March 13, 1990
Created by nepalarchives

निर्णय नं. ३९८३ – उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ

निर्णय नं. ३९८३     ने.का.प. २०४६                        अङ्क ११ पूर्ण इजलास सम्माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत्...

निर्णय नं. ३९८३     ने.का.प. २०४६                        अङ्क ११

पूर्ण इजलास

सम्माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४६ सालको रिट नम्बर ६३

आदेश भएको मिति : २०४६।११।३०।३ मा

निवेदिका : प्रसूति गृह थापाथलीमा कार्यरत डा.सरस्वती एम.पाध्या

विरुद्ध

विपक्षी : श्री लोकसेवा आयोग कमलपोखरी काठमाडौंसमेत

विषय : उत्प्रेषणयुक्त परमादेश लगायत आज्ञा, आदेश जारी गरी पाउँ

§  निरर्थक परिणामको लागि रिट जारी गर्न नमिल्ने ।

(प्रकरण नं. १४)

निवेदिका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल

प्रत्यर्थी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

आदेश

     प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदन निर्णयार्थ सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :

      २.    म निवेदिकाले एम.बी.बी.एस. डिग्री प्राप्त गरी २०२२।७।६ देखि नुवाकोट हेल्थ सेन्टरमा जनरल हेल्थ सर्भिसेजको रा.प.प्रा.तृ.को लेडी डाक्टर पदमा अस्थायी नियुक्ति भई २०२४।२।१९ मा मेडिकल अधिकृतमा स्थायी भएकी थिएँ । मैले अव्टेटट्रिशियन्स र गाइनकोलोजीष्टमा डि.अव्स.आर.सी.ओ.जी.र एम.आर.सी.ओ.जि. पास गरेपछि २०३४।११।१८ मा नेपाल स्वाथ्य सेवाको अव्स्ट्रटिक्स तथा गाइनोकोलोजी समूहको रा.प.प्रा.द्वि. श्रेणीमा सेवा परिवर्तन साथ बढुवा, २०३९।८।२२ मा कल्सल्टेन्टको दर्जा र अनुभवको आधारमा अमेरिकाबाट एफ.आई.सि.एस. को उपाधि पाई हाल प्रसूति गृह, काठमाडौंमा कार्यरत छु । २०४४।१।३ को गो.प. मा प्रकाशित सू.नं. १।०४४ को सि.नं. ४ बाट २०४३ पौष मसान्तसम्म नि.से.नि. बमोजिम नोकरी अवधि पुगेका सामान्य उम्मेदवारबाट स्वास्थ्य सेवाको अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहको रा.प्र.प्र. श्रेणीको पद १ बढुवाद्वारा पदपूर्ति गर्ने दर्खास्त माग हुँदा र म निवेदिका न्यूनतम शैक्षिक योग्यताको भई सम्भाव्य उम्मेदवार समेत भएकोले रीतपूर्वक दर्खास्त गरेकी थिएँ । २०४४।८।१७ को गो.प. मा प्रकाशित बढुवा समितिको सूचनामा २०४४।८।१३।१ मा बसेको बढुवा समितिको बैठकले योग्यता क्रमले नं. १ मा डा.श्रीमती लक्ष्मीनानी श्रेष्ठलाई प्राप्ताङ्क २४९.५७७ को आधारमा बढुवा गरी नि.से.नि., २०२१ को नियम ५(९) र (१) को प्रयोजनार्थ सूचना प्रकाशन गरेको कुरा उल्लेखित छ । विपक्षी बढुवा समितिको निर्णय चित्त नबुझी म्यादभित्र नि.से.नि., २०२१ को परिच्छेद ३ नि. ५(९) र (१०) बमोजिम लोकसेवा आयोगमा उजूरी दिएकी थिएँ । विपक्षी लोकसेवा आयोगको ०४४।१०।१८ को निर्णयानुसार बढुवा समितिको नै निर्णय मान्य ठहराई पछि हुने बढुवामा मेरो प्राप्ताङ्कबाट ५ अंक घटाउने निर्णय पत्र प्रतिलिपिबाट नदेखिँदा मेरो उजूरी आधारहिन ठहर्‍याउन सकेको छैन । म निवेदिकाको लोकसेवा आयोगमा उजूरीमा विपक्षी डा. लक्ष्मीनानी श्रेष्ठको आवश्यक शैक्षिक योग्यता तथा सम्भाव्य उम्मेदवार नभई मेरो शैक्षिक योग्यता तथा आवश्यक अन्य योग्यता पुगेको कुरा उल्लेख गरेकी थिएँ । नेपाल स्वाथ्य सेवा पनि निजामती सेवा नै भई निजामती सेवा नियमावली प्रयुक्त हुने भई नियम २.५(६)(क) ले निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधि बापतको मात्र अंक दिइने उल्लेख छ । उक्तानुसार नेपाल स्वास्थ्य सेवा समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा नियमहरु, २०३३ को नियम ३(२) ले अनुसूची १ बमोजिम समूह विभाजन गरेको र नियम ५(१), ५(५) ले प्रत्येक समूहमा नियुक्तिको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता अनुसूची २ मा तोकिए बमोजिम हुने उल्लेख छ । उक्तानुसार अनुसूची १ को क्रमसंख्या १० मा अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजीको संयुक्त समूहको उल्लेख छ भने अनुसूची २ को क्र.सं. १० मा सो समूहका निमित्त आवश्यक न्यूनतम योग्यतामा एम.बी.बी.एस. पछि (क) एम.डी. (गाइनो) वा (ख) एम.ओ. वा (ग) एम.आर.सी.ओ.जी. वा (घ) एफ.आर.सी.एस. (अव्स एण्ड गाइनो) वा (ङ) डी.एस. वा (च) आधारभूत शैक्षिक योग्यता एम.डी. पछि अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजीमा प्रमाणपत्र प्राप्त भन्ने उल्लेख भएकोमा (१) आधारभूत शैक्षिक योग्यता नै स्वतः समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नहुने स्पष्ट छ । अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूह भिन्ना भिन्नै विषयको संयुक्त समूह अनुसार सो दुवै विषय ढाक्ने शैक्षिक योग्यता मात्र सो समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता हुनसक्ने तथ्य स्पष्ट छ । तसर्थ अव्स वा गाइनो तर्फको शैक्षिक योग्यता अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहका लागि न्यूनतम शैक्षिक योग्यता होइन । एम.डी. वा एम.एस. भए पनि हुने विषयको हुनुपर्छ ।

