निर्णय नं. ३९०७ – कर्तव्य ज्यान
निर्णय नं. ३९०७ ने.का.प. २०४६ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु.नं....
निर्णय नं. ३९०७ ने.का.प. २०४६ अङ्क ८
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको फौ.पु.नं. ५८१
फैसला भएको मिति : २०४६।६।२९।१ मा
पुनरावेदक/वादी : बाग्लुङ मुलपानी गा.पं. को जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : बाग्लुङ जिल्ला मुलपानी गा.पं. वडा नं. ९ बस्ने शकुन्तला विश्वकर्मा
मुद्दा : कर्तव्य ज्यान
§ प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने ।
(प्रकरण नं. १८)
§ शंकाको भरमा मात्र दोषी ठहर्याउन न्यायको रोहबाट नमिल्ने ।
(प्रकरण नं. १८)
§ मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेको बच्चीको शरीरमा प्रशवका समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित नहुने ।
(प्रकरण नं. १८)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।२४।२ को फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :
२. मुलपानी गा.पं. वडा नं. ९ देउपुजा भन्ने ठाउँमा २०४२।६।२६ गते बिहान ९ बजे ऐ. वडा नं. ३ बस्ने छबीकुमारी उपाध्यायले आफ्नो नन्दको घर सिंगार्ने कमेरो लिई जाँदा बाटाको छेउ पत्थरको फेदमा १० मास पुगे जस्तो बच्चा मारी फालेको देखी गा.पं. मा जाहेरी गरे अनुसार गा.पं. बाट गई हेर्दा बच्चाको नाकबाट रगत आइरहेको छ । बच्चा मरेको छ लाश जाँच गरिपाउँ भन्ने समेत गा.पं. को २०४२।६।२६ को जाहेरीपत्र ।
३. पूर्व बाँसघारीसमेत ४ किल्लाभित्र मुलपानी गा.पं. वडा नं. ९ देउपुजा धाराबाट गाउँमा जाने बाटोको उत्तरपट्टि ठुलो चुच्चे ढुङ्गाको फेदमा खाचो भएको खोल्सोमा मृतक बच्चीको शिर पश्चिमपट्टि परेको शरीर उत्तानो पारी दाहिने आँखा र नाक मुख देखिएको, आँखा बन्द भएको, मुख र नाकमा रगत देखिएको, देब्रे आँखा र कानको भाग पत्थरमा च्यापिएको, बाहिर निकाली हेर्दा साल नाल नछुट्टिएको चिउँडोसम्म च्यापिएको योनी माथि छाला खुइलिएको कपाल पूरै भएको १० महीनाको बच्ची भएको भन्ने लाश जाँच मुचुल्का ।
४. विबाह भएको छैन माइत घरमा छु घटनास्थलमा फेला परेकी छोरी जातक मैले जन्माएकी हुँ, बच्चा मेरो हो । २०४१ पौष महीनामा बाग्लुङ बजारदेखि मल लिएर खहरे भन्ने ठाउँमा पुग्दा अध्यारो थियो एकजना लाहुरे भेट भयो, निज र म भई रम खायौं, खाएपछि लाहुरेसँग करणी लिनु दिनु भयो, सो करणीबाट मलाई गर्भ रहन गएछ, गर्भ रहेको कुरा मैले कोही कसैलाई भनेको छैन । २०४२।६।२४ गते बेलुका पेट दुख्यो त्यसपछि कसैलाई थाहा नदिई लाटी भन्नेको मानिस नबस्ने घरमा आई छोरी जातक जन्माएर सोही ठाउँमा २ घण्टा बसी पछि ल्याई फालेकी हुँ बच्चा जन्मने अवस्था मैले पेट माड्ने अठ्याउने गरेको अवस्था छोरी जन्मेकी थिई त्यसपछि मरेकी हुँदा फालेकी हुँ भन्ने समेत सकुन्तलाले प्रहरी समक्ष गरेको बयान कागज ।
