May 21, 1992
Created by nepalarchives

निर्णय नं. ४४६४ – अंश नामसारी

निर्णय नं. ४४६४    ने.का.प. २०४९ (क)  अङ्क २   पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग...

निर्णय नं. ४४६४    ने.का.प. २०४९ ()  अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत् २०४६ सालको दे.पू.इ.नं. ६६

फैसला भएको मिति : २०४९।२।८।५ मा

निवेदक/वादी: रुपन्देही जिल्ला, फरैना गा.वि.स. वा.नं. २ बस्ने गायत्रीदेवी पाठक

विरुद्ध

विपक्षी/प्रतिवादी: रुपन्देही जिल्ला, फरैना गा.वि.स. वा.नं. २ बस्ने कृपानाथ पाठक

मुद्दा : अंश नामसारी

(१)    ठोस सबूद प्रमाणको अभावमा यी वादी प्रतिवादीका भाइकी श्रीमती हुन भनी भन्न सक्ने अवस्था नदेखिने ।

(प्रकरण नं. १४)

निवेदक/वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री लोकभक्त राणा

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     श्री ५ महाराजाधिराजका हजुरमा यस स.अ.संयुक्तइजलासबाट मिति २०४३।११।५।३ मा भएको फैसला दोहोर्‍याई दिन भनी हुकुम प्रमांगी बक्स पाउँ भनी वादी गायत्रीदेवी पाठकको हकमा मिश्रीलाल यादवले विशेष जाहेरी विभाग मार्फत चढाएको बिन्तिपत्रमा उक्त मुद्दा दोहर्‍याई हेरिदिनु भनी हुकुम प्रमांगी बक्स भई आए अनुसार पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    जयनाथ २ छोरा राम चरित्र पाठक र इश्वरदत्त पाठक मध्ये राम चरित्रका २ श्रीमती जेठी इनरपतिका २ छोरा प्रतिवादी कृपानाथ र सिताराम, कान्छी श्रीमती नरमदा तर्फकी १ मात्र छोरी रुन्धतीको पनि विवाह भैसकेको छ, नरमदा हुनुहुन्छ । रामचरित्रकी जेठी श्रीमतीबाट जन्मेको सितारामकी श्रीमती म वादी हुँ । २०१६ सालमा पतिको मृत्यु भएको र घरको व्यवहार जेठाजु कृपानाथबाटै भएकोले र मलाई इज्जत आमद अनुसार खान लाउन दिई राख्नु भएकोमा गत ०३६ साल मार्ग देखि जेठाजु कृपानाथ वहाँका परिवार समेतले हेला गरी खान लाउन दुःख दिन थालेकाले ०३७।१।१० मा प्रमाणका मानिसलाई भेला जम्मा गराई अंश माग्दा जायजन्म नभएकी बुहारीलाई अंश गरी दिन्न भने मेरा श्रीमान परलोक भएपछि वहाँका नाममा दर्ता रहेको बन्दूक, जग्गा समेत जेठाजु कृपानाथले नामसारी गराउनु भएको छ । घरको मुख्य कृपानाथबाट तायदाती लिई २ अंश लगाई मेरो श्रीमानको आधी अंश मात्र छुट्याई नामसारी गरी कृपानाथलाई द.सं. का १२ नं. बमोजिम सजाय गरी कोर्टफी समेत भराई पाउँ भन्ने समेत व्यहोराको २०३७।२।२४ को गायत्रीदेवीको फिरादपत्र ।

३.    ईनरपतिको छोरा म कृपानाथ र सीताराम होइन, तथा सीतारामकी श्रीमती मेरो भाइ बुहारी यो वादी होइनन् । इनरपतिको जायजन्म भएको थिएन । वादी मेरा अंशियार नहुँदा अंश दिन पर्ने होइन, वादी मेरो भाइ बुहारी भए मेरो अंशमा कुन कुन अंशियार छन् ? को को परलोक भए ? उल्लेख गर्न सकेकी छैनन् । जयनाथ पाठकको छोरा राम चरीत्र, इश्वरदत्त र नरमदा जीवित परलोक के भए उल्लेख गर्न सकेकी छैनन् । वास्तवमा मूल पुरुष जयनाथ पाठकको राम चरित्र, ईश्वरदत्त दुई भाइ छोरा मध्ये इश्वरदत्त अघि नै अलग भएका, राम चरीत्रकी जेठी श्रीमती ईनरपतिको जायजन्म नभई परलोक भएपछि नरमदासंग विवाह भएको निजबाट जेठो म कृपानाथ, माहिलो सीताराम, साहिलो प्रताप, काहिलो पण्डित र कान्छो गुरुप्रसाद ५ भाइ मध्ये प्रताप, पण्डित र गुरुप्रसाद ३ भाइ विवाह नहुँदै परलोक भएको, सितारामको विवाह चम्पादेवीसंग २००१ सालमा भएका, जायजन्म नभई निज ०१५ सालमा र ०१६ सालमा सिताराम परलोक भएको हो । वादी सितारामकी स्वास्नी होइन । श्रीमती भए कहिले विवाह भएको हो सो उल्लेख गर्न नसक्ने फिरादीले भूमि सुधारमा मेरी श्रीमती फुलकुमारीले भरेको १ नं. फाराममा नाम नभएको र नागरिकताको अस्थायी निस्सा प्राप्त गरेकी छु भन्न नसकेकी वादीलाई सम्पत्तिको लालचमा परी मलाई कुटपिट गरी मेरो धान लुटी लगेकोमा यसै अदालतमा मेरो मुद्दा परेको इवीवाला रामनन्द पाठक समेतले साक्षी बसी यो झुठ्ठा मुद्दा पारे पराएको हो झुठ्ठा दावाबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको ०३७।६।१५ को कृपानाथ पाठकको प्रतिउत्तर ।

