निर्णय नं. ४४०७ – मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ ।
निर्णय नं. ४४०७ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४८ सालको रि.नं. १६३८...
निर्णय नं. ४४०७ ने.का.प. २०४८ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४८ सालको रि.नं. १६३८
आदेश भएको मिति: २०४८।८।२९।१ मा
निवेदक : जिल्ला कार्यालय कारागार सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेको फदुमो अलि अहमदका हकमा दिपककुमार बुढाथोकी
विरुद्ध
विपक्ष : त्रिभुवन विमानस्थल भन्सार कार्यालयसमेत
मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ ।
(१) निवेदिकाले आफ्नो शरिरको भित्री भागमा बे्रसियर र अण्डरवियरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदिकाको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम चोरी पैठारीको परिभाषा भित्र पर्ने देखिन आएको छ । अतः भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) को अभियोग लगाएको मिलेन भन्ने बहस जिकिर संग सहमत हुन नसकिने ।
(प्रकरण नं. १३)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी र विद्वान अधिवक्ता श्री आशिकराम कार्की
विपक्ष, वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात (साविक पेज नं. ७१३)
अवलम्वित नजीर : ने.का.प. २०४५, अंक ६, पुष्ठ ५६७
आदेश
न्या.सुरेन्द्रप्रसाद सिंह
१. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. म निवेदिकालाई भन्सार चोरी पैठारी मुद्दामा भन्सार ऐन, २०१९ को दफा ३४ को (क) बमोजिमको अभियोग अन्तर्गत मुद्दा चलाई हाल मुद्दाको पूर्पक्षको सिलसिलामा थुनामा राखिएको कुरा मेरो कानुन व्यवसायीले ०४८।३।२५ मा नक्कल सारी लिएपछि निजले मसंग एकै मुद्दाका सिलसिलामा सदरखोरमा थुनामा रहेकी हमी अलि अहमदलाई बताएपछि निजले मलाई बताउँदा ज्ञात हुन आयो । म सन् १९९१ अप्रिल २७ तारेखका दिन अर्थात मिति २०४८।१।१४ गते थाई इन्टरनेशनल विमान सेवाको बैंकक काठमाडौं उडान सेवाबाट काठमाडौं आएकी हुँ । सोमालियामा भएको अशान्त स्थितिको कारणले म विदेशिन बाध्य भएकी र सोमालियाको मुद्राको मूल्य अमेरिकी डलरको तुलनामा ज्यादै नै कम भई मौद्रिक सम्पत्ति या त बैंकमा जम्मा गर्नु पर्ने या त सुनमा परिवर्तन गर्नु पर्ने भई आफ्नो व्यक्तिगत सम्पत्तिलाई सुरक्षित रुपमा आफैंसंग राख्नका लागि सुनमा परिवर्तन गरी सोही सुन लिई नेपाल आउँदा विपक्षी नं. १ द्वारा जफत गरिएको हो । म सोमालियन भाषा भन्दा अरु भाषा नजान्ने र प्रज्ञापनपत्र अंग्रेजी भाषामा उपलब्ध गराइएकोले सो भर्ने असमर्थता जाहेर गरी आफूसंग भएको सुन ३ किलो २० ग्राम र अमेरिकी डलर १२०० समेत देखाएको र स्वयं विपक्षी नं. १ का कर्मचारीद्वारा प्रज्ञापनपत्र भरी मलाई सही गर्न लगाएबाट मैले देखाएका सामानको वास्तविक विवरण उल्लेख भएको भन्ने विश्वासमा परें । मैले भन्सार ऐन, २०१९ एवं आर्थिक ऐन, २०४४ बमोजिम लाग्ने भन्सार महसूल तिरी उक्त सुन ल्याउने उद्देश्यले भन्सार ऐन, २०१९ को दफा ५ बमोजिमको दायित्व पूरा गरेको हुँ । विपक्षीले भन्सार ऐन, २०१९ को दफा २१, मुलुकी ऐन अ.