५. घटनास्थलमा मृतक छोरी जातक बच्ची मरेकी अवस्थामा देखेका हौं । सकुन्तलाले २४ गते राती लाटी भन्ने पाण्डेको मानिस नबस्ने घरको करेसोमा मरेकी बच्ची जन्मेकी हुँदा फालेकी हुँ भन्दथिई मरेको हो वा जीवित जन्मेकी हो नदेखिएको हुँदा थाहा भएन । जीवित अवस्थामा भए मार्नुमा कोही सहमति भएको हामीलाई विश्वास लाग्दैन भन्ने समेत सरजमीन मुचुल्का ।
६. मरी सकेको गर्भ भए साधारण किसिमबाट जन्मन असुविधा पर्ने हुँदा र मरेकै जन्मेको व्यहोरा यो प्रतिवादीले कसैलाई नभनी आफ्नो निर्दोषिता सिद्ध गर्ने कार्यबाट बन्चित भएको हुँदा मरेकै जन्मेको हो भन्ने कुरा पनि अनुसन्धान अवस्था भएको सरजमीनबाट नदेखिई जीवित अवस्थामा जन्मेको वा मरेको अवस्थामा जन्मेको हो हामीलाई थाहा छैन भन्ने देखिँदा रातको वारदात हुँदा घटनास्थलमा उपस्थित नहुने हुँदा सरजमीनका मानिसले थाहा नपाउनु पनि स्वभाविक हुन आउँछ । आफूले जन्माएको छोरी जातकलाई कुनै कारण परिबन्द पूराई च्यापी अठाई मारी मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को कसूर भएको हुँदा सोही ऐनको १३(३) को सजायँ हुन दावी गरिएको प्रहरी प्रतिवेदन ।
७. २०४१ साल पौष महिना हो गते बार सम्झना छैन रजश्वला भएको ६ वर्ष अगाडिदेखि रजश्वला बन्द भएको थियो उक्त पुष महिनामा बाग्लुङबाट मल बोकी घरतर्फ गएकी थिएँ बेलुका ६ बजे वोक्से भन्ने ठाउँमा पुगेकी थिएँ एक अपरिचित लाहुरेसँग भेट भयो र लाहुरेले रम खाउँ भनी मलाई रमको बोतल दियो मैले खाएकी छैन भन्दा नखाए मारी दिन्छु भन्यो मैले एक गिलास जति रम खाएँ । मलाई नशा लाग्यो अरु केही थाहा पाइन । खोल्सामा मलाई सुताई करणी गरेछन् नसाले छाडी विउँझे पछि थाहा पाएँ र साइला बाबुको घरमा गई बसें लाहुरेबाट करणी गरेको कुरा कसैलाई भनिन । करणीबाट मलाई गर्भ रहेछ । आश्विन २४ गते भुर्ते पाण्डेको गोठमा रातको अं. ११ बजे छोरी जातक पैदा भयो मद्दत मागिन । जन्मदा साल नाल सहितको बच्ची चुनरा डहर भन्ने ठाउँमा खाल्टो थियो त्यही खाल्टोमा फाली घरमा आमालाई रजश्वला भएँ गुन्द्री देउ भने बच्चा जन्माएर फाली आएँ भनिन् जाहेर पनि गरिन रातको अवस्थामा जन्मेकी हुँदा लासको अवस्था कस्तो थियो खुलाउन सक्तिन । बच्ची मारेर फालेकी हैन फुर्सत पाउँ भन्ने समेत सकुन्तलाको अदालतमा भएको बयान ।
८. बच्चा मरिरहेको देखेका हौं सकुन्तलाले बच्चा मैले जन्माई फालेकी हुँ भन्ने सुनेको हुँ २०४२।६।२६।७ मा गाउँ पञ्चायतबाट पठाएको जाहेरी सत्य साँचो लेखी पठाएको हो भन्ने जाहेरवाला पूर्णबहादुर के.सी. ले अदालतमा आई बकेको बकपत्र ।
९. डोर गएपछि हेर्न जाँदा मास पूरा भएको बच्चा मरेको देखी कसको हो भन्दा सकुन्तलाको हो रे भन्ने सुनेको हुँ अरु थाहा छैन भन्ने सकुन्तलाको साक्षी जिवराज गौतमको बकपत्र ।
१०. रातको अवस्थामा जन्मेको, जन्मने बेलामा सुत्केरीको पीडाले आफ्नो शरीर नै राम्रोसँग हेरविचार गर्न नसक्ने हुन्छ । विवाह नभएकी कन्या केटी भएकीले लोक लज्जाले गर्दा निजले कसैलाई थाहा नदिई घर नजिकको चुनार डहर नेरको खाल्टोमा फालेकी मरेकी बच्ची फेला पर्दैमा जिउँदै जन्माएको भन्ने ज्यान जस्तो जघन्य अपराधमा ठोस सबूद प्रमाणको अभावमा प्रतिवादीलाई कसूरदार ठहराउन न्यायोचित नहुने हुँदा आरोपित कसूरबाट प्र.सकुन्तला विश्वकर्माले सफाई पाउने ठहर्छ भन्ने शुरु बाग्लुङ जिल्ला अदालतको फैसला ।