४.    जयनाथको २ छोरा जेठा राम चरित्र र कान्छा इश्वरदत्त हुन । इश्वरदत्तको एक छोरा रामानन्द पहिले अंश लिई अलग भएका, राम चरित्रकी २ श्रीमती जेठी इनरपति र कान्छी नरमदा, इनरपतिको २ छोरामा जेठा कृपानाथ, कान्छा सीताराम हुन नरमदाबाट जन्मेका पण्डित, प्रताप, गुरुप्रसाद भएका, निजहरु पनि नावालक मै परलोक भएका र सीतारामको विवाह गायत्रीसंग हुनु भन्दा पहिलो रामरतीसंग भएको हो । वादी सीतारामकी स्वास्नी र कृपानाथको भाइ बुहारी नाता कायमगरी आधा अंश दिलाइपाउँ भन्नेसमेत वादीको वा.राजाराम पाण्डेको बयान ।

५.    वादी गायत्री सितारामकी स्वास्नी होइन, कुटपीटको मुद्दा दिएको प्रतिशोध निमित्त विष्णुप्रसाद समेतले उठाई झुठ्ठा नालेश दिएका हुन, वादी मेरो भाइको श्रीमती नहुँदा भाइ बुहारी नाता कायम हुनु पर्ने होइन भन्ने समेत प्रतिवादी कृपानाथको बयान ।

६.    दुबै पक्षका साक्षी सरजमीन बुझिएका लिखित प्रमाणबाट वादी प्रतिवादी बीच नाता रहेको नदेखिँदा अंश पाउँ भन्ने वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत रुपन्देही जि.अ.को ०३९।२।३० को खारेजी फैसला ।

७.    उक्त फैसला उपर वादीको प.क्षे.अ. मा पुनरावेदन परेको ।

८.    प्रतिवादीले पेश गरेको तायदातीबाट वादीले २ भागको एक भाग अंश पाउने ठहर्छ ऋणिका हकमा साहूको उजूर परेको बखत ठहरे बमोजिम हुन्छ । अरु जि.अ. को इन्साफ उल्टी हुन्छ भन्ने समेत प.क्षे.अ. को ०४२।३।३।२ को फैसला ।

९.    प.क्षे.अ. को फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्र.कृपानाथको निवेदन परेकोमा प.क्षे.अ. को फैसलामा प्रमाणको सही मूल्यांकन नगरी सार्वजनिक महत्वको विषयमा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रृटि भएको भनी न्या.प्र.सु. ऐन, २०३१ को दफा (५) अनुसार पुनरावेदन गर्ने अनुमति दिएको छ भन्ने यस अदालत डि.बे.को मिति २०४२।४।९ को आदेश ।

१०.    यसमा वादीले पेश गरेको मतदाता नामावलीमा गायत्री देवीको उमेर २८ वर्ष लेखिएको छ भने २०३७।२।२४ मा फिराद गर्दा वादी आफैंले आफ्नो उमेर ४४ भनी लेखेकी छन् । २०१५।१।५ को साहू रमाकान्त असामी सिताराम भएको लिखतमा सितारामकी एकाघरकी श्रीमती चम्पादेवी भनी उल्लेख भएको पाइएको समेतबाट वादीको प्रतिवादीसंग भाइ बुहारीको नाता कायम हुन नसकेपछी अंश दिलाई पाउँ भन्ने फिराद दावा पुग्न सक्दैन । प.क्षे.अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेतको यस सर्वोच्च अदालत संयुक्तइजलासको फैसला ।

