निर्णय नं. ४१३ – मानो चामल
निर्णय नं. ४१३ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा ०२४ सालको दे.फु.नं. ७६ निवेदक ...
निर्णय नं. ४१३ ने.का.प. २०२५
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री मीनबहादुर थापा
०२४ सालको दे.फु.नं. ७६
निवेदक : खिलकुमारी बाहुनी
विरुद्ध
रेस्पोण्डेण्ट : शंकरप्रसाद उपाध्याय समेत
मुद्दा : मानो चामल
(१) ससुराले बुहारीलाई इज्जत आमदअनुसार खान लाउन दिएको भन्न नसके–लोग्ने बयान गर्न हाजिर नभइ म्याद गुजारी बसे बाबु ससुरासँग छोरा लोग्नेले अंश लिई भिन्न बसेको कानून अनुसार रीतपूर्वकको बण्डापत्र लिखत प्रमाण दिन नसके पहिले बुहारीलाई कुटपीट गरेको ठहर्याई फैसला भईसकेकोबाट सासु ससुराले बुहारीलाई निकाला नगरेको भन्न मिल्ने अभावमा–बुहारीले लोग्ने स्वास्नीको ४ नं. बमोजिम एकाघरको बाबु (ससुरा) छोरा (लोग्ने) दुवैबाट मानाचामल भरी पाउने ।
निज वादी खिलकुमारीलाई इज्जत आमदअनुसार खान लाउन दिई राखेको भन्न समेत प्रतिवादी ससुरा शंकरप्रसादले नसकेका र लोग्ने माधवप्रसादका हकमा प्रतिवादी बयान गर्न हाजिर नभई म्याद गुजारी बसेको समेत हुँदा यस स्थितिमा वादी खिलकुमारीले मानाचामल भरी पाउनै पर्ने देखिन आयो ।
(प्रकरण नं. १३)
छुट्टि भिन्न भएको कानूनबमोजिम रीतपूर्वक बण्डापत्र लिखत प्रमाण दिन नसकेकोले सो अभावमा निज शंकरप्रसादको उक्त जिकीर कायम मान्न मिलेन । निज प्रतिवादी शंकरप्रसादले बुहारी वादी खिलकुमारीलाई खान लाउन समेत दिनु नपरोस भन्ने नियत गरिएको घरको छोरा माधवप्रसादलाई छुट्टि भिन्न भएको भन्ने समेत जिकीर लिई पन्छाउन खोजी राखेको र माधवप्रसाद निजकि आमा स्वास्नी समेत भई १८ साल आषाढ १७ गते कुटपिट गरेको भन्ने समेत कुरामा पहिले परेको मुद्दामा वादीलाई कुटपिट गरेकै ठहरी फैसला भैसकेको समेत हुँदा सासु ससुराले निकाला नगरेको भन्न मिल्ने अवस्था नदेखिएकोले लोग्ने स्वास्नीको ४ नं. बमोजिम प्रतिवादी ससुरा शंकरप्रसाद र लोग्ने माधवप्रसाद एकाघरको बाबु छोरा दुवै जनाबाट वादीले मानाचामल भरी पाउने प्रष्ट हुन्छ ।
(प्रकरण नं. १४)
(२) वादीको दावा बढी भयो भनी प्रतिवादी बयानमा कुनै जिकीर लिन नसके, म्यादमा हाजिर नभई वादी दावीमा चित्त बुझाई बसे त्यसतर्फ विचार गर्न नपर्ने ।
महिना १ को रु. १००। का दरले दावी गरेको बढी भयो भन्ने समेत पहिले आफ्नो प्रतिवादी बयानमा कुनै जिकीर लिन नसकेका र प्रतिवादी माधवप्रसादका हकमा म्यादमा हिाजिरै नभई वादी दावीमा चित्त बुझाई बसेको समेत हुनाले अब त्यसतर्फ अरु विचार गरी रहनु परेन ।
(प्रकरण नं. १५)
(३) लोग्ने स्वास्नीको ६ नं.–भए गरेको मितिले १ वर्ष भित्र नालेस गर्नुपर्ने–ऐनको हदम्याद नाघी सकेको दिनदेखि नालेस पर्नु १ वर्ष अगाडीसम्मको मानाचामल भराउन नमिल्ने–नालेस पर्नु १ वर्ष अगाडी देखि नालेस परेको दिन तक वर्ष १ को भरी पाउने देखिन ।
