निर्णय नं. ४५५० – लिखत दर्ता बदर
निर्णय नं. ४५५० ने.का.प. २०४९ (ख) अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद...
निर्णय नं. ४५५० ने.का.प. २०४९ (ख) अङ्क ६
पूर्ण इजलास
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४५ सालको दे.पु.इ.नं.९७
फैसला भएको मिति: २०४९।४।२७।३ मा
निवेदक/प्रतिवादी: बारा जिल्ला झिटकैया गा.वि.स. वा.नं.१ झिटकैया बस्ने योगन्द्रप्रसाद यादव
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. कलैया न.पा. वा.नं.२ औधापुर बस्ने सुर्जोदेवी अहिरसमेत
मुद्दा : लिखत दर्ता बदर
(१) साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको दर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न नमिल्ने ।
(प्रकरण १३)
(२) अंशबण्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात बाबुको हकमा प्रयोग हुने हो बाबु बाहेकका घरको मुख्यलाई अंशबण्डाको १९ नं.नलाग्ने । अंशबण्डाको १९ नं.मा पनि बाबु स्वयं नै कारणी भएर व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा अंशबण्डाको १९ नं.नलाग्ने ।
(प्रकरण १३)
(३) लेनदेन व्यवहारको १० नं.अनुसार सगोलमा रहेको अंशीयार साक्षी नराखी निजको मन्जूरीको लिखत समेत नगराई, गराई लिएको रजिष्ट्रेशन पारित भएको भनेको राजीनामा लिखत मध्ये वादीको हक भाग पनि निजको मन्जूरी बेगर लिखत गरी लिएको कानुनसंगत नदेखिने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल
अवलम्बित नजीर: ने.का.प. २०४५ अंक ८, पृष्ठ ७४३)
फैसला
न्या.लक्ष्मणप्रसाद अर्याल
१. श्री ५ महाराजाधिराजका हजूरमा मुद्दा दोहराई पाउँ भनी योगेन्द्रप्रसाद यादवले न्यायिक समिति मार्फत चढाएको निवेदनपत्र र न्यायिक समितिको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारबाट मिति २०४५।५।२ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :–
२. गोपाल भगत र मेरो गर्भबाट जन्मेको जेठो छोरा विपक्ष प्रेम राउत माइला जगदीश र कान्छा राम शंकर समेत ३ छोरा छन् । घरमा परिवार बढेकोले आपसमा २०३७।७।५।१५ मा मानो छुट्टी जग्गाहरु लोग्ने बाबु गोपाल भगत र छोरा दाजु प्रेमको नाममा कायमै राखि आएको थियौं । विपक्ष प्रेमले हाम्रो अंश मार्ने नियतबाट विपक्ष योगेन्द्रप्रसादलाई रु. ३१५६०।– लिई आफ्नो नाउँ दर्ताको झिटकैया गा.पं. वा.नं.१ कि.नं.२०२ को ज.वि. ०–१६–० र कि.नं.२०४ को ज.वि. १–०–० समेत घरसारमा राजीनामा गरी लोग्ने बाबु गोपाल भगतलाई साक्षी राखी २०३७।११।२८ मा रजिष्ट्रेशन पास भएको कुरा गाउँ घरमा सुनी २०३८।१।९ मा नक्कल लिई थाहा पाएकोले प्रेम राउतले हाम्रो हक मेटिने गरी योगेन्द्रप्रसादलाई लिखत गरी दिएको हुनाले लेनदेन व्यवहारको १० नं.को दावी लिई फिराद गर्न आएका छौं । उक्त ४ खण्ड को ३ खण्ड लिखत दर्ता बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