      ३.    सो अनुसूचीमा डी.अव्स भनी समावेश हुँदैमा डी.अव्स. आर.सी.ओ.जी. र डी. अव्स.आर.सी.पी. समेत समाविष्ट भएको मान्न सकिन्न । यो त सिर्फ प्रसूती सम्बन्धी ६ महीने डिप्लोमा मात्र गरेकी छन् । तर मैले २ वर्ष एम. आर.सी.ओ.जी. को स्नातकोत्तर उपाधि प्राप्त गरेकी छु । त्रि.वि.वि.ले एम.आर.सी.ओ.जी. लाई एम.एस.सरह स्नातकोत्तरको मान्यता दिएको छ । विपक्षी डा.लक्ष्मीनानीले अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहमा प्रवेश पाएकोतर्कको सम्बन्धमा न्यूनतम शैक्षिकयोग्यता नपुगेकोले समूहमा नियुक्ति, प्रवेश र बढुवाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यतामा हुनसक्ने होइन । यस सम्बन्धमा मलाई पहिला प्रतिकूल असर नपरेकोले कुनै पोल उजूर गर्न पाउने होइन । स्वास्थ्य सेवा नियम ४(२) ले पनि विपक्षी डा.लक्ष्मीनानीले न्यूनतम शैक्षिक योग्यताको अभावमा बढुवा पाउन सक्दैन । २०४२।२।३१ को नेपाल राजपत्र अ. १७(क) मा प्रकाशित विपक्षी स्वास्थ्य मन्त्रालयको सूचना पनि गैरकानुनी छ । तसर्थ विपक्षीहरुको काम कारवाहीले मेरो संविधान प्रदत्त हकमा नै आघात पारेकोले विपक्षीहरुको कारवाहीलाई शुन्य घोषित गरी रिटको अन्तिम टुंगो नलागेसम्म विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा पत्रसमेत नदिनु भन्ने आदेशसमेत जारी गरिपाउँ भन्ने समेतको रिटनिवेदन रहेछ ।

