February 22, 1990
Created by nepalarchives

निर्णय नं. ३९८४ – लिखत दर्ता बदर

निर्णय नं. ३९८४     ने.का.प. २०४६                        अङ्क ११ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...

निर्णय नं. ३९८४     ने.का.प. २०४६                        अङ्क ११

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.इ.नम्बर ८७

फैसला भएको मिति :      २०४६।११।११।५ मा

निवेदक/वादी : जि. सर्लाही गा.पं. हथिऔल वडा नं. ७ बस्ने रामस्वरुप सहनीमलाह

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने रामसेवक सहनीसमेत

स.अ.डि.वे.को फैसला ने.का.प. २०४३, भाग २८, अङ्क ३, पृष्ठ २५६ मा प्रकाशित ।

मुद्दा : लिखत दर्ता बदर

§  अंश लिई छुट्टी भिन्न भएका हुन् वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन, यसरी अंश मुद्दाको फैसला अन्तिम भइरहेको र उक्त फैसला बमोजिम सगोलका अंशियार हुन् भनी ठहर भइरहेको अवस्थामा अर्कै मुद्दाको मिलापत्रको व्यहोरामा छुट्टी भिन्न भइसकेको अंशियार भन्ने लेखिएकै आधारमा विबन्धन लाग्ने भन्न नमिल्ने ।

 (प्रकरण नं. १३)

§  अंश मुद्दामा तायदाती लिई अंश पाउने गरी भएको फैसला समेतबाट निजहरु लिखत हुँदाका अवस्थामा सगोलमा रहे भएको र बिक्री गरेको सम्पत्तिमा वादीको आधा हक कायम रहेको देखिने ।

(प्रकरण नं. १३)

फैसला

     प्र.न्या. धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१।७।१ मा भएको इन्साफ दोहोर्‍याई पाउँ भनी रामस्वरुप सहनी मलाहले न्यायिक समिति मार्फत चढाउनु भएको निवेदनमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

      २.    विपक्षी मध्येका रामसेवक सहनी मेरा भाइ भई निजले रीतपूर्वक बण्डापत्र नदिँदा मैले निज उपर अंश मुद्दा दिएकोमा ०३५।१२।२९ सम्मको चल अचल सम्पत्तिको तायदाती दाखेल गर्ने आदेश भई दाखेल गरेकोमा सो जग्गाहरु तायदातीमा नपरेकोले बुझ्दा विपक्षी रामसेवकको नाउँको बलरा गा.पं. वार्ड नं. ४ को कि.नं. ४५ को ज.वि. ०० वडा नं. ९ को कि.नं. ८१ ०१० वडा नं. ९ कि.नं. १०९ को ज.वि. ०१५ जम्मा ज.वि. ०१३५ विपक्ष मध्येका लखन मण्डलका नाउँमा लेखत पारीत गरी दिएकोले म्यादैभित्र उजूर गर्न आएको छु ज.वि. ०१२ को लिखत र दर्ता बदर गरिपाउँ भन्ने ०३६।६।७ को फिरादपत्र ।

      ३.    वादी दावी जिकिर तथ्यहिन एवं काल्पनिक छ ब्रजमोहनप्रसाद सिंह सितको मुद्दामा ०३४।९।२५ मा मिलापत्रमा मेरो भिन्न बसेका भाइ रामसेवक सहनी भनी उल्लेख भएबाट विपक्षी सगोलमा नरहेको दाता रामसेवक सहनीसंग भिन्न भएको हुँदा र सो जग्गा दाताको निजी आर्जन हुँदा फिराद दावी खारेज हुनुपर्ने भन्ने ०३६।९।८ को प्रतिउत्तरपत्र ।

      ४.    प्रतिवादी रामसेवक सहनीले आफ्नो हक भोगको जग्गा लिखत गरी धनीको नालेश परी फैसला भई पारीत भएको कुरा आफूले पहिले अदालतमा व्यक्त गरिसकेको कुरामा विबन्धनको सिद्धान्त विपरीत नालेश गरेको देखिँदा फिराद दावी पुग्न सक्तैन भन्ने समेत सर्लाही जिल्ला अदालतको ०३७।५।१ को फैसला ।

