January 23, 1990
Created by nepalarchives

निर्णय नं. ३९९१ – भ्रष्टाचार

निर्णय नं. ३९९१     ने.का.प. २०४६                        अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ५३५ फैसला...

निर्णय नं. ३९९१     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४५ सालको दे.पु.नं. ५३५

फैसला भएको मिति :      २०४६।१०।१०।३ मा

पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला बलाहा गा.पं. वा.नं. ९ बस्ने रामऔतार यादव

विरुद्ध

वादी : श्री ५ को सरकार

मुद्दा : भ्रष्टाचार

§  मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले नमिल्ने ।

(प्रकरण नं. २३)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल

वादी तर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

फैसला

     न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय यस प्रकार छ ।

      २.    कृषि विकास बैंक, शाखा कार्यालय वीरगंजको प्रशाखा कार्यालय देबरबनका लेखापाल शैलेन्द्र यादवले नेपाल बैंक लि.जनकपुरमा बचत खाता खालेको र सोही बैंकका शुशिला दाहालले पनि खाता खोली बचत नं. ५१९८ मा जम्मा गरेको रु. १५,०००।सोही बैंकमा काम गर्ने पलटन यादव, नरेन्द्र मण्डन र शैलेन्द्र यादवले मिलेमतो गरी सो रकम झिकी खाता बन्द गरेकोले यस्ता भ्रष्टाचारी प्रबृति भएकालाई कारवाही गरी सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागमा परेको निवेदन ।

      ३.    शुशिला दाहालले जम्मा गरेको रकमको भौचर देखें, मैले नै पोष्टिङ गरेको छु । भूलले ५१९८ मा जम्मा हुनु पर्नेमा शैलेन्द्र यादवको हिसाब नं. ३१९८ मा जम्मा हुन गएको हो । शैलेन्द्र यादवले सो रकम झिकी खर्च गरेको हो, दृष्टि नपुगी दोष हुन गएको भन्ने समेत व्यहोराको नरेन्द्र मण्डलले विशेष प्रहरीमा गरेको बयान ।

      ४.    मिति २०३४।११।६ मा शुशिला दाहालले खाता नं. ५१९८ मा जम्मा गरेको रु. १५,०००।शैलेन्द्र यादवले हिसाब नं. ३१९८ मा भूलले जम्मा हुन गएछ । बैंकको नियमले एउटाको रकम अरुको खातामा जम्मा गर्न मिल्दैन भन्ने समेत व्यहोराको पलटन यादवले विशेष प्रहरीमा गरेको बयान ।

      ५.    खाता नं. ३१९८ मेरो हो । पलटन र नरेन्द्र मण्डलसंग जान पहिचान छ । शुशिला दाहालले जम्मा गरेको रु. १५,०००।निजको खातामा ५१९८ मा जम्मा हुनु पर्नेमा मेरो खातामा जम्मा भएको छ । यस सम्बन्धमा मलाई केही थाहा छैन । सो रकम मेरो बुबाले जम्मा गरी दिनु भएको रहेछ भन्ने समेत व्यहोराको शैलेन्द्र यादवले गरेको बयान ।

      ६.    शैलेन्द्र यादवको नाममा रहेको खाता नं. ३१९८ मा रु. १५,०००।मैले जम्मा गरी दिएको हो भौचर मसंग छैन भन्ने समेत व्यहोराको रामऔतार यादवले प्रहरी विभागमा गरेको बयान ।

      ७.    विवादित रकम शैलेन्द्र यादव र निजका बाबु रामऔतारले झिकी खाएकोले अर्को तारेखमा दामासाहीले बुझाउने छौं भन्ने समेत व्यहोराको रामऔतार, पलटन र नरेन्द्र समेतले विशेष प्रहरी विभागमा दिएको संयुक्त निवेदन ।

