निर्णय नं. ३८१६ – जग्गा खिचोला
निर्णय नं. ३८१६ ने.का.प. २०४६ अङ्क ५ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान...
निर्णय नं. ३८१६ ने.का.प. २०४६ अङ्क ५
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४४ सालको दे.पु.ई.नं. ८५
फैसला भएको मिति : २०४६।५।६।३ मा
पुनरावेदक/प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला बाँसवारी गाउँ पञ्चायत वडा नं. २ बस्ने शिवलोचन नेपाल
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने गणेशबहादुर नेपाल खत्री
डिभिजन बेञ्चमा मतैक्य नभई २०४४।७।१५।१ मा फैसला भएको ।
मुद्दा : जग्गा खिचोला
§ विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबूद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्यो भन्ने वादी दावी मिलेको नदेखिने ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री माधव वास्कोटा
फैसला
प्र.न्या. धनेन्द्रबहादुर सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी संयुक्त इजलासमा पेश हुँदा मतैक्य हुन नसकी निर्णयार्थ पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. १९ नं. सिन्धुमौजे आँपचौर गिन्हारीबोटे खेत जम्मा माटो ।२२।१५ को कित्ता एक र ऐ. माटो ।१०।६ को कित्ता १ मध्ये भिन्न हुँदा आधा दाजु पुण्यप्रसादको भागमा र आधा माटो ।११।७।४ र ।५।३ को दुई कित्ता गिन्हारीवोटे खेत एकै चक्ला भई पूर्व इन्द्रावती गंगा, पश्चिम मोटर हिंड्ने मुल बाटो उत्तर दाजु पुण्यप्रसादको भागको आधा खेत, दक्षिण ऐ.दाजु पुण्यप्रसादको खेत, यति ४ किल्ला भित्रको जग्गा मेरो भागमा परेकोमा उक्त मेरो भागमा परेको माटो ।११।७।४ र माटो ।५।३ को खेत बाबु पूर्णदत्तले मुक्तिनाथलाई रु. ९९।– मा ८८ सालमा बन्धकी दिई राख्नु भएको र लगाएको ऋण समेत बण्डा गर्दा उक्त थैली समेत मैले तिर्न पर्ने भई त्यस बखत निखन्न नसकी २००१ सालदेखि नै विदेशतिर गएको म २०२४ साल आश्विनमा घर आइपुगेपछि बन्धकी जग्गा फिर्ता देउ भन्दा तिम्रो बाबुको दर्ताको तिम्रो अंशको जग्गा हो फिर्ता दिएँ, तिमीले नै भोगचलन गर २०२४ सालको बाली म नै खान्छु भनी कागज चेतल गरिदिएकोले हालसम्म जग्गा भोगचलन गरिआएको छु मिति २०३०।३।२० गते विपक्षी शिवलोचनले अरु खेताला समेत लिई धान गोडिरहेको देखी किन गोडछौं भन्दा अब देखि म नै कमाई खान्छु भनी खिचोला गरेकोले फिराद गर्न आएको छु भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. राजीनामाबाट भोग तिरो गरेको जग्गा हो । भोगबन्धकी लिएको जग्गा होइन । वादीको सबै व्यहोरा झुठ्ठा हो । २०२५ सालदेखि विपक्षीले भोगचलन गरेको भन्ने भनाई झुठ्ठा हो । आषाढ महीनामा धान गोड्ने समय नै हुँदैन । धान केवल भाद्र महीनामा मात्र गोड्ने काम हुन्छ । यस प्रकार अव्यवहारिक काल्पनिक बनावटी भन्ने स्वयं वादी लेखले नै प्रष्ट गरेको छ । त्यसो हुँदा वादीको लेखाई अनुसार वादीको हकै नभएको जग्गामा वादीले धान बाली लगाउने प्रश्न पनि छैन । वादी दावा भएको जग्गा विपक्षीका बाबु वा विपक्षी कुनै कसैको हक छैन । बिना हक अधिकार दिएको फिराद हुँदा खारेज गरी झुठ्ठा फिराद गरेमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. वादी दावीको खेत कित्ता २ वादी गणेशबहादुरको हकको भन्ने कुरा स्पष्ट र यकीन हुन आयो । मेरो हकको भनी प्रतिउत्तरपत्रमा जिकिर गरी पछि तारीख छाडी बसेको देखिन आएकोले वादी दावी बमोजिम वादी गणेशबहादुरको हकको जग्गामा प्रतिवादी शिवलोचनले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३८।५।२८ गतेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।