११. बच्चा फालेको भन्ने कुरामा सन्तुष्ट हुँदाहुँदै वादी पक्षबाट ठोस सबूद प्रमाण जुटाउन नसकेको भनी र प्रतिवादीले इन्कारी बयान गरेको भन्ने समेतको आधारलाई मध्य नजर राखी गरेको शुरु इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार प्रतिवादीलाई सजायँ गरिपाउँ भने समेत वादी श्री ५ को सरकारको तर्फबाट धवलागिरी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
१२. प्रतिवादीले जातक छोरीलाई हानी मारेको कुराको अकाट्य सबूद प्रमाणको अभावमा सिर्फ शंका र अनुमानित वादी दावीको आधारमा दोषी ठहर्याउन नमिल्ने हुँदा पुनरावेदन जिकिर र प्रतिवादी उपरको वादीको दावी नपुग्ने हुँदा शुरु बाग्लुङ जिल्ला अदालतले प्रतिवादीलाई सफाई दिएको फैसला मनासिब ठहर्छ भन्ने समेत धवलागिरी अञ्चल अदालतको २०४४।७।२६ को फैसला।
१३. धवलागिरी अञ्चल अदालतले प्रतिवादी सकुन्तला विश्वकर्मालाई सफाई दिने गरी गरेको मिति २०४४।७।२६ को फैसलामा चित्त बुझेन सो फैसला बदर गरी प्रतिवादीलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१४. प्रतिवादी सकुन्तला विश्वकर्माले जन्मेको जीउँदो बच्चीलाई अठ्याई मारेको भन्ने आरोप कतैबाट पुष्टि हुन नसक्नुको अतिरिक्त निजले बच्चीलाई जन्माउँदा पेट निमोठ्ने अठ्याउने गरेकीले जन्मेको जातक जिउँदै जन्मेको अनुमान गर्न पनि कठिन भएको र जिउँदै जन्मेको भए पनि लगतै पछि मरेको भन्न नसकिने अवस्था रहँदैन । तथ्ययुक्त सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा कसूरदार ठहर्याउन न्यायोचित नहुनको अतिरिक्त शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रतिवादीलाई आरोपित कसूरबाट सफाई दिएको इन्साफ सदर गरेको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।२४ को फैसला ।
१५. उक्त फैसलामा चित्त बुझेन र प्रतिवादी शकुन्तला विश्वकर्माले जातक बच्ची जन्मदा तातो जन्मेकी थिई भन्ने बयान गरेकीले मृतक बच्ची जन्मेको भन्न मिल्दैन । लास जाँच मुचुल्कामा लासको विभिन्न स्थानमा छाला खुइलिएको र नाक कानबाट रगत निस्केको समेत देखिँदा जिउँदो बच्ची जन्मी सकेपछि बल प्रयोग गरी मारेको भन्ने प्रमाणित भइरहेको छ । निजले बच्चा जन्मे को अघि र पछि कसैैलाई थाहा नदिइकन बसेको कारणबाट पनि जिउँदो बच्ची जन्माई फालेको अपराध छिपाउन त्यसो गरेको भन्ने पुष्टि भइरहेको हुँदा प्रतिवादीलाई सफाई दिने गरेको प.क्षे.अ. को इन्साफ उल्टी गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको । श्री ५ को सरकारको पुनरावेदन ।
१६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटी आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले प्रतिवादीले जिउँदै जन्मेको बच्चीलाई फालेकी होइन भनी निजको तर्फबाट कुनै साक्षी बकपत्र गर्न सकेका छैनन् । जन्मदा बच्ची तातै थिई भन्ने कुरा निजले स्वीकारेकी हुँदा जिउँदो बच्चीलाई मारी फालेकी भन्ने देखिन्छ तसर्थ प्रहरी प्रतिवेदन बमोजिम प्रतिवादीलाई सजायँ होस् भन्ने समेतको बहस गर्नु भयो ।