०१६ साल जेष्ठ १ गते देखिकै भराई पाउँ भन्ने दावीको प्रस्तुत उजुर ०१२।५।२३ मा मात्र दायर भएको देखिएको र लोग्ने स्वास्नीको ६ नं. मा भए गरेको मितिले १ वर्ष भित्र नालेस दिनुपर्ने व्यवस्था भएकाले ०१५ साल जेष्ठ १ गते देखि २१ साल भाद्र २३ गते तकको हकमा उक्त ऐनको हदम्याद १ वर्ष भित्रको वादीको उजुर देखिन आएन । पहिले जबरजस्ती करणी मुद्दा चलेको भए पनि त्यस्तो मुद्दा चलेकोमा अन्तिम फैसला भएको मितिले हदम्यादको गणना हुन उक्त लोग्ने स्वास्नीको ६ नं. ऐनमा व्यवस्था नभएको समेत हुनाले उक्त ऐनका हदम्याद नाघी सकेको ०१६ साल जेष्ठ १ गते देखि ०२१ साल भाद्र २३ गते तकको हकमा भराउन नमिल्ने हुँदा २१ साल भाद्र २४ गते देखि २२ साल भाद्र २३ गते तक वर्ष १ को सम्म वादीले भरी पाउने देखिन्छ ।
(प्रकरण नं. १६)
वादी तर्फबाट : अधिवक्ता श्री सुधानाथ पन्त
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री वेदप्रसाद धिताल
फैसला
१. विपक्षीसँग ठगी १ कुटपीट १ जबरजस्ती करणी १ समेतका मुद्दाहरू १७ ।१८ सालदेखि चल्दै आएकोमा फुल बेञ्चबाट ठगीको फैसलाको हकमा लोग्ने स्वास्नीको ६ नं. ऐन लगाई खारेज गर्ने जबरजस्ती करणी मुद्दातर्फ नालेस दिनु जानु भनी सुनाई दिने फैसला भयो । स्वास्नी बनाई सके पनि जवरजस्ती भन्ने शब्द कहाँबाट उठ्छ ? त्यसकारण मेरो अन्तिम निर्णय भैसकेकोले विपक्षी मध्ये मेरो लोग्ने हुने अदालतले बनाई दिएको माधवप्रसाद र निजको बाबु शंकरप्रसाद समेत सगोल भई बसेको भन्ने अपीलको म्याद बुझेकोबाट देखिएको हुँदा १६ साल देखि महिनाको रु. १००। का दरले वर्ष एकको रु. १२०० ले १६ सालदेखि आजसम्मको मलाई मानाचामल विपक्षीहरूबाट भराई पाउँ । कोर्टफी राखी नालेस गर्नसक्ने मेरो साँवागास समेत नहुनाले हाल पक्राउ नगरी सर्वोच्च अदालतबाटै मानाचामल भराई दिने भन्ने आदेश पाउँ भन्ने समेत खिलकुमारीको निवेदनमा व्यहोरा साँचो भए लाग्ने कोर्टफीमा मुद्दा ऐनबमोजिम किनारा हुँदा पछि लिने गरी हाल पक्राउ नगरी ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने सर्वोच्च अदालत सिगलबेञ्चबाट ०२२।५।१८।६ मा आदेश भएको ।
२. अन्यायीका शंकरप्रसाद बाबु माधवप्रसाद छोरा हुन । तिनीहरूको सगोलको सम्पतिबाट मेरो निवेदनबमोजिम ०१६ साल जेष्ठ १ गतेदेखि आजसम्म र अब उप्रान्त पनि महिना महिनामा महिनाको रु.१००। का दरले १६।२।१ देखि आजसम्मको एक मुष्ट दिलाई भरपाई पाउँ र अब उप्रान्तलाई महिनाको रु. १००। का दरले दिने दिलाउने निर्णय गरी पाउँ महिनाभरीलाई चामल, दाल, नून, घ्यू, तेल, जिरा, मरीच समेत चाहिने सामान र डेरा बहाल लुगा कपडा समेतलाई रु. १००। दावा गरेको हुँ । अब समयले बढी लाग्ने भयो भने अब उप्रान्तको खर्चमा लाग्ने जति दावा गर्नेछु । यस अघि ऋण कर्जा गरी खाई रहेको हुँदा सोबमोजिम ऋण खान लाउन वापत लागेको हुनाले सो ऋण तिर्न महिनाको रु. १०० का दरले दावा गरेको हु भन्ने समेत खिलकुमारीको बयान ।
