निर्णय नं. ४३१७ – कर्तव्य ज्यान
निर्णय नं. ४३१७ ने.का.प. २०४८ अङ्क ७ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४४ सालको दे.पु.नं. ५७ फैसला...
निर्णय नं. ४३१७ ने.का.प. २०४८ अङ्क ७
संयुक्तइजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४४ सालको दे.पु.नं. ५७
फैसला भएको मिति : २०४७।१२।२६।३ मा
पुनरावेदक/वादी : भोला शाह तेलीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.धनुषा सेताखेर गा.पं. वा.नं. ३ बस्ने जितन कापरकेवटसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) चश्मदिद् व्यक्तिहरुको भनाइमा एकरुपता एवं विश्वास गर्ने दरिलो आधार (साविक पेज नं. ३२४) नदेखिँदा यस्ता चश्मदिद् व्यक्तिहरुको बकाईलाई भर गर्ने स्थिति नदेखिने ।
(प्रकरण नं. ३७)
पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम म.क्षे.अ.को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मिति २०४०।९।२० गते राती जि.ध. सतौखर गा.पं.वा.नं. ३ बस्ने राम औतार साहुलाई घाँटीमा काटी मारी दिएको छ भन्ने खबर प्राप्त हुन आएकोले लाश तथा घटनास्थल सुरक्षित साथ राखी कानुनी कारवाहीको लागि जाहेर गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी थाना सबैलाको पत्र ।
३. मिति २०४०।९।२० गते राती मेरो दाजु राम औतारलाई श्यामदेव समेतका १४ जनाले कर्तव्य गरी मारेकोले जाहेर गर्न आएको छु तसर्थ निज अपराधीहरु उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको भोला साह तेलीको जाहेरी दर्खास्त ।
४. २०४०।९।२० गते सतौखर गा.पं. अन्तर्गत निरीक्षण गर्न गएकोले उक्त घटना भए सम्बन्धी केही जानकारी भएन भन्ने समेत व्यहोराको अखिलेश्वरप्रसाद मिझारको कागज ।
५. २०४०।९।२० गतेको राती मर्ने राम औतारलाई हामीले मारेको होइन भन्ने समेत व्यहोराको प्र.विजु राय अमातले प्रहरीमा गरेको बयान कागज ।
६. २०४०।९।२० गतेका दिन म घरमै छु रातमा खानपिन गरी सुतें राम औतार कर्तव्य गरी मरे भन्ने कुरा भोलिपल्ट थाहा पाएँ मैले मारेको होइन भन्ने समेत व्यहोराको जितन भन्ने रामप्रसाद राय अमातले प्रहरीमा गरेको बयान कागज ।
७. २०४०।९।२० गते राती म आफ्नै घरमा नै थिएँ । रातमा राम औतार साहुलाई कर्तव्य गरी मारेछन भन्ने कुरा भोलिपल्ट थाहा पाएको भन्ेन समेत व्यहोराको रामशरण राय अमातले प्रहरीमा गरेको बयान कागज ।
८. २०४०।९।२० को राती म शिव मन्दिरमा सुतेको थिएँ केही थाहा पाइन भोलिपल्ट राम औतारलाई कर्तव्य गरी मारेछन भन्ने कुरा थाहा पाएको हुँ भन्ने समेत व्यहोराको चालितर कापर केवटले प्रहरीमा गरेको बयान कागज ।
९. २०४०।९।२० गते म आफ्नै घरमा थिएँ राम औतारलाई मारेको छैन भन्ने समेत व्यहोराको श्यामदेव राय अमातले प्रहरीमा गरेको बयान कागज ।
१०. उक्त घटना घट्नु अघि नै महेन्द्र महतो माछा खरिद गर्न गएको हुनुपर्छ सो दिन देखि आजसम्म निजलाई देखेको पनि छैन भन्ने समेत व्यहोराको रामकृपाल ठाकुरले प्रहरीमा गरेको बयान कागज ।
