September 18, 1989
Created by nepalarchives

निर्णय नं. ३९०६ – कर्तव्य ज्यान

निर्णय नं. ३९०६     ने.का.प. २०४६                         अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं....

निर्णय नं. ३९०६     ने.का.प. २०४६                         अङ्क ८

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको फौ.पु.नं. ४५७

फैसला भएको मिति : २०४६।६।२।२ मा

पुनरावेदक/वादी : रामजित तेलीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जिल्ला नवलपरासी सनई गा.पं. वडा नं. ७ बस्ने गोपाल पाण्डेसमेत

मुद्दा : कर्तव्य ज्यान

§  इसारा गरेको थियो भनेको आधारमा मात्र अपराधी भनी ठहर गर्न नमिल्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला

प्रतिवादीहरू तर्फबाट : विद्वान अधिवक्ता श्री गांधी पंडीत

फैसला

            प्र.न्या. धनेन्द्रबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी वादी श्री ५ को सरकारतर्फबाट न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ग) अनुसार पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :

            २.    मिति २०३९।४।९ गते बिहान म परासी बजारतर्फ जाँदा दाजु रामपृत घरमै थिए फर्की आउँदा साँझको अं. ८ बजेतिर गाउँलेहरूले बोकी ल्याएको खराब हालत देखी सोधनी गर्दा खेतमा पानी हेर्न गई फर्की आउँदा गणेश श्रेष्ठ, पूर्णवासी थारु, दिनानाथ कोइरी समेत संग अघि पछि कुरा गर्दै आउँदै रहँदा दाजुको कम्बरमा १ फायर गोली लागी लडेको र पुनः गणेश श्रेष्ठले अर्को फायर गर्दा मिस भई गुहार माग्दा अपराधीहरू भागी गएका भनी दाजु रामपृतले मौकैमा भनेको र ऐ. रातीको १ बजेको दाजु रामपृतको अस्पतालमा मृत्यु भएकोले कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्तपत्र ।

            ३.    मृतकको कम्मरमा ४ ईन्च गोलाईको बेण्डज आधा भन्दा बढी रगतले भिजेको बायाँ कोखमा ४ ईन्च गोलाईको भाग पूरै निलो भई डाम देखिएको भन्ने मौकाको लाश प्रकृति मुचुल्का गोलीले हानी मृत्यु भएको भन्ने मृतक रामपृत तेलीको पोष्टमार्टममा डाक्टरको राय ।

            ४.    मृतकलाई प्रतिवादीहरूले गोली फायर गरी मारेमा पूरा विश्वास लाग्छ भन्ने केही गोली फायर गरेको सुनी गएका हौं । प्रतिवादीहरूले गोली हानेछन् र मृतक रामपृतको अस्पतालमा मृत्यु भएको हो भन्ने केही गणेश पूर्णवासी र दिनानाथ समेतले गोली हानी मारेको हो भनी रामपृत कै मुखबाट सुनेका हौं जाहेरीमा किटान गरेका व्यक्तिहरूले नै मारेका हुन् बन्दुकको आवाज आई हामीहरू जाँदा प्रतिवादी मध्ये गणेश, पूर्णवासी र दिनानाथ समेत भारततर्फ भागी गएको देखेका हौं जाहेरीमा किटान भएका व्यक्तिहरूको गोलीबाट रामपृतको मृत्यु भएको हो अरु उपर शंका छैन भन्ने समेत केही व्यक्तिहरूको भनाई भएको मौकाको सरजमीन मुचुल्का ।

