July 15, 1990
Created by nepalarchives

निर्णय नं. ४०९५ – लिखत बदर

निर्णय नं. ४०९५    ने.का.प. २०४७      अङ्क ३   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.विविध...

निर्णय नं. ४०९५    ने.का.प. २०४७      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४५ सालको दे.विविध नं. ४६

फैसला भएको मिति : २०४७।३।३१।१ मा

निवेदक/वादी : जि.काभ्रेपलाञ्चोक पाँचखाल गा.पं. वा.नं.५ बस्ने युद्धकुमारी गिरीसमेत

विरुद्ध

प्रतिवादी : ऐ.ऐ. बस्ने देवराज गिरीसमेत

मुद्दा : लिखत बदर

(१)    आफ्ना पालामा आर्जेको सम्पत्ति व्यवहार चलाउन आफू खुस गर्न पाउने हो तर विवादित जग्गा हालैको बकसपत्र पारित गरी हक छाडेको देखिँदा यस्तो अवस्थामा निजले सो सम्पत्ति व्यवहार चलाउन आफू खूस गरेको भन्न मान्न कानुन र न्यायसंगत हुँदैन ।

(प्रकरण नं. १४)

निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णु राउत

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर गरेको बिन्तिपत्रमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यस प्रकार छ ।

२.    हामी समेतको हक लाग्ने कि.नं. ३९१ को ७०३४ को जग्गा पिता पति देवराज दिने सावित्री, लिलामाया लिने गरी ०४०।१।२१ मा रु. ५०००। मा हा.व. पारित गरेको हामी मन्जूरी बेगर पारित भएको उक्त लिखत लेनदेन व्यवहारको १० नं. बमोजिम बदर गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त फिराद दावी ।

३.    वादी दावीको जग्गा भविराज गिरी र एकराज भारतीले धनलक्ष्मीबाट ०३५ साल देखि कमाई आएका छन । देवराजले धनलक्ष्मीबाट रु. २०००।मा ०३९।११।२९ मा राजीनामा गरी देवराजको एकलौटी हक हुन आएको जग्गा पैत्रिक सम्पत्ति होइन । झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको सावित्री गिरी लिलामायाको संयुक्त प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी देवराज घरको कारणी देखिएको, निजले बकसपत्र लेखी दिएको जग्गा अंश बण्डाको १९ नं. ले आधीसम्म आफू खूस गर्न पाउने भएकोले, विवादित जग्गाको ५ भागको ४ भाग बकसपत्रको लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको जिल्ला अदालतको फैसला ।

५.    वादी दावी अनुसार सम्पूर्ण लिखतको ५ भागको ४ भाग लिखत बदर गर्नु पर्नेमा आधाको ५ भागको ४ भाग मात्र बदर गर्ने गरेको जिल्ला अदालतको फैसला त्रुटिपूर्ण छ । वादी दावी अनुसार लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादीको र विवादित लिखतको जग्गा देवराजको एकलौटी हकको हुँदा लिखत बदर हुन पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी तर्फबाट बा.अं.अ. समक्ष परेको पृथक पुनरावेदन ।

६.    लिखत मध्ये आधाको ५ भागको ४ भाग बदर गर्ने गरेको शुरुको इन्साफ बदर भई दावी नपुग्ने ठहर्छ, भन्ने समेत व्यहोराको बा.अं.अ. को फैसला ।

७.    विवादित जग्गा देवराजको निजी आर्जनको नहुँदा वादी दावी बमोजिम लिखत बदर हुनु पर्नेमा दावी नै नपुग्ने ठहराएको अञ्चल अदालतको अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको निवेदन ।

८.    न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अनुसार बा.अं.अ. को फैसला उपर पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको आदेश ।

९.    विवादित लिखतमा उल्लेखित जग्गा देवराजले धनलक्ष्मीबाट ०३७।११।१९ मा खरीद गरेकोमा विवाद नदेखिएको, वादीहरु प्रतिवादीको एकासगोलका स्वास्नी छोराहरु देखिएको, उक्त जग्गा देवराजले पैत्रिक सम्पत्तिबाट बढे बढाएको देखिन नआई आफ्ना पालामा नै आर्जेको देखिँदा त्यस्तो सम्पत्ति देवराजले आफ्नो खुस गर्न पाउने नै भएकोले वादी दावी नपुग्ने ठहराएको अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन, भन्ने समेत व्यहोराको क्षेत्रीय अदालतको फैसला ।

