निर्णय नं. ३९५५ – भ्रष्टाचार
निर्णय नं. ३९५५ ने.का.प. २०४६ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान...
निर्णय नं. ३९५५ ने.का.प. २०४६ अङ्क १०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४५ सालको फौ.पू.इ.नं. ३२
फैसला भएको मिति : २०४६।१०।१७।३ मा
पुनरावेदक/प्रतिवादी : धनुषा जिल्ला ढल्केबर गा.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च राजेन्द्रप्रसाद सिंह
विरुद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
मुद्दा : भ्रष्टाचार
§ घुस रिसवत जस्तो कुरा सर्वसाधारण रहे भएकै ठाउँ दिउँसै लिने अवस्था नरहने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव
विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमतिद्वारा पुनरावेदन परी सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :–
२. बाबुको नाम बृहस्पति महतो हुनु पर्नेमा भोला महतो भई श्रेस्तामा नाम फरक पर्न गएकोले संशोधन गर्न सिफारिश माग्न जाँदा ढल्केवरका प्रधानपञ्चले रु. ६९०।– मागी झुलाएकोले कारवाहीको लागि नोट टिपी पाउँ भन्ने टेमलालको निवेदन ।
३. बाबुको नाम संशोधनको लागि टेमलालको निवेदन परेकोमा सिफारिशको रु. ३२।– लिन पर्नेमा रु. ६९०।– लिएको ठीक हो सिफारिशपत्र रसीद लिन जाँदा विशेष प्रहरीले पक्रेको भन्ने राजेन्द्रप्रसादको बयान ।
४. प्रतिवादी राजेन्द्रप्रसाद सिंहले कानुनले लिन खान नहुने रु. ६९०।– टेमलालसँग मागी खानु गरी भ्रष्टाचारपूर्ण कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३ अन्तर्गत कारावाही भई हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोपपत्र ।
५. मैले कसूर गरेको छैन । टेमलालले नथुनी महतोको रु. ६००।– र भोलाई महतोको रु. ३००।– तिर्नु पर्नेमा सो मध्ये रु. ६००।– निजले नदिएसम्म सिफारिश नदिनु भनी नथुनीले भनेकोमा मैले सो रकम दिनु होस् भनी टेमलालसँग भन्दा निजले दिएकाले सो रु. ६००।– पञ्चायत भवन निर्माणको लागि रु. ४५।– रु. ३२।– सिफारिश दस्तूर समेत रु. ६८७।– मलाई दिनु पर्नेमा ६९०।– मलाई दिएकोले रु. ३।– फिर्ता दिन बाँकी हुँदैको अवस्थामा प्रहरीले पक्राउ गरेकोले रसीद दिन नपाएको हो धुसरिसवत लिनु खानु नगरेको हुँदा सजायँ हुनु पर्ने होइन भन्ने समेत व्यहोराको राजेन्द्रप्रसाद सिंहले बागमती विषेश अदालतमा गरेको बयान ।
६. नथुनीलाई बुझाउनु पर्ने रुपैयाँ २०४० साल मंसीरमा बुझाई सकेको छु । सिफारिशको लागि विपक्षी प्रधानपञ्चले रु. ६९०।– लिएका हुन् भन्ने व्यहोराको टेमलालको बकपत्र।
७. विपक्षी प्रधानपञ्च घुस लिँदाकै अवस्थामा पक्राउ परेको मौका कागजमा सावित रहेको टेमलालले बकपत्र गर्दा निज प्रधानपञ्चले घुस बापत सो रकम लिएको भनेको नथुनीले तिर्नु पर्ने रकम मंसीरमै तिरी सकेको भनी भनेको समेतबाट राजेन्द्रप्रसादले कसूर गरेको ठहर्छ भन्ने समेतको बागमती विशेष अदालतको फैसला ।
