निर्णय नं. ४०६ – कोठा खिचोला
निर्णय नं. ४०६ ने.का.प. २०२५ फुल बेञ्च का.मु. न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री कालीप्रसाद उपाध्याय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. न्यायाधीश...
निर्णय नं. ४०६ ने.का.प. २०२५
फुल बेञ्च
का.मु. न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
न्यायाधीश श्री कालीप्रसाद उपाध्याय
न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
न्यायाधीश श्री राजा ईश्वरी जङ्गबहादुर सिंह
०२४ सालको दे.फु.नं. ३८१
निवेदक : कटकबहादुर प्रधान
विरुद्ध
विपक्षी : गोपालबहादुर प्रधान
मुद्दा : कोठा खिचोला
१. अंशबण्डाको ३७ नं.मुताविक मानु नछुट्टि सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋणमा सबै अंशियारहरूको भाग लाग्ने ।
तत्काल प्रचलित अंशबण्डाको ३७ नं. मा मान्नु नछुट्टि सँगैबसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने व्यवस्था भैराखेको समेत देखिएकाले मानु छुट्टिएको कायम मिति ०५ साल आषाढ १७ गते भन्दा अगावै ०५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सो कोठा समेतमा उक्त ऐनबमोजिम सगोलका अंशियार वादी प्रतिवादी दुवै भाइको बराबर भाग लाग्ने देखिन आएको छ।
(प्रकरण नं. ११)
वादी तर्फबाट : प्लीडर श्री इच्छाहर्ष बज्राचार्य
प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद पन्त
फैसला
१. आमा रत्नकुमारीले आफ्नो शेष पछि खान पाउने गरी ०५।१।१७ मा मलाई बक्सपत्र पास गरी दिनु भए पछि ऐ २२ गते परलोक हुनु भएकोले सो बक्सपत्रबाट मेरो हक भएको घरको मोल रु. ५२। मोलिने कोठामा प्रतिवादीले ताल्चा लगाई छाडी नदिई खिचोला गरेकाले सो खिचोला मेटाई पाउँ भन्ने समेत वादी ।
२. वादी दावीको घर मेरो आर्जनबाट आमा रत्नकुमारीको नाउँमा खरिद भएको हुनाले कोठामा ताल्चा लगाएको हुँ । आमा वृद्ध रोगले असाध्य बेहोस हुनु भई ०५।१।२१ गते घाट लगी ऐ २२ गते परलोक हुनु भएको । रजिष्ट्रेशनको कारिन्दा सनाखत गर्ने साक्षीलाई दिनु खुवाउनु गरी ऐनले गर्नु नहुने अवस्थाको बकसपत्र गराएको हुँदा बदर गरी पाउँ भन्ने समेत प्रतिवादी ।
३. वादीको बकसपत्रबाट हक भएको कोठामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने रा.का.दे.दो.को ०६।८।१४।२ को फैसला ।
४. ऐनले गराउन हुँदै नहुने अवस्थाको बकसपत्र बदर गरी मलाई हराएकाले इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।
५. प्रतिवादी रत्नकुमारीसँग मानो छुट्टि बसेको हुँदा रत्नकुमारीले आफूसंग बसेको छोरा वादीलाई ०५।१।१७।५ मा पास गरी दिएको बकसपत्र सदर कायम रहने नै देखिएको समेत हुँदा इन्साफ शुरु रा.का.दे.दो.को मुनासिव ठहर्छ भन्ने अपील दोस्राको ०८।५।१२।३ को फैसला ।