३. मेरो छोरा माधवप्रसाद, केशवप्रसाद, अचुतप्रसाद र बाबु कृष्ण समेत ४ मा जेठो माधवप्रसाद ०१६ साल आषाढमा साईंलो अचुतप्रसाद ०१७ साल अषाढमा बण्डापत्र कायम नगरी ४ छोरा र मेरी श्रीमती ठाकुरकुमारी समेत ६ अंशियारको ६ बण्डा गरी चल अचल बण्डा लिई भिन्न भई जेठी छोरा र साईलो छोरा भिन्न बसेको छन । वादीलाई मैले मानाचामल दिनुपर्ने होइन भन्ने समेत शंकरप्रसाद उपाध्यायको ०२२।६।२७।४ को बयान ।
४. प्रतिवादी माधवप्रसादले म्याद गुजारी बसेको ।
५. शंकरप्रसाद माधवप्रसादहरू भिन्न भएको रीत पुगेको बण्डापत्र छ भन्ने प्रमाण दिन शंकरप्रसादले नसकेको । कागजपत्र केही नगरी ०१७ सालमा भिन्न भएको भन्ने लेखाई रजिष्ट्रेशनको १ नं ले प्रमाणित मानी अंशबण्डा भएको मान्न नमिल्ने । खिलकुमारी माधवप्रसादको मुद्दा पर्दै आखिर ०२२।३।१५ मा फैसला भई लोग्ने स्वास्नीको ६ नं. बमोजिम १ वर्ष भित्र ०२२ साल भाद्रमा उजुरी दायर गरेको देखिएको । वादीलाई हामीले खान लाउन दिएकै हो भन्ने र अब पनि दिन्छु भनी प्र.शंकरप्रसादको लेखाई नदेखिएकोले यी वादी र माधवप्रसाद समेतको अघिदेखि मुद्दा परी रहेको देखिएको । ससुराले खान लाउन दिए दिनामा स्वीकार गरेको नदेखिँदा ०१६।१।२ देखि ०२२।५।२३ तकको महिनाको रु. मानाचामल वापत प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने का.जि.अ.को ०२३।४।१९।४ को फैसला ।
६. ०१७ सालमा कुटपीट समेत गरी निकला गरे भनेपछि सोही मितिले १ वर्ष भित्र नालेस गर्न सक्नुपर्ने र म अलग बसेको बाबुले मानाचामल दिनु नपर्ने समेत हुँदा इन्साफ चित्त बुझेन भन्ने समेत प्रतिवादी शंकरप्रसादको पुनरावेदन ।
७. माधवप्रसाद र निजको आमा स्वास्नी भाइ समेत मिलि बराबर कुटपीट सास्ती सासना गरेको कुटपिट मुद्दाहरूका छिनुवा मिसिलबाट देखिएकोले वादीलाई खान लाउन बन्दोबस्त आजसम्म केही भए गरेको नदेखिएको । प्रतिवादी माधवप्रसाद वादी दावीमा सावित भई बसेको । रीतपूर्वक बण्डापत्र छ भन्न शंकरप्रसादले नसकेकोले अंशबण्डा भएको मान्न नमिल्ने जवरजस्ती करणी मुद्दामा प्र.माधवप्रसादका नाउँमा जारी भएको अपीलको म्याद ०१९।११।२० मा तामेल भएको । म्यादको पिठमा निज माधवप्रसादको एकाघरसँगको बाबु शंकरप्रसादले आफ्नै हस्ताक्षरले सही गरी अपीलको म्याद बुझेबाट सगोलमै रहे बसेको प्रमाणित हुन आएको । ०१६ साल देखि स्वास्नी राखी खान लाउनको बन्दोबस्त नगरी मुद्दा गर्न लगाई दुःख दिएको भएपछि त्यस्तोमा मानाचामलमा दावी गरी लिन पाउँदैन भन्न नमिल्ने हुँदा शुरुबाट वादी दावीअनुसार वादीले मानाचामल प्रतिवादीहरूबाट पाउने ठहराएको इन्साफ शुरुको मुनासिव छ भन्ने वाग्मती अञ्चल अदालतको ०२३।१०।१८।३ को फैसला ।
