निर्णय नं. ४२६ – जग्गा
निर्णय नं. ४२६ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री लोकराज जोशी २०२४ सालको दे.फु.नं. ५० निवेदक :...
निर्णय नं. ४२६ ने.का.प. २०२५
फुल बेञ्च
न्यायाधीश श्री नयनबहादुर खत्री
न्यायाधीश श्री मीनबहादुर थापा
न्यायाधीश श्री लोकराज जोशी
२०२४ सालको दे.फु.नं. ५०
निवेदक : सन्तकुमारी थापा क्षेत्रीनी
विरुद्ध
विपक्षी : क.प.रोहीणीकुमारी थापा क्षेत्रीनी समेत
मुद्दा : जग्गा
(१) मधेश माल सवालको दफा ४२३ हिंसा गरी फुटाई जिमदारी मौजा लेनदेन व्यवहार गर्न हुने–असल कमसल मिलाई उत्तिकै हिस्सा गरी उक्त मौजाको साविक जिमदारीसँग आएको जोत जिरायत लम्बरी पनि जिमदारी सँगसँगै खरिद बिक्री गर्न हुने ।
मधेश माल सवालको ४२३ दफामा जिमदारी मौजा फुटाई खरिद बिक्री समेत केही गरेमा ५ वर्षसम्ममा बाँकी बेमाख नभए बाँकी बेमाख भएको जिम्दारी समेत जामी पजनी हुने सवाल भइरहेको हुनाले जिमदारी मौजा जति हिस्सा गरी फुटाई लेनदेन व्यवहार गर्न हुन्छ । सो मौजाको साविक जिमदारीसाथ आएको जोत जिरायत नम्बरी जग्गा पनि असल कमसल मिलाई उत्तिकै हिस्सा गरी जिम्दारी साथसाथै खरिद बिक्री गर्न हुन्छ ।
(प्रकरण नं. १२)
निवेदक, वादी तर्फबाट : अभिवक्ता श्री झुलेन्द्रप्रसाद
प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा
फैसला
१. रोहिणीकुमारीबाट जी.स.प्र.जगदर मौजे कोचा भखारीको निजका नाउँमा दर्ता भएको जिमदारीमध्येऽआना जिमदारी र जिरायत बिगहा ८।। भा.रु. १७००१ मा २०१३ साल कार्तिक ८ गते राजीनामा गरी लिएकीले जिरायत दाखेल खारेज गरी दिएन । कित्ता ५ को जिरायत ८।। बिगाहा दर्ता गरी दिनुभन्ने पटबारीलाई रोहीणीकुमारीले चिठ्ठी लेखेको गुमता बिलट साहुले कबुलियत लेखी लिई सो नम्बरको जग्गा भोगचलन भईरहेकोले दर्ता गरी दिनु भन्ने पुर्जी पाउँ भन्ने समेत सन्तकुमारीको वा.बिलट साहुको २०१६।३।२८।२ को दर्खास्त ।
२. जिमदारी पटवारीलाई म्याद गएकोमा जिमदारी जिरायत उक्त नं.को जग्गा मैले लेखी दिएको पनि छैन । भोग गरेको पनि छैन । नरम–गरम मिलाई दामासाहीबाट छुट्याई दर्ता होस् भन्ने समेत रोहीणीकुमारीको वा सुकुम मलाहाको रिपोर्ट परेको र खेचर शम्शेरले बिक्री गरेकोमा रोहीणीले हक सफा गरेको धनी रोहीणीको मञ्जुरी चिठ्ठीबमोजिम सन्तकुमारीको दामकाम गर्ने बिलट साहुको कबुलियत पटवारीले गराई दिएको सन्त कुमारीको दर्खास्तबमोजिमको कित्ता नं. को जग्गा कबुलियत पटवारीले लेखेको देखिएकोले तमसुकमा हद नं. छुट्याई नलेखे तापनि दर्खास्त कबुलियतमा लेखिएबमोजिम नं. ९७९। ९८०।९८१।९८२।७८४ को कित्ता ५ को जग्गा दाखिल दर्ता गरी दिने ठहर्छ भन्ने समेत २०१६।४।८।५ को हनुमाननगर मालको पर्चा ।