६. अपीलले हदमुनी गरी छिनेकोमा चित्त बुझेन । इन्साफ जाँची पाउँ भन्ने प्रतिवादी पक्षको निवेदन परेकोमा व्यहोरा साँचो रहेछ भने मिसिल झिकी इन्साफ जाँच्न पेश गर्नु भन्ने श्री माननीय भु.पू. प्रधान न्यायाधीशज्यूबाट ०।१९।२ मा आदेश भएको ।
७. निजहरूको अंश मुद्दामा ०४।७।१४ गते भान्छा छुट्टि बेगल बसेको भन्ने देखिनाले र आमा रत्नकुमारीले ०५।१।१७ गते गोपालबहादुरलाई बकसपत्र गरी दिएको सदर कायम हुने देखिनाले इन्साफ अपील दोस्राको मुनासिव छ भन्ने डिभिजन बेञ्चको ०१३।७।१६।५ को फैसला ।
८. यो समेत मुद्दाको इन्साफमा चित्त बुझेन । दोहर्याई पाउँ भन्ने प्रतिवादी सु. कटकबहादुरले चढाएको निवेदन श्री ५ महाराजाधिराज सरकारका हजुरमा जाहेर हुँदा यसमा अधि छिन्ने न्यायाधीश बाहेक श्री प्रधान न्यायाधीश समेत ३ वा ५ जना न्यायाधीश भएको फुल बेञ्चबाट एकपटक दोहर्याई हेरी ऐनबमोजिम निर्णय गरी दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफको विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको ०२०।२।२१।३ को हुकुम प्रमांगी र बक्स भई आएका हु.प्र. बमोजिम गर्न निमित्त लगतमा दर्ता गरी दुवैपक्ष राखी फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय भु.पू.प्र.न्या.ज्यूबाट भएको ०२०।३।११।३ को आदेश ।
९. वादी गोपालबहादुरलाई रत्नकुमारीले ०४।९।२३ मा घरसारमा र ०५।१।१७ मा पास गरी दिएको शेष पछिको बकसपत्र मिसिल सामेल रहेकोमा वादीले फिर्ता बुझी लिएको देखिँदा सो सक्कल बकसपत्र दाखिल गर्नु भनी वादीलाई तारेख तोकी पेश गराई र सो बकस घुस खाई बेहिसाबसँग गरे गराए भन्ने कटकबहादुरको उजुरी परी ०२।३।९ मा प्र.न्या. दोस्राबाट फैसला भएको भनेको मिसिल समेत प्रमाणलाई झिकाई पेश गर्नु भन्ने फुल बेञ्चको ०२१।९।२५।६ को आदेश ।
१०. यसमा तारेखमा रहेका निवेदक, प्रतिवादी सु. कटकबहादुरको वा. नारायणबहादुर र वादी गोपालबहादुर रोहवरमा रही ०२४।३।१६।६ मा पेश भई निवेदक, प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र वादी तर्फबाट विद्वान प्लीडर श्री ईच्छाहर्ष बज्राचार्यले गर्नु भएको बहस सुनी आजको निर्णय सुनाउने तारेख सरेको प्रस्तुत मुद्दामा आमा रत्नकुमारीको पेवाको आमाले शेष पछि खानु भनी मलाई बकसपत्र गरी दिनु भएको ०५ साल बैशाख २२ गते आमा परलोक हुनु भई मेरो हक भएको कोठामा ताल्चा नखोली खिचोला गर्यो भन्ने वादीको मुख्य जिकीर भएको देखिन्छ ।
११. वादी दावीको उक्त बकसपत्रलाई आमा बेहोस भएको अबस्था रजिष्ट्रेशनको कारिन्दा समेत लिई ऐनले गराउन नहुँने अवस्थामा गराएको हुँदा सदर नहुने भन्ने प्रतिवादी सु. कटकबहादुरको जिकीर भएकाले त्यसतर्फ हेरेमा घुस खाई गर्न नहुने बकसपत्र गराएको भनी प्रतिवादी सु. कटकबहादुर रजिष्ट्रेशनको कारिन्दा समेत उपर दिएको घुस मुद्दामा घुसको बिगो खोलिएको उजुर नहुनाले खारेज हुने समेत ठहरी प्रधान न्यायालय दोस्राबाट ०७।३।९।