८. लोग्ने स्वास्नीको ५ नं. ले एक बर्ष भित्र नालेस गर्नपर्ने ०१६ सालदेखिको मानाचामलमा वर्षपछि ०२२ सालमा उजुर लाग्न नसक्ने र माधवप्रसादले स्वास्नी राखेकै रहेछ भने पनि बाबु आमाकोसाथमा एउटै घरमा नबसी अलग भई छुटै रहे बसेका अवस्था ल्याएका स्वास्नीले जुन लोग्ने हो उ बसेकै ठाउँमा बसी उसबाट खान लाउन पर्ने समेत हुँदा इन्साफमा चित्त बुझेन भन्ने समेत शंकरप्रसादको पुनरावेदन ।
९. आफ्नो आमद आयस्ताको फाँट लिई हाजिर हुन आउनु भनी पुनरावेदकलाई ७ दिने तारेख तोक्ने र पुनरावेदनको आमद आयस्ता के कति छ ? बाटाको म्याद बाहेक ७ दिन भित्र फाँटवारी लिई हाजिर हुनु भनी वादी खिलकुमारीको नाउँमा ७ दिने म्याद जारी गरी काम तामेल भएपछि पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०२४।२।११।५ को आदेश ।
१०. ससुरा शंकरप्रसाद समेतबाट मानाचामल भराई पाउँ भन्ने वादीको मुख्य दावी देखिएको सासु ससुरा र लोग्ने समेतसँग सगोल बसी आई रहेकोमा सासु सासुराले घरबाट निकाला गरेको भन्ने कुरा प्रमाणमा आई रहेको मिसिलहरूमा समेत कतै देखिन नआएको । लोग्ने स्वास्नीको ४ नं. ऐनमा सासु ससुराले मात्र निकाला गरेकोमा ईज्जत आमदअनुसार खान लाउन दिनुपर्छ भन्ने लेखिएको प्रस्तुत उजुरीमा सासु ससुराले निकाला गरे भन्ने कुरा लेखी दिन समेत नसकेकाले ससुरा शंकरप्रसाद समेतबाट वादी दावीबमोजिम महिनाको रु. २००। भराई दिने गरेको शुरु र वाग्मती अञ्चल अदालतको इन्साफ मिलेको देखिएन । यिनै वादीको र माधवप्रसाद समेतको जवरजस्ती करणी ठगी कुटपीट गरी मुद्दामा फुल बेञ्च लगायतबाट फैसला भईरहेको समेत प्रमाणको मिसिलबाट प्रतिवादीमा माधवप्रसादसँग ०१६ साल देखि राजीखुशीले करणी लेनदेन गरी लोग्ने स्वास्नी भईरहेको भन्ने र निज माधवप्रसाद र निजको आमा स्वास्नी भाइ समेत मिली बराबर कुटपीट सास्ती सासना गरेको भन्ने समेत देखिन आई रहेको र यो वादी खिलकुमारीलाई प्र.माधवप्रसाद तर्फबाट खाना पिनाको केही बन्दोबस्त गरी दिएको छ भनी भन्न नसकी माधवप्रसादले प्रतिउत्तरै नफिराई बसेको देखिनाले लोग्ने स्वास्नी भएपछि निज माधवप्रसादले आफ्नो आमदअनुसार खान लाउन दिनै पर्ने हुँदा वादी दावीअनुसार महिनाको रु. १००। का दरले प्रतिवादी माधवप्रसादको अंश जेथाबाट र सो नभए तलबबाट समेत वादीले भरी पाउने हुँदा इन्साफ शुरु र वाग्मती अञ्चल अदालतको समेत केही उल्टी ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२४।७।२६।१ को फैसला ।
११. सो उपर चित्त बुझेन । दोहर्याई पाउँ भन्ने वादी खिलकुमारीको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा लोग्ने स्वास्नीको ५ नं. मा सासु ससुराले मात्र निकाला गरेकोमा ईज्जत आमदअनुसार खान लाउन दिनुपर्छ भन्ने वाक्यांश परेको तर अंशबण्डाको नं. १० ले छोरा स्वास्नीलाई खान लाउन नदिइ राख्नु हुँदैन ईज्जत आमदअनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनुपर्छ भन्ने व्यवस्था गरेको प्रस्तुत केशमा सासु ससुराले निकाला गरे भन्ने नभई खान लाउन नदिएको भन्ने वादी र खान लाउन दिएको छ वा दिनेछु भन्न नसकेको प्रतिवादी हुँदा यस प्रकृतिको मामिलामा अंशबण्डाको १० नं.