      ४.    यसमा के कसो भएको हो प्रत्यर्थीबाट लिखितजवाफ आएपछि वा म्याद नाघेपछि कानुन बमोजिम पेश गर्नु भन्ने समेतको एक न्यायाधीशको इजलासको आदेश रहेछ ।

      ५.    यसमा नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ती बढुवा) नियमहरु, २०३३ को नियम ४ बमोजिम न्यूनतम योग्यता पुगेका कर्मचारी मध्येबाट पूर्ति गरिने भन्ने स्पष्ट उल्लेख भई डा.लक्ष्मीनानी श्रेष्ठको शैक्षिक योग्यता आवश्यकतानुसारको एम.बी.बी.एस. पछिको डी.अव्स. आर.सी.ओ.जी. नै देखिन्छ । यसरी निज डा.लक्ष्मीनानी श्रेष्ठ समेत आवश्यक शैक्षिक योग्यता भित्र परेकोले रिट निवेदकको माग निराधार भएकोले रिटनिवेदन खारेज होस भन्ने समेतको लोकसेवा आयोगको लिखितजवाफ रहेछ ।

      ६.    यसमा डा.लक्ष्मीनानी श्रेष्ठले उत्र्तीण गर्नु भएको डी.अव्स.आर.सी.ओ.जी. लाई लोकसेवा आयोगले स्नातकोत्तर र विपक्षी डा.सरस्वती पाध्याले उत्र्तीण गर्नु भएको एम.आर.सी.ओ.जी.लाई सेवाकालीन स्नातकोत्तर सरह नै मान्यता दिएकोले निवेदन जिकिर फजुल छ । उजूर आधारहिन ठहरिए बापत घटने अंक ५ को सम्बन्धमा लोकसेवा आयोगबाट छुट्टै पत्र आउने भएकोले सो कुरा जानकारी पत्रमा नखुलेको हो । नेपाल राजपत्रमा भाग ३ अ.रि.९(क) २०३३।३।३१ को स्वास्थ्य मन्त्रालयको सूचना कानुनबमोजिम छ । अतः डा.लक्ष्मीनानी श्रेष्ठको बढुवा आधारयुक्त भएकोले रिटनिवेदन खारेजहोस् भन्ने समेतको बढुवा समिति स्वास्थ्य मन्त्रालयको लिखितजवाफ रहेछ ।

      ७.    मैले २०२०।४।२७ देखि मेडिकल अफिसरको पदमा शुरु नियुक्ति भई अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको द्वितीय श्रेणीमा मिति २०२९।६।१६ मा पदोन्नति भई हाल प्रसूती गृह काठमाडौंमा छु । नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन, नियुक्ति र बढुवा) नियमहरु, २०३३ बमोजिम मैले पाएको डि.अव्स.आर.सी.ओ.जी. उक्त पदको बढुवाका लागि पर्याप्त छ । बढुवा समितिले सम्पूर्ण कुराहरुको मूल्यांकन गरी प्रचलित ऐन नियम कानुन बमोजिम गरेको निर्णयले विपक्षीको कुनै मौलिक हकमा असर नपारेकोले रिटनिवेदन खारेज होस् भन्ने समेतको डा. लक्ष्मीनानी श्रेष्ठको लिखितजवाफ रहेछ ।