३. विपक्षी मध्येका सुर्जिका छोरा जगदिश र राजशंकरको दाजु प्रेमबहादुर राउतले आफ्नो सगोलका बाबु गोपाल भगत समेतलाई साक्षी राखी २०३२।७।७।२२ मा घर खर्च गर्न रु. ३१५६०।– लिई आफ्नो दर्ता तिरो भोगको झिटकैया गा.पं. वा.नं.१ को कि.नं.२०२ र २०४ को १–१६–० राजीनामा दिनु भएको थियो । उक्त लिखत म्यादमा पारीत गरिनदिएकोमा ले.पा. मुद्दा दर्ता गराएको छु । लिखत पारीत हुन नआओस भन्ने उद्देश्यले विपक्षीहरुले अंश मुद्दामा २०३१।१।१५ गते चुलो मानो छुटिएको भनी उल्लेख गरेको छ । प्रस्तुत फिराद घरसारमा २०३७।७।१५ देखि चुलो माना फोरी जग्गाहरु प्रेम राउत र गोपाल भगतकै नाममा राखी खाई आएका थियौं भन्ने विपक्षका कथन छ । २०३३ सालको अंश मुद्दामा २०३५।५।११ मा वादी दावी झुठा ठहरी फैसला भएबाट वादीहरुले प्रेम राउतबाट अंश पाउनु पर्ने नहुँदा वादीको प्रस्तुत फिराद खारेजभागी छ भन्ने समेत व्यहोराको प्र.योगेन्द्रप्रसादको प्रतिउत्तर जिकिर ।
४. वादी दावी नपुग्ने ठहर्छ भन्ने शुरु वारा जि.अ.को २०३८।८।२३ को फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भनी वादीहरुको नारायणी अंचल अदालतमा परेको पुनरावेदनमा वादी दावी नपुग्ने ठहराएको शुरु जि.अ.को इन्साफ मिलेन बदर गरिदिएको छ, वादी दावी बमोजिम ५ खण्डको ३ खण्ड लिखत दर्ता समेत बदर भई वादीहरुका नाममा दर्ता हुने ठहर्छ भन्ने नारायणी अंचल अदालतको ०३६।९।१६ को फैसला ।
६. ना.अं.अ.को गम्भीर कानुनी त्रुटिपूर्ण फैसला बदर गरी कानुन बमोजिम इन्साफको लागि पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनमा ना.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने म.क्षे.अ.सिंगलबेञ्चको आदेश ।
७. वादी दावी विषय ५ खण्डको ३ खण्ड लिखत दर्ता समेत बदर भई वादीहरुको नाममा दर्ता हुने ठहर्याएको ना.अं.अ.को इन्साफ मिलेको देखिँदा मनासिब ठहर्छ भन्ने म.क्षे.अ.को फैसला ।
८. म.क्षे.अ.को फैसलामा चित्त बुझेन भनी प्रतिवादीले यस अदालत समक्ष पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा यसमा विवादको लिखतमा घरको मुख्य व्यक्ति बाबु गोपाल भगत साक्षी बसेकोले निज मुख्य व्यक्तिले थाहा पाएपछि सबै अंशियारहरुले सोही मितिमा थाहा पाएको मान्नु पर्नेमा घरको मुख्य व्यक्ति निज गोपालभगतले थाहा पाएको भन्ने आधारमा वादीहरुले थाहा पाएको भन्न नमिल्ने भनी वादी दावी बमोजिम ५ खण्डको ३ खण्ड दर्ता बदर हुने ठहर्याएको म.क्षे.अ.को फैसला मुलुकी ऐन लेनदेन व्यवहारको १० नं.को प्रत्यक्ष गम्भीर कानुनी त्रुटि भई न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।
९. ५ खण्डको ३ खण्ड लिखत दर्ता बदर गर्ने ठहराई ना.अं.अ.ले गरेको इन्साफ सदर गरी म.क्षे.अ.ले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको २०४३।११।१९।३ को फैसला ।
