August 27, 1968
Created by nepalarchives

निर्णय नं. ४१७ – जालसाजी

निर्णय नं.  ४१७     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह न्यायधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्ब राज ०२४ सालको फौ.फु.नं. १४ निवेदन...

निर्णय नं.  ४१७     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायधीश श्री भगवतीप्रसाद सिंह

न्यायधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्ब राज

०२४ सालको फौ.फु.नं. १४

निवेदन : मैया जोशिनी

विरुद्ध

प्रतिवादी : मचा नानी जोशीनी समेत

मुद्दा : जालसाजी

(१)   कस्तो व्यवहार जालसाजी ठहरिने ? रीत पुर्‍याई गरे गराएको कागज भए पनि झुठ्ठा व्यहोरासँग गरे गराएको भए जालसाजी ठहरिने ।

            अंशदपोट गरेको कित्ता राजीनामा गरी साहुका नाममा राखी पत्ता लगाउन कठीन पारेकै रहेछ । साहु असामिका ऐनको रीत पुगी सकेको भनी साहुको पक्का ठहराउन पनि झुट्टा व्यहोरासँग त्यस्तो रीत पुर्‍याई गरेको त्यस्तो व्यवहार नै जालसजी ठहरेको हुनाले सा.आ.का. ऐनले पाको भएको भन्ने तर्क उठदैन । तसर्थ, अंशदपोट गरेको जग्गा जालसाज गरी राजीनामा लिनु दिनु गरेको ठहर्छ ।

 (प्रकरण नं. १०)

वादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री बलभद्र मिश्र

फैसला

      १.     जेठाज्यू राधाकृष्ण समेत उपर अंशदपोट मेरो नालेस परेको ४ किल्ला मध्ये सन्तकुमारीका नाममा दर्ता भएको २ कित्ता जग्गा रघुरामभक्तलाई ११।९।१५ मा रु. ५००१। मा सन्तकुमारीले राजीनामा गरी दिई रघुरामभक्तको नाममा दर्ता भईसकेको भन्ने र सो राजीनामाबमोजिमको जग्गामा खिचोला गरे भनी रघुरामले नालेस दिएको भन्ने समेत सो अंशदपोट मुद्दाको प्रतिवादीमा राधाकृष्णले लेखेकोबाट थाहा पाएको हुँदा नालेस गर्न आएको छु । जेठाजु राधाकृष्ण र गोविन्दप्रसाद, सन्तकुमारी मिली जालसाजी लिनु दिनु दर्ता गरेको र जग्गा खिचोला मुद्दा गरेको समेत बदर गरी पाउँ भन्ने वादी ।

      २.    स्त्री जातीका नाउँमा रहेको सम्पत्ती दान दातब्यको ४ र ४ (क) नं. ले दाइजो पेवा नै हुने हुँदा घर सल्लाहबाट हामीहरू साक्षी नबसी रघुरामलाई सन्तकुमारीले राजीनामा दिएको हो । वादीको हक मेटाउने जालसाज गरेको होइन भन्ने समेत राधाकृष्ण, गोविन्द कृष्णको र सन्तकुमारीको नाउँमा दर्ता भएको जग्गा राजीनामा लिई मेरो नाममा दर्ता समेत गरी भोग गरी आएको छु वादीको हक लाग्ने भए ८२ सालमा सन्तकुमारीका नाममा दर्ता गराए पछि उसै बखत उजुर गर्न सक्नु पर्ने हो वादी र राधाकृष्ण, गोविन्द कृष्ण समेत मिली झुट्टा उजुर गरे गराएको हुन् भन्ने समेत रधुरामभक्तको प्रतिवादी ।