१०.    मध्यमाञ्चल क्षेत्रीय अदालतको कानुन त्रुटिपूर्ण फैसला एकपटक इन्साफ जाँच गरिदिनु भनी हुकुम प्रमांगी बक्स पाउन, वादी पक्षबाट चढाएको बिन्तिपत्र भई क्षेत्रीय अदालतले दिनेको बिन्तिपत्रमा लेखिएको लिखत बदर भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्स भई आएको प्रस्तुत मुद्दामा, प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश रहेछ ।

११.    नियम बमोजिम पेश हुन आएकोमा निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहाल र प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री विष्णु राउतले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१२.   मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ न्यायसंगत छ छैन हेरी निर्णय दिन पर्ने हुन आयो ।

१३.   निर्णयतर्फ हेर्दा यसमा प्रतिवादी देवराज गिरी वादीको पिता पति नाताको देखिएकोले निजहरु छुट्टी भिन्न भई बसेको भन्ने कुरा खुल्न नआएको, विवादित लिखतमा उल्लेखित कि.नं. ३९१ को जग्गा देवराजले धनलक्ष्मीबाट ०३९।११।२९ मा राजीनामा पारित गराई लिएको देखिन्छ ।

१४.   देवराज परिवारको मुख्य व्यक्तिको रुपमा रहेको कुरामा विवाद देखिँदैन । उक्त कि.नं. ३९१ जग्गा निज देवराजले प्रतिवादी सावित्री गिरी र लिलामायालाई मिति ०४०।१।२१ मा हालैदेखिको बकसपत्र पारित गरी हक हस्तान्तरण गरी दिएको देखिन्छ । सोही लिखत बदर गरी पाउँ भन्ने वादी दावी रहेको पाइन्छ । देवराजको आफ्ना पालामा आर्जेको विवादित जग्गा आफ्नो खुस गर्न पाउने जग्गा हो, परिवारको अन्य सदस्यको मन्जूरी लिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर रहेको देखिन्छ । लिखतमा उल्लेखित जग्गा अंशबण्डाको १८ नं. मा व्यवस्था गरिए बमोजिम देवराजको निजी आर्जनको हो भन्ने कुरा खुल्न नआएको, फ्ना पालामा आर्जेको सम्पत्ति व्यवहार चलाउन आफूखुश गर्न पाउने हो । तर विवादित जग्गा देवराजले हालैको बकसपत्र पारित गरी हक छाडेको देखिँदा, यस्तो अवस्थामा निजले सो सम्पत्ति व्यवहार चलाउन आफूखुस गरेको भन्न मान्न कानुन न्यायसंगत हुँदैन । अतः विवादित लिखतमा उल्लेखित जग्गा देवराजले मिति ०४०।१।२१ मा सावित्री गिरी समेतलाई हालैदेखिको बकसपत्रद्वारा हक छाडी दिएको अवस्थामा व्यवहार चलाउन आफूखुस गरेको भन्ने कानुनसंगत नहुँदा वादी दावी बमोजिम सम्पूर्ण लिखतको ५ खण्डको ४ खण्ड लिखत बदर हुनु पर्नेमा वादी दावी नै नपुग्ने ठहराएको क्षेत्रीय अदालत समेतको इन्साफ त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

निवेदक वादी देवेन्द्रराज समेत के इन्साफ खण्डमा लेखिए बमोजिम लिखतमा उल्लेखित जग्गाको ५ खण्डको ४ खण्ड लिखत बदर हुने ठहराएकोले सो बमोजिम गरी पाउँ भनी म्यादभित्र वादीको दरखास्त परेमा, वादीका नाउँमा दर्ता गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाई दिनु, लगत दिनु, भनी का.जि.अ.मा लेखी पठाउनु…१, निवेदक वादी के इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी बमोजिम लिखत बदर हुने ठहरेकाले शुरुमा फिराद दायर गर्दा राखेको कोर्टफी रु. २०।अञ्चल अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ३।र क्षेत्रीय अदालतमा राखेको रु. १।५० समेत जम्मा रु. २४।५० प्रतिवादीबाट वादीले भरी पाउने हुँदा कानुन बमोजिम गर्नु गराउनु भनी का.जि.अ. मार्फत लगत दिनु । मिसिल नियमानुसार बुझाई दिनु…३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४७ साल आषाढ ३१ गते रोज १ शुभम् ।