१०. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्स भएको छ भनी लेखी आएको प्रमुख सचिवालय राजदरवारको मिति ०४५।५।२ को पत्रमा उल्लेखित मुद्दा दोहराउन जाहेर गरेको न्यायिक समितिको ०४५।३।२० को पर्चामा राजीनामा लिखतमा मुख्य व्यक्ति बाबु गोपाल भगत साक्षी समेत बसेको हुनाले सगोलको धनबाट चल्ने व्यवहार हो भन्ने प्रष्ट छ । मुख्य व्यक्तिको हस्ताक्षर गराई बिक्री गर्न कानुनले प्रतिबन्ध लगाएको देखिंदैन । मुख्य व्यक्तिलाई सम्पूर्ण सम्पत्तिको आधा सम्म आफूखुस गर्न अंशबण्डाको १९(१) नं.ले छुट दिएको, सो सीमा भित्र रही बिक्री गरेको कानुनसंगत देखिँदा बिक्री गरेमध्ये ५ भागको ३ भाग वादीहरुले बदर गर्न पाउने गरी स.अ.संयुक्तइजलासबाट भएको फैसलामा लेनदेन व्यवहारको ८ नं.र अंशबण्डाको १९ नं.को त्रुटि हुँदा मिलेको छैन भन्ने समेत उल्लेख भएको रहेछ ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री लोकभक्त राणाले निवेदक प्रतिवादीलाई गरिदिएको राजीनामा लिखत अदालतको ०३७।५।२२ को फैसला बमोजिम पास भएको । तर वादीहरुले सो फैसला बदर गराउन सकेको छैन । सो फैसला बदर गराई लिखत बदरमा आउन नपाउने जम्मा सम्पत्ति १८ विगहा चानचुन छ । लेनदेन व्यवहारको ८ नं., अंशबण्डाको १९ नं.ले आधासम्म घर व्यवहार चलाउन बिक्री गर्न सक्ने व्यवस्था गरेको छ । मुख्यको मन्जूरीले सगोलको अंशियारले बिक्री गरेको सदर हुने । यो वादी जगदिश र रामशंकर जग्गा बिक्री गर्न २१ वर्ष पुगेको नहुँदा मन्जूरी लिनु पर्ने अवस्था छैन । यिनैहरुले अंशमा नालेश गर्दा ०३१।१।१५ मा मानो छुट्टिएको भनी लेखिएको छ । सो मिति पछिको लिखत हुँदा लेनदेन व्यवहारको १० नं.ले एकासगोल भन्न मिल्दैन । ने.का.प. २०४१ नि.नं.२१८४ पृष्ठ ७७६ अंक ९ र ने.का.प. ०४६ नि.नं.३९७१ पृष्ठ १०६३ अंक १० मा प्रकाशित नजीरबाट समेत लिखत बदर हुन सक्ने अवस्था छैन । तसर्थ संयुक्त इजलासको इन्साफ बदर भई शुरुको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१२. विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले प्रतिवादी प्रेमराउतले बिक्री गरेको जग्गा पैतृक सम्पत्ति हो । सो जग्गा बिक्री गर्दा वादी अंशियारहरुको मन्जूर लिएको छैन । अंश बण्डाको १९ नं.ले घरको मुख्य पति र पितालाई जनाउँछ । पति र पिता बाहेक अरुलाई बिक्री गर्ने अधिकार दिएको छैन । छोरा दाजुले बिक्री व्यवहार गरेको छ । लेनदेन व्यवहारको ८ नं.र अंशबण्डाको १९ नं.आकर्षित हुँदैन । लेनदेन व्यवहारको १० नं.आकर्षित हुन्छ । अंश मुद्दामा अंश पाइसकेकोे भनी दावी नपुग्ने ठहर गरेको छैन । मानु छुट्टिएको लिखत पास छैन । लिखत पासको फैसला लिखतको प्रकृया भएकोले सो फैसला बदर गर्न मन्जूर गर्न पर्दैन । तसर्थ लिखत बदर गर्ने ठहराएको सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो ।