      ३.    सन्तकुमारीको लोग्ने राधाकृष्ण र छोरा गोविन्द कृष्ण समेत साक्षी बसी राजीनामा गरी दिएको नभई सन्तकुमारीले मात्र राजीनामा पास गरी दिएको देखिएकोबाट राधाकृष्ण, गोविन्द कृष्णको हात नदेखिनाले जालसाज ठहर्दैन । अंशदपोट मुद्दामा उक्त २ कित्ता जग्गा समेत सम्मिलीत देखाएको अंशदपोट नै ठहरी फैसला भई सो जग्गा पनि मैया जोसीनीकै हकको हुन गएकोले रघुरामभक्तले सो २ कित्ता जग्गा हकै नपुग्ने सन्तकुमारीबाट रु. ५००१। मा ११।९।१५ मा खरिद गरेको लिखत कपाली हुने ठहर्छ भन्ने समेत चिसापानी ई.अ.को ०१८।५।५।२ को फैसला ।

      ४.    मलाई थाहै नदीई मेरो वादी दावी बमोजिम लिनु दिनु जालसाज गरेको समेत देखीदोषीलाई बचाई फैसला गरेकोले चित्त बुझेन भन्ने समेत वादीको र किर्ते कागजको २१ नं.को हद २ वर्ष भित्र उजुर नगरी ५।६ वर्षपछि मात्र गरेको नालेस खारेज हुनेमा इन्साफ गरी थैली कपाली हुने ठहराई दिएकाले समेत चित्त बुझेन भन्ने प्र.रघुरामभक्तको पुनरावेदन । म्याद नाघे पछिको उजुर र दपोट मुद्दामा मलाई नबुझी छिनेको हुँदा खारेज हुनु पर्ने भन्ने रघुरामको जिकरीतर्फ दपोट मुद्दामा परेको प्रतिवादी सारी लिएको म्याद भित्रै यो जालसाजी मुद्दामा नालेस परेको देखियो । दपोट मुद्दामा मलाई बुझेनन् भन्नेतर्फ यस मुद्दामा आपनो भएको सबै सबुद प्रमाण खुलाई प्रतिवादी दिन पाएकैले नबुझी छिने भन्ने जिकीर मनासिव देखिएन । सन्तकुमारीको एकलौटी हकको जग्गा भन्ने सबुद रघुरामभक्तले गुजार्न नसकेबाट समेत इन्साफ शुरुको मुनासीब ठहर्छ भन्ने तत्कालीन का.जी.अ.पै. को २०।५।१०।२ को फैसला ।

      ५.    मेरो अंश हक लाग्ने दपोट गरी रघुरामभक्तले आफ्नो नातीलाई बिक्री गरी लिन लगाएको समेतबाट मेरो हक मेटाउन जालसाजी गरेको प्रष्ट भएको हुँदा जालसाज नठहराएकोमा चित्त बुझेन भन्ने समेत वादीको र सन्तकुमारीको दर्ता भई मलाई बेचेको प्रष्टै देखिएको । बेच्ने सन्तकुमारीको हक खाने मचानानी र किन्ने मलाई बुझे पक्का प्रमाणहरू पेश हुनेमा दपोट मुद्दामा मलाई बुझ्दै नबुझी फैसला गरेकोले चित्त बुझेन भन्ने प्र.रघुराम भक्तको पुनारवेदन ।

      ६.    प्रतिवादी रघुरामभक्त माथेमाले सन्तकुमारीबाट रु. ५००१। मा राजीनामा गराई लिएको जग्गा सन्तकुमारीको दाईजो पेवा हो भन्ने सबुद विलकुलै नभएकोले सगोल घरको सम्पत्ति भन्नु पर्ने । त्यस्तो जग्गा वादी मैया जोसीनीसँग अंशबण्डा गर्दा देखाई बण्डा गर्नुपर्ने नगरी दवाएकोमा अंशबण्डाको ४६ नं. ले अंश दिने राधाकृष्णको जिउसम्म नालेस लाग्ने नै भई उक्त ऐनका म्याद भित्रै नालेस परेकोले वादीले उजुर गर्न पाउनै हदम्याद नाघेको भन्ने समेत नामिल्ने हुँदा प्रतिवादी रघुरामभक्तको पुनरावेदन जिकीर मनासिव नलेखिने र सगोल घर पट्टीको दपोट भित्र परी सकेको सम्पत्ति बिक्री गर्न नहुने गरेको कारणले राजीनामा बदर भई थैलो कपाली हुने भएकोमा जालसाजी गरेकै हो भन्ने पक्का सबुद बेगर लिने दिनेले मञ्जुर गरेको लिखतलाई जालसाज गरेको भनी ठहराई सजाय दिन नमिल्ने भई वादी कै पुनरावेदन जिकीर पनि मनासिव नदेखिएकोले समेत जालसाज नठहर्ने र रघुरामभक्तले हक नपुग्ने सन्तकुमारीबाट गराई लिएको लिखत कपाली हुने समेत ठहराएको शुरु चिसापानी ई.अ.को सदर गरी का.जी.अ. पहिलाले छिनेको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चको २१।१०।२९।५ को फैसला ।

