January 12, 1968
Created by nepalarchives

निर्णय नं. ४०३ – लेनदेन

निर्णय नं.  ४०३     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री हेरम्ब राज ०२४ सालको दे.फु.न. ८३ निवेदक     ...

निर्णय नं.  ४०३     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री हेरम्ब राज

०२४ सालको दे.फु.न. ८३

निवेदक      : मे. ज. कल्याण शम्शेर ज.ब.रा.

विरुद्ध

विपक्षी : हस्साराम तेजुमल

मुद्दा : लेनदेन

(१)   बिन्तिपत्रको व्यहोरा नै झुठा ठहरेमा बकस भएको हुकुम प्रमांगीको सुविधा पाउन नसक्ने।

            कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी श्री ज.कल्याण शम्शेरले लिएको रुपैया नतिरेकाले कोर्टफी समेत नराखी सर्वोच्च अदालतमै नालेस दिन पाउने गरी पाउँ भनी हस्साराम तेजुमलले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र मौसुफका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए कोर्टफी पछि लिने गरी हाल वाँडफाँडबाट नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने लेखिएको समेत रहेछ । वादी दावीको लिखतमा काठमाडौं थापाथली स्थित प्रतिवादीको घर जग्गा लिने दिने गरी कारोवार भएको कुरा उल्लेख भएको । सो रुपैया नेपालको सरहदमा तिरौंला भन्ने शर्त लेखिएको नै देखिएको । नेपालमा तिर्ने गरी लिएको भनी बिन्ति चढाएको व्यहोरा नै साँचो देखिन नआएको हुँदा बक्स भएको उक्त हुकुम प्रमांगीको सुविधा पाउन सक्ने भन्न नमिल्ने ।

 (प्रकरण नं. १४)

वादी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा

प्रतिवादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्मा

फैसला

            १.     कल्याण शम्शेर ज.ब.रा.कलकत्ता आउनु हुँदा आफ्नो काठमाडौं थापाथलीको घर जग्गा धितो राखी सन १९५६ अक्टोवर ३० तारेख तदनुसार विक्रम सम्वत् २०१३ साल कार्तिक १४ गतेका दिन सो घर जग्गाको कागजपत्र ३ महिना भित्र सुम्पि दिई त्यस वापत थप रु.५०० लिने र लिखत भएका मितिले ६ महिनासम्म व्याज नलाग्ने ६ महिनापछि सयकडा ८ का दरले व्याज समेत राखी साँवा व्याज नबुझाए लेखिएको घर जग्गा चलन गर्नु भन्ने समेत व्यहोरा पारी भारत वर्षको ऐन कानूनको रीत पुर्‍याई भारत वर्षको स्टाम्प कागजमा तमसुक लेखी मबाट भारतीय नोट रु.१७०००। सत्र हजार कर्जा लिएको । त्यसमा आलटाल गरी लिखतबमोजिम रुपैया नदिनु भएमा यहाँ नेपाल सरहदमा त्यस उपर ऐनले नालेस नलाग्ने हुँदा नालेस दिन पाउँ भन्ने समेत व्यहोरा पारी श्री ५ महाराजाधिराजका हजुरमा निवेदनपत्र दिँदा कोर्टफी पछि लिने गरी नालेस लिई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएअनुसार नालेस गर्न आएको छु । उक्त रु.१७०००। सत्र हजार र त्यसको लिखत मिति ०१४।१।१४ देखि आजसम्मको सयकडा ८ का दरले व्याज समेत जम्मा रु.१८५८०। र मुद्दा किनारा नहुँदा तकको लेखिएका दरले व्याज समेत दिलाई भराई पाउँ भन्ने फिराद ।

            २.    विदेशको कागजपत्र लेनदेन गरेको भए पनि त्यस विषयको नालेस नेपाल राज्यमा सुनिने छैन भन्ने अमिनी जाफताको १३ किसिमको मुद्दाको विवरणमा लेखिएको । सो देखी बाहेकको मुद्दा नहेरिने र यही रुपैयाको लेनामा भारतवर्षको अदालतमै मुद्दा दायर भई चलेकोले अ.बं.११४ नं.का ऐनबमोजिम एकै कुरामा दोहरो उजुर लाग्न नसक्ने । ढाँटी दिएको निवेदनमा भएको प्रमांगीमा दोहर्‍याई जाहेर गर्नुपर्ने समेत भन्ने प्रतिवादी ।

