December 31, 1991
Created by nepalarchives

निर्णय नं. ४३५० – उत्प्रेषण

निर्णय नं. ४३५०    ने.का.प. २०४८   अङ्क ९, १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी...

निर्णय नं. ४३५०    ने.का.प. २०४८   अङ्क ९, १०

पूर्णइजलास

सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्वत् २०४५ सालको रि.पू.इ.नं. ५३

आदेश भएको मिति : २०४८।९।१६।३ मा

निवेदक/प्रत्यर्थी : जि.भक्तपुर सुडाल गा.वि.स. वार्ड नं. ३ बस्ने कान्छा प्रजापती

विरुद्ध

रिट निवेदक : जि.भक्तपुर वा.नं.१ बस्ने न्हुच्छेकुमार प्रजापतीसमेत

विषय : उत्प्रेषण

(१)    नेपाल कानुनमा प्रयोग भएको कुनै शब्दको अर्थ वा व्याख्या नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा गरिएको छ भने सो शब्दको अर्थ वा व्याख्या सोही अनुसार गर्नु पर्ने ।

(प्रकरण नं. १३)

(२)   कानुन व्याख्याको सिद्धान्त अनुसार यदि कानुन प्रष्ट छ, त्यसमा कुनै दुविधा छैन भने सामान्य रुपमा त्यसको जे जस्तो अर्थ हुन्छ त्यही अर्थमा त्यो कानुनलाई लागू गर्नु पर्छ, बलपूर्वक त्यसको व्याख्या गरी असाधारण वा असमान अर्थ खोज्ने प्रयास गर्न हुन्न ।

(प्रकरण नं. १३)

(३)   भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) मा प्रयुक्त छोराशब्दको अर्थ गर्दा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन अनुसारको सामान्य कानुनी अर्थ नगरी त्यसको असाधारण अर्थ वा व्याख्या गर्नु पर्ने कुनै कारण वा औचित्य देखिन्न ।

(प्रकरण नं. १३)

(४)   मोहियानी हक सम्बन्धी कानुन जग्गावाला र मोहीको बीचको सम्बन्ध र तिनीहरुको पारस्परिक हक एवं दायित्व निर्धारण गर्ने कानुन हो, त्यो कानुनले बाबु र छोरा अथवा पति र पत्नीको सम्बन्धको निर्धारण वा पुनर्निधारण गर्दैन ।

(प्रकरण नं. १५)

(५)   मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सम्झन नमिल्ने कुनै बन्देज भूमिसम्बन्धी ऐन, २०२१ ले लगाएको छैन ।

(प्रकरण नं. १६) (साविक पेज नं. ४५०)

(६)    कानुन बमोजिम दुई व्यक्ति बीचको पारस्परिक हक र दायित्व यकिन गर्दा कानुनले व्यवस्था नगरेको सम्बन्धको स्थायित्वको नयाँ मापदण्ड खडा गरी सो आधारमा कसैलाई उसको कानुनी हकबाट बञ्चित गर्ने गरी हक वा दायित्वको पुनर्निधारण गर्नु न्यायोचित हुँदैन ।

(प्रकरण नं. १७)

(७)   धर्मपुत्र र धर्मपिताको सम्बन्ध कुनै बखत टुट्न सक्दछ भन्ने आधारमा छोराशब्दको सामान्य अर्थलाई संकुचित पारी आफूले जन्माएको छोरा (औरसपुत्र) मा सीमित गरी मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई धर्मपिताको छोरा मान्न अस्वीकार गर्नु कानुन, न्याय वा विवेक कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने ।

(प्रकरण नं. १७)

(८)   सम्बन्धको स्थायित्वको आधारमा धर्मपुत्रले धर्मपितातर्फको कुनै अधिकार पाउने वा नपाउने कुराको निरुपण गर्नु कानुनसंगत नहुने ।

(प्रकरण नं. १७)

(९)    जुन रुपमा पति, पत्नी र छोराको अस्तित्व पत्नी, पति वा छोरासंग कुनै एक समयमा एउटै मात्र रहन्छ त्यै रुपमा धर्मपुत्रको अस्तित्व पनि धर्मपितासंग त्यो सम्बन्ध कायम रहेसम्म छोराको रुपमा मात्र रहेको हुन्छ त्यसलाई द्वैध भन्न नमिल्ने ।

(प्रकरण नं. १८)

(१०)   मोहियानी हकको प्रकृति वा स्वरुप उत्तराधिकारबाट नसर्ने मोहीको व्यक्तिगत हकको रुपमा परिणत हुने कुरा मान्न नसकिने ।

(प्रकरण नं. २०)

(११)   मोहीको सुरक्षाको लागि मोहियानी हकको बेचबिखनमा प्रतिबन्ध लगाउने सम्म कानुनको मनसाय हो, त्यो कानुनी प्रावधानले मोही वा निजको परिवारका सदस्यहरुको हक वा हितको प्रतिकूल जग्गावालाको कुनै हक सृष्टि गरेको सम्झन नमिल्ने ।

(प्रकरण नं. २०)

(१२)   अदालतले व्याख्या गर्दा संकुचित वा अनुदार व्याख्या होइन, उदार र फराकिला व्याख्या गर्नु उपयुक्त र न्यायोचित हुने ।

(प्रकरण नं. २०)

(१३)   मोहीको मृत्युपछि मोहीका परिवारका सदस्यहरुको बीचमा विवाद उपस्थित भई मोहीको ठेगान नलागेको अवस्थामा मात्र जग्गावालाले मोही रोज्ने अधिकारको प्रयोग गर्न सक्दछ, मोहीका परिवारका सदस्यहरुको बीचमा कुनै विवाद छैन भने त्यो अधिकार उसले प्रयोग गर्ने प्रश्नै आउँदैन ।

(प्रकरण नं. २०)

                        यस फैसलाले ने.का.प. भाग २९, अड्ढ २, पृष्ठ १४० मा प्रकाशित (शेषनाथ प्र. कुर्मी वि. भू.सु.का.पर्सा) भएको सिद्धान्तलाई अमान्य घोषित गरेको । (साविक पेज नं. ४५१)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी.

प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

आदेश

प्र.न्या.विश्वनाथ उपाध्याय

१.     न्यायिक समितिको सिफारिशमा श्री ५ महाराजाधिराज सरकारबाट दोहोर्‍याई दिनु भनी हुकुम प्रमांगी बक्स भए बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    हामी निवेदक समेत ६२ जवान गुठियारहरु भएको दुनिया गुठीका गुठियार मध्ये थकाली चन्द्रवीरकुमार प्रजापतिको नाउँमा भ.पु.जि.सुडाल गा.पं.वा.नं. ३(ङ) को कि.नं. १७ को क्षे.फ. ५० जग्गाको जोताहा मोही माहिला प्रजापति जनिएको छ । सो गुठी जग्गाको दर्तावाल थकाली चन्द्रवीरकुमार प्रजापति परलोक हुनु भएपछि उक्त जग्गा हामी निवेदकको नाममा दर्ता गरी पाउँ भनी मालपोत कार्यालय भक्तपुरमा निवेदन परी कारवाही चली हामीहरुको नाउँमा नाउँसारी भई संयुक्त दर्ताको ज.ध.प्रमाण पुर्जा पाएका छौं ।