बं. को १२१ नं. एवं नेपाल अधिराज्यको संविधानको धारा १४(५) को प्रकृयाको पालना नगरी मलाई थुनामा राखी मेरो वैयक्तिक स्वतन्त्रताको अपहरण गर्न मिल्ने होइन । मलाई नेपाली भाषामा लेखिएको बयान कागजमा सहीछाप गराइएबाट सो कागजमा लागेको मेरो सही स्वेच्छा विपरीत मात्र नभई मलाई प्रतिवाद गर्न समेत अप्ठ्यारो पार्ने बदनियत भएको प्रष्ट छ । म उपर लगाइएको अभियोगको कुनै जानकारी मैले बुझ्ने गरी हालसम्म पनि मलाई उपलब्ध गराइएको छैन ।
४. यसर्थ उचित प्रकृयाको अभावमा प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल विपक्षीहरुद्वारा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ (१), १४(१), १४(५), भन्सार ऐन, २०१९ को दफा २६, अ.बं. १२१ नं. समेतको प्रतिकूल मेरो वैयक्तिक स्वतन्त्रता अपहरण भएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी मेरो वैयक्तिक स्वतन्त्रताको संरक्षण गरिपाउँ भन्ने समेत रिटनिवेदन ।
५. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति २०४८।४।८।४ को आदेश ।
६. मिति २०४८।१।१४ गतेका दिन थाई इन्टरनेशनल एअरलाइन्सको फ्लाइट नं. टि.जि. ३११ बैंकक काठमाडौं उडानबाट काठमाडौं आएका सोमालिया निवासी पासपोर्ट नं. ए ०१३७०८२ को फादुमो अलि अहमदको भन्सार आगमन कक्षमा शंका लागी शरीर चेक गर्दा ब्रेसियर भित्र कालो टेपले बेरिएको र थैली भित्र लुकाई राखेको २ प्याकेट र अण्डरबीयर भित्र कालोटेपले बेरिई लुकाई राखेको १ प्याकेट समेत फेला पारी खोली (साविक पेज नं. ७१४) हेर्दा जम्मा सुन टुक्रा २५ का तौल ३–०२०–० (तीन किलो बीस ग्राम) हुन आएको भन्ने बरामदी मुचुल्का र चोरी पैठारी गर्ने उद्देश्यले लुकाई छिपाई ल्याएको उल्लेखित सुन सहित अभियुक्तलाई भन्सार ऐन बमोजिम कारवाहीको लागि पेश गरेको प्रतिवेदन प्राप्त हुन आएकोले २०४८।१।१५ मा अभियुक्तको बयान लिंदा पक्राउ परेको सुन मेरो हो, भन्सारमा घोषणा गर्नु पर्छ भन्ने थाहा थिएन भन्ने समेत व्यहोराको बयान दिएकोले पूर्पक्षका निमित्त तारेखमा राख्न अ.बं. ११८ नं.को देहाय ५ दफा बमोजिम नगद धरौट लिनु पर्ने भएकोले पछि फैसला हुँदा ठहरे बमोजिम हुने गरी हाल भन्सार ऐन, २०१९ (संशोधन सहित) को दफा ३४ को उपदफा ८(क) अनुसार हुन सक्ने बिगो बापतको जरिवाना रकम रु. १५,५३,५२० र कैद बापतको रु. ४५,०००।– समेत जम्मा रु. १५,९८,५२० धरौट माग गरिएकोमा उक्त नगद धरौट दिन सक्दिन भनी लेखी दिएकोले भन्सार ऐन, २०१९ को दफा १७ को उपदफा (३) अनुसार ‘ख’ श्रेणीको सिधा खान पाउने गरी हिरासतमा राखी कारवाही गर्ने मिति २०४८।