      ८.    शैलेन्द्र यादव, नरेन्द्र मण्डल, पलटन यादवले आफूलाई गैरकानुनी लाभ र नेपाल बैंकलाई गैरकानुनी हानी पुर्‍याएको देखिएकोले, निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र रामऔतार यादव उपर ऐ.को दफा १६(क) अनुसार कारवाई भई हदैसम्म सजायँ भई बिगो रु. १५,०००।प्रतिवादी शैलेन्द्र यादवबाट असूलउपर गरी बैंकलाई बुझाई भराई पाउँ भन्ने समेत व्यहोराको बागमती विशेष अदालतमा दायर आरोपपत्र ।

      ९.    भूलले शुशिला दाहालले ५१९८ नं. मा जम्मा गर्न ल्याएको रकम हि.नं. ३१९८ मा जम्मा हुन गएको खाने मनसायले यस्तो नगरेको भन्ने समेत व्यहोराको नरेन्द्र मण्डलले बागमती विशेष अदालतमा गरेको बयान कागज ।

      १०.    मैले आरोपित कसूर गरेको होइन छैन । रु. १५,०००।मैले छोराको खाता नं. ३१९८ मा मिति २०३४।११।६ मा जम्मा गरेको थिएँ भौचर मसंग छैन । मिलापत्रमा सही गरी दिनोस भनेकोले सही गरेको हुँ भन्ने समेत व्यहोराको रामऔतार यादवले अदालतमा गरेको बयान ।

      ११.    भूलको कारण यसरी रकम जम्मा हुनगएको हो । आफूलाई गैरकानुनी लाभ र बैंकलाई हानीपुर्‍याएको छैन । संयुक्त निवेदनमा गरेको सही मेरो राजीखुशीको होइन भन्नेसमेत व्यहोराको पलटन यादवले अदालतमा गरेको बयान ।

      १२.   मिति २०३४।११।६ मा मेरो बुबा रामऔतारले जम्मा गरेको रु. १५,०००।रकम पटक पटक मैले झिकी लिएको आरोपित कसूर मैले नगरेको भन्ने समेत व्यहोराको शैलेन्द्र यादवले अदालतमा गरेको बयान ।

      १३.   मिलेमतो रहे भएको ठोस प्रमाणको अभावमा निज पलटन यादव र नरेन्द्र मण्डलले सफाई पाउने, शैलेन्द्र यादवले भ्र.नि.ऐन, ०१७ को दफा ७(२) को कसूर गरेको हुँदा निजलाई जरिवाना रु. १५,०००।हुन्छ । रामऔतार, शलेन्द्र यादवको मतियार देखिँदा निजले ऐ.ऐनको दफा १६(क) बमोजिमको कसूर गरेको देखिँदा निजलाई आधा जरिवाना रु. १,५००।जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.वि.अ.को फैसला ।

      १४.   बागमती विशेष अदालतबाट वादी दावी बमोजिम सजायँ गर्ने गरेको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको रामऔतार यादव र शैलेन्द्र यादवले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पृथक पुनरावेदन ।

      १५.   शैलेन्द्र यादवले बैंकबाट पटक पटक आफ्नो खाता नं. को रकम झिकेको, निजले बदनियत राखी उक्त रकम झिकी खाएको भन्ने प्रमाणित हुन नआएको, यस अवस्थामा निज उपरको आरोपित कसूर ठहर गरेको बागमती विशेष अदातलको इन्साफ मिलेको नदेखिँदा सो हदसम्मको इन्साफ उल्टी हुने र रामऔतार यादवको हकमा इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

      १६.    म बेसरोकारवाला व्यक्तिलाई कसूरदार ठहर गरी, अन्य सबै प्रतिवादीलाई सफाई दिएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला प्रमाणको मूल्यांकन नगरेको हुँदा दावीबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रामऔतार राय यादवबाट यस अदालत समक्ष पर्न आएको पुनरावेदन ।

      १७.   मूल कसूरदारलाई सफाई दिई मतियारलाई सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला फरक पर्ने देखिँदा वादी श्री ५ को सरकारलाई सूचना दिई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