३. सन्तकुमारीको दर्खास्तबमोजिमको जग्गा दर्ता हुने होइन भन्ने समेत मेरो रिपोर्ट परेपछि जग्गामा तेरो मेरो हुन आएकोले यस्तो मुद्दा मालबाट हेर्न नपाउने हुँदा उक्त इन्साफमा चित्त बुझने भन्ने समेत रोहिणीकुमारीको पुनरावेदन ।
४. राजीनामा कित्ता नछुट्टिएको, मञ्जुरीका चिठ्ठी मिसिल समेल नभएको, माल सवालको ४२३ दफाबमोजिम नरम–गरम मिलाई छुट्याई दर्ता गरी दिनुपर्ने । सोबमोजिम नगरी पटवारीले कबुलियत लेखिदिएको भले सवाल काटी सिङ्गासिङ्गै कित्ता दाखेल खारेज गरी दिने गरेको मालको पर्चा गल्ती हुँदा सवालबमोजिम नरम–गरम मिलाई दर्ता गरी दिनु भन्ने समेत २०१७।३।२३।४ को सप्तरी गोश्वाराको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने सन्तकुमारीको २०१९।३।१९।३ को पुनरावेदन ।
६. मधेस माल सवाल ४२३ दफाको शीर्षकमा जिमदारी फुटाई लेनदेन गर्दा जिमदारी साथ भएको जोत जिरायत जग्गा पनि हिस्सा छुट्याई जिमदारी साथै राखी लेनदेन गराउने काम भनी त्यसको देहायमा जिमदारी मौजा जति हिस्सा गराई फुटाई लेनदेन व्यवहार गर्न हुन्छ । सो मौजाको साविक जिमदारीसाथ आएको जोत जिरायत नम्बरी जग्गा पनि असल कमसल मिलाई उत्तिकै हिस्सा गरी जिमदारी साथसाथै खरिद बिक्री दान बक्स इत्यादि लेनदेन व्यवहार गर्न हुन्छ भन्ने सो मधेस माल सवालको ४२३ दफामा लेखिएको हुनाले सो सवालबमोजिम असल कमसल मिलाई लिए दिएको फाँट जिमदारी हिस्सामा पर्ने जिरायत नरम–गरम गरी छुट्याएको यो यो हद नं.को जग्गा यो यति हो भन्ने समेत लिनु दिनु गरेको लिखतबाट देखिन्छ भन्न अपीलाटले नसकेकोले समेत इन्साफ सप्तरी गोश्वाराको मुनासिव छ भन्ने समेत २०२०।१।१८।४ को डिभिजन बेञ्चको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन । दोहर्याई पाउँ भनी सन्तकुमारीले न्यायीक समिति मार्फत श्री ५ महाराजाधिराजको हजुरमा चढाएको बिन्तीपत्रमा यसमा मधेस मालसवालको ४२३ दफाअनुसार नरम–गरम असल कमसल कित्ता, किल्ला छुट्याई राजीनामा भएको र रोहिणीकुमारीको मञ्जुरी चिठ्ठीबमोजिम पटवारीले कबुलियत गराएको भनी लेखेको मञ्जुरी चिठ्ठी मिसिल सामेल रहेको नदेखिएकोले सवालबमोजिम नरम–गरम छुट्याई दर्ता गरी दिने भन्ने समेत सप्तरी गोश्वाराको इन्साफ सदर गरेको स.अ. को निर्णय देखिँदा यस केशमा सो सवालबमोजिम नरम–गरम असल कमसल छुट्याई लिनु दिनु गरेको हो, होइन र राजीनामा र कित्ता नं. छुट्टिएको रोहिणीकुमारीको मञ्जुरी चिठ्ठीबमोजिम पटवारीले गराएको कबुलियतबमोजिम दाखेल खारेज गरिदिनुपर्ने नपर्ने के हो ? भन्ने कुराको निर्णय दिनुपर्ने मुख्य विषय हुन आएको छ । उक्त उल्लिखित निर्णयमा कित्ता नं. छुट्टिएको रोहिणी कुमारीको मञ्जुरी चिठ्ठी मिसिल सामेल नदेखिएको भन्ने कुराको हकमा हाल वादी निवेदकले रोहिणीकुमारीले पटवारी सूर्यनारायण कायष्तलाई जग्गा सन्तकुमारीका नाउँमा दर्ता गरी दिनु भनी लेखेको मिति २०१३।१०।२।