      ८.    यसमा लोकसेवा आयोग प्रकाशन शाखाको मिति ०४४।१।३ को गो.प. मा प्रकाशित सूचना नं. १।०४४ को सि.नं. ४ मा अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको १ पद बढुवाद्वारा पूर्ति गर्ने सम्बन्धको सूचना प्रकाशित भई सो पदमा निवेदिका सरस्वती एम.पाध्ये र विपक्षी लक्ष्मीनानी समेतले बढुवा फर्म भरेकोमा विवाद देखिँदैन । सो पदमा डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा सिफारिश गर्ने गरी मिति २०४४।८।१३।१ मा बसेको बढुवा समितिले निर्णय गरेको भन्ने कुरामा पनि पक्ष विपक्षमा मुख मिलेकै देखिन्छ । उल्लेखित विज्ञापन बमोजिमको पदमा बढुवा सिफारिश हुने योग्यता लक्ष्मीनानीको पुगेको छैन । म बढुवा सिफारिश हुनुपर्ने हो भन्ने समेतको निवेदिकाको निवेदन जिकिर रहेको देखिन आएकोले सो बढुवा समितिले सिफारिश गरेको कानुन अनुकूल छ छैन सो नै विचार गर्नुपर्ने हुन आएको छ ।

      ९.    विपक्षी बढुवा समिति समेतबाट पेश भएको लिखितजवाफबाट डा.सरस्वती एम.पाध्याको योग्यता एम.बी.बी.एस. पछि डि.अव्स.आर.सी.ओ.जी.एम. आर.सी.ओ.जि. र डा.लक्ष्मीनानी श्रेष्ठको योग्यता एम.बी.बी.एस. पछि डि.अव्स.आर.सी.ओ.जी. भएको देखिन्छ । निवेदिकाको निवेदनमा आफ्नो एम.आर.सी.ओ.जी. डिग्री सरहको हो र विपक्षीको आर.सी.ओ.जी. डिग्री नभएको भन्ने जिकिर लिएको पाइन्छ । सो सम्बन्धमा मिसिल संलग्न शिक्षाध्यक्षको कार्यालयबाट मान्यता प्रमाणित गरी दिएको ०४१।३।५ को कगजको प्रतिलिपि हेर्दा रोयल कलेज अफ अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी यू.के.को डी.अव्स.आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. उपाधिलाई यस त्रि.वि.वि. ले क्रमशः चिकित्साशास्त्र विषय क्षेत्रको पोष्टग्राजुएट डिप्लोमा र एम.एस. डिग्री सरह मान्यता दिएको प्रमाणित गरिन्छ भनी उल्लेख गरेको देखिन्छ । सो प्रमाणित कागजबाट निवेदिकाले एम.बी.बी.एस. पछि एम.एस. डिग्रीसरहको योग्यता हासिल गरेको र विपक्षी लक्ष्मीनानीले एम.बी.बी.एस. पछि पोष्ट ग्राजुएट डिप्लोमा सरह योग्यता हासिल गरेको देखिन आयो । विपक्षी लक्ष्मीनानीले डि.अव्स. मात्र गरेको देखियो, जबकी विज्ञापनमा माग गरिएको अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको पद हो । गाइनोकोलोजीमा लक्ष्मीनानीले डिग्री प्राप्त गरेको देखिएको छैन । विपक्षी बढुवा समितिको लिखितजवाफको प्रकरण नं. ४ को अन्तमा लोकसेवा आयोगको नियम अनुसार शैक्षिक योग्यता बापत दुवैलाई समान अंक दिइएको भन्ने उल्लेख भएबाट निवेदिकालाई र विपक्षीलाई शैक्षिक योग्यताको समान अंक दिएको देखियो जुन कानुनतः मिल्ने देखिएन । यस्तो अवस्थामा विपक्षी बढुवा समितिले डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा सिफारिश गर्ने गरेको निर्णय मिलेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिमको प्रक्रिया पूरा गरी उक्त पदमा बढुवा सिफारिश गर्नु भनी विपक्षी बढुवा समितिको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

