निर्णय नं. ४४०९ – कर्तव्य ज्यान
निर्णय नं. ४४०९ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्दप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको फौज्दारी पु.नं....
निर्णय नं. ४४०९ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्दप्रसाद सिंह
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
सम्वत् २०४७ सालको फौज्दारी पु.नं. २१८,२५३, साधक नं. ४९
फैसला भएको मिति : २०४८।१०।१३।२ मा
पुनरावेदक/वादी : डिलमायाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : स्याङजा जि., घुम पोखरा गा.वि.स. वा.नं.९ बस्ने मिनकुमारी श्रेष्ठ
पुनरावेदक/प्रतिवादी : कारागार शाखा स्याङजामा थुनामा रहेका मीनबहादुर श्रेष्ठ
विरुद्ध
वादी : डिलमायाको जाहेरीले श्री ५ को सरकार
मुद्दा : कर्तव्य ज्यान
(१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन, इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनु पर्ने ।
(प्रकरण नं. ५०)
पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट
पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
फैसला
न्या.सुरेन्द्र्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी प्रतिवादी दुबै तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य पुनरावेदन जिकिर र निर्णय यस प्रकार छ ।
२. २०४२।५।१३ गते रु. २५,०००।– लिई, रुपन्देही जिल्लाको खैरेनीमा गई ज्वाईका नाउँमा जग्गा खरिद गरी आउँछु भनी घरबाट हिंडेको, मामा श्यामबहादुरसंग भेट भई, पर्सी जाउँला भनी मामा–भान्जा घर जाँदैको अवस्थामा डुम्रे भन्ज्याङमा दोकान गरी बस्ने मिनबहादुर, नरबहादुर, अम्बरबहादुर, धनबहादुर समेत मीनबहादुरको दोकानमा रक्सी खाई रहेका, मृतक कर्णबहादुर र निजको मामा बाटो बाटै घर फर्की रहेको, यत्तिकैमा कर्णबहादुरलाई निजहरुले कुटपिट गरी मारी, राती नै कालीकाकोटमा लगी राखेको बुझिएकोले निजहरुलाई कानुन बमोजिम कारवाई गरी पाउँ भन्ने समेत व्यहोराको डिलमायाको जाहेरी दर्खास्त ।
३. २०४२।५।१३ गते मृतक कर्णबहादुरले घर छाडि हिंडेका, छोरा आएन भनी निजको आमाले खोज (साविक पेज नं. ७२२) गर्दै जाँदा गेडले भन्ने ठाउँमा लाश फेला परेकाले कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको पूर्णबहादुरको जाहेरी दर्खास्त ।
४. शरीरको विभिन्न भागमा चोट पटक लागेको, टाउको र गर्दनमा काटिएको घाउ, अत्यधिक रगत बग्नाको कारणबाट मृत्यु भएको भन्ने समेत व्यहोराको पोष्ट मार्टस रिपोर्ट ।
५. २०४२।५।१३ गते साँझ अ. ६.४५ बजे डुम्रे भन्ज्याङमा मन काजीको घरमा आउँदा भानिज कर्णबहादुरले पाइनापल ल्याएका रहेछन् खाउँ भनेकाले त्यहाँ उठी उठी पियौं, घर जान भनी लाग्दा आडैमा रहेको नरबहादुरको घरमा गई म बाहिर खाटमा बसें, कर्णबहादुर भित्र गई नरबहादुरको श्रीमतीसंग भात मागी खाए र घरतर्फ जान दुबै मामा भानिज मिनबहादुरको घर अगाडि पुग्दा, निजकी कान्छी श्रीमती सेतीले तिमीहरु रक्सी खाई हल्ला गरी हिड्छौं हल्ला नगर भन्ना साथ मिनबहादुर घर भित्रबाट निस्की लौराले भान्जा कर्णबहादुरलाई किन हल्ला गरिस भनी टाउकोमा हान्दा साथ भुईमा लडी हाले, नरबहादुर पनि बाहिर निस्के, मैले गुहार भन्दै अम्बरबहादुरको घरमा पुगेपछि, मिनबहादुरले हातमा लाठी लिई आएका रहेछन् र निज अम्बरबहादुरको बरण्डामा पुग्ना साथ मलाई पनि लाठीले हाने, नरबहादुर पनि पछि आएका थिए । कुटपिटबाट म पनि बेहोस भएछु, ऐ.१४ गते होसमा आउँदा मलाई मिनबहादुरको घरमा सुताएका रहेछन् । मेरो भाइ क्षेत्रबहादुर पनि आई म संगै बसेकोमा किन आएको भन्दा तपाईलाई खोज्न आएको हुँ भन्ने कर्णबहादुरको लाश गेडले पाखामा फेला परेको कुरा थाहा भयो भन्ने समेत व्यहोराको मामा श्यामबहादुरले प्रहरी समक्ष गरेको बयान कागज ।