१३. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा इन्साफ तर्फ विचार गर्दा मुद्दा दोहराउन जाहेर गरेको न्यायिक समितिको सिफारिश पर्चा हेरिएमा लेनदेन व्यवहारको ८ नं.ले सगोलको सम्पत्ति मुख्य व्यक्तिको सम्बन्धित लिखतमा हस्ताक्षर गराई बिक्री गर्न कानुनले प्रतिबन्ध लगाएको देखिंदैन । अंशबण्डाको १९(१) नं.ले सम्पूर्ण सम्पत्तिको आधासम्म आफूखुस गर्न छूट दिएकोले सो सीमाभित्र रही बिक्री गरेको कानुनसंगत देखिँदा बिक्री गरे मध्ये पाँच भागको तीन भाग वादीहरुले बदर गर्न पाउने गरी स.अ.संयुक्तइजलासबाट भएको फैसलामा लेनदेन व्यवहारको ८ नं.र अंशबण्डाको १९ नं.को त्रुटि हुँदा मिलेको छैन भन्ने आधार लिएको देखिन्छ । घरको मुख्य व्यक्ति प्रतिवादी गोपालभगत राउत भन्ने कुरामा विवाद देखिन्न । वादीहरुले बदर गरिपाउँ भनी दावी लिएको लिखत हेर्दा प्रतिवादी प्रेम राउतले निवेदक प्र.योगेन्द्रप्रसाद यादवलाई जग्गा राजीनामा गरिदिएको र त्यसमा प्रतिवादी मध्येका गोपाल भगत साक्षीसम्म रहेको पाइन्छ । तर घरको मुख्य व्यक्ति गोपालभगत कारणी बनी आगे भई लिनु दिनु गरी व्यवहार गरेको भन्ने देखिंदैन । साक्षी हुनु र कारणी हुनुमा तात्वीक अन्तर पर्दछ । साक्षीको हैसियत अर्काले गरेको व्यवहारको प्रमाणित गर्छ भने कारणीको हैसियत व्यवहारको कर्ता बन्नु हो । साक्षीको योग्यता र कारणीको योग्यता पनि पृथक पृथक छन् । तसर्थ घरको मुख्य व्यक्ति साक्षी सम्म बसी गरेको व्यवहारलाई लेनदेन व्यवहारको ८ नं.अन्तर्गत कारणीले गरेको मान्न मिलेन । अंश बण्डाको १९ नं.को प्रयोग छोरा वा स्वास्नी हुने अर्थात बाबुको हकमा प्रयोग हुने हो । बाबु बाहेकका घरको मुख्यलाई उक्त अंशबण्डाको १९ नं.लाग्ने भएन । सो अंशबण्डाको १९ नं.मा पनि बाबु स्वयं नै कारणी भएर व्यवहार गरेको हुनु पर्ने प्रस्तुत मुद्दामा त्यस्तो अवस्था विद्यमान नहुँदा उक्त अंश बण्डाको १९ नं.लाग्ने स्थिति रहेन ।
१४. वादीहरुले आफ्नो फिरादमा सगोलमा बस्नु हित्त चित्त नमिली ०३७।७।१५ गतेदेखि चुलो मानो फोडी जग्गाहरु दाजु छोरा प्रेम राउत र लोग्ने पिता गोपाल भगतका नाउँमा राखी आएको विपक्षी प्रेम राउतले हाम्रो अंश मार्ने नियतबाट विपक्षी योगेन्द्रप्रसादबाट रु. ३१५६०।– ली २ कित्ता जग्गा जम्मा ज.वि. १–१६–० राजीनामा गरी लोग्ने बाबु गोपाल भगतलाई समेत साक्षी राखी ०३२।७।२२ मा घरसारमा सुक्री बिक्री राजीनामा गरी सो लेखत ०३७।११।२८ मा रजिष्ट्रेशन पास भएकोले ४ खण्डको ३ खण्ड लेखत दर्ता बदर गरिपाउँ भन्ने दावी ली लेनदेन व्यवहारको १० नं.अन्तर्गत प्रस्तुत फिराद परेको देखिन्छ । निवेदक प्रत्यवादीले प्रतिवाद गर्दा ०३३।१०।३ मा अंशको फिराद गर्न विपक्षीहरु जगदिश र रामशंकरले ०३१।१।१५ गते मानो छुट्टिएको भनी उल्लेख गरेका छन् । सो अंश मुद्दा ०३५।५।११ मा वादी दावी झुठ्ठा ठहरी फैसला भएको हुँदा उजूरी खारेजभागी छ भन्ने समेत जिकिर लिएको पाइन्छ ।