      १०.    यस्मा रा.प.प्रथम श्रेणीको अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको १ पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार भई विपक्षी लक्ष्मीनानी श्रेष्ठले फर्म भरेकोमा सबैभन्दा बढी अंक प्राप्त गरेको भनी बढुवा समितिले निजको नाम सिफारिश गरेकोमा विवाद छैन । लक्ष्मीनानीको शैक्षिक योग्यता नै नपुगेकोले सो बमोजिम सिफारिश हुन पर्ने होइन मेरो सिफारिश हुन पर्ने हो भन्ने समेतको निवेदिकाको जिकिर देखिन्छ । निवेदिकाको जिकिर मनासिब बेमनासिब के रहेछ भनी हेर्दा डा.लक्ष्मीनानी र निवेदिका मात्र उक्त पदमा सम्भाव्य उम्मेदवार भएको देखिँदैन । अन्य उम्मेदवारहरु समेत १० जना सम्भाव्य उम्मेदवार भएको देखिन्छ । लक्ष्मीनानीको बढुवा सिफारिश बदर भएको खण्डमा निवेदिकाले नै अरु उम्मेदवार भन्दा बढी अंक प्राप्त गरेको भएमा मात्र निवेदिकाको हक हितमा असर पर्ने स्थिति हुन्छ अन्यथा निवेदिकाको हक हितमा असर परेको सम्झन मिल्दैन । महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई आएको बढुवा समितिको सक्कलै फायल हेर्दा डा.लक्ष्मीनानीको २४९।५७७ अंक भएको र सो भन्दा लगत्तै पछि डा.प्रमिला शर्माको २४९.००७ भएको देखियो । निवेदिकाको नम्बर पाँचौं क्रममा भएको देखिन्छ । अन्य उम्मेदवारहरुको सम्बन्धमा निवेदिकाले जिकिर लिनसकेको छैन । आफ्नो हक हितमा असर पर्ने व्यक्तिको मात्र रिटनिवेदन दिने अधिकार हुन्छ । स्पष्ट हकदैयाको अभावमा रिट क्षेत्रबाट उपचार प्रदान गर्न सकिँदैन । डा.लक्ष्मीनानी श्रेष्ठको बढुवा सिफारिश गैरकानुनी छ भन्ने अन्य उम्मेदवारको रिटनिवेदन पर्न आएको देखिँदैन । बढुवा समितिले गरेको सिफारिश बदर भएको खण्डमा निवेदिकाले नै बढुवा सिफारिश पाउने स्थिति नरहेबाट निरर्थक अभ्यासको लागि रिट अधिकर क्षेत्रको प्रयोग गर्न मिल्दैन । उक्त माथि पनि निवेदिकाको नै बढुवा सिफारिश हुनसक्ने स्थिति नै रहेको भए पनि डा.लक्ष्मीनानी श्रेष्ठको विज्ञापन बमोजिमको पदमा बढुवा हुने न्यूनतम योग्यता नै छैन भन्ने निवेदिकाको जिकिर तर्फ हेर्दा लक्ष्मीनानीले एम.बी.बी.एस. पछि डि.अव्स.आर. सि.ओ.जी. योग्यता प्राप्त गरेको देखिन्छ साथै २०२९।६।१६ मा अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहको द्वितीय श्रेणीमा पदोन्नति भई काम गर्दै आएको देखिन्छ । अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूहमा नै द्वितीय श्रेणीमा काम गरी सम्भाव्य उम्मेदवार भएका व्यक्तिको सो सम्बन्धी आवश्यक शैक्षिक योग्यता छैन भन्न मिल्ने हुँदैन । शैक्षिक योग्यताको स्तर सम्बन्धमा कुनको के स्तर हुने भन्ने जस्तो कुरा अदालतले निर्धारण गर्ने कुरा पनि होइन । बढुवा सिफारिश गर्दा शैक्षिक योग्यता बापतको ३६।३६ बराबर अंक दिएको देखिन्छ । विज्ञापनमा अव्स्ट्रेटिक तथा गाइनोकोलोजी समूह अन्तर्गतको प्रथम श्रेणीको माग गरेकोमा सो पदको लागि तोकिएको आवश्यक शैक्षिक योग्यता मध्ये डि.अव्स. पनि हो जुन डा.लक्ष्मीनानी श्रेष्ठले पाएकै योग्यता देखिन्छ । तसर्थ बढुवा समितिले कानुन बमोजिम गरी लक्ष्मीनानी श्रेष्ठलाई उक्त पदमा बढुवा गर्ने गरी गरेको सिफारिश मिलेकै देखिँदा रिटनिवेदन खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।९।१३ को आदेश ।