      १८.   नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले र वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले गर्नु भएको बहस जिकिर सुनियो ।

      १९.    मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिन पर्ने देखियो ।

      २०.   निर्णयतर्फ हेर्दा यसमा प्रतिवादी नरेन्द्र मण्डल, पलटन यादव र शैलेन्द्र यादव उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७(२) र पुनरावेदक प्रतिवादी रामऔतार यादव उपर शैलेन्द्र यादवको मतियार भनी ऐ.को दफा १६(क) अनुसार कारवाही गरी सजायँ होस् भनी विशेष प्रहरी विभागबाट आरोपपत्र दायर भएको देखिन्छ ।

      २१.   बागमती विशेष अदालतबाट प्रतिवादीहरु मध्ये नरेन्द्र मण्डल र पलटन यादवलाई आरोपित कसूरबाट सफाई दिने ठहर भए उपर र शैलेन्द्र यादवलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सफाई दिए उपर वादी श्री ५ को सरकारबाट पुनरावेदन परी आएको पाइएन ।

      २२.   मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गर्दा प्र.शैलेन्द्र यादव उपरको वादी दावी नपुग्ने ठहरिई फैसला भएको देखिन्छ भने शैलेन्द्र यादवका बाबु मतियार भनिएका पुनरावेदक प्र.रामऔतार उपरको कसूर ठहर गरेको बागमती विशेष अदालतको फैसलालाई मनासिब ठहर गरेको पाइन्छ ।

      २३.   पुनरावेदक प्रतिवादी शैलेन्द्र यादवको मतियार भएको कारणले नै निज उपर भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) बमोजिम सजायँको माग दावी लिई वादी श्री ५ को सरकारबाट आरोपपत्र दायर भएको देखिन्छ । सजायँ हुने कुनै कसूरको मतियारलाई त्यस्तो कसूर गर्ने व्यक्तिलाई हुने सजायँको आधा सजायँ हुने कानुनी व्यवस्था ऐनको दफा १६(क) मा उल्लेख भएको पाइन्छ । पुनरावेदक प्रतिवादीको मुख्य कसूरदार भनिएका शैलेन्द्र यादव उपरको अभियोग पुग्न नसकी निजले सफाई पाउने ठहरी भएको फैसला उपर वादी श्री ५ को सरकारबाट पुनरावेदन समेत नपरेको, मूल कसूरदार उपरको आरोप प्रमाणित नभएको स्थितिमा मतियारलाई सजायँ गर्न भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(क) ले मिल्ने नहुँदा कसूरदार ठहर भएका पुनरावेदक प्रतिवादी मतियारलाई कसूरदार ठहर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत नहुँदा उल्टी हुन्छ । पुनरावेदक प्रतिवादी रामऔतार राय यादवले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

     

तपसील

पुनरावेदक प्रतिवादी रामऔतार राय यादवके इन्साफ खण्डमा लेखिए बमोजिम सफाई पाउने ठहरेकाले बागमती विशेष अदालतको फैसलाले गर्ने गरेको जरिवाना रु. ७,५००।मध्यमाञ्चल क्षेत्रीय अदालतले गर्ने गरेको थप जरिवाना रु. ७५०।अब नलाग्ने हुँदा असूल भइसकेको भए नियम बमोजिम निजलाई फिर्ता दिनु भनी का.जि. अ. मार्फत लगत दिनु…१

पु.वे. प्र.राम औतारबाट दावीको विगो रु. १५,०००।नेपाल बैंक जि. जनकपुरलाई भराई दिने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले राखेको लगत अब कायम राख्न नपर्ने हुँदा सो लगत कट्टा गरी दिन सम्बन्धित अदालतमा लगत दिनु…२

पु.वे. प्र.राम औतारको हकमा शैलेन्द्र यादवले राखी दिएको जेथा जमानीको जग्गा रोक्का रहेको देखिँदा कानुन बमोजिम फुकुवा गरी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाउन लगत दिनु…३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल माघ १० गते रोज ३ शुभम् ।