११.    उक्त फैसला दोहर्‍याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स पाउन श्री ५ महाराजाधिराजका हजुरमा विशेष जाहेरी विभाग मार्फत वादीको हकमा मिश्रीलाल यादवले चढाएको बिन्तिपत्रमा उक्त मुद्दा पूर्णइजलासबाट दोहर्‍याई हेरी दिनु भनी हुकुम प्रमांगी बक्स भई आए बमोजिम पेश हुन आएको रहेछ ।

१२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले पहिले प्रतिवादीले गायत्री देवी मेरो छोरा बुहारी हुन भन्ने वा सिताराम छुट्टि सकेको छ भन्ने जिकिर लिएको छैन । पछी मात्र मुद्दाको तह तहमा आएर जिकिर परिवर्तन गरेको छ । मतदाता नामावलीमा भएको उमेरसंग २४ वर्ष उमेर सबैको तलमाथि परेको छ । क्षेत्रीय अदालतबाट हारेपछि मात्र प्रतिवादीले सितारामसंग छुट्टि सकेको थिएँ भनी रु. ९९।को लिखत पेश गर्नु भयो । तर पहिले प्रत्युतरपत्रमा त्यस्तो प्रतिवाद पनि आएन र प्रमाण पनि पेश भएन । वादीका साक्षीहरु जो अधिंकाश निजहरुको पाठक बंश भित्रै परेका छन् । तसर्थ क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोकभक्त राणाले सिताराम र रमाकान्त बीच छुट्टि भिन्न भैसकेको कुरा २०१५।१।५ को लिखतले दर्शाउँछ । उक्त लिखतमा साक्षी सितारामकी श्रीमती चम्पादेवी भन्ने उल्लेख छ । चम्पादेवीको सहोदर दाजु चन्द्र्रधर दुबैले सितारामकी श्रीमती मेरी बहिनी चम्पादेवी हुन भनी बकपत्र गरेका छन् । कृपानाथका छोरा रमाकान्तको दुई श्रीमती मध्ये चम्पादेवी र कान्छीको नाम गायत्रीदेवी हो । रमाकान्तको श्रीमती गायत्रीदेवीको नागरिकताको प्रमाणबाट त्यो कुरा प्रमाणित हुन आउँछ वादीका साक्षीहरु मध्ये त्रिलोकनाथ र चुनमुन पाठक दुईजना लुटपीट मुद्दामा प्रतिवादी छन् । उनीहरुको बकाइलाई प्रमाण लिन मिल्दैन । तसर्थ स.अ.संयुक्तइजलासको इन्साफ सदर हुनुपर्दछ भन्ने समेतको बहसप्रस्तुत गर्नु भयो ।

१३.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा यस सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