६. मेरो घरमा भात खाएपछि कर्णबहादुर घरबाट निस्की श्यामबहादुर समेत मिनबहादुरको घरमा गएछन् । भाउजू तिलाकुमारीलाई नजा तेरो घर भनी कर्णबहादुरले भनेको सुनी भाउजूले भाडा तिरेको घर हो, म कहाँ जाने भने पछि घरभित्र मिनबहादुर, अम्बरबहादुर, धनबहादुर भित्र रहेछन्, झगडा हुन थाल्यो, चर्को चर्को हुन थाले पछि त्यसतर्फ जाँदा, हातमा के के थियो, रातको समय भएकाले भन्न सक्दिन, कर्णबहादुर र श्यामबहादुरलाई निजहरुले कुटपिट गरेकाले मैले छुट्याउँदा मलाई पनि चोट लागेकाले म घरतर्फ गएकी हुँ, राती मिटिङ छ, भनी अम्बरबहादुरले भनेका थिए । कर्णबहादुरलाई, मिनबहादुर समेतले कुटपिट गरी मारी खरबारीमा लगी राखेकोमा मलाई पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको धनमाया श्रेष्ठले प्रहरी समक्ष गरेको बयान कागज ।
७. ०४५।५।१३ गते साँझ ८ बजे डुम्रे भन्ज्याङमा श्यामबहादुरले हार गुहार मागेको सुनें, अम्बरबहादुरको बरण्डामा मिनबहादुर र श्याम लडेको देखें । नरबहादुर पनि आएको थिए, मिनबहादुरले कर्णबहादुरलाई चुरेटाको घर अगाडि ल्याई पिटेको र अम्बरबहादुरले पानी ख्वाए भन्ने सुनेको हुँ । कर्णबहादुरको लाश पाखा बारीमा छ भनेकाले हेर्न गएको हुँ । मिनबहादुर समेतले मारी लगी राखेको मलाई लाग्छ, सो रात मिटिङमा निज समेतले भाग लिएको सो मिटिङको कपी मेरो हातमा परेको थियो, दाखिला गरेको छु भन्ने समेत व्यहोराको नारानसिंले प्रहरीमा गरेको बयान कागज ।
८. ०४२।५।१३ गते पाडाको मासु ल्याएँ, आधा मासु मिनबहादुर कहाँ लगी गएँ, मैले खानपीन गरी केटाकेटीलाई तलामा सुताउन लगें, साझ ७.३० बजे श्यामबहादुर र कर्णबहादुर मेरो घरमा आई बोलेको तलाबाट सुनेको हुँ । श्रीमतीसंग कर्णबहादुरले भात मागी खाएछन् । र मेरो घरबाट उठी निजहरु मिनबहादुरको घरमा गै निजको श्रीमती सेती भन्ने तिलालाई यहाँ किन बसेकी छस भनी कर्णबहादुरले भनेछन् मिनबहादुर, धनबहादुर, अम्बरबहादुर यिजैबहादुरको घर (साविक पेज नं. ७२३) भित्र बसी रक्सी खाएका रहेछन् । सो कुरा सुनेपछि चर्को हुन लागेकोले म पनि गएँ, श्यामबहादुर, कर्णबहादुर, मिनबहादुरको बरण्डामा उभिएका रहेछन् । मिनबहादुर घर भित्रबाट निस्की हातमा बाँसको कप्टेरो लिई कर्णबहादुरलाई हाने, अम्बरबहादुरले हल्ला नगर भनेर लाठीले हाने, धनबहादुरले पनि हिर्काए मैले मुड्कीले हाने, श्यामबहादुरले गुहार भन्दै अम्बरको घरतर्फ गएकालाई पनि मिनबहादुरले हाने, कर्णबहादुर घर पछाडि लुकेका रहेछन् त्यहाँबाट ल्याई मिनबहादुरले पछारी दिए, कर्णबहादुरको मुखबाट रगत आएको थियो, कर्णबहादुर घर तर्फ जाने बाटोमा मरी रहेकाले धनबहादुरलाई बोक भनी मिनबहादुरले बोकाई म समेत भई लाश रहेको ठाउँमा लगी राखेका हुन् । त्यसरी राख्नुको कारण, घर जान्छु भनी गएको, तर बाटामा आफैं पल्टी मरेको भन्ने बनाउनु हो त्यो रात मिटिङ पनि बसेको भन्ने समेत व्यहोराको प्र.नरबहादुरले प्रहरीमा गरेको बयान कागज ।
९. २०४२।५।१३ गते टंकप्रसाद मैले भाडामा लिएको घरमा बसेका थिए । नरबहादुरले मासु पठाई दिएको रहेछ, साझ अम्बरबहादुर, धनबहादुर आए, श्रीमतीले रक्सी मासु दिइन र खाँदै थियौं । श्रीमती बाहिर चुलोमा थिइन । रातको ८ बजे हुँदो हो कर्णबहादुर, श्यामबहादुरको दोकानको अगाडि आए र कर्णबहादुरले श्रीमतीलाई कसको घरमा बसेकी छस् किन बसेकी भन्दै थिए, दिनमा पनि आएर थर्काइस, अहिले पनि थर्काउछस, श्रीमती भन्दै थिइन । अम्बरबहादुर भित्रबाट बाहिर निस्के मैले भित्र झुण्डाई राखेको दाउराले कर्णबहादुरको टाउको र गर्दनमा हाने, अम्बरबहादुरले गजवारले धनबहादुरले छिस्को फलेकले हानेपछि, श्यामबहादुर गुहार भन्दै दौडे, ज्वाई नरबहादुरले पनि कर्णबहादुरलाई हाने, कर्णबहादुरको घरको कर्सामा बसेका रहेछन भनी कान्छी श्रीमतीले भनेको सुनी फेरि समाती कुटपिट गर्दा मरिसकेछन्, ३ तीन जनाको सल्लाहबाट घर जाँदा बाटोमा लडी मरेको भन्ने पार्न, लाशलाई बोकाई खरबारीको पाखोबाट झरी गुडेको भन्ने पाखाको काँडे भन्ज्याङमा राखी आएका हौं । यसलाई गुम गर्न मिटिङ समेत बसेको थियो । यस विषयमा बजारमा कोहीबाट हो हल्ला भएमा कारवाई गर्ने कर्णबहादुरले रक्सी खाई पल्टी मरेको भन्ने पार्ने भनी सल्लाह भयो । रु. २५,०००।– कर्णबहादुरको साथमा थिएन भन्ने समेत व्यहोराको प्र.मिनबहादुरले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।