१५. लेनदेन व्यवहारको १० नं.मा अंश नभएका अंशीयारले सगोलको अचल सम्पत्ति बेच बिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफ खुशी गर्न पाउने अरुको मन्जूरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघर संगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मन्जूरीको लिखत गरिदिएको भए मात्र पक्का ठहर्छ भन्ने समेत लेखिएको पाइन्छ । यसबाट वादीहरु एकासगोलमा रहेका अंशियार हो होइन ? भनी हेर्नु पर्ने हुन्छ । सो तर्फ हेर्दा प्रस्तुत मुद्दामा वादीहरुले आफ्नो फिरादमा २०३७।७।१५ मा चुलो मानो छुटेको भनी जग्गा बिक्री गर्दाका अवस्था एकासगोलमा रहेको भन्ने देखाएको छ । प्रमाण निमित्त झिकाई आएको यिनै वादीहरु मध्येको जगदिश र रामशंकर वादी भएको २०३५।५।११।१ मा वादी दावी झुठ्ठा ठहरी बारा जिल्ला अदालतबाट फैसला भएको २०३३ सालको दे.मि.नं.१८५१ को अंश मुद्दाको फिरादमा निज जगदीश र रामशंकर राउतले २०३१।१।१५ मा अलग बसी आएको भनी प्रष्ट लेखिएको पाइन्छ । यसबाट निवेदक प्रतिवादी योगेन्द्रप्रसाद यादवले प्र.प्रेम राउतबाट २०३२।७।२२ मा घरसारमा जग्गा राजीनामा गरिलिंदाको अवस्था वादी मध्येका जगदीश राउत र रामशंकर राउत आफ्ना बाबु तथा दाजुहरु प्र.गोपालभगत र प्रेम राउतसंग एकासगोलमा रहेको भन्ने देखिंदैन । छुट्टी भिन्न बसेको भन्ने देखिन्छ । वादीहरु जगदीश राउत र रामशंकर राउतले दिएको अंश मुद्दाको फिरादबाट मानो छुट्टिएको कुरा स्वीकारेको स्थितिमा निवेदक प्रतिवादी योगेन्द्रप्रसाद यादवलाई प्र.प्रेम राउतले गरिदिएको राजीनामा लिखतमा लेनदेन व्यवहारको तत्कालीन १० नं.ले मानु छुट्टिएका कुरा निज वादीहरु साक्षी राख्न पर्ने र निजहरुको मन्जूरीको लिखत गराउन पर्ने बाध्यता गराएको देखिंदैन । यस सम्बन्धमा देवेन्द्र शम्शेर ज.बरा.विरुद्ध लिला शम्शेर ज.ब.रा.समेत भएको ०४३ सालको दे.फु.नं.७३ को लिखत बदर मुद्दामा छुट्टि भिन्न भइसकेको कुरा लिखित रुपले स्वीकार गरी सकेकोमा अब आएर आफू एकासगोलको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धन लाग्ने । एकपटक स्वीकार गरेको तथ्यलाई अस्वीकार गर्न नपाउने भनी सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४५।५।२८ मा सिद्धान्त प्रतिपादन भई ने.का.प. २०४५ अंक ८ पृष्ठ ७४३ मा प्रकाशित भइराखेको पाइन्छ । उक्त प्रतिपादित सिद्धान्त समेतबाट कानुनले साक्षी राख्न नपर्ने र मन्जूरीको लिखतको बाध्यता नगरेको स्थितिमा निज वादी जगदिश राउत र रामशंकर राउतको दावी अनुसार उक्त राजीनामा लिखत बदर हुन्छ भन्न न्यायको दृष्टिमा मिल्ने देखिन आएन ।
