November 21, 1967
Created by nepalarchives

निर्णय नं. ४०० – बाँध काटी दियो

निर्णय नं.  ४००     ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री रंगनाथ उप्रती २०२४ सालको दे.फु.नं. ६५ पुनरावेदक, प्रतिवादी :...

निर्णय नं.  ४००     ने.का.प. २०२५

फुल बेञ्च

न्यायाधीश श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री रंगनाथ उप्रती

२०२४ सालको दे.फु.नं. ६५

पुनरावेदक, प्रतिवादी : शेष शौकत अली

विरुद्ध

विपक्षी, वादी : श्री ५ को सरकार

मुद्धा : बाँध काटी दियो

(१)   माल अड्डाको तहबाट बाँध काटेको हो वा हैन ? भन्ने निर्णय गर्न नमिल्ने ।

            दर्खास्तमा सो बाँध नमालुम कहाँको कस्ले काटी दियो ? नोक्सानी समेत उपर गरी पाउँ भन्ने व्यहोराको दर्खास्त लिई कारवाही गरी मानिसद्वारा काटिएको भनी ठहर गर्न मुनासिव नभएको भन्ने जाहेरी फैसला माल तहबाट गर्न पाउने अधिकार भएको देखिन आएन । माल अड्डाको तहबाट बाँध काटेको हो वा होइन भनी निर्णय गर्नु हुँदैन ।

 (प्रकरण नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद भण्डारी

श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल

फैसला

            १.     जिल्ला विकाश योजना अन्तर्गत भगवानपुर झुन खुनवाका आसपास अन्य मौजामा पर्ने सानो सिंचाईका निमित्त बनाएको कुलोबाट सम्पूर्ण बकिया नदी पसी खेतहरूको बरवादीको साथै रैतीहरूलाई तकलिफ दिएकोले नदीको धार फेर्ने कार्यशिघ्र विकाश योजना अन्तर्गत गराउन आवश्यक छ भन्ने रौतहट मालका हाकिमको प्रतिवेदन, विकाश कमिटिमा पेश हुँदा लेखिएको घटना सत्य भएकोले उक्त योजना कार्यान्वीत गर्ने भन्ने प्रस्ताव स्वीकृति भएपछि प्र.भगवानपुर प्र.झा.दक्षिण मौजाको जिमिदार अन्यायीले नदीको धार फेर्ने योजना सम्पादन गर्ने अधिकार तयार भई दर्खास्त परेपछि उक्त योजनालाई कार्यन्वीत गर्नेतर्फ झाज सिंचाई योजनाको कार्य पालन (ईक्जिक्यूटिभ इन्जीनियर) बाट ईस्टमेट गराउँदा नदीको धार फेर्ने खर्च भा.रु. ७६८०। लाग्ने देखाई मिति ५ मे १९६० मा ईस्टमेट साथ पत्र पठाएकोले योजनाको सम्पादन गर्ने अभिभारा लिई निज शेख शौकतले इन्जिनियरको इस्टमेटबमोजिम योजना पूर्ण गर्छु, पूर्ण नभएमा जाँच गर्दा इस्टमेटबमोजिम भएको नठहरे आफ्नो घर घरानाबाट सरकारी अनुदानको रकम तिर्न बुझाउन मञ्जुर छ भनी २४।१।१७ मा कबुलियत समेत गरी दिई सो काम प्रारम्भ भई चितवन गाउँ विकाशकै केन्द्र गौर अन्तर्गतको ओभरसियरले लक्ष्यअनुसार पूर्ण भईरहेको छ भनी रिपोर्ट दिएकोले दोस्रो किस्ता दिनेतर्फ सिफारीस भई अन्तिम तेस्रा किस्ताको योजना पनि पूर्ण भएको देखिन्छ भन्ने निजले २२ जुन १९६०। मा पत्र लेखी पठाएको । ०१७ साल आषाढ १३ गतेका दिन बकैया नदीमा धार फेर्ने अभिभारा लिई कार्यसम्पादन गरेकोमा ०१७।२।१२ को रातमा नमालुम कसले काटी दिएकोले काट्ने पत्ता लगाई नोक्सानी समेत उपर गराई पाउँ भनी शेख शौकत अलीको जाहेरी दर्खास्त र बकैया नदीको धार यसरी आफ्नो साविक धारमा बनाउने भएकोमा हाल बाँकी रहेको श्रेस्तालाई ईन्जिनियरले गरी दिएको ईस्टमेट बमोजिम सो धार तयार गरी सकेकोमा ०१७ सा आषाढ १२ गतेको राती कसले काटी दिए । वर्षाको समयमा पनि ५।६ पटक बाढी आउँदा पनि बाध टुटेको थिएन । बनाएको कुरा सरजिमन बुझी बाँधलाई पुनः तयार गरी पाउँ भन्ने निजको बयान ।

