निर्णय नं. ३९५७ – खिचोला
निर्णय नं. ३९५७ ने.का.प. २०४६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ७०२ फैसला...
निर्णय नं. ३९५७ ने.का.प. २०४६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको दे.पु.नं. ७०२
फैसला भएको मिति : २०४६।८।२७।३ मा
पुनरावेदक/वादी : का.न.पं. वडा नं. २२ खिचापोखरी बस्ने कान्छी महर्जन
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. वडा नं. १० वानेश्वर बस्ने नारायणदाश मानन्धर
विषय : खिचोला
§ लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन दावी गर्न मिल्दैन भन्नु कानुनसंगत नहुने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. कि.नं. २५ को जग्गा रोपनी ३–१२–० मध्ये पश्चिमतर्फको कि.नं. २९३ को जग्गा रोपनी ०–१३–० विपक्षीले मलाई बकसपत्र गरिदिनु भएको थियो । उक्त जग्गामा जान आउन कि.नं. २३ को कि.नं. २५ को बीच दक्षिणबाट पश्चिम फर्की जाने ४ फुटको बाटो कायम गरी आउने जाने गरेकोमा सो बाटो नदिई उल्टो विपक्षीले मोहियानी हक नदिनुको साथै आफैले बकसपत्र गरिदिनु भएको जग्गाबाट समेत जबरजस्ती हक टुटाई बाटो समेत बन्द गरी कि.नं. २५ को बाँकी रोपनी २–१५–० जग्गा र सो को साँधको मेरो आफ्नै कि.नं. २८२ को रोपनी १–०–० मध्ये दक्षिणतर्फ रोपनी ०–८–० जग्गा समेत विपक्षीले दावी खिचोला गर्न नपाउने गरी मेटाई रोपनी ०–१३–० को जग्गामा जान आउन ४ फुटको बाटो कायम गरी मेरो उजूरीको जग्गाहरुमा समेत नाप जाँच गरी छुट्याई पाउँ । कि.नं. २५ को जग्गा रोपनी २–१५–० को मोहियानी हक समेत छुट्याई पाउँ भन्ने समेत व्यहोराको कान्छी महरजनीको वा. भाइकाजीको बयान ।
३. कि.नं. २५ को रोपनी ३–१२–० को जग्गामा घर बनाउँछु भन्दा सो मध्येबाट ०–१३–० जग्गा सो जग्गाको मोही भाइचा ज्यापुले दिनु होस भनेबाट निजलाई बाँकी जग्गामा कम्पाउण्ड घेरी घर समेत बनाई बसोवास गरिआएको छु । सो कि.नं. २५ को जग्गाबाट कित्ता फोड गरी ०–१३–० जग्गा विपक्षी वादीलाई ०३५।१।२१ मा हालैको बकसपत्र गरिदिई लिइसकेको वादीको लोग्ने नै २०३० सालदेखि हक छोडी पक्की घर क्याम्प समर्थन गरी बकसपत्र गरिदिएको हुँदा प्रमाण बेगर बेदखलमा यस अदालतमा दायर हुन नसक्ने कि.नं. २९३ मा जाने ४ फुटे बाटो कायम गरिपाउँ भन्ने हकमा २०३५ साल चैत्रमा गरिदिएको बकसपत्रमा कम्पाउण्ड बाहिरबाट मेरो बाँकी जग्गाबाट बाटो दिने शर्त नभएको ४ फुटे बाटो पाउनु पर्ने भन्ने वादीको दावी झुठ्ठा हो । कि.नं. २८२ मेरो १–०–० जग्गाको दक्षिणतर्फबाट परखालभित्र ०–८–० घुसायो भन्ने हकमा २०३० सालमा नै घर कम्पाउण्ड तयार भइसकेको वादीको दक्षिणतर्फको कि.नं. १६८ को ढकालको जग्गा पर्छ । भू.सं. ऐन, २०२१ बमोजिम नाप नक्शा कि.नं. २८२ को जग्गा छुट्टै छ र मेरो कि.नं. २५ को जग्गा छुट्टै भई कि.नं. ३५ बाट कित्ता फोड गरी कि.नं. २९३ को ०–१३–० जग्गा भएको हुँदा २०३६।४।३० गते क्याम्पा परखालबाट भित्र घुसाई खिचोला गर्यो भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको नारायणदाश मानन्धरको प्रतिउत्तरपत्र ।
