July 31, 1990
Created by nepalarchives

निर्णय नं. ४१६१ – ज्यान

निर्णय नं. ४१६१     ने.का.प. २०४७      अङ्क ६   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं....

निर्णय नं. ४१६१     ने.का.प. २०४७      अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको फौ.पु.नं. ५४४

फैसला भएको मिति : २०४७।४।१६।३ मा

पुनरावेदक/वादी : नरबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : गोरखा, पालुङटार गा.पं. वा.नं. ६ बस्ने खडु भन्ने गन्यु गिरीसमेत

मुद्दा : ज्यान

(१)   मृतकलाई हेलचक्राई गरी हात मुक्काबाट कुट्दा कुठाउँमा लाग्न गई भवितव्यबाटै मृत्यु हुन गएको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिमको सजायँ गर्ने गरेको क्षे.अ. को इन्साफमा त्रुटि नदेखिने ।

(प्रकरण नं. १६)

पुनरावेदक/वादी तर्फबाट     : विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     प.क्षे.अ. को मिति २०४२।२।६ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    मेरो भैंसी गन्थु गिरीको धानको विहाडमा आहाल बसेछ गन्थु गिरीले सो भैंसी धपाई आफ्ना घर गोठमा लगी बाँधेछन् सो कुरा मेरी श्रीमतीले थाहा पाई मेरो भैंसी फुकाई देउ भन्न जाँदा गन्थु गिरी र निजकी श्रीमती भई कुटपिट गरी मारी फालेको कुरा थाहा भएकोले जाहेर गर्न आएको छु, कानुन बमोजिम होस भन्ने व्यहोराको नरबहादुर गुरुङको मिति २०४०।३।७ गतेको जाहेरी दर्खास्त ।

३.    लाश सडेको हुनाले मृत्युको कारण यकीन गर्न सकिन्न भन्ने मृतक कृष्ण मायाको सम्बन्धमा भएको गोरखा अस्पतालको मिति ०४०।३।९ को पोष्ट मार्टम रिपोर्ट ।

४.    खेतको व्याहाडमा भैंसी आई आहाल बसी बीऊ खाई दिएकोले घरमा भैंसी बाँध्न खोज्दा जाहेरवालाकी श्रीमती कृष्णमाया गुरुङसेनी आई भैंसी बाँध्न नदिई लग्न लागेकोले म र मेरी श्रीमतीले हातपात मुक्काले हानेको हुँदा सोही कारणबाट निज कृष्णमायाको मृत्यु भएको, कानुनले जो ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४०।३।१२ गते प्र.गन्थु गिरी र निजकी श्रीमती सुकमाया गिरीको एकै मिलानको प्रहरीमा गरेको कागज ।

५.    कृष्णमायाको मृत्यु सम्बन्धमा कर्तव्य भवितव्य के हो, म भन्न सक्दिन र प्रतिवादीहरुले मारे नमारेको पनि मलाई केही थाहा छैन भन्ने सरजमीनका १ दफाका संते गिरी र कृष्णमायाको मृत्यु प्रतिवादीहरुको कर्तव्यबाट भयो होला जस्तो लाग्दैन निज कृष्णमायाको मृत्यु लडी मरेको जस्तो लाग्छ भन्ने व्यहोराको अधिकांश व्यक्तिहरुको मिति २०४०।३।१७ को सरजमीन मुचुल्का ।

६.    मुक्काले तथा लातले निज कृष्णमायाको शरीरमा गोठमा र तल मुल बाटोमा समेत पटक पटक हान्दा सोही चोट पटकबाट निज कृष्णमायाको तत्काल मृत्यु हुन गएको देखिँदा निज गन्थु गिरी, सुकमाया गिरीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत मिति २०४०।३।२१ को प्रहरी प्रतिवेदन ।

७.    म र मेरी श्रीमती भई कुटपिट गरी मारे मराएको होइन छैन, कृष्णमाया गुरुङसेनी भैंसी लखट्दै जाँदा बाटामा आफैं लडी मरेकी हुन् । निजको श्रीमान जाहेरवाला नरबहादुर गुरुङ अघि देखिको पुरानो झगडिया भएकोले लडी मरेकी श्रीमतीलाई मैले र मेरी श्रीमतीले कुटपिट गरी मारेका हुन् भनी इवी साध्न झुठ्ठा जाहेरी दिएका हुन् भन्ने समेत खडु भन्ने गन्थु गिरीको अदालतमा गरेको बयान ।

८.    जाहेरवालाको जग्गा सम्बन्धी मुद्दा यसै अदालतमा परी हारजित समेत भएको छ, सो रिसइवी साधन गर्न मलाई र मेरो श्रीमानलाई मारे भनी झुठ्ठा उजूर गरेका हुन् निज कृष्णमाया भैंसी लिई जाँदा बाटामा आफैं मरेकी हुन् कसैको कर्तव्यबाट मारे मराएको होइन भन्ने समेत सुकमाया गिरीले अदालतमा गरेको बयान ।

९.    सरजमीनका मानिस र प्रतिवादीहरुले सबूदमा दिएका साक्षीहरुको बकपत्र मिसिल सामेल रहेछ ।

