August 22, 1990
Created by nepalarchives

निर्णय नं. ४२१७ – उत्प्रेषण

निर्णय नं. ४२१७    ने.का.प. २०४७           अङ्क १०   संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रिट...

निर्णय नं. ४२१७    ने.का.प. २०४७           अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको रिट नं. ९२८

आदेश भएको मिति: २०४७।५।६।४ मा

निवेदक      : विनय राजानन्द राजोपाध्यायको हकमा संरक्षक भई आफ्नो हकमा समेत ल.पु.न.पं. वा.नं. १९ बस्ने कमला राजोपाध्याय

विरुद्ध

विपक्षी : ल.पु.न.पं. कार्यालयसमेत

विषय : उत्प्रेषण

(१)   निवेदकले घर बन्न लागेको जग्गाको स्वामित्वमा दावी गर्न सकेको देखिँदैन । नक्शा पास गर्दा पनि जग्गा भन्दा बाहिरको जग्गामा घर बनाउन नक्सा पास गरी दिएको पाइएन । यस्तो अवस्थामा जग्गाको तेरो मेरो भन्ने प्रश्न उठेको भन्न नमिल्ने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट     : विद्वान अधिवक्ता श्री रामकृष्ण निरौला

आदेश

न्या.महेशरामभक्त माथेमा

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत विषयको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.    विपक्ष मध्येका भूपतिराज र प्रत्यूसराजले पूर्व तुल्सीभक्तको घर हरिशंकरको मन्दिर, पश्चिम सुसम र विदुर, विनय र कमला राजोपाध्यायको घर र आँगन देवताको वारी, उत्तर लाछी मूलबाटो र आँगन देवताको वारी, दक्षिण मैसिं महर्जनको वारी यति ४ किल्लाको ल.पु.न.पं. वार्ड नं. १९ कि.नं. ४२० र ४२१ को ०१ को जग्गामा घर बनाउन नक्शा गरी पाउँ भनी ल.पु.न.पं. मा दर्खास्त दिएको । उक्त जग्गाको पश्चिम मेरो मानु छुट्टिई भिन्न भएपछि बनाएको स्वबासी घर र सेफ्टी ट्यांकी बाथरुम एवं पर्खाल सहित आँगन जग्गा दक्षिण मेरो एकलौटी पर्खाल समेत भएकोलाई भूपतिराज र प्रत्यूसराजले आफ्नो किल्ला भित्र घुसाई आफ्नो बनाउने गरी घर बनाउनेको १ र ४ नं. ले बनाउन नपाउने हुँदा रोक्का गरिपाउँ भनी हाम्रो ल.पु.न.पं.का. मा उजूरी दिएको ।

३.    हिरण्यराजानन्दले कि.नं. ४१९ को जग्गामा घर बनाउँदा पूर्व भूपतिराजको जग्गा भनी देखाएको संलग्न प्रमाण मिसिलबाट देखिएको निजै हिरण्यराजानन्दले आफ्नो जग्गा कित्ताकाट गर्न नापीमा दिएको निवेदनमा आफ्नो जग्गाको पूर्व श्री राजानन्दको वारी भनी उल्लेख भएको श्री राजानन्दको समेत संयुक्त दर्खास्त परेको देखिनाले हक बेहक भन्न मिलेन प्रतिवादी जिकिर पुग्न सक्तैन वादी दावी अनुसार नक्शा पास हुने ठहर्छ भन्ने समेत विपक्षी न.पं. को निर्णय यसको पुनरावेदनको म्याद प्राप्त नभएको ।

४.    हक बेहकको प्रश्न उठेपछि न.पं.ले निर्णय गर्न नमिल्ने हुँदा न.पं. को निर्णय अ.बं. ३५ नं. को विपरीत छ । तसर्थ न.पं. ले गरेको निर्णय उत्प्रेषण लगायतको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।

५.    यसमा विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत एक न्यायाधीशको इजलासको मिति ०४६।९।२६।४ को आदेश ।

६.    सा.कि.नं. ३६ बाट मेरा दाजु भाइहरु बीच भूपतिराजानन्दको भागमा कि.नं. २१ हिराराजानन्दको भागमा कि.नं. ४१९ र श्री राजानन्दको भागमा कि.नं. ४२० समेत आआफ्नु नाममा नापी भएको कि.नं. ४२० को जग्गा मिति ०४५।३।८ बाट प्रत्यूसको हक हुन आएको हो कि.नं. ४२०, ४२१ को जग्गामा घर निर्माण गर्न नक्शा पासको लागि न.पं. मा निवेदन दिंदा नक्शा पास गरिदिने ठहर्छ भन्ने निर्णय भएकोमा निवेदक पुनरावेदन गर्न नगई रिट क्षेत्रमा पस्न मिल्दैन । कि.नं. ४२०, ४२१ नं. को जग्गा हाम्रो निर्वाध हकभोगको हो । यसमा हक बेहकको प्रश्न छैन । न.पं.ले नक्शा पास गरी दिन वा नदिन उजूरी निवेदन अनुसार वास्तविक स्थलको मौलिक निरीक्षण सम्म गरेको हो । उजूर पर्दैमा हक बेहक भनी छोडी दिने हो भने न.पं. को नक्शा पास अधिकार निस्कृय हुन जान्छ विपक्षीको कि.नं. ११९ भन्दा पूर्वबाटो मेरो जग्गा हुनाले निजका घर पश्चिमको सेफ्टी ट्याँकी पर्खालसंग मेरो कुनै सम्बन्ध छैन । तसर्थ आफ्नु क्षेत्राधिकार भित्र रहेर नक्शा पास गरी दिनु पर्ने ठहर गरेको ०४६।६।९ को पर्चा बदर हुन नपर्ने हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत भूपतिराज राजोपाध्याय र प्रत्यूस राजोपाध्यायको संयुक्त लिखितजवाफ ।

७.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत विषयमा निवेदकको माग बमोजिम रिट जारी हुनु पर्ने हो, होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।

८.    निवेदकको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रामकृष्ण निरौला तथा विपक्षीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री ले गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा ल.पु.न.पं. वार्ड नं. १९ को कि.नं. ४२० र ४२१ मा घर बनाउन नक्शा पास गरी दिने गरी ल.पु.न.पं. ले निर्णय गरी दिएकोमा सो निर्णयले मेरो जग्गामा रहेको पर्खाल सेफ्टी ट्याँकी समेतको हक जाने हुनाले निर्णय बदर गरी पाउँ भन्ने निवेदकको मुख्य माग दावी रहेको देखिन्छ । रिट निवेदकले घर बन्न लागेको उक्त कि.नं. ४२० र ४२१ को जग्गाको स्वामित्वमा दावी गर्न सकेको देखिँदैन । नक्शा पास गर्दा पनि उक्त जग्गा भन्दा बाहिरको जग्गामा घर बनाउन नक्शा पास गरी दिएको पाइएन । यस्तो अवस्थामा जग्गाको तेरो मेरो भन्ने प्रश्न उठेको भन्न मिलेन । तसर्थ न.पं.को नक्शा पास गरी दिने गरी गरेको निर्णय कानुन अनुरुप भएकोले रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४७ साल भाद्र ६ गते रोज ४ शुभम् ।

 