४. प्रतिवादीले वादी दावी अनुसार ०३६।४।३० मा जग्गा खिचोला गरेको नभई सो भन्दा अगाडि देखि नै घर कम्पाउण्ड बनाई सकेको देखिँदा सो बनाएका मितिले ज.मि.का. १८ नं. का म्यादभित्रको प्रस्तुत वादी दावी नदेखिँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेतको २०३८।१२।५ को काठमाडौं जि. अ. को फैसला ।
५. उक्त फैसलाले अन्याय परेकाले मेरो नबुझेको प्रमाण सबै बुझी सर्भे नापीबाट नै दोहोरो नाप नक्शा गराई दावी एवं हु.प्र. बमोजिम अदालतबाट सबै दावीलाई हक इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादीको बागमती अं.अ. मा परेको पुनरावेदनपत्र ।
६. बिन्तिपत्रमा ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्स भएपछि हदम्यादको आधार लिएर मुद्दा खारेज गर्ने गरी गरेको फैसला मिलेको नदेखिँदा प्रमाण बुझी निर्णय गर्नु मिसिल समेत शुरु काठमाडौं जि. अ. मा पठाई दिने ठहराई बागमती अञ्चल अदालतबाट २०३९।१०।३ मा भएको फैसला ।
७. प्रतिवादी नं. ४ को उत्तरतर्फको जग्गाले वादीको दक्षिणतर्फको जग्गा घुसाउने प्रश्ननै नआउने देखिए समेतबाट बाटो कायम गरी खिचोला मेटाई पाउँ भन्ने वादी दावी पुग्न नसकी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको ०४०।६।३ को शुरु काठमाडौं जिल्ला अदालतको फैसला।
८. काठमाडौं जि. अ. को फैसला सबूद प्रमाण, कानुन न्यायको विपरीत हुँदा बदर गरी मेरो दावी अनुसार न्याय इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको बागमती अं.अ. मा परेको पुनरावेदनपत्र ।
९. वादीले आफ्नो कि.नं. २८२ को जग्गा विपक्षीको आफ्नो कि.नं. २५ मा दक्षिणतर्फबाट खिचोला गरेको भनी बयानको प्रकरण ४ मा उल्लेख गरेको देखिन आएको र नक्शाबाट दक्षिणतर्फ झगडा जनिएको नदेखिएपछि पुनरावेदक वादीको जिकिर मनासिब रहेछ भन्न सकिएन भन्ने समेत व्यहोराको बागमती अं.अ. को २०४२।७।१२ को फैसला ।
१०. उक्त प्रत्यक्ष कानुनी त्रुटिपूर्ण फैसला उपर पुनरावेदकको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको मध्यमाञ्चल क्षे.अ. मा परेको निवेदनमा सो अदालतबाट पुनरावेदनको अनुमती प्रदान भई बागमती अं.अ. को उक्त फैसला मनासिब ठहराई मिति २०४४।४।२८ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको रहेछ ।
११. उक्त म.क्षे.अ. को त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमती पाउँ भन्ने समेतको वादीको यस अदालतमा परेको निवेदनपत्रमा व्यहोरा साँचो भए ऐनले उजूर लाग्ने कुरामा ठाडै बुझी कानुन बमोजिम गर्नु भनी बक्स भई आएका हु.प्र. बमोजिम नगरी दावी लिएको जोताहा कायमतर्फ भू.सं.ऐनले अदालतको अधिकार क्षेत्रभित्र नहुँदा सम्बन्धित निकायमा जानु पर्ने भनी निर्णय गरेको फैसलामा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेतको यस अदालत संयुक्त इजलासको २०४४।८।१ को आदेश ।
