January 16, 1968
Created by nepalarchives

निर्णय नं. ३९३ – बाटो निकास बन्द

निर्णय नं.  ३९३     ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीस श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीस श्री राजा इश्वरी जंगबहादुर सिंह ०२३ सालको...

निर्णय नं.  ३९३     ने.का.प. २०२५

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीस श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीस श्री राजा इश्वरी जंगबहादुर सिंह

०२३ सालको दे.फु.नं. ६२

पुनरावेदक, वादी : तुल्सीदेवी श्रेष्ठनी

विरुद्ध

विपक्षी, प्रतिवादी : कृष्णकुमारी जोशी

मुद्दा : बाटो निकास बन्द

(१)   न्याय प्रशासन विविध व्यवस्था संशोधन ऐन, २१ को संशोधन दफा ८ को उपदफा २ (क)सामुहिक हक देखाएको सन्धिसर्पन मुद्दामा अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने ।

            वादीको फिरादपत्रमा १ जना मात्रको व्यक्तिगत हक भन्ने नभई कर्णदास श्रेष्ठको चारैतिर घर बीचमा ठूलो चोक सो चोकमा प्रवेश गर्ने बाटो (ढोका) एउटा भएको घरमध्ये दक्षिणतर्फ गोपालमान जोशी अन्यायी कृष्णकुमारी आसामाया र म तुल्सीदेवी समेतले ४ हिस्सा गरी फार्छे लिएको चोक र सो चोकमा प्रवेश गर्ने बाटो (लव) समेत साझा चर्ची आएको भन्ने उल्लेख गरी १ भन्दा धेरै व्यक्तिको सामुहिक हक देखाएको समेत हुँदा यस्तो दावीको सामुहिक सन्धिसर्पन मुद्दामा न्याय प्रशासन विविध व्यवस्था संशोधन ऐन, २१ ले संशोधित दफा ८ को उपदफा (२) (क) बमोजिम अञ्चल न्यायधीशको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने प्रष्टै छ ।

(प्रकरण नं. २)

(२)   प्रस्तुत मुद्दाको मिसिलबाट निर्णय गर्न, सबै कुरा खुल्न नआए आवश्यक आदेश दिन मिल्ने ।

            त्यसबाट प्रस्तुत मुद्दाको निर्णयकोलागि सबै कुरा पर्याप्त खुल्न नआएको समेत हुृनाले मा.न्या.श्री हेरम्वराजले अर्को नक्सा गर्ने राय व्यक्त गर्नु भएको बेमुनासिव भन्नु भएन । 

(प्रकरण नं. ३)

पुनरावेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे

आदेश

      १.     यसमा प्रस्तुत मुद्दामा वाग्मती अञ्चल अदालतबाट २४।२।१८ मा फैसला गरे उपर वादीको पुनरावेदन परी आएको २४।८।१७।१ को डिभिजन बेञ्चमा पेश हुँदा नक्शामा ४ किल्ला खुलाएको नहुँदा झगडा परेको बाटोले कुन बाटोमा पुगिने हो ? सो झगडा गरेको बाटोबाट चोकतर्फ पुगी त्यहाँबाट निस्कने अर्को बाटो छ, छैन ? मूल बाटोमा निस्कने अरु घरको ढोका बाटो कुन हो ? खुलाई नक्सा गरेपछि मात्र झगडा परेको बाटो एकलौटी वा सामुहिक भनी किनारा गर्न मिल्ने हुनाले नक्सा गरी पेश गर्नु भन्ने मा.न्या.श्री हेरम्बराजको र दुवै पक्षबाट बिरोध नगरिएको नक्सा मिसिल सामेल हुँदा पुनः नक्सा गर्न आवश्यक नभएको । उसमा पनि शुरु र अञ्चल अदालतको राय मिलेको प्रस्तुत मुद्दामा बिगो नखुलेको र बिगो नखुलेको मुद्दा मध्ये सामुहिक कुलोपानी सामुहिक सन्धिसर्पन गौचरण वा तायदाती नआएको अंश मुद्दामासम्म पुनरावेदन लाग्ने भन्ने न्या.प्र.विविध व्यवस्था संशोधन ऐन, २१ ले संशोधन गरेको दफा ८ को उपदफा २ (क) मा उल्लेख भएको । प्रस्तुत मुद्दाको दावी सामुहिक नभई व्यक्तिगत भएकाले वादीको दावी नभएको सामुहिक सन्धिसर्पन मुद्दा भन्न नमिल्ने र रु. ५ कोर्टफी लागी दाएर भएको हुँदा अञ्चल अदालतको फैसला उपर पुनरावेदन नलाग्ने हुनाले प्रमाण बुझ्न नमिल्ने भन्ने मा.न्या.श्री लोकराजको राय भई डिभिजन बेञ्चमा मतैक्य हुन नसकेबाट नियमबमोजिम निर्णयको लागी यस बेञ्चमा पेश हुन आएको रहेछ ।