३.    विपक्षी रामबहादुरले सो जग्गाको मोही माहिला प्रजापतिले मलाई मिति २०४१।११।१४ मा धर्मपुत्र पास गरी दिएको र निज माहिला प्रजापति २०४२।५।४ मा परलोक भएकोले सो मोहियानी हक नामसारी गरिपाउँ भन्ने निवेदन गरी रामबहादुर नाबालक भएको भन्दै निवेदकको बाबु कान्छा प्रजापतिले निवेदनमा सनाखत सही गरी मिति २०४२।६।७ मा निवेदन दर्ता गराएको र महेन्द्र सुडाल गा.पं.ले सिफारिश गरी दिएका रहेछन् ।

४.    भू.सु.का.भक्तपुरको शा.अ.ज्यूले उक्त जग्गाको दर्तावाला जग्गाधनीलाई बुझ्दै नबुझी कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) बमोजिम पुत्रशब्दले धर्मपुत्र राख्न पाउनेले धर्मपुत्र राखेकोलाई समेत छोरा मान्न पर्ने भन्दै धर्म पुत्र राख्नेको आफ्नै सहोदर भाइ नै निवेदक रामबहादुर प्रजापतिको आफ्नै खास बाबु नै अभिभावक अर्थात संरक्षक देखिएको मात्र नभई जग्गा धनीले अरुलाई पत्याउन मोहीको अरु कोही परिवार समेत नभएको र कूत बाली बुझाउनमा संरक्षक जिम्मेवारी हुने र उमेर पुगेपछि वादी निवेदक रामबहादुर प्रजापति स्वयं जिम्मेवारी हुने कुरामा विवाद नभएको समेत हुँदा गा.पं.को सिफारिशबाट पनि कमाई आएको होइन भन्न नमिल्ने हुँदा साविक मोही माहिला प्रजापतिको नाउँबाट उमेर नपुगेसम्म निज नाबालकको खास आफ्नै बाबु कान्छा प्रजापतिले कि.नं. १७ को क्षे.फ. ५० जग्गा कमाउने गरी निवेदक रामबहादुर प्रजापतिको नाउँमा नामसारी गरी दिने ठहर्छ भन्ने भू.सु.का.भक्तपुरबाट २०४२।१०।२२ मा निर्णय भएको छ ।

५.    उक्त निर्णयमा निम्न त्रुटिहरु छन् । साविक मोही माहिला प्रजापति भएकोमा विवाद भएन । निजको स्वर्गवास भएपछि भू.सं. ऐन, २०२१ को दफा २६(१) अनुसार मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी, वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने छ भन्ने कानुनी व्यवस्था छ । ऐनको तात्पर्य मोहीको पति वा स्वास्नी तथा मोहीबाट जन्म भएको छोराहरु हुनुपर्दछ र मोही पछि उक्त मध्ये कसैलाई पनि जग्गाधनीले पत्याएकै हुनुपर्छ जग्गा धनीले पत्याएकोमा सो पत्याएको मोही र जग्गाधनी बीच (साविक पेज नं. ४५२) भू.सु. ऐन, २०२१ को दफा ३४(१) अनुसार कबूलियत हुनुपर्दछ । प्रस्तुत मुद्दाको निर्णय गर्ने अधिकार भू.सु. अधिकारीलाई मात्र हुनेमा शा.अ.ले दूषित निर्णय गर्नु भएको छ । हामी जग्गा धनीलाई नबुझी मोही नामसारी गर्ने गरेको निर्णय कानुनसंगत छैन । प्राकृतिक न्याय सिद्धान्त समेतको प्रतिकूल भएको छ । मोही नामसारी हुने कानुनी व्यवस्था नभई मोहिपछि निजको स्वास्नी, पति छोराहरु मध्ये एकजनालाई सम्बन्धित ज.ध.ले पत्याए कबूलियत गरी दिएमा मोही हुने व्यवस्था छ । सोको प्रतिकूल भएको निर्णय कानुनी त्रुटिपूर्ण छ । यसरी ऐन कानुनमा हुँदै नभएको व्यवस्थालाई उल्लेख गरी मोही नामसारी गर्ने गरी भएको निर्णय न्यायिक मनको अभावमा कानुनी त्रुटिपूर्ण छ । अतः संविधानको धारा १०(१), धारा ११(२)(ङ), धारा १५ द्वारा प्रदत्त हक कुण्ठित भएकोले भू.सु.का.भक्तपुरको मिति २०४२।१०।२२ को निर्णय बदर गरी पाउन संविधानको धारा १६, ७१ अन्तर्गत निवेदन गर्न आएका छौं । उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन ।

६.    विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने सिं.बे.को आदेश ।

७.    मेरा धर्म पिता परलोक भएको र म नाबालक १० वर्षको मात्र भएकोले मेरो संरक्षक होइदिने अन्य कोही पनि नहुँदा मेरो हेरचाह कान्छा प्रजापतीले गरी आउनु भएको मेरो संरक्षण निजबाट भएको भएपछि मेरो धन सम्पत्तिको रेखदेख हेरचाहसम्म निजबाट हुनु स्वाभाविकै भएकोले यस पृष्ठभूमिमा वास्तविकतालाई ध्यानमा राखी कूत नबुझाएमा संरक्षक अर्थात कान्छा प्रजापतिलाई जिम्मेवार बनाउने गरी ज.ध.समेतको कूत प्राप्त गर्ने हकलाई संरक्षण गर्दै म बालिग अर्थात १६ वर्ष पुगेपछि म स्वयंले कूत बुझाउने लगायतको जिम्मेवार हुने भनी भएको निर्णयको अनर्थकारी अर्थ गरी बाबु कान्छा प्रजापतिले कमाउन पाउने निर्णय भएको छ, भन्ने लगायतको झुठ्ठो, मिसिल विरुद्धको जिकिर लिई विपक्षीले रिटनिवेदन गर्न आएबाट विपक्षीको हात सफा र मन स्वच्छ नभएको प्रष्ट हुने हुँदा विपक्षीको रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नाबालक रामबहादुर प्रजापतिका हकमा कान्छा प्रजापतिको लिखितजवाफ ।

८.    भू.सं. ऐन, २०२१ को दफा २६(१) ले जोताहा पछि निजका पति, पत्नी, या छोराहरु मध्ये जग्गाधनीले पत्याएको व्यक्तिलाई प्राप्त हुने व्यवस्था भएको हुँदा धर्मपुत्र पनि छोरा नै मान्नु पर्ने भएकोले यस कार्यालयबाट मिति २०४२।१०।२२ मा ऐन कानुनको परिधिमा रही निर्णय भएको हुँदा यस कार्यालयको निर्णय बदर हुनु नपर्ने र रिटनिवेदन खारेज हुनु पर्ने व्यहोरा अनुरोध गर्दछु भन्ने समेत व्यहोराको भू.सु.का.भक्तपुरको लिखितजवाफ ।

९.    भू.सं. ऐन, २०२१ को दफा २६(१) मा मोही सम्बन्धी हक निजको शेषपछि निजको पति पत्नी वा छोराहरुमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने प्रष्ट उल्लेख भइरहेको पाइन्छ । उक्त व्यवस्थाबाट छोरा शब्दले धर्म पुत्रलाई समेत समेटेको पाइन्न । २०४३ सालको रि.फु.नं. ४३ निवेदक शेषनाथप्रसाद कुर्मी विरुद्ध भू.सु.का. पर्सा समेत भएको रिटनिवेदनमा पूर्णइजलासबाट २०४३।११।५ मा भएको निर्णयमा मोही सम्बन्धी हक मोहीको परलोक भएपछि निजको धर्मपुत्रलाई प्राप्त हुन नसक्ने भनी सिद्धान्त समेत प्रतिपादन भएको पाइन्छ । यसर्थ धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुन विपरीत जोत नामसारी गर्ने गरी गरेको भू.सु.का. भक्तपुरको मिति २०४२।१०।२२ को निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भन्ने समेत स.अ. संयुक्तइजलासको मिति २०४३।११।२६ को निर्णय रहेछ । (साविक पेज नं. ४५३)