१२. नियम बमोजिम पेश भई आएकोमा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले गर्नु भएको बहस र प्रतिवादीतर्फका वारेसले गर्नु भएको जिकिर समेत सुनियो ।
१३. प्रस्तुत मुद्दामा मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१४. निर्णयतर्फ हेर्दा, यस्मा साविक कि.नं. २५ कित्ताकाट गरी कि.नं. २९३ वादीले प्रतिवादीबाट बकसपत्र पारीत गराई लिएको र कि.नं. २९४ प्रतिवादीकै नाउँमा दर्ता कायम रहकोमा विवाद देखिँदैन ।
१५. साविक कि.नं. २५ हाल कि.नं. २९४ बाट कि.नं. २९३ मा जाने आउने बाटोमा प्रतिवादीले कम्पाउण्ड घेरी बन्द गरी खिचोला गरे भन्ने वादी दावीको सम्बन्धमा यस अदालतको मिति ०४६।४।२९ को आदेशानुसार भई आएको नक्शा मुचुल्का हेर्दा वादीले बाटो भनी दावी लिएको न.नं. १ मा हाल प्रतिवादीले कम्पाउण्ड घेरी दिएको भनी उल्लेख भई आएको देखिन्छ । कि.नं. २९३ को जग्गामा प्रवेश गर्ने बाटो सनातनदेखि न.नं. १ को बाटो होइन अन्यत्र छ, थियो भन्न लेखाउन र सोको पुष्टि गर्न प्रतिवादीले सकेको छैन । केवल पारीत बकसपत्रमा बाटो उल्लेख नभएको भन्ने जिकिरसम्म लिएको पाइन्छ । लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन, दावी गर्न मिल्दैन भन्नु कानुनसंगत हुँदैन । अतः कि.नं. २९३ मा आउने जाने न.नं. १ को विवादित बाटोमा प्रतिवादीले हाल कम्पाउण्ड घेरी बन्द गरिदिएको नक्शा मुचुल्का र संकलित प्रमाण समेतबाट देखिँदा विवादित बाटो प्रतिवादीले खुलाई दिनु पर्ने ठहर्छ ।
१६. मोहियानी हकमा खिचोला गरे भन्ने दावीको हकमा सम्बन्धित निकायबाट कारवाही भई निरोपण हुने कि.नं. २९३ को जग्गा मिची प्रतिवादीले परखाल खडा गरेको भन्ने वादी दावीको हकमा हेर्दा वादीलाई प्रतिवादीले कि.न. २९३ को जग्गा हक हस्तान्तरण गर्दाको अवस्थामा तयार भएको लिखतमा चौहदी उल्लेख गर्दा परखाल भनी जनिएकोबाट वादीले उक्त जग्गाको हक प्राप्त गर्नु पूर्व नै विवादित परखाल बनी सकेको देखिन्छ यस स्थिति र अवस्थामा कि.नं. २९३ मा जाने न.नं. १ को बाटोमा प्रतिवादीले कम्पाउण्ड घेरी बन्द गरिदिएको खुलाई दिनु पर्नेमा सो समेतमा वादी दावी नपुग्ने ठहराएको इन्साफ मनासिब नहुँदा सो हदसम्म उल्टी भई अरु वादी दावी पुग्न नसक्ने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक वादी कान्छी महर्जन के इन्साफ खण्डमा लेखिए बमोजिमको कि.नं. २९४ को न.नं. १ को बाटो प्रतिवादीले कम्पाउण्ड घेरी बन्द गरेको, खुलाउन पाउने ठहरेकाले, बाटो खुलाई माग्न आए, नियम बमोजिम गर्नु भनी का.जि. अ. मा लगत दिनु …….१
मिसिल नियमानुसार गरी बुझाई दिनु ……२
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल मंसीर २७ गते रोज ३ शुभम् ।