११. २०४०।९।२० गते राती म भाइ र बाबु समेत ३ जना एकै ठाउँमा सुतेका थियौं बाबु छटपटाएको थाहा पाई हेर्दा सोन्फी कापर, राम सोभित समेतले बाबुलाई समाती राखेको देखि डरले हल्ला गर्दा आमा ढोका खोली आउनु भयो पछि काका पनि उठी आएपछि बाबुलाई मारी भाग्न लाग्दा गाउँका धेरै मानिसहरु आएका हुन भन्ने समेत व्यहोराको मृतकको छोरा नवल किशोरले प्रहरीमा गरेको बयान कागज ।
१२. २०४०।९।२० मा प्रतिवादीहरुले राम औतारले कर्तव्य गरी मारेका हुन भन्ने ४ जना राम औतारको मृत्यु कर्तव्यबाट भएको हो तर कसले मारे (साविक पेज नं. ३२५) थाहा छैन प्रतिवादीहरुले मारेको होइनन् भन्ने केही व्यक्तिहरु समेत भएको सरजमीन मुचुल्का ।
१३. प्र.जितन कापर केवटलाई मु.ऐ, ज्यानसम्बन्धी महलको १३(३) अनुसार प्रतिवादीहरु सोन्फिराय अमात सिरिया राय अमात, लटु भन्ने राम गुलाम राय अमात, विसवा भन्ने बिसो राय अमात, सोन्फी कापर महेन्द्र महतोसुडी, राम सोभित कापर र अर्जुन भन्ने राजकुमार राय यादव समेत ८ जना पक्राउ परी फरार रहेकोले निजहरुलाई ऐ.ऐ.को १३(४) अनुसार र पक्राउ परेका प्रतिवादीहरु श्याम देवराय अमात छितना भन्ने रामप्रसाद राय अमात, रामशरण राय अमात, बिजुराय अमात, र चलित्तर कापर केवट समेत ५ जनालाई ऐ.ऐ.को १७(२) अनुसार सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१४. २०४०।९।२० गते राती म आफ्नै घरमा छु । मृतक राम औतारलाई कसले मारे थाहा छैन भन्ने समेत व्यहोराको श्याम देव राय अमातले अदालतमा गरेको बयान ।
१५. राम औतारलाई कर्तव्य गरी मारेमा मेरो कुनै सहमति छैन । निजसंगको गाउँको चुनावको रिसइवीले गर्दा मेरो नाम भोला साहले जाहेरीमा लेखाई दिएका हुन भन्ने समेत व्यहोराको रामप्रसाद राय अमातले अदालतमा गरेको बयान ।
१६. मैले राम औतारलाई मारेको छैन । गएको निर्वाचनमा मेरो दाजुलाई सहयोग गरें भन्ने रिसइवीमा मेरो नाम पोलेको हो भन्ने समेत व्यहोराको विर्जु राय अमातले अदालतमा गरेको बयान ।
१७. मैले राम औतारलाई मारेको छैन चुनावको रिसइवीले मेरो नाम समेत जाहेरीको उल्लेख गरेको हो भन्ने समेत व्यहोराको चलितर कापर केवटले अदालतमा गरेको बयान ।
१८. राम औतार साहुलाई कर्तव्य गरी मारेको मेरो कुनै सहमति वा सहयोग छैन गाउँको चुनाव सम्बन्धी रिसइवीले झुठ्ठा आरोप लगाएको हो भन्ने समेत व्यहोराको रामशरण राय अमातले अदालतमा गरेको बयान ।
१९. मैले राम औतारलाई मारेको छैन साथै के कस्तो परिबन्दबाट निजको मृत्यु भएको हो सो समेत थाहा छैन भन्ने समेत व्यहोराको राम गुलाम राय अमातले अदालतमा गरेको बयान ।
२०. २०४०।९।२० गतेका दिन म हेटौंडामा थिएँ मैले मृतकलाई मारेको छैन । केवल पाटा पाटीको रिसइवीले गर्दा पोल गरेको हुन भन्ने समेत व्यहोराको राजकुमार राय अमातले अदालतमा गरेको बयान ।
२१. २०४०।९।२० मा म काठमाडौंमा थिएँ र २०४०।९।२५ मा मात्र घर फर्केंको हँ म उपर लगाइएको आरोप झुठ्ठा हो भन्ने समेत व्यहोराको महेन्द्र महतो सुडीले अदालतमा गरेको बयान ।
२२. उक्त दिन म काठमाडौं थिएँ तसर्थ राम औतारलाई मारेकोमा मेरो कुनै सहमति छैन । निर्वाचनको रिसइवीले मेरो नाम समेत पोलेको हुन भन्ने समेत व्यहोराको राम सोभित कापर केवटले अदालतमा गरेको बयान ।