१०. ०४३।५।१३ गते साझ मेरो लोग्ने मिनबहादुर श्रेष्ठ, अम्बरबहादुर, धनबहादुर समेत मेरो घरमा रक्सी खाँदै बसेका थिए, रातको (८) बजेको समयमा कर्णबहादुर र श्यामबहादुर आई यो घर तिम्रो होइन, किन बसेको आफ्नो घरमा जाउ भने, मैले किन जाने भाडा तिरी बसेको भने । त्यसपछि अम्बरबहादुरले ढिकको फलेकले र लोग्ने मिनबहादुरले दाउरा या डोउ के हो हातमा लिई बाहिर निस्के, अम्बरबहादुरले कर्णबहादुरलाई हाने, निज बाटामा पल्टिए, श्यामबहादुर गुहार भन्दै गए । नरबहादुरले समेत भई चारै जना श्यामबहादुर तर्फ लागे, म घर भित्र नै थिएँ । निजहरुले कर्णबहादुरलाई कुटपिट गरेको हो मैले होइन भन्ने समेत व्यहोराको मीनबहादुरकी श्रीमती सेती भन्ने तीलाकुमारीले प्रहरी समक्ष गरेको बयान कागज ।
११. टंकप्रसादको घर मिनबहादुरले भाडामा लिएका थिए, घर धनीले छोड भनेकोमा नछोडी दिएको कुरा टंकप्रसादले कर्णबहादुरलाई भनेका रहेछन । सोही कारण कर्णबहादुरले तिलाकुमारीलाई घर छाड्न भने ०४२।५।१३ को साँझ अं. ७.३० बजे मिनबहादुरको घरतर्फ आउँदा, दाइ भनी बोलाएकोले गएँ, धनबहादुर बाहिर बसेका रहेछन, तिलाकुमारी भित्र थिइन, म भित्र गई रक्सी मासु खाएँ । श्यामबहादुर र कर्णबहादुरले मिनबहादुरको घर अगाडि आई यो घर कस्को हो भनी सोधे, तीलाले कसको हो थाहा छैन भनिन् । म (साविक पेज नं. ७२४) बाहिर निस्के, कर्णबहादुलाई मीनबहादुर, धनबहादुर नरबहादुरले कुटपिट गरी श्यामबहादुर गुहार भनी कराउँदै हिडे । कर्णबहादुर मरी सकेकाले, लाशलाई फाली आएको भन्ने समेत व्यहोराको अम्बरबहादुरले गरेको बयान ।
१२. ०४२।४।३१ को रातमा मीनबहादुर, नरबहादुर समेतको षडयन्त्रबाट छोरा कर्णबहादुरलाई कर्तव्य गरी मारेकाले निजलाई कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको डिलमायाको जाहेरी ।
१३. दलबहादुर समेत चार (४) जवान भै श्यामबहादुरलाई खोज्न भनी डुम्रे भन्ज्याङ आई पुग्दा रातको १० बजेको थियो । बजारमा मीनबहादुरको घरमा बत्ती बलेको र सोही घरमा श्यामबहादुर सुतेका रहेछन् । मास्टर बालानन्द, देउप्रसाद, मिनबहादुर र निजकी श्रीमतीले श्यामबहादुरले रक्सी खाई लोटेकोलाई यहाँ ल्याई राखेको हो भने, कर्णबहादुरलाई कर्तव्य गरी मारी, श्यामबहादुर समेतलाई कुटपिट गरेको भन्ने कुरा पछि थाहा पाएँ भन्ने समेत व्यहोराको श्यामबहादुर, दलबहादुर र हुमबहादुर समेतको कागज ।
१४. ०४२।५।१३ गते कर्णबहादुरले रक्सी खाई हिडेका थिए राती (८) बजेको समयमा मीनबहादुरको घर बाहिर हल्ला भएको सुनी निस्की हेर्दा, कर्णबहादुर हडबडाउँदै हिडेका रहेछन्, के भयो भन्दा मिनबहादुर समेतले कुटपिट गरे भने म समेत भै निजको पाखुरामा समाती मीनबहादुरको कर्सामा लगी छाडी दियौं, म आफ्नो दोकानमा आएँ । कर्णबहादुरलाई मीनबहादुर समेतले कर्तव्य गरी मारी, लाश फाली दिएका हुन् भन्ने लाग्छ भन्ने समेत व्यहोराको यमकला पराजुली र अंबिका पराजुलीको कागज ।
१५. ०४२।५।१३ को साँझ सुती रहेको अवस्थामा गुहार भन्ने आवाज सुनी, बाहिर निस्की हेर्दा, श्यामबहादुरलाई मीनबहादुरले कुटपिट गर्दै रहेको र कर्णबहादुर कहाँ छ भनी खोजी हिडेंको र पछि निजलाई घिसार्दै श्यामबहादुर भएका ठाउँमा ल्याई दुबैलाई एकै ठाउँमा सुताएको देखेकी हुँ, कर्णबहादुरको मृत्यु कर्तव्यबाट भएको हो भन्ने समेत व्यहोराको जैतुन मियाले गरेको कागज ।
१६. ०४२।५।१३ गते साँझ श्यामबहादुरको गुहारको आवाज सुनी बाहिर आउँदा मीनबहादुरले कर्णबहादुरलाई कुटपिट गर्दै गरेको देखें । सो रात मिटिङ भएको थियो । कर्णबहादुरको मृत्यु कुटपिटकै कारणबाट भएको हुनुपर्दछ भन्ने लाग्छ भन्ने दमौति मगर्नीको कागज ।
१७. ०४२।५।१३ गतेको रात मीनबहादुरले कर्णबहादुर र श्यामबहादुरलाई कुटपिट गरेको देखेको, सोही रात मिटिङ समेत बसेको थियो । कर्णबहादुरको मृत्यु कुटपिटकै कारणबाट भएको भन्ने समेत व्यहोराको गोपीकुमारीको बयान ।