            ५.    यस्मा किटानी जाहेरी लाश जाँच पोष्टमार्टम रिपोर्ट समेतबाट मिति २०३९।४।९ गते रामपृतको प्रतिवादी गणेश श्रेष्ठ, पूर्णवासी थारु, दिनानाथ कोइरी समेतले गोली हानी भारततर्फ भागी गएको र रामपृतको मृत्यु भएको भन्ने सरजमीनका दफा दफाका मानिसहरूले पुष्ट्याई दिई बकेका र अन्य प्रतिवादी रमइ वेल्दार, प्रल्हाद वेल्दार, गोपाल पाण्डे, रामकृपाल पाण्डे समेत उपर पनि शंका लाग्छ भनी मृतककी आमा कवलवती तेली समेतले शंका देखाई बकेका समेत कारणबाट निज प्रतिवादी गोपाल श्रेष्ठ समेत जना ७ ले ज्यानसम्बन्धीको १ नं. विरुद्ध कसूर गरेकाले नेपाल सरहदभित्रका प्रतिवादीको हकमा अदालतबाटै र भारत निवासीको हकमा नेपाल सरहदभित्र फेला परेका बखत मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) बमोजिम कारवाही भई सजायँ हुन सादर अनुरोध गरिएको छ भन्ने समेत प्रहरी प्रतिवेदन दावी ।

            ६.    मिति २०३९।४।९ गते दिन रात म घरमै छु । मैले रामपृत तेलीलाई गोली हानी मारेको हैन कस्ले मारे थाहा छैन । मृतकको आमासँग जग्गा सम्बन्धमा झगडा परेको थियो सोही कारणले मलाई फसाउन खोजेका हुन् भन्ने समेत प्रतिवादी गोपाल पाण्डेले अदालतमा गरेको बयान ।

            ७.    मिति २०३९।४।९ गते म गाउँ घरमा छु रामपृतलाई मैले गोली फायर गरी मारेको होइन । म उपरको दावी झुठ्ठा हो घर खेत विषयमा झगडा भएको कारणले मृतककी स्वास्नी तथा आमाले सरजमीनमा झुठ्ठा व्यहोरा लेखाएका हुन् म उपको आरोपबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी रमइ वेल्दारले अदालतमा गरेको बयान ।

            ८.    मिति २०३९।४।९ गते परासी बजार गई राती घर फर्केको मृतक रामपृतलाई मैले मारे मराएको छैन । म उपरको वादी झुठ्ठा हो । मृतकसँग उखडा जग्गा कमाउँदा झगडा भएको कारणले निजका श्रीमती तथा आमाले झुठ्ठा सरजमीन बकेका हुन् भन्ने समेत व्यहोराको प्रल्हाद वेल्दारले अदालतमा गरेको बयान ।

            ९.    मिति २०३९।४।९ गते दिन रात आफ्नो घरमा छु मैले रामपृतलाई मारे मराएको होइन । मृतक रामपृतका परिवारसँग रिसइवी भएको कारणले झुठ्ठा पोल गरेका हुन म निर्दोष छु भन्ने समेत प्रतिवादी रामकृपाल पाण्डेले अदालतमा गरेको बयान ।

            १०.   जाहेरवाला सरजमीनका मानिस र प्रतिवादीका साक्षीहरूको समेत बकपत्र भई मिसिल सामेल रहेको ।

            ११.   यस्मा जाहेरवालाले मेरो दाजुले मर्नुभन्दा अगाडि मलाई भरतीय गणेश श्रेष्ठ समेत ३ जनाले गोली हानेका भनी भन्नु भएको भनी शुरु जाहेरीमा उल्लेख गरेका र यी प्रतिवादीहरू समेतको मिलेमतो थियो भन्ने कुरा शुरु जाहेरीमा समेत उल्लेख नभएको र बहुसंख्यक सरजमीनले समेत यी प्रतिवादीहरूलाई कर्तव्यवाला हुन् भनी किटानी गरी लेखाउन समेत नसकेबाट रामपृतलाई मार्नेमा यी प्रतिवादी गोपाल पाण्डे, रामकृपाल, रमई बेल्दार, प्रल्हाद बेल्दार समेतको षडयन्त्रबाट रामपृत मरेकामा सजायँ गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन दावी पुग्न सक्दैन । निज ४ जनाले सफाई पाउने गरी साधक जाहेरी हुने ठहर्छ भन्ने समेत शुरु नवलपरासी जिल्ला अदालतको मिति २०४२।७।२० गतेको फैसला ।