३ को चिठ्ठी अघि निजले पेश गरी नदिएको कारणबाट मुद्दा हारिन गएको हुनाले त्यस बारेमा निजलाई बेइमानी गर्यो भनी दुःखका कुरा गर्दा लौ लैजाउ भनी सो चिठ्ठी दिएको हुनाले एकप्रति नक्कल दाखिल गरेको छु भनी वादी निवेदकले निवेदनसाथ दाखिल गरेको छ । सो चिठ्ठीमा का.इ. ठमेल बस्ने सन्तकुमारी थापा क्षेत्रीनीसँग मैले भा.रु. १७००१ लिई सो रुपैयाँमा मेरो खुसी मञ्जुरीले मेरो त्यसकोचा मषौरी मौजाको ।। बाह्र आना हिस्सा जिमदारी जिरायत मध्ये पूर्व बाटो उत्तर पश्चिम जीवलाल साहुको खेत उत्तर मेरै जिरायत खेत दक्षिण गाउँको किनारको बाटो उत्तर यो चार किल्ला भित्र परेको कित्ता नं.को जग्गा बिगाहा ८ को चक्ला १ पूर्वगाउँको पुछार किनाराको बाटो पश्चिम मेरै जिरायत खेत उत्तर खेचर शम्शेर थापाको बगैंचा खेत दक्षिण मेरै बगैंचा खेत यो ४ किल्ला भित्र परेको कित्ता नं. को बगैंचा फुलबारी भएको खेत बिगाहा ८।। को चक्ला १ जम्मा जिरायत बिगाहा ८।। साढे आठ बिगाहा जिरायत जग्गा चक्ला २ निज सन्तकुमारीलाई राजीनामा गरी काठमाडौं रजिष्ट्रेसन पास गरिदिएको छु । हडबड परी मौजाको टिपोट लगत खोज्ने मौका नभई ४ किल्लामात्र खोली राजीनामा पास गरी दिएको छु । सो राजीनामा लिई निजै सन्तकुमारी र निजको पुरुषलालबहादुर थापाहरू आउनुहुनेछ । हेरी बुझी सो राजीनामाको ४ किल्ला भित्र परेको जग्गा कित्ताले तपसीलमा लेखिएबमोजिममा केही फरक परेको भए जाँची राजीनामाको ४ किल्लाभित्रको कित्ता नं. ठीक पारी सन्तकुमारीका नाउँमा दर्ता गरी सो राजीनामा बमोजिमको जग्गा भोग चलन गर्न दिनुहोला भन्ने पेट व्यहोरामा र तपसीलमा जग्गाको हद किल्ला नं. खुलाई लेखी दिएको र सोही राजीनामाको उक्ती राखी पटवारीले विलटको कबुलियत गराई वादी सन्तकुमारीले ३।४ वर्षदेखि भोग चलन गरी आएको देखियो । राजीनामा व्यहोराबाट कमसलमात्र बाँकी राखी असल जग्गा मात्र दिएको भन्ने नदेखिएको ४ किल्ला खुलाई लेखी दिएकोमा साँधमा अरु जिरायत समेत देखिएको सो ४ किल्ला भित्रको यो हद नं.को जग्गा हो भन्ने कुरा मञ्जुरी चिठ्ठीबाट प्रष्ट हुन आएको । त्यसको अतिरिक्त निज रोहिणीकुमारीले सिङ्गासिङ्गै कित्ता दिएको होइन भन्ने कुराको सबुद दिन नसकी जिरायतका नं.नं. बाट पाउने गरी दिएको भन्ने लेखेकोमा सो कुरा राजीनामाबाट नदेखिएको । आफूले गरी दिएका कागजउपर कुनै किसिमको उजुर गरेको पनि नदेखिएको । मधेस मालको ४२३ दफाले नरम–गरम, असल–कमसल छुट्याई सिङ्गासिङ्गै दिन हुँदैन भन्ने बन्देज गरेको नदेखिएको र राजीनामा व्यहोरा र व्यवहारबाट हिस्सा फाँट जिमदारी चल्न नसक्ने गरी लिएको भन्ने र नरम–गरम, असल–कमसल छुट्याई लिएको होइन भन्ने कुनै किसिमको आशंका गर्नुपर्ने अवस्था पनि नदेखिएको सिङ्गासिङ्गै कित्तामा नरम–गरम, असल कमसल छुट्याई व्यवहार हुन पनि सक्ने र १६ जना जिम्दारीमाव ४ आना जिम्दारी जिरायत बिगहा १७ खेचर सम्शेरको बण्डामा परेको र सो ४ आना जिम्दारी र जिरायत बिगाहा ४।।