१८. मीनबहादुरकै कर्तव्यबाट कर्णबहादुरको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने मनकाजी गुरुङ, कर्णबहादुरलाई मीनबहादुर समेत भई कर्तव्य गरी मारेका हुन्, लाश को को भई लगे थाहा छैन भन्ने नरबहादुर, मिनबहादुरले कर्णबहादुरलाई कुटपिट गरेको देखेको हुँ भन्ने देउप्रसाद गुरुङ, कर्णबहादुरलाई मीनबहादुर समेतले कर्तव्य गरी मारेका हुन् भन्ने मास्टर बालानन्द डुुम्रे र मैले कर्णबहादुरलाई मार्ने षडयन्त्र गरेको होइन भन्ने समेत व्यहोराको नरबहादुर पराजुलीको पृथक, बयान कागज ।
१९. ०४२।५।१३ गते डुम्रे भन्ज्याङमा कर्णबहादुरलाई अभियुक्त मीनबहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ, सेती भन्ने तिलाकुमारी समेतले हतियार समेत प्रयोग गरी कुटपिट गरी कर्तव्य गरी मारेका हुन् भन्ने समेत व्यहोराको अधिकांश सरजमीनको भनाई, अम्बरबहादुर श्रेष्ठ धनबहादुर दमै समेतले कुटपिट गरी कर्तव्यबाट मारेका भन्ने केही व्यक्ति र कर्णबहादुरलाई मार्ने षडयन्त्र गर्ने नरबहादुर पराजुली हुन् भन्ने केहीको भनाई (साविक पेज नं. ७२५) र अम्बरबहादुर, धनबहादुर समेतले कुटपिट गरेको होइन भन्ने केही र कर्णबहादुरलाई मार्नमा नरबहादुरले षडयन्त्र गरेको शंका लाग्दैन भन्ने केही व्यक्ति, कर्णबहादुर जग्गा किन्न भनी हिडेका थिए भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
२०. मिसिल संलग्न प्रमाण कागजातबाट धार भएको हतियार दाउले हानी कर्णबहादुरलाई कुटपिट कर्तव्य गरी मार्ने कार्य मीनबहादुरले नै गरेको देखिन आएकाले निज उपर ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुन, अभियुक्त सेते भन्ने धनबहादुर दमै, नरबहादुर श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठको हकमा फलेक लाठा मुक्काले हानेको देखिँदा निजहरुलाई ऐ.को १३(३) नं. अनुसार जन्म कैद हुन र अभियुक्त सेती भन्ने तिलाकुमारी श्रेष्ठको हकमा वारदात भएको ठाउँमा मौजूद रही हेरी रहेको, साथै मार्ने संयोग पारी दिएको देखिएकोले ऐ.को १७ नं. (२) अनुसार सजाय हुन र मृतकको साथमा रहेको रु. २५,०००।– अभियुक्त मीनबहादुर, नरबहादुर श्रेष्ठ, धनबहादुर दमै, अम्बरबहादुर श्रेष्ठबाट जाहेरवाली दिलमायालाई दिलाई भराई दिने, नरबहादुर पराजुलीको हकमा ऐ.को १६ नं. र माष्टर वालानन्द डुम्रेलाई नरबहादुर गुरुङ, देउप्रसाद गुरुङ, नारायण सिंले वारदातको जाहेर नगरी दबाउन खोजेको देखिँदा ऐ.को २२ नं. को कसूर गरेकाले ऐ.ऐ.को २५ नं. अनुसार सजाय हुन साथै फरार रहेका सेते भन्ने धनबहादुरको हकमा कानुन बमोजिम हुन भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन दावी ।
२१. ०४२।५।२७ मा प्रहरी समक्ष भएको बयान कागज स्वइच्छा पूर्वकको होइन । ०४२।५।१३ को दिन रात मीनाकुमारीको घर शिसापानी गा.पं. वार्ड नं. ३ मा बसेको थिएँ । दिदीको घरमा ऐ.११ गते गई १६ गते मात्र घरमा आएको छु । सो दिन मीनबहादुर, तिलाकुमारी कहाँ थिए, जानकारी भएन मेरो कसैसंग रिसइवी थिएन कर्णबहादुरलाई को कसले कुटपिट गरी मारे थाहा छैन । मैले कुटपिट गरी मारी लाश फाल्नमा समेत सघाउ पुर्याएको छैन । मीनबहादुरले आफ्नो बयानमा मेरो नाम लेखी किन पोल गरे निजै जानुन् । बरामद भै आएको दाँउ र रुमाल कसको हो, मलाई थाहा छैन म निर्दोष छु, सफाई पाउँ भन्ने समेत व्यहोराको नरबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
२२. टंकप्रसादको घरमा भाडामा बसेको हुँदा निजलाई चिन्दछु । ०४२।५।११ गते देखि पर्वत जिल्ला भन्ज्याङ बस्ने गंगाप्रसादको घरमा गई ऐ.१५ गते सम्म त्यहीं बसी ऐ.१६ गते मात्र घरमा आएको थिएँ । ०४२।५।१३ गते म गाउँ घरमा नै नभएको नरहेको, अन्य अभियुक्तहरु को कहाँ थिए, मलाई थाहा नभएको, कर्णबहादुरलाई मैले कुटपिट गरी मारे मराएको होइन, छैन बरामद भई आएको दाउँ र रुमाल कसको हो थाहा छैन । प्रहरी समक्ष भएको बयान स्वइच्छापूर्वकको होइन, प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुन पर्ने नहुँदा अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको मीनबहादुर श्रेष्ठले अदालत समक्ष गरेको बयान कागज ।
