निर्णय नं. ४००१ – भ्रष्टाचार
निर्णय नं. ४००१ ने.का.प. २०४६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ६०१ फैसला...
निर्णय नं. ४००१ ने.का.प. २०४६ अङ्क ११
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको फौ.पु.नं. ६०१
फैसला भएको मिति : २०४६।११।२।३ मा
पुनरावेदक/प्रतिवादी : जि. संखुवासभा वाना गा.पं. वा.नं. ५ बस्ने विष्णुबहादुर राई
विरुद्ध
प्रत्यर्थी/वादी : इन्द्रबहादुरको प्रतिवेदनले वादी श्री ५ को सरकार
मुद्दा : भ्रष्टाचार
§ विशेषज्ञको रायलाई तर्कसंगत रुपमा खण्डन नभएसम्म मान्न पर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बद्रिबहादुर कार्की
प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को फैसला उपर पुनरावदेनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मैले जि. खा.सं. अध्यक्ष एवं जि. पं. सभापति भई काम गर्दा २०३८।१०।१६ देखि ०३८।१०।२५ सम्म १२ थान कुपनमा सही गरी दिएको संस्थानको कार्यालय धरानले प्रतिनिधिहरु गहुँ लिन जाँदा गहुँ लगिसकेको भनी मेरो हस्ताक्षर मिलाई गाउँमा नै नभएको व्यक्ति खडा गरी नक्कली कुपन बनाई मानिस खाली फर्केका हुनाले छानबीन गरी पाउँ भन्ने का.वा. सभापति इन्द्रबहादुर सोम्याहाङको २०३८।१२।५ को प्रतिवेदन ।
३. जि. पं. संखुवासभाका सभापति इन्द्रबहादुर सोम्याहाङको हस्ताक्षर भएको कुपन लिई आउने प्रतिनिधिहरुलाई भर्पाई गराई गहुँ दिएको गहुँ तोकिएको स्थानमा पुर्याए नपुर्याएको थाहा छैन सभापतिको भनाई अनुसार वहाँको हस्ताक्षर फरक परेको छ छैन विशेषज्ञबाट भिडाई छानबीन गरी अभियोगबाट फुर्सद पाउँ भन्ने प्र.विष्णुबहादुर राईले अञ्चलाधीश कार्यालय विराटनगरमा २०३९।१।१९ गते गरेको बयान ।
४. भ्र.नि.संशोधन सहित ऐन, २०१७ को ७(१) अनुसार आफूलाई गैरकानुनी लाभ र श्री ५ को सरकारको स्वामित्व भएको नेपाल खाद्य संस्थानलाई हानी पुर्याउन गहुँ क्वीन्टल २८० हिनामिना गरेको पाइएकोले बिगो रु. ७७,८४०।– असुल गरी नेपाल खाद्य संस्थानलाई दिलाई सजायँको माग भएको विशेष प्रहरी अधिकृतको २०३९।११।४ गतेको अभियोगपत्र ।
५. तत्कालिन का.वा. सभापतिले सहिछाप गरी पठाएको कुपनमा उल्लेख परिमाणको गहुँ कुपन लिई आउने व्यक्तिलाई नेपाल खाद्य संस्थान उपशाखा कार्यालयबाट मैले गहुँ दिएको हुँ कुपन कीर्ते बनाई गहुँ हिनामिना गरेको होइन । मैले आफूलाई लाभ हुने काम गरेको छैन । कुपन बाहेक अरुले फाइदा उठाए नउठाएको म भन्न सक्तिन खास व्यक्तिलाई वा काल्पनिक व्यक्तिलाई कुपन दिएको हो जाहेरवाला नै जानुन सबूद बुझी सफाई पाउँ भन्ने प्र.विष्णुबहादुर राईले कोशी अञ्चल अदालतमा २०४०।३।१७ गते गरेको बयान ।
६. अभियोगपत्रको पेटबोलीमा देखिएका इन्द्रबहादुर सोम्याहाङलाई बुझिँदा खाद्य संस्थानको छाप बेगरको कुपन बनाई गहुँ हिनामिना भएबाट मैले अञ्चलाधीश कार्यालय कोशीमा निवेदन दिई सो आधारबाट जाहेरवाला भएको हुँ । सबै कुपनहरु मेरो हस्ताक्षरबाट भएको होइन । १२ वटा कुपनमा मेरो सही परेको र सो उप्रान्त मेरो सही होइन । कीर्ते कुपन खडा गरी गहुँ हिनामिना गरेको हुँदा विष्णुबहादुर राईलाई सजायँ गरी पाउँ भन्ने इन्द्रबहादुरले कोशी अञ्चल अदालत धरानमा गरेको बयान ।
७. विशेषज्ञलाई बन्द सवाल जारी गरी बन्द सवाल तामेल भई आएको ।