      ७.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने दुवै थरीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा अंशदपोट मुद्दाको प्रतिवादी नक्कल लिएको मितिले ३५ दिन भित्र नालेस गर्न आएको भन्ने वादी दावा गरेको प्रतिवादी नक्कल लिएको मितिले ३५ दिन भित्र नालेस गर्न पाउने कुनै कानूनी आधार लिएको देखिएन । यो मुद्दा जग्गासम्बन्धीबाट उठेको जालसाजी गर्‍यो भन्ने मुद्दा भएको र प्रतिवादी अंशियार मात्र नभई अंशियारबाहेकका जग्गा खरीद गरी लिने साहु रघुरामभक्त समेत भएको र मेरो हक मेट्न जालसाजी गरे भन्ने वादी लेखाई भएको जालसाजी र अंशदपोटको विषय फरक भएको र विषय विषयको कुरामा विषय विषयको ऐन जरी भएको र सो ऐनहरूमा उजुर गर्ने हदम्यादको व्यवस्था भएको देखिन्छ । जसमा सगोलको सम्पत्तिमा सगोलका हकदार कसैले कसैलाई बिक्री गर्छ वा दान दातव्य बकस दिन्छ भने बिक्री गरेकोमा एकाघर सगोलकाले तत्कालीन साहु आसामीको ८ नं. बमोजिम सरहदमा भए छ महिना विदेश गएको भए १ वर्षसम्ममा थाहा पाएका ३५ दिन भित्र उजुर गर्नुपर्ने सगोलमा नभएको अवस्थाम जग्गा पजनीको ३४ नं. जग्गा मिच्नेको २१ नं.र अरु किसिममा किर्ते कागजको २१ नं.दान बक्समा दान दातव्यको १५ नं. मा उजुर गर्ने हदम्यादको व्यवस्था भएकै हुनाले यस मुद्दामा त्यसरी बिक्री गराई लिनेका नाममा दर्ता भईसकेको जग्गा दावा गरेको कलममा अनिश्चित कालसम्म उजुर गर्न पाउने गरी अंशबण्डाको ४६ नं. प्रयोजनमा आउँछ भन्न मिल्ने देखिंदैन । तसर्थ, हक दावा पुग्ने जग्गा दर्तावाला सन्तकुमारीबाट प्रतिवादी रघुरामभक्तले राजीनामा लिई दर्ता भोग तिरोबाट हक पक्का भईसकेको जग्गा दपोट भित्र परि सकेको भन्न नहुने र बिक्री गर्ने सन्तकुमारी मरी सकेपछि मानिसलाई समेत जालसाजीमा मुछी २ वर्ष नघाई ६ वर्ष पछि गरेको उजुरी नालेस जग्गा पजनीका ३४ नं जग्गा मिच्नेको २१ नं. ले नलाग्ने हुँदा दण्ड सजायको ५३ नं. ले खारेज हुनेमा अंशबण्डामा ४६ बमोजिम हदम्याद ननाघेको भनी इन्साफ गरी जग्गामा प्रतिवादी रघुरामभक्तलाई हटाई थैली कपाली गर्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिएकोले दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको २३।९।७।५ को हुकुम प्रमांगी ।

