February 20, 1968
Created by nepalarchives

निर्णय नं. ३९४ – साँध सिमाना

निर्णय नं.  ३९४     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२४ सालको दे.फु.नं. ६१ निवेदक,...

निर्णय नं.  ३९४     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

२०२४ सालको दे.फु.नं. ६१

निवेदक, वादी : सरस्वती उपाध्यानीको मुद्दा सकार गर्ने ऐ बस्ने जगन्नाथ उपाध्याय समेत

विरुद्ध

रेस्पोण्डेण्ट, प्रतिवादी : धर्मराज शर्मा घिमिरे

मुद्दा : साँध सिमाना

(१)   २००९ सालमा नापी गोश्वाराका नाउँको सवालको ५ दफासिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी निर्णय गर्न पाउने ।

            ०९ सालमा नापी गोश्वाराका नाउँमा भएको सवालको ५ दफामा सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी फैसला गर्न पाउने, यसमा त्यस किसिम सिमानाकै कुरा नभई झगडा परेको केही जग्गा हकबेहक समेतको निर्णय हुनुपर्ने, यस्तो मुद्दा सर्भे गोश्वाराले हेर्न छिन्न पाउने अघिकार क्षेत्र भित्र परेको देखिन आएन ।

(प्रकरण न.१३)

(२)   नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानÒनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी पक्षलाई सुनाउनु पर्ने, हक बेहकको निर्णय सदर नहुने ।

            नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानूनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी वादी पक्षलाई सुनाई दिनु पर्नेमा जग्गामा हक बेहक हुने समेत किसिमसँग प.३ नं.सर्भे गोश्वाराले १७।३।१९।७ मा गरेको पर्चा मिलेको नदेखिएको । अ.बं.३५ नं. बमोजिम बदर गर्नुपर्नेमा ०२३।४।११।३ को डिभिजन बेञ्चबाट सोअनुसार नगरी यसै मुद्दाबाट हक बेहक निर्णय गरेको मिलेको देखिएन ।

(प्रकरण नं. १४)

निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद भण्डारी

रेस्पोण्डेण्ट तर्फबाट : अधिवक्ता मधुप्रसाद शर्मा

फैसला

      १.     यस पश्चिम ३ नं.नापी सर्भेको ३ नं. इन्स्पेक्टर डोरको सन्तले मौजाको खेत नापी नक्सा गर्न अमिन गुणबहादुरले न. नं.१० का जग्गामा जग्गैबमोजिम क्षेत्रफल देखिने गरी नापी नक्सा नभएकोले दर्खास्त गरेको छु । सो कित्ताको नक्सा सरजमिन गरी दोहर्‍याई नापी नक्सा गरी पाउँ भन्ने सरस्वती पाध्यानीले पोखरा सर्भे गोश्वारामा दिएको दर्खास्त ।

      २.    यसमा के भएको हो ? श्री केशवजी तपाई नै गई जाँची पेश गर्नु भन्ने ऐ गोश्वाराको ०१६।१०।१८।२ को तोक ।

      ३.    जग्गाबमोजिमको नक्सा भएन भन्ने कुरामा उक्त लेखिएको जग्गा सरस्वती पाध्यानीको जग्गा उत्तर पट्टि र दक्षिण पट्टि काहु कुडहर बजार तल्लो हटीया बस्ने धर्मराज पाध्याको जग्गा भई साँधमा प्राचीन बाबु बाजेको पाला देखिको सनातनी कुलो भई सो कुलाको साँध कायम रही धर्मराजका बाबु डिल्लीरामको र सरस्वतीको सो जग्गामा अंश विषयमा मुद्दा परी ०५ सालमा मिलापत्र समेत भई सोबमोजिम धर्मराज र सरस्वतीको जग्गा छुट्टी भोग गरी खाईराखेकोमा हाल नक्सा हुँदा जग्गामा भएबमोजिमको कुलो नक्सामा पनि सोहीबमोजिम कुलो रहनु पर्नेमा अमिनका भुलबाट हो वा धर्मराजको मलाहिजाबाट हो ? सो कुलो नक्सामा उत्तर पट्टि कायम राखी सरस्वतीको जग्गा समेत धर्मराजको जग्गामा परेको नक्सा भएकोले जग्गामा १ थोक नक्सामा अर्को थोक भई नक्सा भएकोले निज धर्मराज र अरु सँधीयार समेत राखी जग्गाबमोजिमको नक्सा मिलाई जग्गा दर्ता गरी पाउँ भन्ने समेत सरस्वतीको वा.जगननाथ उपाध्यायको ०१६।१२।१८ को कागज ।