१०.    सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४३।११।२६ को निर्णय दोहोर्‍याई पाउँ भनी रिटनिवेदकले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाई पठाएको बिन्तिपत्रमा न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आएअनुसार पेश हुन आएको रहेछ ।

११.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री राधेश्याम अधिकारी र श्री शेरबहादुर के.सी.ले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोही सम्बन्धी हक मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरुमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुन सक्ने प्रष्ट छ । भूमिसम्बन्धी ऐन, ०२१ ले छोरा शब्दको परिभाषा गरेको छैन । कानुनमा प्रयोग भएका शब्दहरुको सम्बन्धमा विषयगत कानुनले छुट्टै रुपमा परिभाषा गरेको अवस्थामा बाहेक अन्य अवस्थामा कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले दिएको परिभाषा अनुसार नै अर्थ गर्नु पर्ने हुन्छ । कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(म) मा पुत्र (छोरा) शब्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्र समेतलाई जनाउँछ भन्ने र दफा २(च) मा बाबु शब्दले कानुन बमोजिम धर्मपुत्र राख्न पाउनेमा सो राख्ने बाबुलाई समेत जनाउँछ भन्ने उल्लेख भएबाट छोरा भन्ने शब्दबाट धर्मपुत्रलाई पृथक गर्न मिल्दैन । यसर्थ भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को प्रयोजनको लागि धर्मपुत्रलाई मोही हक प्राप्त नहुने भनी सर्वोच्च अदालत संयुक्तइजलासबाट भएको मिति २०४३।११।२६ को निर्णय मिलेको छैन भन्ने र प्रत्यर्थी भू.सु.का. भक्तपुरको तर्फबाट उपस्थित विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मोहियानी हक मोहीको मृत्युपछि निजको पति, पत्नी वा छोराहरुमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुन सक्ने भन्ने प्रष्ट व्यवस्था भएको र मोही माहिला प्रजापतिको मृत्यु पश्चात धर्मपुत्र रामबहादुर प्रजापती बाहेक निजको पत्नी र छोराहरु समेत अरु कोही हकवाला नभएको हुँदा जग्गावालाले रोज्ने अवस्था नै भएन । यस्तो अवस्थामा बाबु माहिला प्रजापतिको मोही हक निजका धर्मपुत्रका नाममा कायम गर्ने गरेको भूमिसुधार कार्यालय, भक्तपुरको निर्णयमा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदनपत्र खारेज हुनु पर्ने भन्ने र रिट निवेदकहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले मोही सम्बन्धी हक एउटा विशिष्ट किसिमको हक हो । पति पत्नी वा छोराहरु वा अन्य हकदारहरुलाई अपुताली वा अंश जस्तो प्रकृतिबाट स्वतः प्राप्त हुने हकको रुपमा यसलाई लिन मिल्दैन । पति पत्नी वा छोराहरु धेरै भएका अवस्थामा पनि जग्गावालाले पत्याई एक व्यक्तिलाई मात्र यो हक प्राप्त हुन सक्ने हुन्छ । यसर्थ कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले गरेको परिभाषा अनुरुप अर्थ गर्न मिल्दैन । भूमिसुधार कार्यालय, भक्तपुरबाट जग्गा धनीलाई बुझ्दा पनि नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरीत जोत नामसारी गर्ने गरी निर्णय भएको हुँदा उक्त निर्णय बदर गर्ने गरी सर्वोच्च अदालत संयुक्तइजलासबाट मिति २०४३।११।२६ गतेमा भएको निर्णयमा कुनै त्रुटि छैन भनी बहस गर्नु भयो ।

१२.   यस सम्बन्धमा मिसिलको अध्ययन गर्दा भूमिसुधार कार्यालय, भक्तपुरले नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ खण्ड (म) बमोजिम पुत्र शब्दले धर्मपुत्र राख्न पाउनेले धर्मपुत्र राखेकोलाई समेत छोरा मान्न पर्ने र साविक मोही माहिला प्रजापतिको परिवारमा अरु कोही नहुँदा जग्गा धनीले अरुलाई पत्याउने अवस्था पनि नभएको भन्दै निवेदक रामबहादुर प्रजापतिको नाममा मोहियानी नामसारी गरी दिने (साविक पेज नं. ४५४) ठहराई मिति २०४२।१०।२२ गतेमा निर्णय गरेको देखिन्छ । सो निर्णयमा आपत्ति गर्दै त्यसलाई बदर गराउन रिट निवेदक न्हुछेकुमार प्रजापति समेतले यस अदालतमा रिटनिवेदन गरेकोमा संयुक्तइजलासले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) मा परिभाषित परिवारभित्र धर्मपुत्रलाई समावेश नगरिएको, उक्त ऐनको दफा २६(१) मा मोही सम्बन्धी हक निजको शेषपछि निजको पति पत्नी वा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिले पाउने व्यवस्था गरी धर्मपुत्रको कुनै उल्लेख नगरेको, सौतेनी छोराले समेत उक्त दफा २६(१) अन्तर्गत मोहियानी हक प्राप्त गर्न नसक्ने भनी संयुक्तइजलासबाट मिति २०४२।५।९ मा २०४१ सालको रिट नं. २२२९ मा निर्णय भएको, त्यस्तै २०४२ सालको रिट नं. २२५३ मा चेला छोराले पनि मोहियानी हक प्राप्त गर्न नसक्ने भनी मिति २०४३।४।१७।६ मा संयुक्तइजलासबाट निर्णय भएको र २०४३ सालको रि.फु.नं. ४३ निवेदक शेषनाथप्रसाद कुर्मी विरुद्ध भूमिसुधार कार्यालय, पर्साको मुद्दामा पूर्णइजलासबाट २०४३।११।५ मा भएको निर्णयबाट पनि धर्मपुत्रले मोहियानी हक प्राप्त गर्न नसक्ने सिद्धान्त प्रतिपादित भएको भन्ने कारणहरु उल्लेख गर्दै शर्त पूरा नगरेमा बदर गराउन सकिने लिखतको आधारमा रहेको धर्मपुत्रलाई छोरा सरहको मानी जोत नामसारी गरेको कानुन विपरीत छ भन्ने निर्णय गरेको पाइन्छ ।