            २.    जिल्ला विकाश योजना अन्तर्गत बकैया नदीलाई आफ्नो साविक धारमा बगाउने जिल्ला विकाश योजना कमिटिबाट स्वीकृत भई सरकारी अनुदान समेतबाट तयारी भएकोमा आषाढ १२ गतेका राती माथि लेखिएबमोजिम कहाँबाट मानिस आई काटी दिएकोले नदी फेरी लगनास नदीमा बग्न जाँदा दुःख पीर भईरहेकोले नदीलाई बाँध्न पुनः योजना स्वीकृत गरी पाउँ भन्ने समेत सरजमिन ईस्टमेटबमोजिम पूर्ण गर्ने छु भनी २४।१।१७ मा कबुलियत गरी पूर्ण योेजना गराउनेतर्फ ग्राम विकाश केन्द्रमा ओभरसियर तथा झाज सिंचाई योजना अफिसको रेखदेखमा श्रमदान समेत लिई बकैयाको धार फेर्ने योजना भएको । सरजमिनले नाउँ नतोकेकी कसले हो काटी दियो भनी अनिश्चित भनेको र शेख शौकत अलीले नाम खुलाउन नसकेकोले मानिसद्वारा नै काटिएको हो भन्न मनासिव नभएकोले योजना सन्तोषजनक रुपले पूर्ण नहुँदा स्थानीय विकाश नियमबमोजिम निजको कबुलित योजनामा लागेको सरकारी अनुदानको भा.रु.६१३८।१५ निज शेख शौकत अलीले बुझाउनु पर्ने ठहर्छ भन्ने समेत ०१७।१२।६।१ को रौतहट मालको जाहेरी फैसला ।

            ३.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत शेख शौकत अलीको पुनरावेदनमा ईस्टमेटअनुसार काम भएको छैन । बाँधबाट नोक्सान भएन । बाँधको पानी पुरानै धारबाट लगाईएको । बाँध सिद्धि सकेपछि खर्चको अनुमान गर्न सक्तैन । नाप जाँच ओभरसियरबाट गराउन पर्ने थियो भन्ने समेत मुख्य लेखाई भएकोमा ईस्टमेटअनुसार काम नभएको भन्ने प्रस्ट लेखिएको भएपछि मालले गरेको इन्साफ बेमनासिव भन्न नभई इन्साफ मनासिव भन्ने समेत ०१८।५।२६।२ को विरगन्ज गोश्वाराको फैसला ।

            ४.    सो इन्साफमा चित्त बुझेन भन्ने शेख शौकत अलीको पुनरावेदन पर्न आई पेश हुँदा झाज इरिगेसन गइ डिभिजनको ईक्जीक्यूटिभ इन्जिनियरले ता.१९६० मा रौतहट माललाई लेखेको पत्रसाथ रहेको इष्टमेटमा बाँध के कति फिट हुनु पर्ने हो ? सो रौतहट मालबाट खुलाई पठाइ दिनु भनी उक्त माललाई र यस मुद्दामा सरकार तर्फबाट बहस छलफल गराउन उचित देखिएकाले पेशीको दिन उक्त छलफलको लागि सरकारी वकिल पठाई दिनु होला भनी पेशी हुनु अगावै विकाश मन्त्रालय समेतलाई लेखी रौतहट मालको जवाफ आए पछि पेशीको सूचना एटर्नी जनरल अफिसलाई समेत दिई नियमबमोजिम पेश गर्नु भन्ने ०१९।९।१०।३ को डिभिजन बेञ्चको आदेश ।

