May 24, 1968
Created by nepalarchives

निर्णय नं. ४२२ – जालसाजी

निर्णय नं.  ४२२     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी न्यायाधीश...

निर्णय नं.  ४२२     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री लोकराज जोशी

न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिंह

०२२ सालको दे.फु.नं. ३७

निवेदक      : सिउप्रसाद अहिर

विरुद्ध

विपक्षी : बावादिन अहिर

मुद्दा : जालसाजी

(१)   छोरा जन्मेको अप्रकाशित भईरहेपछि बाबुको मृत्यु भएपछि तत्काल प्रचतिल अंशबण्डाको १६ नं. ले अंश नपाउने भएको, प्रकाश अप्रकाशको प्रश्नलाई अप्रासङ्गिक भन्न नमिल्ने ।

            वादी सिउप्रसाद रामचरणकै छोरा ठहर्न आएको भए पनि वादीकै साक्षी मेवालालले सहत्ती मरेपछि सहत्तिकै घरमा रामचरण आउने जाने गरी स्वस्नी बनाई पेट बोकेकी भन्ने समेत बकेकोबाट पहिले नै जातका रीतबमोजिम चुरिया पैराई लगी स्वास्नी बनाएको भन्ने चाहिं वादीको दावी पूर्णरुपले समर्थित हुन नआएको र यदि प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहर्न आएको खण्डमा त्यस्तो छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएकोमा तत्काल प्रचलित अंशबण्डाको १६ नं. ले अंश नपाउने अवस्था पर्न आउने समेत हुनाले यस स्थितिमा अंश दिलाई पाउँ भन्ने दावी परेको अंश मुद्दाको अंगबाटै उठेको यस मुद्दामा प्रकाश अप्रकाश भन्ने प्रश्न उठाएकोलाई अप्रासङ्गिक भन्न मिलेन

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुर प्रसाद खरेल

फैसला

      १.     प्रतिवादी बावादीन उपर अंशमा मैले नालेस गरेकोमा मलाई रामचरणको छोरा होइन सहत्ती अहीरको छोरा हो भनी प्रतिवादी दिएछ । रामचरणको छोरा मलाई सहत्तीको छोरा भनी जालसाजी गरेमा सजाय गरी पाउँ भन्ने समेत वादी ।

      २.    वादी सिउप्रसाद मेरो बाजे रामचरणको छोरा र मेरो एकाघर संग बसेको समेत होइन वादी सहित्तीकै छोरा हुँदा उजुर झुट्टा हो भन्ने समेत प्रतिवादी ।

      ३.    वादी ३६ वर्षको उमेर हुँदासम्म वादी रामचरणको छोरा भन्ने देखिने । कायम हुने दर्ता श्रेस्ता कुनै न कुनै प्रमाण हुनु र पेश दाखिल पनि भए गरेको हुनु पर्ने त्यस्तो ठोस प्रमाण छ भन्न र पेश गर्न दाखेल गर्न समेत नसकेको । प्रतिवादीको बाबु गुलाम मरेपछि उनका नाउँमा दर्ता भएको जमिन प्रतिवादीको नाउँमा सरेको भन्ने कुरा वादी लेखाईबाटै देखिएको । वादी दावी साँचो भए वादीका नाममा दर्ता नसारी भतिजा प्रतिवादीका नाममा दर्ता सार्नु पर्ने अवस्था पनि नदेखिनाले समेत वादीले झुट्टा उजुर गरेको ठहर्छ भन्ने बाँके इलाका अदालतको फैसला ।

      ४.    सक्षीको बहुमतबाट समेत म सिउप्रसाद रामचरणको प्रकाशित छोरा भन्ने सिद्ध भैरहेको हुँदा शुरु इन्साफ उपर चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

      ५.    सिउप्रसाद सहत्तीको छोरा हो भनी बकपत्र गर्नेहरूले पनि सिउप्रसाद जन्मेपछि यो सालमा सहत्तीको मृत्यु भएको भनी र सहत्तीको छोरा भएकोमा रामचरणको छोरा हुँ भनी भन्नु पर्ने विश्वास लायक कारण भन्न नसकेका । सहत्तीको स्वास्नीलाई रामचरणले चुरीया पहिराई लगी राखेको पनि देखिन नआई विधवा भई विवाहीताकै घरमा बसेकी यिनी फिरादी सिउप्रसादको आमाले गर्भ धारण गरेको । सो गर्भका सम्बन्धमा पञ्चायत गर्दा रामचरणको हो भनी निजले र मेरो हो भनी रामचरणले पनि सकार गरेको । सोही गर्भबाट वादी सिउप्रसादको जन्म भएको कुरा वादीकै साक्षी बकाईबाट देखिएकाले प्रतिवादी बावादीन कहाँ बस्दै नबसेको र पाउँदै नपाएको अंशलाई पनि म बावादीनको एकाघर संग बस्थें अरु अंश पाए जग्गा दिएन दिलाई पाउँ भनी विन्दुका नातालेसम्म वादीले अंश मुद्दा दिएको र उपरोक्त लेखिएबमोजिम भई जन्मेको सिउप्रसादलाई सहत्तीको छोरा हो भनी प्रतिवादीले झुट्टै जिकीर गरेको औ वादी रामचरणको छोरा ठहर्दै भनी शुरुले गल्ती इन्साफ गरेको समेत ठहर्छ भन्ने समेत जि.अ.नेपालगञ्जको फैसला ।

