February 25, 1990
Created by nepalarchives

निर्णय नं. ३९८९ – उत्प्रेषण

निर्णय नं. ३९८९     ने.का.प. २०४६                        अङ्क ११ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं. १२०६...

निर्णय नं. ३९८९     ने.का.प. २०४६                        अङ्क ११

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको रि.नं. १२०६

आदेश भएको मिति : २०४६।११।१४।१ मा

रिटनिवेदक :  पशुपति सोप ईण्डष्ट्रिज (प्रा.) लि. को तर्फबाट ऐ.का अधिकार प्राप्त संचालक शंकरलाल

विरुद्ध

विपक्षी : विराटनगर भन्सार कार्यालय, विराटनगरसमेत

विषय : उत्प्रेषण

§  एकपटक एउटा संकेत नम्बर अन्तर्गतको बस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अख्तियारी भन्सार ऐनले दिएको मान्न नमिल्ने ।

(प्रकरण नं. ९)

रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा

विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र वस्न्यत

आदेश

     प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

      २.    निवेदकको साबुन उत्पादन गर्ने उद्योगले चाहिने कच्चा पदार्थ आर.बि.डि. पाम स्टेरीन विदेशबाट आयात गर्न वाणिज्य विभागबाट इजाजत लिई झिकाई भन्सार ऐन र नियम बमोजिम भन्सार प्रज्ञापनपत्र नं. ४५२६ मिति २०४५।२।१३ मा भरी विपक्षी भन्सार कार्यालयमा पेश गरेकोमा भन्सार ऐन, २०१९ को दफा ५ बमोजिम जाँच चेक भई कानुन बमोजिम लाग्ने भन्सार दरबन्दी संकेत नं. १५०७(ड) लगाई सो दरबन्दी अनुसार मालका मूल्यमा १० प्रतिशत भन्सार महसूल रु. २,३६,००३।लाग्ने भनी असूल गरी माल आयात गर्न दिनु भएको थियो । त्यसको करीब ८ महीना पछि हाल आएर म.ले.प. डोर विराटनगरको लेखौटको आधार लिई उक्त प्रज्ञापन पत्रको सन्दर्भमा भन्सार दरबन्दीको संकेत नं. १५.०७ ज. लाग्नु पर्ने म.ले.प.बाट लेखी आएकोले २५ प्रतिशतले हुने भन्सार महसूलको अंकमा असूल भएको रकम कटाई नपुग रकम रु. ३,५४,००४।०५ बेरुजु हुँदा दाखिल गर्न ल्याउनु भनी २०५४।१०।३ मा पत्र पठाउनु भयो ।

      ३.    भन्सार ऐन, २०१९ को दफा ५, १३, १४क ले भन्सार महसूल निर्धारण गर्ने तथा भन्सार दरबन्दीको कुन संकेत नं. लाग्ने भनी तोक्ने अधिकार भन्सार अधिकृतलाई मात्र छ । सो बमोजिम तत्कालीन भन्सार अधिकृतले हाम्रो मिति २०४५।२।१३ को प्रज्ञापन पत्र नं. ४५२६ मा उल्लेखित माल सामान हेरी जाँची सम्बन्धित बिल तथा आयात इजाजतपत्रमा उल्लेखित भन्सार दरबन्दीका मालको संकेत नं. १५.०७(ङ) मा पर्चा ठहर्‍याई सो दरबन्दी अनुसार १० प्रतिशतले भन्सार महसूल असूल गरी माल छाड्नु भएको र सो कच्चा पदार्थबाट उत्पादन भएका सामानको परल मोल तथा मुनाफाको विचार गरी मूल्य निर्धारण भई बिक्री समेत भइसकेपछि म.ले.प. को डोरलाई हिसाब सम्बन्धी मूल हेर्नु पर्ने बेरुजु ठहर गर्नु पर्ने बाहेक हाम्रो मालमा भन्सार अधिकृतको निर्णय विपरीत भन्सार दरबन्दीका अन्य संकेत नै लाग्ने भनी ठहर गर्ने अधिकार भन्सार ऐनले प्रदान गरेको छैन । भन्सार दरबन्दीको संकेत नं. १५.०७ज हेरिएमा उक्त संकेत नं. मा पाम आयल भनी उल्लेख छ तर हाम्रो कच्चा पदार्थ सो नभई आर.बि.डि. पाम स्टेरीन आयल अन्य पदार्थ भएको नाउँबाट नै प्रष्ट छ । साथै इजाजत दिने निकाय समेतले यस मालमा १० प्रतिशतले लाग्ने दरबन्दीको संकेत नं. उल्लेख गरी इजाजत दिनु भएकोबाट समेत २५ प्रतिशतले भन्सार लाग्ने जिकिर अनुचित छ । विपक्षीहरुको उक्त काम कारवाहीबाट नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) समेतद्वारा प्रदत्त हक अधिकारमा आघात पुगेकोले उत्प्रेषणको आदेशद्वारा प्रत्यर्थी विराटनगर भन्सार कार्यालयको मिति २०४५।१०।३ को आदेश बदर गरी साविक मिति २०४५।२।१३ को भन्सार कार्यालय विराटनगरको प्रज्ञापनपत्र निर्णय कायम गरी पाउँ भन्ने समेतको रिटनिवेदन ।

