निर्णय नं. ४४६५ – हक कायम निखनाई पाउँ
निर्णय नं. ४४६५ ने.का.प. २०४९ (क) अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर...
निर्णय नं. ४४६५ ने.का.प. २०४९ (क) अङ्क २
पूर्ण इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
सम्वत् २०४६ सालको दे.पु.इ.नं. ८८
फैसला भएको मिति : २०४९।१।२।३ मा
निवेदक/वादी: का.न.पं. वा.नं. ११ बस्ने पूर्णबहादुर खड्गी
विरुद्ध
विपक्षी/वादी: का.न.पा. वा. नं. २२ खिचापोखरी बस्ने न्हुछेंबहादुर खड्गी
मुद्दा : हक कायम निखनाई पाउँ
(१) भरमग्दुर कोशिस गर्दा हाल फेला परेको भन्ने बोली निवेदनमा नलेखिएको कारणबाट मात्र अ.बं. ७ को देहाय ५ उल्लेख गरी दिएको त्यस्तो महत्वपूर्ण प्रमाणलाई त्यसै तिरस्कार गर्न मिल्दैन, न्यायको लागि त्यस्तो प्रमाणहरु ग्राह्य हुन्छन्, अतः प्रतिउत्तरपत्रसाथ पेश नगरेको उक्त प्रमाण लिन मिल्दैन भन्ने निवेदक वादी तर्फका विद्धान अधिवक्ताको बहससंग सहमत हुन नसकिने ।
(प्रकरण नं. १९)
(२) अदालतबाट भएको फैसला र सो फैसला अनुसार रजिष्ट्रेशन पारीत भई राखेको लिखतहरु आफ्नु जानकारीमा आएपछि असर पर्नेले कानुनी उपचारको बाटो खोज्नु पर्छ । अदालतलाई त्यस्तो फैसला एवं त्यस्तो पारीत लिखतहरु सद्दे कीर्तेमा सुनाई रहनु पर्ने वाध्यता छैन । मौकामा नै अदालत समक्ष पेश भएको प्रमाणहरुको लेखाजोखा भई अदालतबाट फैसला भएको अवस्थामा त्यस्तो प्रमाण हाल मात्र निवेदकको जानकारीमा आएको मानी अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने अवस्था पर्दैन ।
(प्रकरण नं. २०)
निवेदक/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या. त्रिलोकप्रताप राणा
१. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजालसको इन्साफ दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।७।२१।२ मा तोक लागी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :—
२. मेरो पूर्खौली हक भोगको काठमाडौं जिल्ला का.न.पं. वडा नं. २२ खिचापोखरी स्थित पूर्व साविक जीतनारायण खड्गी हाल पूर्णचाको घर, पश्चिम कुलबहादुरको कायम रहेको घर उत्तर सडक दक्षिण साझा चोक यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम १ नाले १ कबले ३ तल्ले पक्की झिंगडीको घर र सो को लगापात समेत बाबु देवबहादुरले भीमबहादुरलाई दृष्टिबन्धक दिएकोमा भीमबहादुरले समेत प्रतिवादी न्हुच्छे बहादुरको बाबु जीतबहादुरलाई लखबन्धक लेखी दिई जीतबहादुरको शेषपछि प्रतिवादी न्हुच्छेबहादुरको भोग कायम हुन आएको उक्त घर निखन्न देउभन्दा प्रतिवादी न्हुच्छे बहादुरले थैली बुझी निखन्न दिन नमानी तेरो मेरोको विवाद सृजना गरी दिएको हुनाले मालपोत कार्यालय, काठमाडौंबाट अदालत जानु भनी पर्चा खडा गरी सुनाएको मिति २०३७।८।१ ले मुलुकी ऐन रजिष्ट्रेशनको ३५(२) अन्तर्गत ३५ दिन भित्रै फिराद गर्न आएको छु । तसर्थ आवश्यक परे नक्सा समेत गराई उल्लेखित घरमा मेरा हक कायम गराई थैली बुझाउन लगाई प्रतिवादीहरुबाट निखनाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. मुलुकी ऐन लेनदेन व्यवहारको १४, १६, २३ नं. बमोजिम वादीलाई भोगबन्धकीमा हाम्रो बाबु भीमबहादुर कसाइलाई दिएको उल्लेखित थैली बुझाई निखनी लिन पाउने हक अधिकार सुरक्षित नै भएको हुनाले लेनदेन व्यवहारको २३ नं. बमोजिम वादीलाई निखनाई दिनमा हामीलाई कुनै बाधा अडचन छैन मन्जूर छौं जहाँ सम्म न्हुछेबहादुरको प्रश्न छ निजले निखनाई दिनु पर्ने सम्पत्ति किन निखनाई नदिएको हो सो सम्बन्धमा निजले नै जान्ने हुँदा हाम्रो कुनै सरोकार छैन, भन्ने समेत व्यहोराको रामबहादुर कसाई समेत जना ३ को संयुक्त प्रतिउत्तरपत्र ।