१६. अर्को वादी मध्येकी सूर्जिदेवी अहिर जग्गा बिक्री गर्ने प्र.प्रेमराउत अहिरको आमा र प्र.गोपालभगतको श्रीमती भन्ने कुरामा विवाद देखिन्न । निजहरुसंग वादी छुट्टि भिन्न भएको भन्ने कुराको प्रमाण प्रतिवादीहरुले लेखाउन सकेको छैन । यी निवेदक प्र.योगेन्द्र प्रसादले जग्गा खरीद गर्दा सगोलमा रहेका अंशयार निज वादी सूर्जिदेवी अहिरलाई साक्षी राखी लिखत गरेको वा निजको मन्जूरीको लिखत भएको भन्ने देखिंदैन । लेनदेन व्यवहारको १० नं.अनुसार सगोलमा रहेको अंशियार वादी सूर्जिदेवी अहिर साक्षी नराखी निजको मन्जूरीको लिखत समेत नगराई निवेदक वादी योगेन्द्रप्रसाद यादवले प्र.प्रेमराउतबाट गराई लिएको मिति २०३७।११।२८ मा रजिष्ट्रेशन पारीत भएको भनेको राजीनामा लिखतमध्ये वादी सूर्जिदेवी अहिरको हक भाग पनि निजको मन्जूरी बेगर लिखत गरी लिएको कानुनसंगत देखिएन ।
१७. अतः उपर्युक्त उल्लेख भए अनुसार निवेदक प्रतिवादी योगन्द्रप्रसाद यादवले प्रतिवादी प्रेम राउतबाट गराई लिएको २०३७।११।२८ मा रजिष्ट्रेशन पारीत भएको राजीनामा लिखतमध्ये पाँच खण्डको एक खण्ड लिखत दर्ता बदर भई वादी सूर्जिदेवी अहिरका नाउँमा दर्ता हुने समेत ठहर्छ ।
१८. पाँच खण्डको तीन खण्ड लिखत दर्ता बदर गर्ने ठहराएको ना.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को फैसलालाई सर्वोच्च अदालतको संयुक्तइजलासबाट सदर गरेको मिति २०४३।११।१९ को फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी हुने ठहर्छ अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार ठहरेको पाँच खण्डको एक खण्ड लिखत र दर्ता बदर गरी सो लिखतमा उल्लिखित जम्मा ज.वि. १–१६–० मध्ये ५ खण्डको १ खण्ड जग्गा वादी सूर्जिदेवी अहिरका नाउँमा दर्ता गरिदिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन मिसिल बारा जिल्ला अदालत पठाई दिनु …१, माथि इन्साफ खण्डमा लेखिए अनुसार ठहरेकोले नारायणी अंचल अदालतको मिति ०३९।९।१९ को फैसलाले पाँच खण्डको तीन खण्ड लिखत दर्ता समेत बदर भई जि.अ.बारा झिटकैया गा.पं. वडा नं.१ कि.नं.२०२ को ज.वि. ०–१६–० कि.नं.२०४ को ज.वि. १–०–० समेत जम्मा ज.वि. १–१६–० जग्गा मध्ये पाँच खण्डको तीन खण्ड जग्गा वादीहरुका नाउँमा दर्ता गरिदिन लगत दिएकोमा सो लगत बमोजिम गर्नु पर्दैन । उक्त लगत कट्टा गरिदिनु भनी बारा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…………२, कोर्ट फि लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन …….३, मिसिल नियम बमोजिम बुझाई दिनु ………४
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.रुद्रबहादुर सिंह,
न्या.मोहनप्रसाद शर्मा
इतिसम्वत् २०४९ साल श्रावण २७ गते रोज ३ शुभम् ।