      ४.    यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।

      ५.    रिट निवेदकले मलेसियाबाट आयात गरेको आर.बि.डि. पाम स्टेरीन प्रज्ञापनपत्रमा घोषणा गरी प्र.प.नं. ४५२६ मिति २०४५।२।१३ बाट दर्ता गराई यस कार्यालयबाट भन्सार दरबन्दीको संकेत नं. १५.०७ (ड) लगाई १० प्रतिशतले भन्सार महसूल रु. २,३६,००३।असूल गरी सामान जाँच पास भएकोमा आ.ब. २०४४।०४५ को श्रेस्ता म.ले.प. विभागबाट अन्तिम लेखा परीक्षण हुँदा उक्त पाम स्टेरीन आयालको भन्सार महसूल दरबन्दीको कोड नं. १५.०७ अनुसार २५ प्रतिशत (लाइसेन्समा समेत १५.०७ संकेत नं. भएको) ले महसूल रु. ५,९०,००६।७५ असूल गर्नु पर्नेमा प्रज्ञापनपत्रमा दरबन्दी संकेत नं. १५.०७ नं. उल्लेख गरेको (लाइसेन्स अनुसार) तर १० प्रतिशतले हिसाब गरी महसूल असूल गरेको हुँदा घटी असूल गरेको ३,५४,००४।०५ असूल गर्नु भनी म.ले.प.को विभाग डोर मुकाम विराटनगरको मिति ०४५।९।२९ को पत्रसाथ बेरुजूको संलग्न लिष्ट समेत यस कार्यालयमा प्राप्त हुन आएको म.ले.प. डोरबाट प्राप्त कैफियत पत्रमा संकेत नं. १५.०७ अनुसार २५ प्रतिशतले महसूल असूल गर्नु पर्ने भन्ने मात्र उल्लेख भई उप संकेत नं. उल्लेख नभएको र २५ प्रतिशतले भन्नाले उपसंकेत नं. (ज) पर्ने भएकोले निवेदकले आयात गर्नु भएको आर.बि.डि. पाम स्टेरीन उक्त संकेत नं. १५.०७ (ज) अनुसार रिट निवेदकलाई छूट रकम रु. ३,५४,००४।०५ दाखिल गर्न ल्याउनु भनी पत्र पठाइएको हो । राजश्व संकलन गर्ने कार्यको सिलसिलामा छूट हुन गएको रकम असूल उपर गर्नु नै पर्ने र सो छूट रकम पछिबाट असूल उपर गर्न नपाउने भन्ने कुनै ऐन नियममा उल्लेख नभएको हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेतको भन्सार कार्यालय विराटनगरको लिखितजवाफ ।

      ६.    रिट निवेदकले आयात गरेको वस्तुको प्रज्ञापनपत्रमा भन्सार दरबन्दी संकेत नं. १५.०७ नै उल्लेख गरेको (लाइसेन्स अनुसार) तर १० प्रतिशतले हिसाब गरी रु. २,३६,००२।७० मात्र असूल गरेको हुँदा घटी असूल गरेको रु. ३,५४,००४।०५ असूल गर्नु पर्ने व्यहोरा विराटनगर भन्सार कार्यालयलाई लेखी पठाएको । यस विभागको कार्यक्षेत्र भित्र रही विराटनगर भन्सार कार्यालयको राजश्वको लेखा परीक्षण गर्दा देखा परेको अनियमिततालाई यस विभागबाट त्रुटि औंल्याई कानुन बमोजिम छूट हुन गएको राजश्व असूल गर्नु भनी पठाइएको पत्रबाट निवेदकको कुनै हकमा असर परेको छैन । रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत महालेखा परीक्षकको विभागको लिखिजवाफ ।

