निर्णय नं. ४१६ – डाका
निर्णय नं. ४१६ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह ०२४ सालको...
निर्णय नं. ४१६ ने.का.प. २०२५
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री
न्यायाधीश श्री राजा ईश्वरी जंगबहादुर सिंह
०२४ सालको फौ.फुं नं. १२
निवेदक : राधाकिशन राउत वरै
विरुद्ध
विपक्षी : मिर हुसेन मियाँ धोवी समेत
मुद्दा : डाका
(१) मौकामै देख्ने व्यक्तिहरू र साक्षीले समेतले किर्ते पोल गरेको र घर (अभियुक्तको) खानतलासिमा दसि वरामद भएको प्रमाणहरू मौजुद रहेमा आरोपित कसुर प्रमाणित हुने ।
मौकामा देख्ने भनेको सर्जमिनहरू र वादीका साक्षी समेतले किटानसाथ पोल गरेको र मिर हुसेनको घर खानतलास हुँदा धोती सारीहरू दसि वरामद पनि हुन आईरहेको समेत उपरोक्त प्रमाणहरूबाट प्रतिवादी किरहुसेन मोलवीहरूले कसुर गरेकै देखिन आउने । ती कुराहरूलाई अनुमानित तर्कसम्मको आधारमा खण्डन गरी सफाई दिन न्यायसंगत हुन नआउने समेत हुँदा कसुर ठहराएको शुरु विरगञ्ज इ.अ.को सदर गरी विरगञ्ज जिल्ला अदालतबाट ०२०।१।५।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ । निजहरूलाई सफाई दिने गरेको ०२२।३।२३।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन ।
(प्रकरण नं. १९)
वादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद धिमिरे
फैसला
१. ०१७ साल माघ १० गते म घर नभएको मौका मेरो घरमा डाकाहरू आई भा.रु. १३२७७।।। को धनमाल डाका गरी भागेछन् । डाकाहरूले खाकी कोट, कट्टु, कमिज, जुत्ता लगाई पुलिशको ड्रेस गरी मुखमा सेतो दलेका १६।१७ जनाको जमात थियो । मोलबी मिरहुसेन २ जनालाई हामीले चिन्यौ भनी रखवार बसेका र गाउँका मानिस समेतले भनेकाले मलाई पनि निजकै ग्रुपको कर्तव्य हो भन्ने पूरा शंका भएकोले दरखास्त दिन आएको छु । निजहरूलाई पक्राउ गरी नचिनेकाको नाउँ खुलाई बिगो दिलाई सजाय गरी पाउँ भन्ने राधा किसनको ०१७।१०।१६।१ को दरखास्त र सोही मिलान समेतको ०१७।११।३ को बयान ।
२. ०१७ साल माघ १० गते २ को रात घर गाउँमा छु । डाका पर्नु एकदिन अगाडि घुवा अहिर समेतले भोली राधा किसुनको घरमा डाका गर्नेवाला छौं । हाम्रो साथमा जानु पर्ने भनेकोमा म भरखर जेलबाट छुटि आएको बुढो भैसकें । अब म डाका गर्न सक्तिन भन्दा मद्धत मात्र देउ भनेकोमा सो पनि सक्दिन भनी फर्काइ दिएको हुँ । तिनीहरूले नै डाका गरे गराएको हुनु पर्दछ । अघि डाका खुनमा २० वर्ष जेल परी हालै छुटि आएको बदनामी भएबाट वादीले दर्खास्त दिएको र सरजमिन बसेका मेरा घरमा बरामत भएको । धोती रकसौलमा खरिद गरेको । सारी वनारसबाट आएको महाजनले दिएको मेरै हो भन्ने पुलिसमा कागज गरेको र डि.एस.पी. अफिसबाट भएको कागज देखाई सुनाउँदा सवालबाट देखाएको कागज देखें । सही मेरो हो । जबरजस्ती सही गराएका हुन । खुशीराजीले गरेको हैन । डाका गर्न जानु भनी मलाई भनेको पनि छैन । बुढो मानिस म जान्न भनेको पनि छैन । खसी काटेको पनि थिएन । खून डाका मुद्दामा २० वर्ष कैद ठेकी थुनिएको श्री ५ को जन्मोत्सवमा छुटेको हुँ भन्ने समेत मिर हुसेनको बयान ।