      ११.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा रिट निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले २०४२।३।३१ मा स्वास्थ्य सेवा भर्ना प्रमोशन नियमको आधारमा बढुवाको लागि एक तह माथिको उपाधि तोक्दा डिग्री कोर्षको योग्यता हुनु अनिवार्य गरी डिप्लोमासम्म पाएकोलाई माथिल्लो तहको उपाधिमा मान्यता नदिई सो बापत नम्बर नपाउने व्यवस्था गरिएको छ । एम.आर.सी.ओ.जी. को उपाधि बृटीश काउन्सीलको पत्र बमोजिम डिप्लोमा होइन डिग्री हो भन्ने कुरा विश्व विद्यालयले समेत स्वीकार गरेको छ । प्रस्तुत विवादमा डि.अव्स्ट्रेटिक्सलाई नै न्यूनतम योग्यत मानेमा पनि निवेदिकाले हासिल गरेको एम.आर.सी.ओ.जी. डिग्रीको नम्बर पाउनु पर्ने हुन्छ भन्ने समेत र निवेदिका तर्फबाट उपस्थित अर्का विद्वान अधिवक्ता श्री चुडामणिराज सिंह मल्लले लो.से.आ. बाट अव्स्ट्रेटिक्स र गाइनोकोलोजी समूहको गठन गरेपछि सो समूहमा आउन डि.अव्स.एण्ड गाइनो दुवै योग्यता हुनु पर्नेमा विपक्षीको गाइनो तर्फ कुनै योग्यता नभएकोमा बढुवामा यी दुबैलाई समान नम्बर दिन मिल्दैन । विपक्षीको गाइनोको योग्यता नै नभएकोले खाली सो समूहमा तल्लो पदमा छँदा बढुवा पाएको नाताबाट यस विवादित सूचनामा तोकेको समूहमा योग्यता पुग्ने भन्न मिल्दैन भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी लोकसेवा आयोग समेतबाट बहस गर्न खटी आउनु भएका विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले लोकसेवा आयोगको शैक्षिक योग्यता सम्बन्धी व्यवस्थामा अव्स्ट्रेटिक तथा गाइनोकोलोजीको लागि डि.अव्स. को उपाधि हासिल भए मात्र पनि पुग्ने भनी उल्लेख गरिएको छ तसर्थ न्यूनतम योग्यता नै नपुगेको भन्न मिल्ने ठाउँ छैन । निवेदिकाको अंकको आधारमा ज्येष्ठताक्रम पाँचौं नम्बरमा हुँदा निवेदिकाले हासिल गरेको भनिएको अतिरिक्त डिग्री एम.आर.सी.ओ.जी. को अंक जोडेमै पनि निजले बढुवा पाउनसक्ने स्थिति नहुँदा रिटनिवेदन खारेजभागी छ भन्ने समेतको बहस गर्नुभयो ।

      १२.   प्रस्तुत रिटनिवेदनमा निवेदिकाको माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

