January 23, 1990
Created by nepalarchives

निर्णय नं. ४००३ – उत्प्रेषण मिश्रित परमादेश

निर्णय नं. ४००३     ने.का.प. २०४६                        अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४५ सालको रि.नं. १२००...

निर्णय नं. ४००३     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४५ सालको रि.नं. १२००

आदेश भएको मिति : २०४६।१०।१०।१ मा

निवेदक : जि. कपिलवस्तु धनकौली गा.पं.वा.नं. १ बस्ने जोखन कुर्मी

विरुद्ध

विपक्षी : ऐ.ऐ.वार्ड नं. ५ अवधनगर बस्ने केदारप्रसाद कुर्मी

विषय : उत्प्रेषण मिश्रित परमादेश

§  निर्वाचनको परिणामको घोषणा भएको मितिबाट उजूर गर्नुपर्ने कारण उपस्थित भई सो मितिले ३५ दिनभित्रै निर्वाचन अतिकृत समक्ष यो रिट निवेदकको उजूरी परेको देखिँदा कुन मितिबाट हदम्याद शुरु भएको सो समेत उल्लेख नै नगरी हदम्याद नाघी उजूर परेको भनी खारेज गरेको विपक्षी निर्वाचन विशेष अदालतको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारी प्रसाद सिंह

विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

आदेश

     न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

      २.    २०४३ सालको स्थानीय पञ्चायत निर्वाचन हुँदा क.व. जिल्लाको धनकौली गा.पं. को प्रधानपञ्च पदका लागि म तथा विपक्षी केदारप्रसाद कुर्मी समेत उम्मेदवार भएका थियौं । उम्मेदवारीको दर्खास्त दाखिल भइसकेपछि दावी विरोधका लागि तोकिएको म्यादभित्र मैले विपक्षी केदारप्रसाद २०३४ सालमा ऐ.गा.पं. को मनोनीत सदस्य रहँदा मिति मितिमा लिएको पेश्की फर्छ्यौट नगरी बाँकी रहेको कुरा लेखा परीक्षण हुँदा बेरुजु देखिएको र सो सम्बन्धमा गा.पं. धनकौलीलाई जि. का.जि. पं.स. कपिलवस्तुबाट पत्र समेत दिइएको तथा सो को फछर्यौट नगरेको हुनाले निज केदारप्रसाद उम्मेदवार नै हुन पाउँदैन भनी दावी विरोध गरेकोमा विपक्षी मतदान अधिकृतले सो सम्बन्धमा निर्णय गरेको कुनै जानकारी नै नदिई उम्मेदवारी कायमै राखी निर्वाचन गराई विपक्षी केदारप्रसादलाई निर्वाचित घोषणा गर्नुभयो । सो उपर विपक्षी निर्वाचन विशेष अदालत समक्ष उजूरी दिएकोमा सो अदालतले पनि अ.बं. ७८ नं. को प्रक्रिया पूरा नगरेको हुँदा विपक्षीले दाखिल गरेका प्रतिउत्तरसाथका प्रमाणहरु माथि जालसाजी मुद्दा दिएकोमा निर्वाचन बदरतर्फको उजूरी हदम्याद भित्र नपरेको भनी निराधार तवरले खारेज गर्नुका साथै जालसाजी मुद्दालाई निर्वाचन बदर मुद्दाको खारेजीको आधार देखाई गरिएकोले जालसाजीतर्फ क.व.जि. अ.को फैसला उपर लु.अं.अ.मा पुनरावेदन लाग्ने कानुनी व्यवस्था र बाटो मौजूद छ । निर्वाचन बदरतर्फ अन्य बाटो नहुँदा रिट क्षेत्रमा आएको छु ।