२३. पति मीनबहादुर श्रेष्ठ पर्वतमा मामाको घरमा गएका थिए, म दोकानमा रहेको अवस्थामा ०४२।५।१३ गते राती कर्ण बहादुर र श्यामबहादुरले रक्सी खाई झगडा गरेको भन्ने कुरा सुनेको थिएँ । बरामद भएको दाउँ र रुमाल हाम्रो घरबाट बरामद भएको होइन, कर्णबहादुरलाई पति मीनबहादुरले कुटपिट गरेको भन्ने व्यहोरा मैले प्रहरीमा बयानमा नलेखाएको, किन त्यस्तो व्यहोरा लेखे मलाई थाहा छैन । कर्णबहादुर लडेर मरेका हुन् भन्ने कुरा सम्म सुनेको हुँ, मैले समेत कुटपिट गरेको होइन, अभियोग दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको तीलकुमारीले अदालत समक्ष गरेको बयान ।
२४. प्रहरी समक्ष भएको बयान कागज स्वइच्छापूर्वक भएको होइन, २०४२।५।१२ गते नै भैरहवाको पक्लीहवा माइली आमाको घरमा गएको थिएँ । १६ गते (साविक पेज नं. ७२६) मात्र घरमा आएँ । कर्णबहादुरलाई कोले कसरी किन मारे मलाई थाहा छैन । तसर्थ अभियोग प्रतिवेदन दावीबाट, निर्दोष भएकोले सफाई पाउँ भन्ने समेत व्यहोराको अम्बरबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
२५. ०४२।५।१३ गते बेलुका ८.३० बजेको समयमा श्यामबहादुरलाई मीनबहादुरले अम्बरबहादुरको बरण्डामा कुटपिट गरेको देखेको हुँ । त्यसो नगर्न भन्दा मीनबहादुरले मलाई नै झम्टिन आएकोले म घर गएँ । वारदातको दिन कर्णबहादुरलाई मीनबहादुरले कुटपिट गरेको भन्ने सुनेको, कर्णबहादुरलाई मीनबहादुरले मारेकोमा शंका लाग्दछ । मैले अपराध र अपराधीलाई दबाउनको लागि कुनै कारवाई गरेको नहुँदा, प्रतिवेदन दावी बमोजिम सजाय हुन पर्ने नभई सफाई पाउँ भन्ने समेत व्यहोराको नारानसिं गुरुङले अदालत समक्ष गरेको बयान ।
२६. ०४२।६।१३ मा प्रहरीले तहकिकातको सिलसिलामा गरेको बयान, मेरो स्वइच्छापूर्वकको हो । मैले अपराध र अपराधी दबाउने, छिपाउने कुनै काम कारवाही गरे गराएको छैन । प्रतिवेदन दावी बमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको देउप्रसाद गुरुङले अदालतमा गरेको बयान।
२७. वारदातको सम्बन्धमा २०४२।५।१३ गते बेलुका मिटिङ बसेको होइन, २०४२।५।१३ गते अम्बरबहादुरलाई देखेको थिइन । ०४२।५।१३ गते राती अ. ८.३० बजे मीनबहादुर श्रेष्ठले कर्णबहादुरलाई केही चिजले हिर्काएको देखेको हुँ । दाउँ दाउरा के हो यकिन गर्न सकिएन । मीनबहादुरको साथमा नरबहादुर समेत थिए । निजहरु बाहेकलाई मैले चिनेको छैन । कर्णबहादुरलाई मार्ने अपराधी र अपराध दबाउन खोजेको होइन, प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको बालानन्द डुम्रेले अदालत समक्ष गरेको बयान ।
२८. ०४२।५।१२ गते म पोखरा ग.अं.अस्पताल राम मन्दीर अगाडि होटलमा बास बसेको थिएँ । भोलिपल्ट परिवार नियोजनको अप्रेशन गरेको सोको प्रमाण समेत पेश गरेको छु । मैले कर्णबहादुरलाई मार्ने मराउने कुनै षडयन्त्र समेत गरेको छैन भन्ने समेत व्यहोराको प्र.नरबहादुर पराजुलीले अदालतमा गरेको बयान ।
२९. ०४२।५।१३ गते बेलुका अ.८ बजे मीनबहादुरकी श्रीमती तिलाकुमारीले आफ्नो दोकान सामू दिउसो तैले के भनिस् भनी कर्णबहादुरलाई भनेकी थिइन् त्यत्तिकैमा मीनबहादुर आई कुटेको आवाज सुने । कर्णबहादुरले मरेनी भनेको आवाज सुनी आई हेर्दा, कर्णबहादुरलाई कुटपिट गरेको सुनेको र यसो नगर्न भन्दा, तँ को होस भने, त्यसपछि म घर तर्फ आएँ । कर्णबहादुरलाई मीनबहादुर समेतले कुटपिट गरेको हो । मैले मृतकलाई कुनै प्रकारले कुटपिट गरेको होइन छैन, प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको नरबहादुरले शुरु अदालत समक्ष गरेको बयान कागज ।
३०. यसमा मीनबहादुरले जोखिम हतियारले हानी कुटपिट गरी कर्णबहादुरको मृत्यु भएको देखिन आएकोले निज प्र. मीनबहादुरलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्म कैद हुने, प्र.नरबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १७ (३) अनुसार तजबिजी कैद वर्ष (३) हुने ठहर्छ ।