८. प्रहरी समक्षको कागज राजीखुसीको होइन टेमलालसँग रु. ६९०।– लिएको भनेको तथ्यको साविती हो कसूरको साविती होइन । पदमा बस्ने व्यक्तिको लिखित र अलिखित दायित्व हुने हुँदा बागमती विशेष अदालतको फैसला उल्टाई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रधानपञ्च राजेन्द्रप्रसाद सिंहको मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंमा पर्न आएको पुनरावेदनपत्र ।
९. नथुनीलाई अ.बं. ११५ नं. बमोजिम बुझ्ने भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४२।३।१२ गतेको आदेश ।
१०. प्रधानपञ्चले घुस बापत रु. ६००।– लिएको होइन मलाई दिन लिएको छ भन्ने समेत व्यहोराको नथुनी महतोको मिति २०४२।६।९ गतेको कागज ।
११. प्रधानपञ्च राजेन्द्रप्रसादले आफूले लिन खानका लागि रु. ६००।– टेमलालबाट लिएको भन्ने तथ्य संदिग्ध अवस्थाको देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगलबेञ्चको मिति २०४२।७।१३ गतेको आदेश ।
१२. यसमा अभियुक्त राजेन्द्रप्रसाद सिंहले टेमलालबाट रु. ६९०।– लिएको भन्ने कुरा स्वीकार गरेको पाइन्छ । नथुनीलाई टेमलालले बुझाउनु पर्ने भनिएको रुपैयाँ कागज प्रमाणबाट पुष्ट्याई हुन सकेको पाइदैन । टेमलालको बकपत्रमा सो रुपैयाँ पहिले नै बुझाई सकेको छ भनी बकपत्र गरेको पाइन्छ । दुनियाँको लिनु पर्ने रकमलाई पञ्चायतले आफूले गर्नुपर्ने कर्तव्यमा समावेश गरी बाध्य गराई पञ्चायतले उठाई दिनु पर्ने प्रचलित कानुनको विपरीत काम कारवाही भएको प्रस्तुत मुद्दामा देखिन आएको र अभियोग लागेका राजेन्द्र सिंहले विशेष प्रहरी समक्ष यस प्रकारको बयान मौकैमा गर्न नसकेको र अदालतमा पछि आएर मात्र नथुनीको पैसा उठाई लिएको हुँ भनी बयान गरेको पाइन्छ । मौकामा पक्राउ भएका व्यक्तिले यदि सो कुरा साँचो भए मौकामा उल्लेख गर्नुपर्नेमा सो उल्लेखै गरेको नपाइएको र निजैले भने बमोजिम भन्दा पनि बढी रुपैयाँ निजको शरीरबाट बरामद हुन आएको अवस्थामा निज निर्दोष भन्न निजको गैरकानुनी कारवाहीबाट मिल्न समेत नआएकोले बागमती विशेष अदालतको फैसला मनासिब छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।४।२६।१ को फैसला ।
१३. बागमती विशेष अदालतको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी राजेन्द्रप्रसाद सिंहको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१४. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा गा.पं. ऐनको दफा ३६ समेतको त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत डिभिजनबेञ्चको मिति २०४३।६।१५ गतेको आदेश ।