११ र रमा पतिलाई बेचेकोमा निज रोहिणीकुमारीले हक सफा गरी केशीलाल साहु तेलीलाई मो.रु. १३००१ मा २०१३।६।९ मा बुद्धिबहादुरलाई भोगबन्धकी पास गरिदिएको देखिएको । त्यो व्यवहारबाट पनि फुटुवा हिस्सेदार जिम्दारी चलन सक्ने गरी नरम–गरम, असल कमसल छुट्याई कित्ता कित्तै बण्डा दिने बिक्री गर्ने बन्धक दिने गरेको देखिन आएको । यसबाट पनि नमर–गरम, असल कमसल मिलाई राखेको जोतजिरायत सोही मनासिव । निवेदक, वादीलाई असल कमसल नरम–गरम मिलाई बिक्री गरेको देखिन आएको समेत प्रमाण परिवन्दबाट राजीनामा र मञ्जुरी चिठ्ठी कबुलियतको विपरीत सवालको प्रतिकुल नपरेको कुरामा सवालबमोजिम नरम–गरम मिलाई छुट्याई मात्र दर्ता गरी दिने ठहराएको स.अ. को निर्णय मिलेको नदेखिँदा दोहर्याउने आदेश बक्सनुपर्ने भनी समितिबाट सिफारिस गरेको व्यहोरा जाहेर हुँदा श्री ५ महा राजाधिराबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याइदिनु भन्ने हुकुम बक्सी आई पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने २०२४।६।५।५ को माननीय का.मु.प्र.न्या.ज्यू.को आदेश ।
८. प्रतिवादी रोहिणीकुमारीले प.सुर्जेनारायणलाई लेखेको भन्ने २०१३।१०।२।३ को चिठ्ठी सकलै दाखेल गर्न ल्याउनु भनी निवेदक, वादीको वारेसलाई तारेख तोकी दाखेल गराई सो चिठ्ठी प्र.रोहिणकुमारीको वारेसलाई सुनाउनु पेश गर्नु भन्ने समेत २०२४।११।१।३ को फुल बेञ्चको आदेश ।
९. अदालतबाट मलाई देखाई सुनाएको २०१३।१०।२ को मैले प.सूर्यनारायणलाई लेखेको भनी पेश गरेको पत्र देखे सुने उक्त पत्रको शिर पुछारमा लगाएको ल्याप्चे सहीछाप मैले जानीबुझी सही गरेको होइन । मौजामा काम गर्ने भाइ यज्ञबहादुर पटवारी सूर्यनारायण दासहरूलाई काम विशेषमा वारेस गरिरहनु पर्ने हुँदा नलेखेको कागजमा सहीछाप गरी पठाउने गर्ने त्यस्तैमा खडा गरेको हो वा के हो ? मैले गरिदिएको होइन भन्ने समेत प्र.रोहिणीकुमारीको बयान ।
१०. मलाई रोहिणीकुमारीले कुनै लिफा कागज दिएको छैनन् । २०१३।१०।२ को मिति लेखिएको रोहिणीकुमारीले लेखेको पत्र मैले वादीलाई सुम्पिदिएको छैन भन्ने समेत प्र.सूर्यनारायणलाल दास कायष्तको बयान ।
११. २०१३।१०।२।३ को पत्र सद्दे हुँदा रोहिणीकुमारीको बयान झुटा हो भन्ने समेत सन्त कुमारीको वा मकरमान श्रेष्ठको बयान । रोहिणीकुमारीबाट मैले सिफा लिने गरेको थिइँन । वादीबाट पेश भएको सक्कल चिठ्ठी २०१३ सालमा मकरमानबाट साफी गराई लेखाएको मैले देखेको हुँ भन्ने समेत यज्ञबहादुरको बयान ।