            ५.    आदेशबमोजिम एटर्नी जनरल अफिसबाट खटी आउनु भएको अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र तारेखमा रहेका पुनरावेदकको वा.बद्रीप्रसाद र निजतर्फका वकिल विद्वान अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता राम नगिना सिंह समेतको बहस समेत सुनी इन्साफतर्फ विचार गर्दा यसमा पुनरावेदकले ०१७।१।२५।६ का कबुलियतबमोजिम काम सिध्याई सके पछि रीतपूर्वक श्री ५ को सरकारलाई बुझाई फरफारक लिनु पर्ने, त्यसो गरेमा मात्र पुनरावेदकको दायित्व नरहने । सो लिएको छु भनी भन्न पनि नसकेको र इन्जिनियरले ईस्टमेटबमोजिम पुरा काम भएको छैन भनी लेखिदिएकाले समेत विरगन्ज गोश्वाराका फैसलामा लेखिएका बूँदा प्रमाणबाट इन्साफ विरगन्ज गोश्वाराको मुनासिव छ । इन्साफ पारी छिन्ने उपर पुनरावेदन गरेमा अ.बं.२०३ नं. ले दोस्रो पुनरावेदन हुँदा रु.१५३।४६ थप दण्ड हुन्छ । वारेश हुँदा असुल गर्नु भनी जिल्लामा अदालतमा लेखी पठाउन तहसीलमा लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनु भन्ने ०२०।१२।११।३ को डिभिजन बेञ्चको फैसला ।