      १३.   यसमा निर्णयतर्फ हेर्दा लोकसेवा आयोगबाट २०४४।१।३ को गो.प.मा प्रकाशित सूचना बमोजिम नेपाल स्वास्थ्य सेवा अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी समूहको रा.प.प्रथम श्रेणीको पद एक बढुवाद्वारा पदपूर्ति गर्ने सन्दर्भमा म निवेदिका समेत उम्मेदवार भएकी र मेरो शैक्षिक योग्यता एम.बी.बी.एस.पछि अव्स्ट्रेटिक्स र गाइनोकोलोजीमा डि.अव्स.आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. समेत भई उक्त पदको लागि पूरा योग्यता पुगेकोमा एम.बी.बी.एस.पछि डि.अव्स.आर.सी.ओ.जी. मात्र योग्यता भएकी विपक्षी डा.लक्ष्मीनानी श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरिएकोले त्यस उपर लोकसेवा आयोगमा उजूरी दिएकी थिएँ । विपक्षी लोकसेवा आयोगले पनि बढुवा समितिको निर्णयलाई नै मान्य ठहर्‍याएकोले उक्त बढुवा समिति तथा लोकसेवा आयोगका निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदनपत्र जिकिर रहेको पाइन्छ । प्रस्तुत रिटनिवेदनपत्रको सन्दर्भमा सर्वप्रथम प्रत्यर्थी डा.लक्ष्मीनानी श्रेष्ठको अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी समूहको लागि आवश्यक न्यूनतम योग्यता नै नपुगेको भन्ने निवेदन जिकिरतर्फ हेर्नु पर्ने हुन आएको छ । प्रत्यर्थी डा.लक्ष्मीनानी श्रेष्ठ बिगत मिति २०२९।६।१६ गतेदेखि नेपाल स्वास्थ्य सेवाको अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतको रुपमा रही आएकोमा विवाद छैन । यदि निजको सो समूहको लागि आवश्यक न्यूनतम योग्यता नपुगेको भए सो समूहको रा.प. द्वितीय श्रेणीको पदमा बहाल रहिरहन सक्ने स्थिति हुने थिएन । अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी व्यवस्थातर्फ हेर्दा नेपाल राजपत्र मिति २०३३।३।१ भाग ३ अतिरिक्ताङ्क ९(क) मा प्रकाशित नेपाल स्वास्थ्य सेवा (समूह तथा श्रेणी विभाजन नियुक्ति र बढुवा) नियमहरु, २०३३ को नियम ५(५) संग सम्बन्धित अनुसूची २ क्रमसंख्या १० मा अव्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहको लागि एम.बी.बी.एस.पछि एम.डी. (गाइनो) वा एम.ओ. वा एम.आर.सी.ओ.जी. वा एफ.आर.सी.एस. (अव्स.एण्ड गाइनो) वा डी.अव्स. वा आधारभूत शैक्षिक योग्यता एम.डी.पछि अव्स्ट्रेटिक गाइनोकोलोजीमा प्रमाणपत्र प्राप्त भनी शैक्षिक योग्यता निर्धारण गरिएको पाइन्छ । नियमावलीमा उल्लेखित उक्त शैक्षिक योग्यताहरु मध्ये एकै उम्मेदवारले सबै शैक्षिक योग्यताहरु प्राप्त गरेको हुनुपर्ने भन्ने नभई त्यसमध्ये कुनै एक योग्यता भएमा सो समूहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेको मानिने गरी व्यवस्था भएको देखिन्छ । त्यसमध्ये डि.अव्स. पनि एक रहेको र सो योग्यता प्रत्यर्थी डा. लक्ष्मीनानी श्रेष्ठले प्राप्त गरेकै देखिन्छ । तसर्थ निजको उक्त समूह अन्तर्गतको विवादित पदको लागि आवश्यक न्यनूतम शैक्षिक योग्यता नै नपुगेको भन्ने निवेदन जिकिर तथ्ययुक्त देखिन आएन ।