३. ०१७ साल माघ १० गते २ का रात बारा टोकनी मौजे लिएती बस्ने सफायत मियांलाई छोरी दिएकोले निजकै घरमा बसे सुतेको छु । वादी कहाँ डाका गर्न गएको र डाका गरेको होईन । यो अघि एकपटक डाका मुद्दामा सजाय पाएको छु भन्ने पुलिसमा कागज र ०१७ साल माघ १० गते सफाई मियाको घरमा छु । अघि एकपटक डाकामा सजाय पाएको छु भन्ने मौलवी मिया धोवीले अदालतमा गरेको बयान ।
४. हरियो सुनौला छिर्के बुट्टा भएको नैलान हात १० को सारी १ भैया रातो पहेंलो कालो बुट्टा भएको मेरो हो । मेरा दाजु मिर हुसेनको घर माथिको नौ गजा १ र १० गजा समेत लाल र हरियो किनाराको मर्धना मिर हुसेनको छोराको हो भन्ने समेत तविजनीको बयान ।
५. डाका वारदात भएका बखत प्रष्ट देखें चिनें भनी मौका तहकिकात मुचुल्कामा १।२ दफाका जवान ९ र वादीका साक्षी जवान ४ ले बकेको । निजहरूले सो डाकाको वारदात गरेकै होला विश्वास लाग्छ भन्ने हुनियाकै जवान ९ ले दफा ६ को समेत ५२ सरजमिनले बकि लेखी दिएको । निजहरूले यो वारदात गरेको खानतलासीमा निस्केको माल मेरो हो भन्ने मौकाको ठाडो कागजमा र बैनीको सारी भन्ने अदालतमा आई बयान गरेको नमिली बाझिएको । ०१७।१०।१६ मा दिएको दर्खास्तको माल ऐ १९ गते खानतलासीमा निस्केको माल दर्खास्तमा भिडे मिलेको कारणबाट मेरो भन्ने तविजनीको र निजको साक्षीको भनाई पत्यारलायक नदेखिएको । प्रमाण मिसिल र लगत उतार छिनुवा मिसिल हेर्दा, प्रसौनीको वादी उदित थारुको डाका मुद्दामा प्रतिवादी पौलवी एक पटक मिर हुसेनले पाँचौ पटक डाका खून गरेको देखिन आएकोले समेत कसुर अपराध भए गरेकै देखिन गुज्रन आएकोले ठाडोका गजमा मरी हुसेनले पोलेको विदेशी सल्लाहसम्म गरेको भनाई भएको । उसतर्फ जाफताको ७२ दफाले पक्का सबुद बेगर यस पारमा फेला परे कारवाही गर्ने ९२ सालका सनदबमोजिम मुलतवी रहने । दर्खास्त दावाको रु. १३२७७।। ने.रु. २१२४४।४० धनमाल डाका गरेको ठहर्छ भन्ने समेत ०१९।२।१८।५ को विरगञ्ज इलाका अदालतको फैसला ।
६. हामीहरूले कसुर गरेको नहुँदा सो इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादी मिर हुसेन मौलवीहरूको पुनरावेदन ।