      ३.    निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १८(१)(घ) र निर्देशिकाको नियम ८७ को म्याद भित्र उजूरी दायर नभएकोले उजूरी खारेज हुने भनी ठहर गरिएको छ । तर कुन मितिलाई दायर गर्नु पर्ने मिति मान्ने उल्लेख नै छैन । ऐनको दफा १८(१) को देहाय (घ) को व्यवस्था नै भई नसकेको अवस्थामा अस्तित्व नै नभएको ऐन लगाइएको छ । जुन ऐनको दफा १६(१८)(१) समेतको त्रुटी भएको छ । ऐन बमोजिम प्रकाशित निर्देशिकाले पनि निर्वाचन परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र उजूरी दिनुपर्ने कुरा उल्लेख छ । सो बमोजिम मेरो उजूरी परिणाम घोषणा भएको मिति २०४३।१२।८ ले ३५ दिनभित्रै परेको देखिँदा देखिँदै पनि हदम्याद नाघी दायर भएको भनी विपक्षी अदालतले खारेज गरेको त्रुटिपूर्ण छ । ऐनको दफा १८(१) को स्पष्टीकरणको व्याख्या निर्देशिकाको नियम ८७ विपरीत गरिएको हुँदा उक्त फैसला प्रत्यक्षतः त्रुटिपूर्ण छ । मेरो उजूरी तथ्ययुक्त छ तर पेश्की बुझाई सकेको भनी भर्पाई गराएतर्फ जालसाजी मुद्दा दिएकै छु । यस्तो व्यक्ति उम्मेदवार नै हुन नपाउने कुरा ऐन तथा निर्देशिकामा स्पष्ट उल्लेख रहेकै छ । तर अ.बं. ७८ नं. ऐनको दफा १६(३) कीर्ते कागजको ३।१० नं. अ.बं. १८० नं. समेतको प्रत्यक्षतः त्रुटि हुन गएको छ । अतः विपक्षी अदालतका मिति २०४५।९।१३ को निर्वाचन बदर मुद्दाको खारेजी फैसला बदर गरी सबूत प्रमाण बुझी पुनः फैसला गर्नु भनी विपक्षी अदालतका नाउँमा परमादेश समेत जारी गरी आघातित हकहरुको संरक्षण तथा प्रचलन गराई पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।

      ४.    यसमा के कसो भएको हो ? विपक्षीबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।

      ५.    विपक्षी केदारप्रसाद धनकौली गा.पं. को सदस्य हुँदा समय समयमा लिएको पेश्की फछर्यौट नगरेको हुँदा उम्मेदवार हुन पाउने हैन भनी मतदान अधिकृत समक्ष मौकैमा उजूरी गरेकोमा निजको उम्मेदवारी कायमै राखी विजयी समेत बनाएको हुँदा मतदान अधिकृतको निर्णय बदर गरी पाउँ भन्ने निवेदकको फिराद दावी र निर्वाचन सम्बन्धी कार्यक्रम अनुसार मेरो दर्खास्त परी मतदान भई म प्रधानपञ्चमा विजयी भएकोमा ३५ दिन भित्र नभएको उजूरी दावी खारेज गरी पाउँ भन्ने समेत केदारप्रसादको प्रतिउत्तर परेको तथा कानुन बमोजिम मतदान भएको र लिएको पेश्की २०४३।११।११ मा धनकौली गा.पं. को सचिवबाट बुझी लिएको भर्पाई समेत पेश हुँदा उजूरवालाको आरोप झुठ्ठा देखिएकोले मतदान सदर कायम गरी पाउँ भनी मतदान अधिकृतको प्रतिउत्तर परी यस निर्वाचन विशेष अदालतबाट उजूरी निवेदन कानुनको म्यादभित्र दायर भएको नदेखिँदा प्रस्तुत मुद्दा अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भनी यस अदालतबाट फैसला भएको हो । विपक्षी निवेदकले दिएको उजूरी निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १८ तथा स्थानीय पञ्चायत निर्वाचन निर्देशिका, २०४३ को दफा ८७ को प्रतिकूल दायर भएको तथा विपक्षीले जिकिर लिएको पेश्की सम्बन्धमा समेत मिति मितिमा बुझाएको रसिदबाट देखिएको समेतबाट विपक्षीको उजूरी निवेदन खारेज ठहरी फैसला भएको छ । अतः कानुनको रीत पुर्‍याई भएको मतदान कार्यक्रम र कानुनन् भएको यस अदालतको फैसलाप्रति विपक्षीको मिथ्यापूर्ण रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी निर्वाचन विशेष अदालतको लिखितजवाफ ।

      ६.    पेश्की फर्छ्यौट गरे नगरेको बिल भर्पाई सद्दे भए नभएको आदि कुरा रिट क्षेत्रबाट हेर्न मिल्ने नै हैन । यसैसंग सम्बन्धित जालसाजी मुद्दा अञ्चल अदालतमा पुनरावेदन परी विचाराधीन रहेकोबाट पनि सोमा असर पर्ने गरी रिट क्षेत्रबाट हेर्न मिल्ने स्थिति छैन । ऐनको दफा १४ को अवस्थामा मात्र निर्वाचन बदर हुने हो सो छैन । बेरुजु रहेको प्रमाणित गर्न निवेदकले सक्नु भएको छैन । बेरुजु रहेको कुरा गा.पं.ले पनि देखाउन नसकेको र विधिवत उम्मेदवार भई बढी मत ल्याई विजयी भइसकेको समेतबाट झुठ्ठा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी केदारप्रसादको लिखितजवाफ ।

