February 13, 1992
Created by nepalarchives

निर्णय नं. ४४०४ – गाली बेइज्जती

निर्णय नं. ४४०४    ने.का.प. २०४८      अङ्क ११   पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ...

निर्णय नं. ४४०४    ने.का.प. २०४८      अङ्क ११

 

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल

सम्वत् २०४५ सालको फौ.पु.इ.नं. ३४

फैसला भएको मिति: २०४८।११।१।५ मा

निवेदक/प्रतिवादी : हरिहरपुर गा.वि.स.वा.नं. ८ बस्ने ज्वालाप्रसाद तिवारीसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ. बलरामपुर गा.वि.स. वा.नं. ४ बस्ने लक्ष्मणदाश गिरी

मुद्दा : गाली बेइज्जती

(१)    मुद्दाको कारवाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न ।

(प्रकरण नं. १५)

(२)   स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेको (साविक पेज नं. ६९७) छैन । यसर्थ निज प्रतिवादीहरुले वादी उपर यस्तो झुठ्ठो लान्छना लगाई चरित्र हत्या गर्ने किसिमको व्यहोरा प्रतिउत्तरमा लेखी गालि बेइज्जती गरेको ठहर्ने ।

(प्रकरण नं. १५)

निवेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास, र विद्वान अधिवक्ता श्री हरिहर             दाहाल

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल

फैसला

प्र.न्या. विश्वनाथ उपाध्याय

१.     प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :

२.    प्रतिवादी ज्वालाप्रसादका दाजु वलिभद्र वैष्णव भेषधारी सन्त हुनुभएको उहाँबाट मैले मन्त्र लिई चेला भई उहाँद्वारा निर्मित श्री रामजानकी तथा हनुमानको मन्दिरमा गुरुजीको साथ रही पूजा गरी गुरुजीको सेवा समेत गरी आएको १३१२ बिगाहा जग्गा बलभद्रजीको एकलौटी हक भएको हुँदा सो जग्गा गुठी गर्दा गरी पाउँ भनी मैले फिराद दिएकोमा २०३४ सालमा प्रतिवादीले प्रतिवाद गर्दा वादीको ठूलो बागतहखाना छ, पक्की १२ बिगाहा जग्गा श्री ५ को सरकारको स्वामित्वको दपोट गरी खाइरहेको छ । १०, १५ जना गुण्डा पालेको छ त्यसद्वारा आतंक मच्याइएको छ । चतुरी गोडिनसंग अवैध सम्बन्ध छ । चतुरीको अघिको लोग्नेको २ छोराहरु यिनैले भरणपोषण गरेको छ भन्ने बेइज्जती गर्ने मनसायले जानी जानी झुट्टा बेइज्जतीपूर्ण लेख लेखिएकोले गाली बेइज्जती ऐन, २०१६ को दफा ५ बमोजिम प्रतिवादीहरुलाई सजाय गरी पाउँ भन्ने समेत वादी दावी ।

३.    दाजु वलिभद्र तिवारी वैष्णव भेषधारी नभई ग्रहस्थ आश्रममा रही रामजानकीको भक्त हुनुभएको हुँदा भेषधारी भन्ने वादी दावी बनावटी जालसाज गरी गरिएको प्रष्ट छ । दाजु वलिभद्र र हामीहरु बीच कुनै बण्डापत्र इत्यादि भएको छैन । फिराद दावी अनुसार वादीलाई हामीले कुनै प्रकारबाट बेइज्जती गरेको छैन । भएको यथार्थ कुरा प्रतिउत्तरमा उल्लेख गरी वादीसंगको हक कायम मुद्दामा प्रतिउत्तर फिराएको मात्र हो भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।

४.    वादी प्रतिवादीका साक्षीहरुको बकपत्र मिसिल सामेल रहेछ ।

५.    यी वादी लक्ष्मण दाशलाई प्रतिवादीहरुले गाली बेइज्जती गरेको ठहर्छ भन्ने मिति २०३७।१०।९।५ को शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।