            ६.    डिभिजन बेञ्चबाट भएको फैसलामा चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने शेख शौकत अलीको निवेदन परी न्यायीक समितिबाट यसमा रौतहट प्रगन्ना झाज दक्षिण मौजे फतुहा महेशपुर भगवानपुर समेतको गाउँ नजिकको बकैया नदीको धार पुरानो धारमा फर्काउनलाई बाँध र नहर बनाउने काममा जिल्ला विकाशबाट पाएको रुपैयाँ गाउँको जनसहयोग चन्दा समेतबाट भा.रु.७६८०। मा इन्जिनियरले गरी दिएको इस्टमेटबमोजिम नहर बाँध बनाई तयार भएको काम पूरा गरी सकेपछि जाँच गरी पाउँ भनी मौखिक निवेदन गरेकोमा जाँच भईसकेपछि ०१७।३।१२ गतेको राती नमालुम कसले हो बाँध काटी दिए । काट्ने को हो पत्ता लगाई नोक्सानी भराई फारख पाउँ समेत भन्ने निवेदक शेख शौकतको उजुरी भएको प्रस्तूत मुद्दामा इस्टमेटबमोजिम काम भए नभएको र ठेक्कादारले नोक्सानी बेहोर्नुु पर्ने नपर्ने के हो ? भन्ने निर्णय दिनु पर्ने मुख्य विषय हुन आएको छ । निज निवेदक ठेक्दारको उक्त उल्लेखित उजुरीमा बाँध समेत तयार भईसके पछि जाँच गरी पाउँ भनी मौखिक निवेदन गरी जाँच पास भएको भन्ने लेखिएको । रौतहट मालले झाझहरी सवडिभिजनलाई लेखेको ०१७।२।१६ को पत्रमा जिल्ला विकाश कमिटिबाट स्विकृत भएको मौजे फटुहामा बनिरहेको बाँध र पैनीमा आजसम्म कति काम भएको छ ? र त्यो भईसकेको काममा कतिसम्म खर्च भएको छ ? विकाश नियमबमोजिम त्यस अफिसबाट इस्टमेट भई आएकोले सो योजनाको कार्यको निरिक्षणको रिपोर्टको आवश्यकता भएको, योजनाको कार्यको रिपोर्ट पठाई दिनु होला भन्ने लेखेको वाक्यांशले जाँच पास सम्बन्धमा लेखापढी चलाएको र जवाफमा ईन्जिनीयरले काम सिद्धिएको ६ भागको स्लीप जस्तो हुनु पर्ने हो, त्यस्तो भएको छैन । बाँधको तल्लो भाग ३९ फुट हुनु पर्नेमा केवल ३४ फुुट छ । बाढीको समयमा बाँधको नोक्सानी हुन पाएको छैन । त्यस्को उद्देश्य मोटामोटी रूपमा पुरा भएको छ । वादीको पानी पुरानो धारतर्फ खोलेअनुसार भएको छ । बाढी पास भएको हुनाले खर्चको यकिन गर्न सकिंदैन भन्ने लेखेकोबाट बाँध तयार भएको र जाँच भएको भन्नुु पर्ने हुन आएको छ । विकाश नियम १६ को दफा ११ (३) मा योजना सम्पन्न गर्नालाई ३ किस्ता गरी अनुदान दिइने छ । पहिला किस्तामा २५ दोश्रामा ५० प्रतिशत, बाँकी तेश्रा किस्ता २५ प्रतिशत पुर्णरुपले काम समाप्त भईसके पछि आउने छ भन्ने लेखिएको । सोअनुसार आखिरीको भारु १८४१ रौतहट मालबाट १७।८।५।१ मा निवेदकले बुझी लिएको भरपाईबाट देखिएको । जाँच नभएको भए त्यसरी आखिरी किस्ता दिने सवालै आउने थिएन । जब आखिरी किस्ता दिईयो । त्यसबाट पनि बाँध तयार भएको जाँच भएको भन्ने देखिन आएको छ । उक्त उल्लेखित कुराहरूबाट अरु कुरा ईस्टमेटबमोजिम भएको । १ भागको स्लीप जस्तो हुनु पर्ने हो, त्यस्तो भएको छैन । बाँधको तल्लो भाग ३९ फुट हुनु पर्नेमा केवल ३४ फुट छ भन्ने ईन्जिनीयरको लेखाई हुँदा त्यती कुरामासम्म ईस्टमेट बमोजिम भएको देखिन आएको छ । बाँध र नहर तयार भई स्टमेटबमोजिम मोटा मोटी रूपमा उद्देश्य पुरा भएको र पुरा धारबाट चलेको भन्ने ईन्जिनीयरको लेखाई भएको र उक्त उल्लेखित निवेदकको उजुर परे पछि सरजमिन बुझी दिई सरजमिनले बकैया नदीलाई आफ्नो साविक धारमा बगाउने जिल्ला विकाश कमिटिबाट योजना स्वीकृत भई जनअनुदान र सरकारी अनुदान समेतबाट ६० हात चौडाई १८ हात उँचो बनेको फाँटको खम्बा दक्षिण पट्टि २० नं. गएको माटोको कच्चा बाँध १७ साल जेष्ठ २९ गते तयार भईसकेको थियो । हाल १७ साल आषाढ १२ गतेका राती लेखिएको । बलियो बाँधको पश्चिम भागमा नमालुम कहाँको मानिस आई काटी दिई सकेकोले बाँकी रहेको बाँध पानीको बहावबाट टुट्न गई बकीया नदी बलना नदीमा फेरि बग्न लाग्दा हामीलाई दुःख पीर भईरहेको छ । बकैया नदीलाई साविक धारमा घुमाउने पुनः योजना स्वीकृति गरी पाउँ भनी ७२ जना सरजमिनले लेखी दिएको सो कुरा होइन भन्ने कसैको बिरोध नभएको । बेहिसाब भएको भए सार्वजनिक परिश्रम चन्दा लागेको आफ्नो परिश्रम परेको बस्तु बेहिसाब भएकै हो भनी लेखी दिनु पर्ने । त्यस्तो केही नभएको । यस्तो कुरामा पुरै इस्टमेटबमोजिम नोक्सानी लिनु पर्छ भन्न न्यायोचित हुन आउदैन । ३९ फुटको चौडाईबाट तयार गर्नुपर्नेमा ३४ फुटबाट तयार गरेकोले ३९ फुटको इस्टमेटबमोजिम खर्च मिनाहा प।उँछ भन्न नमिल्ने हुनाले ३९ र ३४ फुटको दामासाहिले ठहरेको नोक्सानी लिनु पर्ने देखिन्छ । तसर्थ, अपीलाटले १७।१।२४।६ का कबुलियतबमोजिम काम सिध्याई सकेपछि रीतपूर्वक श्री ५ को सरकारलाई बुझाई फरफारख लिनु पर्ने, त्यसो गरे मात्र अपीलाटको दायित्व नरहने । इस्टमेटबमोजिम पूरा काम नभएको देखिएको भनी पूरै नाक्सानी लिने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारीस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२३।४।२४।३ को हु.प्र.बक्स भई आएको ।

            ७.    उक्त हुकुम बक्सेको व्यहोरा माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्न निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि निर्णयको २ प्रतिलिपी प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने ०२३।४।२६।४ को आदेश ।

            ८.    डिभिजन बेञ्चको ०२०।१२।१६ को फैसलाले लागेको जरिवाना रु.५३।४६ र कोर्टफी रु. ७।५० जम्मा रु.१६०।९६ दाखिल गरेकोले फुल बेञ्चको लगतमा दर्ता गरी नियमबमोजिम गर्नु भन्ने ०२३।११।२९।२ को आदेश ।