१७. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।२४ को इन्साफ मिलेको नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१८. यस्मा निर्णयतर्फ हेर्दा प्रतिवादी शकुन्तला विश्वकर्माले जिउँदो जातक बच्ची जन्माई कुनै कारण परिबन्द पुर्याई च्यापी अठ्याई कर्तव्य गरी मारेकी हुँदा ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भनी प्रहरी प्रतिवेदन दावी रहेको देखिन्छ । प्रतिवादी शकुन्तला विश्वकर्माले प्रहरी समक्ष दिएको बयानमा २०४१ साल पौष महीनामा बागलुङ बजारदेखि मल लिएर खहरे भन्ने ठाउँमा पुग्दा अँध्यारो भएको र त्यहाँ एकजना लाहुरे भेट भई दुबै जनाले रम खायांै, खाएपछि निजै लाहुरेसँग करणी लिनु दिनु भयो सो करणीबाट गर्भ रहन गएको र २०४२।६।२४ मा पेट दुखी पेट माड्ने अठ्याउँने गरेको अवस्थामा छोरी जन्मेकी र मरेकी हुँदा फालेकी हुँ भनी बयान गरेकी देखिन्छ । सोही घटना क्रमलाई सकार गर्दै उक्त बच्ची जन्मदा चलबलाएकी थिइन, जन्मदै मरेकी थिई भनी अदालतमा बयान गरेको देखिन्छ । प्रतिवादीले अदालत तथा प्रहरी दुवैमा जिउँदो बच्ची मारी फालेको भन्ने अभियोगमा इन्कारी बयान गरेको देखिन्छ । सरजमीनका मानिसहरूले पनि जिउँदो बच्ची मारी फालेकी हो, भनी किटानीसाथ भन्न नसकी मरेको बच्ची मानिस नबस्ने घरको करेसोमा देखेको, जीवित वा मृतक के जन्मेको हो थाहा भएन भनी लेखाएको देखिन्छ । प्रतिवादीले जीवित बच्ची मारी फालेको हो भन्ने कुनै सबूद तथा साक्षी प्रमाण प्रस्तुत हुनसकेको देखिँदैन । प्रतिवादी उपरको अभियोग प्रमाणित गर्ने भार वादीमा रहने हुँदा वादी पक्षबाट स्पष्ट सबूद प्रमाण दिन नसकेको अवस्थामा शंकाको भरमा मात्र दोषी ठहर्याउन न्यायको रोहबाट मिल्ने हुँदैन । मृतक बच्चीको आँखा र कानमा रगत लागेको भन्ने हकमा भर्खरै जन्मेकी बच्चीको शरीरमा प्रशवको समयमा आमाको योनीबाट निस्केको रगत लागेको हुनसक्ने सम्भावना पनि रहन्छ । लाशको पोष्टमार्टम हुन नसकेको र उक्त रगत जाँच भएको पनि नदेखिँदा जिउँदो बच्ची नै मारेको र सो रगत पनि निज मृतक बच्चीलाई कुनै तरकिवले मार्दा निस्कन गएको हो भनी अनुमान गर्न र सोही अनुमानको भरमा मात्र प्रतिवादीलाई सजायँ गर्न न्यायोचित हुँदैन । तसर्थ जिउँदो जातक जन्माई मारेको भन्ने स्पष्ट सबूद प्रमाणको अभाव देखिँदा प्रतिवादी शकुन्तला विश्वकर्मालाई सफाई दिने ठहर्याई निर्णय गरेको शुरु बाग्लुङ जिल्ला अदालतको इन्साफ सदर गरेको धवलागिरी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।६।२४।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन निर्णय भएको सूचना सहित फैसलाको एकप्रति प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा ।
इति सम्वत् २०४६ साल आश्विन २९ गते रोज १ शुभम् ।