२३. २०४०।९।२० गतेका दिन म काठमाडौंमा थिएँ । मर्ने राम औतारलाई कसले मार्यो मलाई थाहा छैन भन्ने समेत व्यहोराको सोन्फी कापर केवटले अदालतमा गरेको बयान ।
२४. २०४०।९।२० का दिन काठमाडौं गएका थियौं र २०४०।९।२० का दिन काठमाडौंमा थियौं गाउँ घरको रिसइवीले म उपर झुठ्ठा आरोप लगाएको हो भन्ने समेत व्यहोराको जितन कापर केवटले अदालतमा गरेको बयान ।
२५. फरार रहेका बिसोराय, सिरिया र सोन्फी राय अमातका हकमा अ.बं. १९० नं. बमोजिम मुलतवीमा राखी दिने र शंकाको सुविधा अभियुक्तले पाउने हुँदा अन्य प्रतिवादीहरुले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०४२।।३।३१ को फैसला । (साविक पेज नं. ३२६)
२६. धनुषा जिल्ला अदालतको फैसला बदर गरी प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको म.क्षे.अ. मा परेको पुनरावेदनपत्र ।
२७. श्री म.क्षे. अदालतले धनुषा जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको०४४।१।२२ गतेको फैसला ।
२८. जाहेरवालाको दाजु राम औतार साहु तेलीलाई कर्तव्य गरी मारिएको भन्ने तथ्य लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन समेतबाट समर्थित छ ।
२९. मृतक राम औतारको छोरा भनिएको नवल किशोरले (चस्मदिद साक्षी) आफ्नो बाबुलाई मार्ने प्रतिवादीहरुको नाम किटानी रुपमा व्यक्त गरी वारदातको तथ्यलाई अदालतमा समेत बकपत्र गरी प्रतिवादीको बलपूर्वकको कर्तव्यबाट मृत्यु भएको कुरा बकी दिएकोले प्रमाण पुगिरहेकै छ ।
३०. प्रतिवादीहरुलले कर्तव्य गरी मारेमा सरजमीनका अधिकांश व्यक्तिहरुले एकै मिलानको साथ अदालतमा आई बकपत्र समेत गरिदिएको छ ।
३१. प्रतिवादीहरुसंग मृतकको रिसइवी रहेको कुरा मिसिलबाट प्रमाणित छ ।
३२. उल्लेखित चस्मदिद गवाहहरुको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १०(१) तथा दफा १८ बमोजिम प्रमाणमा ग्रहण गरिनु पर्नेमा वादी पक्षको साक्षीहरुले प्रस्तुत गरेको मूल तथ्यलाई मात्र अनुमानको भरमा खण्डन गरी प्रतिवादीहरुको इन्कारी बयानलाई तथ्ययुक्त प्रमाण मानी सफाई दिने गरेको ध.जि.अ.को फैसलालाई सदर गर्ने गरी श्री म.क्षे.अ. बाट भएको इन्साफ न्यायसंगत नभएकोले उपरोक्त फैसलाहरु बदर भई प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीहरुलाई सजाय होस् भन्ने समेतको श्री ५ को सरकार तर्फबाट परेको पुनरावेदनपत्र ।
३३. यस्मा दरखास्तमा प्रतिवादीहरुले कर्तव्य गरी मारेको भनी लेखिदिएको चस्मदिद गवाह नबल किशोरको अदालतमा भएको बकपत्र हेरेमा आफू मृतक बाबु र भाइ एउटै खाटमा सुतेको अवस्थामा प्रतिवादीहरु जितन कापर, सोन्फी कापर, राम सोभित कापर, महेन्द्र महतो र अरु अन्दाजी १० जना जति नचिनेका प्रतिवादीहरु आएका, मृतक बाबु राम औतारलाई समाती राखेको समेतमा बाबु छटपटाएका हुँदा म बिउँझिएँ । म बाबुलाई मार्न लागे भनी हल्ला गर्दै बाहिर निस्केको पछि घर फर्कदा बाबुलाई जितन कापरले छुराले रोपेको अन्य प्रतिवादीहरुले सो कार्यमा सरिक भई मारेको भनी किटानी साथ लेखी बकी दिएको देखिन्छ । यस मुद्दामा जाहेरवाला भोला साहु तेलीले जाहेरी दरखास्तको कुरालाई पुष्ट्याई गरी अदालतमा बकपत्र गरिदिएको देखिन्छ । सो को अतिरिक्त सरजमीनको व्यक्तिहरु जिवछ यादव, विष्णुदेव यादव, महेन्द्र यादव, रामप्रसाद यादव, नवल किशोर र सहदेव समेतका व्यक्तिहरुले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरुलाई सफाई दिएको म.क्षे.अ. को इन्साफ फरक पर्ने भएको हुँदा अ.बं. २०२ नं. र स.अ. नियमावली बमोजिम विपक्षीहरुलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्तइजालसको आदेश ।