      ८.    बक्स भई आएको हु.प्र.बमोजिम गर्न निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २।२ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालयमा रजिष्ट्रार अफीस मार्फत् पठाई दिनु भन्ने माननीय श्री का.मु.प्र.न्या.ज्यू. बाट भएको ०२३।९।१४।५ को आदेश ।

      ९.    यसमा सन्तकुमारीको पेवाको हो भन्ने कुराको कुनै लिखत सबुद प्रमाणमा आउन नसकेकोले वादी समेतको अंश हक लाग्ने देखिन आउने वादी दावीको खेत कित्ता २ वादी र प्रतिवादी राधाकृष्णको १०।२।२३।६ मा बण्डापत्र हुँदा नदेखाई बण्डापत्र भएको करिब १ वर्षपछि ११।४।९ मा सन्तकुमारीबाट निजकै छोरीको छोरा प्रतिवादी रघुरामभक्तका नाममा राजीनामा गरे गराएको त्यसमा एकाघरको जनाकार लोग्ने राधाकृष्ण, छोरा गोविन्दकृष्ण, आफूहरू नदेखिई साक्षी समेत नरहे नबसेका र खुदै सन्तकुमारीकै छोरीको छोरा साहु हुने प्रतिवादी रघुरामभक्तलाई सो जग्गा वादी समेतको अंश हक लाग्ने भन्ने कुरा प्रष्टै जानकारी हुनेमा अरु कसैको हक नलाग्ने भन्ने बोली पारेको समेतबाट वादीको हक मेटाउनको लागि मात्र आफू आफू मिलि आफ्नै छोरीको छोरा प्रतिवादी रघुरामभक्तको नाममा उक्त राजीनामा लिखत खडा भए गरेको भन्ने प्रष्ट हुन आउँछ । तसर्थ, जालसाज नठहराएको डिभिजन बेञ्चको इन्साफ मिलेको नदेखिँदा हाल उपस्थित नरहेको प्रतिवादी राधाकृष्ण गोविन्द कृष्णहरूलाई अ.बं. २०२ नं. बमोजिम छलफलको निमित्त रुल नियमबमोजिम नोटिस जारी गरी झिकाई नियमबमोजिम पेश गर्नु ।