४. मेरा एकलौटी घरको गलत ४ किल्ला देखाई मेरो सम्पत्ति खान खोजेका वादीको कृयाकलापबाट प्रष्ट हुन्छ । विपक्षीको फिराद ज.मि. को १८ नं. को हदम्याद भित्रको नहुँदा खारेज हुनु पर्दछ, वादीका भनाई अनुसार लख बन्धक लिएको भए सो घरको वास्तविक किल्ला कुन हो सो घर कुन ठाउँमा कस्तो अवस्थामा छ भन्नु लेखाउन सक्नु भएको छैन, नापी हुँदा मेरो भोगचलनको घर पारीत बकसपत्र बमोजिम कृष्णमायाको हक भई नापी हुँदा कि.नं. २७६ कायम भई क्षेत्रफल ०–०–३–१ कायम भएको घरलाई फिरादमा गलत ४ किल्ला लेखी झुठ्ठा दावी गर्नु भएको छ । हक कायम तर्फ समेतको दावी भए पछि सो तर्फ मोल यकीन गरी सो को कोर्टफी राख्नु पर्नेमा सो कोर्टफी राखेको नहुँदा कोर्टफी ऐन, २०१७ को दफा ४ को विपरीत विपक्षीको फिराद हुँदा खारेज हुनु पर्दछ, भन्ने समेत व्यहोराको न्हुछेबहादुर खडगीको प्रतिउत्तरपत्र ।
५. लख खानेका हकदार प्रतिवादी न्हुछेबहादुर उपर थैली धरौट राखी कारबाही गर्दै आएको प्रस्तुत मुद्दा उक्त लेनदेन व्यवहारको २९ नं. ले गरेको वाध्यात्मक व्यवस्था विपरीतको देखिएकोले प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०३९।११।४ गतेको फैसला ।
६. काठमाडौं जिल्ला अदालतको गलत खारेजी फैसलालाई बदर गरी निखनाई दिनु पर्ने गरी इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुर खडगीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. पहिलो तहको व्यक्तिहरु निखन्न दिन मन्जूर गरी प्रतिवाद गरेपछि अब दोस्रा व्यक्ति न्हुछेले अन्यथा भन्न पाउने अवस्था नभएकोले शुरुले खारेज गर्ने गरेको इन्साफ गल्ति देखिँदा सो फैसला बदर हुने ठहर्छ । अब जो बुझ्नु पर्ने प्रमाण बुझी इन्साफ गर्नु भनी उपस्थित पक्षलाई तारेख तोकी मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४०।४।२९ गतेको फैसला ।
८. नगर पंचायत मार्फत घरको आकार परिवर्तन गर्दा लागेको खर्च भन्ने आएको हिसाब अनुसार ३०५३०।८२ वादीले प्रतिवादीलाई घर मर्मत र तल्ला थपे बापत दिनु पर्ने घरको सम्बन्धमा दृष्टि बन्धकबाट लख बन्धक गएको निर्विवाद हुँदा वादीले उक्त घर निखनी लिन र हक कायम गर्न पाउने समेत ठर्हछ भन्ने व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।२।२९।२ को फैसला ।
९. काठमाडौं जिल्ला अदालतको इन्साफ नमिलेको हुँदा बदर गरी मेरो प्रतिउत्तर जिकिर अनुसार निखन्न दिनु नपर्ने ठहर्याई पाउँ भन्ने समेत व्यहोराको न्हुछे बहादुरको वागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१०. प्रतिवादीले हुलाकद्वारा पठाएको मिति २०४१।७।२ को निवेदन साथ प्राप्त भएको प्रमाणहरु अ.बं. ७७ नं. बमोजिमको नदेखिँदा लखबन्धकीको किल्ला पनि वादी दावा बमोजिम भिडन आएको समेत देखिँदा शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अञ्चल अदालतको मिति २०४१।१०।८ गतेको फैसला ।