१३.   प्रस्तुत रिटनिवेदनमा निवेदकहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा प्रयुक्त छोराभन्ने शब्दले आफूले जन्माएको छोरालाई मात्र जनाउँछ, मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सम्झन मिल्दैन भन्ने जिकिर लिएको र संयुक्तइजलासले सो जिकिरलाई नै मनासिब ठहराएकोले यस सन्दर्भमा सर्वप्रथम सम्बद्ध कानुनहरुलाई हेर्न आवश्यक छ । यस सम्बन्धमा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (म) ले गरेको छोरा’ (पुत्र) शब्दको परिभाषा हेर्दा धर्मपुत्र राख्न पाउने व्यक्तिले राखेको धर्मपुत्रलाई समेत छोरामानिने गरी सो शब्दलाई परिभाषित गरिएको देखिन्छ । भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) को प्रयोजनको लागि छोराशब्दले धर्मपुत्रलाई नजनाउने किटानी व्यवस्था वा मनसाय सो ऐनमा व्यक्त भएको पाइँदैन । यस स्थितिमा रिट निवेदकहरुको उपर्युक्त जिकिर कानुनमा आधारित देखिँदैन । नेपाल कानुनमा प्रयोग भएको कुनै शब्दको अर्थ वा व्याख्या नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा गरिएको छ, भने सो शब्दको अर्थ वा व्याख्या सोही अनुसार गर्नु पर्ने हुन्छ । कानुन व्याख्याको सिद्धान्त अनुसार यदि कानुन प्रष्ट छ, त्यसमा कुनै दुविधा छैन भने सामान्य रुपमा त्यसको जे जस्तो अर्थ हुन्छ त्यही अर्थमा त्यो कानुनलाई लागू गर्नु पर्छ, बलपूर्वक त्यसको व्याख्या गरी असाधारण वा असमान अर्थ खोज्ने प्रयास गर्न हुन्न । भूमिसम्बन्धी ऐनको उक्त दफा २६ को उपदफा (१) मा प्रयुक्त छोराशब्दको अर्थ गर्दा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन अनुसारको सामान्य कानुनी अर्थ नगरी त्यसको असाधारण अर्थ वा व्याख्या गर्नु पर्ने कुनै कारण वा औचित्य देखिन्न । संयुक्तइजलासले आफ्नो निर्णयमा यस अदालतका केही निर्णयहरुलाई नजीरको रुपमा उल्लेख गर्नु सिवाय त्यस्तो कुनै कारण वा औचित्य देखाएको पनि छैन । यस प्रसंगमा संयुक्तइजलासले मुख्यतः यस अदालतको पूर्णइजलासले रि.पू.इ.नं. ४६ निवेदक शेषनाथप्रसाद कुर्मी विरुद्ध भूमिसुधार अधिकारी, पर्सा समेतको मुद्दामा गरेको व्याख्या र त्यस आधारमा प्रतिपादित गरेको कानुनी सिद्धान्तलाई नजीरको रुपमा उल्लेख गरेकोले पूर्णइजलासको उक्त निर्णयको विवेचना गर्नु आवश्यक देखिन्छ ।

१४.   नजीरको रुपमा संयुक्तइजलासले उल्लेख गरेको पूर्णइजलासको उपर्युक्त निर्णयको अध्ययन गर्दा त्यस्मा धर्मपुत्रले छोरा सरह मोहियानी हक प्राप्त गर्न सक्दैन भन्ने निर्णय भएको देखिन्छ । उक्त निर्णयमा पुग्नको लागि पूर्णइजलासले अन्य कुराहरुका अतिरिक्त (साविक पेज नं. ४५५) आफ्नै बीर्यबाट जन्मेको छोरा र धर्मपुत्रको स्थिति र हैसियतको आफ्नै किसिमबाट विवेचना गरी तिनमा तात्विक अन्तर खोज्ने प्रयास गरेको पाइन्छ । आफूले जन्माएको छोरालाई जस्तै अवस्थामा पनि बदर गराउन सकिन्न जबकी धर्मपुत्र अर्काको पुत्र ग्रहण गरिने र कानुनमा तोकिएको अवस्थामा जुनसुकै बेला पनि बदर गराउन सकिने र यसरी बदर भएपछि उसको धर्मपितातर्फको सम्पूर्ण हक तथा दायित्व समाप्त भई आफूलाई जन्म दिने बाबु आमातर्फ कै हक अधिकार र दायित्व ग्रहण गर्न पुग्दछभन्दै उक्त निर्णयमाः यसरी एकैसाथ द्वैध अस्तित्व राख्न सक्ने धर्मपुत्रलाई धर्मपितातर्फको मोहियानी हक सर्न सक्ने भन्ने प्रष्ट कानुनी व्यवस्थाको अभावमा मोही हक पाउँछ नै भनी व्याख्या गर्न मिल्दैनभन्ने निष्कर्षमा पूर्णइजलास पुगेको देखिन्छ । यस प्रकार निर्णयले बाबु र छोराको रुपमा दुई व्यक्तिको बीचको सम्बन्ध बदर गराउन सकिने प्रकृतिको छ वा छैन भन्ने कुरालाई आफ्नो निर्णयको एउटा आधार बनाएर मोहियानी हकको तात्पर्यको लागि छोराशब्दको अर्थ आफूले जन्माएको छोरामा सीमित गर्न खोजेको पाइन्छ । तर यो व्याख्या र निर्णयसंग म सहमत छैन । मेरो रायमा यो निर्णयले कानुनको स्थिति र मर्मलाई सही रुपमा व्यक्त गर्दैन ।

१५.   प्रथमतः मोहियानी हक सम्बन्धी कानुन जग्गावाला र मोहीको बीचको सम्बन्ध र तिनीहरुको पारस्परिक हक एवं दायित्व निर्धारण गर्ने कानुन हो, त्यो कानुनले बाबु र छोरा अथवा पति र पत्नीको सम्बन्धको निर्धारण वा पुनर्निधारण गर्दैन । त्यस्तो सम्बन्ध निर्धारण गर्ने मनसाय वा प्रयोजनको लागि त्यो कानुन बनेको पनि होइन । तसर्थ अदालतले मोहियानी हकको प्रयोजनको लागि छोराशब्दको विशेष वा असमान्य अर्थ खोजी रहनु आवश्यक पनि छैन । सामान्य कानुनी अर्थमा त्यो शब्दले जुन नाता सम्बन्धलाई जनाउँदछ । त्यो अर्थमा उक्त कानुनमा त्यो शब्दको प्रयोग भएको सम्झनु पर्दछ ।

१६.    कानुनले धर्मपुत्रलाई छोरा मानेको छ भने अदालतले कानुनको अनुशरण नगरी त्यसको आफ्नै व्याख्या गर्ने र धर्मपुत्रलाई छोरा नमान्ने प्रश्नै उठ्दैन । कानुनले सबै मनसाय र प्रयोजनको लागि धर्मपुत्रलाई छोरा मानेको छ । मोहियानी हकको प्रयोजनको लागि उसलाई छोरा सम्झन नमिल्ने कुनै बन्देज भू.सं.ऐन, २०२१ ले लगाएको छैन । वस्तुतः धर्मपुत्रराख्ने कार्य कानुनबमोजिम सम्पन्न गरिने एउटा यस्तो कानुनी प्रक्रिया हो जुन प्रक्रियाबाट धर्मपुत्र हुने व्यक्तिको आफ्नो प्राकृतिक बाबु आमासंगको सम्बन्ध विच्छेद भएर धर्मपुत्र राख्ने व्यक्तिसंग त्यो सम्बन्ध जोडिन्छ । यो कार्यबाट धर्मपुत्र राख्ने व्यक्तिले अर्काको सन्तानलाई आफ्नो परिवारमा ग्रहण गरी आफ्नो सन्तान र उत्तराधिकारीको रुपमा उसलाई कानुन अन्तर्गतको सबै अधिकार र सहुलियत प्रदान गर्दछ । यसरी धर्मपुत्रको रुपमा ग्रहण गरिएको व्यक्तिले नयाँ बाबु आमा प्रति छोराको रुपमा सबै अभिभारा बहन गरी आफ्नो कर्तव्यको निर्वाह गर्नुपर्छ । संक्षेपमा धर्मपुत्र आफ्नो धर्मपिताको परिवारमा औरसपुत्र सरह प्रत्यारोपित भएको मानिन्छ । धर्मपुत्र सम्बन्धी यी कुराहरु सिर्फ कानुनद्वारा व्यवस्थित भएको नभई हाम्रो परम्परागत सामाजिक एवं धार्मिक व्यवहारमा पनि प्रचलित र मान्य रही आएको देखिन्छ । दत्त होमगरेर कुनै व्यक्तिले कसैलाई धर्मपुत्र ग्रहण गरेपछि धर्मपुत्र हुने व्यक्ति धर्मपिताको परिवारमा जन्मेको छोरा सरह हुन्छ । यहाँसम्म कि धर्मपुत्र र धर्मपिता एउटै गोत्रका रहेनछन् भने धर्मपुत्रको गोत्र परिवर्तन भएर धर्मपिताको गोत्रमा जान्छ र औरसपुत्र जस्तै उ धर्मपिताको सपिण्डी मानिन्छ । अन्तिम संस्कार श्राद्ध इत्यादि धार्मिक कृत्य गरी धर्मपिता तथा त्यस तर्फका पूर्खाहरुलाई मोक्ष प्रदान गराउने अभिभारा उस माथि आउँछ । धर्मपितासंग मात्र होइन, धर्मपितातर्फको सबै नातेदारहरुसंग धर्मपिताको छोराको रुपमा उसको नयाँ सम्बन्ध कायम हुन्छ । यस स्थितिमा मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा (साविक पेज नं. ४५६) सरह मान्न मिल्दैन भन्ने जिकिरतर्कसंगत देखिँदैन ।