१२. यसमा तारेखमा रहेको निवेदक, वादीको वा मकरमान श्रेष्ठ प्र.रोहिणीकुमारी पटवारी सूर्यनारायणलाल दासको वा श्रीप्रसाद उपाध्याय र यज्ञबहादुरको वा दानबहादुर उदास समेत रोहवरमारही गत २०२५ साल जेष्ठ २९ गते पेश भएकोमा निवेदक, वादी तर्फबाट रहनुभएको विद्वान अभिवक्ता श्री झुलेन्द्रप्रसादले र प्र. रोहिणीकुमारी तर्फबाट रहनुभएको विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिई पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक, वादीका दर्खास्त दावी बमोजिमको जग्गा निजको नाउँमा दर्ता गराई दिनुपर्ने हो होइन भनी निर्णयतर्फ विचार गर्दा आफ्ना हिस्साको जिम्दारीमध्ये = हिस्सा र त्यसको जोत जिरायत बिगहा ८।। निवेदक, वादीलाई प्र.रोहिणीकुमारीले २१३।७।९ मा राजीनामा पास गरिदिएकोमा कुनै वादविवाद नदेखिएको प्र.रोहिणीकुमारीले पटवारी सूर्यनारायणलाई लखेको चिठ्ठी भनी निवेदक, वादीले पेश गरेको २०१३।१०।२।३ को पत्रमा बेलुका घरमा पास गर्दा हडबड परी ४ किल्ला खोली राजीनामा पास गरिदिएको छु । सो ४ किल्ला भित्र यो–यो जग्गा कित्ता नं.तपसीलमा लेखिएबमोजिमा केही फरक परेको भए किल्ला नं. ठीक पारी दर्ता गरी दिनु भन्ने समेत उल्लेख भएको मुद्दाको अन्तिम किनारा नभएसम्म मुख्य प्रमाणको कागज अ.बं. १७७ नं. ले प्रमाण लाग्ने भई प्र.रोहिणीकुमारीलाई सुनाउँदा पटवारी सूर्यनारायण र मौजामा काम गर्ने भाइ यज्ञबहादुरलाई काम विशेषले चाहिन्छ भनी लिफा दिने गरेको हुँदा सोही लिफामा खडा गरेको हो वा के हो भन्नसक्दिन भनी बयान गरेकी । यो यो भई यो मितिमा यस ठाउँमा बसी जालसाज गरी खडा गरेका हुँ भनी किटान गरी खुलाउन पनि नसकेकी निज रोहिणीकुमारीको भाइ यज्ञबहादुर र पटवारी सूर्यनारायणले लिफा दिएको होइन भनी बयान गरेका सो चिठ्ठीको शिरमा र मिति बन्दमा पनि दायाँ बायाँ ल्याप्चे सहीछाप लागेको लिफामा त्यस किसिमसँग मिलाई लेख्न पनि मिल्ने अवस्था नदेखिनेमा पनि निज प्र. रोहिणीकुमारीले दर्ता नामसारी गरिदिनालाई कित्ता नं. समेत खुलाई पटवारीलाई चिठ्ठी लेखेकी पनि वादीले शुरु दर्खास्त समेत भई उल्लेख गर्दै आएको समेत देखिनाले निवेदक, वादीबाट पेश भएको उल्लिखित चिठ्ठी सद्दे देखिन आउँछ । रजिष्ट्रेशन पास भएको राजीनामाको किल्ला बाहिरको जग्गा लिने दिने गरी चिठ्ठीमा लेखिएको नदेखिएको र राजीनामाका किल्ला भित्र वादी दावीको नं.को जग्गा छैन भन्न प्रतिवादीले नसकेकोले चिठ्ठीकोमात्र आधारले दावी गरेको पनि नदेखिएको र वादी दावीको कित्ता नं.को जग्गाको गुमस्ता कामकाज सकार गरी विलठ साहु तेलीले निवेदक, वादीलाई २०१३।१०।१५।२ मा कबुलियत गरी दिएको देखिएको । सो कबुलियतबमोजिमको जग्गा नै भोगचलन गरी आएको भन्ने निवेदक, वादीको भनाइ भएको र सोही जग्गा नै दर्ता नामसारी गरी पाउँ भनी निवेदक, वादीको वारेसले २०१६।३।२२।