      ५.    उक्त इन्साफमा चित्त बुझेन भन्ने रामस्वरुप मलाहको ज.अं.अ. मा परेको पुनरावेदन ।

      ६.    रामस्वरुप सहनी र रामसेवक सहनी अंशियार भई घरको मुख्य व्यक्ति रामस्वरुप नै रहे भएको कुरामा आजै निर्णय भएको अंश मुद्दाबाट देखिन आउँदा रामस्वरुपको हकमा बिक्री गरेको जग्गाको आधा लिखत दर्ता बदर हुने हुँदा सो हदसम्म शुरु इन्साफ उल्टी हुने ठहर्छ भन्ने जनकपुर अं.अ.को ०३९।३।२८।२ को फैसला ।

      ७.    ज.अं.अ. को फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा ०३४।९।२५।२ मा मिलापत्र गर्दा रामस्वरुप सहनीले मेरो भिन्न भएको भाइ रामसेवक भन्ने उल्लेख गरी निवेदन दिएकोमा सगोल भनी दावी लिन विबन्धनको सिद्धान्तले रोक लगाउनेमा आधि लिखत बदर गर्ने गरेको जनकपुर अं.अ.को इन्साफमा न्या. प्र.सु. ऐन, ०३१ को दफा १३(३) अन्तर्गतको प्रश्नमा त्रुटि देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने ०४०।१२।१६ को आदेश ।

      ८.    यस्मा रामसेवकले लखन मण्डललाई ज.वि. ०१३५ मिति ०३५।१२।३१ मा पारीत गरी दिएको सम्बन्धलाई लिई लिखत दर्ता बदरमा प्रस्तुत फिराद पर्न आएको देखिन्छ ।

      ९.    वादी रामस्वरुप र रामसेवकको बीच अंश मुद्दा चली जनकपुर अं.अ. बाट ०३९।३।२८ मा फैसला भएको र वादी ब्रजमोहनप्रसाद सिंह, प्र.रामस्वरुप भएको लिखत पारीत मुद्दामा ०३४।९।२५ मा मिलापत्र गर्दा मेरो भिन्न बसेको भाइ रामसेवक सहनी भनी रामस्वरुपले उल्लेख गरेको समेत प्रमाणको मिसिलहरुबाट देखिन आउँछ । आफ्नो दाजु भाइ बीच चली निर्णय भएको अंश मुद्दाको असर अन्यथा प्रमाणित नभएसम्म मिलापत्र संग सम्बन्ध नभएको अरु व्यक्तिले बेहोर्नु पर्ने भनी मिलापत्र गर्ने पक्ष रामस्वरुपले सुविधा पाउने कानुनी व्यवस्था रहेको देखिँदैन । निज रामस्वरुपले भिन्न भएको भनी उल्लेख गरेपछि भिन्न भएको छैन भन्न विबन्धनको सिद्धान्तले समेत नमिल्ने देखिन्छ । तसर्थ लिखत दर्ता बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ । दावी बमोजिम लिखत दर्ता बदर हुने ठहर्‍याएको जनकपुर अञ्चल अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको ०४२।२।३।५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

      १०.    म.क्षे.अ.को इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा नि.नं. ८२७ निवेदक वादी रामस्वरुप सहनी मलाह विपक्षी प्रतिवादी रामसेवक सहनी मलाह समेत भएको मुद्दामा आजै यस बेञ्चबाट पुनरावेदनको अनुमति प्रदान भएको र प्रस्तुत मुद्दामा पनि उसै लगाउको हुँदा यस्मा पनि अनुमति प्रदान गरिएको छ भन्ने स.अ.डिभिजनबेञ्चको ०४२।३।३१।२ को आदेश ।