६ मा फैसला भएको प्रमाण मिसिलबाट देखिएको र आमा बेहोस भएको अवस्था गराएको भन्ने कुराको कुनै तथ्य सबुद प्रतिवादी सु.कटकबहादुरले गुजार्न पनि नसकेकाले ऐनले दिन लिन पाउने अवस्थाको बकसपत्र लिखत पास गरी दिए लिएको बदर हुने भए पनि यिनीहरूकै अंश मुद्दामा वादी प्रतिवादीहरू मानु छुट्टि भिन्न भएको मिति ०५ साल आषाढ १७ गते कायम भई आजै यस बेञ्चबाट फैसला भएको र तत्काल प्रचलित अंशबण्डाको ३७ नं. मा मान्नु नुछुट्टि सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लाएको ऋण सबैलाई भाग लाग्छ भन्ने व्यवस्था भईराखेको समेत देखिएकाले मानु छुट्टिएको कायम मिति ०५ साल आषाढ १७ गते भन्दा अगावै ०५।१।२२ गते आमा परलोक भई आमाको बकसपत्रबाट वादीले पाएको सो कोठा समेतमा उक्त ऐनबमोजिम सगोलका अंशियार वादी प्रतिवादी दुवै भाइको बराबर भाग लाग्ने देखिन आएको छ ।
१२. तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणहरूबाट सो कोठामा वादीको मात्र एकलौटी हक लाग्ने देखिन नआएको हुँदा पुरै कोठा मेरो हकको खिचोला मेटाई पाउँ भन्ने वादीको दावी पुग्न सक्दैन । खिचोला गरेको ठहराएको शुरु रा.का.दे.दो. अपील दास्रोको सदर गरी ०१२।७।१६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।
तपसील
प्रतिवादी सु.कटकबहादुर प्रधान के शुरु रा.का.दे.दो.को ०६।८।१४।२ को फैसलाबमोजिम वादी गोपालबहादुर प्रधानलाई भराई दिने गरेको कोर्टफी र अरु दस्तुर समेत रु.३।३२ निज प्रतिवादी सु.कटकबहादुरबाट असुल भई अ.श्रे.का चलानीसाथ ०६।१०।१७ मा अतः बिगो फाँटमा धरौट रहेको सो रुपैया वादीको उजुर कायम नठहरेकाले वादीले भरी नपाउने र निज प्रतिवादी सु. कटकबहादुरले नै फिर्ता पाउने हुँदा कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ बर्ष भित्र फिर्ता लिन आएमा कानूनको रीत पुर्याई दस्तुर केही नलिई फिर्ता दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु। …………………..१
ऐ ऐ के निजले शुरु उपरको ६।१०।१७।२ को पुनरावेदनमा टाँसेको टिकटको रु.।२६ कोर्टफी ऐन, ०१७ को दफा १८ (४) बमोजिम र निज तर्फबाट रहेको विद्वान अधिवक्ताको वकिलफि रु.२०। सर्वोच्च अदालत नियमावली, ०२१ को दफा २४ बमोजिम वादी गोपालबहादुरबाट भरी पाउने हुँदा उक्त दुवै कलमको जम्मा रु.२०।२६ वादी गोपालबहादुरबाट भराई पाउँ भनी कोर्टफी ऐन, ०१७ को दफा १५ (११) बमोजिम ५ वर्ष भित्र दर्खास्त दिएमा दस्तुर केही नलिई भराई दिनु भनी ऐ …………………….२
ऐ ऐ के डिभिजन बेञ्चको ०१३।७।१६।५ को फैसलाले गर्ने गरेको दण्ड रु.।२६ नलाग्ने हुँदा असुल भईसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरी दिनु भनी ऐ …………………….३
शुरु रा.का.दे.दो.का हाकिम ना.सु.लक्ष्मणरम उप्रेती समेत हाल नोकरीमा बहाल नरहेकाले इन्साफ उल्टीमा केही गर्नु पर्दैन ………………………….४
नियमबमोजिम मिसिल बुझाई दिनु………………………५
इति सम्वत् २०२४ साल भाद्र २० गते रोज ३ शुभम् ।