३१. माष्टर बालानन्द डुम्रे, नरबहादुर गुरुङ देउप्रसाद, नारायण गुरुङ समेत (४) जनालाई ज्यान मारी सकेको कुरा चाल पाई अपराध दबाउन खोजेको देखिँदा ऐ.को २५ नं. बमोजिम जनही रु. २०।– का दरले जरिवाना हुन्छ । प्र. अम्बरबहादुर, तिलाकुमारी, नरबहादुर पराजुली समेतले दावीबाट सफाई पाउने ठहर्छ, प्र. सेते भन्ने धनबहादुर दमाई फरार रहेकाले निजको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने र कर्णबहादुरको साथमा रहेको रु. २५,०००।– दिलाई भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको स्यांजा जिल्ला अदालतको फैसला । (साविक पेज नं. ७२७)
३२. मिसिल संलग्न प्रमाणको मूल्यांकन गरी प्रतिवेदन दावी बमोजिम नै प्रतिवादीहरुलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फको पुनरावेदन ।
३३. सबूद प्रमाणको अभावमा नै मलाई जन्म कैदको सजाय हुने ठहराएको जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी अभियोग प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको मीनबहादुर श्रेष्ठको तर्फबाट परेको पुनरावेदन ।
३४. जिल्ला अदालतबाट ज्यानसम्बन्धी महलको १७(३) नं. बमोजिम कैद वर्ष (३) को सजाय गर्ने गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको नरबहादुर श्रेष्ठको पुनरावेदन ।
३५. मलाई ज्यानसम्बन्धी महलको २५ नं. अनुसार सजाय गर्ने गरेको जिल्ला अदालतको इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवेदन दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको बालानन्द डुम्रेको पुनरावेदन जिकिर ।
३६. यसमा प्रतिवादी मध्येको मीनबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्म कैद, नरबहादुर श्रेष्ठलाई ऐ.को १७(३) नं. बमोजिम कैद वर्ष (३), बालानन्द डुम्रेलाई ऐ.को २५ नं. बमोजिम जरिवाना रु. २०।– गर्ने गरेको र प्रतिवादीहरु तीलाकुमारी, अम्बरबहादुर, नरबहादुरलाई सफाई दिने ठहराएको जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने गण्डकी अञ्चल अदालतको फैसला । स्याङजा जिल्ला अदालतको त्रुटिपूर्ण फैसलालाई सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मिलेको नहुँदा बदर गरी अभियोग प्रतिवेदन दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मीनबहादुर श्रेष्ठको तर्फबाट र प्रतिवादीहरु तीलाकुमारी अम्बरबहादुर, नरबहादुर, बालानन्द, नरबहादुर समेतलाई प्रतिवेदन दावी बमोजिम सजाय नगरेको जिल्ला अदालतको फैसलालाई सदर गरेको गण्डकी अञ्चल अदालतको फैसला मिलेको नहुँदा, दावी बमोजिम नै सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फबाट परेको पृथक पृथक पुनरावेदन ।
३७. यसमा मृतक कर्णबहादुर काफ्लेलाई कर्तव्य गरी मारेकोमा मुख्य अभियुक्त मीनबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(१), सेते भन्ने धनबहादुर दमाई, नरबहादुर श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठ, जना ३ लाई ऐ.को १३(३), नरबहादुर पराजुलीलाई ऐ.को १६ नं. तीलकुमारी श्रेष्ठलाई ऐ.को १७(२) र बालानन्द डुम्रे, नरबहादुर गुरुङ, देउप्रसाद गुरुङ, नारायण सिं गुरुङलाई ऐ.को २५ नं. बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन रहेकोमा प्रतिवादी मध्येका सेते भन्ने धनबहादुर दमाईले शुरु म्याद नै गुजारी बसेकोबाट निजको हकमा मुलतवी रहेको देखिन्छ ।
३८. मीनबहादुर श्रेष्ठलाई दावी बमोजिम नै ज्यानसम्बन्धी महलको १३(१) र नरबहादुर श्रेष्ठलाई ऐ.को १७(३) बमोजिम कैद वर्ष (३) र प्रतिवादी बालानन्द डुम्रे, नरबहादुर, देउप्रसाद र नारायण सिंलाई ऐ.को २५ नं. बमोजिम रु. २०।– जरिवाना गर्ने, प्रतिवादी तिलाकुमारी, अम्बरबहादुर, नरबहादुरलाई आरोपित कसूरबाट सफाई दिने गरी शुरु तर्फबाट फैसला भएको देखिन्छ ।