            ३.    विदेशको मानिसले वारेस दिँदा लाग्ने सजायको अ.बं. ८९ नं. बमोजिम धरौट वा जमानी दिनुपर्ने सो नदिएकाले र सो धरौट वा जमानी नलिई नालेस दायर भएकोले यो उजुर खारेज हुने ठहर्छ भन्ने सदर अमिनी गोश्वाराको ०१५।२५।४ को फैसला ।

            ४.    कोर्टफी पछि लिने गरी नालेस लिई दिनु भन्ने हुकुमको प्रमांगी भए पनि लाग्ने सजायको कोर्टफी राखी सकेपछि अ.बं.८९ को अर्थ गरी विदेशीले वारेस दिँदा लाग्ने सजायको धरौट वा जमानी नराखी दायर भएको भनी उजुरी खारेज गर्ने गरेको फैसला उपर चित्त बुझेन भन्ने वादी हस्साराम तेजुमलको अपील र हस्साराम तेजुमलले चढाएको बिन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाटै मिसिल झिकी हेरी ऐन सवालबमोजिम इन्साफ गरी दिनु भन्ने हुकुम बक्से बमोजिमको बिन्तिपत्र यसै साथ राखी लेख्ने काम भएको छ भन्ने मौसुफको निजी सचीवालय राजदरवारबाट लेखी आएको ०१९।२।२९।३ को पत्र र यसमा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न ठाडो दर्तामा गरी दिनु भन्ने ०१९।४।२५ को का.मु.प्रधान न्यायाधीशज्यूको आदेश ।

            (५)   हाल काठमाडौं बागबजार गोल्डेन भ्याली होटल डेरा गरी बस्ने हस्साराम तेजुमलले श्री ले.ज.कल्याण शम्शेरसँग लिनुपर्ने रुपैया नदिने नियत गरेकोले सो विषय मुद्दा दायर भई स.अ.बाटै हेरिने भएकोमा हाल २५००० भन्दा कम उच्च अदालतबाट हेरिने भन्दा मर्का पर्‍यो । सो मुद्दा सर्वोच्च अदालतबाट हेरी किनारा लगाई पाउँ भनी चढाएको बिन्तिपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालतबाट हेरी दिनु भन्ने हुुकुम बक्सेबमोजिम निजको निवेदन यसै साथ खामी सूचना गरेको छु भन्ने मौसूफको निजी सचीवालयबाट ०१६।१२।१० मा लेखी आएको पत्र । बक्स भएका हुकुम प्रमांगीबमोजिम गर्न ठाडोमा दर्ता गरी बेञ्चमा पेश गर्नु भन्ने ०१७।३।२८ को का.मु.प्र.न्या.ज्यूको आदेश ।

            (६)    प्रतिवादीको प्रतिउत्तरमा उल्लेखित विदेशीको वादी सुर्य माडवारी प्रतिवादीको स.अ. डिभिजन बेञ्चबाट खारेज भएको मिसिल झिकाई पेश गर्न भन्ने डिभिजन बेञ्चको आदेश ।

            (७)   विदेशी वादी र सुर्य माडवारी प्रतिवादी भएको मिसिल पत्ता नलागेकोले छलफलमा प्रतिवादीलाई झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।