३४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले प्रतिवादीहरुले राम औतारलाई कर्तव्य गरी मारेको हो भनी जाहेरवाला भोला साहु तेलीको किटानी जाहेरी दरखास्त परेको छ, मौकामा पक्राउ परेका प्रतिवादीहरु श्यामदेव राय अमात, बिर्जुराय अमात, रामशरण राय अमात, रामप्रसाद राय अमात, चलित्तर कापर केवट समेत ५ जनाको कागजबाट राम औतार कर्तव्यबाट मरेको देखिन्छ मृतकको नावालक छोरा नवल किशोर चस्मदिदले बाबु राम औतारलाई यी प्रतिवादीहरुले कर्तव्य गरी मारेको भनी प्रहरी तथा (साविक पेज नं. ३२७) अदालतमा समेत एकै मिलानको बकपत्र भएको छ । जाहेरवालाको दाजु राम औतारलाई कर्तव्य गरी मारेको भन्ने तथ्य लास प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन समेतबाट समर्थित छ, प्रतिवादीहरुले कर्तव्य गरी मारेको हो भनी सरजमीनका चस्मदिद व्यक्तिहरु सहदेव, राम औतार, रामप्रसाद, विष्णुदेव, महेन्द्र यादव, राम किशोर, खटरु, सुखी ठाकुर, नवलकिशोर र भोला साह तेलीले समेत अदालतमा आई बकपत्र गरेका छन् । प्रतिवादीहरुसंग मृतकको रिसइवी रहेको कुरा मिसिलबाट देखिन्छ । चस्मदिद गवाहको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १०(१) बमोजिम प्रमाणमा लिनु पर्दछ । अतः प्रतिवादीहरुले नै मृतकको कर्तव्य गरी मारेका हुन भन्न सकिने परिबन्द हुँदा हुँदै पनि उपस्थित प्रतिवादीहरुले अदालतमा आई इन्कार रहेकै भरमा मात्र शंकाको सुविधा अभियुक्तमा जान्छ भन्ने सिद्धान्तको आधारमा प्रतिवादीहरुले छुट्कारा पाउन सक्ने होइन । शंकाको सुविधा अभियुक्तले पाउने भन्ने सिद्धान्त पनि कोरा रुपमा लागू हुने होइन । अन्य सबूद परिस्थिति समेतले निज प्रतिवादीहरुले मृतकको कर्तव्य गरी मारेको देखिने भएकोले प्रहरी प्रतिवेदन बमोजिम अभियुक्तहरुले सजाय पाउनु पर्छ भन्ने समेतको बहस गर्नु भयो । विपक्षी प्रतिवादीहरु तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपानेले जाहेरी दरखास्तको विवरण र लास प्रकृति मुचुल्कामा मिलान छैन । छुराले घाटी रेटी मारेको भए जताजतै रगत देखिनु पर्नेमा एक ठाउँमा मात्र रगत जमेको देखिन्छ, रगतको मात्रा पनि कम देखिन्छ । मृतक राम औतार र छोरा समेत रातमा एकै खाटमा सुतेको देखिन्छ । तर खाटमा सिरानी आढ्ने ओछ्यान इत्यादि देखिन्न । घटनास्थल मुचुल्का हेर्दा अन्य ठाउँमा मारेको लाशलाई ल्याई खाटमा राखेका देखिन्छ । सरजमीनका मानिसहरु अन्य चस्मदिदले धेरै समयसम्म एकै प्रकारसंग छुरा रेटी राखेको देख्नु अस्वभाविक हो । मृतकलाई मारेको अवस्थामा देख्ने सबैले सिनेमा देखाए जस्तो वर्णन गर्दछन् । उस्ता चस्मदिदहरुका बकाइमा बढी भर गर्न सकिन्न । नवलकिशोरले मृतकसंग २०४०।