर्जन के इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी खारेज हुने ठहरेकोले शुरु जिल्ला अदालबाट गर्ने गरेको जरिवना रु. ७१९२।७१ र क्षेत्रीय अदालतबाट गर्ने गरेको थप जरिवाना रु. ७१९।२७ समेत अब नलाग्ने हुँदा सो को व्यहोरा जनाई लगत कट्टा गर्नु भनी का.जि.अ.मा लगत दिनु …१, इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी नानीमाया महर्जन के शुरु अदालतबाट लागेको जरिवाना र कोर्टफि समेत बापत पुनरावेदन गर्दा राखेको जेथाजमानी समेत फुकुवाको लागि सम्बन्धित कार्यालयमा लेखी पठाउनको लागि का.जि.अ.मा लगत दिनु ….२, माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले यस अदालतमा जरिवाना बापत दाखेल गरेको रु. ७१९।२७ सदर स्याहा भएको देखिँदा कानुन बमोजिम फिर्ता दिन का.जि.अ.मा लगत दिनु …३, मिसिल नियमानुसार गरी बुझाई दिनु …४
उक्त रायमा म सहमत छु ।
न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०४९ साल बैशाख २२ गते रोज २ शुभम् ।