      ६.    रामचरणको कान्छी पट्टिको छोरा हो भनी ५ जना साक्षीले बकेको समेतबाट रामचरणको प्रकाशित छोरा भन्ने सिद्ध भैरहेकोलाई प्रकाश नभई जन्मेको छोरा ठहराई दिएकाले चित्त बुझेन भन्ने समेत वादीको र रामचरणको प्रकाश नगरी राखेकी स्वास्नी भएको छोरा हुँ भनी वादीले नै जिकीर लिन नसकेको भई सहत्तीकै छोरा भन्ने कुरा प्रमाणित हुन आएको हुँदा रामचरणको प्रकाश नगरी राखेकी स्वास्नी पट्टिको छोरा ठहराई दिए उपर चित्त बुझेन भन्ने प्रतिवादी समेतको पुनरावेदन ।

      ७.    लोग्ने सहत्ती मरेपछि विधवा भई लोग्नेकै घरमा बसेकी वादीकी अमाले गर्भधारण गरेकी । सो गर्भका सम्बन्धमा पञ्चायत गर्दा रामचरणको हो भनी निजले र मेरो हो भनी रामचरणले पनि सकार गरेको । सोही गर्भबाट वादी सिउप्रसादको जन्म भएको भनी वादीका साक्षीहरूले बकी दिएका देखिएकोले र वादी सहत्तीकै छोरा भए आफ्नो हाड गोत्र समेत फरक परी रामचरणको छोरा हुँ भन्नु पर्ने कुनै खास कारण खुलाउन प्रतिवादीले नसकेकाले र वादी सहत्तीको छोरा भन्ने प्रतिवादीको पुनरावेदन जिकीर मनासिव देखिन आएन । अब वादीको पुनरावेदन जिकरीतर्फ वादीकै साक्षीहरूको वकाईबाट विधवा वादीकी आमाले अघिल्लो लोग्नेकै घरमा रामचरणको गर्भ बोकी वादी जन्मेको भन्ने देखिन आएको भई रामचरणले प्रकाश गरी राखेकी स्वस्नीबाट जन्मेको हुँ भन्ने कुराको पक्का सबुद कुनै दिन पेश गर्नु नसकेकाले समेत म रामचरणको प्रकाश गरी राखेकी स्वास्नीबाट जन्मेको छोरा हुँ भन्ने वादीको पुनरावेदन जिकीर पनि मनासिव देखिन नआएको हुँदा वादी सिउप्रसादलाई सहत्तीको छोरा भन्ने प्रतिवादीको जिकीर झुट्टा र निज वादी सिउप्रसाद रामचरणको प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा समेत ठहराई शुरुको उल्टी गरी नेपालगन्ज जिल्ला अदालतको छिनेको इन्साफ मनासिव छ भन्ने डिभिजन बेञ्चको ०२१।११।१०।१ को फैसला ।