१०.    प्रतिवादीहरु गन्थु गिरी र सुकमाया गिरीलाई निरपराधी ठहराउन उपयुक्त नहुने समेत कारणबाट ज्यानसम्बन्धी महलका १ नं. विरुद्ध निज प्रतिवादीहरुले तत्काल उठेको रिसको आवेगमा आई कृष्णमाया गुरुङको शरीरमा गरेको लाती मुड्काको प्रहारको वेदनाबाट कृष्णमायाको मृत्यु भएको ठहर्छ भन्ने गोरखा जिल्ला अदालतको मिति २०४१।७।२० गतेको फैसला ।

११.    गोरखा जिल्ला अदालतको २०४१।७।२० को फैसलामा चित्त बुझेन वादी दावीबाट सफाई पाउँ भन्ने समेत प्रतिवादीहरुको पुनरावेदनमा सामान्य कुरामा हेलचेक्र्याईबाट कृष्णमायाको मृत्यु भएको देखिँदा ज्या.सं. को ५ नं. को वारदात कायम भई ऐ.६(२) नं. अनुसार प्र.हरुलाई वर्ष १।६ का दरले कैद हुने ठहर्छ भन्ने समेत प.क्षे.अ. को मिति २०४२।२।६।१ को फैसला ।

१२.   उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत श्री ५ को सरकार तर्फबाट पर्न आएको निवेदनमा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।५।२१।३ को आदेश ।

१३.   नियम बमोजिम पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फका विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले वारदात भएको हो भन्ने कुरामा विवाद छैन, प्रतिवादीहरुले मृतकलाई हात मुक्काले हानेको र सोही कारणबाट मृत्यु भएको भन्ने समेत व्यहोरा खुलाई अधिकारप्राप्त अधिकारी समक्ष साविती बयान गरेका छन् जाहेरवाला र प्रतिवादी बीच अघि मुद्दा परेकोबाट रिसइवी पनि देखिएको समेत हुँदा ज्या.सं. को १४ नं. बमोजिम प्रतिवादीहरुलाई सजायँ हुन पर्नेमा ज्या.सं. को ६(२) नं. बमोजिम गरेको मिलेन भन्ने गर्नु भएको बहस समेत सुनियो ।

१४.   यसमा यी प्रतिवादीहरुले मृतकलाई लखेटेको र हात मुक्काले हानी हेलचेक्रयाई गरी चोट छोडेको देखिई कैद वर्ष १, ६ गर्ने गरी प.क्षे.अ. बाट फैसला भएको देखिन्छ उक्त फैसला उपर प्रतिवादीहरुले पुनरावेदनको अनुमतिको निवेदन समेत दिएको नदेखिएकोले उक्त फैसलाबाट भएको सजायँमा निजहरुले चित्त बुझाई बसेको देखिएको हुँदा त्यसतर्फ अरु विचार गरी रहनु परेन ।

१५.   अब वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदनको अनुमति प्राप्त भई दर्ता भएको पुनरावेदनको सम्बन्धमा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ हुनु पर्ने भन्ने विद्वान उपन्यायाधिवक्ताले लिनु भएको जिकिर समेत तर्फ विचार गरिएमा प्रतिवादी मध्येका खड्डु भन्ने गन्थु गिरी मिति २०४६।९।१८ मा कालगतिले परलोक भएको भनी मृत्यु दर्ताको प्रमाणपत्र समेत राखी निजका छोरा लक्ष्मण गिरीले मिति २०४६।११।२४ मा निवेदन दिएको मिसिलबाट देखिन आएकोले निजको हकमा दं.सजायँको २ नं. अनुसार केही विचार गर्नु परेन ।

१६.    अब प्रतिवादी मध्येकी सुकमाया गिरीका हकमा विचार गर्दा मृतकको भैंसीले यी प्रतिवादीहरुको बीऊ खाएकोले सो भैंसी गोठमा बाँध्न खोज्दा मृतक कृष्णमायाले भैंसी खोली लग्न लागेको अवस्था प्रतिवादीहरुले हात मुक्कासम्मबाट कुटपिट गरे भएको देखिन्छ । यी दुई पक्ष बीच अघि मुद्दा परेको भन्ने भएकोमा उक्त मुद्दाकै कारण मार्नु पर्ने सम्मको रिसइवी रहन गएको भन्ने स्थिति पनि देखिँदैन । प्रतिवादीहरुबाट कुनै हतियार प्रयोग भएको भन्ने पनि मिसिलबाट देखिन आएन । यस अवस्थामा मृतकलाई हेलचेक्रयाई गरी हात मुक्काबाट कुट्दा कुठाउँमा लाग्न गई भवितव्यबाटै मृत्यु हुन गएको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिमको सजायँ गर्ने गरेको प.क्षे.अ. को इन्साफमा त्रुटि देखिन आएन । तसर्थ पुनरावेदन जिकिर बमोजिम ज्यानसम्बन्धीको १४ नं. प्रस्तुत वारदातमा आकृष्ट हुने अवस्था विद्यमान नभएकोले इन्साफ प.क्षे.अ. को मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४७ साल श्रावण १६ गते रोज ३ शुभम् ।