१।१५ को आदेशानुसार हिरासतमा रहेको हो । प्रज्ञापनपत्र जहाजमा नै यात्रुहरुलाई सम्बन्धित एअरलाइन्सहरुले उपलब्ध गराउने र यात्रुहरुले आफूले घोषणा गर्नु पर्ने भए गरी दिने हुँदा भन्सारका कर्मचारीहरुले भर्ने भन्ने प्रश्न नै उठ्दैन । कुनै पनि विदेशी यात्रुले भन्सार तिरी सुन पैठारी गर्नसक्ने कानुनी प्रावधान नभएकोले भन्सार तिरी सुन ल्याउने उद्देश्यले भन्सार ऐन, २०१९ को दफा ५ को दायित्व पूरा गरेको भन्न मिलेन । रिट निवेदक अंग्रेजी बोल्न, लेख्न पढ्न जान्ने र तदनुसार अंग्रेजीमा उल्था गरी बताइएको र बुझेर नै निजले बयानमा, आदेशमा, थुनुवा पूर्जीमा अंग्रेजीमा सही गर्नु भएको छ । अतः रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफ ।
७. वादी श्री ५ को सरकार प्रतिवादी सोमालिया निवासी फदुमा अलि अहमद समेत भएको सुन चोरी पैठारी मुद्दामा पक्राउ परेका अभियुक्तहरु त्रि.वि. भन्सार कार्यालय गौचरको प.सं. ०४७।४८ च.नं. ३६४, मिति ०४८।१।१४ को पत्रसाथ थुनामा राख्न ल्याएको, त्रि.वि. भन्सार कार्यालयको च.नं. २३०४ मिति ०४८।१।१५ को पत्र अनुसार वयान लिनको लागि बुझी लगेको र वादी श्री ५ को सरकार प्रतिवादी फदुमा अलि अहमद भएको सुन ३–०२०–० (तीन किलो २० ग्राम) भन्सार चोरी पैठारी मुद्दामा साविति भै लेखिएकोले निजलाई हुन सक्ने जरिवाना कैद बापतको नगद धरौटी दिए तारेखमा राखी पूर्पक्ष गर्ने नदिए हिरासतमा राखी पूर्पक्ष गर्ने भन्ने आदेश भएकोमा धरौटी दाखिला गर्न नसकी हिरासतमा राख्नु पर्ने भएकोले “ख” श्रेणीको सिधा खुवाई हिरासतमा राखी दिनु हुन भनी त्रि.वि. भन्सार कार्यालय गौचरको च.नं. २३११ मिति ०४८।१।१५ को पत्र साथ बुझाउन ल्याएको हुँदा निज फदुमा अलि अहमदलाई थुनामा राखिएको व्यहोरा अनुरोध छ भन्ने समेत प्रत्यर्थी जिल्ला प्रशासन कार्यालय सदर खोर शाखाको लिखितजवाफ ।
८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री सुरेन्द्र भण्डारी र श्री आशिकराम कार्कीले निकासी पैठारी ऐन, २०१३ अन्तर्गत सूचना प्रकाशित गरी २०४१ सालमा सुनलाई प्रतिबन्धित बनाएको हुँदा सुन निकासी पैठारीको कार्य निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ५ अन्तर्गत निषेधित र दण्डनीय भई सोही ऐन अन्तर्गत मात्र कारवाही हुन सक्ने हो । यसरी निषेधित वा नियन्त्रित सामान, जसमा भन्सार कर तिर्न चाहेर पनि तिर्न सकिन्न भने त्यस्तो कसूरमा भन्सार चोरी निकासी पैठारी मुद्दा चल्न नसक्ने हुँदा भन्सार ऐनको दफा ३४ को (८)(क) आकर्षित हुने अवस्था छैन । यदि सुन पैठारी गर्नु कानुनसंगत भएमा र भन्सार तिर्न सकिने वस्तु भएमा मात्र उक्त ३४(८)(क) आकर्षित हुने हो । कसैले मनाही माल वा वस्तु पैठारी गरेमा वा प्रज्ञापन पत्रमा (साविक पेज नं. ७१५) उल्लेख नगरेमा ३४(१०) को कसूर हुन्छ । तसर्थ सुन पैठारी गरेको कार्य भन्सार तिर्न नपाइने कार्य मान्ने हो भने नि.