July 12, 1989
Created by nepalarchives

निर्णय नं. ३७९४ – राजकाज अपराध

निर्णय नं. ३७९४    ने.का.प. २०४६      अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं....

निर्णय नं. ३७९४    ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको फौ.पु.नं. ६२३

फैसला भएको मिति : २०४६।३।२८ मा

पुनरावेदक/वादी : प्रहरी निरीक्षक विश्वनाथ रेग्मीको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.धनुषा देवडिहा गा.पं. वडा नं. ७ बस्ने उदिष्ठनारायण झा

मुद्दा : राजकाज अपराध

(१)    पत्र प्रचार प्रसारमा आएको नभई व्यक्तिगत तवरमा लेखिएको देखियो, ‘सुन भैया मदेसियाभन्ने जस्तो पर्चाहरूमा सो पत्रको कुनै घनिष्टता नदेखिँदा सो पत्र र पर्चाको अस्तित्व बेगल बेगल छ, पर्चा प्रतिवादीबाट बरामद भएको छैन नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अपहेलना उत्पन्न हुने काम कुरा प्रतिवादीले गरेको भन्ने कुरा स्पष्ट प्रमाणित हुन नसकेको स्थितिमा निजलाई सफाई दिने ठहर्‍याई भएको फैसला मिलेकै देखिने ।

(प्रकरण नं. २०)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

फैसला

न्या.पृथ्वीबहादुर सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    २०३९।५।३० गतेको दिनमा सिराहा बजारमा जि.सि. कृष्णपुर गा.पं. वा.नं. ७ बस्ने सुरेशप्रसाद यादवले देशमा साम्प्रदायिकताको भावना फैलाउने सम्बन्धी पर्चाहरू प्रचार गर्नको लागि ल्याएको छ भन्ने विश्वस्त सुत्रबाट थाहा पाएअनुसार तत्कालै गई निजलाई सिराहा क्याम्पसदेखि पूर्व बाटोमा पक्राउ गरी खानतलासी लिँदा निजको साथबाट कि हम मधेसी नेपाली छीभन्ने पर्चा १, ‘मधेशक जवान कहीया धारी मुर्दा बनल रहतेभन्ने पर्चा १, ‘नेपालमे मधेशिया पहडियाभन्ने पर्चा १, “सुनभैया मधेशियाभन्ने गीत छापिएको पर्चा १, डा.एल.एन. झा को प्रिस्केप्सन १ समेत बरामद भएकोले बरामदी मुचुल्का समेत गरी गराई पर्चाहरू सहित निज सुरेशप्रसाद यादव समेतलाई कानुनी कारवाहीको लागि दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्रहरी निरीक्षक विश्वनाथ रेग्मीको मिति २०३९।५।२० को प्रतिवेदन साथ मानिस पर्चा समेत जि.प्र.का. सिराहमा दाखिल भएको ।

३.    सुरेशप्रसाद यादवको साथबाट पर्चाहरू बरामद भएको भन्ने ०३९।५।१० को बरामदी मुचुल्का ।

४.    जनकपुरको डा.एल.एन. झाले दिएको पर्चा राखेकोमा सावित भई डा.एल.एन. झालाई पोल गरी जि.का. सिराहामा सुरेशप्रसाद यादवले गरेको बयान कागज ।

५.    डा.एल.एन. झाको घर डेरा खानतलासी हुँदा पर्चाहरू बरामद भएको भन्ने ०३९।५।१६ गतेको खानतलासी मुचुल्का ।

६.    पर्चाहरू राखेमा र मानिसहरूलाई प्रचारार्थ दिएकोमा डा.एल.एन. झा सावित भएको मिति ०३९।५।१०।१० गतेको साविती बयान कागज ।

७.    यही भाद्र महीनामा हो गते बारको सम्झना छैन आजभन्दा करिब १५, १६ दिन अगाडि यो घटना स्थलमा सुरेशप्रसाद यादवलाई पर्चा सम्बन्धको कुरा लिई प्रहरीले पक्राउ गरेको थियो । सुरेशप्रसाद कुनै पार्टीमा काम गरी हिडेका छैन, राम्रो चाल चलनको छ । डा.एल.एन. झा उदिष्ठनारायण झालाई चिने जानेको छैन भन्ने समेत व्यहोराको मिति ०३९।५।२७ को सरजमीन मुचुल्का ।

८.    २०३९।५।१० गते सुरेशप्रसाद यादव साम्प्रदायिक भावना सम्बन्धी पर्चाहरू सहित पक्राउ परेको र निजले पर्चा राखेकोमा सावित भई पर्चा दिने डा.एल.एन. झालाई पोल गरेकोमा निज डाक्टरको घर डेरा खानतलासीबाट पर्चाहरू पाल्पा तानसेनमा मलेरिया इन्सपेक्टर पदमा नोकरी गरी बस्ने उदिष्ठनारायण झा डा.एल.एन. झालाई त्यस्तै भेदभाव सम्बन्धी कुरा लेखेको चिठ्ठी समेत बरामद भएको देखिन्छ र निज डा.लक्ष्मीनारायण झा पर्चाहरू राखेमा र मानिसहरूलाई प्रचारको लागि दिने गरेकोमा सावित रहेको, पर्चाको विषय लिएर सुरेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको भन्ने सरजमीनका व्यक्तिहरूको भनाई भएको सरजमीनबाट देखिन्छ, त्यसकारण विरुद्ध महलमा उल्लेख भएका अभियुक्तहरूले पहाडी र मधेशीको भेदभाव फैलाई नेपाल अधिराज्यको सार्वभौमसत्ता प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी उद्योग गरेको संकलित सबूद प्रमाणबाट देखिन आएको हुँदा विरुद्ध खण्डमा उल्लेख भएको अभियुक्तहरूले राजकाज अपराध र सजायँ ऐन, २०१९ को दफा ६(३) बमोजिमको कसूर गर्न उद्योग गरेमा निजहरूलाई सोही ऐन बमोजिम कारवाही भई सजायँ हुन सम्बन्धित कागजात अभियुक्त यसैसाथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको जि.प्र.का. सिराहाको आरोपपत्र ।