११. जानाजान प्रत्यक्ष खास प्रमाण छाडी इन्साफ तलमाथि पारी बुझ्नु पर्ने प्रमाणहरुलाई बुझ्न नहुने भनी गरिएको वागमती अञ्चल अदालतको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको न्हुछे बहादुरको निवेदनमा वादीले दावी गर्दा उल्लेख गरेको चार किल्लाले पूर्व पश्चिम १२ फिट ९ इन्च उत्तर दक्षिण २० फिट ९ इन्चको घर पक्रिने भन्ने प्रतिवादी तर्फको जिकिर रहेको र उक्त ४ किल्लाको घर निखनी लिन पाउने गरी निर्णय भएको देखिदा दृष्टि बन्धकीमा गएको भन्दा बढी घरको निर्णय हुन गएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ, भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४२।८।६ को आदेश ।
१२. बन्धकीको घर जग्गामा घर बनाए भन्दैमा निखन्न नपाउने भन्न कानुनसंगत नहुँदा बामगती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४४।५।१७।४ को फैसला ।
१३. मैले २००६ र २००७ सालको फैसलाले जिती पाएको फैसलामा समेत ३ हात ७ अंगुल बाहेक गरी भन्ने उल्लेख भएको र विपक्षीको लिखत पनि ३ हात ७ अंगुलको मात्र भएपछि मैले खरिद गरी फैसलाबाट समेत हक प्राप्त गरेको निर्विवाद प्रमाणित भएपछि त्यसरी हक प्राप्त गरेको घर जग्गा समेत विपक्षीको ठहर हुने गरेको फैसला बदरभागी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा वादीको दावीमा १ नाले १ कवले ३ तल्ले घर भन्ने देखिन्छ । यस्तो स्थितिमा विवादित २ नाले ३ कवले ५ तल्ले २ मोहडा भएको घर वादीले निखनी लिन र हक कायम हुने समेत ठहराई म.क्षे.अ. ले गरेको फैसलामा अ.बं. १८४(क), १८५ तथा प्रमाण ऐनको दफा ५४ को समेत त्रुटि देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४४।७।२७ गतेको आदेश ।
१४. विवादको जग्गा कूलबहादुरबाट मिति २००५।७।११ मा राजीनामाबाट लिएको भन्ने प्रतिवादीको जिकिरको सम्बन्धमा उक्त फार्छे पत्र हेर्दा दुई नाले २ कवले ४ तले घरमध्ये दक्षिण नालमा छिडी देखि बुइगल सम्म बीचको ३ हात ७ अंगुल बाहेक भन्ने उल्लेख भएको देखिन्छ । सो लिखतबाट विवादको सम्पूर्ण घर जग्गा मिति २००५।७।११ गतेको फार्छेपत्रबाट प्रतिवादीको हक कायम हुन आएको नदेखिई दक्षिण नालमा छिडी देखि बुइगल सम्म बीचको ३ हात ७ अंगुल बाहेकको अन्य घर जग्गामा मात्र मिति २००५।७।११ गतेको फार्छेपत्रबाट प्रतिवादीको हक कायम भएको देखिन्छ । प्रतिवादीको बाबु जीतबहादुरले मिति २००५।७।२६ मा सोही उक्त सडक मोहडाको १ नाले ३ हात ७ अंगुल १ कवले ३ तल्ले घर सो घरले चर्चेको लगापात समेत सोही ४ किल्ला हाली लखबन्धकी सारी लिएको भन्ने देखिएबाट मिति २००५।७।११ गतेको फार्छेपत्रमा बाहेक भएको ३ हात ७ अंगुल जग्गा घर नै मिति २००५।७।२६ मा लखसारी लिएको देखिन आउनुको साथै आफूले मिति २००५।७।११ मा राजीनामाबाट हक भएको भन्नेले पुनः मिति २००५।७।२६ मा सोही किल्ला राखी लखसारी लिएको बारे प्रतिवादसम्म पनि गर्न सकेको पाइएन । यस प्रकार मिति २००५।७।११ र मिति २००५।७।२६ गतेको लिखत समेतका प्रमाणहरुबाट विवादको घर जग्गा मध्ये ३ हात ७ अंगुल घर जग्गा प्रतिवादीको बाबुले लखसारी लिएको देखिँदा सो ३ हात ७ अंगुल घर जग्गामा वादीको हक कायम भई निखनी लिन पाउने समेत ठहर्छ । ३ हात ७ अंगुल घर जग्गा निखन्न पाउनेमा सो उल्लेख नगरेकोसम्म म.