पै.नि. ऐन अन्तर्गत अभियोग नलगाई थुनामा राख्न मिल्दैन । र यदि कर तिर्नु पाइने भन्ने हो भने भन्सार कर तिर्न पाउने अवसरबाट निवेदिकालाई बन्चित गरी थुनामा राख्न मिल्ने होइन । आर्थिक ऐन, २०४४, २०४५, ०४६ मा पनि संकेत नं. ७११२, ७११३ र ७११४ अन्तर्गत सुनलाई पारेको हुनाले हाल यसलाई प्रतिबन्धित मान्ने स्थिति पनि देखिँदैन । भन्सार अधिकृतलाई तत्काल कसूरदार देखिएमा थुनामा राख्ने वा जमानत लिई छाड्ने अधिकार छ, तर मुद्दामा कारवाही गर्ने निर्णय गर्ने अधिकार छैन, साथै भन्सार सम्बन्धी मुद्दामा श्री ५ को सरकार वादी हुने गरी कुनै कानुनमा व्यवस्था भएको नहुँदा श्री ५ को सरकार वादी भई मुद्दा चल्न सक्दैन । यसलाई श्री ५ को सरकार वादी फौज्दारी मुद्दा नमान्ने हो भने पनि सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ बमोजिम प्रहरी प्रतिवेदन माग दावी बिना कारवाही र पूर्पक्ष हुन सक्ने होइन । भन्सार ऐनको दफा २१(२), अ.बं. १२१ नं. र संविधानको धारा १४(५) बमोजिम थुनुवा पूर्जी सम्बन्धित व्यक्तिलाई नै दिइनु पर्दछ । कारागारलाई लेखेको पत्र र सो को बोर्धाथ अभियुक्तलाई दिएर संविधानको उद्देश्य पूरा हुँदैन । तसर्थ रिट निवेदिका गैरकानुनी रुपले थुनामा रहेको हुनाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट मुक्ति दिलाइनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
९. वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ बमोजिम नेपाल राजपत्र भाग ३, २०४१ श्रावण १ गतेको अतिरिक्ताड्ढ (घ) खण्ड ३४ मा वाणिज्य मन्त्रालयबाट सूचना प्रकाशित गरी सुनलाई पूर्ण प्रतिबन्ध लगाएको छ र सो सूचना कायमै छ । नेपाल राजपत्र २०४७, वैशाख २७ अतिरिक्ताड्ढ घ, खण्ड ४० मा प्रकाशित अर्थ मन्त्रालयको सूचना बमोजिम नेपालीले मात्र सुन ल्याउन पाउने, विदेशीलाई उक्त नियम लागू हुँदैन । तसर्थ उक्त नियममा उल्लेख भएका नेपाली बाहेक अरुको निमित्त सुन पूर्णतया प्रतिबन्धित वस्तु भएको हुनाले रिट निवेदकको माग बमोजिमको रिट जारी हुनुपर्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१०. यसमा रिट निवेदिका गैरकानुनी थुनामा रहेको हो होइन, रिटनिवेदन माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिल्छ मिल्दैन सो विषयमा निर्णय दिनु पर्ने हुन आयो ।