को व्यवस्था ठिक मिल्न आउने तर मागिएको आमद र घर परिवारको हिसाब नगरी ऐ ऐनले कहिले देखिको मानाचामल पाउने हो सो पनि प्रष्ट नखुलाई लोग्ने स्वास्नीका ४ नं.को आधारमा मासिक रु. १००। दिलाउने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिएकोले दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारीस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराज बाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको ०२४।१२।६।६ को हुकुम प्रमांगी ।
१२. बक्स भई आएका हु.प्र. बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्तो अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०२४।१२।१६।२ को आदेश ।
१३. यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०१५।२।१५।३ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र प्रतिवादी शंकरप्रसाद तर्फबाट विद्वान अधिवक्ता श्री वेदप्रसाद धितालले गर्नु भएको बहस सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेरेमा निवेदक, वादी खिलकुमारी र प्रतिवादी माधवप्रसाद ०१६ सालदेखि लोग्ने स्वास्नी भएको भन्ने कुरा निजहरूको अघि परी छिनिएको जवरजस्ती करणी ठगी लुटपीट समेत मुद्दाको प्रमाण मिसिलबाट प्रष्ट भएकै छ । निज वादी खिलकुमारीलाई ईज्जत आमदअनुसार खान लाउन दिई राखेको भन्ने समेत प्रतिवादी ससुरा शंकरप्रसादले नसकेका र लाग्ने माधवप्रसादका हकमा प्रतिवादी बयान गर्न हाजिर नभई म्याद गुजारी बसेको समेत हुँदा यस स्थितिमा वादी खिलकुमारीले मानाचामल भरी पाउनै पर्ने देखिन आयो ।
१४. छोरा माधवप्रसाद ०१६ साल आषाढमै आफ्नो अंशबण्डा लिई भिन्न भईसकेकोले मैले मानाचामल दिन नपर्ने भन्ने प्रतिवादी शंकरप्रसादको मुख्य जिकीर भएको हकमा छुट्टि भिन्न भएको कानूनबमोजिम रीतपूर्वक बण्डापत्र लिखत प्रमाण दिन नसकेकोले सो अभावमा निज शंकरप्रसादको उक्त जिकीर कायम मान्न मिलेन । निज प्रतिवादी शंकरप्रसादले बुहारी वादी खिलकुमारीलाई खान लाउन समेत दिन नपरोस भन्ने नियत गरिएकाघरको छोरा माधवप्रसादलाई छुट्टि भिन्न भएको भन्ने समेत जिकीर लिई पन्छाउन खोजी राखेको र माधवप्रसाद निजकि आमा स्वास्नी समेत भई १८ साल आषाढ १७ गते कुटपीट गरेको भन्ने समेत कुरामा पहिले परेको मुद्दामा वादीलाई कुटपीट गरेकै ठहरी फैसला भईसकेको समेत हुँदा सासु ससुराले निकाला नगरेको भन्न मिल्ने अबस्था नदेखिएकाले लोग्ने स्वास्नीको ४ नं. बमोजिम प्रतिवादी ससुरा शंकरप्रसाद र लोग्ने माधवप्रसादका घरको बाबु छोरा दुवै जनाबाट वादीले मानाचामल भरी पाउने प्रष्ट हुन्छ ।