१४.   यसमा निर्णय तर्फ हेर्दा जयनाथका दुई छोरा राम चरित्र पाठक र इश्वरदत्त पाठक मध्ये राम चरित्र पाठकका दुई छोरा कृपानाथ र सिताराम भएको र सितारामकी श्रीमती म वादी गायत्री देवी हुँ । पति सितारामको २०१६ सालमा परलोक भएकोले घरको मुख्य कृपानाथबाट तायदाती लिई २ अंश लगाई मेरो श्रीमानको आधी अंश भाग मलाई छुट्याई नामसारी गरिपाउँ भन्ने वादी दावी रहेको देखिन्छ । प्रतिवादीले प्रतिवाद जिकिरमा वादी सितारामकी श्रीमती होइनन् । श्रीमती भए कहिले विवाह भएको हो उल्लेख गर्न नसकेको मेरो श्रीमती फुलकुमारीले २०२३ सालमा भरेको १ नं. फाँटवारीमा नाम नभएको र नागरिकताको अस्थायी निस्सा समेत प्राप्त गर्न नसकेको वादी मेरो अंशियार होइनन् भन्ने जिकिर लिएको देखिन्छ । वादीले आफू विपक्षी कृपानाथ पाठकको भाइ बुहारी हुँ भनी प्रमाण स्वरुप पेश गरेको २०३३ सालको गाउँ पंचायतको मतदाता नामावलीमा गायत्री देवीको उमेर २८ वर्ष भन्ने लेखिएको पाइन्छ । निजले २०३७ सालमा फिराद गर्दा आफ्नो उमेर ४४ वर्ष भनी लेखाएको देखिन्छ । त्यसै गरी उक्त मतदाता नामावलीमा भएको गायत्री देवी मेरो छोरा रामाकान्तको श्रीमती हो भन्ने प्रतिवादीको जिकिर रहेको देखिन्छ । आफ्नो जिकिरलाई खंबिर तुल्याउन प्रतिवादीले प्रमाण स्वरुप रमाकान्तकी श्रीमती गायत्री देवीले २०३३ सालमा लिएको नागरिकताको अस्थायी निस्सा पेश गरेको पाइन्छ । उक्त नागरिकताको अस्थायी निस्सा रमाकान्तकी श्रीमती गायत्री देवी भनी स्पष्ट उल्लेख भएको एकातर्फ देखिएको छ भने अर्को तर्फ निज गायत्री देवीको उमेर २८ वर्ष जनिएको छ । यसबाट २०३३ सालको उक्त मतदाता नामावलीमा उल्लेखित गायत्री देवीको उमेर र २०३३ सालमा लिएको नागरिकताको अस्थायी निस्सामा उल्लेखित रमाकान्तकी श्रीमती गायत्री देवीको उमेर पनि २८ वर्ष भन्ने जनिएको देखिँदा सो मतदाता नामावलीमा लेखिएको गायत्री देवी यी वादी नै हुन भन्न सकिने स्थिति नभई उक्त गायत्री देवी प्रतिवादीको छोरा रमाकान्तकी श्रीमती हुन भन्ने देखिन्छ । वादीले आफू सितारामको श्रीमती हुँ भन्ने कुनै ठोस प्रमाण पेश गर्न सकेको पाइदैन । ठोस सबूद प्रमाणको अभावमा यी वादी गायत्री देवी प्रतिवादीका भाइ सितारामकी श्रीमती हुन भनी भन्न सक्ने अवस्था देखिएन । प्रतिवादीकी भाइ बुहारीको नाता कायम हुन नआएपछि निज प्रतिवादीबाट अंश नामसारी गरी पाउँ भन्ने वादी दावी पुग्न सक्ने देखिएन । तसर्थ वादी दावी नपुग्ने ठहर्‍याएको यस सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहर्‍याएको यस अदालत संयुक्तइजलासको इन्साफ मनासिब ठहरेकोले संयुक्तइजलासको फैसलाले शुरु कोर्ट फी रु. १,५३९।२४ को १५ प्रतिशतले हुने रु. २३०।९० वादीबाट प्रतिवादीलाई भराई दिने ठहर्‍याएको वादीले मुद्दा दोहर्‍याई ल्याएपछि सो बराबरको रकम यस अदालत मार्फत का.जि.अ. मा धरौट राखेको देखिँदा भराई पाउँ भनी प्रतिवादीको ऐनका म्यादभित्र दर्खास्त परेमा दस्तुर केही नलिई सो धरौट रहेकोबाट प्रतिवादीलाई भराई दिनु भनी का.जि.अ. मा लगत दिनु….१, वादीबाट प्रतिवादी कृपानाथ पाठकलाई डिभिजनबेञ्चका मिति २०४३।११।५ का फैसलाले भराउने गरेको कोर्टफी रु. २३०।९० उक्त धरौट रहेकोबाट भरी भराउने भएकोले उक्त फैसला बमोजिम कसिएको कोर्टफी रु. २३०।९० को लगत काटी दिनु भनी का.जि.अ. मा लगत दिनु…..२, सर्वोच्च अदालत संयुक्तइजलासबाट प.क्षे.अ. को इन्साफ उल्टी भई फैसला भएकोले प.क्षे.अ. को मिति २०४२।३।३।२ का फैसलाले प्रतिवादीबाट वादीलाई भराउने गरेको कोर्टफी रु. १,५७५।८४ प्रतिवादीले स.अ. मा पुनरावेदन गर्दा मिति २०४२।४।२१ मा यस अदालत मार्फत का.जि.अ. मा धरौट राखेको देखिँदा सो धरौट फिर्ता पाउँ भनी ऐनका म्याद भित्र प्रतिवादीको दर्खास्त परे केही नलिई सो धरौटी रकम फिर्ता दिनु भनी का.जि.अ. मा लगत दिनु….३, सर्वोच्च अदालत संयुक्तइजलासबाट प.क्षे.अ. को इन्साफ उल्टी हुने ठहरी फैसला भएकोले प.क्षे.अ. को फैसलाले प्रतिवादीबाट वादीलाई भराउने गरेको कोर्टफी भराउनु परेन । सो लगत कट्टा गरी दिनु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ. मा लगत दिनु….४, मिसिल नियमानुसार गरी बुझाई दिनु……५

 

उक्त रायमा हामीहरु सहमत छौं ।

 

न्या.केदारनाथ उपाध्याय,

न्या.कृष्णजंग रायमाझी

 

 

इतिसम्वत् २०४९ साल जेष्ठ ८ गते रोज ५ शुभम् ।