३९. पुनरावेदन जिकिरको हकमा हेर्दा मीनबहादुर, कर्णबहादुर बीच झगडा भएको भन्ने कुरामा कुनै विवाद नरहेको कर्णबहादुरको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरा संकलित प्रमाणबाट पुष्टि भएको, कर्णबहादुरलाई कर्तवय गरी मारेको कुरामा प्रतिवादी मीनबहादुर सहमत नै रहेको, अन्य संकलित प्रमाणबाट पनि कर्णबहादुरको मृत्यु मीनबहादुरकै कर्तव्यबाट भएको भन्ने खुल्न आएकोले निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गर्ने गरेको शुरु इन्साफ (साविक पेज नं. ७२८) लाई सदर गरेको अञ्चल अदालतको फैसला मनासिब छ । मीनबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
४०. वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरको सम्बन्धमा हेर्दा नरबहादुर श्रेष्ठ वारदात स्थलमा उपस्थित रहेको भए पनि निजले कुनै चोट कर्णबहादुरलाई छोडेको भन्ने कुरा खुल्न नआएको अन्य प्रतिवादीहरुको हकमा पनि संकलित प्रमाणबाट निजहरु उपरको दावी पुग्न सक्ने स्थिति अवस्था नदेखिँदा, जिल्ला अदालतको इन्साफलाई सदर गरेको अञ्चल अदालतको फैसला मिलेकै देखिँदा इन्साफ मनासिब ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर समेत पुग्न सक्दैन भन्ने समेत व्यहोराको प.क्षेत्रीय अदालतको फैसला ।
४१. नरबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(३) नं. को सजायको माग दावी रहे भएकोमा ऐ.को १७ (३) नं. अनुसार कैद वर्ष (३) को सजाय गर्ने गरेको, नरबहादुर पराजुलीलाई १६ नं. को दावी लिएकोमा सफाई दिएको, त्यस्तो प्र.अम्बरबहादुर श्रेष्ठ, तीलाकुमारी, बालानन्द डुम्रे समेतलाई दावी बमोजिम सजाय गर्ने नगरेको त्रुटिपूर्ण फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नहुँदा बदर गरी दावी बमोजिम नै सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आएको देखिन्छ भने,
४२. सबूद प्रमाणको मूल्यांकन नै नगरी, प्रतिवेदन वादी बमोजिम सजाय नगर्ने गरेको जिल्ला अदालतको फैसलालाई सदर गरेको अञ्चल अदालतको फैसला र त्यसलाई नै मनासिब ठहर गरेको क्षेत्रीय अदालतको फैसला प्रत्यक्ष त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग प्रतिवेदन दावीबाट फुर्सद पाउँ भनी कारागार शाखा मार्फत यस अदालतमा मीनबहादुर श्रेष्ठबाट पर्न आएको पुनरावेदन ।
४३. प्रतिवादी मध्येका मीनबहादुर श्रेष्ठका हकमा ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्म कैदको सजाय हुने ठहर भएकाले साधकको लागि पेश भई आएको देखिन्छ ।
४४. यसरी नियम बमोजिम पेश भई आएकोमा वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले कर्णबहादुर काफ्लेको मृत्यु कर्तव्यबाट भएकोमा विवाद नरहेको, बरामद भई आएको दाउले हानी कर्णबहादुरलाई मारेको कुरामा कसैको असहमति नरहेको, पुनरावेदनको विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरु उक्त वारदातमा सम्लग्न रहे भएको कुरा संकलित प्रमाणबाट पुष्टि भएकोले निजहरुलाई अभियोग प्रतिवेदन दावी बमोजिम नै सजाय हुनु पर्नेमा नगरेको क्षेत्रीय अदालत समेतको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी दावी बमोजिम सजाय गरी पाउन विपक्षीहरुलाई झिकाउने आदेश हुनुपर्दछ भनी बहस जिकिर प्रस्तुत गर्नु भयो भने, पुनरावेदक मीनबहादुर श्रेष्ठका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले यसमा वारदातको चस्मदिद कोही छैनन्, भएका सबैलाई प्रतिवादी बनाएको छ । लाश भीरबाट लडेको अवस्थामा भेटिएको छ । कर्णबहादुरलाई मार्नु पर्ने सम्मको कुनै रिसइवी छैन, षडयन्त्र भए गरेको भन्ने जिकिर पनि देखिँदैन, यसबाट भवितव्यको अवस्थाको गुन्जायस छ । सबूद प्रमाणको न्यायिक मूल्यांकन हुनसकेको छैन यस्तो अवस्थामा मीनबहादुरलाई ज्यानसम्बन्धीको १३(१) नं. बमोजिमको कठोर सजाय गर्नु न्यायोचित नहुँदा क्षेत्रीय अदालत समेतको इन्साफ बदर हुन विपक्षीलाई झिकाइनु पर्दछ भनी प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।
४५. प्रस्तुत मुद्दामा प.क्षे.अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ भनी हेरी निर्णय दिन पर्ने हुन आयो ।