            १२.   यस्मा प्रतिवादीहरू मौकामा फेरार रहेका र अदालतमा उपस्थित भई बयान गर्दा आफूले गरेको अपराधबाट बच्ने उद्देश्यले गोली हानी रामपृतलाई मारेमा इन्कार रहेका र उक्त इन्कारीलाई निजका गफमेलमा मिल्ने खालका साक्षीहरूले सफाई दिई बकपत्र गरिदिएको भन्दैमा सरजमीनका मानिसहरूले अदालतमा बकपत्र गर्दा किटानीसाथ बकी लेखाई दिएको कुरालाई कुनै वास्ता नगरी प्रतिवादीहरूलाई सफाई दिने गरी भएको शुरु फैसला बदर गरी निज प्रतिवादीहरूलाई शुरु प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फको पुनरावेदनपत्र ।

            १३.   प्रतिवादी गोपालप्रसाद पाण्डे समेतका ४ जना प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिएको नवलपरासी जिल्ला अदालतको इन्साफ सदर हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।२।१५ गतेको फैसला ।

            १४.   सरजमीनका व्यक्तिहरूले अदालतमा समेत गोली हानेकोबाट रामपृतको मृत्यु भएको भन्ने देखिएकोमा प्रतिवादीहरूलाई सफाई दिएको इन्साफ सदर गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।

            १५.   प्रतिवादीहरू गोपाल पाण्डे १, रमई बेलदार १, प्रल्हाद र रामकृपाललाई सफाई दिने र फरार रहेका प्रतिवादी गणेश श्रेष्ठ १, पूर्णवासी १ र दिनानाथ १ समेत ३ जनाका हकमा केही नबोली भएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलासँग सहमत हुन सकिएन विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४५।५।७ गतेको आदेश।

            १६.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट बहस गर्न उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले गोली हानी मारेको कुरा मृतककी आमा कलावती मृतककी श्रीमती मिश्रिवतीको बयान तथा सरजमीन समेतको भनाईबाट मृतक रामपृतको मृत्यु प्रतिवादीहरूको गोलीद्वारा भएको देखिएको छ । यस्तोमा प्रतिवादीहरूलाई सफाई दिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन प्रहरी प्रतिवेदन अनुसार सजायँ हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । प्रतिवादीहरूतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गांधी पण्डितले प्रतिवादी हरूले आरोपित कसूर गरेको हो भन्ने तथ्ययुक्त सबूद प्रमाण केही छैन । सबूद प्रमाण बेगर अपराधी ठहर गर्न मिल्दैन । तसर्थ प्रतिवादीहरूलाई सफाई दिएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने बहस गर्नु भयो ।