      ११.    वादी ब्रजमोहनप्रसाद सिंह प्रतिवादी रामस्वरुप भएको लिखत पारीत मुद्दामा मिति २०३४।९।२५ मा मिलापत्र गरी मेरो भिन्न बसेको भाइ रामसेवक सहनीसंग पनि तपाई वादीको व्यवहार भइरहेको निजै भाइ संगको व्यवहारबाट आपसमा मतभेद भई तपाई साहुले म उपर दावी लिए पनि तपाई साहुको परेको थैली बुझाउन तयारै छु भन्ने समेत व्यहोरा उल्लेख गरी मिलापत्र गरेको देखिन्छ । आफ्नो दाजु भाइ बीच अंश मुद्दा चली निर्णय भएको कारणले अंश मुद्दाको असर अन्यथा प्रमाणित नभएसम्म मिलापत्र गर्ने पक्ष रामस्वरुपले सुविधा पाउने कानुनी व्यवस्था रहेको देखिँदैन । यस्तोमा रामस्वरुपले भिन्न भएको छैन भनी भन्न विबन्धनको सिद्धान्त समेतले मिल्ने देखिएन । तसर्थ मिति २०३५।१२।३१ गतेको लिखत दर्ता बदर नहुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालतको संयुक्त इजलासको २०४३।१।७।१ को फैसला ।

      १२.   श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।१।७।१ को फैसला दोहोर्‍याई पाउँ भनी रामस्वरुप सहनी मलाहले न्यायिक समिति मार्फत दिएको निवेदनपत्र र सो सम्बन्धमा अर्कै व्यक्तिसंग चलेको मुद्दामा मिलापत्र गर्दा अभिव्यक्त भएको कुरालाई त्यो भन्दा फरक व्यक्तिसंग चलेको भिन्दै मुद्दामा विबन्धनको सिद्धान्त आकर्षित हुन्छ भनी भन्न मिल्ने देखिँदैन । अंश मुद्दाबाट यी वादी अंशियार देखिएको र सो मुद्दाबाट अंश दिनु पर्ने भनी अदालतबाट निर्णय भएको देखिँदा देखिँदै यी ब्रजमोहनप्रसाद सिंहसंगको यी वादी रामस्वरुपको लिखत पारीत मुद्दामा भएको मिलापत्रमा परेको मेरो भिन्न बसेको भाइरामसेवक भन्ने बोलीका आधारमा प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको निर्णय प्रमाण ऐन, २०३१ को दफा १३, ३४ र मुलुकी ऐन लेनदेन व्यवहाको १० नं. समेतको त्रुटिपूर्ण देखिएको छ भनी न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याई हेरी कानुन बमोजिम गर्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको रहेछ ।