६.    शुरुको फैसलामा चित्त नबुझी प्रतिवादीहरुको प.क्षे.अ.मा पुनरावेदन परेको रहेछ ।

७.    यिनै पक्षहरुका बीचमा परेको गुठीको ११ नं. अन्तर्गत जग्गा हक कायम गरी पाउँ भनी दावी भएको मुद्दामा अ.बं. ८० नं. को प्रकृया अपनाई इन्साफ गर्नु पर्ने भै शुरु फैसला बदर गरी जि.अ. मा मिसिल पठाई दिने भनी फैसला भएकोले प्रस्तुत मुद्दामा पनि जिल्ला अदालतबाट भएको फैसला बदर गरी दिएको छ, सोही अनुसार जो बुझ्नु पर्ने बुझी इन्साफ गरी दिनु भन्ने समेत प.क्षे.अ. को २०३९।४।२५।२ को फैसला रहेछ ।

८.    साधु मान्छेलाई कलंकित पार्ने मुरादले बेइज्जती हुने इशारा देखाई प्रतिवाद दिएको देखिँदा वादी दावी मुताविक गाली बेइज्जती गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला अदालतको मिति २०४१।१।४।२ को फैसला ।

९.    शुरु जिल्ला अदालतको इन्साफमा चित्त बुझेन (साविक पेज नं. ६९८) सो फैसला उल्टाई वादी दावीबाट सफाई पाउँ भन्ने व्यहोराको प्र.को प.क्षे.अ. मा पुनरावेदन परेको रहेछ ।

१०.    यिनै पक्ष विपक्षी भएको गुठी जग्गा दर्ता बदर मुद्दामा शुरु जि.अ. को इन्साफ मनासिब ठहरेकोले प्रस्तुत मुद्दामा पनि शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

११.    प.क्षे.अ. को फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन सो फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी प्रतिवादीहरुले यस अदालतमा निवेदन दिएकोमा नि.नं. १३८ को गुठीको जग्गा दर्ता बदर मुद्दामा पुनरावेदनको अनुमति दिने आजै आदेश भएको र सोही गुठीको जग्गा दर्ता बदर ठहर्‍याएको आधारमा सदर गरेको प.क्षे.अ. को निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४२।६।१६।४ को आदेश ।

१२.   वादी लक्ष्मणदाश भेषधारी साधु देखिएको र यस्तो व्यक्तिको चरित्रहत्या हुने गरी अनावश्यक बेइज्जतीपूर्ण व्यहोरा प्रतिउत्तरमा लेखी प्र.हरुले वादी दावी बमोजिम बेइज्जती गरेको ठहर्‍याएको शुरुको सदर गरेको प.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत स.अ. संयुक्त इजलासको फैसला ।

१३.   प्रतिवादीहरुले चढाएको बिन्तिपत्रमा उक्त मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट भएको हुकुम प्रमांगी बमोजिम यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

१४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरु तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री कमलनारायण दास र श्री हरिहर दाहालले गुठी जग्गा दर्ता गरी पाउँ भन्ने मुद्दामा वादी लक्ष्मणदासले दिएको फिराद दावीको खण्डन गर्ने क्रममा प्रतिवादी लेखमा वादीको निजी जीवनका कुरा समेत खोल्नु पर्ने आवश्यकता पथ्र्यो र यसरी कारवाहीको सिलसिलामा एक पक्षले अर्को पक्ष उपर असल नियतले दोष लगाउँदा गाली बेइजती ऐन, २०१६ को दफा ४ को उपदफा ७, ८ र ९ अनुसार गाली बेइजती नहुने प्रष्ट कानुनी व्यवस्था भै राखेको हुँदा वादी दावी बमोजिम ठहर गर्न मिल्दैन भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले मुद्दाको कारवाहीमा फिराद, प्रतिउत्तर लगायतका लिखतहरुमा भाषा सिष्ट हुनुपर्छ, गुठी जग्गा दर्ता गराई पाउँ भन्ने मुद्दाको प्रतिउत्तर दिंदा बेइज्जती गर्ने मनसायले जानी बुझिकन असिष्ट र वादीको बेइज्जती हुने व्यहोरा उल्लेख गरेको हुँदा वादी दावी बमोजिम कसूर गरेको ठहर्‍याएको इन्साफ मनासिब हुँदा सोही सदर हुनुपर्ने भनी बहस गर्नु भयो ।