            १७.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

            १८.   यस्मा निर्णयतर्फ हेर्दा रामप्रित तेलीलाई गोली हानी कर्तव्य गरी मार्नेमा प्रतिवादीहरू ७ जना रहेछ भन्ने पुष्टि हुन आएकोले अभियुक्तहरूमध्ये गोपाल पाण्डे, रामकृपाल पाण्डे, रमई बेलदार तथा प्रल्हाद वेलदार समेतको हकमा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम कारवाही भई सजायँ हुन र अरु अभियुक्तहरूमध्ये गणेश श्रेष्ठ, पूर्णपासी थारु, दिनानाथ कोइरी विदेशी राज्य भारत निवासी भएकोले पछि नेपाल सरहदभित्र फेला परेका बखत ज्यानसम्बन्धी १३(१) नं. बमोजिम कारवाही भई सजायँ हुन सम्मानीत अदालत समक्ष प्रस्तुत गरिने भन्ने प्रहरी प्रतिवेदन दावी भई प्रस्तुत मुद्दा दायर भएको देखिन्छ । यसबाट अभियुक्त गणेश श्रेष्ठ पूर्णपासी थारु, र दिनानाथ कोइरी विदेशी भारत निवासी भएकोले पछि नेपाल सरहदभित्र फेला परेका बखत कारवाहीको लागि अदालत समक्ष प्रस्तुत गरिने भन्ने उल्लेख भएकोले निजहरूको सम्बन्धमा हाल विचार गर्नु परेन अब अभियुक्त गोपाल पाण्डे, रामकृपाल पाण्डे, रमई बेलदार र प्रल्हाद बेलदारको हकमा निजहरूले आरोपित कसूर गरेमा पूर्ण इन्कार रही अदालतमा बयान गरेको देखिन्छ । लाश प्रकृति मुचुल्काबाट मर्ने रामप्रित तेलीको बायाँ कोखामा ४ईन्च गोलाईको भाग पूरै नीलो भई डाम देखिएको भन्ने र लाश जाँच प्रतिवेदनबाट गोलीले लागी मृत्यु भएको भन्ने उल्लेख भएको पाइन्छ । मौकाको जाहेरी हेर्दा गणेश श्रेष्ठ, पूर्णपासी थारु, दिनानाथ कोइरी समेत जना ३ सित भेट भई कुरा गर्दै आइरहेकोमा अचानक पछाडिबाट बन्दुकको फायर भई एक गोली लाग्दा लडें गोहार गर्दा भागे भनी दाजुले भन्दा थाहा पाएको भनी उल्लेख भएको देखिन्छ । यसबाट अभियुक्त प्रतिवादी गोपाल पाण्डे, रामकृपाल पाण्डे, रमई वेलदार र प्रल्हाद वेलदारको नाम जाहेरीमा उल्लेख भएको पाइदैन । मौका सरजमीनका मानिसहरूले पनि यिनै प्रतिवादीहरू उपर शंका गरेको पाइदैन । मर्नेको आमा कवलपती तेलीन, भाइ बुहारी कलावती तेलीन र मर्नेको श्रीमती मिश्रावती तेलीनले प्रतिवादीहरू उपर शंका गरी लेखाई दिएको छ । तर प्रतिवादीहरूले नै कर्तव्य गरी मारेको हो भनी किटानीसाथ लेखाउन सकेको छैन । जाहेरवाला रामजीत तेलीले अदालतमा बकपत्र गर्दा प्रतिवादीहरू उपर शंका गरेको र सरजमीनका घटना देख्ने भनेका मर्नेको आमा कवलपतिया तेलीनले बकपत्र गर्दा मेरो छोरालाई मार्ने गणेश पुर्णवासी, दिनानाथ र ईशारा गर्ने रमई वेलदार, प्रल्हाद वेलदार, गोपाल पाण्डे र रामकृपाल पाण्डे हुन भनेको छ । त्यस्तै अर्का सरजमीनका कलावती तेलीनले बकपत्र गर्दा प्रतिवादी गोपाल पाण्डेले हात उठाएपछि गणेश श्रेष्ठले गोली हानी रामप्रितको मृत्यु भएको थियो । प्रतिवादीहरू सबैको सल्लाह अनुसार रामप्रितलाई गोली हानेको हो भनेको देखिन्छ । तर ईशारा गरेको थियो भनेको आधारमा मात्र प्रतिवादीहरूलाई अपराधी भनी ठहर गर्न मिल्दैन । बुझिएका प्रतिवादीहरूको साक्षीहरूले मर्ने रामप्रितलाई प्रतिवादीहरूले मारे मराएको होइन भनी किटानीसाथ बकपत्र गरेको पाइन्छ । यसबाट पनि प्रतिवादीहरूले आरोपित कसूर गरेको भन्ने देखिँदैन । प्रतिवादीहरूले आरोपित कसूर गरेको भन्ने तथ्ययुक्त सबूद प्रमाण बेगर अपराधी ठहर गर्न नमिल्ने हुँदा प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन दावी अनुसार सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी गोपाल पाण्डे समेत जना ४ लाई आरोपित कसूरबाट सफाई दिएको नवलपरासी जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल आश्विन २ गते रोज २ शुभम् ।