      ७.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हाले निवेदक उद्योगले आर.बि.डि. पाम स्टेरीन भन्ने कच्चा पदार्थ आयात गरेको छ । त्यसको लागि भन्सार दरबन्दीको संकेत नं. १५.०७ (ड) नै लाग्ने स्पष्ट छँदा छँदै पाम आयाल बापत लाग्ने संकेत नं. १५.०७ (ज) अनुसारको २५ प्रतिशतले भन्सार महसूल लाग्छ भन्ने प्रत्यर्थीको पत्र समेत गैरकानुनी छ भन्ने समेतको बहस गर्नुभयो । प्रत्यर्थी कार्यालयहरुको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यातले म.ले.प. विभागले नेपालको संविधान अनुसार नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको विचार गरी राजश्व समेतमा लेखा परीक्षण गर्न सक्ने अधिकार अनुरुप बढी भन्सार लाग्ने वस्तुमा कम लगाएको देखी सो त्रुटि हटाई घटी भएको रकम असूल गर्ने तर्फ गरिएको कारवाही कानुन सम्मत छ भन्ने समेतको बहस गर्नुभयो ।

      ८.    प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होईन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

      ९.    यसमा निर्णयतर्फ हेर्दा मलेसियाबाट झिकाइएको औद्योगिक कच्चा पदार्थ आर.वि.डी, पाम स्टेरिन २०४५।२।१३ मा विराटनगर भन्सार कार्यालयमा आउँदा भन्सार दरबन्दीको संकेत नं. १५.०७(ड) लगाई सो दरबन्दी अनुसार मालको मूल्यमा १० प्रतिशतले भन्सार महसूल असूल गरिसकेकोमा त्यसको करीब ८ महीना पछि म.ले.प. डोर विराटनगरको लेखौटको आधार लिई उक्त प्रज्ञापनपत्रको सन्दर्भमा भन्सार दरबन्दीको संकेत नं. १५.०७(ज) लाग्नु पर्ने म.ले.प.बाट लेखी आएकोले २५ प्रतिशतले हुने भन्सार महसूलको अंकमा असूल भएको रकम कटाई नपुग रकम बेरुजु हुँदा दाखिल गर्न ल्याउनु भनी पत्र पठाइएकोले उक्त कारवाही बदर गरिपाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको पाइन्छ । रिट निवेदकबाट २०४५।२।१३ मा भन्सार महसूल लिंदा संकेत नं. १५.०७(ड) अन्तर्गतको सामान भनी १० प्रतिशतले भन्सार महसूल निर्धारण गरी लिएको देखिन्छ । पछि मिति २०४५।१०।३ मा थप भन्सार महसूल माग गर्दा भन्सार दरबन्दी संकेत नं. १५.०७(ज) अन्तर्गत २५ प्रतिशत लाग्नु पर्ने भनी विराटनगर भन्सार कार्यालयबाट लेखी पठाएको देखिन्छ । उक्त भन्सार दरबन्दीको संकेत नं. १५.०७(ज) मा खजूरको तेल भन्ने लेखिएको पाइन्छ भनी रिट निवेदकले आयात गरेको वस्तुमा आर.वि.डी. पाम स्टेरीन औद्योगिक कच्चा पदार्थ (नन एडिवल) भन्ने देखिन्छ । प्रत्यर्थी भन्सार कार्यालयको लिखितजवाफबाट रिट निवेदकले आयात गरेको बस्तु खजूरको तेल नै हो भनी यकीन भन्न सकेको पनि देखिँदैन । महालेखा परीक्षकको बेरुजूको सन्दर्भमा लेखिएको भन्ने उक्त मिति २०४५।१०।३ को पत्रबाट खजूरको तेल भन्ने देखिन्छ । महालेखा परीक्षक डोर विराटनगरबाट लेखेको पत्रमा पनि उक्त आयातित माल बस्तु खजुरको तेल भनी किटान गरेको पाइएन । उक्त पत्रमा संकेत नं. १५.०७ अन्तर्गत आयात इजाजतपत्र पाएको भन्नेसम्म लेखिएको पाइन्छ । सो संकेत नं. १५.०७ मा देहायका सामानहरुमा १० प्रतिशत तथा २५ प्रतिशत भन्सार महसूल लाग्ने भनी (क) देखि (ड) सम्म विभिन्न माल वस्तुहरु तोकिदिएको पाइन्छ । त्यस मध्ये रिट निवेदकले आयात गरेको बस्तु कुन आइटम अन्तर्गत पर्ने भएकोले २५ प्रतिशत भन्सार महसूल लाग्ने हो खुलाउन सकेको पाइँदैन । यस्तो अवस्थामा एकपटक एउटा संकेत नम्बर अन्तर्गतको बस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अख्तियार भन्सार ऐनले दिएको मान्न मिलेन । तसर्थ रिट निवेदकसंग थप भन्सार महसूल माग गरेको कार्य त्रुटिपूर्ण देखिन आएकोले प्रत्यर्थी भन्सार कार्यालय विराटनगरको थप रकम बुझाउन भनी लेखिएको मिति २०४५।१०।३ को पत्र तथा तत्सम्बन्धी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको एकप्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाईल नियमानुसार गरी बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल फाल्गुण १४ गते रोज १ शुभम् ।