      ४.    सन्तले मौजाबाट नापी नक्सा भएको कि.नं. १० को जग्गामा कुलो साँध रही सरस्वतीको र मेरो जग्गा छुट्टिएको हो । नक्सामा लेखिएको कुलो मैले डोरवालालाई लेख्न लगाएको होइन । यिनै दर्खास्तवाली सरस्वतीहरूले लेखाएका हुन । मेरो भएको व्यहोरा दर्खास्त लेखी हुलाकद्वारा मैले यसै डोरमा पठाएको छु । मिसिल सामेल राखी दर्खास्तबमोजिम मिलापत्र हुँदा ०५ सालमा मेरा बाबु डिल्लीरामले खेत मुरी १।५७ मध्ये जेठा बाबु खगराज, देवराजका झौरी खेतमा पानी जाने र मेरै खेतको पुछारमा पानी जाने ठाडो कुलो देखी उत्तरको साँध लगाई खेत मुरी ।७८।१० सरस्वतीलाई दिएको बाबु डिल्लीराम ०६ सालमा पर्लोक हुनु भएपछि सो साझा कुलोबाट पछि खेत बिराउनलाई पानी नपुग्ने र कुलो बनाउन किफायत हुने हुँदा निज खगराजले छसयका खोरको आडबाट अर्को कुलो काटी सो साझा कुलो मेटी खेत बनाएका रहेछन । म नाबालक केही नजान्ने खेत पनि यिनै सरस्वतीका छोरा जगननाथले सार्कीहरूलाई उठाई दिएका हुनाले मनपरी नै चलिरहेको । सो सारेको नयाँ कुलो छसयका खोरको आडमा छँदैछ । सो कुलोको साँध छुट्टिएको जग्गा हो । यदि साविकैमा कुलो भए मिलापत्र गर्दा छसयको खोर देखि दक्षिण किल्ला दर्खास्तवालालाई दिएको खेत लेखिन नपर्ने । खास गरी अहिले भईरहेको कुलो लेखिन पर्ने । मेरो खेतको व्यक्तिगत कुलोमा भने दावी गर्ने भएको हुँदा साविकमा मिलापत्रबमोजिम साझा कुलो भए नभएको र कुलो सारे नसारेको वैद्य खगराज घिमिरेलाई र अरु साँधसधियार बुझी सो भईरहेको नक्साको डोरी बदर गरी मिलापत्र हुँदाको बखतको साझा कुलो भई साँध लगाई नक्सा गराई जग्गा दर्तागरी पाउँ । नापीका बखतमा पनि म घरमा थिइन । पछि आई फिल्डबुकमा सहीछाप गरेको हुँ । डोरवालालाई मैले नक्सा मिलाउन लगाएको हैन भन्ने समेत व्यहोराको प्रतिवादी धर्मराज पाध्या घिमिरेको ०१६।१२।२९ को कागज ।

      ५.    फिल्डबुकमा कि.नं.१० मा सरस्वतीका नाउँमा २६।।।लेखी त्यसलाइ केरी रातो मसीले गुण भन्ने लतपतिएको साइन जस्तो देखिएको । त्यस माथि २३ लेखिएको । त्यस देखिमुनी २३ प्रष्ट लेखिएको । नं. ११ मा धर्मराजको नाउँमा १९।लेखी त्यसलाई केरी माथि लेखिएबमोजिमको व्यहोरा गरी त्यसमुनि २३ लेखिएको देखिएको । जमिन नक्सा भिडाई हेर्दा निजहरूको कि.नं.१०।११ मा बीचमा कुलो साँध रही सिमाना छुट्टिएको नक्सामा भने १० फिटको फासला देखि लिएर ९४ फिटको फासलासम्म चौडाइमा पूर्वपट्टि हुनुपर्ने कुलो, सो नभई सरस्वतीको जग्गापट्टि लेखिएको । फिटबमोजिमको पश्चिमपट्टि लेखाएको साथै माथि उल्लेख भएबमोजिम पूर्व पट्टि सिसाकलमले कुलाको लाइन दिईराखेको । पश्चिमपट्टि भने मसीले नै लेखिएबमोजिम भरी दिएको । सो जग्गा कसको भोग छ भनी बुझ्दा सरस्वतीको हो भनेकाले पठाई दिएको छु भन्ने ३ नं.इन्स्पेक्टर डोरका का.मु.ई.केशवराज शर्माको प्रतिवेदन ।

