February 9, 1992
Created by nepalarchives

निर्णय नं. ४४२१ – ट्रक चोरी

निर्णय नं. ४४२१     ने.का.प. २०४८      अङ्क ११   संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४५ सालको फौ.पु.नं.४११ फैसला...

निर्णय नं. ४४२१     ने.का.प. २०४८      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ

सम्वत् २०४५ सालको फौ.पु.नं.४११

फैसला भएको मिति: २०४८।१०।२६।१ मा

पुनरावेदक/वादी : हर वंश सिंहको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : मेवाराम उर्फ इन्द्र सिंह शर्मा

मुद्दा : ट्रक चोरी

(१)    ट्रक चोरी गर्ने मनसायले लिई भागी गएको भए सो ट्रक कतै लगी लुकाई राख्नु पर्नेमा जुनसुकै अवस्थामा पनि समातिन सक्ने बाटोमा चलाई राख्नु नपर्ने, यसबाट उक्त ट्रक निजले चोरी गरी लिई गएको हो भनी भन्न सक्ने अवस्था रहेन, यस्तो अवस्थामा प्र्रस्तुत वारदातलाई चोरीको १ नं. को परिभाषा भित्र नपर्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक/वादीतर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.रुद्रबहादुर सिंह

१.     पश्चिमाञ्चल क्षेत्रीय (साविक पेज नं. ७७७) अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    २०४०।२।१८ गते सि.एच. डल्लु. ५२६७ नं. को ट्रक मैले गोरखपुरबाट हाँकी ल्याई २ दिनको लागि सुनौली भन्सारबाट इजाजत बनाई नेपाल बुटवल आमा होटल अगाडि ट्रक खडा गरी खाना खान होटल भित्र म र संगै आउने व्यापारी गयौं । खाना खाई व्यापारी पहिले बाहिर निस्क्यो । म पनि बाहिर आउँदा १०.३० बजेको समयमा ट्रक हरायो । खोजी गर्दा फेला परेन । कानुन बमोजिम होस् भन्ने ०४०।२।१९ को हुलिया दर्खास्त ट्रक र ट्रक चोर थानामा ल्याएका छैन भन्ने थाहा पाई आएको हुँ । मैले दिएको हुलिया दर्खास्त अनुसार यो पक्राउ गरी ल्याएको सि.एच.डल्लु. ५२६७ नं. को ट्रक मैले भारतबाट चलाई ल्याएको हुँ मेरो हो, मैले चलाई ल्याउँदा व्यापारी बनी आएको इन्द्रजित शर्मा यही हुन् कानुन बमोजिम होस् भन्ने जाहेरी दर्खास्त ।

३.    म चार सालदेखि नेपालमा नै विभिन्न ठाउँमा बसी ट्रक चलाउने काम गर्दछु । मैले इन्द्रजित सिंहको ट्रक चलाएको थिएँ । पछि मनमोटाव भएको कारण महेन्द्र सिंहको ना.अ. १०१३ नं. को ट्रक चलाएँ तलब कम हुनाले प्रेमबहादुर थापाको ना.अ. १६६५ को ट्रक चलाएको थिएँ । गाडी बिक्री भएको हुँदा मैले काम नपाएको ०४०।२।१६ का दिन गोरखपुर गएँ नेपाल आउन गाडीको इन्तजारमा थिएँ । त्यसमा एकजना पंजावीको ट्रक नं. ५२६७ को सि.एच.डल्लु. गाडी खाली बसी रहेको देखी गाडीको हर्नलाई नेपाल जाने हो भनी सोद्धा जाने हो भनी सुनौली भन्सारमा आई नेपालको प्रमिट बनाई बुटवल आमा होटल अगाडि गाडी रोकी ०४०।२।१८ गते साँझ खाना सबैले खायौं । लजमा श्रीमती नमानेको हुँदा खलासी गाडीमा सुती रहेको थियो । मैले गाडी हाँकी बुटवल नगरपंचायत अगाडि रोकेँ खलासीलाई लकडी लोड हुन्छ हुँदैन बुझ्न पठाएँ । मैले मौका पाई गाडी नारायणघाट तर्फ लिई पोखरा नौविसे समेत लगी रु. २३००।लिएको हुँ भन्ने मेवाराम उर्फ इन्द्रजित सिंहले प्रहरीमा गरेको बयान ।