१५. सो मानाचामल महिनाको के कतिका दरले भरी पाउने हो ? भन्नेतर्फ वादीले महिना १ को रु. १००। का दरले दावा गरेकीमा प्रतिवादी शंकरप्रसादले मैले मानाचामल दिनै नपर्ने भन्नेसम्म जिकीर लिएको । मेरो आमद आयस्ता यति छ, त्यसको हिसाबले रु. १००। भन्दा घटी यो यती मात्र पर्न आउँछ, महिना १ को रु. १००। को दरले दावी गरेको बढी भयो भन्ने समेत पहिले आफ्नो प्रतिवादी बयानमा कुनै जिकीर लिन नसकेका र प्रतिवादी माधवप्रसादका हकमा म्यादमा हाजिरै नभई वादी दावीमा चित्त बुझाई बसेको समेत हुनाले अब त्यसतर्फ अरु विचार गरी रहनु परेन ।
१६. अब वादीले कहिले देखिको भरी पाउने हो ? भन्नेतर्फ ०१६ साल जेष्ठ १ गते देखिकै भराई पाउँ भन्ने दावीको प्रस्तुत उजुर ०२२।५।२३ मा मात्र दायर भएको देखिएको र लोग्ने स्वास्नीको ६ नं. मा भए गरेको मितिले १ वर्ष भित्र नालेस दिनु पर्ने व्यवस्था भएकोले ०१५ साल जेष्ठ १ गते देखि २१ साल भाद्र २३ गते तकको हकमा उक्त ऐनको हदम्याद १ वर्ष भित्रको वादीको उजुर देखिन आएन । पहिले जवरजस्ती करणी मुद्दा चलेको भए पनि त्यस्तो मुद्दा चलेकोमा अन्तिम फैसला भएको मितिले हदम्यादको गणना हुने उक्त लोग्ने स्वास्नीको ६ नं. ऐनमा व्यवस्था नभएको समेत हुनाले उक्त ऐनका हदम्याद नाघिसकेको ०१६ साल जेष्ठ १ गते देखि ०२१ भाद्र २३ गते तकको हकमा भराउन नमिल्ने हुँदा २१ साल भाद्र २४ गते देखि २२ साल भाद्र २३ गते तक वर्ष १ को सम्म वादीले भरी पाउने देखिन्छ ।
१७. तसर्थ, उपरोक्त उल्लेखित कारणहरू समेतबाट १६ साल जेष्ठ १ गते देखि ०२१ साल भाद्र २३ गते तकको हकमा भराई पाउँ भन्ने वादीको दावी र मैले मानाचामल दिनै नपर्ने भन्ने प्रतिवादी शंकरप्रसादको जिकीर पुग्नु सक्दैन । उक्त १६ साल जेष्ठ १ गते देखि २१ साल भाद्र २३ गते तकको हकमा ऐनको हदम्याद नाघेको वादीको दावी खारेज हुने र २१ साल भाद्र २४ गते देखि २३ साल भाद्र २३ गते तक वर्ष १ को सम्म महिना १ को रु. १००। ले जम्मा रु. १२००। बाह्रसय प्रतिवादी शंकरप्रसाद माधवप्रसाद दुवैबाट वादीले भरी पाउने समेत ठहर्छ । वादी दावीबमोजिम पुरै रु. ७५७३।७१ प्रतिवादी माधवप्रसादबाट मात्र भराउने गरेको समेत २४।७।२६।१ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
देहायका प्रतिवादीहरू के का.जी.अ. को २३।४।१९।४ को फैसलाबमोजिम निजहरूसँग असुल गरीलिने गरेको शुरु कोर्टफी रु. ३५२।९४ मध्ये हाल यो फैसलाबाट भरी पाउने ठहरेको रु. १२००। बाह्रसयको कोर्टफी ऐन, ०१७ को दफा ६ बमोजिम सयकडा ५ ले हुने रु.६०। मात्र लाग्ने र बाँकी रु.२९२।९४ को हकमा वादी लेखीईबाटै हदम्याद नाघेको देखिएको उजुर खारेज हुने ठहरेको हुँदा सोहि ऐनको दफा ११ (३) को प्रतिबन्धात्मक वाक्यांशअनुसार नलाग्ने भएकाले देहायबमोजिम गर्न का.श्रे.अ.त. मा लगत दिनु का.ई.बत्तीसपुतली बस्ने शंकरप्रसाद पाध्या के उपरोक्त उल्लेख भएबमोजिम शुरु फैसलाले लाग्ने गरेको कोर्टफी रु. ३५२।९४ को दामासाहीले निजको हकमा हुने रु. १७६।४७ मध्ये हाल लाग्ने ठहरेको रु. ६०। को निजको हकमा लाग्ने आधि रु. ३०। मात्र कायम राखी बाँकी रु.१४६।७४ को हकमा निजले २३।६।२७।५ मा का.श्रे.अ.त.मा दाखेल गरेको रु.१७६।४७ मध्येबाट कानूनको रीत पूर्याई फिर्ता दिने …………………….१