१७.   दोश्रो, कानुन बमोजिम दुई व्यक्तिलाई बीचको पारस्परिक हक र दायित्व यकीन गर्दा कानुनले व्यवस्था नगरेको सम्बन्धको स्थायित्वको नयाँ मापदण्ड खडा गरी सो आधारमा कसैलाई उसको कानुनी हकबाट बञ्चित गर्ने गरी हक वा दायित्वको पुनर्निधारण गर्नु न्यायोचित हुँदैन । धर्मपुत्र र धर्मपिताको सम्बन्ध कुनै बखत टुट्न सक्दछ भन्ने आधारमा छोराशब्दको सामान्य अर्थलाई संकुचित पारी आफूले जन्माएको छोरा (औरसपुत्र) मा सीमित गरी मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई धर्मपिताको छोरा मान्न अस्वीकार गर्नु कानुन न्याय वा विवेक कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिन्न । सम्बन्धको स्थायित्वलाई नै विचार गर्ने हो भने बाबु र छोरा तथा पति र पत्नीको बीचको सम्बन्ध पनि कानुनको दृष्टिमा कुनै बखत टुट्न वा विच्छेद हुन सक्दछ । मुडिई बिजया होम गर्नेले अंशमा दावी गर्न पाउँदैनभन्ने मुलुकी ऐन अंशबण्डाको महलको ९ नं. को व्यवस्था र भेषधारीको नाममा दर्ता रहेको वा निजको हक लाग्ने जग्गाको आयस्ता निजको चेलाले खान पाउने त्यस्तो जग्गा र त्यसको आयस्तामा अन्य हकदारको कुनै दावी नलाग्ने मुलुकी ऐन गुठीको महलको ११ नं. को व्यवस्थाबाट भेषधारण गरेपछि बाबु र छोराको मात्र होइन भेषधारीसंगको पूर्व नाता सम्बन्ध सबै नातेदारहरुको टुट्ने कुरा देखिन आउँछ । हाम्रो सामाजिक र धार्मिक मान्यता र परम्परा अनुसार पनि भेषधारण गरेपछि पहिलेका सांसारिक नाता सम्बन्ध कायम रहँदैन । पति र पत्नीको सम्बन्ध कानुनी दृष्टिकोणबाट अझ झिनो देखिन्छ । कानुन बमोजिम पति र पत्नीको सम्बन्ध कुनै बखत पनि विच्छेद हुन सक्दछ । खास खास अवस्थाहरुमा अदालतबाट त्यो सम्बन्ध विच्छेद गराई दिने प्रावधान कानुनले व्यवस्थित गरेको छ । यस स्थितिमा सम्बन्धको स्थायित्वको आधारमा धर्मपुत्रले धर्मपितातर्फको कुनै अधिकार पाउने वा नपाउने कुराको निरुपण गर्नु कानुनसंगत हुँदैन । धर्मपुत्र जस्तै कानुन बमोजिम कुनै बखत सम्बन्ध टुट्न वा विच्छेद हुन सक्ने पति पत्नी र छोराहरुले मोहियानी हक प्राप्त गर्न सक्दछन् भने कानुनले छोरै मानेको धर्मपुत्रले मात्र त्यो हक प्राप्त गर्न सक्दैन भन्नु कहाँसम्म न्यायसंगत वा तर्कसंगत होला ?

१८.   माथि उल्लिखित आफ्नो निर्णयमा पूर्णइजलासले धर्मपुत्रको अस्तित्वलाई द्वैधशब्दले विभूषित गरेको छ । तर जुन रुपमा पति पत्नी र छोराको अस्तित्व पत्नी पति वा छोरासंग कुनै एक समयमा एउटै मात्र रहन्छ त्यै रुपमा धर्मपुत्रको अस्तित्व पनि धर्मपितासंग त्यो सम्बन्ध कायम रहेसम्म छोरोको रुपमा मात्र रहेको हुन्छ । त्यसलाई द्वैध भन्न मिल्दैन ।

१९.    पूर्णइजलासको उक्त निर्णयमा मोहियानी हकको प्रकृतिको विश्लेषण गरी त्यस आधारमा पनि धर्मपुत्रलाई मोहियानी हक प्राप्त गर्नबाट बञ्चित गर्न खोजिएको छ । मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्थित गरिएको अंश अपुतालीको हक जस्तो एउटा पूर्ण अधिकारको रुपमा लिन मिल्दैन मोही हक अंशबण्डा बेचबिखन वा अन्य कुनै तरिकाबाट हक टुटाई लिन समेत पाइँदैन मोहियानी हक अंश अपुताली झै स्वतः प्राप्त हुने निर्विवाद हक हो भन्न मिल्दैन, त्यसरी आफ्नै बीर्यबाट जन्मेका सबै छोराहरुले पनि समान रुपमा प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केबल धर्मपुत्र भएको नाताले प्राप्त हुन्छ भन्न मिल्दैनभनी पूर्णइजलासले उक्त निर्णयमा बोलेको पाइन्छ । पूर्णइजलासको उपर्युक्त टिप्पणीबाट तलका न्यायिक वा अर्धन्यायिक अधिकारीमा भ्रम उत्पन्न हुन सक्ने हुनाले तत्सम्बन्धी केही कुराहरु स्पष्ट गर्न म आवश्यक ठान्दछु ।