४.    ०४०।२।१८ गते बुटवल आमा होटलमा म र मेरी श्रीमती सि.एच.डल्लु. ५२६७ को ड्राइभर समेत भई खाना रक्सी खाई बसे मलाई गर्मि भएकोले ट्रकमा सुतेँ । आमा होटलबाट टाढा जग्गामा पुग्दा बिउँझी हामी कहाँ आई पुग्यो कहाँ जाने हो ड्राइभर खोई भनी श्रीमानलाई सोद्धा यो ट्रक मेरो भाइको हो आज वीरगन्ज गएर बस्ने हो भने भरतपुरमा प्रहरीहरुले यो गाडी चोरीको हो भन्दा थाहा पाएको हुँ भन्ने गितादेवी शर्माले प्रहरीमा गरेको बयान ।

५.    ०४०।२।१८ गते सि.एच.डल्लु. ५२६७ नं. को ट्रक चालक र एकजना आइमाई समेत जना ३ बसी ट्रक होटल बाहिर राखी खाना खाई सुत्नको लागि कोठा समेत लिएको त्यस्तैमा प्रतिवादी माल ठीक गर्ने भनी रातीमा खलासी र आइमाई दक्षिणतर्फ गए । उक्त ट्रक चोरी गर्ने यिनै हुन यसमा मतियार कोही छैनन् । गरेको भोलिपल्ट सुनेको हो डोरमा देखाइएको प्रतिवादी आफैं चोरी गरेमा सावित हुँदा निजले नै चोरी गरेमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.    संकलित प्रमाणबाट नं. ५२६७ को सि.एच.डल्लु.को ट्रक इन्द्रजितसिंहले चोरी गरी लगेको देखिँदा निज प्रतिवादी इन्द्रजित सिंहलाई १२, १४नं. बमोजिम पहिला पटकपारी सजाय गरी चोरीको २१ नं. बमोजिम दसि भनी दाखिल हुन आएको उक्त नं. को ट्रक धनी दर्शन सिंह तथा गैसम सिंहलाई कानुन बमोजिम फिर्ता बुझाई पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।

