निर्णय नं. ४१३२ – जालसाजी
निर्णय नं. ४१३२ ने.का.प. २०४७ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको...
निर्णय नं. ४१३२ ने.का.प. २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४६ सालको फौ.पु.नं. ४८५
फैसला भएको मिति : २०४७।३।२७।४ मा
पुनरावेदक/वादी : गुल्मी जिल्ला तम्घास गा.पं. वा.नं. १ बस्ने लेखनाथ पौडेलको मु.स. गर्ने हेमकला पाण्डे
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. वा.नं. ८ बस्ने जगतबहादुर श्रेष्ठसमेत
मुद्दा : जालसाजी
(१) दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तिले दर्ता नभए पनि त्यस्तो जग्गामा दाताबाट खरीद गर्ने वादी पुनरावेदकको पतिको हक नपुगेको भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना
अवलम्बित नजीर : ने.का.प. २०२४, पृ. ११३, नि.नं. ३७९ दयाराम पाध्याय वि. खडे दमाई भन्ने भक्ते दमाई भएको जग्गा बाली बिगो मुद्दामा फुलबेञ्चबाट प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ :–
२. विपक्षी मध्ये मेघबहादुरले आफ्नो ढागीथुम जग्गा श्री सबुजगुल्म गुल्मीलाई दिई सो को सट्टापाएको साखिने भन्ने पर्ति जग्गामा बोर्डको निर्णय बमोजिम मेघबहादुरले घर गोठ बनाई बसी भोगी आएको सो जग्गा दर्ता सम्बन्धमा मेघबहादुरको छोरा मिनबहादुरले निवेदन दिई मालमा कारवाही चल्दैछ, नम्बरी भएको छैन । उक्त जग्गा मध्ये पश्चिम उत्तर किल्लातर्फ पूर्व मेघबहादुरको घर पछाडीको कान्लो ढुंगो समेतका ४ किल्ला भित्रको साखिने भन्ने जग्गा ०२४।११।१७ मा दिनानाथले मेघबहादुरबाट हदमुनिको राजीनामा लिई भोगी आएका निज दिनानाथका जग्गा देखि पूर्व पट्टिको पूर्व सल्लेरी जाने तेर्सो बाटो समेतका ४ किल्ला भित्रको जग्गा मेघबहादुर दिने सकुन्द्रराज, जगतबहादुर साक्षी बस्ने गरी ०२४।११।१७ मा रु. ९९।– मा राजीनामा लिई भोग चलन गरी आएको पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम दिनानाथको जग्गा, उत्तर म लेखनाथको जग्गा, दक्षिण ठाडो बाटो यी ४ किल्ला भित्रमा घर, गोठ बनाई मेघबहादुरले भोगी आएका छन् । जगतबहादुरको वारतोस तेर्सो बाटो देखि पश्चिम पट्टिको जग्गाको नाताले दिनानाथले घरसारमा लिएको राजीनामा पाको गराउन मेरो उक्त राजीनामा बमोजिमको पूरै जग्गा किल्ला भित्र पारी पूर्व लेखनाथको जग्गा भन्नु पर्नेमा पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम मेरै आठो उत्तर दिनानाथको साँध, दक्षिण ठाडो बाटो यति ४ किल्ला भित्रको तिरो रु. ।६४ मध्ये ।४ को साखिने भन्ने पाखो जग्गा भनी ०३३।१२।१५ को मिति पारी जगतबहादुर दिने, मिनबहादुर लिने मु.नारायण प्रसाद, सुकुन्दराज फटके साक्षी र प्रेमनारायण लेखक साक्षी भई रु. ९६।– को बेदामी अंक देखाई ०३६।१।२३ मा खडा गरी जगतबहादुर श्रेष्ठसंगबाट हदमुनिको राजीनामा लिई मेरो हक भएको भनी पूर्व सल्लेरी जाने तेर्सो बाटो, पश्चिम धनिकै ढिक आँठो, उत्तर प्रतिनिधिकै आँठो ठाडो बाटो यति ४ किल्ला भित्रको साखिने भन्ने पाखो जग्गा राजीनामा दिएँ भनी मु.नारायण प्रसादले ०३५ सालको तिरो बुझेको रसिद जालसाजी खडा गरी रु. ८०००।– मूल्य राखी ०३६।१।२३ मा दिनानाथ लिने मेघबहादुर, चन्द्रकुमारी फड्के साक्षी हुने, पूर्णलाल लेख्ने गरी जालसाजी राजीनामा खडा गरी जगतबहादुर, सुकुन्दराज सनाखत साक्षी बसी ऐ. २४ गते गुल्मी मालमा गई पास गरेको ०३६।३।२८ गते नक्कल सारी लिंदा थाहा पाएकोले कीर्ते कागजको १० नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत फिराद दावी ।