      ८.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा वादीलाई रामचरणको छोरा ठहराएकोमा प्रतिवादी तर्फबाट निवेदन पर्न आएको देखिएन । छोरा सन्तान हो होइन भन्ने कुराको निर्णय गरी अनि अंशको हक बेहक हुने अवस्था परेको र जालसाजी मुद्दा समेत दायर हुन आएको समेत कारणबाट अंश मुद्दामा सरजमिन बुझेको काराबाई वातिल गर्न नमिल्ने प्रमाण लिनै पर्ने र प्रकाश नगरी राखेको भन्ने ठहराएतर्फ मुख्य छोरा हुँ भन्ने वादी र होइन भन्ने प्रतिवादीको दावी भएकोमा वादी रामचरणको छोरा कायम भईसकेपछि प्रसङ्गमा वादी प्रतिवादीहरूको दावी जिकीर नभएको प्रकाश अप्रकाशको प्रश्न उठाई दिएको निर्णय युक्तिसंगत नदेखिएकाले यस स्थितिमा प्रतिवादी पक्ष बोल्ने साक्षी सरजमिनको कुरा सब झुट्टा हुन आएको र वादी सिउप्रसाद दुबरसँग एकाघरमा बसेको देखिन नआई छुट्टै घरमा बसेको देखिन आएको र वादी गर्भमा रहेका जुन वादीको आमाको गर्भको विषयमा पञ्चायती भई रामचरणले स्वीकार गरेको देखिन आएको । यस किसिमबाट प्रकाश भएको सरजमिनमा रहेका बुढापाकाले जाने बुझेको प्रकाशित गर्भलाई अप्रासंङ्गीक प्रश्न उठाई वादी प्रकाश नगरी राखेको स्वास्नीबाट जन्मेको छोरा ठहर्छ भनी गरेको स.अ.को निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धाराको ७२ (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचवालयबाट लेखी आएको २२८।९।४ को हुकुम प्रमांगी ।

      ९.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाइ दिनु भन्ने माननीय प्रधान न्यायधीशज्यूबाट भएको २०२२।८।१६।४ को आदेश ।

      १०.    सहत्ती अहिर कुन सालमा मरेको हुन् ? निज मरेपछि वादीकी आमालाई रामचरण अहीरले चुरिया पहिराई स्वास्नी तुल्याई घरमा लगी राखेको समेत हो होइन, भए कुन सालमा हो ? सहत्ती मरी विधवा भएकी वादीकी आमाले गर्भ बोकेकी सम्बन्धमा पञ्चायत भएको पनि थियो कि थिएन ? भए सो गर्भकोसम्बन्धमा रामचरणको के भनाई थियो ? वादी सिउप्रसादको जन्म सहत्ती वा रामचरण कसको घरमा भएको हो र निज पहिले कसको साथमा कहाँ बसी अएको थियो ? हाल कसको दर्ता जग्गामा कहिले कसले बनाएको घरमा के परिवन्दबाट बसी आएको छ ? वादी सिउराम कसको छोरा हो ? सो सबै कुरा प्रष्ट रुपले खुलाई पक्षहरू खडा पञ्चायत समेत राखी वादी प्रतिवादीको गाउँ र सो नगिच वरपर गाउँ समेतका बूढापाका मानिसहरू समेत सरजमिन बुझी पठाई दिनु भनी वादी प्रतिवादीको छोटकरी विवरण समेत खुलाई दुवै पक्षका वारेसहरूलाई बाँके जि.अ. मा हाजिर हुन जाने तारिख तोकी उक्त बाँकै जि.अ. लाई लेखी पठाई सो भई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने २०२४।३।६।३ को फुल बेञ्चको आदेश ।

      ११.    फुल बेञ्चको २०२४।३।६।३ को आदेशबमोजिम बुझी आएको २०२४।७।११।७ को सरजमिन मुचुल्कामा बुझिएका बुढापाका मानिस सकटुकुमार समेतको लेखाईबाट वादीको आमा सुकदेईले गर्भ बोकेकीसम्बन्धमा पञ्चायत हुँदा सो गर्भ मेरे भनी रामचरण अहीरले सकार गरेको र वादी सिउप्रसाद रामचरण कै प्रकाश गरी राखेको छोरा हो भन्ने देखिन आएकोले अ.बं. २०२ नं. बमोजिम छलफल निमित्त प्रतिवादी बावादीनलाई रुल नियमबमोजिम नोटीस जारी गरी झिकाई हाजिर भएपछि वा हाजिर हुने अवधी नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने फुल बेञ्चको २०२४।९।१८।३ को आदेश ।

      १२.   यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही २०२५।२।८।३ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले र विपक्षी, प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निवेदक, वादी सिउप्रसादलाई रामचरणको प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहराएतर्फ डिभिजन बेञ्चको इन्साफ उपर चित्त बुझेन भन्ने निवेदक, वादीको निवेदन जिकीर हुँदा त्यतिसम्म कुरामा अहिले यस बेञ्चबाट निर्णय दिनु पर्ने भएको छ ।