      १०.    तारेखमा रहेको निवेदक, वादी मैया जेशिनीको वा. भिमबहादुर श्रेष्ठ र निवेदक विपक्षी रघुरामभक्तको वा.बलभद्र मिश्र समेत रोहवरमा रही गत २०२५ साल भाद्र ८ गते पेश भई आज निर्णय सुनाउने तारेख तोकिइ पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक, वादी तर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री सुधानाथ पन्त रघुरामभक्तको वा. अधिवक्ता श्री बलभद्र मिश्रले गर्नु भएको बहस समेत सुनि निर्णयतर्फ विचार गर्दा राधाकृष्ण र निवेदक, वादी मैया जोशिनी जेठाजु बुहारीले ०१०।२।२३।६ मा रजिष्ट्रेशन पास गरी बण्डा गरेकोमा दपोट भएको खेत कित्ता २।६ सो २ कित्ता रघुरामभक्तले ०११।९।१५।५ मा सन्तकुमरीसँग राजीनामा गरी लिएको छ । जालासाजी मुद्दामा सो लिखत जालसाजी खडा गरेको हुन्छ भनी मैया जोशीनीको ०१७।८।२४ मा फिराद परेको छ । अंशदपोट मा उजुर गर्ने तत्कालीन अंशबण्डाको ४६ नं. मा दवाई खाएकोले दबाउनेको जिउ छँदै उजुर नगरे पछी लाग्न सक्तैन भन्ने लेखिएको र दवाउने भनेको राधाकृष्ण जिवीत छँदै यो फिराद दर्ता भएको छ र अंशदपोटतर्फ उजुर गर्ने हदम्याद भित्रै फिराद परेकै देखियो । यसबाट वादी मैया जोशीनीको उजुर गर्ने अधिकार सुरक्षीत रहेको अब रघुरामभक्तले राजीनामा गराई लिने भनेको जग्गा लिखत दर्ता गरेको २ वर्ष नाघेपछिको यो उजुर हुनाले जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं. बमोजिम उजुर गर्ने हदम्याद खिलाप भईसकेकोले साहु हुने रघुरामभक्तको जग्गा पाको भईसकेकै छ भन्ने प्रश्न उठ्दछ । जग्गा राजीनामा लियो भन्ने मात्र यो उजुर नभई मिली जालसाजी व्यवहार गरी मेरो हक जाने गरे भन्ने समेत वादीको दावा परेको हुनाले जालसाजीमा उजुर गर्ने हदम्याद भित्रै उजुर परेको हो होइन भन्ने पनि विचार गर्नु परेको छ । ०२० साल भाद्र १ गते देखि लागू भएको किर्ते कागजका १८ नम्बरमा जालासजी गरे भन्नेमा उजुर गर्ने हदम्याद तोकेको जस्तै साविक मुलुकी ऐनमा जालसाजीको हदम्याद यति भनी ऐ को कुनै महलमा लेखेको देखिंदैन । साविक मुलुकी ऐन किर्ते कागजको २१ नं. ले अदालती बन्दोबस्तको ऐनबमोजिम गर्नु भनी सद्दे किर्तेमा प्रमाणको कागज तहकिकात हुने कुरा सङ्केत गरको छ । मुद्दा परेका अवस्थामा त्यस्ता प्रमाणको कागजलाई बदर गराउने त्यती लामो हदसम्म म्याद लेखिएकोमा जुन जुन कुराको हदम्याद भित्र मुद्दा उठी आउँछ त्यसै त्यसै अवस्थामा त्यस्तो सद्दे किर्तेको तहकिकात हुन्छ । यस मुद्दामा दपोटको उजुर परी तत्कालीन अंशबण्डाको ४६ नं. मा तोकिएको हदम्याद भित्रै परेको देखिएकोले अंशदपोट मुद्दाकै अन्तर्गत यो जालसाजी मुद्दा छ । जगा मिच्नेको २१ नं.र जग्गा पजनीको ३४ नं.को ऐन समेतबाट जग्गामा हक पाको भईसकेको भन्ने कुरामा ती ऐनमा अरु ऐनमा लेखिएकोमा सोहीबमोजिम हुन्छ भन्ने हुनाले अरु ऐन नलागेको ठाउँमा मात्र लाग्न जाने ऐन हो । अंशदपोट ठहर्न गएकोमा त्यस्ता राजीनामा दर्ताले उक्त ऐनद्वारा केही असर पार्न सक्दैन । यसमा त अंशदपोट हो भन्ने कुरामा प्रत्यक्ष प्रमाणित भएकै रहेछ । ८२ सालमा म राधाकृष्ण थुनिएको र सन्तकुमारीको नाममा दर्ता गर्न दिएको हो भनी राधाकृष्ण समेतले प्रतिवादीमा लेखेको छ । सन्तकुमारीको हक हुने सबुद केही देखाईँदैन अांशीयार मैया जोशीनीले मुखैले छोडेकी भन्ने कुरा पनि ऐनले सदर हुँदैन । अब जालासजीतर्फ त्यस्तो अंशमा बाँड्नु पर्ने जग्गा आफ्नो जहान सन्तकुमारीकै नउँमा दर्ता राखेको र छोरीको छोराको नाउँमा राजीनामा पास गरेको रहेछ । सन्तकुमरीको छेरीको छोरा भनी राधाकृष्ण र मैया जोशीनिको फिरादपत्र प्रतिउत्तरपत्रबाट देखिन्छ । त्यस्तो आफन्तमा गरेको व्यवहारमा अंशदपोट गरेको जग्गा लेखिएको छ । सो जग्गा राधाकृष्ण समेतको कब्जामा थियो भन्ने कुरा मैयाँलाई जानकारी दिएको भन्ने केही प्रमाण छैन । राजीनामामा एकाघरको आफ्नै लोग्ने राधाकृष्ण र मैयाँलाई साक्षी राखेको भनी रहेनछ । अंशदपोट गरेको कित्ता राजीनामा गरी साहुका नाममा राखी पत्ता लगाउन कठिन पारेकै रहेछ । साहु आसामीका ऐनको रीत पुगी सकेको भनी साहुको पक्का ठहराउन पनि मुद्दा व्यहोरासँग त्यस्तो रीत पुर्‍याई गरेको त्यस्तो व्यवहार नै जालसाजी ठहरेको हुनाले सा.अ.का.ऐनले पाको भएका भन्ने तर्क उठदैन । तसर्थ, अंशदपोट गरेको जग्गा जालसाज गरी राजीनामा लिनु दिनु गरेको ठहर्छ । जालासजी नठहराएको शुरुको सदर गरेको तत्कालीन का.जि.अ.पै. को इन्साफलाई समर्थन गरेको ०२१।१०।२९।५ को डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिनाले तपसीलबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