क्षे.अ. को फैसला मिलेन । साविक बन्धकीको घर लिग लगापातमा घरको आकृति परिवर्तन गरी तल्ला थपी बनाएको नक्सापास इष्टमेटबाट सो बनाए सम्मको खर्च यकीन गरी वादीले निखनी लिन पाउने उक्त ३ हात ७ अंगुलको हुन आउने रकम वादीले प्रतिवादीलाई बुझाई निखनी लिन पाउने ठहर्छ । वादीको निखनी लिन पाउने हक कायम हुने ठहराएको सम्म क्षेत्रीय अदालतको इन्साफ मनासिब छ । वादीको लिखत बमोजिम ३ हात ७ अंगुल सम्म वादीले निखन्न पाउनेमा अन्य व्यक्तिबाट फार्छेपत्र गरी लिएको घर समेत निखन्न पाउने ठहराएको म.क्षे.अ. को फैसला मिलेको नदेखिँदा केही उल्टी हुन्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।७।१७।४ को फैसला रहेछ ।
१५. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ दोहराई पाउँ भनी चढाएको बिन्तिपत्रमा यसमा व्यहोरा साँचो भए पूर्ण इजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।७।२१।२ मा तोक लागी आएको रहेछ ।
१६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले मिति १९९६।१२।३ मा भीमबहादुरलाई वादीका बाबु देवबहादुरले रु. १७३।– मा उत्तर मोहडा पूर्व पश्चिम लं. को १ नाले १ कवले तीन तल्ला लम्वाई हात ३, अंगुल ७, को घर र घरले चर्चेको लगापात समेत दृष्टिबन्धक दिएको, भीमबहादुरले प्रतिवादीका बाबु जीतबहादुरलाई मिति २००५।७।२६ गते लखबन्धक दिएको हो । वादी पूर्ण बहादुरले निखन्न जाँदा विपक्षीले निजको होइन भनेको छ । विपक्षीले आफ्नो पत्नी कृष्णमायालाई २०३३ सालमा बकसपत्र दिनु भयो । त्यसमा जालसाजीमा उजूर परी सर्वोच्च अदालत लगायतबाट जालसाजी ठहर भई राखेको छ । विपक्षीले प्रतिउत्तर दिंदा सो घर वादीको होइन भन्छ । प्रतिउत्तरमा लिखत प्रमाण कुनै दिन सकेको छैन । वादीको मिति २००५।७।११ गतेको लिखतलाई प्रमाणमा लिन मिल्दैन, लिने हो भने अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाउन पर्छ । तर सुनाउने प्रकृया पनि भएन, लख बन्धकी लिंदा मिति २००५।७।२१ गतेको खरिदी व्यहोरा देखाउन पर्ने देखाएको छैन । बन्धकीको ४ किल्लाभित्र २०२९ सालमा नक्सापास गरी लगापातमा समेत घर बनाएको छ । हाल घर १२ फुट ९ इन्च चौडा उत्तर दक्षिण २० फिट लम्बा छ । लेनदेन व्यवहारको २४ नं. ले बनाएको घरको खर्च प्रतिवादीले पाउँछ । तसर्थ लिखतको ४ किल्ला भित्रको सबै घर वादीले निखन्न पाउँनु पर्दछ । सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छैन भन्ने बहस प्रस्तुत गर्नु भयो ।
१७. विपक्ष प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता श्री शम्भु थापाले पूर्णबहादुरबाट कुलहादुरले १९९६।८।२८ मा घर फार्छे लिएकोमा वादी दावीको ४ किल्ला उल्लेख छ । त्यसमा देवबहादुरको भाग दक्षिण नालमा ३ हात ७ अंगुल बाहेक भन्ने उल्लेख छ । सोही घर कुलबहादुरबाट प्रतिवादीका बाबु जीतबहादुरले मिति २००५।७।११ मा दक्षिण नालमा ३ हात ७ अंगुल बाहेक गरी अरु जम्मै घर फार्छे लिएको हो । सो फार्छे लिएको घरमा घरबाट उठाई पाउँ भन्ने मुद्दा पर्दा वादीका बाबु देवबहादुर समेत बुझिएको छ । सो मुद्दा मिति २००६।८।