            (८)   सर्वप्रथम वादी विदेशी मानिसले वारेस राख्दा अ.बं.८९ नं. ले लाग्ने सजायको धरौटी वा जमानी दिएको नदेखिए पनि बक्स भई आएको हुकुम प्रमांगीबमोजिम कोर्टफी पछि लिने गरी नालेस दर्ता भएको र कोर्टफी सवालको शिर व्यहोरा र तपसीलको २६ दफा समेतमा कोर्टफी लाग्ने मुद्दामा अरु दण्ड सजाय र वारेस दिँदा धरौट समेत नलाग्ने व्यवस्था भएको लाग्ने कोर्टफी पछि दाखिल भईसकेको समेत देखिएकोले वारेस दिँदा धरौट जमानी नदिएको भन्नेसम्म कारणबाट सदर अमिनी गोश्वाराले यो मुद्दा खारेज गर्न गरेको मनासिव देखिएन । यो मुद्दा सर्वोच्च अदालतबाट इन्साफ गरी दिनु भन्ने हुकुमको प्रमांगी बक्स भई आई रहेको देखिएकोले इन्साफतर्फ विचार गरेमा उजुर दावीबमोजिम रुपैया मैले लिए खाएको र तमसुक गरी दिएको समेत होइन भनी प्रतिवादीले इन्कारी लिन सक्नु नभएकोले र विदेशको लेनदेनमा यहाँ नालेस नलाग्ने भन्ने तर्फसम्म ईन्कार जिकीर लिनु भए पनि नालेस लिई दिनु भन्ने हुकुमको प्रमांगी बक्स भई आई नालेस दर्ता भएको देखिनाले प्रतिवादीको उक्त ईन्कार जिकीर मनासिव भन्न नहुने । यही रुपैयाँको लेनामा भारतवर्षको अदलतमै मुद्दा दायर भई चलेकोले एकै कुरामा दोहोरो मुद्दा चल्न नसक्ने भन्ने प्रतिवादीले जिकीर लिनु भएतर्फ भारतमा मुद्दा दायर भई चलेको वादी प्रतिवादीको नक्कल पेश गर्नु भनी दुवै पक्षलाई सुनाई तारेख दिने समेत श्री माननीय प्रधान न्यायाधीश ज्यूबाट भएको ०१९।२।१९।६ को आदेशानुसार तारेख तोकिएकोमा भारतमा मुद्दा दायर भएको वादी प्रतिवादीको नक्कल तमसुक बदर भएको निस्सा समेत कुनै पनि प्रमाण प्रतिवादी समेतबाट पेश हुन सकेकाले प्रतिवादी लेखाई जिकीरसम्मकै आधारमा भारतमा यसै कुरामा मुद्दा चलेको भन्ने कुरा कायम मान्न नमिल्ने हुनाले समेत उजुर दावी तमसुकबमोजिम साँवा भा.रु.१७०००। र तमसुकमा लेएिबमोजिम १४।१।१४ देखि मुद्दा किनारा भएको आजको मिति तक जम्मा वर्ष ७।८।२९ को तमसुृकमा लेखिएबमोजिम सयकडा ८ ले ठहर्ने व्याज रु.१०५३६। समेत जम्मा भा.रु.२७५३६। को सटही दरले ने.रु.४४०५८। प्रतिवादीले वादीलाई तिर्नु पर्ने ठहर्छ भन्ने डिभिजन बेञ्चको ०२१।१०।११।१ को फैसला ।