देहायका प्रतिवादीहरू के रु. ५००१। को राजीनामा जालसाज गरे वापत किर्ते कागजको १० नं ले शंका २५। ले जम्मा रु. १२५०।२५ दामासाहीले हुने जरिवानाको सन्तकुमारी मरी सकेको भन्ने देखिनाले निजको भाग कट्टा गरी देहायबमोजिम जरिवाना लाग्छ वारेस हुँदा असूल उपर गर्न का.श्रे.अ.त.मा लगत दिनु…….१

चि.ईं टिष्टुङ्गपालुङ्ग गाउँ बस्ने राधाकृष्ण जोशी के ३१२।५७ ऐ बस्ने गोविन्द कृष्ण जोशी के ३१२।५७ का.जि.कालीमाटी बस्ने रघुरामभक्त माथेमा के ३१२।५७

निवेदीका वादी चि.ई. टिष्टुङ्गपालुङ्ग कृष्णखाल बस्ने मैयाँ जोशीनी के तत्कालीन चिसापानी ई.अ. का ०१८।५।५।२ का फैसलाले गर्ने गरेको रु. १०। का.जि.पै. का ०२०।५।१०।२ का फैसला र ०२०।११।४।१ का लगतले गर्ने गरेको रु. १। सर्वोच्च अदालत डिभिजन बेञ्चका ०२१।१०।२९।५ का फैसला ०२२।२।२२।२ का लगतले गर्ने गरेको रु. ५० समेत जम्मा ११।५० नलाग्ने हुँदा असुल भएको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ ऐ ………………..२

निवेदक, वादी मैया जोशीनी के निजका विद्वान अधिवक्ताको सर्वोच्च अदालत नियमावली, ०२१ को नियम २४ ले भरी पाउने फी रु. २०। प्रतिवादीको जेथा देखाई कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दखास्त दिए केही दस्तुर नलिई भराई दिनु ऐ ऐ……………..३

धनी का.ई. ओम बहाल टोल बस्ने रघुरामभक्त माथेमा ऋणी चि.इं टिष्टुङ्गपालुङ्गको ल.पु.मंगल डेरा बस्ने सन्तकुमारी श्रेष्ठनी भएको ०११।९।१५।५ मा ल.पु. पोतारजिष्ट्रेशन अड्डाबाट पास भएको रु. ५००१। को राजीनामा जालसाजी ठहरी बदर भएको सूचना ल.पु. पोता रजिष्ट्रेशनमा पठाई दिनु ……………..४

इन्साफ उल्टीमा देहायको व्यक्तिहरूको रिकर्ड राख्न जनरल विभागमा सूचना दिनु……………….५

का.जि.अ.का.न्या.सर्व राज पण्डीतज्यू १, चि.ई.अ.का.न्या.जनकमान श्रेष्ठ १

 

इति सम्वत् २०२५ साल भाद्र १२ गते रोज ३ शुभम् ।