१५ मा सदर जंगी कोत बालीबाट र त्यस उपर यिनै वादीका बाबु देवबहादुर समेतको अपिल परेकोमा सोही कोत वालीको इन्साफ सदर भई अपिल पहिलाबाट मिति २००७।३।१५ मा फैसला भई प्रतिवादीका बाबुले घर चलन पाएको छ । अपिलको फैसला मालपोत कार्यालयमा पेश छ । सो फैसला वादीले बदर गराउन जान सकेको छैन । अ.बं. ७८ नं. बमोजिम सुनाउन पर्ने प्रश्न आउँदैन । नक्शा पास गरी तल्ला थपी घर बनाएको छ । बन्धकी घर दक्षिण नालको ३ हात ७ अंगुल मात्र हो अदालतमा मुद्दा परी फैसला समेत भई वैधता प्राप्त गरेको लिखत प्रमाणहरु हुन । ने.का.प. ०३५ पृष्ठ १११ नि.नं. ११५१ मा अदालतबाट पाएको फैसलालाई प्रमाण लिई निर्णय गर्नु पर्ने नजीर स्थापित छ । उक्त प्रमाणहरु समेतबाट सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफमा कुनै त्रुटि छैन सदर हुनु पर्दछ, भन्ने बहस गर्नु भयो ।
१८. यसमा आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा विपक्षी प्रतिवादीले मिति २००५।७।११ गतेको रजिष्ट्रेशन पारीत लिखत प्रमाण स्वरुप पेश गरेकोमा सो लिखत प्रतिउत्तरसाथ पेश नगरेकोले अ.बं. ७७ नं. बमोजिम प्रमाणमा लिन नमिल्ने र अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने साथै वादीको बाबु देवबहादुरले भीमबहादुरलाई मिति १९९६।१२।३ गते दृष्टि बन्धक दिंदा ४ किल्ला राखी ३ हात ७ अंगुलको घर र लिग लगापात समेत दृष्टि बन्धक दिएको र सोही घर लिग लगापात समेत भीमबहादुरबाट प्रतिवादीका बाबु जीतबहादुरले लख बन्धक लिएकोले उक्त ४ किल्ला भित्रको सम्पूर्ण घर प्रतिवादीले पछि बनाएको भए सो को खर्च समेत दिई मेरो पक्ष वादीले निखन्न पाउनु पर्नेमा सम्पूर्ण घर नदिलाएको सर्वोच्च अदालत संयुक्तइजलासको फैसला मिलेको छैन भनी निवेदक वादी तर्फका विद्वान अधिवक्ताले आफ्नो बहसमा मूल रुपमा जिकिर लिनु भएको पाइन्छ । विपक्षी प्रतिवादीले उक्त लिखतहरु प्रतिउत्तर साथ पेश गरेको देखिन्न । तर यस सम्बन्धमा के कस्तो कानुनी प्रावधान रहेछ भनी अ.बं. ७७ नं. हेर्दा :–
७७ नं.।। ।। लिखतको प्रकृतिबाट आफूसंग रहनु पर्ने वा आफूले प्राप्त गर्न सक्ने लिखत प्रमाणको सक्कल र त्यसको एक प्रति नक्कल वादीले उजुरीकासाथ र प्रतिवादीले प्रतिउत्तरका साथ वा बयान गर्दा पेश गर्नु पर्छ । सो बमोजिम उल्लेख वा पेश नगरेको सबूद प्रमाण पछि बुझिने वा लाग्ने छैन, तर देहायका अवस्थामा देहाय बमोजिम हुन्छ भन्ने लेखिएको पाइन्छ ।
श्री ५ को सरकार वादी हुने र हुलदड्डा कुटपीट मुद्दामा फिरादपत्र वा प्रतिउत्तरपत्रमा लेखिए देखि बाहेकका लिखत प्रमाण वा साक्षी वा सरजमीनका मानिस पनि बुझ्नु पर्ने देखिएमा अड्डाले झिकाई बुझ्नु हुन्छ……१
अदालतमा बोकी ल्याउन नसकिने लिखतका हकमा माथि लेखिए बमोजिम लिखत दाखिल गर्दा सो लिखतको नक्कल मात्र दाखिल गरे पनि हुन्छ ……….२
यसै महलको ७८ नं. मा लेखिएको कुरामा सोही बमोजिम हुन्छ …………३
यसै महलका ८३ नं. बमोजिम दायर भएका मुद्दा कुनै मनासिब कारण देखाई झगडियाले कुनै लिखत प्रमाण पेश गर्न तारिख तोकी पाउँ भनी निवेदन गरेमा अड्डाले सो लिखत प्रमाण पेश गर्न बढीमा पैंतीस दिनसम्मको अर्को तारीख तोकी दिन सक्ने छ ……………….४