      ६.    कित्ता नं.१० मा ठहर रोपनी २६।।।हुनु पर्ने । सरस्वतीको जग्गा र धर्मराजको कित्ता नं.११ मा ठहर रोपनी १९।।हुनेमा उक्त कित्ता नं.१० को रोपनी ७घुसाई कि.नं.११ मा २३ लेखिएको । सो भई कि.नं.१० को जग्गाको लेखिएबमोजिम रोपनी बड हुन आएकोले घुसेको रहेनछ कि भन्नालाई कित्ता नं.१०।११ को बीचबाट हुनु पर्ने कुलो १० फिट देखि लेखी ९४ फिटसम्म फासला पारी नाप नक्सा गरेको कुलो हटाएको नक्सा देखिन आएकाले जमिनबमोजिमको कुलो साथ राखी रोपनी ठहर २६।।।कि.नं.१० मा राखी सरस्वतीका नाउँमा दर्ता पूर्जि दिने गरी का.मु.इन्स्पेक्टरको राय मनासिव भन्ने ०१७।३।१९।७ को प.३ नं पोखरा सर्भे गोश्वाराको पर्चा ।

      ७.    उक्त पर्चामा चित्त बुझेन । सरस्वतीका बाहुन पुष्पराज र मेरा बाबा डिल्लीराज एकै बाबुका छोरा २ नालका २ भाइ हुन । सरस्वतीको र मेरो बाबाको अंश मुद्दा पर्दा ०५ सालमा आधा जग्गा तेर्सो कुला देखी उत्तरको खेत निज सरस्वतीलाई दिने गरी मिलापत्र भएको । पछि बाबा परलोक हुँदा म नाबालकको बखत सो खेतको माँझको मिलापत्रमा साँध लेखाएको तेर्सो कुलो पुरी खेत बनाई उत्तर सिमानाको छसयको खोरको पर्खालको आडबाट नयाँ कुलो काटी लगेको नाप जाँच हुँदा अमिनले मिलापत्रबमोजिम यथार्थ गरी नापी भएको हुँदा प.३ नं सर्भे गोश्वाराको पर्चा बदर गरी पाउँ भन्ने समेत धर्मराजको पुनरावेदन ।

      ८.    वादी प्रतिवादीका पुर्खाहरूको ५।११।६।५ मा भएको मिलापत्रबमोजिम रुकमणी रमणका नाउँमा दर्ता भएको बिरौटो भन्ने खेत मुरी १५७ मध्ये ना.सु.देवराज घिमिरेका खोर खेत पर्खाल देखि पूर्व छसयका खोरको पर्खाल देखि दक्षिण ना.सु.देवराजका खेतदेखि पश्चिम तेर्सो कुलो देखि उत्तर यति ४ किल्लाभित्रको उक्त बिरौटो खेतमध्ये वादी प्रतिवादीको आधा आधी हुनु पर्नेमा हाल सर्भे गोश्वाराबाट भई आएको नक्सा नापी श्रेस्ताबाट घटी बढी परेको देखिएको । उक्त मिलापत्र मिलेको भन्न नहुने हुँदा सो खेत मुरी १५७ को आधी आधी गरी दुवै भागको बीचमा तेर्सो कुलो पर्ने गरी साँध सिमाना छुट्याई दिई नापी नक्सा श्रेस्ता खडा गर्नुपर्ने हुँदा प.३ नं.सर्भे गोश्वारा पोखराले ०१७।३।१९।७ मा गरेको पर्चा गल्ती देखिएकोले बदर हुने ठहर्छ । सोठहर्नाले उपरोक्त लेखिए मुताविकको नाप नक्सा श्रेस्ता गरी दिनु भनी यो शुरु मिसील उक्त गोश्वारामा पठाइ दिनु भन्ने डिभिजन बेञ्चको ०२३।४।११।३ को फैसला ।

      ९.    सो उपर चित्त बुझेन । दोहर्‍याई पाउँ भन्ने वादी पक्षको निवेदन परेकोमा न्यायीक समितिबाट यसमा पहिले भईरहेको प्रकृति र भोग अनुसार भएको जग्गाको नाप नक्सालाई सच्याई बिगारी बनाएको देखिएकोले त्यस्तो साविकबमोजिम भईरहेको प्राकृतिक सनातनी कुलो साँध माटो अङ्क समेत बिकृत पारी बेकायम गरी गरेको काम कारवाईलाई कायम राख्न उचित नदेखिएको समेत प्रमाण परिवन्दबाट मिलापत्रबाट जग्गामा वादी प्रतिवादीको आधा आधा हुनु पर्ने सर्भेको नाप नक्साबाट घटि बढी परेको देखिएकोले आधीआधी गरी दुवै भागको बीचमा तेर्सो कुलो पर्ने गरी साँध सिमाना छुट्याई नापी नक्सा श्रेस्ता खडा गरी दिनु भनी गोश्वारामा पठाई दिनु भन्ने समेत ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको नदेखिँदा दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसूफका प्रमुख सचीवालयबाट लेखी आएको २४।४।१०।३ को हुकुम प्रमांगी ।