      २.    यसमा पुनरावेदकको वा.रामचन्द्र रोहवरमा रही २४।९।२५।३ मा पेश भई पुनरावेदक तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा वाग्मती अञ्चल अदालतको फैसला उपर पुनरावेदन लाग्ने नलाग्ने के हो ? भन्नेतर्फ सर्वप्रथम हेरेमा वादीको फिरादपत्रमा १ जना मात्रको व्यक्तिगत हक भन्ने नभई कर्णदास श्रेष्ठको चारैतिर घर बीचमा ठूलो चोक सो चोकमा प्रवेश गर्ने बाटो (ढोका) एउटा भएको घर मध्ये दक्षिणतर्फ गोपालमान जोशी अन्यायी कृष्णकुमारी आसामाया र म तुल्सीदेवी समेतले ४ हिस्सा गरी फार्छे लिएको चोक र सो चोकमा प्रवेश गर्ने बाटो (लव) समेत साझा चर्ची आएको भन्ने उल्लेख गरी एक भन्दा धेरै व्यक्तिको सामुहिक हक देखाएको समेत हुँदा यस्तो दावीको सामुहिक सन्धिसर्पन मुद्दामा न्याय प्रसाशन विविध व्यवस्था संशोधन ऐन, २१ ले संशोधित दफा ८ को उपदफा २ (क) बमोजिम अञ्चल न्यायाधीशको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने प्रष्टै छ ।

      ३.    अब नक्सा गर्नुपर्ने नपर्ने के हो ? भन्नेतर्फ हेर्दा, मिसिल सामेल रहेको ०२२।८।२५।६ को नक्सा, यो मुद्दाबाट भएको नभई तुल्सीदेवी श्रेष्ठनीको र कृष्णकुमारीको बाटो निकास बन्द गर्‍यो भन्ने अर्को मुद्दामा का.न.पा.बाट भएको देखिएको र त्यसबाट प्रस्तुत मुद्दाको निर्णयको लागि सबै कुरा पर्याप्त खुल्न नआएको समेत हुनाले मा.न्या.श्री हेरम्बराजले अर्को नक्सा गर्ने राय व्यक्त गर्नु भएको बेमुनासिव भन्नु भएन ।

      ४.    तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम वाग्मती अञ्चल अदालतको फैसला उपर पुनरावेदन लाग्ने नै देखिन आएको समेत हुँदा अर्को नक्सा गर्नेतर्फ २४।८।१७।१ को डिभिजन बेञ्चमा मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नु भएको राय मुनासिव छ । सोअनुसार नक्सा गरी डिभिजन बेञ्चमा पेश गर्न फुल बेञ्चको दर्ता लगत काटी डिभिजन बेञ्चको लगतमा दर्ता गरी सम्बन्धित फाँटमा बुझाई दिनु ।

 

इति सम्वत् २०२४ साल माघ २ गते रोज ३ शुभम् ।