५. उपरोक्त फैसलामा चित्त बुझेन । मेरो पुनरावेदन जिकिर र प्रतिउत्तरपत्र जिकिर बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतमा पर्न आएको प्रतिवादीको पुनरावेदन ।
६. आफ्नो हक नभएको जग्गालाई प्रतिवादीले आफ्नो हकको भनी दावी गरेबाटै खिचोला गरेको देखिने हुँदा वादीले खिचोला मेटाई लिन पाउने गरी शुरु जिल्ला अदालतले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०३९।१२।१८ गतेको फैसला ।
७. उपरोक्त फैसलामा चित्त बुझेन । अ.बं. ८२ नं. ज.मि. को १८ नं. ज.प. को १७ नं. को प्रत्यक्ष कानुनी त्रुटिपूर्ण फैसला भएको हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न गएको निवेदनपत्र ।
८. बागमती अञ्चल अदालतको फैसलामा प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटि हुन गएको छ । तसर्थ न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) को आधारमा माग बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. सिंगलबेञ्चलको मिति २०४१।४।१६ गतेको आदेश ।
९. वादीको फिरादको ४ किल्लासंग मिति २०३९।७।५ को नक्साको ४ किल्लासंग मिले भिडेको र प्रतिवादीले आफ्नो नाममा दर्ता रहेको प्रमाण समेत पनि देखाउन नसकेको र प्रतिउत्तरमा खुलाइएको ४ किल्लासंग नक्साको ४ किल्ला मिल्न भिड्न नआएको र प्रतिवादीले राजीनामाबाट पाएको भनेकोमा राजीनामा समेत पेश गर्न नसकेको समेतबाट वादी दावी समर्थित भएको हुँदा वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याएको शुरुको सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अ.बं. ८२, ७८, १८५(क), १८४ तथा प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको त्रुटि हुँदा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यस सर्वोच्च अदालतमा पर्न आएको निवेदनपत्र ।
११. निवेदकका हकमा सम्म ऋण निश्चित गर्ने गरेको भूमिसुधार कार्यालय, ललितपुरको मिति २०३३।६।२८ गतेको निर्णय पर्चालाई सर्वोच्च अदालतबाट मिति २०२४।११।२४ मा बदर भएकोमा प्रतिवादीको दाजुको हकमा बदर नभएसम्म प्रतिवादीका हकमा ठहर भएकोलाई प्रमाणमा लिई निर्णय गर्नुपर्नेमा त्यसलाई प्रमाण नलिई निर्णय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४, अ.बं. १८४(क), १८५ नं. समेतको त्रुटि हुँदा अनुमति दिइएको छ भन्ने समेत यस सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४२।१२।१३।४ को आदेश ।
१२. यही विवादित आमचौर गिन्हारीबोटे खेत समेतका सम्बन्धमा जग्गा दपोट मुद्दामा वि.सं. १९९० मा पूर्व १ नं. गोश्वारामा पूर्णदत्त उपाध्यायले बयान गर्दा यो खेतका मोही म र मुक्तिनाथ हुँ । बराहा गरी खाई आएको भनी बयान गरेको देखिन्छ । सो बयानबाट यो जग्गा वादी प्रतिवादीहरूका बाबुहरूको साझा रहे भएको प्रष्ट हुन्छ । यही जग्गाको सम्बन्धमा १९७१ मा भोगबन्धकीमा दिएको हुँदा ऋण निश्चित गरिपाउँ भनी गोविन्देश्वरमानले भूमिसुधार अफिस ललितपुरमा निवेदन दिएकोमा यो प्रतिवादी शिवलोचनले आफूले राजीनामा गरी दिएको भनी बयान गरेको पाइन्छ । त्यस सम्बन्धमा ऋण निश्चित गर्ने गरेको भूमिसुधार अफिस ललितपुरको मिति २०२३।६।२८ गतेको निर्णय उपर शिवलोचनको रिटनिवेदनपत्र पर्दा उक्त निर्णय उत्प्रेषणको आदेशले शिवलोचनको हक जतिमा बदर हुने भनी सर्वोच्च अदालत डिभिनजबेञ्चबाट मिति २०२४।११।२४ मा निर्णय भएको पाइन्छ । सर्वोच्च अदालतबाट भएको उक्त निर्णय आदेश कायम रहेसम्म विवादित जग्गामा प्रतिवादीकै हक कायम रहेको देखिँदा वादी दावी बमोजिम खिचोला गरेको ठहर्याएको शुरु तथा बागमती अञ्चल अदालतको इन्साफ सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा उल्टी हुन्छ भन्ने समेत मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोलाको राय रहेछ ।