      ७.    उम्मेदवार केदारप्रसाद कुर्मीले गा.पं.लाई तिर्नु बुझाउनु पर्ने जिन्सी नगदी सम्पूर्ण रकम बुझी लिएँ भनी सोही गा.पं.का सचिवले दस्तखत गरी दिएको भर्पाई पेश गरेकोले सोही प्रमाणको आधारमा निजका विरुद्धको दावी विरोध खारेज गरी मतदान अधिकृतको हैसियतले स्थानीय पञ्चायत निर्वाचन निर्देशिका, २०४३ बमोजिम जानकारीको लागि सूचना प्रकाशित गरी तदनुसार अन्तिम नामावलीमा निज केदारप्रसादको नाम प्रकाशित गरिएको हुँदा मतदान अधिकृतले जानकारी नदिएको भन्ने निवेदकको दावी झुठ्ठा हो । केदारप्रसादले २०३४ सालमा पटक पटक गरी पेश्की लिएकोमा तिर्न बाँकी रहेको दावी छ । यदि सो भए २०३८ सालको निर्वाचनमा पनि उम्मेदवार हुनसक्ने थिएनन् जवकी २०४३ को निर्वाचन हुनुपूर्व प्रधानपञ्च पदमै काम गर्दै हुनुहुन्थ्यो । अतः ऐन नियम अनुसार उम्मेदवार कायम गरी भएको निर्वाचनमा बढी मत ल्याई विजयी केदार प्रसाद विजयी भएका हुन । अतः रिटनिवेदन झुठ्ठा हुँदा खारेज गरी पाउँ भन्ने समेत विपक्षी कृष्णचन्द्र ठाकुरको लिखितजवाफ ।

      ८.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल संलग्न कागज प्रमाण हेरी रिट निवेदकका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज विहारीप्रसाद सिंह तथा विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

      ९.    अब यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो को निर्णय दिनु परेको छ ।

      १०.    निर्णयतर्फ विचार गर्दा यसमा मिति ०४३ सालको स्थानीय पञ्चायतको निर्वाचनमा कपिलवस्तु जिल्ला धनकौली गा.पं. को प्रधानपञ्च पदका लागि म तथा विपक्षी केदारप्रसाद कुर्मी उम्मेदवार भएकोमा निज विपक्षीले धनकौलीबाट लिएको पेश्की फर्छ्यौट नगरेकोबाट उम्मेदवार नै हुन नपाउने कुराको दावी विरोध गरी विपक्षी मतदान अधिकृत समक्ष उजूरी दिएकोमा सो सम्बन्धमा कुनै निर्णय भएको जानकारी नै नदिई उम्मेदवारी कायमै राखी विपक्षीलाई निर्वाचित समेत घोषित गरिए उपर म्याद भित्रै विपक्षी निर्वाचन विशेष अदालत समक्ष उजूरी दिएकोमा ऐनको दफा १८(१)(घ) साथै निर्देशिकाको नियम ८७ को हदम्याद नाघेको भनी नभएको ऐनको दफा उल्लेख गरी मेरो उजूरी खारेज गर्ने गरी गरेको त्रुटिपूर्ण फैसला बदर गरी पाउँ भन्ने समेतको रिटनिवेदन जिकिर देखिन्छ । उक्त धनकौली गा.पं. को प्रधानपञ्च पदको लागि भएको निर्वाचनमा मिति २०४३।१२।७ मा मतदान भई विपक्षी केदारप्रसाद विजयी भएको परिणामको घोषणा मिति २०४३।१२।८ मा भएको भन्ने देखिन्छ । तत्काल प्रचलित रहेको निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १८ मा उजूर गर्ने हदम्यादको व्यवस्था भएको पाइन्छ । जस अन्तर्गत उजूर गर्नुपर्ने कारण उपस्थित भएको मितिले हदम्याद कायम हुने र सो मितिले उजूर गर्नु पर्ने हदम्याद ३५ दिन हुने व्यवस्था ऐ.दफा १८(१) मा रहेको पाइन्छ । सो बमोजिम निर्वाचनको परिणामको घोषणा भएको मिति २०४३।१२।८ बाट उजूर गर्नुपर्ने कारण उपस्थित भई सो मितिले ३५ दिन भित्रै निर्वाचन अधिकृत समक्ष यी रिट निवेदकको उजूरी परेको देखिन्छ । यसरी उजूर गर्नु पर्ने कारण उपस्थित भएको मितिले कानुनको हदम्याद भित्रै उजूरी परेकोमा कुन मितिबाट हदम्याद शुरु भएको सो समेत उल्लेख नै नगरी हदम्याद नाघी उजूर परेको भनी खारेज गरेको विपक्षी निर्वाचन विशेष अदालतको मिति २०४५।९।१३ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी निर्वाचन विशेष अदालतका नाममा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । विपक्षीहरुको जानकारीको लागि आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४६ साल माघ १० गते रोज १ शुभम् ।