९।१९ मा झगडा भएको त्यसै रातमा राम औतार मरेको भनी अदालतमा भन्दछन् । तर वारदात २०४०।९।२१ को बिहानै ५ बजेको भोलाशाह तेलीको जाहेरीले मिसिलबाट देखिन्छ । रगत लागेको मृतकले लगाएको कपडा ओढ्ना, ओछ्यान दाखिला भएको छैन । सरजमीनका ८।१० जानले एकैसाथ राम औतारलाई छुराले रेटी रहेको हेरी रहने अवस्था छैन । वारदात बिहानको छ, गाउँमा हल्ला भएको छ, मानिसहरुको भेला देखिन्छ तर पनि बचाउने तर्फ कसैको प्रयास देखिन्न । वारदात भएको ठाउँ कसैले गोठघर भन्छन् भने कसैले बैठक घर भनेकोले घटनास्थलमा नै एकै रुपता छैन सरजमीनका सबै मानिसहरुको भनाई समान छैन । काटेको घाउको सिन्धुर देखिन्छ, निज प्रतिवादीहरुले आलो काटेको घाउमा सिन्धुर राख्ने प्रश्नै उठ्दैन । घटना नै शंकास्पद देखिन्छ । शंकाको सुविधा प्रतिवादीहरुले पाउने हो । फौज्दारी मुद्दामा अभियुक्तको अभियोग शंकारहित रुपमा प्रमाणित गर्ने भार वादी पक्षको हो तर प्रस्तुत मुद्दामा शंकारहित रुपमा वादीले प्रतिवादीको अभियोग प्रमाणित गर्न सकेको छैन । अतः धनुषा जिल्ला अदालत तथा म.क्षे.अ.ले समेत प्रमाणको मूल्यांकन गरी प्रतिवादीहरुलाई सफाई दिने गरेको निर्णय अन्यथा नभएकोले प्रतिवादीहरुले सफाई पाउने ठहर गरेको ठीक छ भनी बहस गर्नुभयो ।
३५. अब यस्मा धनुषा जिल्ला अदालतको फैसलालाई सदर गरेको म.क्षे.अ.को फैसला मिल्यो मिलेन सो तर्फ निर्णय दिनु पर्ने हुन आएको छ ।
३६. यसमा निर्णयतर्फ विचार गर्दा मृतक राम औतार शाह तेली मिति २०४०।९।२० मा नाबालक छोरा नवलकिशोरलाई साथमा लिई आफ्नो बैठक घरको खाटमा सुतेको र भोलिपल्ट मिति २०४०।९।२१ गते बिहान अं. ५ बजेतिर खाटबाट उठी जान लाग्दा एकाएक सबै उपरोक्त विपक्षीहरुले हातमा खुकुरी, भाला, किरिच (साविक पेज नं. ३२८) र छुरा सहित लिई चार तिरबाट घेरी समाती सोही खाटमा जबरजस्ती सुताई विपक्षी रामशरण रायले मुखमा कपडा कोच्न लाग्दा राम औतार कराएको आवाज सुनी निजको नाबालक छोरा नवलकिशोर समेत उठी हेर्दा बाबुलाई उपरोक्त गाउँकै व्यक्तिहरुले जोर जुलुम गर्न लागेको देखि हतारिदै त्यहाँबाट गुहार माग्दै गाउँतर्फ लागेको र म समेत दाजुको क्रन्दन सुनी घरभित्र सुतिरहेको ठाउँबाट बिउँझी बाहिर आई टर्च बाली हेर्दा विपक्षीहरु मध्ये कसैले खुट्टा थिची कसैले घेरामा पारी भाग्न उम्कन नपाउने स्थिति बनाई मुखमा कपडा कोची बोल्न नसक्ने स्थिति बनाई विपक्षी मध्ये जितन कापरले मृतक राम औतारको घाँटीमा छुरीले रोपी दिएको देखि म र भतिजो नवलकिसोरको गुहार सुनी छरछिमेकी जम्मा हुन लागेको देखि र जितन कापरले घाँटीमा रोपेको छुरा तेर्सो पारी रेटी राम औतारलाई मारी सबै विपक्षीहरु भागी जान सफल भए भन्ने भोला साहु तेलीको मिति ०४०।९।२२ को जाहेरी दर्खास्त देखिन्छ र सोही जाहेरीमा चश्मदिदमा निज भोला साहु तेलीले खटरु यादव, राम चलित्रर यादव, जीवछ यादव, सुखी ठाकुरको नाम उल्लेख गरेको पाइन्छ । भोला साहुको जाहेरी पर्नु भन्दा अगाडि मिति २०४०।९।२१ मा छोटी प्रहरी थाना सबैलाका प्र.स.नी. शम्भु थापाले जि.प्र.का. धनुषामा जाहेरी दर्खास्त दिंदा मिति २०४०।९।