७.    म नेपालमा ड्राइभरी काम गरेको ४ वर्ष जति भयो । वीरगन्जको ट्रक मालिक दर्शन सिंको ड्राइभरी गरेको थिएँ । ०४० साल जेष्ठ १७ गते म र मेरो श्रीमती गोरखपुर मामाको घर गई विवाह कार्यक्रम सकिएपछि ०४०।२।१८ मा नेपालतर्फ आउन सवारी (साविक पेज नं. ७७८) साधन खोज्दै हिडेको अवस्था गोरखपुर सि.एच.डल्लु. ५२६७ नं. को ट्रक खडा देखी सोद्धा नेपाल काठमाडौंमा गाडी लिएर नेपालमै लोकल गरी चलाउने विचार छ भनेबाट त्यसो भए म नेपालमा गाडी चलाउँछु जाउँ भनेपछि हुन्छ भनी म मेरो श्रीमती र खलासी ट्रक चालक समेत मैले नै गाडी चलाई नेपाल आई सुनौली भन्सारमा मैले २४ घण्टाको लागि मेरो नाउँमा परमिट बनाई भारतबाट नेपालमा प्रवेश गरेका हौं । त्यसपछि बेलुका बुटवलको आमा होटल अगाडि ट्रक खडा गरी खाना खाई ट्रक चालक हरवन्स सिंले तिमी नेपालमा ट्रक चलाइरहेको मानिस आज राती गाडी नारायणघाट लगी केही सामान पाइएमा सामान लिई भोलि विहान हामी सबै जाउँला भनी सल्लाह भएपछि मैले मन्जूर भई हरवन्ससिंह होटलमा कोठा लिई सुतेँ । म र मेरी श्रीमती खलासीलाई लिई जान लाग्दा हरवन्स सिंहले खलासी नलैजाउ भनेबाट बुटवल नगरपंचायत अगाडि थुप्रै लकडी देखी खलासीलाई लकडी लोड गर्छ गर्दैन सोध्न पठाई सोही बेला म र मेरी श्रीमती बसी नारायणघाट गाडी लिई गएँ सो रात १२४० मा नारायणघाट पुगेपछि ३.३० बोरा आलु लोड गरी नारायणघाट तर्फ आएँ । त्यहाँबाट केही सामान नपाएकोले खाली गाडी लिई हेटौडा तर्फ गएँ । १९ गते साँझ सब्जी लोड गरी नौविसे तर्फ गएँ, २० गते बिहान नौविसे पुगें, नौविसेबाट उसै दिन मुग्लीङ आएँ । मुग्लीङबाट राती ९ बजे पोखरा आएको हुँ । २१ गते शनिवार कुनै सामान नपाएकोले पोखरा बसी २२ गते खाली गाडी लिई नारायणघाट ९.३० बजे आएको हुँ । विरगंज जान भनी भरतपुरमा गाडी रोकेको अवस्थामा हिरा होटलमा मैले तिर्नुपर्ने रु. २००।रुपैयाँ दे भन्दै मलाई समाती ट्रकमा इटाले हानी सिसा फुटी म र मेरो श्रीमतीलाई चोट लागी गाडीको एक्सल समेत फुटेकोले जाहेर गर्न थानामा गएँ । यो गाडी कस्को हो प्रहरीले केरकार गरी उक्त २२ गते पक्राउ गरेका हुन् मैले लगभग २९००।कमाएको थिएँ । सो रुपैयाँ ट्रक मालिकलाई बुझाउन बुटवल जाने विचार गरेकोमा पक्राउ परेकोले भेट गर्न पाएको छैन । मालिकले गाडी चलाई पैसा कमाई ल्याउन सल्लाहा नै दिएका हुन् । मैले चोरी गरी लगेको होइन भन्ने समेत व्यहोराको इन्द्रजित सिंहको अदालतमा गरेको बयान ।

८.    यो सि.एच.डल्लु. ५२६७ को ट्रक चलाउन लागेको २ वर्ष जति भयो । यो गाडी प्रतिवादी मेवाराम नाम गरेका मानिसले मलाई बुटवल देखि हरिसम्म लकडी ढुवानी गर्नु छ प्रति क्वीन्टल भा.रु. २९ का दरले गाडी दिउँला भनी बुटवल ल्याएका हुन् म समेतका ४ जनाले बुटवल आमा होटलमा खाना खायौं म होटल भित्र पसेको थिएँ । यिनै मेवारामले खलासीसंग गाडीको साँचो लिई लकडी लोड गर्नुछ भनी गाडी स्टार्ट गरी लिई गएको हो । न.पं.नजिकै खलासीलाई लकडी लोड गर्न पाइन्छ पाइदैन भनी सोध्न पठाई गाडी बुटवलबाट नारायणघाट तर्फ लगेका हुन भोलिपल्ट १९ गते थानामा लिखितजाहेरी दर्खास्त दिएको हुँ भन्नेसमेत व्यहोराको हरवंश सिंहको अ.मा गरेको बकपत्र ।