७. डाका वारदात गरेकै मौका देखे चिनेको र गुहारमा गएको गोपाल भारती अथित समेत ९ जनाले डाका गरेका मालसामान ओसार्न लाग्दा पहिचान गरेको समेत सर्जमिन मुचुल्कामा लेखेको देखियो । सो भनाईमा कतिसम्म सत्यता छ भन्नेतर्फ हेर्दा, उक्त प्रतिवादीहरूका ती सर्जमिनहरू गाउँ छिमेक नगिच चिनाजानिकै मानिस भन्ने प्रष्ट देखिनाले एकैझल्का देखे पनि पहिचान हुन सक्ने अवस्था देखिएको र मिर हुसेनको घरबाट चोरीको मालै वरामद भएको सो दसी भनेको माल आफ्नै हो भनी सारी बैनीको मर्दना मेरो भनेको भए तापनि अगाडीनै दर्खास्त परी सकेको । पछि बरामद भएको माल दर्खास्तसँग मिल्नु पनि चोरीको बाहेक अरु खरिदी भन्न नमिल्ने हुनाले सर्जमिनका भनाई तथ्य पूर्ण भन्नुपर्ने हुन आयो । प्रतिवादीले वादी वादीको धनमाल प्रतिवादी मिर हुसेन मौलवी समेतले डाका गरेको ठहराएको इन्साफ मुनासिव भन्ने ०२०।१।५।५ को जिल्ला अदालत विरगञ्जको फैसला ।
८. हामीहरूले कसुर गरेकोमा अघि सजाय पाईसकेको व्यक्ति हुनाले बिना कसुर भूmट्टा पोल गरेको कायम गरी फैसला भएको समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने मिर हुसेन र मौलवी समेतको पुनरावेदन ।
९. रखवार गर्ने र गाउँका मानिसहरूका भनाईमा मात्र वादी राधाकिशनले पोलेको देखिएको र मुखमा सेतो दली पुलीसको भेष लगाई नचिनिने गरी आएका व्यक्तिहरूलाई चिने भनी भनेको । तर कसरी चिन्न सकेको हो ? सो प्रष्ट नभएकोले वादीलाई छलफलमा झिकाउने ०२०।६।२८।२ को डिभिजन बेञ्चको आदेश ।
१०. मुख्य डाका दलमा अपीलाट मिर हुसेन र मौलबी पनि थिए । निजहरूले भनी डाका गरेका भन्ने हकमा तिनीहरू अघि अर्कै डाका गरेमा सजाय पाएका रहेछन तापनि अघि सजाय पाएको कारणले यसमा पनि गरे हुन भन्न मिल्दैन । प्रस्तुत मुद्दामा प्राप्त भएको प्रमाणले नै कसुर गरे नगरेको निर्णय गर्नुपर्ने हुन आउँछ । त्यसतर्फ वादीका साक्षी ३ जना र सर्जमिन ९ जनाले निजहरूलाई वारदातमा देख्यौं । डाकाहरूले वन्दूकको आवाज भनी गरेका थिए भनेका पाईयो । डाका गर्दा घरवाला तर्फबाट कुनै बिरोध हल्ला गुहार गरेको वा कसैलाई चोटपटक लागेको घरवालाको भनाईबाट नदेखिएको । त्यस्तो अवस्थामा वन्दुकको आवाज गर्नु त्यस्तो किसिमबाट परेको डाका गाउँलेले थाहा पाउनु अवस्थै देखिन्न । त्यसबाट हामी आई डाकालाई हेरे देखे चिनेको भन्ने बाहिरी मानिस जतिका भनाई साँचो देखिएन । घरको रखवारी गर्न बसेका शिवनन्दन बरै समेत ५ जना वादीकै मानिस हुन । हाम्रो रखवारी ठिक थियो । विवस भयौ भन्ने पार्नु परेको भनिन्छ । अघि यस्तै कसुरमा सजाय पाएका अपीलाटहरूलाई भनी दिए पत्यार पार्ला भन्ने सम्झने अवस्था पनि हो । त्यस्तो अबस्थाका मानिसले देख्यौ चिन्यौ भनेको कुरालाई कतिसम्म महत्व दिन ठिक पर्ला ? उस्मा पनि पुलिसको जस्तो ड्रेसमा मुखमा सेतो लगाई नचिनिने गरी आएका १६।