११. निर्णय तर्फ हेर्दा यसमा रिट निवेदिका सोमालिया निवासी पासपोर्ट नं. ०१३७०८२ को फदुमा अलि अहमद मिति २०४८।१।१४ गते थाई इन्टरनेशनल विमान सेवाको बैंकक काठमाडौं उडान सेवाबाट काठमाडौं आउँदा निजको साथमा ३ किलो बीस ग्राम सुन बरामद भई भन्सार चोरी पैठारी मुद्दामा भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) बमोजिम मुद्दा चलाई पर्पूक्षको सिलसिलामा थुनामा परेकी रहिछन् । निवेदिकाले उक्त सुन प्रज्ञापन पत्रमा भर्न लगाएको र अंग्रेजी र नेपाली भाषा समेत नजान्ने हुनाले भन्सारका कर्मचारीहरुले नै प्रज्ञापनपत्र भरेको र भन्सार तिर्ने मनसायले नै ल्याएको भन्ने मुख्य रिटनिवेदन जिकिर देखिन्छ । निवेदिका फदुमा अलि अहमदको भन्सार आगमन कक्षमा शंका लागी शरिर चेक गर्दा बे्रसियर भित्र कालोटेपले बेरिएको र थैली भित्र लुकाइराखेको २ प्याकेट र अण्डरबीयर भित्र कालो टेपले बेरिई लुकाइराखेको १ प्याकेट समेत फेला पारी खोली हेर्दा २५ टुक्रा सुनको तौल ३ किलो २० ग्राम हुन आएकोले पक्राउ भएको र पूर्पक्षको लागि तारेखमा राख्न भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) अनुसार हुन सक्ने जरिवाना र कैद बापतको नगद धरौेट दिन नसकेकोले पूर्पक्षको लागि थुनामा रहेकी भन्ने त्रिभूवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफबाट देखिन आएको छ । (साविक पेज नं. ७१६)
१२. रिट निवेदिका फदुमा अलि अहमदबाट सुन बरामद भएकोमा यहाँ विवाद देखिएन । निवेदिकाले आफूले साथमा सुन ल्याएको स्वीकार्दै भन्सार तिर्ने मनसाय व्यक्त गरेका छन् भने प्रत्यर्थीको लिखितजवाफ तथा श्री ५ को सरकारका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ताको बहस जिकिरबाट सुन भन्सार तिरेर पनि विदेशीले ल्याउन पाउने वस्तु होइन भन्ने देखिन्छ । यस सन्दर्भमा निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ ले श्री ५ को सरकारले सूचित आदेशद्वारा निकासी पैठारीमा मनाही वा नियन्त्रण गर्न सक्ने गरी अधिकार दिएको छ । सोही अधिकार अन्तर्गत श्री ५ को सरकारले नेपाल राजपत्र खण्ड ३४, २०४१ साल श्रावण १ गते अतिरिक्ताड्ढ १९(घ) मा सूचना प्रकाशित गरी भारी, झिटी गुण्टा नियममा परेका बाहेक समुद्र पारबाट सुन पैठारी गर्न पूर्ण रुपमा बन्देज लगाएको देखिन्छ । हाल सम्मका उक्त सूचनालाई खारेज गर्ने गरी वा त्यसको प्रतिकूल कुनै सूचना भनिएको अर्थात निकासी पैठारी नियन्त्रण ऐन, २०१३ अन्तर्गत सुन पैठारी गर्न नियन्त्रण लगाएको कुरामा निवेदक तर्फका कानुन व्यवसायीहरु पनि सहमत नै रहेको देखिँदा सुन निकासी पैठारी नियन्त्रण ऐन, २०१३ अन्तर्गत नियन्त्रित वस्तु भित्र परेको देखिन आयो ।