९.    चालक हरवन्स सिंहको सल्लाह अनुसार माल ढुवानी गरी लगेको भन्ने भनाइको विपरीत जाहेरवालाले मौखिक रुपमा भनी भोलिपल्ट लिखित हुलिया जाहेरी दिएको भनी जाहेरवाला हरवन्ससिंहले अदालतमा बकपत्र गरेको देखिएबाट प्रतिवादीको भनाई जिकिर विपरीत मिसिल प्रमाणबाट देखिएको र ट्रक लगेको निजैबाट बरामद भएको कुरा निजले अदालतमा पनि स्वीकारै गरेकोले प्रतिवादी इन्द्रजितले मु.ऐन चोरीको १ नं. को अपराध गरेको देखिन आएकोले प्रतिवादीले अपराध गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु रुपन्देही जिल्ला अदालतको ०४१।९।२० को फैसला ।

१०.    उक्त इन्साफमा चित्त बुझेन नेपाल भित्र नै ०४०।२।१८ भन्दा अघि ट्रक संचालन गरेको छु । संचालन अवधिभित्र बाटोमा पार गरेका प्रत्येक प्रहरी थाना चौकीले ट्रक नं. ५७६२ को रिकर्ड गरेको छ । निर्दोषिताको प्रमाणको लागि सन् १९८३।४।२९ भैरहवा (साविक पेज नं. ७७९) काठमाडौं समेतका विभिन्न ठाउँको संचालन गरेको छु । भारतीय नम्बरका ट्रक चोरी गरी नेपाल भित्र प्रवेश गराएको आरोपमा मालधनीको दावी छैन । यसरी उजुर गर्न हरिवंशलाई हक पनि पुग्दैन । यसै पुनरावेदन साथ दाखिल गरेको सबूद अ.बं. ७७ नं. ले प्रमाण राखी नबुझिएको प्रमाण बुझी ओरोपित कसूरबाट मुक्ति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा प्रतिवादी मेवाराम उर्फ इन्द्रजित सिंहको पुनरावेदन जिकिर ।

११.    यस्मा प्रतिवादीलाई चोरीको १४ नं. को देहाय १ बमोजिम रुपन्देही जिल्ला अदालतले सजाय गर्ने गरेको इन्साफ फरक पर्ने भएबाट श्री ५ को सरकारलाई सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको ०४३।१२।१९ को आदेश ।

१२.   प्रस्तुत मुद्दामा प्र. मेवाराम उर्फ इन्द्रजित सिंहकै नाउँमा जाहेरवालाकै मन्जूरीले भैरहवा भन्सार कार्यालयबाट प्रज्ञापनपत्र (परमिट) प्राप्त गरी इ.सि.एच.डल्लु. ५२६७ को ट्रक ल्याएकोमा निजै प्रतिवादीबाट सो ट्रक बरामद भएको हुँदा प्रस्तुत वारदात चोरीको १ नं. अन्तर्गतको कसूर भित्र नपर्ने हुँदा प्रतिवादी मेवाराम उर्फ इन्द्रजित सिंहले आरोपित कसूरबाट सफाइपाउने ठहर्छ भन्ने समेत व्यहोराको प.क्षे.अ.को मिति २०४४।३।४ को फैसला ।

१३.   प्रस्तुत मुद्दामा ट्रक प्रतिवादीबाट बरामद भएको कुरामा कुनै विवाद छैन । ट्रकको धनी तथा चालक समेत निज प्रतिवादी नरहेको कुरा मिसिलबाट स्पष्ट रुपमा देखिएकै छ । त्यस्तो अवस्थामा ट्रकको धनी तथा चालकलाई थाहा नदिई गाडी भगाई लि जाने कार्य स्पष्ट रुपमा चोरीको १ नं. अन्तर्गतको परिभाषा भित्र पर्ने अवस्थामा चोरीको परिभाषा भित्र प्रस्तुत वारदात नपर्ने भनी प्रतिवादीलाई सफाई दिने गरी भएको प.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई प्रतिवादीलाई माग दावी बमोजिम सजाय गरी पाउँ भनी वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा परेको निवेदन ।