१७ जना डाकाहरू मध्येमा अपीलाटहरूलाई करीव २५ हातको फरकबाट आफ्ना साथमा रहेको लालटेनको उज्यालो र भरसक नदेखिने नचिनिने उद्देश्यका डाकाले झल्याक झुलुक बालेको लाईटको उज्यालोबाट चिनेको भन्ने कुरा प्रतित नभएको । डाका परेको मालको बोझा आएको मानिएका १६।१७ जनाले एकै पटकमा लैजान नसक्ने किसिमको नदेखिएकोले माल ओसार्दा र ओहर दोहर गर्दा देखे चिनेको भन्ने कुरा पनि प्रतित नभएको । देखेकै भए अपीलाटहरू कस्तो रूपमा हातमा कुन चिज लिएका थिए ? तिनीहरूलाई कस्तो किसिमले चिन्न छुटयाउन सकिएको हो ? सो पनि खुलाउन सक्नु पर्ने नसकेकोले पनि देखे चिनेको भन्ने कुरा बनावटी देखिन आउने र डाका परे भनेको बखत मिर हुसेन आफ्नै घरमा थियो भनी चौकीदार टुनी दुसाथ समेत २ जनाले र मोैलवी पादी खरीद गर्न गएको सुखल मियाका साथमा सुतेको थिए भनी सुखल मिया समेत ३ जनाले बकेकोबाट निजहरू वारदात गर्न आएको नदेखिएको । खानतलासी गर्दा मिर हुसेनका घरबाट चोरीकै माल दसी निस्केको भनेमा पनि चोरीकै माल पनि प्रष्ट भन्न सकिने चिन्न निस्साना भएको अरु माल नगदीहरू नभेटिइ धोती सारीहरू भेटिएको भन्ने देखियो । धोती सारी जस्ता माल नजिक गाउँका वादी समेतका मानिसलाई थाहा भई सर्वसाधारणका घरमा रहेको हुनसक्छ । त्यो चीज वादीकै हो भन्ने प्रष्ट गर्ने कुनै निस्सा नलागेको वा कुनै प्रतित पर्ने ब्यहोरा बताई मौकैमा सर्जमिनले सनाखत गरेको भन्ने देखिएन । सर्वसाधारणका घरमा हुन सक्ने धोती सारी जस्तो माललाई वादीले मेरो हो भनेकै भरले डाका गरे मध्येको माल दशी रहेछ भन्न नमिल्ने र विषयको तथ्यमा फरक नपरी सारीहरू मेरो भनी मिर हुसेनको बहिनी तविजनीले बयान गरेकोलाई निजको साक्षी भोलासा कानूले पनि समर्थन गरेकोबाट सो धोती सारी वादीको हो । वरामद भएको दशी हो भन्न नमिल्ने समेत हुँदा निज मिर हुसेन मौलवीले वादीको घरमा गई डाका गरेको नदेखिने हुँदा सदर गरेको जिल्ला अदालत विरगन्जको इन्साफ केही गल्ती ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२२।३।२३।४ को फैसला ।
११. सो उपर चित्त बुझेन । दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा दशी प्रमाण आएको सर्जमिनले देखेको प्रमाणलाई अनुमानिक तर्फबाट कटाई अरु अनुमानिक तर्कबाट वादीको कुरा झुट्टा र प्रतिवादीको कुरा साँचो ठह।राउनु युक्तिसङ्गत हुन नआउने देखिएको समेत प्रमाण परिवन्दबाट सर्वोच्च अदालतको निर्णय मिलेको देखिंदैन । दोहर्याउन आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुमबक्सेको छ भन्ने मौसुफको प्रमुख सचिबालयबाट लेखी आएको ०२४।४।१८।३ को हुकुम प्रमांगी ।
१२. बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त कानूनको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ प्रतिलिपि जाहेर गर्नु श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्टार अफिस मार्फत पठाई दिनु भन्ने माननीय श्री का.मु.प्रधान न्यायाधीशज्यूको ०२४।४।१६।२ को आदेश ।