कुनै नयाँ र महत्वपूर्ण लिखत प्रमाण फिरादपत्र वा प्रतिउत्तरपत्र दिंदाका बखत आफूले भरमग्दूर कोशिस गर्दा पनि थाहा नपाएको वा प्राप्त गर्न नसकेकोले सो प्रमाणपत्र पेश गर्न अनुमति पाउँ भनी झगडियाले निवेदन दिएमा व्यहोरा मनासिब देखिए अड्डाले सो कुराको पर्चा खडा गरी सो प्रमाण बुझ्न हुन्छ….५
१९. विपक्षी प्रतिवादीले यिनै वादीका बाबु देवबहादुर खडगीको अपील परेको यिनै प्रतिवादीको बाबु जीतबहादुर कसाई विपक्षी भएको घरबाट उठाई पाउँ भन्ने मुद्दामा अपिल पहिलाबाट मिति २००७।३।१५ गतेमा फैसला भएको नक्कल अ.बं. ७७ नं. को देहाय ५ बमोजिम प्रमाण लगाई पाउँ भनी २०३५ साल फागुनमा निवेदन साथ मालपोत कार्यालय काठमाडौंमा र निजै विपक्षी प्रतिवादीले मिति २००५।७।११ मा घर फार्छे गरी लिएको लिखत, १९९६ सालको फार्छे लिखत, सदर जंगी कोतबालीबाट भएको फैसला र चलन पूर्जी समेत अ.बं. ७७ नं.को देहाय ५ बमोजिम प्रमाण लगाई पाउँ भनी तत्काल वागमती अञ्चल अदालतमा मिति २०४१।७।२ मा निवेदनसाथ पेश गरेको देखिन्छ । सो लिखत फैसला समेतको प्रमाणहरु हेर्दा विवादको घर मध्येकै लिखत र सो लिखतको आधारमा मुद्दा परी अदालतहरुबाट फैसला भई राखेको महत्वपूर्ण प्रमाणहरु देखिन्छन् उक्त प्रमाणहरु मध्ये मिति २००७।३।१५ मा अपिल पहिलाबाट फैसला भएको सो फैसला प्रमाण लगाई पाउँ भनी विपक्षी प्रतिवादीले मालपोत कार्यालय, काठमाडौंमा नै र अरु प्रमाणहरु वागमती अञ्चल अदालतमा अ.बं. ७७ नं.को देहाय ५ बमोजिम प्रमाण लगाई पाउँ भनी निवेदन समेत दिएको पाइन्छ । प्रस्तुत मुद्दा मालपोत कार्यालयमा उठेको जरियाबाट अदालतमा पर्न आएको र मौकामा नै विपक्षी प्रतिवादीले मालपोत कार्यालयमा प्रमाण लगाई पाउँ भनी निवेदन दिए अनुसार मालपोत कार्यालयको निर्णयमा समेत सो प्रमाणको फैसला उल्लेख गरेको पाइन्छ । विपक्षी प्रतिवादीले आफ्नो प्रतिउत्तरपत्र साथ सो प्रमाण अदालतमा नदिए पनि मौकैमा मालपोत कार्यालयमा दिएको र पछि वागमती अञ्चल अदालतमा समेत अ.बं. ७७ नं. देहाय ५ बमोजिम प्रमाण लगाई पाउँ भनी निवेदन दिएकै छ । तर भरमग्दूर कोशिस गर्दा हाल फेला परेको भन्ने बोली उक्त निवेदनमा नलेखिएको कारणबाट मात्र अ.बं. ७७ नं. को देहाय ५ उल्लेख गरी दिएको त्यस्तो महत्वपूर्ण प्रमाणलाई त्यसै तिरस्कार गर्न मिल्दैन । न्यायको लागि त्यस्तो प्रमाणहरु ग्राहय हुन्छन् । अतः प्रतिउत्तरपत्रसाथ पेश नगरेको उक्त प्रमाण लिन मिल्दैन भन्ने निवेदक वादी तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन ।
२०. अब उक्त मिति २००५।७।११ गतेको घर फार्छे लिखत वादीलाई अ.बं. ७८ नं. अनुसार सुनाउन पर्ने हो होइन भनी हेर्दा सो फार्छे लिखतमा उल्लेख भएको घर जग्गा अघि कुलबहादुरले १९९६ साल मार्ग २८ गते खरिद गरेको सो लिखत पास नगरी दिंदा लिखत पास गरी पाउँ भनी नालेश परी रा.का. देवानीको मिति १९९७।७।२८।४ को फैसलाले पास हुने ठहरी मिति १९९९।१२।२७ गते लिखत पारीत भएको भन्ने देखिन्छ । सोही लिखत बमोजिमको घर जग्गा कुलबहादुरबाट प्रतिवादीका बाबु जीतबहादुरले मिति २००५।७।११ गतेमा फार्छे राजीनामा पास गरी लिएको देखिन्छ । सो लिखतको आधारमा घरबाट उठाई पाउँ भनी प्रतिवादीका बाबु जीतबहादुरले जीतबहादुर समेत उपर दिएको मुद्दामा यिनै निवेदक वादीका बाबु देवबहादुर समेत बुझी सो फार्छे राजीनामा बमोजिमको घरबाट उठाई पाउने गरी सदर जंगी कोतवालीबाट मिति २००६।