३. विपक्षीले मेघबहादुरबाट राजीनामा गरी लिएको भनी दावी गरेको जग्गा ०६ सालको १० वर्षे लगत नं. २ मा म मुखिया नारायणप्रसाद जिम्माको लगतमा म नारानप्रसाद कै नाउँमा तिरो रु. १।, ३२।२ दर्ता भई म नारानप्रसाद र म जगतबहादुर अंशियार छुट्टी भिन्न हुँदा रु. ।७०।१ को पूर्व साविकमा निकास चौर तोसवार हाल निर्माण गरेको सल्लेरी जाने बाटो पश्चिम म नारानप्रसाद र लालबहादुरको अंश जग्गा, उत्तर म नारानप्रसाद र म शुभाखर समेतको आँठो दक्षिण मूल बाटो यति ४ किल्ला भित्रको भुजेलखर्क तल्लाखर्क साखिने भन्ने पाखो जग्गा म जगतबहादुरको अंश भागमा परी तिरो रकम चलाई भु.सु. फाराम भरी भोगी आएको जग्गा मध्ये रु. ।१२।२ को जग्गा रेसुंगा प्राथमिक विद्यालयलाई म जगतबहादुरले बक्स दिई सो विद्यालयबाट ०२५।११।१७ मा प्रतिवादी मध्ये प्रेमनारायणले राजीनामा पास लिई म प्रेमनारायणबाट रु. ।२ तिरोको जग्गा रुबिना पाध्यानीले र सो बाहेकको प्र.मध्येका दिनानाथले ०३३।१२।१ मा राजीनामा पास लिई रु. ।२ तिरोको जग्गा म जगतबहादुरले म दिनानाथलाई ०३३।११।१ मा रु. ९५।– को राजीनामा दिई लिई म दिनानाथले भोगी आएको सो जग्गा देखि पूर्वतर्फको हाल विपक्षले दावी लिएको रु. ।४ तिरोको जग्गा प्र.मध्येका मिनबहादुरले जगतबहादुरबाट ०३३।१२।१५ मा रु. ९६।– को राजीनामा गरी भोगी आएको जग्गा मध्ये रु. ।२ तिरोको जग्गा रु. ८,०००।– मा म मिनबहादुरले दिने दिनानाथले लिने, म मेघबहादुर, म चन्द्री फडके साक्षी, म पूर्णलाल लेखक भई ०३६।१।२३ गते घरसारमा राजीनामा गरी ऐ. २४ गते हामी जगतबहादुर, सुकुन्दराज सनाखत साक्षी रही पास भएको साँचो सत्य व्यवहार हो । सो राजीनामाका दक्षिण किल्ला तर्फ रु. ।२ तिरोको जग्गा म मिनबहादुर चन्द्री, मेघबहादुरले घरवास गरी भोगी आएका छौं । म मेघबहादुरले सट्टा पाएको जग्गा सल्लेरी जाने बाटो देखि पूर्व पट्टि छुट्टै छ भन्ने समेत प्रतिउत्तर जिकिर ।
४. प्रतिवादीहरु मिली झुठ्ठा व्यहोरा लेखी लिनु दिनु गरेका वादी दावी बमोजिमका दुवै राजीनामाहरु जालसाजबाट लिनु दिनु गरेको ठहर्छ भन्ने समेत शुरु गुल्मी जिल्ला अदालतको फैसला ।
५. शुरु फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.दिनानाथ र जगतबहादुरको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
६. वादीले ०२४ सालमै प्र.मेघबहादुरबाट राजीनामा लिई भोग गरेको वादीको जग्गालाई निजको हक मेटाउन प्रतिवादीहरु मिली जालसाजी राजीनामा खडा गरेको देखिँदा जालसाज ठहर्याएको शुरु इन्साफ मनासिब ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको ०४२।५।२३ को फैसला ।
७. लु.अं.अ. को फैसला त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत दिनानाथ पाण्डेको प.क्षे.अ. मा परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरेको छ भन्ने समेत व्यहोराको ०४२।१२।७ को प.क्षे.अ. को आदेश ।