१३. ०१७।१०।२३।१ को मौका सरजमिन मुचुल्काबाट प्रतिवादीहरू उपर गडाउ देखिएकोले अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त प्रतिवादी मिर हुसेन मौलवी दुवै जनालाई रुल नियमबमोजिम नोटीस जारी गरी झिकाई नियमबमोजिम पेश गर्नु भन्ने २४।१२। १६।६ को फुल बेञ्चको आदेश ।
१४. यसमा प्रतिवादी मरी हुसेन अदालतको म्यादमा हाजिर नभएकोले तारेखमा रहेका निवेदक, वादी राधाकिशनको वा.भोलाप्रसाद र प्रतिवादी मौलवी मिया हुसेन रोहवरमा रही २०२५।४।२२।३ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान अभिवक्ता श्री ठाकुरप्रसाद खरेलले र प्रतिवादी मौलवी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको आज पुकारी बोलाउँदा प्रतिवादी मौलवी उपस्थित नभएको । प्रस्तुत निवेदक, वादीको घरमा डाकाको मुद्दामा वारदात भएकै होईन भन्ने विवाद भएकोले प्रतिवादी मिर हुसेन मौलवीहरूले डाका गरेको हो होईन भन्नेसम्म कुराको यस बेञ्चबाट निर्णय दिनुपर्ने भएको छ ।
१५. सर्वप्रथम मौका तहकिातका सरजमिनको भनाइतर्फ हेरेमा वादीको घरको रखवारी गरी बसेको भनेका शिवनन्दन राउत वरै समेत ५ जनाले हामी बसेको ओसारामा लालटिन बाली झुण्डयाई राखेको र हामी भित्र बसेको ओसाराको पल्ला डण्डी घर भएकोले हामी भित्र भए पनि दृश्य सबै देखिने भएकोले भित्र बाहिर गर्दा बराबर हामीहरूले देखे चिनेको मिर हुसेन मिया र मौलवी मियालाई चिनि पहिचान गर्न सक्यौ भन्ने र वादीको घरमा हल्ला र वन्दुकको आवाज समेत भएकोले गएको भनेको छट्टु राउत समेत ४ जनाले वादीको घरसार घर र नाद भएको घरको ढोकाबाट चियाई हेर्दा, धनसार घरमा बाली राखेको उज्यालो र डाकुहरूको हातमा रहेको लाइट बत्तीको झल्याक्क झुलुक्कको उज्यालोले गर्दा घर भित्रबाट धमाधम माल ओसार्न लागेको देख्यौ । मिर हुसेन मौलवी २ जनालाई चिनि पहिचान गर्नसक्यौ भन्ने समेत किटानीसाथ र प्रतिवादी मिर हुसेनकै गाउँ केहुनीयाको सगुन समेत ९ जना र अरु गाउँका गोपाल भारती समेत ४३ जना सर्जमिनले पनि निज मौलवी मिर हुसेन २ जना उपर कसुरको शंका गरी लेखी दिएको पाईन्छ । वादीका साक्षीहरूको बकाइतर्फ हेर्दा, हरिहर्सा कानु लेखमन वरै ननहु चमार समेत ३ जनाले निज मिर हुसेन मौलवी २ जनालाई वारदातको मौकैमा देखे चिनेको भनी किटानीसाथ भने बकेको समेत देखिन आयो ।