            ९.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा न्यायीक समितिबाट नालेस लिई दिनु भन्ने प्रमांगी पाउँ भन्ने वादी हस्सारामले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा सर्वेाच्च अदालत के कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी लिएको रुपैया नतिरेकोले कोर्टफी नराखी नालेस दिन पाउने गरी पाउँ भन्ने हस्सारामले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र जाहेर हुँदा व्यहोरा साँचो भए कोर्टफी पनि लिने गरी हाल बाँडफाँडबाट नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने हुकुम बक्सेको छ भनी निजी सचीवालयबाट लेखी आएबमोजिम सर्वोच्च अदालतको आदेशबाट अमिनी गोश्वारामा कोर्टफी नालेस दायर भएको र वादीले प्रमाण पेश गरेको कल्याण शम्शेरले गरी दिएको भारतीय स्टाम्प लागेको तमसुक हेर्दा, भा.रु.१७०००। लिएँ थापाथलीको घर जग्गा लेखी दिएँ सयकडा ८ का दरले १९५७ अप्रील ३० तारेख देखि व्याज सहित मुलधन मुक्तान दिएन भने खरिददारले त्यस भनिएको सम्पत्ती सामान्य शर्त रूपमा रजिष्टर बन्धकको रूपमा पाउने स्वतन्त्रता प्राप्त गर्दछ भन्ने समेत उल्लेख भएको साहु असामीको ३६ नं. मा बिराना मुलुकका रैयतसँग बिराना मुलुकमा लेनदेन गरेको कुरा नेपालको लेनदेनको बहीमा लेखिएको छ भन्ने कारणले मात्र यहाँबाट नालेस सुनिने छैन । बिराना मुलुकमा लिँदा दिँदा सो लिएको कुरा नेपालका सरहदमा तिरौंला भन्ने रीतपूर्वकको लिखत साहुले असामीसँग लिएको छ र सो लिने चाहीं असामी हाम्रो रैयत हो भने त्यसको नालेस सुन्नु र भरी भराइ ऐनबमोजिम गरी दिनु भन्ने लेखिएकोले यस केशमा सर्वप्रथम बिन्ति चढाई व्यहोरा कस्तो हो र कुन कुरालाई लिई प्रमांगी बक्सेको हो व्यहोरा साँचो झुठो के हो ? भन्ने कुराको निर्णय गर्दा नालेस दायर रहा सक्ने भए मात्र अरु कुराको विचार गर्नुपर्ने हुन आउने देखिएकोले व्यहोरा साँचो झुठो के हो ? भन्नेतर्फ विचार गर्दा उक्त प्रमांगीमा बिन्तिपत्रको सबै व्यहोरालाई लिई व्यहोरा साँचो भए भन्ने बोली परेको भन्ने मानेमा सा.अ.को ३६, ३७ नं.को ऐनबमोजिम लिखत नभई नेपालमा दायर हुन सक्दैन भनेकाले विदेशको कारवार लिखत भए पनि नालेस लिई दिनु भन्ने प्रमांगी पाउँ भनी बिन्ति चढाएकोबाट ऐनले लाग्न नसक्ने कुरा बिन्ति चढाएकैबाट व्यहोरा साँचो र तमसुकमा नेपाल सरहदमा तिरँैंला भन्ने बोली नपरेकोमा नेपालमै तिर्ने गरी लिएको भन्ने बिन्ति चढाएको कुरा व्यहोरा झुठा देखिएको । यस स्थितिमा अडकड द्विविधा सम्झेमा हुकुमबाट प्रमांगी भएका कुरा हुँदा तत्कालीन बिन्तिपत्र प्रमांगीको ऐन अनुसारको जाहेर गरी निकासा बक्सेबमोजिम गर्नु पर्ने र अडबड नसंगीमा उक्त उल्लेखित प्रमांगीको व्यहोरामा कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी लिएको रुपैया नतिरेकोले कोर्टफी नराखी नालेस दिन पाउने गरी पाउँ भन्ने बिन्ती चढाएको व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो भए कोर्टफी पछि लिने गरी हाल नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने लेखिएको । तमसुकमा नेपालमा तिरौंला भन्ने बोली नपरेको । तोकिएको तारेखमा मुलधन भुक्तान दिएन भन्ने खरीददारले थापाथलीको घर जग्गा सामान्य शर्त रूपमा रजिष्टार बन्धकीको रूपमा पाउने स्वतन्त्रता प्राप्त गर्दछ भन्ने लेखिएको । त्यस्तोमा तत्कालीन दरको ऐनले अचल सम्पत्ति विदेशीले लिन सरकारको स्वीकृति बेगर मनाही गरेको कुरा उल्लंघन हुने गरी लिने दिने गर्ने भन्ने व्यवहार गरेको । विदेशीको कानूनबमोजिम विदेशमा पास भएको तमसुृकलाई नेपालको ऐनबमोजिम रीत पुगेको र व्यहोरा साँचो मानी नालेस दायर गरेको कायम मानी इन्साफ गरेको कुरा मिलेको नदेखिएकोले दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिश गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी मौसुफका प्रमुख सचीवालयबाट लेखी आएको ०२२।८।९।७ को हुकुम प्रमांगी ।