१४.   चोरीको १ नं. को परिभाषा भित्र पर्ने प्रस्तुत मुद्दामा प्रतिवादीलाई सफाई दिने गरी भएको प.क्षे.अ. को फैसलामा चोरीको १ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालतको संयुक्त इजलासको मिति ०४४।९।७ को आदेश ।

१५.   प्रतिवादीको नाउँमा जारी भएको म्याद निज फेला नपरी फिर्ता आएको रहेछ ।

१६.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादीबाट ट्रक बरामदी भएकोमा कुनै विवाद देखिँदैन । निज ट्रकको चालक तथा ट्रक मालिक समेत नभएको कुरा मिसिलबाट देखिएकै छ । ट्रकको चालक वा मालिक निज नभएको अवस्थामा ट्रक लिई जाने अधिकार निज प्रतिवादीलाई छैन । जाहेरवाला तथा सरजमीनका व्यक्तिहरुले समेत निजले चोरी गरेको भनी बकी रहेको अवस्थामा निज कसूरदार हो भन्ने स्पष्ट देखिँदा देखिँदै निजलाई सफाई दिने गरी भएको प.क्षे.अ. को फैसला बदर गरी प्रतिवादीलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१७.   यस्मा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब बेमनासिब के रहेछ सो मा नै निर्णय दिनु पर्ने देखियो ।

१८.   यस सन्र्भमा विचार गर्दा उक्त ट्रक नेपालमा प्रवेश गर्दा जाहेरवाला समेतको मन्जूरीले निज प्रतिवादी इन्दु सिं शर्माको नाममा प्रज्ञापनपत्र (परमिट) भरी नेपालमा प्रवेश गरेकोमा कुनै विवाद देखिँदैन । उक्त ट्रक पछि प्रतिवादीबाट नै बरामद भएको देखिन्छ । उक्त ट्रकलाई प्रतिवादीले सोही ट्रक बाहेक अन्य कुनै ट्रकको साँचो मिलाई लिई भागी गएको भनी जाहेरवालाले जिकिर लिन सकेको छैन भने मौकामा दिएको हुलिया (साविक पेज नं. ७८०) दर्खास्तबाट निज प्रतिवादीले कुनै प्रकारबाट जाहेरवाला संग साँचो आफ्नो कब्जामा लिई ट्रक चोरी गरी लगेको भनी उल्लेख गर्न सकेको देखिँदैन । यसबाट उक्त ट्रक नेपालमा प्रवेश गर्दाकै अवस्थामा सो ट्रकको साँचो प्रतिवादीसंग रहे भएको र ट्रक समेत निजै प्रतिवादीले नै चलाई आएको देखिन आउँछ । प्रतिवादीको अधिकार प्राप्त अधिकारी एवं अदालत समक्ष भएको बयान समेतबाट उक्त ट्रक निजले वीरगंज, काठमाडौं, पोखरा, सुनौली समेतमा प्रतिवादीले चोरी गरी ट्रक लिई गएको भनिएको दिन देखि नै निरन्तर रुपले चलाइराखेको भन्ने देखिन्छ र सो लाई वादी पक्षले अन्यथा भन्न सकेको पाइदैन । यदि प्रतिवादीले उक्त ट्रक चोरी गर्ने मनसायले लिई भागी गएको भए सो ट्रक कतै लगी लुकाई राख्नु पर्नेमा जुनसुकै अवस्थामा पनि समातिन सक्ने बाटोमा चलाई राख्नु नपर्ने हो । यसबाट पनि उक्त ट्रक निजले चोरी गरी लिई गएको हो भनी भन्न सक्ने अवस्था रहेन । यस्तो अवस्थामा प्रस्तुत वारदातलाई चोरीको १ नं. भित्रको परिभाषा भित्र नपर्ने वारदात ठहराई प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिने गरी भएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिबै देखिएकोले सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गोविन्दबहादुर श्रेष्ठ

 

इति सम्वत् २०४८ साल माघ २६ गते रोज १ शुभम् ।