      १३.   नियम बमोजिम पेश भई आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा विपक्षी मेरा भाइ रामसेवक सहनीले रीतपूर्वक बण्डापत्र गरी नदिएकोले निज उपर अंश मुद्दा दिई मिति २०३५।१२।२९ सम्मको चल अचल सम्पत्तिको तायदाती दाखिल गर्न आदेश भई दाखिल गरेकोमा सो जग्गाहरु तायदातीमा नपरेकोले बुझ्दा बलरा गा.पं. वडा नं. ४ कि.नं. ०० वार्ड नं. ९ को कि.नं. ८१ को ०१० कि.नं. १०९ को ०१५ समेत जम्मा ज.वि. ०१३५ विपक्षी लखन मण्डलको नाममा लिखत पारीत गरिएको हुँदा आधा मेरो भागको लिखत दर्ता बदर गरिपाउँ भन्ने फिराद दावी भएको पाइन्छ । सर्वोच्च अदालत संयुक्त इजलासबाट वादी ब्रजमोहनप्रसाद सिंह प्रतिवादी रामस्वरुप भएको लिखत पारीत मुद्दामा मिति २०३४।९।२५ मा मिलापत्र गर्दा रामसेवक सहनीलाई भिन्न बसेको भाइ भनी स्वीकार गरिसकेकोमा हाल आएर भिन्न भएको छैन भनी जिकिर लिन विबन्धनको सिद्धान्तले नमिल्ने भन्ने समेत आधारमा वादी दावी पुग्नै नसक्ने ठहर्‍याई फैसला भएको पाइन्छ । यी वादी रामस्वरुपले प्र. रामसेवक उपर मिति ०३७।९।१७ मा अंश मुद्दा दिएकोमा सो अनुसार तायदाती समेत लिई वादी दावी बमोजिम अंश पाउने ठहरी शुरु जिल्ला अदालतबाट भएको फैसला सदर गरी जनकपुर अञ्चल अदालतबाट मिति २०३९।३।२८ मा फैसला भई अन्तिम रुपमा रहेको कुरा फैसला प्रतिलिपिबाट देखिन्छ । अंश मुद्दामा भएको उक्त मिति २०३९।३।२८ को फैसलाले वादी रामस्वरुप र प्रतिवादी रामसेवक छुट्टी भिन्न भएको भन्ने कुरालाई स्वीकार गरेको पाइन्न । रामसेवक र रामस्वरुप अंश लिई छुट्टी भिन्न भएका हुन वा होइनन् भन्ने कुराको निरोपण अंश मुद्दाबाट भइरहेको अवस्थामा अर्कै व्यक्तिसंग चलेको भिन्न मुद्दाको मिलापत्रमा उल्लेख भएको भिन्न भएको भाइ भन्ने शब्दको आधारमा अन्यथा अर्थ गर्न मिलेन । यसरी अंश मुद्दाको मिति २०३९।३।२८ गतेको फैसला अन्तिम भइरहेको र उक्त फैसला बमोजिम निज रामस्वरुप रामसेवक सगोलका अंशियार हुन् भनी ठहर भइरहेको अवस्थामा अर्कै मुद्दाको मिलापत्रको व्यहोरामा छुट्टी भिन्न भइसकेको अंशियार भन्ने लेखिएकै आधारमा विबन्धन लाग्ने भन्न मिल्ले देखिन्न । सो अंश मुद्दामा मिति २०३५।१२।२९ मा तायदाती लिई अंश पाउने गरी भएको फैसला समेतबाट निजहरु यो लिखत हुँदाका अवस्थामा सगोलमा रहे भएको र रामसेवकले लखन मण्डललाई बिक्री गरेको सम्पत्तिमा वादीको आधा हक कायम रहेको देखिन्छ । अतः यी वादीको समेतको हक लाग्ने सम्पत्ति वादीको मञ्जूरी बेगर रामसेवकले लखन मण्डललाई लिखत गरी दिएको देखिँदा वादी रामस्वरुपको आधा हक जति लिखत दर्ता बदर हुने ठहर्‍याएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिब छ । वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ र त्यसलाई सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ उल्टी हुने ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले राख्ने गरेको लगत राख्नु पर्ने नहुँदा सो लगत कट्टा गरी दिनु ………..१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्दा कोर्टफी बापत निवेदक वादीबाट रु. ३।धरौटी राखेको देखिँदा उक्त धरौटी रकम फिर्ता पाउँ भनी वादीको निवेदन पर्न आए कानुन बमोजिम फिर्ता दिनु भनी का.जि. अ.त. मा लगत दिनु …….२

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले निवेदक वादीले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गर्दा मिति २०४२।४।१५ मा कोर्टफी रु. ३।र हाल मुद्दा दोहोर्‍याई ल्याउँदा मिति २०४४।११।२६ मा कोर्टफी रु. २।सदर स्याहा भएको हुँदा उक्त रकम प्रतिवादीहरुबाट भराई पाउँ भनी प्रतिवादीको जायजात देखाई वादीको निवेदनपत्र पर्न आएमा दस्तूर केही नलिई प्रतिवादीहरुबाट दामासाहीले भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु …..३

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले धनी लखन मण्डन र दाता रामसेवक सहनी भएको बलरा गाउँ पञ्चायत वडा ४ कि.नं. ५४ को ०० र ऐ.वार्ड नं. ९ कि.नं. ८१ को ०१० र कि.नं. १०९ को ०१५ समेत जम्मा ०१३५ जग्गा मिति २०३४।९।१९ को आधा लिखत र दर्ता बदर हुने ठहरेकोले सो बमोजिम गर्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउनु र मिसिल नियम बमोजिम गरी बुझाइदिनु ……४

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. प्रचण्डराज अनिल,

न्या. हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४६ साल फाल्गुण ११ गते रोज ५ शुभम् ।