      १४.   अब निवेदिकाले हासिल गरेको अतिरिक्त योग्यता एम.आर.सी.ओ.जि. को लागि पनि अङ्क गणना पर्नु पर्ने भन्ने निवेदिकातर्फका विद्वान अधिवक्ताको बहस जिकिरको सन्दर्भलाई हेर्दा रिट निवेदिकाले पेश गरेको त्रि.वि. शिक्षाध्यक्षको कार्यालयको मिति २०४१।३।५ गतेको मान्यता प्रमाणित पत्रमा डि.अव्स.आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. लाई त्रि.वि. ले क्रमशः चिकित्सा शास्त्र विषय क्षेत्रको पोष्ट ग्राजुएट डिप्लोमा र पोष्ट ग्राजुएट एम.एस. डिग्री सरह मान्यता दिएको प्रमाणित गरिन्छ भनी उल्लेख भएको पाइन्छ । तर फाइल संलग्न त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान एजुकेशन सपोर्ट सेन्टरमा गठित स्तर निर्धारण समितिको मिति २०४५।९।१२ गतेमा बसेको बैठकद्वारा निर्णय गरिएको माईनटको फोटोकपी हेर्दा रोयल कलेज अफ अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजी यू.के. को डि.अव्स.आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. दुवै उपाधिहरु विश्व विद्यालयबाट प्रदान गरिएको शैक्षिक उपाधिहरु हैनन् । …….तसर्थ त्रि.वि.वि. को पोष्ट ग्राजुएट डिप्लोमा वा डिग्री सरह भनेर मान्यता दिनको लागि रोयल कलेज अफ अव्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजीबाट प्रमाणित चिठ्ठी करीकुलम एवं यू.के. को अरु विश्व विद्यालयहरुले कुन सरह मान्यता प्रदान गरेको छ भन्ने बारे पत्र प्राप्त भएपछि मात्र राय दिन मिल्ने देखिन्छभन्ने समेत उल्लेख गरिएको देखिन्छ । स्तर निर्धारण समितिको उक्त मिति २०४५।९।१२ गतेको निर्णयबाट निवेदिकाले प्राप्त गरेको एम.आर.सी.ओ.जी.लाई डि.अव्स.आर.सि.ओ.जी. भन्दा एकतह माथिको शैक्षिक योग्यता मान्न मिल्ने हो होइन विवादस्पद नै रहेको देखिन्छ । महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त प्रत्यर्थी बढुवा समितिको सक्कलै फाइल हेर्दा बढुवा मूल्यांकन अंकको आधारमा बढुवा हुने प्रत्यर्थी डा. लक्ष्मीनानी श्रेष्ठको समष्टिगत अंक २४९.५७७ छ भने निवेदिकाको समुच्चा अंक २३०।९७७ मात्र भएको देखिन्छ । निवेदिकाको जिकिर अनुसार एम.आर.सी.ओ.जी. लाई एकतह माथिको शैक्षिक योग्यता मानी त्यस बापत पाउन पर्ने भनिएको १७ अंक निवेदिकाको अंकमा जोडी गणना गर्दा पनि निवेदिकाको हकमा जम्मा २४७.९७७ अंक हुन आउने हुँदा त्यसबाट समेत निवेदिकाको हकमा अंकको आधारमा ज्येष्ठता कायम हुनसक्ने देखिएन । अतः त्यसबाट पनि निवेदिकाले बढुवा पाउने भन्ने देखिन नआएको अवस्थामा निरर्थक परिणामको लागि रिट जारी गर्न मिल्ने भएन । तसर्थ प्रस्तुत विवादमा निवेदिकाको अंकको आधारमा ज्येष्ठता कायम हुनसकेको नदेखिएकोले उक्त बढुवाबाट निवेदिकाको हकमा कुनै असर परेको नदेखिँदा रिटनिवेदन पत्र खारेज हुने ठहर्‍याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. प्रचण्डराज अनिल,

 

न्या. हिरण्येश्वरमान प्रधान

 

इति सम्वत् २०४६ साल फाल्गुण ३० गते रोज ३ शुभम् ।