८।१५ गते फैसला भएको र सो फैसला उपर यिनै निवेदक वादीका बाबु देवबहादुर समेतको अपिल परेकोमा अपिल पहिला फाँटबाट मिति २००७।३।१५ गते सदरजंगी कोतबालीको इन्साफ सदर भई फैसला भएको पेश गरेको फैसलाको नक्कलको फोटोकपी नक्कलबाट देखिन्छ । सो फैसला लिखतबाट निवेदक वादीको हक हितमा असर परेको भए उसै बखत अ.बं. ८६ नं. बमोजिम उजूर गरी बदर गराउनु पर्दथ्यो । अदालतबाट भएको फैसला र सो फैसला अनुसार रजिष्ट्रेशन पारीत भई राखेको लिखतहरु आफ्नो जानकारीमा आएपछि असर पर्नेले कानुनी उपचारको बाटो खोज्नु पर्छ । अदालतलाई त्यस्तो फैसला एवं त्यस्तो पारीत लिखतहरु सद्दे कीर्तेमा सुनाई रहनु पर्ने बाध्यता छैन । मौकामा नै अदालत समक्ष पेश भएको प्रमाणहरुको लेखाजोखा भई अदालतबाट फैसला भएको अवस्थामा त्यस्तो प्रमाण हाल मात्र निवेदकको जानकारीमा आएको मानी अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने अवस्था पर्दैन । उक्त लिखत भएको कुरा निवेदकको बाबुलाई उस बखत थाहा भएकोमा विवाद देखिन्न । अतः त्यस्तो लिखतलाई अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने भन्ने निवेदक वादी तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन ।
२१. वादीका बाबु देवबहादुरले भिमबहादुरलाई मिति १९९६।१२।३ मा दृष्टिबन्धक दिंदा ४ किल्ला राखी ३ हात ७ अंगुल घर लिग लगापात दृष्टिबन्धक दिएको र सोही घर लिग लगापात समेत भीमबहादुरबाट प्रतिवादीका बाबु जीत बहादुरले लखबन्धक लिएकोले उक्त ४ किल्ला भित्रको सम्पूर्ण घर प्रतिवादीले पछि बनाएको भए सो को खर्च समेत दिई मेरो पक्ष वादीले निखन्न पाउनु पर्नेमा सम्पूर्ण घर नदिलाएको संयुक्तइजलासको इन्साफ मिलेको छैन, भन्ने विद्वान अधिवक्ताको बहस जिकिरका सम्बन्धमा हेर्दा देवबहादुरबाट भीमबहादुरले दृष्टिबन्धक लिई राखेको घर निजले मिति २००५।७।२६ गतेमा रजिष्ट्रेशन पास गरी प्रतिवादीका बाबु जीतबहादुरलाई लख बन्धक दिएको लिखतमा पूर्व जीतनारायण कसाईको घर, पश्चिम नारानचा कसाईको घर, उत्तर सडक, दक्षिण साझा चोक भन्ने ४ किल्ला उल्लेख गरी उत्तर मोहडा, पूर्व पश्चिम लङको १ नाले ३ हात ७ अंगुलको २ तल्ले पक्कि झिंगटी घर र लगापात समेत भन्ने उल्लेख भइराखेको देखिन्छ । तर सो ३ हात ७ अंगुल घर कुन तर्फको हो भन्ने कुरा बन्धकी लिखतबाट खुलेको देखिन्न । विपक्ष प्रतिवादी न्हुछेबहादुरले पेश गरेको प्रमाणका लिखत फैसलाहरु हेर्दा कुलबहादुर कसाईबाट प्रतिवादीका बाबु जीतबहादुर कसाईले मिति २००५।७।११ गते फार्छे पास गरी लिएको लिखत पूर्व जीतनारायण कसाईको घर, पश्चिम बेखा कसाईको घर, उत्तर मूल सडक, दक्षिण साँझा चोक किल्ला हाली सो किल्ला भित्रको उत्तर मोहडा पश्चिम लङको २ नाले २।। कवले ४ तल्ले पक्की झिंगटी घर मध्ये दक्षिण नालमा छिडीदेखि बुईगलसम्म बीचको ३ हात ७ अंगुल बाहेक गरी मैले रजिष्ट्रेशन अड्डा मार्फत मिति १९९९।१२।२७।६ मा मोरु २८५।१४ मा ठूलो कान्छा पूर्णबहादुर कसाईसंग फार्छे गरी लिई भोग गरी आएको उत्तर नाल जम्मै दक्षिण नालमा सो बीचको ३ हात ७ अंगुल कटाई बाँकी जम्मै र त्यसको लगापात समेत फार्छे पास गरी लिएको भन्ने देखिन्छ । जीतबहादुरलाई घर फार्छे गरी दिने कुलबहादुरले ठुलो कान्छा भन्ने पूर्णबहादुर कसाईबाट मिति १९९८।