१३. अदालतबाट गरिएको मिति २०३९।६।७।५ को नक्सा मुचुल्कामा उल्लेख भएको झगडा परेको न.नं. ८ को ४ किल्ला वादीका ४ किल्लासंग मिल्न भिड्न आएको छ । सिन्धुपाल्चोक मालबाट प्राप्त दर्ता उतार समेतबाट विवादित जग्गा गणेशबहादुरको नाममा दर्ता रहेको तथा रैतानी लगत र तिरो तिरेको रसिद समेत पेश भएको छ । प्रतिवादीले राजीनामा गरी लिएको भनेकोमा राजीनामा पेश गर्न नसक्नुको साथै आफ्नै नामको दर्ता प्रमाण समेत पेश गर्नसकेको छैन । तसर्थ विवादित जग्गा वादीकै रहे भएको पुष्टि हुन आएको देखिँदा वादी दावी बमोजिम खिचोला गरेको ठहर्याएको शुरु तथा अञ्चल अदालतको फैसला नै सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत मा.न्या. श्री महेशरामभक्त माथेमाको राय भई मिति २०४४।७।१५।१ मा भएको फैसला ।
१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले यसै जग्गाको विषयमा उठेको जग्गा दपोट मुद्दामा १९९० सालमा पूर्व १ नं. गोश्वारामा यी वादीका बुबाले बयान गर्दा प्रतिवादीका बाबु मुक्तिनाथ र मेरो बराही हो भनी व्यहोरा लेखाएको छ । साथै गोविन्देश्वरले ऋण निश्चित गरिपाउँ भनी भूमिसुधार अफिस ललितपुरमा दिएको निवेदनमा प्रतिवादी शिवलोचनले बयान गर्दा मेरो राजीनामा गरिलिएको जग्गा हो भनी बयान गरेकोमा वादी प्रतिवादी दुवैको जग्गाको सम्बन्धमा ऋण निश्चित हुने गरी निर्णय भएको र वादी पक्षले चित्त बुझाई बसेको र प्रतिवादीले सर्वोच्च अदालतमा रिटनिवेदन दिई शिवलोचनको भागको आधा जग्गाको हकमा ऋण निश्चित गरेको बदर हुने ठहरी मिति २०२४।११।२४।५ मा सर्वोच्च अदालतबाट निर्णय भएको समेतबाट विवादित जग्गामा प्रतिवादीको हक देखिन्छ । २०२८ साल तिर तिरो लिन पाउने अधिकार गा.पं. लाई भएका बखत वादीले गा.पं.मा तिरो तिरेको आधारमा रैतानी लगतमा दर्ता गरिएको हो मोठमा दर्ता छैन । मोठ दर्ता धीर्जवीरकै नाममा छ । रैतानी लगतका आधारमा भएको दर्ताबाट वादी निर्विवाद हक दर्ताको सम्झन मिल्दैन । तसर्थ विवादित जग्गामा प्रतिवादीकै हकभोग हुँदा वादी दावी नपुग्ने ठहर्याएको मा.न्या. श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्ने भन्ने र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री माधव वास्कोटाले विवादित जग्गा वादी गणेशबहादुरको नाममा दर्ता रहेको र निजैले साल सालैको तिरो तिरेको छ । साथै अदालतबाट भई आएको नक्साको न.नं. ८ को विवादित जग्गाको ४ किल्लासंग वादीको ४ किल्ला मिल्छ भिड्छ र प्रतिवादीको ४ किल्ला मिल्दैन । प्रतिवादीले आफूले राजीनामा गरी लिएको भनेको सो बमोजिमको राजीनामा तथा दर्ता प्रमाण समेत पेश गर्नसकेको छैन । यसरी विवादित जग्गामा वादीकै हकभोग हुँदा दावी बमोजिम खिचोला गरेको ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालत समेतको इन्साफ मनासिब ठहर्याएको मा.न्या. श्री महेशरामभक्त माथेमाको राय सदर हुनुपर्ने भनी बहस गर्नुभयो ।
१५. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा १९ नं. सिन्धुमौजे आँपचौर गिन्हारीवोटे खेत जम्मा माटो ।२२।१५ को कित्ता १ र माटो ।१०।६ को कित्ता १ मध्ये आधा जग्गा मेरो अंश भागमा परेको माटो ।११।७।४ र माटो ५।६ को खेत बाबु पूर्णदत्तले मुक्तिनाथलाई रु. ९९।– मा १९८८ सालमा बन्धकी दिई राखेकोमा २०२४ मा बन्धकी निखनाई लिएको जग्गामा विपक्षीले खिचोला गरेको हुँदा खिचोला मेटाई पाउँ भन्ने फिराद दावी भएको पाइन्छ ।