८. यसमा सट्टा भर्ना पाएको जग्गा दर्ता गर्ने कारवाही सम्म भएको, तर सो कारवाहीको टुंगो लागि दर्ता भई तिरो चलेको समेत नदेखिएको हुँदा वादीलाई जग्गा दिने दाता मेघबहादुरकै हक स्वामित्व भई नसक्दै ०२४।१०।१७ मा गरिदिएको राजीनामाबाट वादीको हक नपुग्ने हुँदा त्यस्तो व्यक्तिबाट दिएको राजीनामाको आधारमा गरिएको तहकिकात कारवाही रीतपूर्वकको भन्न नमिल्ने हुँदा अ.बं. ८२ नं. बमोजिम वादी दावी खारेज हुने ठहर्छ । प्रस्तुत मुद्दा खारेज गर्नु पर्नेमा इन्साफ गरी वादी दावी बमोजिम जालसाजी गरेको ठहराएको शुरु गुल्मी जिल्ला अदालतको इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ भन्ने प.क्षे.अ. को फैसला ।
९. प.क्षे.अ. को फैसलामा अ.बं. १८४क., १८५ र १८६ तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा पर्न आएको हेमकला पाण्डेको निवेदनपत्र ।
१०. दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तीले दर्ता नभएमा र उक्त तिरो भरो सम्बन्धमा निवेदन परी कारवाही चलिरहेको भए जग्गामा हक उजूर गर्न नपाउने भन्न नमिल्ने भनी ने.का.प. २०२४, पृष्ठ ११३, नि.नं. ३७९ मा यस अदालत फुलबेञ्चबाट प्रतिपादन भएको सिद्धान्तको विपरीत देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले सट्टापट्टा गरेको कागजपत्र छैन । मेरो पक्षको राजीनामा छ । सो जग्गामा मेघबहादुर र मेरो पक्षको भोग छ । दर्ता नहुँदैमा मेरो पक्षको लिखत निष्कृय हुने होइन । नि.नं. ३७९, ने.का.प. २०२४, दयाराम पाध्याय विरुद्ध खडे दमाईको मुद्दामा प्रतिपादित भएको सिद्धान्तबाट समेत वादी दावी खारेज गरेको मिल्दैन । अतएवं क्षेत्रीय अदालतको इन्साफ बदर भई कारवाही किनारा गर्नु भनी क्षेत्रीय अदालतमा पठाइयोस भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगानाले सट्टापट्टा भई दर्ता भएको छैन अतः बिक्री गरेको मिल्दैन । जगतबहादुरको जग्गा बेग्लै हो सो को रसिद मु.नारायणबाट लिएको हो । मेघबहादुरको नाउँमा जग्गा दर्ता नै नभएकोले क्षेत्रीय अदालतको इन्साफ सदर होस भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
१२. प्रस्तुत मुद्दामा प.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा पुनरावेदक वादीका पति लेखनाथ पाण्डेले मेघबहादुरबाट कानुन बमोजिम जग्गा खरीद गरेको पाइन्छ । पुनरावेदक वादीको पति लेखनाथले खरीद गरेको जग्गा मेघबहादुरले भोगी आएको पनि देखिन्छ । सट्टापट्टा भएपछि जग्गा दर्ता गर्ने र तिरो चलाउनेतर्फ माल कार्यालयमा कारवाही भइरहेको अवस्थामा मेघबहादुरले त्यस्तो जग्गा मध्ये केही जग्गा यो वादीको पति लेखनाथलाई बिक्री गरेको पाइन्छ । दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तिले दर्ता नभए पनि त्यस्तो जग्गामा दाता मेघबहादुरबाट खरीद गर्ने वादी पुनरावेदकको पति लेखनाथको हक नपुगेको भन्न मिल्दैन । यस्तै कुरालाई लिएर ने.का.प., २०२४, पृ. ११३, नि.नं. ३७९ दयाराम पाध्याय विरुद्ध खडे दमाई भन्ने भक्ते दमाई भएको जग्गा बाली बिगो मुद्दामा फुलबेञ्चबाट समेत सिद्धान्त प्रतिपादित भएकोले अ.बं. ८२ नं. ले हक नपुग्ने भनी प.क्षे.अ. ले वादी दावी खारेज गरेको मिलेन । प.क्षे.अ. का उक्त फैसला बदर हुने ठहर्छ । अब कानुन बमोजिम कारवाही किनारा गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल प.क्षे.अ. मा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४७ साल आषाढ २७ गते रोज ४ शुभम् ।