८. कीर्ते देखिएका कुपन थान १४ मा लेखिएका गहुँ क्वीन्टल २७० को रु. २७८।– प्रतिक्वीन्टलले हुन आउने जम्मा रकम रु. ७५,०६०।– बिगो कायम हुन आई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(१) र (२) ऐ.को दफा २९ ले प्रतिवादी विष्णुबहादुर राईलाई सोही बिगो बमोजिम जरिवाना समेत हुने ठहर्छ भन्ने समेत व्यहोराको कोशी अञ्चल अदालत धरानको मिति २०४१।१०।८ गतेको फैसला ।
९. कोशी अञ्चल अदालतको फैसलामा चित्त बुझेन भनी प्रतिवादीको पू.क्षे.अ.मा परेको पुनरावेदनमा झ.झि. गरिएको रहेछ ।
१०. कीर्ते भनिएका कुपनहरु एउटै व्यक्तिबाट लेखिएका देखिन्छन् । तर सद्दे भन्ने कुपनहरुमा विभिन्न व्यक्तिले लेखेको देखिन्छ र ती कुपनमा भएका सभापतिको सहिछाप नमिल्ने स्थितिमा प्र.विष्णुबहादुर राईले आफूले लिना खानाको लागि खाद्यान्न भ्रष्टाचार गरेका हुन् भनी मान्नु पर्ने स्थिति हुँदा भ्रष्टाचार गरेको ठहर्याएको को.अं.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।५।१९ को फैसला ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागज प्रमाण हेरी पुनरावेदक प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय श्री गणेशराज शर्मा र श्री बद्रीबहादुर कार्की तथा प्रत्यर्थीतर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले गर्नु भएको बहस जिकिर सुनियो ।
१२. आज निर्णय सुनाउने पेशी तारेख तोकिएको प्रस्तुत मुद्दामा पू.क्षे.अ.ले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिन परेको छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा जि. संखुवासभाका तत्कालीन कार्यवाहक सभापतिले केही कुपनमा मेरो सहिछाप हो र केही कुपनमा मेरो सहिछाप होइन भनी भनेको पाइन्छ । खाद्यान्न लिनका लागि खाद्य संस्थानमा जम्मा भएका कुपनहरुलाई विशेषज्ञ घनश्याम मुखियाले जाँच गर्दा कारण र तर्क सहित केही कुपनमा भएका सहिछाप सभापतिको सहिछापसंग नमिल्ने राय समेत व्यक्त गरेको पाइन्छ । यसरी कार्यबाहक सभापति इन्द्रबहादुर सोम्याहाङले सही गरेका सक्कली कुपन र निजले मेरो सहिछाप होइन भनी भनेका नक्कली कुपन फरक देखिएको विशेषज्ञको रायलाई तर्कसंगत रुपमा खण्डन नभएसम्म मान्नु पर्ने नै हुन्छ । सभापतिले सबै कुपनमा सही गरेको भए केही कुपनमा मेरो सहिछाप हैन भन्न पर्ने कारण पनि देखिँदैन । साथै सामान्य रुपमा कुपन जसले ल्यायो उसैलाई दिएँ भनी जिम्मेवार व्यक्ति आफ्नो जिम्मेवारीबाट पन्छिन सक्तैन । अतः केही कुपनमा भएका सहिछापसंग सभापतिका सहिछाप नमिल्ने स्थितिमा प्रतिवादी विष्णुबहादुर राईले आफूले लिना खानाको लागि खाद्यान्न भ्रष्टाचार गरेका हुन् भनी मान्नु पर्ने स्थिति हुँदा भ्रष्टाचार गरेको ठहर्याएको कोशी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको पूर्वाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी विष्णबहादुर राई के माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले शुरु कोशी अञ्चल अदालतले जरिवाना रु. ७५,०६०।– गर्ने गरेको र दोश्रो पुनरावेदन हुँदा अ.बं. २०३ नं. बमोजिम ५ प्रतिशतका दरले रु. ३,७५३ थप जरिवाना हुनेछ । बेरुजु हुँदा लगत कसी असूलउपर गर्नु भनी संखुवासभा जिल्ला अदालतमा लगत दिन का.जि. अ.त.मा लगत दिनु…..१
मिसिल नियमानुसार गरी बुझाई दिनु………१
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल फाल्गुण २ गते रोज ३ शुभम् ।