            १०.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्न र त्यसको अन्तिम निर्णय भएपछि त्यस्तो निर्णयको २ दुई प्रतिलिपी जाहेर गर्ना निमित्त रजिष्ट्रार मार्फत श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा पठाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूको ०२२।८।१६।४ को आदेश ।

            ११.    छलफलमा निवेदक तर्फबाट पेश हुन आएको निज निवेदक मे.ज.कल्याण शम्शेरले कलकत्ता हाइकोर्टमा दिनु भएको २७ मई १९५७ को उजुरीपत्रको प्रतिलिपीमा यही लेनदेन रुपैया समेतको हरहिसाब मिलाई पाउँ भन्ने र करकाप समेत सम्बन्धमा यिनै विपक्षी हस्साराम तेजुमल उपर उजुरी दिनु भएको देखिन आएको र सो मुद्दा किनारा भए नभएको सबुद पेश हुन नआएकोले उक्त उजुरी कलकत्ता हाईकोर्टमा दायर भई कारवाही चलेको हो हैन ? भए के निर्णय भयो ? भएसम्मको सबुद प्रमाण पेश गर्नु होला भनी दुवै पक्षलाई आदेशको व्यहोरा सुनाई तारेख तोकी दिई दाखिल हुन आएसम्मको प्रमाण समेत सामेल राखी मिसिल नियमबमोजिम पेश गर्नु भन्ने ०२४।८।१५।६ को फुल बेञ्चको आदेश ।

            १२.   यसमा तारेखमा रहेका दुवै पक्षका वारेस रोहवरमा रही ०२४।९।२१।६ मा पेश भई निवेदक, प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माले वादीले कोर्टफी नलिई नालेस लिईदिनु भन्ने गरी पाउँ भनी श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा नेपालमा तिर्न गरी थापाथलीको घर लेखी कर्जा लिनु भएको भनी उल्लेख गर्नु भएको सो व्यहोरा जाहेर हुँदा व्यहोरा साँचो भए नालेस लिई दिनु भन्ने प्रमांगी बक्स भएको छ । विदेश भारत कलकत्तामा भएको लिखतमा नेपालमा तिरौंला भन्ने शर्त नलेखिएकोले बिन्ति चढाई व्यहोरा झुठा भएको भई नालेस लाग्न नसक्ने हुँदा खारेज हुनुपर्छ भन्ने समेत र विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री मधुप्रसाद शर्माले नेपालकै अचल सम्पत्ति लेखी लिनु दिनु गरी लिखत भएको समेत सम्पूर्ण व्यहोरा बिन्तिपत्रमा दर्शाएकै हुनाले नालेस खारेज हुनु नपर्ने भन्ने बहस गर्नु भएको समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा नालेस लाग्न सक्ने नसक्ने के हो ? भन्ने प्रारम्भिक आपत्तितर्फ नै सर्वप्रथम विचार गर्नु परेको छ ।

            १३.   यस्तो विदेशमा लेनदेन कारवार भएको कुरामा नालेस गर्ने सम्बन्धमा भएको कानूनी व्यवस्थातर्फ हेर्दा, तत्कालीन प्रचलित साहु असामी को ३६ नं. मा बिराना मुलुकमा लिंदा दिँदा सो लिएको कुरा नेपालका सरहदमा तिरौंला भनी रीतपूर्वकको लिखत साहुले आसामीसँग लिएको छ र सब लिने चाहीं असामी हाम्रो रैयत हो भने त्यस्ताको नालेस सुन्नु र भरी भराउ ऐनबमोजिमको गरी दिनु भने व्यवस्था भएको पाईन्छ ।