१६. फिराद दावीको जग्गा राजीनामा गरी लिएको जग्गा हो भोगबन्धकीको जग्गा होइन भन्ने प्रतिउत्तरपत्र जिकिर भएको पाइन्छ । वादीले फिराद दिँदा साविकमा आफ्नो बाबु पूर्णदत्त र प्रतिवादी शिवलोचनका बाबु मुक्तिनाथको हक भएको कुरा स्वीकार गरेको देखिन्छ । विवादित जग्गा वादीका बाबु पूर्णदत्तले प्रतिवादी शिवलोचनका बाबु मुक्तिनाथलाई रु. ९४।– मा १९८८ सालमा भोगबन्धकी दिएको भनी जिकिर लिएको देखिन्छ । तर भोगबन्धकी लिखत दाखिल गर्नसकेको छैन । यसै विवादित जग्गा समेतको विषयमा गोविन्देश्वरले वादीका दाजु पुण्यप्रसाद र शिवलोचन उपर ऋण निश्चित गरिपाउँ भनी भूमिसुधार अफिस ललितपुरमा कारवाही चलाएकोमा दुवै जग्गाको ऋण निश्चित गरी दिने गरी भूमिसुधार अफिस ललिपुरमा मिति २०२३।६।२८ गते निर्णय भएको देखिन्छ । मेरो राजीनामा भित्रको जग्गाको ऋण निश्चित गरेको त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भनी शिवलोचनले सर्वोच्च अदालतमा रिटनिवेदन दिएको र निवेदकको हकमा सम्म ऋण रकम निश्चित गर्ने गरेको भूमिसुधार अफिस ललितपुरको मिति २०२३।६।२८ गतेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहरी सर्वोच्च अदालतबाट मिति २०२४।११।२४ गतेमा निर्णय भएको देखिन्छ । हाल वादीले दावी गरेको जग्गा बाहेक गिन्हरीवोटे मध्येकै आधा जग्गाको सम्बन्धमा भूमिसुधार अफिस ललितपुरको २०२३।६।२८ गतेको निर्णय अनुसार पुण्यप्रसादले खाएको ऋण रकम निश्चित भएको र सो निर्णय अन्तिम रुपमा रही रहेको अवस्थामा उक्त जग्गामा पुण्यप्रसाद वा यी वादीको जग्गाधनीको हक समाप्त भइसकेको देखिन्छ । यसबाट सो जग्गामा यी वादीको हकाधिकार रही रहेको मान्न मिलेन । सो निर्णय पछि पनि यो विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबूद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्यो भन्ने वादी दावी मिलेको देखिएन । वादी दावी बमोजिम खिचोला गरेको ठहर्छ भनी शुरुको सदर गरेको बागमती अञ्चल अदालत तथा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्याएको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेको हुँदा शुरु सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०३८।५।२८ को फैसलाले वादीले फिराद गर्दा राखेको कोर्टफी रु. १६।५३ पैसा वादीलाई प्रतिवादीबाट भराई दिने गरेको लगत वा अं.अ.को २०३९।१२।१८ गतेको फैसलाले कट्टा गरी सकेको हुँदा केही गरी रहनु परेन ………..१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले शुरु जिल्ला अदालतको फैसला उपर बा.अं.अ. मा पुनरावेदन गर्दा प्रतिवादीले धरौटी राखेको कोर्टफी रु. १६।५३ पैसा बा.अं.अ. का मिति २०३९।१२।१८ का फैसलाले वादीलाई भराई दिने गरेकोमा सो बमोजिम भरी भराउन गर्नु परेन सो धरौटबाट वादीलाई भराउने गरेको लगत व्यहोरा जनाई लगत कट्टा गरिदिनु र उक्त बमोजिमको धरौटी रकम फिर्ता पाउँ भनी ऐनका म्याद भित्र प्रतिवादीको दरखास्त पर्न आएमा दस्तूर केही नलिई प्रतिवादीलाई कानुन बमोजिम गरी फिर्ता दिनु भनी का.जि. अ. मा लगत दिनु ……२
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा बा.अं.अ. को इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहरेकोले शुरुको फैसला उपर बा.अं.अ. मा पुनरावेदन गर्दा मिति २०३८।७।१६ मा रु. २।४८ र म.क्षे.अ. मा पुनरावेदन गर्दा मिति २०४१।४।२४ मा रु. २।४७ र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा रु. २।२५ समेत जम्मा रु. ७।२० कोर्टफी राखेको सो कोर्टफी वादीबाट भराई पाउँ भनी वादीको जायजात देखाई ऐनका म्यादभित्र प्रतिवादीको दरखास्त पर्न आएमा दस्तूर केही नलिई कानुन बमोजिम गरी वादीबाट भराई दिनु भनी का.जि. अ. मा लगत दिनु …..३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु ………..४
उक्त रायमा हामी सहमत छौं ।
न्या. प्रचण्डराज अनिल,
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल भाद्र ६ गते रोज ३ शुभम् ।