२० गते राती राम औतार शाह तेली आफ्नो फुसको छाना भएको खुला बैठक घरमा सुतिरहेको अवस्थामा निज राम औतारको घाँटीमा काटी मारी दिएछन् भन्ने खबर ०४०।९।२१ गते बिहान प्राप्त हुन आएकोले मद्दत साथ लिई उक्त घटनास्थलमा पुग्दा निज राम औतार शाह तेलीलाई घाँटीमा काटी मारी दिएकोले लाश साथ घटनास्थल सुरक्षित साथ राखी कानुनी कारवाहीको लागि जाहेरी गरेको छु भनी जिल्ला प्रहरी कार्यालय धनुषामा ०४०।९।२१।५ मा जाहेर गरेको पाइन्छ उक्त छोटी प्रहरी थाना सवैलाको जाहेरीमा कुनै अपराधी वा विपक्षीहरुको नाम समेत उल्लेख भएको पाइन्न छोटी प्रहरी थाना सवैलाले घाँटी काटेको वारदात राम औतार सुती रहेको अवस्थामा घटित भएको भन्छ भने जाहेरवाला भोलासाहु तेलीको जाहेरीबाट घाँटी काटेको वारदात राम औतार बिउँझेको अवस्थामा भएको भन्ने देखिन्छ । यस प्रकार छोटी प्रहरी थाना सबैलाको मौकाको जाहेरी अर्थात् २०४०।९।२१ को जाहेरीमा उल्लेख भएको राम औतारको मृत्यु सम्बन्धमा भएका तथ्यगत कुरामा र २०४०।९।२२ मा जाहेर गर्ने भोला साहु तेलीको तथ्य कुरामा नै भिन्नता देखिन्छ । मृतक राम औतारसंग एउटै खाटमा सुत्ने नवलकिशोर वारदातका अर्को चश्मदिद व्यक्ति देखिन्छन् । नवलकिशोरले प्रहरीमा गरेको कागज हेर्दा सो कागजमा म भाइ र बाबु एकै ठाउँमा सुतेको, बाबु छट्पटाएको थाहा पाई हेर्दा सोन्फी राय, रामसोभित समेतले बाबुलाई समाती राखेको देखि डरले हल्ला गर्दा आमा ढोका खोली आउनु भयो । पछि काका पनि उठी आएपछि बाबुलाई मारी भाग्न लाग्दा गाउँकै धेरै मानिस आएका हुन भनी लेखी दिएको पाइन्छ । नवलकिशोरको उक्त मौकाको कागजबाट निजले बाबुलाई समाती राखेको देखि हल्ला गर्दा वारदात स्थलमा पहिले आमा आएको र त्यसपछि काका आएको भन्ने देखिन्छ । तर भोला साहुको मौकाको जाहेरीमा ०४०।९।२१ गते बिहान ५ बजे राम औतार खाटबाट उठी जान लाग्दा सबै विपक्षीहरुले घेरी समाती विपक्षी रामशरण रायले मुखमा कपडा कोच्न लाग्दा राम औतार कराएको आवाज सुनी नवलकिशोरले उठी हेर्दा गाउँकै उपरोक्त व्यक्तिहरुले जोर जुलुम गर्न लागेको देखि हतारिदै त्यहाँबाट गुहार माग्दै गाउँतर्फ लागेको र आफ्नु दाजु राम औतारको क्रन्दन सुनी आफू सुतिरहेको ठाउँबाट बाहिर आई सो ठाउँमा आएको भन्ने देखिन्छ । अर्थात नवलकिशोरले मैले हल्ला गर्दा आमा आइन र त्यसपछि काका आए, भन्छन् भने जाहेरवाला भोलाशाहु नवलकिशोर गुहार माग्दै गाउँतर्फ गएँ । म दाजुको क्रन्दन सुती त्यहाँबाट गएँ भन्नु हुन्छ । यस प्रकार चश्मदिद नवलकिशोर र भोला साहू तेलीका भनाइमा भिन्नता (साविक पेज नं. ३२९) पाइन्छ । नवलकिशोरले बाबुलाई मारी भाग्न लाग्दा गाउँकै धेरै मानिसहरु आए भन्छन् भने भोला शाहले राम औतारको घाँटीमा छुरा रोपेको अवस्थामा गाउँकै खटरु यादव, रामचलित्रर यादव, जिवछ यादव र सुखी ठाकुर समेत रहे भएको तथा देखेको भन्छन् । यिनै जाहेरवाला भोला शाहको अदालतको बकपत्र हेर्दा नाबालक छोराउठेर हल्ला गर्दा मेरो निन्दा खुल्यो र ढोका खोली हेर्दा रामशरणले मुखमा रुमाल कोचेको र जीतनले छुरा घोपी पछि तेर्सो पारेर रेटेको भन्छन् । तर भोला शाहको शुरु जाहेरी दर्खास्तको व्यहोरामा राम औतारको क्रन्दन सुनी सो ठाउँमा आएको देखिन्छ । भोला साहुले मौकामा व्यक्त गरेको कुरा र सोही भोला साहुले अदालतमा बकी लेखी दिएको व्यहोरामा एक मिलान देखिन्न । यस प्रकारबाट मृतक बाबुसंग सुत्ने नवलकिशोरको शुरु लेखाई र अदालतको बकाइमा भिन्नता छ भने जाहेरवाला भोला शाहले पनि मौकाको जाहेरी र अदालतको बकपत्रमा लेखी दिएको कुरामा भिन्नता छ ।