२ मा मालमा दर्खास्त दिएको देखिएको । मधेस माल सवालको ४२३ दफामा जिमदारी मौजा फुटाई खरीद बिक्री समेत केही गरेमा ५ वर्षसम्ममा बाँकी बेमाख नभए बाँकी बेमाख भएको जिमदारी समेत जामी पजनी हुने सवाल भइरहेको हुनाले जिम्दारी मौजा जति हिस्सा गरी फुटाई लेनदेन व्यवहार गर्न हुन्छ । सो मौजाको साविक जिम्दारी साथ आएको जोत जिरायत लम्बरी जग्गा पनि असल कमसल मिलाई उत्तिकै हिस्सा गरी जिम्दारी साथसाथै खरिद बिक्री गर्न हुन्छ भन्ने समेत उल्लेख भएको १६ आना जिमदारीको जिरायत किल्लैपिच्छे टुक्रा–टुक्रा गरी लिन दिन पर्छ भन्ने कानूनी बन्देज नभएको र जम्मा १६ आना जिमदारीको जिरायतमध्ये यति बिगाहा यस कारणले असल र यति बिगाहा कमसल छ भनी फाँट खुलाई लेख्न प्रतिवादीले नसकेकीले समेत सप्तरी गोश्वाराको सदर गरेको २०२०।१।१८।४ को डिभिजन बेञ्चको निर्णय मिलेको देखिएन । निवेदक, वादीका दर्खास्तबमोजिमको जग्गा दर्ता गरी दिन पर्ने ठहराएको हनुमान नगर मालको २०१६।४।८।५ को इन्साफ मुनासिव ठहर्छ । तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाइदिनु ।
तपसील
का. ई. नक्साल घर हाल जि.स.प्र.जगदर मौजे कोचा भकारी बस्ने रोहिणीकुमारी थापा क्षेत्री के २०१३।१०।२ को चिठ्ठीलाई जालसाजी भन्नेतर्फ दावी ठहरे बिगो नखुलेको हुँदा प्रतिवादीहरूलाई किर्ते कागजको १० नं. ले रु.१० जरिवाना हुनेमा नठहरेकोले झुट्टा बयान गरेवापत दं.स. १८ नं. ले आधि रु.पाँच जरिवाना हुन्छ । रुजु हुँदा असुल गरी का.श्रे.अ.त.मा लगत दिनु ………………..१
प्रतिवादी निज रोहिणीकुमारीलाई नाउँसारी दर्ता गरी नदिएमा भनी हनुमाननगर मालका २०१६।४।८।५ का पर्चाले गर्ने गरेको कं.रु. ५ नलाग्ने हुँदा असुल भए फिर्ता दिनु बाँकी भए लगत काटी दिनु भनी सप्तरी गोश्वाराको २०१७।३।२३।४ का फैसलाबमोजिम नं. १०५५ मा लगत दिएको देखिएको र उल्लिखित कं.रु. ५ लाग्ने नै हुनाले सो सप्तरी गोश्वाराका फैसलाबमोजिम गर्नु पर्दैन असुलउपर गर्नु भनी ऐ ……………….२
प.१ नं.धा.इ.सल्यान ल.पु.वा.बस्ने निवेदक, वादी सन्तकुमारी थापा क्षेत्री के डिभिजन बेञ्चका २०२०।१।१८।४ का फैसलाले गर्ने गरेको दण्ड रु.१। एक नलाग्ने हुँदा असूल भए फिर्ता दिनु, बाँकी भए लगत काटी दिनु भनी ऐ.ऐ………………….३
हनुमाननगर मालका देहायका व्यक्तिहरूलाई गल्ती इन्साफ गरेवापत भनी सप्तरी गोश्वाराका २०१७।३।२३।४ का फैसला र नं. १०५५ का लगतले देहायबमोजिम गर्न गरेको जरिवाना नलाग्ने हुँदा असूल भएको भए फिर्ता दिनु बाँकी भए लगत काटी दिनु भनी ऐ.ऐ……………….४
सुब्बा रामप्रसाद जोशी के रु.१। त.ख.तेजमान श्रेष्ठके रु.।५० मु. काशी राम के रु. ।२५ प.१.नं.धा.ई.सल्यान लपुवा बस्ने सन्तकुमारी थापा क्षेत्रीके मुद्दा रिभिजन गराउँदा राखेको कोर्टफी रु. १। एक र निजका विद्वान वकिलको स.अ. नियमावली, २०२१ को नियम २४ बमोजिम पाउने फिस रु. १५। पन्ध्र समेत प्र.रोहिणीकुमारीबाट भरी पाउँछ, निजको जेथा देखाई कोर्टफी ऐन, २०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिए केही दस्तुरै नलिई भराइदिनु भनी ऐ…………..५
इति सम्वत् २०२५ साल आषाढ ८ गते रोज ६ शुभम् ।