      १३.   जहाँसम्म डिभिजन बेञ्च समेतबाट वादीलाई रामचरणले प्रकाश अप्रकाश केकस्तो किसिमले राखेकी स्वास्नीबाट जन्मेको छोरा हो भन्ने प्रश्न उठाएको अप्रासङ्गिक भन्नेतर्फ तर्क उपस्थित छ, त्यसका लागि हेरेमा लोग्ने सहत्ती मरेपछि मेरी आमालाई रामचरणले जातका रीतबमोजिम चुरीया पहिराई लगी म सिउप्रसाद रामचरणकै घरमा जन्मेको छोरा हुँ । रामचरणको छोरा कायम गरी पाउँ भन्ने वादीको दावी र वादी मेरो बाजे रामचरणको छोरा होइन । सहत्तीकै छोरा हो भन्ने प्रतिवादीको जिकीर भएकोमा बुझिएसम्मको मिसील प्रमाणबाट वादी सिउप्रसाद रामचरणकै छोरा ठहर्न आएको भए पनि वादीकै साक्षी मेवालालले सहत्ती मरेपछि सहत्तीकै घरमा रामचरण आउने जाने गरी स्वास्नी बनाई पेट बोकेकी भन्ने समेत बकेकोबाट पहिले नै जातका रीतबमोजिम चुरीया पहिराई लगी स्वास्नी बनाएको भन्ने चाहिं वादीको दावी पूर्णरुपले समर्थित हुन नआएको र यदि प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहर्न आएको खण्डमा त्यस्तो छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएकोमा तत्काल प्रचलित अंशबण्डाको १६ नं. ले अंश नपाउने अवस्था पर्न आउने समेत हुनाले यस स्थितिमा अंश दिलाई पाउँ भन्ने दावी परेको अंश मुद्दाको अङ्गबाटै उठेको यस मुद्दामा प्रकाश अप्रकाश भन्ने प्रश्न उठाएकोलाई अप्रासङ्गिक भन्न मिलेन ।

      १४.   उक्त प्रश्नको समाधानका लागि हेरेमा बुझिएका वादीका साक्षी धेरै जनाले सहत्ती मरेपछि वादीकी आमालाई रामचरणले ल्याई वादी जन्मेको हो भनी किटानसाथ बकी दिएका र २०२४।३।६।३ को फुल बेञ्चका आदेशबमोजिम २०२४।७।११।७ को सरजमिन मुचुल्कामा बुझिएका सरजमिनहरू मध्ये वयोवृद्ध सकटुकुमार समेतका सरजमिनले पनि लोग्ने सहत्ती मरी विधवा भएकी वादीको आमा सुकदेवले गर्भ बोकेकीसम्बन्धमा पञ्चायत हुँदा सो गर्भ मेरो हो भनी रामचरणले सकार गरी वादी सिउप्रसाद जन्मेको हो भनी लेखी दिएका देखिन आएको समेतबाट पहिले नै जातका रीतबमोजिम चुरीया पैराई लगेको नभए पनि गर्भ बोकीसकेपछि प्रकाश भई वादी सिउप्रसाद रामचरणको त्यस्तो प्रकाशमा आइसकेकी स्वास्नीबाटै जन्मेको छोरा रहेछ भन्ने कुरा प्रमाणित हुन आएको छ ।

      १५.   तसर्थ, उपरोक्त उल्लेखित कारणहरूबाट वादी सिउप्रसादलाई रामचरणको प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेकी छोरा भन्न नमिल्ने समेत हुँदा प्रकाश गरी राखेकी स्वास्नीबाटै जन्मेको छोरा ठहर्छ । प्रकाश नगरी राखेकी स्वास्नीबाट जन्मेको छोरा ठहराएको तत्कालीन जि.अ. नेपालगन्जको सदर गरी २०२१।११।१०।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी सिउप्रसाद अहिर के शुरु बाँके इ.अ.को २०२०।२।२।२ को फैसलाले लाग्ने गरेको दण्ड रु. ५। मध्ये जि.अ. नेपालगन्जको २०२०।११।२९।५ को फैसलाले रु. ३। मात्र लाग्ने कायम गरी बाँकी रु. २। फिर्ता दिने गरेकोमा सो लाग्ने गरेको रु.३। पनि नलाग्नै नै हुँदा सो रु. ३। समेत पुरै रु. ५। कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी हालको बाँके जि.अ.मा लेखी पठाउन का.श्रे.अ.त. मा लगत दिनु ……………….१

ऐ.ऐ.के डिभिजन बेञ्चको २०२१।११।१०।१ को फैसलाले गर्ने गरेको दण्ड रु. ३०। नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ………………..२

जि.अ.नेपालगन्जको न्या.जयदेव भट्टको इन्साफ केही उल्टीको रेकर्ड राख्न सर्वोच्च अदालत जनरल विभागमा सूचना दिनु ……………………३

नियमबमोजिम मिसिल बुझाई दिनु …………………..४

 

इति सम्वत् २०२५ साल जेठ ११ गते रोज ६ शुभम् ।