      १०.    बक्स भई आएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त कानूनको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसील झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भए पछि त्यस्तो निर्णयको २ प्रतिलिपी जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचीवालय राजदरवारमा रजिष्ट्रार अफिस मार्फत पठाई दिनु भन्ने माननीय श्री का.मु.प्रधान न्यायाधिशज्यूबाट भएको ०२४।४।१६।२ को आदेश ।

      ११.    यसमा तारेखमा रहेका पक्षहरू रोहवरमा रही ०२४।११।१।३ मा पेश भई निवेदक, वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले र विपक्षी, प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री मधुप्रसाद शर्माले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दा हेर्दा, उत्तर पट्टि मेरो र दक्षिण पट्टि प्रतिवादी धर्मराजको जग्गा भई साँधमा प्राचीन देखीको सनातनी कुलो भएको र निज धर्मराजको बाबु डिल्लीरामसँग अंश मुद्दा परी ०५ सालमा मिलापत्र समेत भई मेरो र प्र.धर्मराजका जग्गा छुट्टि भोग गरी आएकोमा हाल सर्भेबाट नक्सा हुँदा जग्गामा भएबमोजिम कुलो नक्सामा पनि रहनु पर्नेमा अमिनले नक्सा कुलो उत्तर पट्टि कायम राखी मेरो जग्गा समेत धर्मराजको जग्गामा पारेको समेत हुनाले जग्गाबमोजिम नक्सा मिलाई पाउँ भन्ने समेत वादीको दावी र अंश मुद्दामा मिलापत्र हुँदा कुला देखि उत्तर पट्टिको साँध लगाई खेत १।५७ को आधी मुरी ।७८।१० वादीलाई दिएको । सो साझा कुलोबाट पानी नपुग्ने हुँदा छसयको खोरको आडबाट अर्को कुलो काटी सो साझा कुलो मेटी खेत बनाएका समेत रहेछन । म नाबालक केही नजान्ने खेत पनि यिनी सरस्वतीको छोरा जगन्नाथले सार्कीहरूलाई दिई मेरो खेतको माझबाट व्यक्तिगत कुलो काटिएकोलाई साँधको कुलो त्यही हो भनी झुट्टा दावी गरेको भन्ने समेत प्रतिवादीको जिकीर भई अंश मुद्दामा ०५ सालमा भएको मिलापत्रमा तेर्सो कुला देखि उत्तर भनी साथ लेखिएको कुलो र सो साँधले छुट×्याउने जग्गा समेत झगडा परेको देखिन्छ ।

      १२.   सर्भे नापीको ट्रेस नक्सा हेर्दा त्यसमा उत्तर पट्टि १ ठाउँ र सरस्वतीको कि.नं.१० धर्मराजको कि.नं.११ को बीचमा पूर्व पट्टि १ पश्चिम पट्टि १ गरी २ ठाउँ समेत कुलोको आकार लेखिए मध्ये उत्तर पट्टिको कुलो छसयको खोरको आडबाट पछि बनाएको भन्ने कुरामा दुवै पक्षको मुख मिलेकै र अंश मुद्दामा भएको ०५ सालको मिलापत्रमा तेर्सो कुला देखि उत्तर भनी साँध लेखिएको कुलो कुन रहेछ भन्ने हकमा सो कि.नं.१०११ को बीचमा लेखिए मध्ये पुर्व पट्टिको चाही कुलो नै मिलापत्रमा साँध लेखिएको सो देखि उत्तरको जग्गा मेरो भन्ने वादी पक्ष र पश्चिम पट्टिको चाही हाल नक्सामा कुलो लेखिएको ठाउँमा उस बखत भएको कुलो मिलापत्रमा साँध लेखिएको हो । सो साझा कुलो मेटि खेत बनाई छसयको खोरको आडबाट अर्को कुलो काटेका हुन । पूर्व पट्टिको चाँही मेरो खेतको माझबाट काटेको व्यक्तिगत कुलो हो भन्ने प्रतिवादी पक्षको हाल बहस जिकीर समेत भएकाले मुख्यतः अंश मुद्दाको ०५ सालको मिलापत्रमा साँध लेखिएको कुलो कुन हो ? सर्भे नापीको ट्रेस नक्सामा कि.नं.१०।११ को बीचमा पश्चिम पट्टि कुलोको आकार लेखिएको ठाउँमा हाल कुलो कायम छ छैन ? पूर्व पट्टिको चाहीं कुलो पहिले देखि कै सनातनी हो वा प्रतिवादीको भनाईबमोजिम निजको खेतको माझबाट पछि बनाएको के हो ? सो २ कुलाको आकार लेखिएका ठाउँको बीचको हाल झगडा परेको जग्गामा हक भोग कसको छ ? यी सब कुराहरू प्रमाण बुझी मात्र निर्णय हुनु पर्ने देखिन आउँछ ।