२०.   मोहियानी हक सम्पत्ति उपरको एउटा सीमित हक हो भन्ने कुरामा विवाद छैन । कानुनले मोहियानी हकको बेचबिखन र उत्तराधिकारमा कतिपय बन्देजहरु लगाएको छ । तर त्यत्तिकै कारणबाट मोहियानी हकको प्रकृति वा स्वरुप उत्तराधिकारबाट नसर्ने मोहीको (साविक पेज नं. ४५७) व्यक्तिगत हकको रुपमा परिणत हुने कुरा मान्न सकिन्न । यथार्थमा मोहियानी हकलाई कानुनले मोहीको एकलौटी हकको रुपमा मानेको छैन । खास खास अवस्थाहरुमा बाहेक मोहियानी हकको किन बेच हुन नसक्ने र मोहीको परिवारका सदस्यहरु मध्ये जग्गावालाले पत्याएको पति पत्नी वा छोराहरु मध्ये कुनै एक जनाले मात्र त्यस्तो हक पाउने कानुनी बन्देज भए पनि त्यो हक मोहीको र मोही परिवारका सदस्यहरुले सगोलमा भोग चलन गर्ने हक हो । मोहीभन्नाले आफ्नो र आफ्ना परिवारको श्रमले खेती गर्ने किसानलाई सम्झनु पर्छ भन्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (क) मा गरिएको परिभाषाले मोहियानी हक प्राप्त गर्ने मुख्य आधार कृषि श्रममा परिवारका सदस्यहरुको समेत संलग्नता हुने कुरालाई दर्शाउँछ । साथै मोहियानी हकको जग्गाको अधिकृतम हद निर्धारित गर्ने उक्त ऐनको दफा ८ ले त्यस्तो अधिकतम हद निर्धारित गर्दा मोहीको मात्र होइन, मोहीको परिवारका सदस्यहरुको नाममा दर्ता रहेको मोहियानी हकको जग्गाको क्षेत्रफलको समेत हिसाब गर्ने व्यवस्था गरेको छ । कानुनमा व्यवस्थित यी प्रावधानहरुले मोहियानी हकलाई परिवारका सदस्यहरुको सगोलको हकको रुपमा स्थापित गरेको प्रष्ट हुन्छ । यसरी परिवारका सदस्यहरुले सगोलमा भोग चलन गर्ने हक उत्तराधिकारको रुपमा सर्दैन भनी एकाएक भन्न मिल्ने होइन । मोहीको सुरक्षाको लागि मोहियानी हकको बेचबिखन मा प्रतिबन्ध लगाउनेसम्म कानुनको मनसाय हो, त्यो कानुनी प्रावधानले मोही वा निजको परिवारका सदस्यहरुको हक वा हितको प्रतिकूल जग्गावालाको कुनै हक सृष्टि गरेको सम्झन मिल्दैन । यथार्थमा जग्गावालाले मोही रोज्न पाउने दफा २६ को उपदफा (१) को व्यवस्था आफैंमा एउटा अस्पष्ट र भ्रमपूर्ण व्यवस्था देखिन आउँछ । त्यसले व्यवहारमा कतिपय गम्भीर कठिनाइहरु उत्पन्न गर्दछ । मोहीको एकासगोलमा साबालक छोराहरु छन भने जग्गावालाले त्यस्तो छोरालाई मोही रोज्न पाउने वा नपाउने ? मोहीको एक मात्र छोरा उसंग भिन्न भएर छुट्टै बसेको छ भने उसलाई परिवारको सदस्य मान्न र मोहियानी हकमा दावी गर्ने अधिकार प्रदान गर्न मिल्छ वा मिल्दैन ? जग्गावालाले मोही पत्याउने आफ्नो अधिकारको प्रयोग गर्दा मोहीको पति पत्नी वा छोराहरु मध्ये स्थायी रुपमा अन्त बसोवास गर्ने वा मोहियानीमा जग्गा कमाउन नचाहने वा नसक्ने व्यक्तिलाई रोजेर संधैको लागि मोहियानी हक समाप्त हुन सक्ने अवस्था उत्पन्न गराउन सक्छ वा सक्दैन ? इत्यादि यस्ता कतिपय प्रश्नहरु छन जसको उत्तर त्यो कानुनी व्यवस्थाले दिँदैन । त्यसैले अदालतले त्यसको व्याख्या गर्दा संकुचित वा अनुदार व्याख्या होइन, उदार र फराकिलो व्याख्या गर्नु उपयुक्त र न्यायोचित हुन्छ । मेरो रायमा मोहीको मृत्युपछि मोहीका परिवारका सदस्यहरुको बीचमा विवाद उपस्थित भई मोहीको ठेगान नलागेको अवस्थामा मात्र जग्गावालाले मोही रोज्ने अधिकारको प्रयोग गर्न सक्दछ । मोहीका परिवारका सदस्यहरुको बीचमा कुनै विवाद छैन भने त्यो अधिकार उसले प्रयोग गर्ने प्रश्नै आउँदैन । त्यसैले प्रस्तुत मुद्दामा मोहीको एकमात्र हकवाला धर्मपुत्रलाई मोहीको हकबाट बञ्चित गर्ने गरी पूर्णइजलासले उपर्युक्त निर्णयमा गरेको टिप्पणी र व्याख्यासंग म सहमत छैन ।

२१.   यसै प्रसंगमा पूर्णइजलासको अर्को एउटा टिप्पणीको सम्बन्धमा पनि म केही भन्न चाहन्छु । आफ्नै छोराहरुले पनि समान रुपमा प्राप्त गर्न नसक्ने स्थितिको मोहियानी हक केबल धर्मपुत्रको नाताले मात्र प्राप्त हुन्छ भन्न मिल्दैनभन्ने पनि पूर्णइजलासको उपर्युक्त निर्णयमा उल्लेख भएको छ । तर यो भनाई उचित छैन । प्रस्तुत विवादमा कानुन बमोजिम छोराले प्राप्त गर्न नसक्ने हक धर्मपुत्रले दावी गरेको वा खोजेको छैन । जग्गावालाले पत्याए पनि अथवा नपत्याए पनि अन्य छोराहरुसंगै मोहियानीमा समान हक पाउनु पर्छ भन्ने पनि निजको दावी होइन । मोहियानी हकको तात्पर्यको लागि उसलाई मोहीको छोराकै रुपमा व्यवहार गर्नुपर्छ भन्नेसम्म उसको भनाई छ । मोहीको मृत्युपछि निजको (साविक पेज नं. ४५८) एक मात्र हकवाला धर्मपुत्र भएको नाताले कानुन बमोजिम छोरालाई प्रदत्त हुने मोहियानी हक नामसारी गरी पाउँ भन्ने उसको माग छ र सो मागलाई मोहीको अर्को कुनै हकवाला खडा भएर विरोध गरेको पनि छैन । यस स्थितिमा केबल धर्मपुत्रको नाताले उसले मोहियानी हकमा दावा गर्न नपाउने किन ? कुनै व्यक्तिको मृत्युपछि निजको सम्पत्ति वा अन्य हक उपरको उत्तराधिकारको सम्बन्धमा कानुनले धर्मपुत्र र औरस पुत्रहरुमा कुनै भेद गरेको छैन । यथार्थमा केबल धर्मपुत्रको नाताले उसले कतिपय अवस्थामा उत्तराधिकारको क्रममा धर्मपिताका औरस पुत्रहरु भन्दा पनि प्राथमिकता पाउन सक्दछ । यस स्थितिमा कानुनले छोरा सरह समान रुपमा स्थान दिएको धर्मपुत्रलाई असमान जस्तो गरी छोरा भन्दा तल्लो स्थानमा राखी भेदभाव गर्नु कानुनसंगत हुँदैन । जहाँसम्म उत्तराधिकारमा समानताको प्रश्न छ मोहियानी हक मात्र होइन अन्य हक वा सम्पत्ति उपर पनि सबै अवस्थामा सबै छोराहरुले समान रुपमा दावी गर्न पाउँदैनन् । अंश छुट्टिएको वा नछुट्टिएको बेग्लै बसेको वा संगै बसेको हेरचाह गरेको वा नगरेको इत्यादि विभिन्न आधारमा कुनै छोराले बाबु आमाको सम्पत्तिमा अपुताली पाउने कुनैले नपाउने र छोराहरु मध्ये कसैले पाउँदै नपाउने अवस्था हुन सक्दछ । तसर्थ छोराहरुले समान रुपमा हक पाउँछन् वा पाउँदैनन् भन्ने कुरा मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सरहको स्थान दिने वा नदिने कुराको निर्णयाधार हुन सक्दैन ।