३७. मिति २०४०।९।२१ को घटनास्थल मुचुल्का हेर्दा लाश खटियामा भैंसी बाँध्ने अगाडि खुला कटेरोमा रहेको र सो खाटमुनी रगत रहेको देखिन्छ । सो घटनास्थलमा ओढ्ना बिछौना समेत केही देखिन्न । नवलकिशोरको बयान र भोला शाहको जाहेरी कागजबाट सो रात राम औतारसंग नवलकिशोर र निजको भाइ साथै सुतेको पाइन्छ । पौष महीनाको जाडो याममा खाली खाटमा तीन जना बिना ओढ्ना बिछौना सुते होलान भन्ने पत्यार लायकको कुरा होइन । बिना ओछ्यान र ओढ्ना बाबु सुतेको भन्न न त भोला बाह न त नवलकिशोरको लेखाई छ । खाटमा न बिछौना न ओढ्ना देखिन्छ न त तकिया सिरानी देखिन्छ । राम औतारको घाँटी छुराले रेटेको देखिन्छ । छुराले रेटेपछि रगतका छिटाहरु खाटका वरपर लागेको देखिनु पर्नेको अतिरिक्त मृतकले लगाएको लुगा र सुतेको खाटमा समेत रगत देखिनु पर्नेमा सो तथ्यको पूर्ण रुपले अभाव छ । वारदात छुरा रोपी सोही छुराले मृतकको घाँटी रेटेको भन्ने छ । यो वारदात देख्ने चश्मदिद भोला शाह, खटरु यादव, राम चलितर यादव, जीवछ यादव, सुखी ठाकुर र गाउँकै अरु मानिसहरुको साथै लोचन यादव, रामप्रसाद यादव, विष्णुदेव यादव, राम किशोर यादव समेत देखिन्छन् । वारदातको समय बिहानको ५।५.३० को देखिन्छ । हल्ला भई गाउँका मानिसहरु उठी सकेको मिलिबाट पाइन्छ । तर सो छुरा रोपेको र घाँटी रेट्ने अवस्थासम्म यी सबै चश्मदिदहरुले सो वारदात हेरी राखेको देखिन्छ र आफ्नो तर्फबाट सो वारदात हुन रोक्ने कुनै प्रयास भएको मिसिलबाट देखिन्न । बाबु राम औतारलाई मार्न लागे भने पछि र गुहार मागे पछि गाउँकै मानिसहरु भेला हुँदा हातहतियार लाठी समेत लिई आउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । तर यी सब केही भएको मिसिलबाट देखिन्न । अब चश्मदिद भनी पेश व्यक्ति जाहेरवाला भोला शाह र भोला शाहको जाहेरीमा लेखिएको खटरु यादव, रामचलित्रर यादव, जीवछ यादव र सुखी ठाकुरको लेखाई बकाई हेर्दा जाहेरवाला भोला शाहले दाजु राम औतारको मुखमा रामशरणले कपडा कोची बोल्न नसक्ने बनाई विपक्षी मध्येको जीतन केवटले मृतकको घाँटीमा छुरा रोपेको देखि म र भतिजा नवलकिशोर क्रन्दन र गुहार गर्न लाग्यौं र सो सुनी छरछिमेक जम्मा हुन लागेको देखी रोपिएको छुरालाई तेर्सो पारी रेटी राम औतारलाई मारी सबै भागे भन्दै सबूतको हकमा खटरु यादव, राम चलित्रर यादव, जीवछ यादव र सुखी ठाकुरको नाम उल्लेख गरेको पाइन्छ । तर भोला शाहले लेखाए भने जस्तो राम औतारको घाँटीमा छुरा रोपेर त्यसपछि छुरालाई तेर्सो पारी घाँटीमा रेटेको भनी निजहरुले लेखाउन सकेको पाइन्न । केवल छुरा रोपेको सम्म भन्छन् । अर्थात यी सबैले भोला शाहले जस्तै पहिले छुरा रोपे अनि छुराले तेर्सो पारी रेटे भनी कसैले भन्न सकेको पाइन्न । राम औतारको मुखमा कपडा कोचेको हेरी राख्नु र त्यसपछि राम औतारले बोल्न नसक्ने बनाई पछि छुराले घाँटीमा घोपेको (साविक पेज नं. ३३०) र त्यसपछि छुरा रेटेको सबैले एक टकले हेरी राख्नु र सो वारदात रोक्न प्रयास कसैले नगर्नुले समेत सो घटनालाई अस्वभाविक तुल्याएको छ । राम औतारको मुखमा कोचेको रुमाल रगताम्मे हुनु पर्ने र सो रुमाल पेश हुनु पर्नेमा सो रुमाल फेला परेको वा रहे भएको वा दशीको रुपमा दाखिल भएको समेत पाइन्न । मुखमा कोचेको रुमाल विपक्षीहरुले लगे भन्ने समेत कसैको भनाई छैन । कसरी वारदात भइरहेको रहेछ भनी हेर्दा जीवछ यादव, सुखी ठाकुर, खटरु यादव र राम चलित्तर यादवको लेखाई बकाई अलग अलग देखिन्छ । राम औतारलाई मार्दाको अवस्थामा सुखी ठाकुरले प्रतिवादी श्यामदेव, राम औताको छातीमा चढेको र महेन्द्र यादवले घेरा हालेको भन्नु हुन्छ भने खटरुले राम औतारको दायाँ हात समातेको भन्नु हुन्छ । यसै गरी राम औतारलाई मार्दाको अवस्थामा जीवछ यादवले राम चलित्रर कापरले मृतकको खुट्टा समातेको भन्नु हुन्छ भने सो कुरा सुखी ठाकुर र खटरु यादवले भन्नु भएको पाइन्न राम औतारलाई छुरा रोपी मार्दाका अवस्थामा सुखी ठाकुर, जीवछ यादवले राम औतारको छोरा मृतकसंगै सुतेको भन्नु हुन्छ भने राम औतारलाई मार्दाको अवस्थामा छोरा पनि त्यहीं सुतिरहेको देखें भनी रामचलित्तर यादव, खटरु र भोला शाहुले समेत भनेको पाइन्न । राम औतारलाई मार्दाको अवस्थामा देख्ने चश्मदिदहरुले जुन किसिमबाट वारदातसंग सम्बन्धित तथ्यगत कुराको वर्णन गरेका छन् सो एक आपसको भनाई लेखाइमा मिल्दैन । जुन चश्मदिद व्यक्तिहरुको बकाईलाई भर गरी झगडिया झिकाइएको छ ती चश्मदिद व्यक्तिहरुको आपसी लेखाई बकाई हेर्दा उक्त बकाई समेतको सामन्जस्यता एवं एकरुपता भएको देखिन्न । भिन्न भिन्न समयमा यी चश्मदिद व्यक्तिहरु उक्त वारदातमा आएको नभई उक्त छुरा रोपेको वारदात देखि विपक्षीहरु भागी नगएसम्म सोही ठाउँमा बसी उक्त वारदात घटना देखि हेरिरहेकोले यस्तो चश्मदिद व्यक्तिहरुको भनाईमा मेल खानु पर्नेमा सो नभई नवलकिशोर एवं जाहेरवाला लगायत जाहेरीमा लेखिएका अन्य चश्मदिद व्यक्तिहरुको भनाईमा एकरुपता एवं विश्वास गर्ने दरिलो आधार नदेखिँदा यस्ता चश्मदिद व्यक्तिहरुको बकाईलाई भर गर्ने स्थिति भएन । उसमा पनि नवलकिशोरले आफ्नो बकपत्रमा मृतक राम औतारलाई २०४०।९।१९ गते मारेको भनी सवाल १० नं. मा लेखाएको पाइन्छ । जबकी राम औतार २०४०।९।२१ को बिहान ५।५० बजे तिर मारिएको भन्ने जाहेरी एवं प्रतिवेदनबाट देखिन्छ । यस्तो अवस्थामा यी प्रतिवादीहरुलाई दोषी ठहर्याउन मिल्ने अवस्था नदेखिँदा प्रतिवादी मध्ये फरार रहेका प्र.बिसो राम, प्र.सिरिया, सोन्फी राय अमातका हकमा मुलतबी राखी अभियुक्त बनाइएका अरु प्रतिवादीहरुलाई सफाई दिने गरेको शुरु धनुषा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्याएको श्री म.क्षे.अ.को इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गर्नु ।
उक्त रायमा म सहमत छु । न्या.बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४७ साल चैत्र २६ गते रोज ३ शुभम् ।