९.    बरामद भई दाखिल हुन आएका पर्चाहरू मेरो घर डेरा जनपुरबाट खानतलासी गरी प्रहरीले बरामद गरेको र सो पर्चाहरूमा लेखिएका कुराहरू मेरो विचारमा उचित नै भएकोले मानिसहरूलाई प्रचार गर्नको लागि मैले दिने गरेको ठीक साँचो हो भनी प्रतिवादी उदिष्ठनारायण झा समेतलाई पोल गरी सावित भई डाक्टर लक्ष्मीनारायण झाले गरिदिएको साविती बयान कागज ।

१०.    मिति ०३९।५।१० गतेको बरामदी मुचुल्कामा लेखिएका पर्चाहरूबाट बरामद नभई डा.एल.एन. झाले मलाई लेखिदिएको औषधिको प्रेस्किप्सन मात्र बरामद भएको हो भनी सुरेशप्रसाद यादवले जि.का. सिराहामा गरिदिएको इन्कारी बयान कागज ।

११.    मैले पाल्पा तानसेनबाट तारेख २१.५८२ मा डा.एल.एन. झालाई लेखेको पत्र मैले आफ्नो हस्ताक्षरले लेखेको ठीक साँचो हो तापनि उक्त पत्रमा लेखिएका कुराहरूसँग म सहमत छैन भन्ने समेत व्यहोराको प्रतिवादी उदिष्ठनारायण झाले जि.का. सिराहामा गरेको बयान ।

१२.   मधेशी संगठन कुनै कसैले गराएको या उदिष्ठनारायण झाको विरुद्ध कुनै प्रतिवेदन प्राप्त भएको समेत देखिँदैन नातादारहरूमा पत्र व्यवहार गर्दा उल्लिखित कुरा भएको भए भन्न नसकिने भन्ने समेत व्यहोराको जि.प्र.का. पाल्पाबाट मिति ०३९।८।६ को पत्र लेखी आएको ।

१३.   उदिष्ठनारायण झाले पनि जातीय र क्षेत्रीय भावना फैलाई राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा खलल पुग्न सक्ने किसिमको काम गरेको प्रष्ट देखिन्छ सो देखिनाले निजलाई ६ महीना १० दिन कैद हुन्छ भन्ने समेत जि.का. सिराहाको ०३९।१२।१०।५ को फैसला ।

१४.   उक्त फैसलामा चित्त बुझेन सो फैसला बदर गरिपाउँ भन्ने समेत प्र.उदिष्ठनारायण झाको ०४०।२।१७।३ को पुनरावेदन ।

१५.   सिराहा जि.का. को फैसला फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम झ.झि. गर्ने भन्ने पू.क्षे.अ. को आदेश ।

१६.    प्र.उदिष्ठनारायणले सफाई पाउने ठहर्छ भन्ने समेतको पू.क्षे.अ. को फैसला ।

१७.   पू.क्षे.अ. को फैसलामा चित्त बुझेन भन्ने समेतको वादी श्री ५ को सरकारको पुनरावेदन यस अदालतमा पर्न आएको रहेछ ।

१८.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सक्कलै मिसिल अध्ययन गरी पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतले गर्नुभएको बहस समेत सुनियो ।

१९.    अब प्रस्तुत मुद्दामा पू.क्षे.अ. बाट भएको इन्साफ मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ ।

२०.   निर्णयतर्फ विचार गर्दा यस्मा प्र.उदिष्ठनारायणलाई राजकाज अपराध र सजायँ ऐन, २०१९ को दफा ६(३) बमोजिमको कसूर गर्न उद्योग गरेको भनी निज उपर अभियोग लगाएको देखिन्छ । त्यसरी अभियोग लगाउँदा पहाडिया र मधेशियाको भेदभाव फैलाई नेपाल अधिराज्यको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी उद्योग गरेको भन्दै सो को प्रमाणको रुपमा निजले डा.एल.एन. झालाई लेखेको पत्र समेतलाई लिएको देखिन्छ । उदिष्ठनारायणले लेखेको उक्त पत्रमा जातीय भावना पोखिएको देखिन्छ । सो पत्र प्रचार प्रसारमा आएको नभई व्यक्तिगत तवरमा लेखिएको देखियो । सुन भाइ मधेशियाभन्ने जस्तो पर्चाहरूमा सो पत्रको कुनै घनिष्टता देखिँदैन । सो पत्र र पर्चाको अस्तित्व बेगल बेगल छ । पर्चा प्रतिवादी उदिष्ठनारायणबाट बरामद भएको छैन । नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी घृणा द्वेष वा अपहेलना उत्पन्न हुने काम कुरा प्रतिवादीले गरेको भन्ने कुरा स्पष्ट प्रमाणित हुनसकेको छैन । अतः यस्तो स्थितिमा निजलाई सफाई दिने ठहर्‍याई पू.क्षे.अ.बाट भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमती छ । 

 

न्या.रुद्रबहादुर सिंह

इति सम्वत्  २०४६ साल असार २८ गते रोज शुभम् ।