ऐ बस्ने माधवप्रसाद पाध्या के रु. ३५२।९४ को ऐ रु. १७६।४७ मध्ये हाल लाग्ने ठहरेको ५०। को निजका हकमा लाग्ने आधि रु.३०। मात्र कायम राखी बाँकी रु. १४६।४७ को हकमा असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिने ……………………२
प्रतिवादी शंकरप्रसाद पाध्या के निजले शुरु उपर पुनरावेदन गर्दा २३।६।२७।५ मा वाग्मती अञ्चल अदालतमा दाखेल गरेको कोर्टफी रु. २६।४८ मध्ये निजको हकमा शुरु कोर्टफी रु.३०। को सयकडा १५ ले हुने रु. ४।५० मात्र लाग्ने र बाँकी रु. २१।९८ को हकमा नलाग्ने हुँदा कानूनको रीत पूर्याई फिर्ता दिनु भनी ऐ…३
ऐ ऐ के निजले सर्वोच्च अदालतमा पुनरावेदन गर्दा २५।१।३।१ मा दाखेल गरेको कोर्टफी रु. २६।४८ मध्ये निजको हकमा शुरु कोर्टफी रु. ३० को सयकडा १५ ले हुने रु.४।५० मात्र लाग्ने र बाँकी रु. २१।९८ लाग्ने हुँदा ऐ ऐ……..४
वादी खिलकुमारी के मुद्दा दोहर्याएमा शुरु कोर्टफी रु. ६०। को कोर्टफी ऐन दफा १९ (२) बमोजिम सयकडा १० ले रु. ६। कोर्टफी लाग्नेमा २४।१२।३०।६ मा रु. १। मात्र निज वादीसँग असुल गरी लिएको देखिँदा बाँकी नपुग रु. ५। को हकमा रुजुरहेको प्रतिवादी शंकरप्रसाद पाध्याबाट असुल गरी का.श्रे.अ.त.मा लगत दिनु ..५
वादी खिलकुमारी बाहुनी के शुरु का.जी.अ.को २३।४।१९।४ को फैसलाबमोजिम प्रतिवादी शंकरप्रसाद पाध्या, माधवप्रसाद पाध्याबाट भराई दिने गरेको बिगो रु.७५७३।३१ को हकमा डिभिजन बेञ्चको २४।७।२६।१ को फैसलाले प्रतिवादी माधवप्रसादबाट मात्र भरी पाउने ठहर गरी शंकरप्रसाद नाउँ काटी माधवप्रसादको मात्र नाउँ कायम राख्नु भनी डिभिजन बेञ्चको उक्त फैसलाबमोजिम २४।८।७।५ मा लगत दिएकोमा सोअनुसार गर्नु पर्दैन का.जी.अ. को २३।४।१९।४ को फैसलाले भराइ दिने गरेको बिगो रु. ७५७३।३१ पूरै कलमको लगत काटी दिनु । हाल यो फैसलाले भरी पाउने ठहरेको बिगो रु.१२००। बाह्रसयको हकमा प्रतिवादी शंकरप्रसाद, माधवप्रसाद दुवै जनाबाट बराबरका दरले भराई पाउँ भनी दण्ड सजायको ४२ नं. को म्याद ३ वर्ष भित्र वादीको दर्खास्त परेमा कोर्टफी ऐन, ०१७ को दफा १३ बमोजिम सयकडा २।। का दरले दस्तुर लिई भराई दिनु ऐ………………….६
वादी खिलकुमारी के निजले मुद्दा दोहर्याउदा २४।१२।३०।६ मा सर्वोच्च अदालतमा दाखेल गरेको कोर्टफी रु. १। कोर्टफी ऐन, ०१७ को दफा १९ (३) र दफा १९ (३) दफा १८ (४) बमोजिम प्रतिवादी शंकरप्रसाद पाध्याबाट भराई पाउँ भनी सोहि ऐनको दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तूर केही नलिई भराई दिनु भनी ऐ………………………..७
नियमबमोजिम मिसिल बुझाई दिनु …………………….८
इति सम्वत् २०२५ साल जेष्ठ २५ गते रोज ६ शुभम् ।