            ९.    अध्ययन गर्नुपर्ने मिसिल कागज नक्कलहरू सारी लिनु पर्ने अध्ययन गर्न समेत समय लाग्ने हुनाले पेसीको तारेख १ महिना पर सारी पाउन अनुरोध छ भनी महान्यायाधिवक्ताको कार्यालयबाट लेखी आएको देखिनाले १ पटकलाई पेशीको तारेख सारी अर्को पेशीको तारेख तोकी दिनु भन्ने ०२४।४।२७ को फुल बेञ्चको आदेश ।

            १०.    मिसिल सामेल रहेको सि.नं.१ को एक्ज्यूकेटीभ इन्जिनियर एस.एस.चौधरीले झगुवा गाउने र बकिया नदीमा बाँधिने बाँधको ठेक (वेस) दर फीट जनाई डाईग्राम बनाएको देखिएको । तर इन्जिनियरले २२ जुन १९६० मा रेखदेख गरी दिएको प्रतिवेदनमा बाँधको ठेक ३९ फिट हुनु पर्नेमा केवल ३४ फिट मात्र छ भन्ने समेत व्यहोरा लेखी दिनु भएको देखिएकोले यस किसिमसँग यति फरक किन पर्न गएको हो ? त्यसको जानकारी बेञ्चलाई हुनु आवश्यक महसूस भएकोले इस्टमेटको र उक्त २२ जुन १९६० को इन्जिनियरको प्रतिवेदनको रीतपुर्वकको नक्कल उतारी सम्बन्धित विभागमा पठाई इन्जिनियरबाट जँचाई त्यसको प्रष्टिकरण लिई नियमबमोजिम पेश गर्नु भन्ने ०२४।६।३।३ को फुल बेञ्चको आदेश ।

            ११.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२४।७।२८ मा पेश भई निवेदक तर्फबाट रहनु भएको विद्वान अधिवक्ता कृष्णप्रसाद भण्डारी र सरकारी अधिवक्ता प्रचन्डराज अनिलको बहस समेत सुनी यो निर्णय सुनाउन आजको तारेख तोकिएको प्रस्तुत मुद्दामा ०१७।१।१२ को पत्रअनुसार प्रस्ताव खुलाई मोटामोटी खर्च र कामको इष्टमेट झाज सिंचाइ योजना डिभिजनबाट पठाएको रहेछ र फतुवा नजिक बकिया नदीको धार फेर्ने काम गर्ने गराउन भनी शेष शौकत अलीको ०१७।१।२४ मा कबुलियत भएको रहेछ । ०१७।१।२४ मा ०१७।२।१६ मा र ०१७।८।५।१ मा अन्तिम किस्ता बुझेको भरपाईबाट जम्मा इष्टमेट खर्च ७६८०। को सयकडा ५० सरकारबाट अनुदान पाउने बुझेको भरपाइ पेश भएको रहेछ । उक्त कामको निमित्त दर्खास्त परेको रहेछ । इष्टमेटबमोजिमको बाँधको नापी उपरोक्त कबुलियत दर्खास्त भरपाइमा समेत खुलाएको रहेनछ । इष्टमेट विवरणमा जलश्रोतको समेत सर्भे हुन पर्ने भन्ने पत्र भए पनि त्यस्तो सर्भे गरेको देखिएन ।

            १२.   श्री त्रिभुवन ग्राम विकाश विभागको डिस्ट्रिक अफिसरले सिफारिस गरेको डि.ओ.एस.को ०१७।२।१६ को पत्रमा ०१७।२।१४ मा पैती हेरियो अरु बढी कामको निमित्त दोश्रो किस्ता दिईयोस भन्ने पत्रअनुसार डिस्ट्रिक अफिसरलेसम्म काम योग्य ठहराएको छ । त्यसपछि ०१७।२।१६ र ०१७।८।५ मा ठेक्दारलाई किस्ता दिएको छ । ६० जुन २२ को झाज ईरिगेसनको पत्रमा इन्तजाम भए जस्तो ठालु छैन । ३९ फिज हुनु पर्ने जग्गामा ३४ फिट मात्र बनेको छ । बाँध गैसकेको छ । प्रस्तावअनुसार बाढी चली सकेको छ । नापी जाँच गर्नु पर्छ । खर्च रोकिन हुँदैन भन्ने समेत व्यहोराको झाज सिंचाई योजनाको पत्र पाएपछि ०१७।८।५।१ अन्तिम किस्ता दिएको देखिन्छ ।