१५. सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा यसमा अभियुक्तले सोही गाउँ पञ्चायतमा बस्ने नथुनीलाई निज निवेदक टेमलालले रु. ६००।– दिनु पर्ने बिगो थियो सोही रकम उठाई दिनु पर्ने कर्तव्य पालन गर्नका लागि निज टेमलालबाट दर्खास्त दस्तूर रु. ३२।– एवं पञ्चायत भवन निर्माणका लागि रु. ५५।– समेत गरी जम्मा रु. ६८७। लिई रु. ३।– फिर्ता दिन पर्ने हुँदा सो रकम ढल्केवर चोकमा लिई भरपाई दिन गाउँ पञ्चायत कार्यालयमा जाँदा बाटैमा विशेष प्रहरीले पक्डेको हो भनी बयान गरेको पाइन्छ । गाउँ पञ्चायत ऐनको दफा ३६ मा “रकम कलम वाली समेत उठाई दिन दरखास्त परेमा सो उठाई दिन कानुनले बाधा नपर्ने रहेछ भने उठाई दिन हुन्छ” भन्ने व्यवस्था भएबाट कसैको पनि रकम कलम आदि उठाउन परे निजले गा.पं. मा दर्खास्त दिनु पर्ने देखिन्छ । यसरी दर्खास्त नै नपरी गाउँ पञ्चायत ऐनको दफा ३६ को रीत नै नपुगेको अवस्थामा सो बमोजिम प्रधानपञ्चको हैसियतले दुनियाँको रकम उठाउँदै हिड्नु पर्ने भन्ने अधिकार निज अभियुक्तलाई भएको भन्न मिलेन । विशेष प्रहरीद्वारा पक्राउ भई सकेपछि अभियुक्तको पटक पटक ततिम्बा बयान गराइएको छ । अभियुक्तले रु. ६९०।– लिएको कुरालाई इन्कार गर्न सकेको छैन । पटक पटक ततिम्बा बयान गराइदा पनि निजले नथुनीले आफूलाई रकम उठाई दिन भनेकोले उठाई दिएको हुँ भनी केही पनि भन्न सकेको पाइदैन । प्रहरीमा गराइएको बयानलाई अभियुक्तले रकम लिएको कुरासम्म स्वीकार गरेको हो । कसूर स्वीकार गरेको हैन भन्ने आधारमा लिई उक्त बयानलाई इन्कार नगरिएको अवस्थामा सो बयान अभियुक्तले स्वेच्छाले नै दिएको मान्नु पर्ने देखिन्छ । सो अवस्थामा उठाई दिनु पर्ने रकम नै लिएको भन्ने कुरा बयान गर्दा नै अभियुक्तले भन्न नसक्ने अवस्था पनि देखिँदैन । यदि अरुकै रकम उठाई दिएको भए सोही कुरा प्रहरी बयानमा नै भन्न सक्नु पर्ने थियो । सो बमोजिम भन्न सकेको पनि पाइएन । गा.पं. ले उठाई दिन पाउने रकम उठाएको वा सो बमोजिम रसीद दिने मनसाय भएबाटै वा चोकमा पैसा लिई रसीद लिन गा.पं. मा आउ भनी बोलाउनु पर्ने थिएन । गा.पं. कार्यालयमा नै पैसा बुझी लिई रसीद दिने कारवाही हुनुपर्ने थियो । यदि यस्तै कुरालाई प्रोत्साहित गर्ने हो भने भोलिदेखि अदालतको कोर्टफी र जरिवाना पनि सडक चौबाटैमा असूल उपर हुन गर्न सर्वोच्च अदालतको स्वीकृति हुन जाने हुन्छ र व्याख्याद्वारा यस्तो प्रचलन बस्ने गरी निर्णय गर्न सर्वोच्च अदालतलाई संविधान र कुनै ऐनले अधिकार दिएको छैन । यसरी अभियुक्तले मौकैमा उठाई दिन पर्ने रकम थियो भनी भन्न सकेको एवं तोकिएको कानुनी परिधि बाहिर गई रकम लिएको देखिएबाट निजले नम्बर टिपिएको विशेष प्रहरी अधिकृतको सही भएको नोट लिई भ्रष्टाचार नगरेको भन्न नसकिने स्थिति हुँदा क्षेत्रीय अदालतले दावी बमोजिम भ्रष्टाचार गरेको ठहर्याएको बागमती विशेष अदालतको इन्साफ सदर गरेको मनासिब ठहर्छ भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय ।