१६. घरवाला तर्फबाट कुनै हल्ला गरी कराएको भन्ने भनाई नभएको त्यस्तो अवस्थामा वन्दुकको आवाज गर्नु र गाउँलेले थाहा पाई गुहारमा आउनु अवस्थै नपर्ने र धनसार घरमा झुण्डाएको लालटेन डाकाकै हातको लाइट बत्तीको उज्यालोबाट मुखमा सेतो दलेका डाकाहरूलाई चिन्न नसकिने भन्ने प्रतिवादी मौलवीतर्फको विद्वान अधिवक्ताको मुख्य बहस जिकीर समेत भएको हकमा घरवाला तर्फबाट कुनै हल्ला गरी कराएको नभए पनि नगीच गाउँ घरका अरु मानिसहरू गुहारमा आउनु नसकुन् भन्ने त्रास देखाउने अभिप्राय समेतले डाका दलले वन्दुकको फायर गरेको हुन सक्ने र १६,१७ जनाको जमात भनिएका ती डाकाहरूको आपसको हल्ला खलबल र वन्दुकको आवाज समेत सुनी थाहा पाई नगीच गाउँ घरका मानिसहरू जम्मा भई गुहारमा आउन सक्ने समेत देखिएको र २०२०।११।२९।५ को डिभिजन बेञ्चको आदेशबमोजिम भई आएको २०२२।१।७।५ को नक्सा मुचुल्कामा सिशनन्दन समेत रखवारी गरी बसेको भनेको धनसार घर ओसाराको फलामे डण्डी लागेको ढोकाबाट डाकाको वारदात भएको घर ८ गज फरक र ओसारादेखि पूर्व नाद घरदेखि पश्चिमको गल्लीबाट डाकाहरूले छतमा चढ्न बाँस उभ्याएको भन्ने ठाउँ ९ गज फरकमा भएको भन्ने र ओसारामा झुण्डयाएको लालटेनको उज्यालोबाट मानिस भित्र बाहिर गरेको र माल ओसारेको प्रष्ट देखिन्छ चिनिन्छ भनी २३ जना सर्जामिनले लेखी दिएको । डाकाहरूले मुखमा सेतो दलेका भए पनि छिमेक गाउँ नगिचकै पहिलादेखि चिनेजानेका मानिसलाई त्यति ८,९ गज फरक मात्रमा उनीहरूको शरिरको आकृति हिडाई बोलाईको चाल समेतबाट ओसारामा बाहिर झुण्डाई राखेको लालटिनको उज्यालोसम्मले पनि चिन्न सकिने समेत हुँदा उपरोक्त जिकरी तर्कसंगत मान्न मिलेन ।
१७. प्रतिवादी मिर हुसेनको घर खानतलासी हुँदा निक्लेको धोती सारीहरू मेरो भनी वादीले मौकामा सनाखत गरेकोमा निज मिरहुसेनले पुलिसमा कागज गर्दा मेरै हो भनेको र पछि अदालतमा बयान गर्दा मेरै घरमा बसेकी मेरी बैनी तविजनीको हो भनेको तविजनी बुझिएकोमा नाईलन हात १० को सारी भैमा रातो पहेंलो कालो बुट्टा भएको मेरो हो । ९ गज १ र १९ गज १ समेत मर्दाना २ पल्ला मिरहुसेनको छाराको हो भनेकी समेत भई निजहरूकै घरमा बसेकी भए पनि निजको बयानमा उत्तरतर्फको कोठामा अकेला रहेको छु भनेकी निजको आफ्नो भनेको सारीहरू निजकै भए निज रहेबसेको छुट्टै कोठामा रहेको हुनुपर्ने मिरहुसेनको खानतलासी हुँदा निक्लन पर्ने र शुरुले फैसला गर्दा सो सारीहरू तबिजनीको नठहराएकोमा निजले पुनरावेदन नगरी चित्त बुझाई बसेको समेत हुदाँ वादीले पहिले दिएको हुलीया दखास्तमा मिल्न आएको ती धोती सारीहरू आफ्नै हो भन्ने प्रतिवादी मिरहुसेन र तबिजनीहरूको उपरोत्त भनाई साँचो देखिन आएन ।