      १३.   प्रस्तुत मुद्दा शुरु तहमा कारवाई किनारा गर्ने प.३ नं.सर्भे गोश्वारा समेतबाट उपरोक्त कुराहरू कानूनबमोजिम नबुझिएको र यसै मुद्दाबाट बुझी निर्णय दिन मिल्ने नमिल्ने के हो ? भन्नेतर्फ सर्भे गोश्वाराको अधिकार क्षेत्रभित्रको भए मात्र सर्भेमा परेको यस मुद्दाबाट सो कुराहरू बुझी निर्णय दिन मिल्ने समेत हुनाले सर्भे गोश्वाराको अधिकार क्षेत्रका सम्बन्धमा हेर्दा, ०९ सालमा नापी गोश्वाराका नाउँमा भएको सवालको ५ दफामा सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी फैसला गर्न पाउने । यसमा त्यस किसिम सिमानाकै कुरा नभई झगडा परेको केही जग्गा हक बेहक समेतको निर्णय हुनु पर्ने यस्तो मुद्दा सर्भे गोश्वाराले हेर्न छिन्न पाउने अधिकार क्षेत्र भित्र परेको देखिन आएन ।

      १४.   तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम सर्भे गोश्वाराको अधिकार क्षेत्र बाहिरको सर्भे गोश्वारामा परेको यस मुद्दाबाट उपरोक्त कुराहरू बुझी जग्गा हक बेहक समेतको निर्णय दिन नमिल्ने भएकाले उक्त नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानूनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी वादी पक्षलाई सुनाई दिन पर्नेमा जग्गामा हक बेहक हुने समेत किसिमसँग प.३ नं.सर्भे गोश्वाराले ०१७।३।१९।७ मा गरेको पर्चा मिलेको नदेखिएको । अ.बं.३५ नं. बमोजिम बदर गर्नुपर्नेमा ०२३।४।११।३ को डिभिजन बेञ्चबाट सोअनुसार नगरी यसै मुद्दाबाट हक बेहक निर्णय गरेको मिलेको देखिएन । उक्त प.३ नं.सर्भे गोश्वाराको ०१७।३।१९।७ को पर्चा बदर हुने र ७ दिन भित्र कानूनबमोजिम जिल्ला अदालतमा नालेस दिन जानु भनी वादी पक्षलाई सुनाई दिने समेत ठहर्छ । अरु तपसीलबमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी धर्मराज शर्मा घिमिरे के प.३ नं.सर्भे गोश्वारा को ०१७।३।१९।७ को पर्चाले गर्ने गरेको जरिवाना रु. १। र पुनरावेदन गर्दा राखेको दस्वद धरौट रु. ।१० समेत ०२३।४।११।३ को डिभिजन बेञ्चका फैसलाले फिर्ता दिने गरी सकेको हुँदा केही गर्नु परेन …………………….१

अमिन गुर्णबहादुर के प.३ नं सर्भे गोश्वाराको ०१७।३।१९।७ को पर्चाले गर्ने गरेको जरिवाना रु.१। हाल नलाग्ने हुँदा कानÒनबमोजिम असुल भइसकेको भए फिर्ता बाँकी भए लगत कट्टा गरिदिनु भनी सो सर्भे गोश्वारालाई लेखी पठाउने का.श्रे.अ.त.मा लगतदिनु …………………..२

निवेदन वादी सरस्वती मरी सकार गर्ने जगनाथ पाध्या १, खीनलाल पाध्या १, धन नाथ पाध्या १, दुर्गा नाथ पाध्या १, धन नाथ पाध्या १ समेतले मुद्दा दोहर्‍याउँदा ०२४।८।१९।३ मा सर्वोच्च अदालतमा दाखिल गरेको कोर्टफी रु. १। नलाग्ने हुँदा कानÒनको रीत पुर्‍याई फिर्ता दिनु भनी ……………..३

नियमबमोजिम मिसिल बुझाइदिनु ……………….४

 

इति सम्वत् २०२४ साल फागुण ८ गते रोज ३ शुभम् ।