८।२८ मा फार्छे गरी लिई अदालतको फैसलाबाट मिति १९९९।१२।२७। मा पास भएको लिखतमा देवबहादुर कसाईको दक्षिण पट्टि भागको ३ हात ७ अंगुलको घर भाग १ कट्टा गरी बाँकी जम्मै घर फार्छे गरी दिएको भन्ने व्यहोरा समेत उल्लेख भएको देखिन्छ । सो फार्छे लिखतको घर जीतबहादुरले चलन गर्न दिएन भन्ने यिनै प्रतिवादीका बाबु जीत बहादुर खड्गीको घरबाट उठाई पाउँ भन्ने उजूर पर्दा यिनै वादीका बाबु देवबहादुर समेत बुझी बयान भई फार्छे बिक्री भएको घरमा प्रतिवादी मध्येका जीतबहादुर बसी उठी नगएको ठहर्छ भनी दक्षिण नालमा बीचको ३ हात ७ अंगुल कटाई बाँकी जम्मै र लगापात समेत लिखत बमोजिमको घर चलन चलाई दिने भनी तपसीलमा उल्लेख भई मिति २००६।८।१५।४ मा सदर जंगी कोतबालीबाट फैसला भएको पाइन्छ । सो फैसला उपर यिनै वादीका बाबु देवबहादुर खड्गी समेतको अपिल परेकोमा सो सदर जंगी कोतबालीको इन्साफ सदर भई अपिल पहिला फाँटबाट मिति २००७।३।१५ मा फैसला भएको र फैसला बमोजिम सदर जंगी कोतबाली अमिनी तहसिलबाट २००७ साल माघमा चलन चलाई दिएको भन्ने पेश गरेको प्रमाण कागजहरुबाट देखिन्छ । सो लिखत फैसलाबाट वादीको हकहितमा असर परेको भए उजूर गरी बदर गराउन सक्नु पर्ने थियो । तर वादी तर्फबाट सो लिखत फैसलाहरु बदर गराउन सकेको छैन । स्वयं वादीकै बाबु समेत सम्मिलित भएको मुद्दाबाट दक्षिण नाल छिडीदेखि बुईगलसम्म बीचको ३ हात ७ अंगुल बाहेक अरु जम्मै घर लगापात समेत प्रतिवादीका बाबु जीतबहादुर कसाईको ठहरी निजले चलन समेत पाई सकेको सो लिखत फैसला अन्तिम रुपमा रहेको देखिन्छ । सो लिखत फैसला कायम रहेसम्म उक्त लिखत फैसलालाई अन्यथा भन्न सकिने स्थिति रहँदैन । सो फार्छे लिखत तथा अदालतहरुको फैसला समेतका प्रमाणबाट दक्षिण नालमा बीचको ३ हात ७ अंगुलको घर वादीका बाबु देवबहादुरको हक भएको भन्ने देखिन्छ । सोही घर वादीका बाबु देवबहादुरले भीमबहादुरलाई दृष्टि बन्धक दिएको र भीमबहादुरले प्रतिवादीका बाबु जीतबहादुरलाई लख बन्धक दिएको भन्ने प्रष्ट देखिन आयो । विवादको घर समेत नक्सा पास गरी पछि बनाएको भन्ने कुरा वादी तर्फको विद्वान अधिवक्ताले समेत स्वीकार गरेको छ । यस्तोमा सो लखबन्धकीको ४ किल्लाभित्रको सम्पूर्ण घर वादीले निखन्न पाउनु पर्छ भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन नसकेकोले लख बन्धकको चार किल्ला भित्रको सम्पूर्ण घर निखन्न पाउनु पर्छ भन्ने निवेदक वादीको निवेदन जिकिर पुग्न सक्ने देखिन आएन । तसर्थ विवादको घर जग्गा मध्ये ३ हात ७ अंगुल घर जग्गामा वादीको हक कायम भई निखनी लिन पाउने ठहर्छ । सो बनाएको खर्च यकीन गरी वादीले निखनी लिन पाउने उक्त ३ हात ७ अंगुलको हुन आउने रकम वादीले प्रतिवादीलाई बुझाई निखनी लिन पाउने र म.क्षे.अ. को इन्साफ केही उल्टी ठहर्छ भन्ने स.अ.संयुक्तइजलासले गरेका इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन, मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.केदारनाथ उपाध्याय,
न्या.गोविन्दबहादुर श्रेष्ठ
इतिसम्वत् २०४९ साल वैशाख २ गते रोज ३ शुभम् ।