१६. यस पुनरावेदकले जाहेरवाला टेमलालसित निजको बाबुको नाम सच्याउन जाँदा वि.प्र.वि. डोरबाट नम्बर टिपिएका रु. ६९०।– लिएकोमा सावित रहेको र प्रहरीमा कागज गर्दा सिफारिश दस्तूर समेत बापत रु. ८७।– को मात्र हिसाब देखाई रु. ६००।– को हिसाब देखाउन नसकी रु. ३।– सम्म फिर्ता दिनु पर्ने भनी देखाई रु. ६००।– गैरकानुनी रुपमा लिएकोमा अप्रत्यक्ष रुपमा स्वीकार गरेको देखिन्छ । तर निज अदालतमा आई बयान गर्दा सो ६००।– रुपैयाँ गैरकानुनी रुपमा आफूले लिने खाने रुपमा लिएकोमा इन्कार रही जाहेरवाला टेमलालले नथुनीलाई दिनु पर्ने रकम सिफारिश लिन आउँदा उठाई दिनु पर्यो भनी निज नथुनीले अनुरोध गरेबाट उठाई दिएको हुँ र सो लिएको रुपैयाँको गा.पं. मा गई रसीद दिन जान लाग्दा बीचमा पक्राउ गरेको हो भनी बयान गरेको देखिन आएको छ । निज जाहेरवाला टेमलाल अदालतमा आई बकपत्र गर्दा प्रतिवादीको सो बयान बमोजिम नथुनीलाई आफूले रु. ६००।– दिन पर्ने कुरा स्वीकार गरी सो रुपैयाँ २०४० सालमै बुझाई सकेको भनी देखाई बयान गरेकोमा पछि निज नथुनीले अभियुक्तको अदालतमा भएको बयानमा देखाइए बमोजिम जाहेरवालासित रेडियो बापत लिन पर्ने रकममा उजूर गरेकोमा अभियुक्त प्रधानपञ्च समेतको रोहवरमा ६००।– दिन पर्ने निर्णय भएकोमा जाहेरवालाले सो रकम नदिई बेइमानी चिताएकोले सिफारिश लिन आउँदा प्रधानपञ्चले उठाई दिनु पर्यो भनी अनुरोध गरेको हो भनी देखाई बयान गरेको र अभियुक्तले गैरकानुनी रुपबाट आफूले लिन खान लिएको भनेको रकम पनि टेमलालले नथुनीलाई बुझाउनु पर्ने रकम पनि फरक नपरी उही रु. ६००।– भन्ने भएकोबाट अभियुक्तको अदालतको बयान पूर्ण रुपमा पुष्टि हुन आउनुका साथै सो रकम अभियुक्तले गाउँ पञ्चायत बाहिर ढल्केवर चोकमा लिएकोबाट जाहेरवालाले मागेको सिफारिशपत्र र लिएको रुपैयाँको रसीद समेत गाउँ पञ्चायतमा गई दिन्छु भनी अभियुक्तले भनेको कुरा जाहेरवालाले पनि स्वीकार गरेको सो दिनको लागि पञ्चायतमा जान लाग्दा नै विशेष प्रहरी विभागबाट पक्राउ भई यो कारवाही चलाइएको देखियो । अभियुक्तले यसरी आफ्नो भएको कुरा देखाई बयान गरेको अवस्थामा निजले लिएको रकमको रसीद दिनु अगावै नै बढी लिएको रु. ६००।– आफूले लिन खानका लागि नै गैरकानुनी रुपमा घुस रिसवतको रुपमा लिएको भनी दावी बमोजिम भ्रष्टाचार गरेको भन्न कानुन र न्यायसंगत समेत नहुँदा निजले सफाई पाउने ठहर्छ । क्षेत्रीय अदालतले दावी बमोजिम भ्रष्टाचार गरेको ठहर्याएको बागमती विशेष अदालतको इन्साफ सदर गरेको गल्ती ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।८।२३ गतेको फैसला ।
१७. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवले जाहेरवाला टेमलालले प्रहरीमा बयान गर्दा कहीँ पनि रिसवत लिएको भनी भन्दैन । २०४० साल माघ १९ गतेको ततिम्बा बयानमा मात्र भनेको छ । टेमलालले नथुनीलाई रु. ६००।– तिर्नु पर्ने कुरा स्वीकारेको छ । सो रुपैयाँ उठाई दिन भनेको र सिफारिश दस्तूर रु. ३२।– पञ्चायत माटो दस्तूरको रु. ५५।– समेत बापतमा रु. ६९०।