२२.   पूर्णइजलासले उक्त निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा उल्लेख भएको छोराहरुभन्ने शब्दले धर्मपुत्रलाई जनाउँदैन भन्ने कुरा प्रष्ट रुपमा नभने पनि प्रासंगिकताको तर्क प्रस्तुत गर्दै त्यो आशय अप्रत्यक्ष रुपमा व्यक्त गरेको छ । नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ द्वारा परिभाषित हुने शब्दको अर्थ सो परिभाषा अनुरुपको लगाउन विषय वा प्रसंगबाट नमिल्ने भएमा सो परिभाषाको अनुशरण गर्नु उपयुक्त हुँदैन । त्यस अवस्थामा विषयवस्तुको प्रकृति प्रासंगिकता हेरी त्यसको उपयुक्त अर्थ गर्नु पर्ने हुन्छ । उक्त दफा २ को शीर व्यहोरामा उल्लेख भएको विषय वा प्रसंगले अर्को अर्थ नलागेमाभन्ने वाक्यांशबाट अदालतलाई कानुनले त्यो अधिकार दिएको पनि छ । तर विषयवस्तुको प्रकृति वा प्रासंगिकताबाट उक्त ऐनद्वारा परिभाषित अर्थ गर्न नमिल्ने कुनै उचित कारण छैन वा त्यस्तो गर्दा कुनै असंगति वा अव्यवहारिकता उत्पन्न हुँदैन भने केवल अनुमान र कोरातर्कको आडमा त्यस्तो अवस्था देखाउने प्रयास गर्नु र त्यस आधारमा ऐनमा परिभाषित अर्थको अनुशरण नगरी असामान्य किसिमले कुनै शब्दको सामान्य अर्थलाई विस्तृत वा संकुचित गर्न खोज्नु उपयुक्त र कानुनसंगत हुँदैन । मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सरह सम्झन मिल्दैन भन्न पूर्णइजलासले जुन विषयगत वा प्रासंगिक आधारहरु देखाउन खोजेको छ वा जुन तर्कहरु प्रस्तुत गरेको छ ती आधार र तर्कहरु स्वयं त्रुटिपूर्ण र विरोधाभाषबाट ग्रस्त छन् यस सन्दर्भमा उक्त निर्णयमा धर्मपुत्रको कानुनी स्थितिको विश्लेषण गर्न खोजिएको छ, तर धर्मपुत्रको त्यो कानुनी स्थिति मोहियानी हकको प्रकृति वा प्रसंगमा मात्र किन र कसरी सरोकारको भयो, अन्य कानुनी हकहरुको सम्बन्धमा किन भएन भन्ने कुरा उक्त निर्णयले भन्दैन । अन्य कानुनी हक वा दायित्वको सन्दर्भमा पनि धर्मपुत्रको त्यो कानुनी स्थिति उही नै रहन्छ । उसलाई लिखतको आधारमा धर्मपिताले छोराको रुपमा ग्रहण गरेको र अवस्थानुसार कानुन बमोजिम त्यो लिखत बदर हुन सक्ने स्वभावको भएको तथ्य जुनसुकै अधिकारको सम्बन्धमा पनि विद्यमान रहेकै हुन्छ । यथार्थमा पूर्णइजलासले उक्त निर्णयमा धर्मपुत्र सम्बन्धी कानुनी व्यवस्थाहरुको उल्लेख मात्र गरेको छ, जुन मोहियानी हकको सम्बन्धमा धर्मपुत्र र छोराको बीचमा प्रासंगिक भिन्नता छ भन्नको लागि पर्याप्त हुँदैन । धर्मपुत्र सम्बन्धी कानुनी व्यवस्थाहरुलाई दृष्टिगत गरेरै कानुनले उसलाई छोराको स्थानमा राखेको छ । मोहियानी हकको सम्बन्धमा धर्मपुत्रलाई छोरा समानको स्थान दिंदा उक्त कानुनी (साविक पेज नं. ४५९) प्रावधानमा कस्तो असंगति, कठिनाई वा अव्यवहारिकता उत्पन्न हुन्छ भन्ने कुनै कुरा उक्त निर्णयमा उल्लेख भएको छैन । तसर्थ मोहियानी हकको प्रयोजनको लागि नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० द्वारा गरिएको परिभाषाको अनुशरण गर्न नमिल्ने कुनै प्रासंगिक बाध्यता देखिँदैन ।

२३.   यस सम्बन्धमा संयुक्तइजलासले आफ्नो निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को खण्ड (ग) र दफा २६ को उपदफा (१) मा धर्मपुत्रशब्दको उल्लेख नभएको भन्ने तर्क पनि प्रस्तुत गर्न खोजेको छ । तर नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ को खण्ड (म) अनुसार नेपाल कानुनमा प्रयुक्त छोराभन्ने शब्दले धर्मपुत्रलाई पनि जनाउने हुनाले कानुनमा छोरा शब्दको उल्लेख भएपछि धर्मपुत्रलाई जनाउनको लागि धर्मपुत्रशब्द उल्लेख गरी रहनु नपर्ने हुँदा संयुक्तइजलासको उक्त तर्क बिल्कुलै कानुनसंगत छैन । यदि उक्त दफा २६ को उपदफा (१) मा परेको छोराहरुभन्ने शब्दले धर्मपुत्रलाई नजनाउने विधिकर्ताको मनसाय रहेको भए त्यो कुरा किटानीसाथ कानुनमा व्यक्त हुनु पर्ने थियो । त्यसको अभावमा कानुनद्वारा परिभाषित सामान्य कानुनी अर्थमा फरक पर्ने गरी धर्मपुत्रको अर्थ गर्न मिल्दैन । कानुनद्वारा परिभाषित शब्दको अर्थ सो परिभाषा अनुसार नगर्ने हो भने कानुनमा जहाँ जहाँ त्यस्तो शब्दको प्रयोग भएको छ, ती सबै ठाउँहरुमा सो परिभाषाका कुराहरुलाई दोहोर्‍याई रहनु पर्ने भई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० र अन्य विभिन्न ऐनमा शब्दहरुलाई आवश्यकतानुसार परिभाषित गर्ने उद्देश्य र प्रयोजन नै बिफल हुन्छ ।

२४.   उपर्युक्त कुराहरुबाट पूर्णइजलासको उपर्युक्त निर्णय कानुनसंगत नहुँदा मैले सो निर्णयलाई नजीरको रुपमा अमान्य ठहराएको छु । संयुक्तइजलासले सो निर्णयलाई नजीरको रुपमा उल्लेख गरी सो आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारीको निर्णयलाई बदर गरेको पनि कानुनसंगत नहुँदा संयुक्तइजलासको निर्णय पनि बदर गरी रिटनिवेदन खारेज गर्ने मैले निर्णय गरेको छु । नियमानुसार मिसिल बुझाई दिनु ।

उक्त रायमा हामीहरु सहमत छौं । न्या.त्रिलोकप्रताप राणा, न्या.ओमभक्त श्रेष्ठ, न्या.मोहनप्रसाद शर्मा, न्या.केशवप्रसाद उपाध्याय, न्या.केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय

                        भक्तपुर जिल्ला सुडाल गाउँ विकास समिति वडा नं. ३(ङ) को कि.नं. १७ को ५० रोपनी जग्गा हामी निवेदक समेत ६२ जना गुठियारमध्ये थकाली चन्द्रवीर प्रजापतीका नाम दर्ताको जग्गा हो । उक्त जग्गाको जोताहा मोही माहिला प्रजापति भएकोमा निजको मिति २०४२।५।४ मा मृत्यु भयो । निज माहिला प्रजापतिका स्वास्नी छोराहरु कोही नभएको भनी माहिला प्रजापतिका धर्मपुत्र कान्छा प्रजापति नाबालक हुँदा निजका नाममा मोही नामसारी गरी संरक्षक रामबहादुर प्रजापतिले तत्कालीन रुपमा कमाउन पाउने गरी मिति २०४२।१०।२२ मा भूमिसुधार कार्यालय, भक्तपुरबाट निर्णय भयो । उक्त निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने रिटनिवेदन जिकिर भएको पाइन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरुमध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछभन्ने उल्लेख भएको पाइन्छ । यसर्थ उक्त दफा २६(१) को प्रयोजनको लागि धर्मपुत्रले मोही हक प्राप्त गर्न सक्ने वा नसक्ने भन्ने कुरामा विचार गर्नु पर्ने हुन आयो । भूमिसम्बन्धी ऐन, २०२१ (साविक पेज नं. ४६०) एउटा विशेष ऐन भएकोले यसमा प्रयोग भएको शब्दलाई ऐनको मर्म विपरीत व्याख्या गर्न मिल्दैन । प्रस्तुत रिटनिवेदनमा मोहियानी हक धर्मपुत्रमा सर्छ वा सर्दैन भन्ने प्रश्न उपस्थित भएको हुनाले सर्वप्रथमतः मोहियानी हक कस्तो प्रकृतिको हक हो भन्नेतर्फ विचार गर्नु पर्दछ । मोहियानी हकलाई अन्य प्रचलित कानुनमा व्यवस्था गरिएको अंशअपुताली जस्तो पूर्ण अधिकारको रुपमा लिन मिल्दैन । भूमिसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार मोहियानी हक अंश बण्डा बेच बिखन वा अन्य कुनै पनि किसिमबाट हक टुटाई लिन मिल्दैन । अंश वा अपुताली जन्मसिद्ध अधिकारको रुपमा रहेको हुन्छ । यसमा समान स्थितिका हकदारहरु सबैको समान अधिकार र दायित्व रहन्छ भने मोहियानी हक जन्मसिद्ध रुपमा स्वतः प्राप्त हुने हक होइन र समान स्थितिमा सबै हकदारहरुको समान हक र दायित्व रहेको हुन्न । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ अनुसार स्वास्नी र छोराहरु धेरै भएमा तिनीहरु मध्ये जग्गावालाले पत्याएको एकजना व्यक्तिलाई मात्र मोहियानी हक प्राप्त हुन सक्ने देखिन्छ । यसरी एकजना बाहेक अरु समान स्थितिका हकदारहरु भए पनि उनीहरु सबै उक्त अधिकारबाट बञ्चित रहने प्रष्ट छ । यसर्थ मोहियानी हकलाई पूर्ण अधिकारको रुपमा नलिई जग्गा कमाई गर्ने एउटा विशेष सुविधा वा अधिकारको रुपमा कानुनमा व्यवस्था भएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को मर्म अनुकूल नै धर्मपुत्रले मोही हक प्राप्त गर्न सक्ने वा नसक्ने भनी व्याख्या गर्नु पर्ने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) को बनौट हेर्दा जग्गा कमोद गर्ने हक मोहीको मृत्यु पश्चात निजको सबैभन्दा नजिकको नातेदार वा परिवार भित्रकै व्यक्ति मध्येका पनि ज्यादै सीमित व्यक्तिमा रहोस् भन्ने मनसाय विधायिकाको रहे भएको देखिन्छ । मोहीको मृत्यु भएमा निजका जीवित रहेका स्वास्नी वा छोराहरु मध्ये कुनै एक व्यक्तिलाई मात्र यो हक प्राप्त हुने भई बाँकी अरु मोही हकबाट बञ्चित हुन सक्ने प्रष्ट छ । त्यस अलावा स्वास्नी वा छोरा नभई नाती, पनाती, दाजु भाइ, बुहारी, छोरी मात्र रहे भएको अवस्थामा तिनीहरुलाई समेत मोही हकबाट बञ्चित गरी मोहीको मृत्यु संगै निजको मोहियानी हक समाप्त हुन सक्ने स्थितिको परिकल्पना भूमिसम्बन्धी ऐनले गरेको छ । यसरी आफ्नो वीर्यबाट जन्मेको वंश परम्परा थाम्ने आफ्नो छोरातर्फको नाती आफ्नो दाजु भाइ वा छोरातर्फको बुहारी समेतलाई मोहियानी हकबाट बञ्चित गरेको अवस्थामा त्यो भन्दा टाढाको अवस्थाको अर्काको वीर्यबाट जन्मेको, ग्रहण गरिएका धर्मपुत्रलाई यो अधिकारको उत्तराधिकारी मान्ने मनसाय विधायिकाको रहेको भनी अर्थ गर्न मिल्ने देखिन्न । आफ्नो बुहारी, दाजु भाइ, नातीतर्फ अटुट अविच्छेद सम्बन्ध हुँदा हुँदै पनि तिनीहरुलाई समेत मोहियानी हकबाट बाहेक गर्ने कानुनी व्यवस्थालाई अन्यथा गरी कानुनले तोकेको आधारमा बदर हुन सक्ने धर्मपुत्रलाई यो हक प्राप्त हुनसक्ने भनी व्याख्या गर्न कानुन, न्याय र विवेकले समेत मिल्ने देखिन्न । ऐनले यसरी सीमित गर्न खोजेको कुरा स्पष्ट देख्दा देख्दै ऐनको उद्देश्य र लक्ष्य विपरीत हुने गरी ऐनको परिभाषा अथवा सम्बन्धित दफामा छोराभन्ने शब्दले धर्मपुत्रलाई जनाउँदैन भनी नमानेको हुनाले यसमा धर्मपुत्र पनि समावेश भएको छ भनी कानुन व्याख्या सम्बन्धी ऐन, २०१० ले गरेको साधारण व्यवस्थालाई यस प्रकारको विशेष व्यवस्थामा आकृष्ट गर्दा व्याख्या सम्बन्धी मूल सिद्धान्तको विपरीत हुन जाने भई अष्ट्रेलियामा महिलाको कुकुरसंग विवाह गराई दिएको सिद्धान्त मिल्न जाने त होइन ? विश्वको सबभन्दा पुरानो मानव सभ्यता हो ऋग्वेदीय, यसमा भएको न्यायशास्त्रको व्याख्या प्रवृद्दीलाई निगमनात्मक पद्धति भनिन्छ । यसमा शाब्दिक व्याख्यालाई मात्र महत्व दिँइदैन । त्यसकारण भनिन्छ युक्ति बिना विचारेण माण्डव्य श्रोस्तोगत :वृद्ध याज्ञबत्क्म । त्यसै अनुरुप यूरोपीयन न्याय प्रणालीमा भनिन्छ कि जसले अक्षरमा मात्र भर गर्छ उसले बोक्रा मात्र भेट्टाउँछ (Gui Haeret in litera Haeret in Cortice)। (साविक पेज नं. ४६१)

                        अतः माहिला प्रजापतिको मृत्यु पश्चात निजको मोहियानी हक धर्मपुत्रका नाममा नामसारी गर्ने गरेको भूमिसुधार कार्यालय, भक्तपुरको मिति २०४२।१०।२२ गतेको निर्णय मिलेको नदेखिँदा सो निर्णय बदर हुने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४३।११।२६।१ को निर्णय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

इतिसम्वत् २०४८ साल पौष १६ गते रोज ३ शुभम् ।