१८. प्रतिवादी मिर हुसेनको हकमा निज आफैले प्रसाद तेलिको र उचीत बजैया थारुको डाका मुद्दामा १५।८।४।४ मा बयान गर्दा आफ्नु उमेर ५३ वर्ष लेखिएको । सो हिसाबले यो मुद्दामा बयान गरेको १७।११।५।५ मा ५५ वर्ष चानचुन मात्र हुन आउनेमा बृद्ध भई डाका मार्न जान नसक्ने उमेर पुगिसकेको भान पार्न ६७ वर्ष उमेर लेखाएको देखिन्छ । निज मिर हुसेनले पुलिसमा काज गर्दा घुपा राउत समेतले राधाकिशनको घरमा डाका गर्न जाउँ भनेको थिएँ । म भर्खर जेलबाट छुटी आएको बुढो भईसकें । अब म डाका गर्न सक्दिन भनी फर्कादिए भन्ने लेखेको । आफू डाका गर्न नगएको भए डाका पर्ने कुरा थाहा पाएपछि घर धनी समेतलाई थाहा खबर दिनु पर्ने दिएको भन्न सकेको छैन । प्रतिवादी मौलवीको हकमा वारदात भएको १७।१०।१० गते म घरमै थिईन । सो १० गते पाडी खरिद गर्ने काममा गएको राती लिपती गाउँ ज्वाई सफाई मियाँको घरमा सुतेको छु भन्ने जिकीर लिएकोमा निजकै साक्षी सुखल मियाँले मेरो घरमा मेरो साथमा सुतेको भन्ने र ननक मियाँको सुखल मियाँ कहाँ सुत्न गएको भनेको समेत भई निज मोलवी र निजकै साथीहरूको बकाइ परस्पर मिल्न नआएकोबाटै निज मोलवीको उक्त जिकीर साँचो देखिन आउदैन । निज मिर हुसेन मौलवी दुवैजना अघि डाकामा सजाय पाई छुटेको बदचलनको मानिस भन्ने कुरा प्रमाणको मिसिल र सर्जमिनहरूको भनाई समेतबाट सिद्ध भईराखेको पनि छ ।
१९. तसर्थ, मौकामा देख्ने भनेको सजमिनहरू र वादीका साक्षी समेतले किटानसाथ पोल गरेको र मिर हुसेनको घर खानतलास हुँदा धोती सारीहरू दसी बरामद पनि हुन आईरहेको समेत उपरोक्त प्रमाणहरूबाट प्रतिवादी मिरहुसेन मौलवीहरूले कसुर गरेकै देखिन आउने । ती कुराहरूलाई अनुमानित तर्कसम्मको आधारमा खण्डन गरी सफाई दिन न्यायसंगत हुन नआउने समेत हुँदा कसुर ठहराएको शुरु विरगन्ज ई.अ.को सदर गरी विरगन्ज जिल्ला अदालतबाट ०२०।१।५।५ मा छिनेको इन्साफ मुनासिव ठहर्छ । निजहरूलाई सफाई दिने गरेको ०२२।३।२३।४ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । तपसीलबमोजिम गर्नु ।
तपसील
देहाय मानिस देहायबमोजिम लाग्ने गरेको दण्ड कैद डिभिजन बेञ्चको ०२२।३।२३।४ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने का.श्रे.अ.त. मा ०२३।४।१०।१ मा लगत दिएकोमा सोअनुसार गर्नु पर्दैन सो लगत काटी देहायबमोजिम लगत कायमै राखी कानूनबमोजिम गर्नु भनी हालको पर्सा जिल्ला अदालतलाई लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु । प्र.मिरहुसेन मिया धोबीके शुरु विरगन्ज ई.अ.को ०१९।२।१८।५ को फैसलाले गर्ने गरेको दण्ड ने.रु. ३१८६६।६० र कैद वर्ष १८ र विरगन्ज जिल्ला अदालतको ०२०।१।५।५ को फैसलाले गर्ने गरेको कैद वर्ष १।९।१।४८ समेतको कलम कायम राख्ने…………….१
प्रतिवादी मौलबी मिया धोवी के निजलाई शुरु विरगन्ज ई.अ.को ०१९।२।१८।५ को फैसलाले दण्ड रु.३१८६६।६० कैद वर्ष ९ गर्ने गरेको कायम राख्ने २ प्र.तबीजनी धोबीनी कै शुरु विरगन्ज ई.अ.को १९।२।१८।५ को फैसलाले गरेको दण्ड रु.२।५० ऐ ३