४६. निर्णय तर्फ हेर्दा यसमा प्रतिवादी मध्ये नरबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धी महलको १३(३) नं. को सजायको माग दावी रहेकोमा अदालतबाट ऐ.को १७(३) नं. अनुसार कैद वर्ष ३ को सजाय ठहर भएको अन्य प्रतिवादीहरु नरबहादुर पराजुली, तीलाकुमारी, अम्बरबहादुरलाई सफाई दिएको (साविक पेज नं. ७२९) मीनबहादुर श्रेष्ठबाट बिगो भरी नपाएको, बालानन्द डुम्रेलाई भएको सजाय नपुग भएकोले दावी बमोजिम सजाय नगरेको क्षेत्रीय अदालत समेतको इन्साफ निजहरुको हकमा मिलेको नहुँदा प्रतिवेदन दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर तर्फ हेर्दा कर्णबहादुरको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट देखिन्छ, २०४२।५।१३ को वारदातमा प्रतिवादी नरबहादुर श्रेष्ठको उपस्थिति नरहेको नभएको भन्ने कुरा प्रमाणित हुन नसकेको तर निजले मृतक कर्णबहादुर उपर कुनै प्रकारले चोट छाडेको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट देखिन नआएको, गोपि शुरु जि.अ. मा प्रस्तुत घट्नाको चस्मदिदको रुपमा रहेका हुनाले नरबहादुरको वारदातमा उपस्थिति रहेको तर कुटपिटको कार्यमा संलग्न नरहेको भनी लेखाई दिएकोबाट पनि, निज नरबहादुर उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्न कानुन न्यायसंगत हुँदैन ।
४७. नरबहादुरले मृतकलाई चोट छोडेको भन्ने पुष्टि शंकारहित रुपबाट वादी पक्षबाट प्रस्तुत हुनसकेको नदेखिएकोले निजलाई ज्यानसम्बन्धी महलको १७ (३) नं. बमोजिम कैद सजाय गर्ने गरेको कानुनसंगत नै देखिन्छ ।
४८. जहाँसम्म सफाई दिएको प्रतिवादी उपरको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर छ, त्यसतर्फ हेर्दा वारदातमा निजहरुको संलग्नता रहेको, निजहरुले वारदात गर्न गराउनमा कुनै प्रकारको सहयोग गरे गराएको भन्ने सम्म पनि मिसिल संलग्न प्रमाणहरुबाट देखिन नआएकोले प्रतिवादीहरु तीलाकुमारी श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठ, नरबहादुर पराजुली समेतलाई सफाई दिने ठहराएको र बिगोको दावीको हकमा मृतकको साथमा रुपैयाँ रहेको भन्ने कुरा पुष्टि हुनसक्ने अवस्था देखिन नआउँदा यस तर्फको वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर समेत पुग्न सक्दैन ।
४९. पुनरावेदक प्रतिवादी मीनबहादुर श्रेष्ठको पुनरावेदन जिकिरतर्फ हेर्दा कर्णबहादुरको मृत्यु कर्तव्यबाट भएकोमा विवाद नरहेको मृतक र यी पुनरावेदक प्रतिवादी मीनबहादुर श्रेष्ठ बीच रातको समयमा कुटपिट भएको भन्ने कुरा संकलित प्रमाणबाट खुल्न आएको, बरामद भई आएको दाँउको प्रहारबाट अत्यधिक रक्तश्राव भएको, सोही चोटबाट कर्णबहादुरको मृत्यु भएको भन्ने कुरा लाश परीक्षण प्रतिवेदनबाट देखिएको छ । निज पुनरावेदक प्रतिवादी अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सावित छन्, तर अदालत समक्ष बयान गर्दा अभियोग उपर इन्कार देखिन्छन्, सो इन्कारी पुष्टिको शंकारहित प्रमाण पेश हुन गर्नसकेको पाइदैन ।
५०. कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन । इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनुपर्दछ । प्रस्तुत वारदातमा पुनरावेदक प्रतिवादीले आफ्नो सफाईको सबूदहरु पेश दाखेल गर्नसकेको नपाइएको, संकलित प्रमाणबाट निजकै चोट प्रहारबाट कर्णबहादुरको मृत्यु हुनगएको देखिन आउँदा निजलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरेको जिल्ला अदालतको फैसलालाई सदर गरेको क्षेत्रीय अदालतको इन्साफ र सो लाई मनासिब ठहर गरेको क्षेत्रीय अदालतको फैसला कानुन र न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठर्हछ । पुनरावेदक प्रतिवादी मीनबहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
५१. साधकको हकमा पुनरावेदन परी आएको र सोही पुनरावेदनबाट प्रस्तुत मुद्दामा साधकको सम्बन्धमा समेत निर्णय भइसकेको हुँदा सो को लगत कट्टा गरी दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.मोहनप्रसाद शर्मा
इति सम्वत् २०४८ साल माघ १३ गते रोज २ शुभम् ।
(साविक पेज नं. ७३०)