            १४.   प्रस्तुत नालेस लिई दिनु भन्ने हुकुम प्रमांगी बक्स भएको भन्ने सम्बन्धमा हेर्दा, वादीले चढाएको ०१५।१।९।२ को बिन्तिपत्रमा यस रुपैया नेपालमै तिर्ने गरी आफ्नो थापाथलीको घर लेखि कर्जा लिएको रुपैया नतिरेकोले हाल कोर्टफी समेत राख्न नपर्ने गरी नालेस लिनु दिनु भन्ने प्रमांगी पाउँ भन्ने समेत उल्लेख गरेको र त्यसमा बक्स भएको ०१५।१।१०।३ को हुकुम प्रमांगीमा कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी श्री ज.कल्याण शम्शेरले लिएको रुपैया नतिरेकोले कोर्टफी समेत नराखी सर्वोच्च अदालतमै नालेस दिन पाउने गरी पाउँ भनी हस्साराम तेजुमलले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्र मौसूफका हजुरमा जाहेर हुँदा यसमा व्यहोरा साँचो भए कोर्टफी पछि लिने गरी हाल बाँडफाँडबाट नालेस लिई ऐन सवालबमोजिम गर्नु गर्न लाउनु भन्ने लेखिएको समेत रहेछ । वादी दावीको लिखतमा काठमाडौं थापाथली स्थित प्रतिवादीको घर जग्गा लिने दिने गरी कारवार भएको कुरा उल्लेख भएको । सो रुपैया नेपालको सरहदमा तिरौंला भन्ने शर्त लेखिएको नै देखिएकोले नेपालमा तिर्ने गरी लिएको भनी बिन्तिपत्र चढाएको व्यहोरा नै साँचो देखिन नआएको हुँदा बक्स भएको उक्त हुकुम प्रमांगीको सुविधा पाउन सक्ने भन्ने मिलेन ।

            १५.   तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम कारणबाट वादीको नालेस दर्ता हुने नसक्ने देखिएकोले खारेज हुने ठहर्छ । ०२१।१०।११।१ को डिभिजन बेञ्चले इन्साफ गरेको मिलेको देखिएन । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

वादी हस्साराम तेजुमल के डिभिजन बेञ्चको ०२१।१०।११।१ को फैसलाले प्रतिवादी कल्याण शम्सेरबाट भराई दिने गरी ०२१।११।३।१ मा का.श्रे.त.मा लगत दिएको देहायबमोजिम भराउनु नपर्ने हुँदा कानूनको रीत पुर्‍याई लगत काटी दिनु भनी का.श्रे.अ.त.मा लगत दिनु ०१५।२।११।४ मा सदर अमिनी गोश्वारामा दाखिल गरेको शुरु कोर्टफी रु.७९१।२०। र १५।९।२८ मा अपील गर्दा दाखिल गरेको कोर्टफी रु.७९।३२ समेत जम्मा रु.८७०।५२ बिगो रु.४४०५८।– ……………………….

वादी हस्साराम तेजुमलके निजले ०१५।१।११।४ मा सदर अमिनी गोश्वारा दाखिल गरेको शुरु कोर्टफी टिकटको रु.७९१।२० र अपील गर्दा ०१५।९।२८ मा अपील श्रेस्तामा दाखिल गरेको कोर्टफी टिकटको रु.७९।३२ समेत जम्मा रु.८७०।५२ मध्ये नालेस लेखाईबाटै दर्ता हुने नसक्ने समेत देखिन आई खारेज हुने ठहरेकाले कोर्टफी ऐन १७ को दफा ११(३) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नालेस दस्तुर रु.कट्टा गरी बाँकी रु.८६९।५२ निज वादीलाई फिर्ता दिनुपर्ने हुँदा सोही ऐनको दफा १७ बमोजिम ३ वर्ष भित्र लिन आएमा कानूनको रीत पुर्‍याई फिर्ता दिनु भनी ऐ …………………२

निवेदक, प्रतिवादी कल्याण शम्शेर ज.ब.रा.के मुद्दा दोहर्‍याउन निजले ०२४।३।१८ मा सर्वेच्च अदालतमा दाखिल गरेको कोर्टफी रु.७९।१२ मुद्दै खारेज हुँदा नलाग्ने कोर्टफी ऐन, ०१७ को दफा १७ बमोजिम ३ वर्ष भित्र लिन आएका कानूनको रीतपुर्‍याइ फिर्ता दिनु भनी ऐ…………………३

नियमबमोजिम मिसिल बुझाई दिनु…………………..४

 

ईति सम्वत् २०२४ साल पौष २८ गते रोज ६ शुभम् ।