– लिएको हो घुस रिसवत लिएको होइन । प्रहरीमा इच्छा विरुद्ध कुटपिट गरी कागज गराएको भनेको छ । तसर्थ प्रतिवादी पुनरावेदकले सफाई पाउनु पर्दछ । पुनरावेदकलाई भ्रष्टाचार गरेको ठहराएको म.क्षे.अ. को इन्साफ बदर गरी पुनरावेदकलाई सफाई दिएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रत्यर्थी श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित हुनु भएका विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले सिफारिशको लागि रु. ३२।– मात्र लाग्ने कुरा पुनरावेदकले स्वीकारेको छ । पुनरावेदकले ६९०।– लिएमा सावित छ । रु. ६००।– नथुनीको उठाई दिएको भनी भनेको छ । तर गा.पं. ऐनको दफा ३६ ले नथुनीको दर्खास्त परेको छैन । त्यसैले दुनियाँको रकम उठाएको भन्न मिल्दैन । रु. ६९०।– पुनरावेदकबाटै बरामद भएको छ । त्यसर्थ घुस रिसवत लिएको हुँदा भ्रष्टाचार गरेको ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालत समेतको इन्साफ सदर गरेको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१८. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा कानुनले लिन खान निषेध गरेको गैरकानुनी रकम घुस रिसवत टेमलाल महतोसँग लिनु खानु गरी भ्रष्टाचार कसूर गरिआएकोमा प्रधानपञ्च राजेन्द्रप्रसाद सिंह उपर सावित भएकोले निज राजेन्द्रप्रसाद सिंह उपर भ्र.नि. ऐन, २०१७ को दफा ३ अन्तर्गत कारवाही भई सजायँ हुन अनुरोध गर्दछौं भन्ने दावी लिई विशेष प्रहरी विभागको आरोपपत्र परेको देखिन्छ । पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसाद सिंहले टेमलाल महतोसँग ६९०।– लिएकोमा सावित भई विशेष प्रहरी विभाग डोरमा बयान गरेको छ । तर विशेष अदालतमा बयान गर्दा नथुनीले रु. ६००।– आजसम्म टेमलालले नतिरेकोले सो रुपैयाँ हामीलाई दिलाएपछि मात्र सिफारिश दिनु होस् भनेकाले टेमलाललाई रु. ६००।– नतिरी म सिफारिश गरी दिन्न भनेको थिएँ । मिति २०४०।१०।१६ गते नथुनीलाई दिन्छु भनेको रु. ६००।– दिनु होस् भनी टेमलालले मलाई नै दिएको साथै पञ्चायत भवन मद्दतको लागि एक ट्याक्टर माटोको रु. ५५।– आर्थिक सहयोग र दुई सिफारिशको जम्मा ३२।– सिफारिश दस्तूर गरी जम्मा रु. ६८७।– टेमलालले दिनु पर्नेमा रु. ६९०।– मलाई दिएकोले रु. ३।– फिर्ता दिन आँटेकोमा पक्राउ गरेको हो घुस रिसवत लिनु खानु गरेको होइन भनी इन्कार रहेको देखिन्छ । यसबाट नथुनीले टेमलालबाट रु. ६००।– दिलाउन प्रतिवादी प्रधानपञ्च राजेन्द्रप्रसाद सिंहलाई भनेको भन्ने पाइन्छ । नथुनीलाई ६००।– तिर्नु पर्ने कुरा जाहेरवाला टेमलाल महतोले अदालत समक्ष गरेको बकपत्रबाट देखिन्छ । सो रुपैयाँ बुझाई सकेको छु भनेको छ । तर नथुनी महतो कोइरीलाई बुझेकोमा रेडियोको रु. ६००।