१३. निकासी पैठारी नियन्त्रण ऐन, २०१३ अन्तर्गत कारवाही चलाउनु पर्नेमा भन्सार ऐन अन्तर्गत कारवाही चलाएको मिलेको छैन भन्ने रिटनिवेदन जिकिर र बहस बुंदाका सम्बन्धमा हेर्दा यसमा रिट निवेदिका फदुमो अलि अहमदलाई भन्सार ऐन, २०१९ को दफा ३४ (८) (क) अन्तर्गत सुन चोरी पैठारीको अभियोग लगाई कारबाही चलाएकोमा विवाद देखिएन । सुन पैठारी गर्न नियन्त्रण लगाइएको वस्तु हो भन्ने माथि उल्लेख गरी सकिएकै छ । भन्सार ऐन, २०१९ को दफा ३४ (८) (क) मा चोरी निकासी वा पैठारी गरेकोमा दण्ड सजायको व्यवस्था गरिएको छ । चोरी निकासी वा चोरी पैठारी भन्नाले कस्तो कार्यलाई बुझाउँछ भनी हेर्दा भन्सार ऐन, २०१९ को दफा २(ठ) मा “चोरी निकासी वा पैठारी भन्नाले माल वस्तु निकासी वा पैठारी गर्दा तिर्नु पर्ने भन्सार महसूल नतिरी वा बाटो छलि वा लुकाई छिपाई ल्याएको लागेको काम सम्झनु पर्छ” भन्ने उल्लेख भएको पाइन्छ । यस परिभाषाबाट “चोरी निकासी वा पैठारी” का कार्यलाई तीन किसिमको वर्गिकरण गरेको देखिन्छ । पहिलो भन्सार महसूल नतिरी लगेको, दोस्रो बाटो छली लगेको र तेस्रो लुकाई छिपाई ल्याएको । प्रस्तुत रिटनिवेदनमा रिट निवेदिकाको साथमा सुन रहेकोमा विवाद छैन । सुन ल्याएको घोषणा गरेको भन्ने रिट निवेदिकाको जिकिर छ भने निवेदिकाले सुन लुकाएर ल्याएको हुनाले सुन चोरी पैठारीमा मुद्दा चलाइएको भन्ने त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफ देखिन्छ । निवेदिकाबाट कस्तो अवस्थामा सुन बरामद भएको रहेछ भन्ने हेर्दा निवेदिकाले आफ्नो शरीरको भित्री भागमा बे्रसियर र अण्डरबीयरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदकको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम चोरी पैठारीको परिभाषा भित्र पर्ने देखिन आएको छ । अतः भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) को अभियोग लगाएको मिलेन भन्ने विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन सकिएन । यस सम्बन्धमा प्रस्तुत रिटनिवेदनमा जस्तै प्रश्न उपस्थित भएको २०४४ सालको रिट नं. २५४८ निवेदक प्रकाशप्रसाद शर्मा विरुद्ध राजश्व न्यायाधिकरण काठमाडौं समेत भएको उत्प्रेषणको रिटनिवेदनमा “चोरी पैठारी गरेको भन्ने मुद्दा भन्सार ऐन, २०१९ को दफा ३४, ८(क) अनुसार सजाय हुने मुद्दा शुरु कारवाही किनारा गर्न भन्सार कार्यालयलाई र सो उपर पुनरावेदन सुन्ने राजश्व न्यायाधिकरणलाई कानुनद्वारा अधिकार दिएकै देखिने” भन्ने सिद्धान्त (ने.का.प. २०४५ अंक ६, पृ. ५६७) प्रतिपादित भइरहेको (साविक पेज नं. ७१७) देखिन्छ ।
१४. उपरोक्त बमाोजिम रिट निवेदिका फदुमो अलि अहमदले सुन लुकाई छिपाई ल्याएको अवस्थामा पक्राउ परी सुन चोरी पैठारी गरेको अभियोगमा भन्सार ऐन, २०१९ को दफा ३४(८) (क) अन्तर्गत कारवाही चली पूर्पक्षको लागि अधिकार प्राप्त अधिकारी भन्सार अधिकृतको आदेशबाट थुनामा रहेको देखिन आएको हुनाले निवेदक गैरकानुनी तबरले थुनामा रहेको भन्न मिल्ने नदेखिँदा रिटनिवेदन माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन । रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४८ साल मार्ग २९ गते रोज १ शुभम् ।