            १३.   इष्टमेटबमोजिम काम भएको छैन भनी ठेक्दारलाई हटक गर्नु सट्टा बि.डी.ओ.बाट सिफारिस हुँदैछ । इष्टमेट विवरण नखुलाई कबुलीयत माल अड्डाले गराएको छ । ०२४।७।२।५ को झाज नहर सवडिभिजनको पत्रले पनि जलश्रोतको सर्भे हुनु पर्ने मुनासिव थियो । मिट्टीको बाँधमा दुइ तर्फबाट पानीको दवावले बाँध कमजोर देखिन्छ । १।२ सहायक स्पर इष्टमेटमा हुनु पर्ने थियो । ठेक्दारको गल्ती नदेखिइ कामको खर्च दिनु पर्ने मुनासिव देखिन्छ भनी लेखेकोले इष्टमेटमै गल्ती गरेको बुझिन आयो ।

            १४.   इष्टमेटमा रहेको ६८ फुट जग नराखी ३४ फुटको मात्र ठेक्दारले बनाएको छ । यसरी ठेकको किस्ता दिने सिफारीस गर्ने र लिने समेत भई भएको यस्तो कामलाई इष्टमेट बमोजिम बनेको भनी इन्जिनियरको पत्रको साथसाथै ठेक्दारसँग अनुदान बिगो असुल गर्ने फैसला भएको रहेछ । बही बुझ्ने सिलसिलामा कति मिनाहा दिई को सँग कति असुल गर्ने भन्ने काम नभई फैसला माल अड्डाबाट भएको रहेछ । मधेश गोश्वाराको ऐन, २०१२ को दफा १५ अनुसार मिनाहा लिने रीत तोकिएको छ । उसमा पनि ०१७।३।१३ को दर्खास्तमा सो बाँध नमालुम कहाँको कसले काटी दियो ? नोक्सानी समेत उपर गरी पाउँ भन्ने व्यहोराको दर्खास्त लिई कारवाही गरी मानिसद्वारा काटिएको भनी ठहर गर्न मुनासिव नभएको भन्ने जाहेरी फैसला माल तहबाट गर्न पाउने अधिकार भएको देखिन आएन । माल अड्डाको तहबाट बाँध काटेको हो हैन भनी निर्णय गर्न हुँदैन ।

            १५.   तसर्थ, शेष शौकत अलीबाट लिने गरी गोश्वाराले मालको फैसला सदर गरेको रायसँग सहमत भई डिभिजन बेञ्चबाट भएको फैसलासँग सहमत छैन । लगत काटी दिने समेत तपसीलबमोजिम गर्नु ।

 

तपसील

रौटहत प्रगन्ना झाझ, दक्षिण भौ.भगवानपुर बस्ने जिमिदार शेष शौकत अलीके रौतहट मालको २०१७ साल चैत्र १६ गतेको फैसलाले निजबाट लिने गरेको रु.६१३८।१५ विरगन्ज गोश्वाराको २०१८।५।२६।२ को फैसलाले स.गोश्वारामा अपील गरेमा भएको रु.३०६।९२ गोश्वारा उपर स.अ.मा अपील गरेमा स.अ.डिभिजन बेञ्चको ०२०।१२।३ को फैसला ०२१।३।११।४ का लगतले लागेको रु.१५३।४६ समेत असुल भए फिर्ता नभए व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी रौतहट मालमा लेखी पठाउन का.श्रे.अ.त.मा लगत दिनु …………………..१

गल्ती इन्साफ गरेमा देहायको मानिसको रेकर्ड राख्न जनरल विभागमा लेखी पठाई दिनु ०१७।१२।२।६ मा वाहाल रहेको रौतहट मालका हाकिम सुव्वा जनकमान सिं अधिकारी १, विरगन्ज गोश्वारामा २०१८ साल भाद्र २६ गते २ मा वाहाल रही देहायका मानिस बडाहाकीम सेरबहादुर साही १, असिष्टेन्ट बोधनाथ अधिकारी १, मु.ईश्वरप्रसाद उपाध्याय १

मिसिल नियमबमोजिम बुझाई दिनु …………………….२

 

इति सम्वत् २०२४ साल मार्ग ५ गते रोज ३ शुभम् ।