१५.   आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा यिनै पक्ष विपक्ष भएको गुठी जग्गा दर्ता गरी पाउँ भन्ने मुद्दामा यी प्रतिवादीहरुले प्रतिउत्तर दिंदा वादी लक्ष्मणदासले दश पाँच गुण्डा पालेको, भारत अयोध्या बस्ने चतुरी गोडिनसंग अवैध सम्बन्ध भएको तथा यसै प्रकारबाट जग्गा जमीन जोड्दै चतुरीको अघिको लोग्नेको २ छोराहरुको त्यसैबाट भरण पोषण गरेको छभन्ने व्यहोरा लेखेको देखिन्छ । मुद्दाको कारबाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न । वादी लक्ष्मण दासले चतुरी गोडीनलाई स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीहरुले पेश गर्न सकेको छैन । यसर्थ निज प्रतिवादीहरुले वादी उपर यस्तो झुठो लान्छना (साविक पेज नं. ६९९) लगाई चरित्र हत्या गर्ने किसिमको व्यहोरा प्रतिउत्तरमा लेखी गाली बेइज्जती गरेको ठहर्छ । अतः वादी दावी बमोजिम कसूर गरेको ठहर्‍याएको शुरु जि.अ. तथा प.क्षे.अ. को इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मनासिब छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

तपसील

निवेदक प्रतिवादीहरु ज्वालाप्रसाद तिवारी १ अध्याप्रसाद तिवारी १ घनश्यामप्रसाद तिवारी १ के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोलेख निज प्रतिवादीहरु जनहीलाई शुरुले ६६।६७ को दरले जरिवाना गरेको हुँदा अ.ब. २०४ नं. बमोजिम निजहरु जनहीलाई रु. ६।६७ दरले थप जरिवाना हुन्छ । सो बमोजिम असूल उपर गर्नु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु …१

 

उक्त रायमा हामी सहमत छौं ।

न्या.रुद्रबहादुर सिंह,

न्या.ओमभक्त श्रेष्ठ,

न्या.केशवप्रसाद उपाध्याय

 

माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्यालको राय

            प्रस्तुत मुद्दामा गालि बेइज्जती गरेको हो होइन भन्नेतर्फ विचार गर्दा सर्वोच्च अदालत संयुक्त इजलास लगायतबाट यिनै पक्ष विपक्ष बीच चलेको गुठी जग्गा दर्ता गराई पाउँ भन्ने मुद्दामा गुठी कायम भएको र वादी भेषधारी हो भन्ने ठहर भएको भन्ने आधारमा गाली बेइज्जतीको कसूर गरेको भन्ने निष्कर्षमा पुगेको पाइन्छ । गालि बेइज्जती मुद्दामा बेइज्जतीजन्य भनिएका शब्दहरु के कस्तो सन्दर्भ र प्रशंगमा प्रयोग भएका हुन् हेर्नु पर्ने हुन्छ । वादीले गुठी जग्गा दर्ता गरी पाउँ भनी फिराद दिंदा मुख्य आधार वलिभद्र भेषधारी साधु म उनको चेला हुँ वलिभद्रसंग मन्दिरमा बसी पूजा गरी आएको भन्ने उल्लेख गरेको सिलसिलामा अ.बं. १२८ नं. अनुसार वादीले टेकेको कुराको प्रतिवादीले खण्डन गर्न पाउने भै वादी भेषधारी वलिभद्रसंग बसी पूजा गरी आउने चेला होइन, चतुरीन गोडिनसंग अवैध सम्बन्ध कायम गरी आएको व्यक्ति हो, भनी प्रतिउत्तर दिने सिलसिलामा प्रतिउत्तर लेखमा उल्लेख भएको हुँदा यस्तो मुद्दाको सिलसिलामा केहीले अप्रिय कुरा लेख्नु बेइज्जती भन्न मिल्ने देखिन्न । वादी भेषधारी होइन भन्ने कुराको पुष्टि गर्नको लागि उल्लेख गरिएको कुनै कुरा प्रमाणित हुनु नहुनु बेग्लै कुरा हो । बेइज्जती ठहर्ने सन्दर्भ र प्रसंग महत्वपूर्ण हुन्छ । प्रतिउत्तरमा लेखिएको चतुरी गोडिन विदेशमा रहने महिला हुँदा प्रतिवादीले भनेका कुरा सत्य हो होइन यकिन हुनसकेको अवस्था पनि छैन । मुद्दा गर्नेहरुको मनस्थिति झगडा गर्ने किसिमको हुन्छ । यो कुरा मुद्दा गर्नेलाई झगडिया भन्ने प्रचलन भएबाट पुष्टि हुन्छ । तसर्थ मुद्दाको सिलसिला प्रसंगमा प्रतिवाद गर्दा केही शब्दहरुको छनौट अभिव्यक्तिको तरिका अभिव्यक्त गर्दाको मनस्थितिमा आफ्नो भनाई पुष्टिको लागि उल्लेख गरेको वस्तुस्थिति समेतलाई हेर्नु पर्दछ । गुठी जग्गा दर्ता गरी पाउँ भन्ने मुद्दामा प्रतिवादीहरुले प्रतिवाद जिकिरको कुरा सोही मुद्दाबाटै निरोपित भैसकेको हुँदा सो कुरा प्रमाणित नभएको असर उसै मुद्दाबाट प्रतिवादीहरुले भोग्ने हुँदा बेइज्जतीमा पनि सजाय गरी रहन आवश्यक देखिंदैन । वादी स्वास्नी मानिस होइन । तसर्थ निजले कुनै स्वास्नी मानिससंग अवैध सम्बन्ध राखेको भन्दैमा बेइज्जती भैहाल्यो भन्न मिल्दैन । लिखित रुपबाट बेइज्जती गर्‍यो भन्ने हुँदा त्यस्तो लेखबाट अरु व्यक्तिले प्रतिवादीको उल्लेखित कुराहरुबाट वादीको बेइज्जती भएको मलाई लाग्यो भन्ने उल्लेख गरेको पाइदैन । बेइज्जती वादीलाई लागेर हुँदैन अरुलाई लाग्नु पर्दछ । गाली बेइज्जती ऐन, २०१६ को दफा ४ को उपदफा (८) को अवस्थाबाट मुद्दा मामिलाको अवस्थालाई विशेषता दिएको हुँदा समेत बेइज्जती ठहराउन मिल्ने देखिँदैन । (साविक पेज नं. ७००)

            वादी एक साधु ठहरिनु भएको छ, आफूले पनि साधु हुँ भन्नु भएको छ । हाम्रो समाजमा साधुता सहनशीलता भन्ने मान्यता रहेको पाइन्छ । त्यसैले गाली बेइज्जती ऐनको दफा ९ मा मामुली बेइज्जती वा अपमान हुने कुरालाई बेइज्जतीको कसूर नठहरिने व्यवस्थाको कानुनी परिप्रेक्ष्यमा बेइज्जती मुद्दा दिनुपर्ने र स्वतन्त्र अस्तित्व हुने खालको नदेखिँदा बेइज्जती ठहर्दैन । बहुमतले बेइज्जती ठहराएको रायसंग उपरोक्त कारणहरुले सहमत नहुँदा बेइज्जती ठहराएको संयुक्त इजलास समेतको इन्साफ उल्टी हुने ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

इति सम्वत् २०४८ साल फाल्गुण १ गते रोज ५ शुभम् ।