– लिनु पर्ने रुपैयाँ हो निजले बुझाएको थिएन । उठाई दिन प्रधानपञ्चलाई भनेको हो । २०४० सालमा रुपैयाँ दिएको भनेको झुठ्ठा हो भनी मध्यमाञ्चल क्षेत्रीय अदालतमा बयान गरेको देखिन्छ । यसबाट नथुनीको रुपैयाँ बुझाई सकेको कुराको प्रमाण जाहेरवाला टेमलालले दिन सकेको छैन । स्वयं जाहेरवाला टेमलालको बकपत्रबाट रसीद प्रतिवादीले कार्यालयमा दिन्छु भनी जाँदैको अवस्था प्रतिवादी राजेन्द्रप्रसाद सिंह पक्राउमा परेको भन्ने पाइन्छ । रुपैयाँ बुझेको रसीद दिने लिने कुरामा जाहेरवाला टेमलाल र प्रतिवादी राजेन्द्रप्रसाद सिंह कार्यालयतर्फ गइरहेको भन्ने देखिन्छ । घुस रिसवत जस्तो कुरा सर्वसाधारण रहे भएकै ठाउँ दिउँसै ढल्केवर चोकमा लिने अवस्था रहँदैन । घुस बापत रु. ६९०।– अङ्कको रकम मात्र लिन पर्ने अवस्था विद्यमान देखिँदैन । जाहेरवाला टेमलाल र प्रतिवादी राजेन्द्रप्रसाद सिंहको बीच नथुनी महतोको रुपैयाँको लेनदेन विषयमा रिसइवी रहेको भन्ने देखिँदा शंकारहित तरीकाबाट पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसाद सिंहले घुस रिसवत लिएको भन्न मिल्ने देखिएन । बुझिएका प्रतिवादीका साक्षीहरु रामकिसन महतो, मोहन महतो र तेजीलाल महतोले प्रतिवादीले घुस रिसवत लिएको होइन भनी किटानी बकपत्र गरेको देखिन्छ । तसर्थ लिन खानका लागि गैरकानुनी रुपमा घुस, रिसवत लिएको भनी दावी बमोजिम भ्रष्टाचार गरेको भन्न न्यायसंगत नहुँदा निज पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसाद सिंहलाई सफाई दिने ठहराएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहर्छ । भ्रष्टाचार गरेको ठहराएको बागमती विशेष अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदक प्रतिवादी वादीले सफाई पाउने ठहरेकोले बागमती विशेष अदालतका मिति २०४१।२।२९ का फैसलाले पुनरावेदक प्रतिवादी राजेन्द्रप्रसाद सिंहलाई लाग्ने गरेको जरिवाना रु. २०००।– र मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।४।२६ का फैसलाले लाग्ने गरेको जरिवाना रु. २००।– समेत निजले राखेको धरौटी रु. ५६९०।– बाट असूल गरी सदर स्याहा गर्ने गरेकोमा सो जरिवानाहरु नलाग्ने भई असूल भई नसकेको भए सो जरिवानाको लगत कट्टा गरी पूरै धरौटी ५६९०।– प्रतिवादीलाई फिर्ता दिनु सो धरौटीबाट असूल भइसकेको भए बाँकी धरौटी रु. ३४९०।– र असूल गरेको जरिवाना रु. २२००।– समेत निज प्रतिवादीलाई कानुनको रीत पुर्याई फिर्ता दिनु भनी काठमाडौं जिल्ला अदालत तहसील फाँटमा लगत दिनु …….१
इन्साफ उल्टीमा देहायका पदाधिकारीहरुको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा लेखी पठाई दिनु…२
मध्यमाञ्चल क्षेत्रीय अदालतका मा.न्या. श्री गोविन्दबहादुर श्रेष्ठ….१,
ऐ.ऐ.का. मा.न्या. श्री नरेन्द्रबहादुर न्यौपाने…१
बागमती विशेष अदालतका सदस्य माधवदत्त भट्ट…१
ऐ.ऐ. का सदस्य कोमलप्रसाद उपाध्याय…१
मिसिल नियम बमोजम गरी बुझाई दिनु…३
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या. त्रिलोकप्रताप राणा,
न्या. हरगोविन्द सिंह प्रधान
इति सम्वत् २०४६ साल माघ १७ गते रोज ३ शुभम् ।