प्रतिवादी मोलबी मियाँ धोबीकै शुरु विरगन्ज ई.अ. को १९।२।१८।५ को फैसलाले दोसो पटक कायम गरी दण्ड ने.रु. ३१८६६।६० र कैद वर्ष ९ गर्ने गरेकोमा विरगन्ज जिल्ला अदालतको २०।१।५।५ को फैसलाले अघिप्रसाद तेलीको उजुर परेको डाका खुन मुद्दामा दोस्रा पटकको सजाय पाईसकेको भनी यो मुद्दामा तेश्रा पटक कायम गरी कैद वर्ष १८ गर्ने गरेको देखिएकोले त्यसतर्फ हेर्दा, उक्तप्रसाद तेलीको उजुर परेको डाका खुन मुद्दामा सजाय पाएको सोलबीमिया भन्ने छुट्टै मानिस देखिएको हुँदा शुरु फैसलाबमोजिम यो मुद्दामा दोश्रा पटक कायम गरेको मनासिवै देखिन आई विरगन्ज जि.अ.को फैसलाबमोजिम कैद वर्ष १८ नलाग्ने शुरु फैसलाबमोजिम कैद वर्ष ९ मात्र लाग्ने भएकोले बढी कैद वर्ष ९ को लगत कट्टा गरीदिनु पर्नेमा उक्त विरगन्ज जि.अ.को फैसलाबमोजिमको लगत डिभिजन बेञ्चको २२।३।२३।४ को फैसलाबाट कट्टा गर्ने गरी राखेकै हुँदा यसबाट केही गर्नु परेन…………………….२
एै एै के विरगन्ज जि.अ.को २०।१।५।५ को फैसलाले थप गर्ने गरेको कैद वर्ष १।९।१।४८ डिभिजनकोबेञ्चको २२।३।२३।४ को फैसलाले लगत कट्टा गरी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन उक्त विरगन्ज जि.अ.को फैसलाबमोजिम लगत कायम भईराखने भनी पर्सा जि.अ.लाई लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु …..३
देहायका मानिसले विरगन्ज इ.अ.को १९।२।१८ को फैसलाले गर्ने गरेको देहायबमोजिम जरिवाना डिभिजन बेञ्चको २२।३।२३।४ को फैसलाले नलाग्ने लगत कट्टा गरी दिने गरेकोमा सोअनुसार गर्नु पर्दैन शुरु इ.अ.को फैसलाबमोजिम लगत कायमै राख्नु भनी ऐ ………………४
सुखल मियाँकै–१।– जनकमियाँ के रु.१। तुनदुसादके रु.१। वागर मिया के रु.१। राम दयाल के रु.१। भोलासा कानु के रु.१
देहायका मानिसको डिभिजन बेञ्चको २२।३।२३।४ को फैसलाबमोजिम कैद दिन ।।१५ का दरले गरेको सो नलाग्ने हुँदा लगत कट्टा गरिदिनु भनी ऐ …………….५
तनहु चमार–१ लेखमनवरै–१ जगपनदास तमा १ हरिहर साकानु–१ व वादी राधाकिशनलाई विरगञ्ज अ.को १९।२।१८।५ को फैसलाले प्रतिवादी मिरहुसेन मौलवी २ जनाबाट रु. ५२९६।७० को दरले भराई दिने गरेको बिगोको लगत २२।३।२३।४ को डिभिजन बेञ्चको फैसलाले कट्टा गरिदिने गरेकोमा सोअनुसार गर्नु पर्दैन शुरु फैसलाबमोजिम लगत कायममै राख्नु भनी पर्सा जि.अ.मा लेखी पठाउने ऐ………………६
डिभिजन बेञ्चको २२।३।२३।४ को फैसलाले विरगञ्ज इ.अ.का.न्या. जहानसिंहको र विरगञ्ज जि.अ.का न्या. तेजप्रसाद धितालको इन्साफ केही उल्टीको रेकर्ड राख्ने गरेकोमा सो रेकर्ड राख्नु पर्देन भनी सर्वोच्च अदालत जनरल विभागमा लेखी पठाइ दिनु …………………..७
नियमबमोजिम मिसिल बुझाई दिनु …………………..८
इति सम्वत् २०२५ साल भाद्र ८ गते रोज ६ शुभम् ।